के तपाईंलाई शैतान साँच्चै छ जस्तो लाग्छ?
बाइबल यसो भन्छ: “परमेश्वर आत्मा हुनुहुन्छ। (यूहन्ना ४:२४) मानिसहरूले परमेश्वरलाई देख्न नसकेझैं शैतानलाई पनि सक्दैन। त्यो अदृश्य आत्मिक प्राणी हो। सृष्टिकर्ताको कुनै सुरुवात थिएन तर त्यसको भने सुरुवात छ।
यहोवा परमेश्वरले मानिसहरू सृष्टि गर्नुभन्दा धेरै अघि आत्मिक प्राणीहरू सृष्टि गर्नुभयो। (अय्यूब ३८:४, ७) यी आत्मिक प्राणीहरूलाई बाइबलमा स्वर्गदूत भनिएको छ। (हिब्रू १:१३, १४) परमेश्वरले तिनीहरू सबैलाई सिद्ध सृष्टि गर्नुभयो। तिनीहरूमध्ये एउटै पनि शैतान थिएन नता तिनीहरूमा दुष्टता नै थियो। त्यसोभए शैतान कसरी आयो त? ‘शैतान’ शब्दको अर्थ ‘विरोधी’ हो। बाइबलमा शैतानलाई ‘दियाबल’ पनि भनिएको छ। मौलिक भाषाको बाइबलअनुसार दियाबल शब्दको अर्थ ‘निन्दक’ हो जसले अरूलाई हानि पुऱ्याउन झूट बोल्छ।” अरूको सामान चोर्न थाल्यो भने एक जना इमानदार मानिस पनि चोर बन्न सक्छ। त्यसरी नै परमेश्वरको एक जना सिद्ध आत्मिक पुत्रले आफ्नो गलत इच्छाअनुसार काम गरेर आफूलाई शैतान अर्थात् दियाबल बनायो। कसैले आफूलाई कसरी भ्रष्ट बनाउँछ, बाइबल यसरी बताउँछ: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गराउँछ।”—याकूब १:१४, १५.
वास्तवमा हुन पनि यस्तै भयो। यहोवा परमेश्वरले पहिलो मानव जोडी आदम र हव्वालाई सृष्टि गर्नुहुँदा एक जना स्वर्गदूतले ध्यान दिएर हेरिरहेको थियो। यही स्वर्गदूतले नै पछि परमेश्वरको विरोध गऱ्यो। यस पृथ्वीलाई धर्मी मानिसहरूले भर्नु भनी परमेश्वरले आदम र हव्वालाई आज्ञा दिनुभएको छ भन्ने कुरा त्यो स्वर्गदूतलाई थाह थियो अनि यी सबै मानिसहरूले सृष्टिकर्ताको उपासना गर्नेछन् भनेर पनि त्यसलाई थाह थियो। (उत्पत्ति १:२८) त्यसले मानिसहरूबाट सम्मान र महिमा खोज्यो। लोभले गर्दा परमेश्वरले मात्रै पाउनुपर्ने कुराको लालसा गर्न थाल्यो। परमेश्वरले मात्रै पाउनुपर्ने त्यो कुरा, मानिसहरूले परमेश्वरलाई चढाउने उपासना थियो। यस्तो गलत इच्छालाई तिरस्कार गर्नुको सट्टा त्यसले मनमा खेलाइरह्यो। अनि झूट बोल्यो र विद्रोह पनि गऱ्यो। त्यसपछि के भयो?
यस विद्रोही स्वर्गदूतले एउटा सर्प चलाएर हव्वासित कुरा गऱ्यो। “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्नुभएको छ?” भनी सर्पले सोध्यो। हव्वाले परमेश्वरको आज्ञा बताइन् र अनाज्ञाकारी भएमा भोग्नुपर्ने सजायबारे पनि बताइन्। त्यसपछि सर्पले भन्यो: “तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू [बगैंचाको बीचमा भएको] त्यो [रूखको फल] खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमश्वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:१-५) परमेश्वरले आदम र हव्वालाई झूट बोल्नुभयो भन्ने त्यसले आरोप लगायो। त्यो रूखको फल खाएपछि हव्वा पनि परमेश्वरजस्तै हुनेछिन् अनि के असल र के खराब भनी निर्णय गर्ने अधिकार पाउनेछिन् भनी त्यसले भन्यो। त्यो नै पहिलो झूट थियो। यसरी झूटो बोलेर त्यसले आफूलाई निन्दक बनायो। अनि त्यो परमेश्वरको विरोधी पनि भयो। परमेश्वरको यो शत्रुलाई बाइबलमा “त्यो वृद्ध साँप, दियाबल र शैतान” भनिएको छ।—प्रकाश १२:९.
“जागा रहो”
हव्वासित बोलेको झूटले त्यसको अभिप्राय पूरा भयो। बाइबल यसो भन्छ: “अनि जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलादो, औ कसैलाई बुद्धिमान बन्नलाई सो रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, औ तिनले पनि खाए।” (उत्पत्ति ३:६) हव्वाले शैतानको कुरा पत्याइन् अनि परमेश्वरको आज्ञा तोडिन्। तिनले आदमलाई पनि परमेश्वरको आज्ञा तोड्न लगाइन्। यसरी पहिलो मानव जोडीलाई परमेश्वरको विद्रोही बनाउन शैतान सफल भयो। त्यतिबेलादेखि शैतानले मानिसहरूको गतिविधिमा चालै नपाउने गरी प्रभुत्व जमाइरहेको छ। त्यो के चाहन्छ? मानिसहरूलाई साँचो परमेश्वरको उपासना गर्नदेखि रोकेर आफ्नो उपासना गर्न लगाउने। (मत्ती ४:८, ९) त्यसैले त बाइबल यस्तो चेतावनी दिन्छ: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंडछ।”—१ पत्रुस ५:८.
बाइबलले शैतान साँच्चैको आत्मिक प्राणी हो भनेर स्पष्ट बताउँछ। यो त्यही स्वर्गदूत हो, जो भ्रष्ट र खतरनाक बन्न पुग्यो। होसियार रहन हामीले चाल्नुपर्ने पहिलो कदम शैतानको अस्तित्त्व छ भनेर मानिलिनु हो। तर सचेत रहन अनि होसियार हुन त्यति गरेर मात्र पुग्दैन। त्यसका “युक्तिहरू” अनि मानिसहरूलाई बहकाउने त्यसका कर्तुतहरू पनि हामीले थाह पाउनै पर्छ। (२ कोरिन्थी २:११) त्यसका युक्तिहरू के-के हुन्? अनि हामी कसरी ती युक्तिहरू विरुद्ध खडा हुन सक्छौं?
मानिसको जन्मजात आवश्यकताको शैतानले नाजायज फाइदा उठाउँछ
सृष्टि भएदेखि नै शैतानले मानिसहरूलाई नियालिरहेको छ। उसलाई मानिसको स्वभाव थाह छ। मानिसका आवश्यकता, चासो, इच्छा सबै थाह छ। ईश्वरको उपासना गर्नुपर्ने आवश्यकता राखेर मानिसहरू सृष्टि गरिएका थिए भनेर पनि शैतानलाई राम्ररी थाह छ अनि मानिसको यो जन्मजात आवश्यकताको त्यसले चलाखीपूर्ण ढङ्गमा नाजायज फाइदा उठाएको छ। कसरी? मानिसहरूको दिमागमा धर्मद्वारा गलत शिक्षाहरू घुसाएर। (यूहन्ना ८:४४) विभिन्न धर्महरूले ईश्वरबारे सिकाउने कुराहरू एकअर्कासित बाझिन्छन् अनि गोलमाल छन्। तपाईंको विचारमा यो सबैको पछाडि को छ? एकअर्कासित बाझिने कुराहरू सबै सत्य हुन सक्दैनन्। मानिसहरूलाई बहकाउने यी सबै धार्मिक शिक्षाहरूको पछाडि को छ? शैतान नै होइन र? बाइबलमा त्यसलाई “यस संसारको देव” भनिएको छ जसले मानिसहरूको मन अन्धो बनाएको छ।—२ कोरिन्थी ४:४.
ईश्वरबारे सत्य कुरा थाह पाएपछि धर्मका छलकपटले तपाईंलाई बहकाउन सक्नेछैन। पहिले-पहिले सिपाहीहरूले आफ्नो कम्मरको सुरक्षा गर्न बाँध्ने पेटीलाई बाइबलमा परमेश्वरको वचनको सत्यसित तुलना गरिएको छ। (एफिसी ६:१४) कम्मरमा पेटी बाँधेझैं गरी बाइबलको ज्ञान लिनुभयो र त्यसैअनुसार चल्नुभयो भने धर्मले सिकाउने झूट र गलतबाट परमेश्वरको वचनले तपाईंलाई सुरक्षित राख्नेछ।
उपासना गर्ने जन्मजात चाहनाले गर्दा मानिसले नानाभाँतिका कुरातिर आफ्नो मन डुलाएका छन्। यसले गर्दा मानिसहरू शैतानको अर्को एउटा चालको सजिलै सिकार बन्छन्। अनौठो र रहस्यमय कुराहरू जान्ने कौतूहलताको नाजायज फाइदा उठाउँदै शैतानले प्रेतवादद्वारा थुप्रैलाई आफ्नो फन्दामा पारेको छ। सिकारीले पासो थापेझैं, भविष्य बताउने, ज्योतिषविद्या, टुनामुना, झाँक्री, बोक्सी, हात हेर्ने र जादूमंत्रजस्ता तरिकाहरू चलाएर शैतानले मानिसहरूलाई आफ्नो फन्दामा पार्छ।—लेवी १९:३१; भजन ११९:११०.
प्रेतवादको पासोमा नपर्न तपाईं के गर्न सक्नुहुन्छ? व्यवस्था १८:१०-१२ यसो भन्छ: “आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो, औ यिनै घृणित रीति-थीतिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई निकालिदिनुहुन्छ।”
बाइबलले स्पष्ट सल्लाह दिन्छ: प्रेतवादमा चासै नराख्नू। प्रेतवादसित सम्बन्धित कुनै कुरामा अहिले मुछिनुभएको छ र अब त्यसलाई छोड्न चाहनुहुन्छ भने नि? तपाईंले एफिसस सहरका प्रारम्भिक मसीहीहरूले गरेझैं गर्न सक्नुहुन्छ। बाइबल यसो भन्छ, तिनीहरूले यहोवाको “वचन” स्वीकारेपछि “तिनीहरूमध्ये धेरै जना, जसजसले टुना-मुना गर्थे, आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामु जलाइदिए।” (प्रेरित १९:१९, २०) ती किताबहरू महँगा थिए। तिनीहरूको मूल्य ५०,००० चाँदीको सिक्का बराबर थियो। (प्रेरित १९:१९, २०, NRV) तैपनि, एफिससका मसीहीहरूले ती जलाउन आनाकानी गरेनन्।
शैतानले मानिसको कमजोरीको फाइदा उठाउँछ
आफूलाई उच्च बनाउने चाहना नकार्न नखोज्दा एउटा सिद्ध स्वर्गदूत शैतान अर्थात् दियाबल बन्यो। त्यसले हव्वाको मनमा पनि परमेश्वरजस्तै हुने घमन्ड र स्वार्थी लालसा जगायो। आज शैतानले थुप्रैको मनमा घमन्ड जगाएर पासोमा पार्छ। उदाहरणका लागि, कसै-कसैलाई आफ्नो जात, सम्प्रदाय वा राष्ट्रियता अरूको भन्दा ठूलो लाग्ला। तर यो कुरा बाइबलको शिक्षाभन्दा कति फरक छ! (प्रेरित १०:३४, ३५) बाइबलले स्पष्टसित यसो भन्छ: “[परमेश्वरले] एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।”—प्रेरित १७:२६.
मानिसहरूको मनमा घमन्ड जगाउने शैतानको प्रयासको प्रतिरोध गर्ने एउटा राम्रो तरिका नम्र हुनु हो। हामीले “आफूलाई जस्तो सम्झनुपर्दछ त्यसभन्दा बढी नसम्झ” भनी बाइबलले सल्लाह दिन्छ। (रोमी १२:३) बाइबल यसो पनि भन्छ: “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) शैतानको प्रयासलाई विफल बनाउन हामी नम्र हुनुपर्छ अनि जीवनमा परमेश्वरलाई मनपर्ने गुणहरू देखाउनुपर्छ।
अनैतिक यौन इच्छाको वशमा पर्ने मानव कमजोरीको फाइदा उठाउन पनि शैतान लागिपरेको छ। मानिसहरूको जीवन सुखमय होस् भन्ने यहोवा चाहनुहुन्छ। परमेश्वरले तोक्नुभएको सीमा उल्लङ्घन नगरी आफ्ना इच्छाहरू पूरा गर्दा साँचो आनन्द मिल्छ। तर शैतानले अनैतिक तरिकामा इच्छाहरू पूरा गर्न मानिसहरूलाई लोभ्याउँछ। (१ कोरिन्थी ६:९, १०) चोखा र सद्गुणले भरिएका कुराहरूमा ध्यान दिएर यस्ता इच्छालाई नकार्नु कत्ति बेस! (फिलिप्पी ४:८) अनि मात्र तपाईंले आफ्नो सोचाइ तथा भावनाहरूलाई वशमा राख्न सक्नुहुन्छ।
शैतानको प्रतिरोध गर्न नछोड्नुहोस्
के तपाईं शैतानको प्रतिरोध गर्न सक्नुहुन्छ? अवश्य। बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) तर त्यसले तुरुन्तै हार मान्नेछैन अनि परमेश्वरको ज्ञान लिनदेखि रोक्न समस्याहरू खडा गर्न पनि छोड्नेछैन। शैतानले फेरि अर्को “अनुकूल समय[मा]” कोसिस गर्नेछ। (लूका ४:१३, NRV) तर नडराउनुहोस्। तपाईंले शैतानको विरोध गर्न छोड्नुभएन भने त्यसले तपाईंलाई साँचो परमेश्वरबाट तर्काउन सक्नेछैन।
शैतानको प्रतिरोध गर्न त्यो को हो अनि त्यसले कसरी मानिसलाई बहकाउँछ भनेर थाह पाउनुको अलावा त्यसका युक्तिहरूबाट सुरक्षित रहने कदम पनि चाल्नुपर्छ। यी कुराहरू पत्ता लगाउने एउटै स्रोत परमेश्वरको वचन बाइबल हो। त्यसकारण परमेश्वरको प्रेरित वचन बाइबल अध्ययन गर्ने सङ्कल्प गर्नुहोस् अनि सिकेका कुराहरू जीवनमा लागू गर्नुहोस्। तपाईंको इलाकाका यहोवाका साक्षीहरू तपाईंलाई अनुकूल पर्ने समयमा कुनै शुल्क नलिई बाइबलबाट बुझाउन खुसी हुनेछन्। तिनीहरूलाई सम्पर्क गर्नुहोस् वा यस पत्रिकाको प्रकाशकलाई पत्र लेख्नुहोस्।
नबिर्सनुहोस्, बाइबल अध्ययन गर्न थाल्दा परमेश्वरको वचनबाट सत्य कुरा सिक्नदेखि रोक्न शैतानले विरोध गर्ला वा सताउला। आफन्तहरू पनि रीसाउलान्। बाइबलका असल कुराहरू थाह नपाएकोले तिनीहरू रीसाएका हुन सक्छन्। कतिपयले खिसी गर्लान्। तर के त्यस्ता दबाबहरू सामु हार मान्यौं भने परमेश्वर खुसी हुनुहोला र? साँचो परमेश्वरबारे सिक्न छोडोस् भनेर शैतानले निरुत्साहित बनाउन खोज्छ। शैतानलाई जित्न नदिनुहोस्। (मत्ती १०:३४-३९) शैतानले तपाईंलाई के दिएको छ र? यहोवा परमेश्वरले त तपाईंलाई जीवन दिनुभएको छ। त्यसकारण शैतानको प्रतिरोध गर्न कटिबद्ध हुनुहोस् अनि यहोवाको ‘हृदय आनन्दित’ बनाउनुहोस्।—हितोपदेश २७:११.
[पृष्ठ ६-मा भएको चित्र]
मसीही भएपछि प्रेतवादसित सम्बन्धित सबै पुस्तकहरू तिनीहरूले जलाए
[पृष्ठ ६-मा भएको चित्र]
बाइबल अध्ययन गर्ने सङ्कल्प गर्नुहोस्