परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
पुनःभेट र बाइबल अध्ययन सुरु गर्न हामीलाई मदत गर्ने नयाँ पुस्तिका
१. ‘आफ्नो हृदय सुरक्षित राख्नुहोस्’ जिल्ला अधिवेशनमा पुनःभेट र बाइबल अध्ययन सुरु गर्न हामीलाई मदत गर्ने कुन नयाँ पुस्तिका विमोचन भयो?
१ ‘आफ्नो हृदय सुरक्षित राख्नुहोस्!’ विषयको जिल्ला अधिवेशनमा पुनःभेट र बाइबल अध्ययन सुरु गर्न हामीलाई मदत गर्ने नयाँ पुस्तिका पाउँदा हामी कत्ति खुसी भयौं। यो नयाँ पुस्तिका चाहनुहुन्छ पुस्तिकाको सट्टामा प्रयोग गरिने छ। परमेश्वरबाट आएको सुसमाचार! पुस्तिकाका पाठहरू पनि चाहनुहुन्छ पुस्तिकाको जस्तै छोटो छ। यसकारण ढोकामै बाइबल अध्ययन सुरु गर्न सुसमाचार पुस्तिका प्रभावकारी हुन सक्छ। चाहनुहुन्छ पुस्तिकामा परमेश्वरले हामीबाट चाहने कुराहरूबारे छलफल गरिएको थियो। ती कुराहरू नयाँ बाइबल विद्यार्थीलाई स्वीकार्न गाह्रो लाग्ने खालका पनि थिए। यस नयाँ पुस्तिकामा भने बाइबलमा पाइने सुसमाचारबारे चर्चा गरिएको छ।—प्रेषि. १५:३५.
२. सुसमाचार पुस्तिका तयार पार्नुको कारण के हो?
२ यो पुस्तिका तयार पार्नुको कारण के हो? संसारभरका भाइबहिनीहरूले मानिसहरूलाई सत्यतर्फ आकर्षित गर्न र अध्ययन गराउने हाम्रो मुख्य साधन बाइबलले सिकाउँछ किताबबाट अध्ययन सुरु गर्न केही सजिलो प्रकाशन भइदिए हुन्थ्यो भनेर आग्रह गरिरहेका थिए। किताब देख्नेबित्तिकै हच्किने मानिसहरू अक्सर पुस्तिकाबाट बाइबल अध्ययन गर्न तयार हुन्छन्। साथै तुलनात्मक हिसाबमा पुस्तिकाहरू थुप्रै भाषामा अनुवाद गर्न सजिलो हुन्छ।
३. यो पुस्तिका अरू अध्ययन प्रकाशनहरूभन्दा कसरी फरक छ?
३ यसको संरचना कस्तो छ: हाम्रा थुप्रै प्रकाशनहरू बाइबलका कुराहरू आफैले पढेर बुझ्न सकिने गरी तयार पारिएका छन्। यो पुस्तिका भने फरक छ। यो पुस्तिका प्रशिक्षकसँगै बसेर बाइबल अध्ययन गर्न तयार पारिएको हो। त्यसैले यो पुस्तिका प्रस्तुत गर्नुहुँदा एउटा वा दुइटा अनुच्छेद छलफल गर्नु बेस हुन्छ। अनुच्छेदहरू छोटो भएकोले घरधनीको ढोकामै वा काम गर्ने ठाउँमा नै छलफल गर्न सकिन्छ। हुनत पाठ १ बाट अध्ययन सुरु गर्नु उपयुक्त हो। तर यस पुस्तिकाको जुनसुकै पाठबाट अध्ययन सुरु गर्न सकिन्छ।
४. बाइबलबाट सीधै सिकाउन यस पुस्तिकाले कसरी मदत गर्छ?
४ हाम्रा थुप्रै प्रकाशनमा प्रश्नहरूको जवाफ अनुच्छेदमा पाइन्छ। तर यस पुस्तिकामा भने जवाफहरू बाइबलमा पाइन्छ। धेरै मानिसहरू हाम्रा साहित्यहरूबाट भन्दा बाइबलबाट सिक्न रुचाउँछन्। त्यसैले यस पुस्तिकामा उल्लेख गरिएका प्रायः सबै बाइबल पदहरू उद्धरण गरिएका छैनन्। बाइबलबाटै पढ्नुपर्छ। यसले विद्यार्थीहरूलाई आफूले सिकिरहेको कुरा परमेश्वरबाटै आएको हो भनेर बुझ्न मदत गर्छ।—यशै. ५४:१३.
५. सञ्चालकले प्रत्येक अध्ययनको लागि राम्ररी तयारी गर्नु किन महत्त्वपूर्ण छ?
५ यस पुस्तिकामा सबै बाइबल पदहरूको व्याख्या गरिएको छैन। किन? किनभने यो पुस्तिका विद्यार्थीले प्रश्न गरोस् भन्ने किसिमले तयार पारिएको छ। साथै प्रशिक्षकले पनि आफ्नो सिकाउने क्षमता प्रयोग गर्न प्रोत्साहन पाउनेछन्। त्यसैले प्रत्येक अध्ययनको लागि राम्ररी तयारी गर्नु महत्त्वपूर्ण छ। सतर्क हुनुपर्ने एउटा कुरा हो: धेरै नबोल्नुहोस्। हामीलाई बाइबल पदहरूको व्याख्या गर्न मनपर्छ। तर विद्यार्थीलाई नै बाइबल पदबाट बुझेको कुरा बताउन लगाउँदा प्रभावकारी हुन्छ। कौशलतासाथ प्रश्नहरू गर्दा हामीले विद्यार्थीलाई प्रत्येक पदको अर्थ बुझ्न मदत गरिरहेका हुन्छौं।—प्रेषि. १७:२.
६. यो पुस्तिका तल दिइएका अवस्थाहरूमा कसरी प्रयोग गर्न सक्छौं:- (क) परमेश्वर र बाइबललाई शङ्का गर्ने मानिसहरूलाई भेट्दा? (ख) घर-घरको प्रचारकार्यमा? (ग) सीधै बाइबल अध्ययनको प्रस्ताव राख्न? (घ) पुनःभेट गर्दा?
६ प्रस्तुत गरिने साहित्य जुनसुकै भए तापनि अध्ययन गर्न तयार पारिएको अन्य प्रकाशनहरूजस्तै यो पुस्तिका पनि हरेक महिना प्रस्तुत गर्न सकिन्छ। थुप्रैलाई यो पुस्तिका चलाएर सीधै बाइबल अध्ययनको प्रस्ताव राख्न मनपर्ला। साथै जिल्ला अधिवेशनमा बताइएझैं चासो देखाएकाहरूलाई “पुनःभेट गरूँ गरूँ बनाउन यो पुस्तिका एकदमै प्रभावकारी छ।”—पृष्ठ १२-१४ मा भएको पेटी हेर्नुहोस्।
७. यो पुस्तिका चलाएर तपाईं कसरी अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ?
७ अध्ययन कसरी सञ्चालन गर्ने: छलफलको सुरुमा गाढा अक्षरमा दिइएको प्रश्न पढ्नुहोस्। त्यसपछि अनुच्छेद पढ्नुहोस् र छड्के अक्षरमा दिइएका बाइबल पद वा पदहरू पढ्नुहोस्। बाइबल पदको अर्थ बुझ्न घरधनीलाई मदत दिन सोच्न लगाउने प्रश्नहरू सोध्नुहोस्। अर्को प्रश्नमा जानुअघि घरधनीले बुझे नबुझेको पक्का गर्न गाढा अक्षरमा भएका प्रश्नको जवाफ दिन लगाउनुहोस्। सुरु-सुरुमा गाढा अक्षरमा दिइएका एउटा मात्रै प्रश्न छलफल गर्नु बेस हुन्छ। समयको दौडान पूरै पाठ एकैचोटिमा छलफल गर्न पनि सक्नेछौं।
८. बाइबल पद पढ्नुअघि के भन्नु राम्रो हो र किन?
८ बाइबल पदसँगै “पढ्नुहोस्” भनी दिइएका शास्त्रपदहरूले प्रायजसो गाढा अक्षरमा भएका प्रश्नको जवाफ सीधै दिन्छ। बाइबल पद पढ्नुअघि “पावलले यस्तो लेखे” वा “यर्मियाको भविष्यवाणीमा हेर्नुहोस् त” भनेर नभन्नु नै राम्रो। नत्र घरधनीलाई हामी कुनै साधारण मानिसले लेखेको कुरा पढ्दैछौं जस्तो लाग्न सक्छ। यसो भन्नु राम्रो हुन्छ: “परमेश्वरको वचन बाइबल के भन्छ ध्यान दिनुहोस्” वा “परमेश्वरबाट प्रेरणा भएको भविष्यवाणीमा यस्तो लेखिएको छ।”
९. के अध्ययनको दौडान उल्लिखित सबै शास्त्रपदहरू पढ्नै पर्छ?
९ के उल्लिखित सबै पदहरू पढ्नुपर्छ? अथवा “पढ्नुहोस्” भनी दिइएका पदहरू मात्र पढे पुग्ने हो कि? अवस्था हेरेर आफै विचार गर्नुहोस्। छलफल गरिएको कुरा बाइबलमा कहाँ पाइन्छ भनेर बताउनको लागि मात्र ती पदहरू दिइएका त होइनन्। प्रत्येक शास्त्रपदमा छलफल गर्न लायकको जानकारी पाइन्छ। तर विद्यार्थीसँग समय छैन वा तिनलाई त्यत्ति चासो छैन वा राम्ररी पढ्न आउँदैन भने “पढ्नुहोस्” शास्त्रपदहरू मात्र छलफल गर्नु बुद्धिमानी हुन सक्छ।
१०. बाइबलले सिकाउँछ किताबबाट हामी कहिले अध्ययन सुरु गर्न सक्छौं?
१० बाइबलले सिकाउँछ किताबबाट कहिले अध्ययन सुरु गर्ने: तपाईंले घरधनीसित केही पटक छलफल गरिसक्नुभयो र यो नियमित हुन थालेको छ भने बाइबलले सिकाउँछ किताबबाट अध्ययन सुरु गर्न सक्नुहुन्छ वा सुसमाचार पुस्तिका नसिद्धिएसम्म यसैबाट अध्ययन जारी राख्न सक्नुहुन्छ। बाइबलले सिकाउँछ किताबबाट कहिले अध्ययन सुरु गर्ने भनेर प्रकाशकहरू आफैले विचार पुऱ्याउन सक्छन्। बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न थालेपछि के हामीले अध्याय एकबाट नै सुरु गर्नुपर्छ? यस सम्बन्धमा कुनै नियम तोकिएको छैन। मान्छेपिच्छे व्यक्तित्व फरक हुन्छ। तर सुसमाचार पुस्तिकामा छलफल गरिसकेको विषय बाइबलले सिकाउँछ किताबबाट अझ विस्तृत रूपमा छलफल गर्दा विद्यार्थीले लाभ उठाउन सक्छन्।
११. हामीले यो नयाँ पुस्तिकाको किन सदुपयोग गर्नुपर्छ?
११ विरलै सुसमाचार सुन्न पाइने यस संसारमा हामीले भने परमेश्वरको राज्यले शासन गर्नेछ र यस राज्यले चाँडै न्यायले बास गर्ने नयाँ संसार ल्याउनेछ भनेर अत्यन्तै राम्रो सुसमाचार प्रचार गर्ने सुअवसर पाएका छौं। (मत्ती २४:१४; २ पत्रु. ३:१३) सुसमाचार सुन्ने थुप्रैले यो प्रेरित वचनमा समर्थन जनाउनेछन् भनेर हामी विश्वस्त हुन सक्छौं: “शुभसमाचार ल्याउनेको खुट्टा डाँडाहरूहुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभसमाचार ल्याउँछ, जसले मुक्तिको प्रचार गर्दछ, जसले सियोनलाई भन्दछ, ‘तेरा परमेश्वर राज्य गर्नुहुन्छ।’” (यशै. ५२:७) हाम्रो इलाकामा भएका इच्छुक व्यक्तिहरूलाई परमेश्वरबाट आएको सुसमाचार सुनाउन हामी यो नयाँ पुस्तिका चलाऔं!
[पृष्ठ १२-मा भएको पेटी]
परमेश्वर र बाइबलमा शङ्का गर्ने व्यक्तिहरू भेट्दा:
• कुनै-कुनै इलाकामा “परमेश्वर” र “बाइबल” भन्ने शब्द सुन्नेबित्तिकै मानिसहरूले कुरा गर्न नचाहेको अनुभव प्रकाशकहरूले गरेका छन्। यस्तो अवस्थामा सुरु-सुरुमा मानिसहरूलाई चासो लाग्ने विषय जस्तै राम्रो सरकारको आवश्यकता, परिवारहरूका लागि व्यावहारिक मदत कहाँ पाउने र भविष्यको आशाबारे कुराकानी गर्न सक्छौं। सायद घरधनीसित परमेश्वर वास्तवमा हुनुहुन्छ र बाइबल भरोसायोग्य छ भन्ने विषयमा केही पटक कुराकानी गरिसकेपछि सुसमाचार पुस्तिका देखाउन सक्नुहुन्छ।
[पृष्ठ १३-मा भएको पेटी]
घर-घरमा जाँदा:
• “मानिसहरूको भविष्यको लागि परमेश्वरले कस्तो उद्देश्य राख्नुभएको छ भनेर बुझ्न एकदमै सजिलो छ। परमेश्वरले हामीलाई दुःखकष्टबाट छुटकारा दिनु होला जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] यो प्रश्नको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर यस पुस्तिकामा बताइएको छ। [घरधनीलाई पुस्तिका दिनुहोस् र पाठ १ बाट पहिलो अनुच्छेद र यर्मिया २९:११ पढ्नुहोस्।] यी कुराहरू पढ्दा हामीले उज्ज्वल भविष्य पाएको परमेश्वर चाहनुहुन्छ जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] तपाईं चाहनुहुन्छ भने यो पुस्तिका राख्न सक्नुहुन्छ। अर्को चोटि ‘परमेश्वरले मानिसजातिलाई दुःखकष्टबाट कहिले छुटकारा दिनुहुन्छ?’ भन्ने प्रश्नको जवाफ बाइबलले कसरी दिन्छ भनेर बुझ्न दोस्रो अनुच्छेद छलफल गरौंला नि हुन्छ?” सुरुको भेटमा घरधनी फुर्सदमा छन् भने दोस्रो अनुच्छेद र दिइएको तीनवटा शास्त्रपद पढेर छलफल गर्न सक्नुहुन्छ। यस पाठको दोस्रो प्रश्न छलफल गर्न समय मिलाउनुहोस्।
• “प्रायजसो मानिसहरू दुःख आइपर्दा प्रार्थना गर्ने गर्छन्। के तपाईं पनि कहिलेकाहीं प्रार्थना गर्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] परमेश्वरले सबै प्रार्थना सुन्नुहुन्छ अथवा कुनै-कुनै प्रार्थना सुन्नुहुन्न जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] बाइबलले ती प्रश्नहरूको जवाफ कसरी दिन्छ भनी बुझ्न यो पुस्तिकाले हामीलाई मदत गर्नेछ। [तिनलाई पुस्तिका दिनुहोस् र पाठ १२ को पहिलो अनुच्छेद र “पढ्नुहोस्” शास्त्रपद सँगै छलफल गर्नुहोस्।] परमेश्वर हाम्रो कुरा सुन्न इच्छुक हुनुहुन्छ भनेर थाह पाउँदा हाम्रो मनै छुन्छ नि होइन र? तर प्रार्थनाबाट पूरै लाभ उठाउन हामीले परमेश्वरलाई राम्ररी चिन्नुपर्छ। [पाठ २ पल्टाउनुहोस् र उपशीर्षकहरू देखाउनुहोस्।] तपाईं चाहनुहुन्छ भने म तपाईंलाई यो पुस्तिका दिन्छु। अनि अर्को चोटि यी रोचक प्रश्नहरूको जवाफ बाइबलले कसरी दिन्छ भनेर पढ्न सक्छौं।”
• “यो संसार कतातिर लम्कँदै छ भनेर आज मानिसहरू चिन्तित छन्। के तपाईंलाई अवस्था कहिल्यै सुध्रिएला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] हामीलाई आशा दिने सुसमाचार बाइबलमा छ भनेर थाह पाउँदा मानिसहरू दङ्गै पर्छन्। हेर्नुहोस् त, बाइबलमा हामी यस्ता प्रश्नहरूको जवाफ पाउन सक्छौं।” तिनलाई पुस्तिका दिनुहोस् र अन्तिम पानामा भएका प्रश्नहरू देखाएर तपाईं कुनचाहिं प्रश्नको जवाफ पाउन चाहनुहुन्छ भनेर सोध्नुहोस्। त्यसपछि उक्त पाठ पल्टाउनुहोस् र अध्ययन कसरी गरिन्छ देखाउनुहोस्। पुनःभेटको लागि प्रबन्ध मिलाउनुहोस् र त्यस पाठको अर्को प्रश्न छलफल गर्ने कुरा बताउनुहोस्।
[पृष्ठ १४-मा भएको पेटी]
सीधै अध्ययनको प्रस्ताव राख्ने कोसिस गर्नुहोस्:
• “बाइबल अध्ययन गर्ने नयाँ साधनबारे तपाईंलाई बताऊँ कि भनेर म आएको हुँ। यस पुस्तिकामा १५ वटा पाठ छ। यस पुस्तिका पढ्दा तपाईंले महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलमा कहाँ बताइएको छ भनेर थाह पाउन सक्नुहुन्छ। [तिनलाई सुरुको र अन्तिम पाना देखाउनुहोस्।] के तपाईंले कहिल्यै बाइबलको कुरा बुझ्ने कोसिस गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्] पाठहरू बुझ्न कत्ति सजिलो छ भनेर म तपाईंलाई देखाउँछु नि। [पाठ ३, प्रश्न ३ को पहिलो अनुच्छेद छलफल गर्नुहोस् र प्रकाश २१:४, ५ पढ्नुहोस्। मिल्छ भने अर्को अनुच्छेद र “पढ्नुहोस्” भनेर उल्लेख गरिएका शास्त्रपदहरू पनि छलफल गर्नुहोस्।] तपाईं चाहनुहुन्छ भने यो पुस्तिका तपाईंको निम्ति छोडिदिन्छु। कम्तीमा एक चोटि भए पनि बाइबल अध्ययन गरेर हेर्नुहोस् भनेर हामी आग्रह गर्छौं। अनि तपाईंलाई मन पऱ्यो भने अझै अध्ययन गर्न सक्नुहुन्छ। अर्को चोटि हामी पहिलो पाठ छलफल गर्न सक्छौं। हेर्नुहोस् त यो पाठ जम्मा एक पानाको छ।”
[पृष्ठ १४-मा भएको पेटी]
पुनःभेटमा यो नयाँ पुस्तिका देखाउनुहोस्:
• चासो देखाएको कोही व्यक्तिलाई फेरि भेट्न जाँदा तपाईं यसो भन्न सक्नुहुन्छ: “तपाईंलाई फेरि भेट्न पाउँदा खुसी लाग्यो। थुप्रै रोचक प्रश्नहरूको जवाफ बाइबलले कसरी दिन्छ भनी बताउने एउटा पुस्तिका तपाईंको लागि ल्याइदिएको छु। [तिनलाई पुस्तिका दिनुहोस् र अन्तिम पाना हेर्नको लागि भन्नुहोस्।] तपाईंलाई कुनचाहिं विषय सबैभन्दा रोचक लाग्यो? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि तिनले रोजेको पाठ पल्टाउनुहोस्।] बाइबलको जवाफ थाह पाउन यो पुस्तिका कसरी चलाउन सक्नुहुन्छ भनेर म तपाईंलाई देखाउँछु।” एउटा वा दुइटा अनुच्छेद र “पढ्नुहोस्” भनी उल्लेख गरिएका शास्त्रपद पढेर कसरी अध्ययन गर्ने देखाउनुहोस्। हेर्नुहोस् त, अध्ययन सञ्चालन गर्न कत्ति सजिलो! घरधनीलाई पुस्तिका दिनुहोस् र पुनःभेटको लागि प्रबन्ध मिलाउनुहोस्। एउटा पाठ सिद्धेपछि घरधनीले रोजेको अर्को पाठबाट वा पुस्तिकाको सुरुबाट छलफल गर्न सक्नुहुन्छ।