“असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ”
सबै जीवनको मूल यहोवा परमेश्वर हुनुहुन्छ। (भजन ३६:९) हो, “हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ।” (प्रेरित १७:२८) अनि उहाँसँग घनिष्ठ सम्बन्ध भएकाहरूलाई उहाँले दिनुहुने इनामलाई विचार गर्दा के हाम्रो हृदय कृतज्ञताले ओतप्रोत हुँदैन र? नहोस् पनि किन, किनभने ‘परमेश्वरको वरदान अनन्त जीवन हो।’ (रोमी ६:२३) त्यसकारण, यहोवाको निगाह वा अनुग्रह प्राप्त गर्नु नितान्त आवश्यक छ!
‘परमप्रभुले अनुग्रह दिनुहुनेछ’ भनी भजनरचयिता हामीलाई आश्वासन दिन्छन्। (भजन ८४:११) तर उहाँले यो कसलाई दिनुहुन्छ? आजकल मानिसहरूले साधारणतया शिक्षा, धन, वर्ण, जातीय पृष्ठभूमि आदि कुराहरूको आधारमा अनुग्रह देखाउँछन्। परमेश्वरले कसलाई निगाह गर्नुहुन्छ? पुरातन इस्राएलका राजा सुलेमान यस्तो जवाफ दिन्छन्: “असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर खराब युक्ति गर्ने चाहिं दोषी ठहरिनेछ।”—हितोपदेश १२:२.
स्पष्टतः यहोवा असल अर्थात् सद्गुणी मानिससित प्रसन्न हुनुहुन्छ। असल मानिसको सद्गुण भनेको आत्म-अनुशासन, निष्पक्षता, नम्रता, अनुकम्पा र चतुऱ्याइँजस्ता गुणहरू हुन्। तिनका विचारहरू धार्मिक हुन्छन्, वचनहरू प्रोत्साहनदायी हुन्छन् र तिनका कार्य न्यायी तथा लाभदायी हुन्छन्। बाइबल पुस्तक हितोपदेश १२ अध्यायको पहिलो भागले हामीलाई भलाइले दैनिक जीवनमा कस्तो प्रभाव पार्नुपर्छ र यो गुण प्रदर्शन गर्दा हुने फाइदाहरू औंल्याउँछ। त्यहाँ उल्लेख गरिएका कुराहरूलाई विचार गर्दा त्यसले हामीलाई “भलाइको काम गर्न” अन्तरदृष्टि प्रदान गर्छ। (भजन ३६:३) यसमा दिइएको बुद्धिमानी सल्लाह लागू गर्दा परमेश्वरको निगाह प्राप्त गर्न मदत पाउनेछौं।
अनुशासन अत्यावश्यक
“अर्तीलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, सुधारलाई घृर्णा गर्ने केवल मूर्ख हो” भनी सुलेमान बताउँछन्। (हितोपदेश १२:१) व्यक्तिगत तवरमा उन्नति गर्न उत्सुक असल मानिसले अनुशासन खोज्छ। तिनले मसीही सभा वा व्यक्तिगत कुराकानीबाट प्राप्त सल्लाहहरू ढिलासुस्ती नगरी लागू गरिहाल्छन्। धर्मशास्त्र र बाइबल आधारित साहित्यहरू तिनलाई धर्मी मार्ग पछ्याउन घचघच्याउने सुइरो जस्तै हो। तिनले ज्ञान खोज्छन् र आफ्नो मार्ग सीधा बनाउँछन्। हो, अनुशासन मन पराउने व्यक्तिले ज्ञान पनि मन पराउँछन्।
साँचो उपासकहरूको लागि अनुशासन र अझ विशेष गरी आत्म-अनुशासन अत्यन्तै महत्त्वपूर्ण छ! हामीले परमेश्वरको वचनका गहिरा कुराहरूको ज्ञान भए हुन्थ्यो भन्ने चाहना गर्न सक्छौं। हामी मसीही सेवकाईमा अझ प्रभावकारी भएर परमेश्वरको वचनको राम्रो शिक्षक हुने इच्छा गर्न सक्छौं। (मत्ती २४:१४; २८:१९, २०) तर त्यस्तो इच्छालाई वास्तविकतामा परिणत गर्न आत्म-अनुशासन चाहिन्छ। जीवनका अन्य क्षेत्रहरूमा पनि आत्म-अनुशासन चाहिन्छ। उदाहरणका लागि, आज अनैतिक इच्छाहरू जगाउने विषयवस्तुहरू छ्यासछ्यासती पाइन्छन्। त्यस्ता अनुचित कुराहरूमा आफ्नो ध्यान केन्द्रित नगर्न, के आत्म-अनुशासनको खाँचो पर्दैन र? यसबाहेक, “मानिसको हृदयका विचार बालकदेखिनै खराब” हुने भएकोले अनैतिक विचारहरू हाम्रो मनभित्र नै लुकेको हुन सक्छ। (उत्पत्ति ८:२१) त्यस्ता कुराहरू मनमा नखेलाउन आत्म-अनुशासन चाहिन्छ।
अर्कोतर्फ, सुधार नचाहने व्यक्तिले न अनुशासन चाहन्छ न त ज्ञानको नै चाह गर्छ। सुधार नस्वीकार्ने पापी मानव झुकावहरूको वशमा पर्दै तिनी सोचविचार गर्ने क्षमता नभएको पुशसरह हुन्छन्, जसको कुनै नैतिक मूल्य मान्यता हुँदैन। हामीले दृढतासाथ यस्तो झुकावको प्रतिरोध गर्नुपर्छ।
“जरा भने उखेल्न सकिनेछैन”
असल मानिस निश्चय पनि अधर्मी वा अन्यायी हुन सक्दैन। त्यसकारण, यहोवाको निगाह पाउन धार्मिकता पनि चाहिन्छ। राजा दाऊदले यस्तो भजन गाए: “तपाईंले धर्मात्माहरूलाई आशिष दिनुहुनेछ। हे परमप्रभु, तपाईंले त्यसलाई ढालले झैं आफ्नो निगाहले घेर्नुहुनेछ।” (भजन ५:१२) धर्मीहरूको अवस्थालाई दुष्टहरूसित तुलना गर्दै सुलेमान यसो भन्छन्: “दुष्ट काम गरेर कुनै पनि मानिस स्थिर हुँदैन, तर असल मानिसका जराहरू नहल्लिने हुन्छन्।”—हितोपदेश १२:३.
दुष्ट मानिसको फलिफाप भइरहेको जस्तो देखिएला। भजन रचयिता आसापको अनुभवलाई विचार गर्नुहोस्। तिनी यसो भन्छन्: “मेरा खुट्टा झण्डै ठेस लागेका थिए। मेरा पाइलाहरू चिप्लन लागेका थिए।” किन? आसाप यस्तो जवाफ दिन्छन्: “दुष्टहरूको उन्नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ।” (भजन ७३:२, ३) तर परमेश्वरको मन्दिरको पवित्र स्थानमा पस्दा यहोवाले तिनीहरूलाई चिप्ला ठाउँमा राख्नुभएको छ भन्ने कुरा तिनले बुझे। (भजन ७३:१७, १८) दुष्ट मानिसले हासिल गरेजस्तो देखिने जस्तोसुकै सफलता क्षणिक हुन्छ। हामी किन तिनीहरूप्रति डाही हुनुपर्छ र?
त्यसको ठीक विपरीत यहोवाको निगाह पाएको व्यक्ति स्थिर हुन्छ। रूखको बलियो जराको उपमा चलाउँदै सुलेमान यसो भन्छन्: “धर्मीको जरा भने उखेल्न सकिनेछैन।” (हितोपदेश १२:३, नयाँ संशोधित संस्करण) क्यालिफोर्नियाको सिकोयाजस्ता बडेमाका रूखहरूको जरा एकडौंसम्म फैलिएको हुन सक्छ र आँधीबेहरीको बेला जराहरू ढलपल नभई अडिग रहन्छन्। त्यो भीमकाय सिकोयाले शक्तिशाली भूकम्प पनि थाम्न सक्छ।
पृथ्वीको पोषणयुक्त माटोमा त्यस्तो जराजस्तै परमेश्वरको वचन अध्ययन गरेर त्यसबाट जीवनदायी पानी झिक्न हाम्रो मन अनि हृदय लगाउनुपर्छ। यसरी हाम्रो विश्वासले बलियो जरा गाडेर बलियो भएपछि हाम्रो आशा स्थिर र दृढ हुनेछ। (हिब्रू ६:१९) हामी “[झूटा] सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” छैनौं। (एफिसी ४:१४) निस्सन्देह, हामीले आँधीरूपी परीक्षाहरूको असर महसुस गरौंला र कठिनाइको बेला डरले थरथर कामौंला। तर हाम्रा “जराहरू नहल्लिने हुन्छन्।”
“सुयोग्य पत्नी आफ्नो पतिको मुकुट हो”
थुप्रै मानिसहरूलाई यो भनाइ थाह छ: “हरेक सफल मानिसको पछाडि असल स्त्रीको हात हुन्छ।” सहयोगी महिलाको महत्त्वमाथि जोड दिंदै सुलेमान यसो भन्छन्: “सुयोग्य पत्नी आफ्नो पतिको मुकुट हो, तर तिनीमाथि अपमान ल्याउने पत्नी तिनका हड्डीको घाउजस्तै हो।” (हितोपदेश १२:४) “सुयोग्य” भन्ने शब्दले भलाइका थुप्रै तत्त्वहरू समेट्छ। हितोपदेश अध्याय ३१ मा विस्तृत तवरमा व्याख्या गरिएझैं असल पत्नीको सद्गुणमा परिश्रमी, विश्वासिलोपन र बुद्धि पनि समावेश छ। यी गुणहरू भएकी महिला आफ्नो पतिको मुकुट हो किनभने उनको असल आचारणले पतिको आदर हुन्छ र अरूको अगाडि तिनको सम्मान बढ्छ। उनी कहिल्यै महत्वाकांक्षी भएर आफ्नो पतिभन्दा अघि बढ्न खोज्दिनन्। बरु, उनी आफ्नो पतिको लागि पूरक हुन्छिन्।
कुनै स्त्रीले कस्तो अपमानजनक कार्य गर्न सक्छिन् र यसको नतिजा कस्तो हुन्छ? अपमानजनक आचरण भनेको घमण्डदेखि लिएर व्यभिचारसम्म हुन सक्छ। (हितोपदेश ७:१०-२३; १९:१३) पत्नीको त्यस्तो कार्यले पतिको इज्जतमा दाग लाग्छ। एउटा पुस्तकअनुसार “रोगले पूरा शरीरलाई कमजोर बनाएजस्तै उनले आफ्नो पतिमा विनाश ल्याउने” भएकीले उनी “तिनका हड्डीको घाउजस्तै हो।” यो “वर्तमान समयमा त्योसँग मिल्ने अभिव्यक्ति ‘क्यान्सर’ हुन सक्छ, यस रोगले बिरामीलाई बिस्तार-बिस्तारै कमजोर बनाउँदै लैजान्छ” भनी अर्को पुस्तकले बताएको छ। सुयोग्य पत्नीका गुणहरू प्रदर्शन गरेर मसीही पत्नीहरूले परमेश्वरको निगाह पाऊन्।
विचारबाट कार्य र कार्यबाट परिणाम
सोचविचार कार्यमा परिणत हुन्छ र त्यसपछि नतिजा निस्कन्छ। सुलेमानले विचारबाट कसरी काम हुन जान्छ भनी बताउँदै धर्मीको तुलना दुष्टसँग गरेका छन्। तिनी यस्तो उल्लेख गर्छन्: “धर्मी मानिसको अभिप्राय न्यायसंगत हुन्छ, तर दुष्टहरूको युक्ति छलले भरिएको हुन्छ। दुष्टहरू आफ्नै कुराले नाश हुन्छन्, तर असल मानिसको वचनले त्यसको उद्धार हुन्छ।”—हितोपदेश १२:५, ६.
असल मानिसहरूको विचार नैतिक तवरमा सही हुन्छ र यो निष्पक्ष तथा न्यायसंगत हुन्छ। धर्मीहरू परमेश्वर अनि सँगी मानवहरूप्रतिको प्रेमले उत्प्रेरित हुने भएकोले तिनीहरूको मनसाय असल हुन्छ। अर्कोतर्फ, दुष्टहरू स्वार्थबाट उत्प्रेरित हुन्छन्। फलस्वरूप, तिनीहरूको युक्ति अथवा आफ्नो लक्ष्य हासिल गर्ने तरिकाहरू छलपूर्ण हुन्छन्। तिनीहरूको कार्य छली हुन्छ। तिनीहरू झूटो अभियोग लगाएर निर्दोषहरूलाई अदालतसम्म पुऱ्याउनसमेत पछि पर्दैनन्। तिनीहरूको वचन ‘कसैको रगत बहाउन ढुकिरहेको’ हुन्छ किनभने तिनीहरू निर्दोष सिकारहरूलाई हानि पुऱ्याउन चाहन्छन्। दुष्टहरूको चालबारे थाह पाएर धर्मीहरूले बुद्धिमतासाथ सावधानी अपनाउँछन् र खतराबाट जोगिन्छन्। तिनीहरूले होसियार नरहेका मानिसहरूलाई चेतावनी दिएर दुष्टको छली चालबाट बचाउनसमेत सक्छन्।
धर्मी र दुष्टहरूको हालत कस्तो हुनेछ? “दुष्टहरू एकपल्ट लोट्यो भने त्यहींनै त्यसको अन्त हुन्छ, तर असल मानिसको सन्तान रहिरहन्छ” भनी सुलेमान जवाफ दिन्छन्। (हितोपदेश १२:७) एउटा पुस्तकअनुसार घरले “घरमा बस्ने मानिसहरू र तिनलाई अनमोल लाग्ने सबै कुरालाई बुझाउँछ जसको कारण तिनी राम्रो जीवन बिताउन सफल हुन्छन्।” यसले परिवार र धर्मीका सन्तानहरूलाई पनि संकेत गर्न सक्छ। जे होस्, यस हितोपदेशको कुरा स्पष्ट छ: कठिनाइको बेला धर्मीहरू दृढ रहनेछन्।
नम्र मानिसको अवस्था राम्रो हुनेछ
विवेकको महत्त्वमाथि जोड दिंदै इस्राएलका राजा यस्तो उल्लेख गर्छन्: “आफ्नो तीव्र बुद्धिको निम्ति मानिसको प्रशंसा हुन्छ, तर बाङ्गो-टेढो मन हुने तुच्छ गनिन्छ।” (हितोपदेश १२:८) विवेकी व्यक्तिले सोचविचारै नगरी प्याच्च बोल्दैन। तिनले बोल्नुअघि विचार गर्छ र अरूसँग राम्रो सम्बन्धको आनन्द उठाउँछ किनभने “तीव्र बुद्धिको” कारण तिनले सोचविचार गरेर बोल्छ। मूर्ख वा शंकास्पद प्रश्नहरू गर्दा विवेकी मानिसले “थोरै शब्द मात्र बोल्छ।” (हितोपदेश १७:२७) त्यस्तो मानिसको प्रशंसा गरिन्छ र यहोवालाई पनि उसले प्रसन्न तुल्याउँछ। “बाङ्गो-टेढो मन” भएको मानिसबाट आउने बांगो टेढो विचारभन्दा तिनको विचार कत्ति फरक!
हो, विवेकी मानिसको प्रशंसा गरिन्छ तर अर्को हितोपदेशले नम्रताको मोल सिकाउँछ। त्यहाँ यसो भनिएको छ: “आफूलाई उच्च देखाएर पनि रोटी नहुने भन्दा विनम्र भएर आफ्नै कमाइ गर्ने असल हो।” (हितोपदेश १२:९) सुलेमानले समाजमा आफ्नो शान कायम राख्ने प्रयासमा अत्यधिक खर्च गर्नुभन्दा एउटै मात्र नोकर राखेर आफ्नो सीमित स्रोतमा खुसी हुनु बेस हो भन्न खोजिरहेका थिए। आफ्नो आयस्रोतको सीमा बुझेर जीवन बिताउने कस्तो राम्रो सल्लाह!
कृषिमा केन्द्रित जीवनले भलाइको पाठ सिकाउँछ
कृषिसित सम्बन्धित जीवनलाई उदाहरणको रूपमा चलाएर सुलेमानले भलाइको दुईवटा पाठ सिकाउँछन्। तिनी भन्छन्, “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्ट मानिस मनमा कठोर हुन्छ।” (हितोपदेश १२:१०) धर्मी मानिसले आफ्ना पशुहरूसित राम्रो व्यवहार गर्छन्। तिनलाई उनीहरूको आवश्यकता थाह हुन्छ र उनीहरूको हितको ख्याल राख्छन्। दुष्ट मानिसले पशुको ख्याल राख्छु त भन्ला तर तिनीहरूको आवश्यकताको ख्याल गर्दैनन्। तिनको मनसाय स्वार्थपूर्ण हुन्छ र त्यसबाट कति फाइदा हुन्छ होला भन्ने हिसाबले पशुसित व्यवहार गर्छन्। त्यस मानिसले पशुहरूलाई पर्याप्त हेरचाह गरेको छु भन्ठाने तापनि त्यो वास्तवमा क्रूर व्यवहार हुन सक्छ।
पशुहरूलाई राम्रो व्यवहार गर्ने सिद्धान्त घरपालुवा पशुहरूलाई पनि लागू हुन्छ। कुनै पशु घरमा पाल्नको लागि ल्याउनचाहिं ल्याउने तर ल्याएर तिनीहरूको वास्ता नगर्नु वा अनावश्यक सास्ती दिनु कस्तो क्रूर व्यवहार हुनेछ! कुनै गम्भीर रोग वा चोटपटक लागेको पशुप्रति दया देखाउन त्यसको जीवन अन्त गरिदिनुपर्ने पनि हुन सक्छ।
कृषिसित सम्बन्धित अर्को पक्ष वा खेत जोत्ने विषयमा कुरा गर्दै सुलेमान यसो भन्छन्: “आफ्नै जमीन जोत्नेकहाँ प्रशस्त खानेकुरा हुन्छ।” मेहनतको फल मिठो हुन्छ भन्ने कुरामा कुनै शंका छैन। “तर व्यर्थको योजना बनाउनु मूर्खता हो।” (हितोपदेश १२:११) असल विवेक र समझ नभएको “मूर्ख” व्यक्तिले व्यर्थको शंकास्पद र अर्थहीन काममा हात हाल्छ। यी दुई पदहरूबाट पाइने पाठ स्पष्ट छ: कृपालु र परिश्रमी हुनुहोस्।
धर्मी मानिसको फलिफाप हुन्छ
“दुष्टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ” भनी बुद्धिमान् राजा बताउँछन्। (हितोपदेश १२:१२क, नयाँ संशोधित संस्करण) कसरी दुष्ट मानिसले त्यसो गर्छ? दुष्ट तरिका अपनाएर कमाएका कुराहरूको लालसा गरेर।
असल मानिसबारे के भन्न सकिन्छ? त्यस्तो व्यक्तिले अनुशासन मन पराउँछ र विश्वासमा राम्ररी जरा गाडेको हुन्छ। तिनी धर्मी र न्यायी, विवेकी र नम्र, अनुकम्पापूर्ण र लगनशील हुन्छन्। सुलेमान यो भन्छन्, “तर धर्मी चाहिं जरा गाडेर बस्छ।” (हितोपदेश १२:१२ख) एन अमेरिकन ट्रान्सलेसन यसो भन्छ, “धर्मीको जरा सधैंभरि स्थिर रहिरहन्छ।” त्यस्तो व्यक्ति स्थिर र सुरक्षित हुन्छ। साँच्चै, ‘असल मानिसले परमेश्वरको निगाह’ पाउँछ। त्यसकारण, “परमप्रभुमा भरोसा राखौं, र भलाइ गरौं।”—भजन ३७:३.
[पृष्ठ ३१-मा भएका चित्रहरू]
सप्रेको रूखजस्तै धर्मी व्यक्तिको विश्वासले बलियोसँग जरा गाडेको हुन्छ