साँचो समृद्धि ईश्वरीय नयाँ संसारमा
एक मसीही पति र पिता दीपa अमेरिका उड्छन्। आफ्नो निर्णयमा उनी खुसी छन्। पत्नी र छोराछोरीलाई छोड्दा मन कटक्क त भएको थियो। तर पैसाले नै परिवारलाई सुख दिन्छ भन्ने कुरामा उनलाई रत्ति शंका थिएन। न्युयोर्कबाट आफ्ना नातेदारले पठाएको निम्तो उनी स्वीकार्छन् र त्यतै जागिर खान्छन्।
समय बित्दै जाँदा दीपका आशाहरू धमिलिंदै जान्छन्। आध्यात्मिक कुराको लागि समय हुँदैन। एक दिन परमेश्वरप्रतिको उनको विश्वास नै धरमराउँछ। अनैतिक काममा फसेपछि बल्ल उनको होस खुल्छ। धनी बन्ने धुनमा आफ्ना जीवनका महत्त्वपूर्ण कुराहरू उनले गुमाइरहेका थिए। परिवर्तन गर्नैपर्ने थियो।
दीपजस्तै लाखौं मानिसहरू पैसा कमाउन विदेशिन्छन्। तर धेरैले ठूलो आध्यात्मिक मूल्य पनि चुकाउँछन्। अतः धेरैले प्रश्न गर्छन्, ‘के मसीहीहरूले पैसा र आध्यात्मिकता दुवै हासिल गर्न सक्छन्?’ लोकप्रिय लेखक तथा पास्टरहरूको भनाइमा यो सम्भव छ। तर दीप लगायत धेरैको उदाहरणले देखाउँछ, चीची पनि पापा पनि पाउन मुश्कील छ।—लूका १८:२४.
पैसा खराब होइन
हो, पैसा मानव आविष्कार हो। अन्य आविष्कार जस्तै यो आफैमा खराब होइन। यो केवल कारोबार गर्ने एउटा माध्यम हो। सदुपयोग गरेमा यो लाभकारी छ। बाइबल भन्छ, गरिबीबाट बच्न “रुपियाँपैसा एउटा आश्रय हो।” (उपदेशक ७:१२, NRV) तर कसै-कसैको लागि “सबै गराउने रूपियाँ-पैसानै” नै भएको छ।—उपदेशक १०:१९.
बाइबलले अल्छिपनाको निन्दा गर्छ र परिश्रम गर्न प्रोत्साहित गर्छ। परिवार पाल्ने हाम्रो जिम्मेवारी छ। अनि आफूसित केही छ भने ‘दरकार पर्नेहरूलाई केही दिन’ पनि सक्छौं। (एफिसी ४:२८; १ तिमोथी ५:८) बाइबलले जोगी बन्नु भन्दैन। बरु, धन-सम्पत्तिबाट आनन्द उठाउने सल्लाह दिन्छ। सम्पत्तिको “आफ्नो भाग” उपयोग गर्न र मेहनतको कमाइबाट आनन्द उठाउन सुझाव दिन्छ। (उपदेशक ५:१८-२०) बाइबलमा ईश्वरभक्त धनी पुरुष तथा स्त्रीहरूको थुप्रै उदाहरण छ।
ईश्वरभक्त धनी पुरुषहरू
परमेश्वरको विश्वासी सेवक अब्राहामका धेरै भेडा-बाख्रा, गाईवस्तु, सुन-चाँदी र सयौं नोकर-चाकरहरू थिए। (उत्पत्ति १२:५; १३:२, ६, ७) धर्मी अय्यूब पनि निकै धनी थिए। तिनीसित वस्तुभाउ, नोकर-चाकर, सुन-चाँदी प्रशस्त थियो। (अय्यूब १:३; ४२:११, १२) अहिलेको स्तरमा पनि तिनीहरू धनी थिए। तर तिनीहरू परमेश्वरतर्फ पनि धनी थिए।
प्रेरित पावल अब्राहामलाई “विश्वास गर्नेहरू सबैका पिता” भन्छन्। अब्राहाम कन्जुस थिएनन्। न त धनसम्पत्ति भनेर अपहत्ते गर्थे। (रोमी ४:११; उत्पत्ति १३:९; १८:१-८) परमेश्वर स्वयम्ले नै अय्यूबलाई भन्नुभयो, “निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस।” (अय्यूब १:८) गरिब र दुःखीहरूलाई मदत गर्न उनी सदैव तत्पर थिए। (अय्यूब २९:१२-१६) अब्राहाम र अय्यूबले धनसम्पत्तिभन्दा परमेश्वरमा बढी भरोसा राखे।—उत्पत्ति १४:२२-२४; अय्यूब १:२१, २२; रोमी ४:९-१२.
अर्को उदाहरण राजा सुलेमान हुन्। परमेश्वरको सिंहासनको उत्तराधिकारी भएकोले सुलेमानलाई ईश्वरीय बुद्धि मात्र नभई प्रचुर सम्पत्ति र महिमा पनि दिइयो। (१ राजा ३:४-१४) जीवनका अधिकांश समय उनी विश्वासी रहे। तर पछि सुलेमान “परमप्रभु आफ्ना परमेश्वरका सम्पूर्ण रीतिले भक्त भएनन्।” (१ राजा ११:१-८) वास्तवमा उनको नराम्रो उदाहरणले धनका केही खतराहरू स्पष्ट हुन्छ। आउनुहोस्, केही विचार गरौं।
धनका खतराहरू
पैसा र पैसाले दिन सक्ने वस्तुको मोह नै सबैभन्दा ठूलो खतरा हो। पैसाले कसै-कसैमा अतृप्त भोक जगाइदिन्छ। सुरुमा सुलेमानले कसै-कसैमा यस्तो झुकाव देखे। उनले लेखे: “धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन। यो पनि व्यर्थ हो।” (उपदेशक ५:१०) येशू र पावल दुवैले मसीहीहरूलाई यस छली प्रेमविरुद्ध चेतावनी दिए।—मर्कूस ४:१८, १९; २ तिमोथी ३:२.
जब पैसा जीवनको प्रमुख कुरा बन्छ, यो हाम्रो आवश्यकता पूरा गर्ने साधन बन्दैन। हामी अनेकौं अनैतिक पासो, झुट, चोरी र छल जस्ता पासोमा फस्छौं। ख्रीष्टका चेला यहूदा इस्करयोतीले केवल ३० टुक्रा चाँदीको लागि आफ्नै प्रभुलाई धोका दिए। (मर्कूस १४:११; यूहन्ना १२:६) कसै-कसैले पैसा नै सर्वोपरी ठान्दै परमेश्वरलाई चढाउनुपर्ने भक्ति समेत पैसालाई चढाउँछन्। (१ तिमोथी ६:१०) त्यसैले पैसा कमाउँदा हाम्रो मनसाय के हो, त्यसमा मसीहीहरू सधैं इमानदार हुनुपर्छ।—हिब्रू १३:५.
पैसाको पछि लाग्नुको पछाडि झट्टै नदेखिने धेरै खतराहरू लुकेका हुन्छन्। पहिलो कुरा त, धेरै धनले आफैमा भर पर्ने, कसैको आड नचाहिने भावना जगाउन सक्छ। त्यसैले त, येशूले “धन-सम्पत्तिको छल” भन्ने अभिव्यक्ति चलाउनुभयो। (मत्ती १३:२२, NRV) बाइबल लेखक याकूब त व्यापारका योजनाहरू बनाउँदा समेत परमेश्वरलाई नबिर्सने सल्लाह दिन्छन्। (याकूब ४:१३-१६) पैसा भएकाहरूलाई पैसाले केही हदसम्म आत्मनिर्भर त बनाऊला। तर यसले परमेश्वरमा कम र आफैमा बढी भरोसा राख्ने खतरा सधैं नै निम्त्याइरहेको हुन्छ।—हितोपदेश ३०:७-९; प्रेरित ८:१८-२४.
दोस्रो कुरा, दीप जस्तै सम्पत्तिको पछि लाग्दा हाम्रो अचाक्ली समय र शक्ति खान्छ। अनि हामी आध्यात्मिकताबाट बिस्तारै तर्कंदै जान्छौं। (लूका १२:१३-२१) प्रशस्त पैसा छ भने मनोरञ्जन र स्वार्थपूर्तिकै लागि मात्र पैसा उडाउने तलतल सदैव रहन्छ।
सुलेमानको आध्यात्मिकता नराम्ररी खस्कने गरी बुद्धि मन्द हुनुको पछाडि केही हदसम्म के उनको ऐयासी जीवनको हात छैन र? (लूका २१:३४) विदेशीहरूसित बिहे नगर्नू भन्ने परमेश्वरको आज्ञाको हेक्का सुलेमानलाई थियो। तर पनि उनले एक हजार रखौटीहरू राखे। (व्यवस्था ७:३) विदेशी पत्नीहरूलाई खुसी तुल्याउन आतुर सुलेमानले आफ्नो उपासनालाई बिटुलो पारे। हो, सुलेमानको हृदय यहोवाबाट बिस्तारै टाढिदै गयो।
यी उदाहरणहरूबाट स्पष्ट हुन्छ, “कसैले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैन।” (मत्ती ६:२४) त्यसोभए, मसीहीहरूले कसरी अहिले भोग्नुपरेका अधिकांश आर्थिक समस्याहरूको सफलतासाथ समाना गर्न सक्छन्? अनि आउँदै गरेको सुखी जीवनमा के-कस्ता आशाहरू छन्?
साँचो समृद्धि नजिकै
अब्राहाम, अय्यूब र इस्राएल राष्ट्रलाई भन्दा फरक, आज येशूका चेलाहरूलाई “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने आज्ञा दिइएको छ। (मत्ती २८:१९, २०) यो कार्यभार पूरा गर्न समय र प्रयास चाहिन्छ। यसो गरेनौं भने अरू नै कुरामा हाम्रो ध्यान जान सक्छ। त्यसैले सफलता येशूले भन्नुभएको यस कुरामा निर्भर छ: “पहिले [परमेश्वरको] राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३३.
आफ्नो परिवार र आध्यात्मिकता गुम्नै लाग्दा बल्ल दीपको होस खुल्यो। येशूले प्रतिज्ञा गर्नुभएझैं दीपले बाइबल अध्ययन, प्रार्थना र सेवकाईलाई जीवनमा प्राथमिकता दिन थालेपछि अरू कुरा स्वतः मिल्न थाल्यो। बिस्तारै पत्नी र बच्चाहरूसित उनको सम्बन्ध सुमधुर भयो। खुसी र सन्तुष्टि फेरि फर्क्यो। उनी अझै मेहनत गर्छन्। उनी एकदमै सम्पन्न त भएनन्। तर जीवनको त्यो तीतो अनुभवबाट उनले गहन पाठ सिके।
अमेरिका जाने आफ्नो निर्णयमा उनी पुनः घोरिन्छन् अनि मनमनै दृढ संकल्प गर्छन्, आइन्दा कुनै पनि निर्णयमा पैसालाई नल्याउने। जीवनका अनमोल कुराहरूको महत्त्व उनले राम्ररी बुझेका छन्—परिवार, असल साथीहरू र परमेश्वरसितको सम्बन्ध। हो, यी सब पैसाले किन्न सकिंदैन। (हितोपदेश १७:१७; २४:२७; यशैया ५५:१, २) साँच्चै, पैसाभन्दा नैतिक निष्ठाको धेरै ठूलो महत्त्व छ। (हितोपदेश १९:१; २२:१) आज दीप आफ्नो परिवारसित छन् र पहिलो कुरालाई पहिलै स्थान दिन दृढ छन्।—फिलिप्पी १:१०.
धन र नैतिकताको सन्तुलित समाज बसाउने मानिसको प्रयास असफल भएको छ। तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ—उहाँको राज्यले प्रशस्त भौतिक र आध्यात्मिक कुराहरू दिनेछ। सुखी जीवन बिताउन हामीलाई यो चाहिन्छ। (भजन ७२:१६; यशैया ६५:२१-२३) साँचो समृद्धिको सुरुवात आध्यात्मिकताबाटै हुन्छ। (मत्ती ५:३) चाहे, हामी भौतिक रूपमा सम्पन्न होऔं या नहोऔं, आध्यात्मिकतालाई प्राथमिकता दिनु नै आउँदै गरेको त्यो सुन्दर संसारको लागि हामीले बसालेको उत्तम जग हो। (१ तिमोथी ६:१७-१९) हो, त्यो संसार साँच्चै, आध्यात्मिकता र भौतिकता दुवैमा समृद्ध हुनेछ।(w06 2/1)
[फुटनोट]
a नाउँ परिवर्तन।
[पृष्ठ ५-मा भएका चित्रहरू]
अय्यूबले आफ्नो धनमा होइन तर परमेश्वरमा भरोसा राखे
[पृष्ठ ७-मा भएका चित्रहरू]
जीवनका अनमोल कुराहरू पैसाले किन्न सकिन्न