यहोवाको वचन जीवित छ
एज्राको पुस्तकका विषेशताहरू
एज्राको पुस्तक दोस्रो इतिहासको पुस्तकका घटनाहरूको निरन्तरता हो। यसका लेखक पूजाहारी एज्रा हुन्। बेबिलोनमा निर्वासित शेष यहूदीहरूलाई मातृभूमि फर्काउने फारसको राजा कोरेसको उर्दीबाट विवरण सुरु हुन्छ। बेबिलोनीहरूको रीतिथितिबाट आफूलाई भ्रष्ट पार्नेहरूलाई एज्राले हटाएपछि विवरण टुङ्गिन्छ। यस पुस्तकले ७० वर्षभित्रका घटनाहरूलाई समेटेको छ। सालमा भन्नुपर्दा ई.पू. ५३७ देखि ई.पू. ४६७ सम्म।
पुस्तक लेख्दा एज्राको मनमा स्पष्ट लक्ष्य थियो: एउटा, आफ्ना जनहरूलाई बेबिलोनको निर्वासनबाट मुक्त गर्ने प्रतिज्ञा यहोवाले कसरी पूरा गर्नुभयो, सो स्पष्ट पार्ने अनि अर्को, यरूशलेममा साँचो उपासनाको पुनर्स्थापना गर्ने। यिनै लक्ष्यसित सम्बन्धित घटनामा एज्राको विवरण केन्द्रित छ। विरोध र परमेश्वरका जनहरूको असिद्धताको बावजुद मन्दिरको पुनर्निर्माण र यहोवाको उपासनाको पुनर्स्थापना कसरी भयो, एज्राको पुस्तकमा यिनै कुराहरू छन्। यो पुस्तकले आज हाम्रो लागि ठूलो अर्थ राख्छ किनकि हामी पनि पुनर्स्थापनाको घडीमै बाँचिरहेका छौं। धेरै जना “परमप्रभुको पर्वतमा” ओइरिरहेका छन्। सारा पृथ्वी “परमप्रभुको महिमाको शानले भरिपूर्ण” हुनै लागेको छ।—यशैया २:२, ३; हबकूक २:१४.
मन्दिरको पुनर्निमाण हुन्छ
यहूदीहरूलाई मुक्त गरिदिने कोरेसको उर्दी शिरोपर गर्दै करिब ५०,००० निर्वासित यहूदीहरू बडाहाकिम यरूबाबेल अर्थात् शेशबस्सरको नेतृत्वमा यरूशलेम फर्कन्छन्। यरूशलेम पुग्ने बित्तिकै तिनीहरूले वेदी बनाउँछन् र यहोवालाई बलिदान चढाउन थाल्छन्।
अर्को वर्ष इस्राएलीहरूले यहोवाको भवनको जग हाल्छन्। शत्रुहरूले पुनर्निमाण काममा भाँजो हालिरहन्छन्। अन्ततः काम ठप्पै रोक्न शाही उर्दी हात पार्न शत्रुहरू सफल हुन्छन्। यसैबेला अगमवक्ता हाग्गै र जकरिया मानिसहरूलाई जुरमुऱ्याउँछन्। प्रतिबन्ध भए पनि मन्दिरको पुनर्निमाण थाल्छन्। अन्ततः कोरेसले जारी गरेको बदर नहुने फारसी उर्दीको विरोध गर्ने हिम्मत नभएकोले शत्रुहरू लाचार हुन्छन्। एउटा सरकारी उत्खनन्बाट “यरूशलेमका परमेश्वरको भवनको विषयमा” कोरेसको उर्दी पत्ता लाग्छ। (एज्रा ६:३) काम सुचारु ढङ्गमा अघि बढ्छ र सम्पन्न हुन्छ।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१:३-६—मातृभूमि फर्कन नचाहने इस्राएलीहरू के विश्वासमा कमजोर थिए? भौतिकवादी भएकोले वा साँचो उपासनाप्रति कृतज्ञताको कमीले गर्दा कोही-कोही यरूशलेम नफर्केका हुन सक्छन्। तर सबै यस्ता थिएनन्। एउटा कारण त, १,६०० किलोमिटर टाढा यरूशलेमसम्म पुग्न चार/पाँच महिना लाग्थ्यो। साथै, ७० वर्षसम्म उजाड रहेको यरूशलेममा नयाँ जीवन थालनी गर्न अनि पुनर्निर्माण गर्न लर्तरो बलले पुग्दैनथ्यो। त्यसैले शारीरिक असक्तता, बुढ्यौली, पारिवारिक दायित्वले गर्दा नै कोही-कोही फर्कन नसकेका हुन सक्छन्।
२:४३—नेथिनिम अर्थात् मन्दिरका सेवकहरू को थिए? मन्दिरका दास अथवा सेवकको काम गर्ने यिनीहरू इस्राएली थिएनन्। कोही यहोशूका समयमा गिबोनीहरूका सन्तान थिए त कोही “लेवीहरूलाई सघाउन . . . दाऊद र तिनका अफिसरहरूले स्थापित गरेका” व्यक्तिहरू थिए।—एज्रा ८:२०.
२:५५—सुलेमानका चाकरहरूका सन्तान को थिए? गैरइस्राएलीहरू थिए। यहोवाको सेवामा यिनीहरूलाई विशेष सुअवसरहरू दिइयो। मन्दिरका लेखनदास अथवा लेखोटहरूको नक्कल उतार्ने व्यक्ति पनि यिनीहरू नै थिए। कसै-कसैले त प्रशासनिक कार्यसमेत गरे।
२:६१-६३—बेबिलोनबाट फर्कनेहरूसित के यहोवाबाट जवाफ चाहिएको बेला प्रयोग गरिने ऊरीम र तुम्मीम थियो? पूजाहारीको सन्तान भनी दाबी गर्ने तर आफ्नो पुर्ख्यौली साबित गर्न नसक्नेहरूले आफ्नो दाबी प्रमाणित गर्न ऊरीम र तुम्मीम देखाएको हुन सक्छ। तर एज्रा यसलाई सम्भावनाको रूपमा उल्लेख गर्छन्। त्यसबेला अनि पछि पनि ऊरीम र तुम्मीम चलाइएको विवरण कतै पाइँदैन। ई.पू. ६०७ मै मन्दिरको विनाश हुँदा ऊरीम र तुम्मीम हराइसक्यो भन्ने यहूदीहरूको विश्वास छ।
३:१२—यहोवाको “अघिको भवन देख्ने . . . घराना घरानाका प्रधानहरू” किन रोए? सुलेमानले बनाएको मन्दिरको भव्यतालाई ती मानिसहरूले झलझली सम्झे। तिनीहरूलाई लाग्यो, यो नयाँ मन्दिरको जग पहिलेको तुलनामा “केही पनि होइन।” (हाग्गै २:२, ३) तर जति नै रोइ-कराइ गरे पनि के पहिलेको मन्दिरको त्यो शान फर्काउन सकिन्थ्यो र? मन नमिठो भएर होला, तिनीहरू धुरुधुरु रोए।
३:८-१०; ४:२३, २४; ६:१५, १६—मन्दिर पुनर्निर्माण गर्न कति वर्ष लाग्यो? “फर्केर आएको दोस्रो वर्ष” अर्थात् ई.पू. ५३६ मा मन्दिरको जग बसालियो। ई.पू. ५२२ मा राजा आर्ट-जारसेजको शासनकालमा निर्माण-कार्य रोकियो। राजा दाराको शासनकालको दोस्रो वर्ष अर्थात् ई.पू. ५२० सम्म प्रतिबन्ध रह्यो। उनको शासनकालको छैठौं वर्ष अर्थात् ई.पू. ५१५ मा मन्दिरको पुनर्निर्माण सम्पन्न भयो। (“ई.पू. ५३७ देखि ई.पू. ४६७ सम्मका फारसी राजाहरू” भन्ने पेटी हेर्नुहोस्।) तसर्थ, मन्दिर पुनर्निर्माण गर्न लगभग २० वर्ष लाग्यो।
४:८-६:१८.—यी पदहरू किन अरामी भाषामा लेखियो?—यी पदहरू मध्ये अधिकांश राजालाई सरकारी अधिकारीहरूले पठाएका पत्रहरू र राजाले पठाएका जवाफहरू हुन्। एज्राले चलनचल्तीको व्यापारिक र सरकारी अरामी भाषाको आधिकारिक रेकर्डबाट यी विवरणहरू सारेका थिए। यस्तै पुरानो अरामी भाषामा लेखिएका बाइबलका अन्य भागहरू, एज्रा ७:१२-२६; यर्मिया १०:११; दानियल २:४ख–७:२८ हुन्।
हाम्रो लागि पाठ:
१:२. यशैयाले लगभग २०० वर्षअघि गरेको भविष्यवाणी पूरा भयो। (यशैया ४४:२८) यहोवाको वचनमा दिइएका अगमवाणी पूरा भएरै छाड्छ।
१:३-६. यरूशलेम नफर्की बेबिलोनमै बसेका केही इस्राएली जस्तै आफ्नो अवस्थाले गर्दा पूर्ण-समय सेवा गर्न अथवा आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न नसकेका धेरै साक्षीहरूले सक्नेहरूलाई सहयोग र प्रोत्साहन दिन्छन्। अनि राज्य-प्रचार र चेला बनाउने काम अघि बढाउन स्वैच्छिक अनुदान दिन्छन्।
३:१-६. ई.पू. ५३७ को सातौं महिनामा (तिस्री महिना, सेप्टेम्बर/अक्टोबर) बेबिलोनबाट फर्केका विश्वासीहरूले पहिलो बलिदान चढाए। ई.पू. ६०७ को पाँचौं महिनामा (आब महिना, जुलाई/अगस्त) राजा नबुकदनेसर यरूशलेम फर्के र त्यसको दुई महिनापछि सहर पूरै नाश भयो। (२ राजा २५:८-१७, २२-२६) भविष्यवाणीअनुसारै ठीक समयमा यरूशलेमको ७० वर्षे उजाड अवस्था अन्त हुन्छ। (यर्मिया २५:११; २९:१०) यहोवाको वचनको सबै भविष्यवाणी पूरा भएरै छाड्छ।
४:१-३. विश्वासी शेष जनहरूले झुटा उपासकहरूसित धार्मिक साँठगाँठ गर्ने प्रस्ताव नकारे। (प्रस्थान २०:५; ३४:१२) आज पनि यहोवाका साक्षीहरू अन्तर-विश्वाससित सम्बन्धित कामकुराबाट टाढा रहन्छन्।
५:१-७; ६:१-१२. आफ्ना जनहरूको हितको खातिर यहोवाले मामिलाहरूमा हस्तक्षेप गर्न सक्नुहुन्छ।
६:१४, २२. यहोवाको काममा जोसिलो भई लाग्दा अवश्य उहाँको अनुमोदन र आशिष् पाइन्छ।
६:२१. यहोवाको काम अघि बढेको देखेपछि यहूदीहरूको मातृभूमि यरूशलेममा बस्ने सामरीहरू अनि बेबिलोनमै मूर्तिपूजक धर्म अँगालेर यरूशलेम फर्केकाहरू आफ्नो जीवनमा आवश्यक सुधार गर्न उत्प्रेरित भए। परमेश्वरले हामीलाई दिनुभएको राज्य-सन्देश घोषणा गर्ने कामलगायत अन्य कामहरूमा के हामी जोसिलो भई लाग्नु पर्दैन र?
एज्रा यरूशलेम पुग्छन्
पुनःनिर्मित यहोवाको भवनको उद्घाटन भएको ५० वर्ष बितिसकेको छ। साल ई.पू. ४६८ हो। परमेश्वरका शेष जन र अनुदान रकम लिएर एज्रा बेबिलोनबाट यरूशलेम जान्छन्। तर त्यहाँ उनले के देख्छन्?
मुखियाहरू एज्रालाई भन्छन्: “इस्राएलका मानिस, पूजाहारी र लेवीहरूले विदेशी मानिसहरू, अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्।” अनि “यसमा मुखियाहरू र न्यायकर्त्ताहरूनै खास दोषी छन्।” (एज्रा ९:१, २) एज्रा स्तब्ध भए। उनी “साहस गरेर काम” गर्न हौसिए। (एज्रा १०:४) एज्रा सुधारका कदमहरू चाल्छन्। मानिसहरूले त्यसको स्वागत गर्छन्।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
७:१, ७, ११—के यी सबै पदहरूमा बताइएको आर्ट-जारसेज र निर्माण-कार्य रोक्ने आर्ट-जारसेज एउटै हुन्? होइन। आर्ट-जारसेज त पदवी मात्र हो। यो पदवी दुई जना फारसी राजाहरूलाई दिइयो। एक जना गाउमाता अथवा बार्दिया हुन सक्छ जसले ई.पू. ५२२ मा मन्दिर निर्माणको काम रोक्ने आदेश दिए। एज्रा यरूशलेम आएको समयमा चाहिं आर्ट-जारसेज लंगिमानस राजा थिए।
७:२८-८:२०—धेरै यहूदीहरू किन एज्रासित यरूशलेम जान इच्छुक थिएनन्? यहूदीहरूको पहिलो समूह मातृभूमि फर्केको ६० वर्ष भन्दा धेरै बितिसकेको भए तापनि यरूशलेमा त्यति बस्ती बसिसकेको थिएन। यरूशलेम फर्कंदा असुविधाजनक र खतरनाक परिस्थितिमा नयाँ जीवन बसाउनुपर्थ्यो। सम्भवतः बेबिलोनमा सम्पन्न जीवन बिताइरहेका यहूदीहरूलाई त्यतिबेलाको यरूशलेमले आकर्षक भौतिक सरसम्पत्ति दिन सक्दैनथ्यो। त्यसमाथि त्यतिबेलाको जोखिमपूर्ण यात्रा त छँदै थियो। मातृभूमि फर्कनेहरूसित यरूशलेम फर्कन यहोवाप्रति बलियो विश्वास, साँचो उपासनाको लागि जोस र साहस हुनुपर्थ्यो। आफूमाथि यहोवाको हात भएको कुरा सम्झँदै एज्राले आफूलाई बलियो बनाए। एज्राको प्रोत्साहनले १,५०० परिवार—सम्भवतः ६,००० मानिसहरू यरूशलेम फर्केका हुन सक्छन्। एज्राको थप हौसला पाएर ३८ जना लेवी र २२० जना मन्दिरका सेवक अर्थात् नेथिनिमहरू पनि यरूशलेम फर्किए।
९:१, २—बेबिलोनका मानिसहरूसित विवाह गर्नु कत्तिको खतरनाक थियो? मसीह नआएसम्म पुनर्स्थापित राष्ट्र यहोवाको उपासनाको संरक्षक हुनुपर्थ्यो। अन्य ठाउँका मानिसहरूसित विवाह गर्नु साँचो उपासनाको लागि साँच्चै खतरा थियो। किनकि कसै-कसैले मूर्तिपूजकहरूसित बिहे गरेका थिए। पूरै राष्ट्र मूर्तिपूजक राष्ट्रहरूसित छ्यासमिस हुन सक्थ्यो। साँचो उपासना पृथ्वीबाट पूर्णतया नामेट हुन सक्थ्यो। त्यसपछि कसको लागि मसीह आउने? त्यसैले एज्रा स्तब्ध भए!
१०:३, ४४—पत्नीहरूसितै किन छोराछोरी पनि त्यागियो? बच्चाहरूलाई नत्यागेको भए बच्चाले गर्दा नै त्यागिएका पत्नीहरू फर्कने सम्भावना प्रबल हुन्थ्यो। साथै, साना बच्चाहरूलाई आमाको स्याहार चाहिन्छ।
हाम्रो लागि पाठ:
७:१०. परमेश्वरको वचनको लगनशील विद्यार्थी र प्रभावकारी शिक्षकको रूपमा एज्राले राम्रो उदाहरण बसाले। यहोवाको व्यवस्था पढ्न प्रार्थनापूर्वक उनले आफ्नो हृदय तयार पारे। उनले यहोवाको व्यवस्था जाँचे। यहोवाले जे भन्नुभयो, पूर्ण ध्यान दिए। सिकेका कुराहरू एज्राले लागू गरे अनि अरूलाई सिकाउन सक्दो गरे।
७:१३. यहोवा इच्छुक सेवकहरू चाहनुहुन्छ।
७:२७, २८; ८:२१-२३. एज्राले यहोवालाई श्रेय दिए। यरूशलेमको लामो र खतरनाक यात्रा थाल्नुअघि साँचो मनले उहाँलाई पुकारे। परमेश्वरको महिमाको खातिर आफ्नो ज्यान जोखिममा राख्न तयार भए। उनले हाम्रो लागि साँच्चै असल उदाहरण बसाले।
९:२. “प्रभुमा मात्र” विवाह गर्ने सल्लाहलाई हामीले हल्कासित लिनु हुँदैन।—१ कोरिन्थी ७:३९.
९:१४, १५. खराब संगतले यहोवाको अनुमोदन गुम्न सक्छ।
१०:२-१२, ४४. विदेशी पत्नी ल्याउनेहरूले नम्र भई पश्चात्ताप गरे। आफ्नो गल्ती सच्चाए। तिनीहरूको मनोवृत्ति र काम उदाहरणीय छ।
यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गरेरै छाड्नुहुन्छ
हाम्रो लागि एज्राको पुस्तक कत्ति मूल्यवान छ! आफ्ना जनहरूलाई बेबिलोनी निर्वासनबाट मुक्त गर्ने र यरूशलेममा साँचो उपासना पुनर्स्थापना गर्ने प्रतिज्ञा यहोवाले ठीक समयमा पूरा गर्नुभयो। के यसले यहोवा र उहाँको प्रतिज्ञामा हाम्रो विश्वास बलियो पार्दैन र?
एज्राको पुस्तकमा लिपिबद्ध उदाहरणहरूमा एकछिन घोरिनुहोस्। यरूशलेममा साँचो उपासना पुनर्स्थापित गर्न फर्केका एज्रा अनि शेष जनहरूले परमेश्वरमाथि उदाहरणीय भक्ति देखाए। यस पुस्तकले परमेश्वरसित डराउने विदेशीहरूको विश्वास र गलत काम गर्ने पश्चातापीहरूको नम्र मनोवृत्तिलाई पनि स्पष्ट पार्छ। साँच्चै, एज्राको पुस्तकका प्रेरित शब्दहरू “परमेश्वरको वचन जीवित र प्रबल” छ भन्ने कुराको अचूक सबूत हुन्।—हिब्रू ४:१२. (w06 1/15)
[पृष्ठ २८-मा भएको चार्ट/चित्र]
ई.पू. ५३७ देखि ई.पू. ४६७ सम्मका फारसी राजाहरू
महान् कोरेस (एज्रा १:१) ई.पू. ५३० मा निधन
क्याम्बीसेज अथवा अहासूरस (एज्रा ४:६) ई.पू. ५३०-५२२
आर्ट-जारसेज—बार्दिया अथवा गाउमाता (एज्रा ४:७) ई.पू. ५२२ (सात महिनाको शासनपछि हत्या)
दारा प्रथम (एज्रा ४:२४) ई.पू. ५२२-४८६
जारसेज अथवा अहासूरसa ई.पू. ४८६-४७५ (ई.पू. ४९६ देखि ४८६ सम्म दाराको सहशासक भएर शासन गरेको)
आर्ट-जारसेज लंगिमानस (एज्रा ७:१) ई.पू.४७५-४२४
[फुटनोट]
a एज्राको पुस्तकमा जारसेज नाउँ उल्लेख छैन। एस्तरको पुस्तकमा तिनलाई अहासूरस भनिएको छ।
[चित्र]
अहासूरस
[पृष्ठ २७-मा भएको चित्र]
कोरेस
कोरेसको शिलालेखमा बन्दीहरू मातृभूमि फर्कने नीतिनियमहरू लिपिबद्ध थियो
Cylinder: Photograph taken by courtesy of the British Museum
[पृष्ठ ३०-मा भएको चित्र]
एज्रा कसरी प्रभावकारी शिक्षक बने, भन्न सक्नुहुन्छ?