तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
तिनले प्रार्थनामा परमेश्वरलाई आफ्नो मनको बह पोखाइन्
हन्ना आफ्नो समस्यालाई बिर्सेर यात्राको तयारीमा व्यस्त छिन्। तिनका श्रीमान् एल्कानाले वर्षेनी आफ्नो सम्पूर्ण परिवारलाई शिलोमा रहेको बासस्थानमा उपासनाको लागि लैजाँदै आएका छन् र यो पक्कै पनि एउटा रमाइलो अवसर हुनुपर्ने हो। यस्ता अवसरहरू आनन्दमय होस् भन्ने यहोवा चाहनुहुन्छ। (व्यवस्था १६:१५) अनि पक्कै पनि हन्नालाई यी चाडहरू आफ्नो बाल्यकालदेखि नै रमाइलो लाग्थ्यो। तर हालैका वर्षहरूमा भने तिनको परिस्थितिमा परिवर्तन आएको छ।
आफूलाई माया गर्ने श्रीमान् पाएकोमा तिनले आफूलाई धन्यको सम्झिन सक्थिन्। तर एल्कानाको अर्की श्रीमती पनि थियो। तिनको नाम पनिन्ना थियो र तिनको एउटै ध्याउन्न भनेको हन्नालाई सताउनु थियो जस्तो देखिन्छ। यस्ता वार्षिक अवसरहरूमा समेत हन्नालाई कसरी हदैसम्म सताउन सकिन्छ भनेर पनिन्नाले भेउ पाइसकेकी थिइन्। अझ महत्त्वपूर्ण, आफ्नो वशमै नभएजस्तो देखिने परिस्थितिमा समेत यहोवामाथिको विश्वासले हन्नालाई सहन कसरी मदत गऱ्यो? जीवनलाई निरस बनाइदिने चुनौतीपूर्ण परिस्थिति आइपर्दा हन्नाको अनुभव तपाईंलाई विशेषगरि उत्प्रेरणादायी लाग्न सक्छ।
“तिमी किन यति दुःखित छौ?”
हन्नाको जीवनमा आइपरेका दुइटा ठूला समस्याबारे बाइबलमा बताइएको छ। पहिलो समस्या केही हदसम्म तिनको वशमा थियो भने दोस्रो समस्यामाथि तिनको केही सीप लाग्दैन थियो। पहिलो, तिनको श्रीमान्ले बहुविवाह गरेका थिए र तिनको सौताले तिनलाई आँखाको कसिङ्गर ठान्थिन्। दोस्रो, तिनी बाँझी थिइन्।a सन्तान जन्माउन चाहने जोसुकै स्त्रीको लागि यस्तो परिस्थिति भोग्नु गाह्रो हुन्छ। तर हन्नाको समयमा यो एउटा असह्य पीडाको स्रोत हुन्थ्यो। आफ्नो कुल थाम्न सन्तान नभई हुँदैन भन्ने धारणा त्यतिबेला राखिन्थ्यो। बाँझोपनलाई अति नै बेइज्जती र लज्जास्पद कुरा ठानिन्थ्यो।
पनिन्नाले त्यसरी नसताएको भए हन्नालाई आफ्नो समस्या सहन त्यति गाह्रो हुँदैनथ्यो होला। बहुविवाहलाई कहिल्यै आदर्श विवाह मान्न सकिंदैन। यस्ता विवाहहरूमा कोभन्दा को कम भन्ने भावना, कलह र वेदना हुनु सामान्य हो। एक जनासित मात्र विवाह गर्नू भनेर अदनको बगैंचामा परमेश्वरले दिनुभएको आज्ञासित यो चलन पटक्कै मेल खाँदैन।b (उत्पत्ति २:२४) बहुविवाह गर्दा कस्ता नराम्रा नतिजाहरू भोग्नुपर्छ, त्यसबारे बाइबल बताउँछ र एल्कानाको घरपरिवारको मार्मिक विवरणबाट बहुविवाह उचित होइन भनेर छर्लङ्गै हुन्छ।
हुन त, एल्कानाले हन्नालाई सबैभन्दा धेरै माया गर्थे। यहूदीहरूको भनाइअनुसार तिनले हन्नासित पहिला र त्यसको केही वर्षपछि पनिन्नासित विवाह गरे। जेहोस्, पनिन्नाले हन्नाको असाध्यै आरिस गर्थिन् र आफ्नो प्रतिद्वन्दीलाई सताउन कुनै कसर बाँकी राख्दिन थिइन्। तिनले हन्नालाई यति साह्रो हेप्नुको एउटा प्रमुख कारण तिनले सन्तान जन्माउन नसकेकीले हो। अर्कोतर्फ, पनिन्नाले थुप्रै सन्तान जन्माइसकेकी थिइन् र बालबच्चाको संख्या जति बढ्थ्यो तिनको अहङ्कार पनि त्यति नै बढ्थ्यो। हन्नाको दुःखमा दुःख मान्नु र तिनी निरुत्साहित हुँदा सान्त्वना दिनुको सट्टा पनिन्नाले त्यही कुराको नाजायज फाइदा उठाइन्। तिनले हन्नालाई दुःख दिनकै लागि “खसालेर कुरा गर्ने गर्दथिइन्” भनेर बाइबल बताउँछ। (१ शमूएल १:६) तिनले यो सबै जानाजानी गर्थिन्। तिनको उद्देश्य हन्नालाई चित्त दुखाउनु थियो र तिनी सफल पनि भइन्।
उपासनाको लागि वर्षेनी शिलोमा जाँदा पनिन्नाले हन्नालाई एकदमै नराम्रो महसुस गराउने एउटा राम्रो मौका पाउँथिन् जस्तो देखिन्छ। एल्कानाले पनिन्नाका “सबै छोरा-छोरीहरू”-का लागि भनेर यहोवालाई चढाएको भेटीको धेरै भाग र निस्सन्तान हन्नालाई एक भाग मात्र दिन्थे। त्यसपछि पनिन्नाले आफू श्रेष्ठ छु भनी देखाउने व्यवहार गर्थिन् र तिनको बाँझोपनबारे हन्नालाई सम्झना दिलाइरहन्थिन् जसले गर्दा बिचरी हन्ना रोई बसेर केही खानेकुरा खान मान्दिन थिइन्। पक्कै पनि एल्कानाले आफ्नी प्यारी हन्ना निराश भएकी र तिनले केही नखाएकी याद गरे। त्यसैले तिनले हन्नालाई सान्त्वना दिने प्रयास गर्दै यसो भने, “हन्ना, तिमी किन रोइरहेकी छौ र केही पनि खाँदिनौ? तिमी किन यति दुःखित छौ? के म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढ्ता छैन र?”—१ शमूएल १:४-८.
एउटा राम्रो कुरा, हन्ना निराश हुनुको कारण तिनको बाँझोपन हो भनेर एल्कानाले बुझे। अनि हन्नाले अवश्य पनि तिनको यस्तो मायालु आश्वासनको मोल गर्थिन्। तर एल्कानाले पनिन्नाको द्वेषभाव उल्लेख गरेनन् न त बाइबलमा यसबारे हन्नाले तिनलाई बताएको विवरण नै छ। पनिन्नाका कर्तुतहरू उदाङ्ग पार्दा आफ्नो अवस्था झनै नराम्रो हुन्छ भनेर तिनले बुझेकी हुनुपर्छ। के एल्कानाले साँच्चै परिस्थितिलाई मोड्न सक्थे? यसो गरेमा हन्नाप्रतिको पनिन्नाको वैरभाव अझै बढ्नुका साथै तिनका छोराछोरी र चाकरहरूले पनि हन्नालाई अझै घृणा गर्थे कि? हन्नाले आफूलाई आफ्नै घरमा झनै तिरस्कृत महसुस गर्नेथिइन्।
पनिन्नाको क्षुद्र व्यवहारबारे एल्कानालाई पूरै जानकारी थियो कि थिएन त्यो थाह छैन, तर यहोवा परमेश्वरले त्यो सबै देख्नुभयो। उहाँको वचन बाइबलमा यसबारे पूरै विवरण दिइएको छ। त्यसैले हेर्दामा सानोतिना देखिने ईर्ष्या र वैरभावपूर्ण कार्यमा सलंग्न हुनेहरूका लागि समेत यो एउटा गम्भीर चेतावनी हुन सक्छ। अर्कोतर्फ, निर्दोष र शान्तिप्रिय हन्नाजस्तै व्यक्तिहरूले यो कुराबाट सान्त्वना पाउन सक्छन्: न्यायी परमेश्वरले आफ्नै समयमा र आफ्नै तरिकामा सबै कुरा सच्याउनुहुन्छ। (व्यवस्था ३२:४) हन्नालाई पनि यो कुरा थाह भएको हुनुपर्छ किनभने तिनले मदतको लागि यहोवालाई नै पुकारिन्।
“फेरि उदास भइनन्”
बिहान सबेरै घरका मानिसहरू व्यस्त थिए। केटाकेटीलगायत सबै यात्राको लागि तयार हुँदैथिए। शिलोसम्म पुग्न यस ठूलो परिवारले एप्रैमको डाँडाकाँडा पार गर्दै ३० किलोमिटर भन्दा लामो बाटो यात्रा गर्नुपर्ने थियो।c पैदल यात्रा गर्दा एक-दुई दिन लाग्थ्यो। आफ्नी सौताले चाल चल्नेछिन् भनेर हन्नालाई थाह थियो। तैपनि, हन्ना घरमै बस्नुको सट्टा सँगै गइन्। यसरी आधुनिक समयका परमेश्वरका उपासकहरूका लागि तिनले उत्कृष्ट उदाहरण बसालिन्। अरूको नराम्रो व्यवहारलाई परमेश्वरको उपासनामा बाधा बन्न दिनु कहिल्यै बुद्धिमानी कुरा होइन। त्यसो गरेमा सहनको लागि चाहिने बल पाउनदेखि नै हामी चुक्नेछौं।
घुमाउरो पहाडी बाटोमा दिनभरि यात्रा गरिसकेपछि त्यो ठूलो परिवार बल्लतल्ल शिलो नजिकै आइपुग्यो। डाँडामै अवस्थित शिलो अझै अग्ला-अग्ला डाँडाहरूले घेरिएको थियो। जसै तिनीहरू शिलो नजिक पुगे हन्नाले यहोवालाई के कस्ता विषयमा प्रार्थना गर्ने भन्नेबारे निकै विचार गरेकी हुनुपर्छ। शिलो पुगेपछि सपरिवार खान बसे। मौका मिल्नेबित्तिकै हन्ना आफ्नो परिवार खाइरहेको ठाउँबाट निस्केर यहोवाको बासस्थानतिर लागिन्। मुख्य पुजारी एली मन्दिरको ढोका छेउ आफ्नो आसनमा बसिरहेका थिए। तर हन्नाको पूरै ध्यान यहोवामा थियो। यहाँ बासस्थानमा आफ्नो सुनुवाइ हुनेछ भन्ने कुरामा तिनी विश्वस्त थिइन्। तिनको मनको व्यथा अरू कसैले नबुझे तापनि स्वर्गमा हुनुहुने बुबाले बुझ्नुहुने थियो। आफूभित्र गुम्साइरहेका भावनाहरू थाम्नै नसकेर तिनी धुरुधुरु रोइन्।
रुँदै हन्नाले मनमनै यहोवासित कुरा गर्दा तिनको पूरै शरीर काँपिरहेको थियो। आफ्नो दुःख शब्दमा व्यक्त गर्न खोज्दा तिनको ओठ चलिरहेको थियो। आफ्नो मनको बह पोखाउँदै तिनले लामै समय प्रार्थना गरिन्। तर तिनले परमेश्वरलाई सन्तानको लागि व्यग्र बिन्तीभाउ मात्र गरिनन्। परमेश्वरबाट आशिष् पाउन मात्र होइन तर उहाँलाई आफूले सक्दो दिन पनि तिनी एकदमै इच्छुक थिइन्। त्यसैले एउटा बालक जन्मेमा तिनलाई आजीवन यहोवाको सेवामा समर्पण गर्ने भाकल तिनले गरिन्।—१ शमूएल १:९-११.
अतः हन्नाले प्रार्थनाको सन्दर्भमा परमेश्वरका सबै सेवकहरूका लागि उदाहरण बसालिन्। आफ्ना मायालु आमाबाबुमा भर पर्ने छोराछोरीले जस्तै आफ्ना चिन्ता-फिक्री धक नमानी खुलस्त बताउन यहोवा आफ्ना जनहरूलाई दयालुपूर्वक आमन्त्रित गर्नुहुन्छ। (भजन ६२:८; १ थिस्सलोनिकी ५:१७) प्रेरणा पाएर प्रेषित पत्रुसले यहोवालाई गर्ने प्रार्थनाबारे यी सान्त्वनादायी शब्दहरू लेखे: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.
तर मानिसहरू यहोवा जत्तिकै बुज्झकी र समानुभूतिशील छैनन्। रुँदै प्रार्थना गरिरहँदा हन्ना एउटा आवाज सुनेर झसङ्ग भइन्। त्यो आवाज प्रधान पुजारी एलीको थियो जसले तिनलाई याद गरिरहेका थिए। तिनले भने, “तिमी कहिलेसम्म यस नशामा रहन्छ्यौ। मद्य त्यागिदेऊ।” हन्नाको ओठ चलिरहेको, तिनी रोइरहेकी र तिनको भावनात्मक अवस्था तिनले याद गरेका थिए। हन्नालाई के भयो भनी सोध्नुको सट्टा तिनी मात्तेकी हुन् भन्ने निष्कर्षमा एली पुगे।—१ शमूएल १:१२-१४.
त्यो मार्मिक अवस्थामा त्यस्तो निराधार आरोप लगाइँदा हन्नाको कत्ति चित्त दुख्यो होला, त्यो पनि एउटा सम्मानजनक ओहदा सँभालिहेका व्यक्तिबाट। तैपनि तिनले एकचोटि फेरि विश्वासको उत्कृष्ट उदाहरण बसालिन्। मानिसका त्रुटिहरूलाई यहोवाको उपासनामा बाधक हुन तिनले दिइनन्। जवाफमा तिनले आदरपूर्वक एलीलाई आफ्नो अवस्था बताइन्। सायद आफ्नो गल्ती मानिलिंदै नरम आवाजमा एलीले यस्तो भने: “शान्तिसित जाऊ, औ तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्वरले तिमीलाई देऊन्।”—१ शमूएल १:१५-१७.
यहोवालाई आफ्नो मनको बह पोखाउँदा र बासस्थानमा उहाँको उपासना गर्दा नतिजा कस्तो भयो? विवरण भन्छ: “त्यसपछि तिनी गइहालिन् र केही खानेकुरो खाइन्, औ तिनी फेरि उदास भइनन्।” (१ शमूएल १:१८) हन्नाले राहत महसुस गरिन्। भन्ने हो भने, आफ्नोभन्दा कता हो कता ठूलो र बलियो काँध भएको स्वर्गमा हुनुहुने बुबाको काँधमा तिनले आफ्नो भारी बिसाइन्। (भजन ५५:२२) उहाँको लागि के कुनै समस्या बोकी नसक्नु छ? अहँ छैन, न पहिले थियो, न अहिले छ, न भविष्यमा नै हुनेछ!
गह्रौं भारीको कारण थिचिएको र निरुत्साहित भएको महसुस गर्दा हन्नाको उदाहरण अनुकरण गर्दै परमेश्वरलाई पुकार्नु उत्तम हुन्छ। उहाँलाई बाइबलमा “प्रार्थना सुन्नुहुने” परमेश्वर भनिएको छ। (भजन ६५:२) उहाँले प्रार्थना सुन्नुहुन्छ भन्ने विश्वास गर्दै उहाँलाई पुकार्दा दुःखको सट्टा हामी ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्वरको शान्ति’ महसुस गर्न सक्नेछौं।—फिलिप्पी ४:६, ७.
“हाम्रा परमेश्वरजस्तै अरू कुनै चटान छैन”
भोलिपल्ट बिहान हन्ना एल्कानासित फेरि बासस्थानमा गइन्। आफूले गरेको आग्रह र भाकलबारे तिनले एल्कानालाई भनेकी हुनुपर्छ किनभने मोशाको व्यवस्थाअनुसार पतिको सहमतिविना पत्नीले गरेको भाकल पतिले रद्द गर्न सक्थे। (गन्ती ३०:१०-१५) तर ती विश्वासी पुरुषले आफ्नी श्रीमतीको भाकल रद्द गरेनन्। बरु, घर फर्कनुअघि तिनीहरू दुवैले सँगै मिलेर बासस्थानमा यहोवाको उपासना गरे।
आफूले जत्ति दुःख दिए पनि हन्नालाई त्यसले कुनै असर नगरेको पनिन्नाले कहिले याद गरिन्? बाइबलले त्यसबारे केही बताउँदैन तर “तिनी फेरि उदास भइनन्” भन्ने अभिव्यक्तिले त्यस उप्रान्त हन्ना खुसी हुन थालेको कुरालाई संकेत गर्छ। जे होस्, पनिन्नाले आफूले जत्ति नै द्वेषपूर्ण कार्यहरू गरे पनि केही नतिजा प्राप्त नहुने कुरा चाँडै थाह पाइन्। त्यसपछि बाइबलमा तिनको नाम फेरि कतै उल्लेख गरिएको छैन।
महिनाहरू बित्दै जाँदा हन्नाको मनोशान्ति असीम आनन्दमा परिणत भयो। तिनी गर्भवती भइन्! खुसी मनाउँदा हन्नाले यस आशिष्को स्रोत को हुनुहुन्छ भनेर कहिल्यै बिर्सिनन्। तिनले एउटा छोरो जन्माइन् र त्यसको नाम शमूएल राखिन् जसको अर्थ “परमेश्वरको नाम” हो र सम्भवतः यसले हन्नाले गरेजस्तै ईश्वरीय नाम पुकार्नुलाई संकेत गर्छ। त्यस वर्ष एल्काना र परिवारसँग हन्ना शिलो गइनन्। बच्चाले दूध नछोडेसम्म अर्थात् तीन वर्षसम्म तिनी घरमै बसिन्। त्यसपछि आफ्नो प्यारो छोरासित बिछोड हुनुपर्ने दिनको लागि तिनले साहस बटुलिन्।
बिछोडिनु सजिलो हुने थिएन। बासस्थानमा सेवा गर्ने केही स्त्रीहरूले शिलोमा शमूएलको राम्रो देखभाल गर्नेछन् भनेर हन्ना विश्वस्त थिइन्। तैपनि तिनी बालककै थिए र आफ्नो त्यस्तो कलिलो बच्चासित कुन आमा बिछोडिन चाहन्छे र? यद्यपि, हन्ना र एल्कानाले आधा मनले होइन तर कृतज्ञतासाथ छोरालाई ल्याए। तिनीहरूले परमेश्वरको मन्दिरमा बलिदानहरू चढाए र तीन वर्षअघि हन्नाले गरेको भाकलबारे एलीलाई सम्झाउँदै शमूएललाई तिनको हातमा सुम्पे।
हन्नाले त्यसपछि गरेको प्रार्थनालाई परमेश्वरले आफ्नो प्रेरित वचनमा समावेश गर्न लायकको सम्झनुभयो। पहिलो शमूएल २:१-१० मा रेकर्ड गरिएका तिनका शब्दहरू पढ्नुभयो भने तपाईंले तिनको विश्वास कत्तिको बलियो थियो भनेर थाह पाउनुहुनेछ। यहोवाले आफ्नो शक्ति अद्भुत ढंगमा प्रयोग गर्नुभएकोले अर्थात् घमन्डीहरूको सेखी बन्द गर्ने, दमनमा परेकाहरूलाई आशिष् दिने अनि मार्ने र मृत्युको मुखबाटै बचाउने उहाँको अतुलनीय क्षमताको लागि तिनले यहोवाको प्रशंसा गरिन्। तिनले आफ्नो स्वर्गमा हुनुहुने बुबाको उहाँको अद्वितीय पवित्रता, न्याय र विश्वासीपनको लागि प्रशंसा गरिन्। “हाम्रा परमेश्वरजस्तै अरू कुनै चटान छैन” भनेर हन्नाले भन्न सक्नुको पछाडि ठोस कारण छ। यहोवा पूर्णतया भरपर्दो, अपरिवर्तनशील हुनुहुन्छ अनि थिचोमिचोमा पर्दा उहाँलाई पुकार्नेहरू सबैका लागि उहाँ शरणस्थान हुनुहुन्छ।
यहोवामा त्यति बलियो विश्वास भएकी आमा पाउनु बालक शमूएलको लागि पक्कै पनि आशिष्को कुरा थियो। हुर्कंदै गर्दा तिनले निश्चय पनि आमाको अभाव महसुस गरे तर त्यागिएको भने कहिल्यै महसुस गरेनन्। हन्नाले वर्षैपिच्छे शमूएलको लागि बाहुला नभएको पोसाक बनाएर शिलोमा ल्याउने गर्थिन्। त्यो पोसाक आफ्नो छोराप्रतिको तिनको माया र चिन्ताको प्रतीक थियो। (१ शमूएल २:१९) तिनले आफ्नो छोरालाई त्यो पोसाक लगाइदिएको अनि ठीक छ कि छैन मिलाउँदै आफ्नो प्यारो छोरासित माया र प्रोत्साहनका कुराहरू गर्दै गरेको हामी कल्पना गर्न सक्छौं। त्यस्तो आमा पाउनु शमूएलको लागि आशिष्को कुरा थियो र तिनी पनि ठूलो भएपछि आफ्ना आमाबाबु र सम्पूर्ण इस्राएलका लागि आशिष् साबित भए।
त्यसैगरि हन्नाले पनि कहिल्यै त्यागिएको महसुस गरिनन्। यहोवाको आशिष्को कारण तिनले सन्तान जन्माउन सकिन् र अन्ततः तिनको थप पाँच छोराछोरी भए। (१ शमूएल २:२१) तर सायद हन्नाले पाएको सबैभन्दा ठूलो आशिष् भनेको तिनी र तिनका बुबा यहोवाबीचको सम्बन्ध थियो जुन वर्षहरू बित्दै जाँदा झन्झनै बलियो हुँदै गयो। हन्नाको विश्वास अनुकरण गर्दै तपाईंको विश्वास पनि त्यस्तै बलियो होस्। (w10-E 07/01)
[फुटनोटहरू]
a यहोवाले ‘हन्नाको गर्भ रोक्नुभएको थियो’ भनेर बाइबलमा बताइएको भए तापनि परमेश्वर यस नम्र र विश्वासी स्त्रीसित अप्रसन्न हुनुहुन्थ्यो भन्ने कुनै प्रमाण छैन। (१ शमूएल १:५, NRV) बाइबलमा कहिलेकाहीं कुनै घटना परमेश्वरले गराउनुभयो भनेर लेखिएको भए तापनि वास्तवमा उहाँले त्यो केही समयका लागि हुन दिनुभएको मात्र थियो।
b केही समयको लागि यहोवाले आफ्ना जनहरूलाई किन बहुविवाह गर्न दिनुभयो भन्नेबारे प्रहरीधरहरा (अङ्ग्रेजी), जुलाई १, २००९, पृष्ठ ३० मा “के परमेश्वरले बहुविवाह गर्ने अनुमति दिनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
c एल्कानाको गृहनगर रामा र पछि येशूको समयमा अरिमथिया भनेर चिनिएको ठाउँ एउटै हो भन्ने आधारमा यो दूरी हिसाब गरिएको हो।
[पृष्ठ ३१-मा भएको पेटी]
दुई उल्लेखनीय प्रार्थना
पहिलो शमूएल १:११ र २:१-१० मा लिपिबद्ध हन्नाले गरेका दुइटा प्रार्थनामा थुप्रै उल्लेखनीय पक्षहरू छन्। केही विचार गर्नुहोस्:
◼ हन्नाले पहिलो प्रार्थनामा “सेनाहरूका परमप्रभु”-लाई सम्बोधन गरिन्। यो पदवी प्रयोग गर्ने बाइबलमा उल्लिखित पहिले व्यक्ति तिनी नै हुन्। मौलिक बाइबलमा यो पदवी २८५ चोटि प्रयोग भएको छ र यसले परमेश्वरको अधीनमा स्वर्गदूतहरूको ठूलो दल छ भनेर संकेत गर्छ।
◼ याद गर्नुहोस्, हन्नाले दोस्रो प्रार्थना आफ्नो छोरा जन्मेपछि होइन तर तिनी र एल्कानाले उसलाई शिलोमा परमेश्वरको सेवामा अर्पण गर्दा चढाएकी थिइन्। त्यसैले हन्नाको खुसी आफ्नो सौता पनिन्नाको मुख टाल्नुमा होइन तर यहोवाबाट आशिष् पाउनुमा निर्भर थियो।
◼ “परमप्रभुमा म मेरो सीङ उच्च पार्दछु” भनेर हन्नाले बताउँदा आफ्नो सीङ घोर शक्तिका साथ चलाउन र ठूलो भारी बोक्न सक्ने गोरुलाई सम्झेकी हुनुपर्छ। अर्को अर्थमा भन्ने हो भने हन्नाले ‘यहोवा, तपाईं मलाई बलियो पार्नुहुन्छ’ भनिरहेकी थिइन्।—१ शमूएल २:१, NRV.
◼ परमेश्वरका “अभिषिक्त जन”-बारे हन्नाले भनेका शब्दहरू भविष्यसूचक ठानिन्छ। यो अभिव्यक्ति र “मसीह” भनी अनुवाद गरिएको अभिव्यक्ति एउटै हुन् र भविष्यमा आउनुहुने अभिषिक्त राजालाई संकेत गर्न यो अभिव्यक्ति प्रयोग गर्ने बाइबलमा उल्लिखित पहिलो व्यक्ति हन्ना हुन्।—१ शमूएल २:१०.
◼ झन्डै १,००० वर्षपछि येशूकी आमा मरियमले यहोवाको प्रशंसामा हन्नाका जस्तै शब्दहरू दोहोऱ्याइन्।—लूका १:४६-५५.
[पृष्ठ ३०-मा भएको चित्र]
आफू बाँझी भएकीले हन्ना एकदमै चिन्तित थिइन् र पनिन्नाले तिनलाई सताउन कुनै कसर बाँकी राखिनन्
[पृष्ठ ३०, ३१-मा भएको चित्र]
मनदेखि नै प्रार्थना गरेर के तपाईं हन्नाको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ?
[पृष्ठ ३१-मा भएको चित्र]
आफ्नो अवस्थाबारे एली गलत निष्कर्षमा पुगे तापनि हन्नाले चित्त दुखाइनन्