के तपाईं परमेश्वरको वचनको पक्षमा बोल्नुहुन्छ?
१ बाइबलको कुरा अक्सर नपत्याउने यस संसारमा साँचो मसीहीहरू भने जोसका साथ परमेश्वरको वचनको पक्षमा बोल्छन्। सम्पूर्ण ‘धर्मशास्त्र परमेश्वरबाट प्रेरणा भएको’ हो भनी हामी पूरा विश्वास गर्छौं र येशूको पक्षमा खडा हुन्छौं जसले यहोवालाई यसरी प्रार्थना गर्नुभयो: “तपाईंको वचन सत्य हो।” (२ तिमो. ३:१६; यूह. १७:१७) हामी कसरी प्रभावकारी ढंगमा परमेश्वरको वचनको पक्षमा बोल्न सक्छौं?
२ शास्त्रपदहरू याद गर्नुहोस्: येशूले लगनशील भई परमेश्वरको वचन अध्ययन गर्नुभयो भन्नेबारे कुनै शंका छैन। यसकारण आफ्नो सेवकाईको दौडान उहाँले धर्मशास्त्रबाटै सिकाउन सक्नुभयो। (लूका ४:१६-२१; २४:४४-४६) शास्त्रपदको भण्डारलाई हामी कसरी बढाउँदै लैजान सक्छौं? दिनदिनै बाइबल पढेर अनि आफ्नो लागि अत्यन्तै प्रोत्साहनदायी वा सेवकाईको लागि मदतकारी लागेको पदलाई मनन गरेर। सभाको लागि तयारी गर्दा, उद्धृत शास्त्रपदहरू बाइबलबाटै पल्टाएर हेर्नुपर्छ। अनि त्यसैमा आधारित एउटा टिप्पणी पनि तयार गर्न सक्छौं कि? सभाको बेला वक्ताले कुनै पद पढ्दा हामीले पनि सँगसँगै बाइबल हेर्नुपर्छ। बाइबलका पदहरू याद गर्दा “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्न हामी तयार हुन्छौं।—२ तिमो. २:१५.
३ बाइबललाई बोल्न दिनुहोस्: सेवकाईमा भाग लिंदा हामीले बाइबललाई बोल्न दिनुपर्छ। जस्तै: परिस्थिति मिल्छ भने घरधनीलाई एउटा शास्त्रपद देखाउने प्रयास गर्नुपर्छ। तिनले कुनै प्रश्न सोधे वा आपत्ति जनाए भने बाइबलै चलाएर जवाफ दिनु बेस हो। घरधनी व्यस्त छन् भने पनि बाइबलै पल्टाएर यसो भन्न सक्छौं कि: “जानुअघि म तपाईंलाई एउटा पद देखाउँछु नि है?” सम्भव भएसम्म सोझै बाइबलबाट पढेर सुनाउनुहोस् अनि घरधनीलाई पनि बाइबल देखाउनुहोस्। तर कहिलेकाहीं आफूले सोचेजस्तो अवस्था नहुँदा झोलाबाट बाइबल निकालेर देखाइरहनुको सट्टा आफूलाई कण्ठ भएको शास्त्रपद सुनाउनु नै बेस हुन सक्छ।
४ एक जना घरधनीलाई त्रिएकको शिक्षा खण्डन गर्ने पदहरू देखाउँदा तिनले यसो भने: “मैले जिन्दगीभर चर्च धाएँ तर बाइबलले यसो भन्दो रहेछ भनेर मलाई थाहै थिएन!” तिनी बाइबल अध्ययन गर्न तुरुन्त राजी भए। भेडाले येशूको सोर सुन्नेछ भनी उहाँले बताउनुभयो। (यूह. १०:१६, २७) नम्र हृदय भएकाहरूले सत्य यही हो भनेर चिन्ने सबैभन्दा प्रभावकारी तरिका बाइबलबाटै देखाउनु हो। यसकारण हामी परमेश्वरको सत्य वचनको पक्षमा बोलिरहौं!