अध्ययन लेख ४
गीत ३० यहोवा नै मेरा बुबा, ईश्वर र साथी
यहोवा तपाईँलाई कोमल स्नेह देखाउनुहुन्छ
‘यहोवा कोमल स्नेहले भरिपूर्ण हुनुहुन्छ।’—याकु. ५:११.
सिक्न सकिने कुरा
यहोवाको प्रेमले हामीलाई कसरी उहाँतर्फ खिच्छ र हामी कसरी सुरक्षा, राम्रो हेरविचार र स्फूर्ति पाएको महसुस गर्न सक्छौँ?
१. यहोवाबारे सोच्दा तपाईँको मनमा कस्तो चित्र आउँछ?
के तपाईँले कहिल्यै यहोवा कस्तो हुनुहुन्छ भनेर सोच्नुभएको छ? उहाँलाई प्रार्थना गर्दा तपाईँको मनमा कस्तो चित्र आउँछ? हुनत यहोवा अदृश्य हुनुहुन्छ तर बाइबलमा उहाँलाई विभिन्न तरिकामा वर्णन गरिएको छ। जस्तै: यहोवा ‘सूर्य र ढाल हुनुहुन्छ’ अनि “भस्म गर्ने आगो” हुनुहुन्छ भनिएको छ। (भज. ८४:११; हिब्रू १२:२९) उहाँको उपस्थितिलाई बहुमूल्य रत्न नीलम, चम्किलो धातु र मनमोहक इन्द्रेनीसित तुलना गरिएको छ। (इज. १:२६-२८) यस्ता वर्णनहरू पढ्दा हाम्रो मन या त यहोवाप्रतिको श्रद्धाले भरिपूर्ण हुन्छ या हामी उहाँको सेवा गर्न योग्य छैनौँ जस्तो लाग्छ।
२. कस्ता कुराहरूले गर्दा कसै-कसैलाई यहोवासित नजिक हुन गाह्रो लाग्न सक्छ?
२ हामी यहोवालाई देख्न सक्दैनौँ। त्यसैले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न गाह्रो लाग्न सक्छ। कसै-कसैलाई विगतका तीता अनुभवहरूले गर्दा यहोवा तिनीहरूलाई कहिल्यै माया गर्नुहुन्न जस्तो लाग्न सक्छ। तिनीहरूले आफ्नो बुबाबाट कहिल्यै माया नपाएका हुन सक्छन्। यहोवा त्यस्ता भावनाहरू र हामीलाई उहाँसित नजिक हुन गाह्रो लाग्नुका कारणहरू बुझ्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्न उहाँले बाइबलमा आफ्ना मनमोहक गुणहरू प्रकट गर्नुभएको छ।
३. हामीले किन यहोवाको प्रेमलाई अझ नियालेर हेर्नुपर्छ?
३ यहोवाको व्यक्तित्वलाई सबैभन्दा राम्ररी वर्णन गर्ने एउटा शब्द हो, प्रेम। बाइबलमा “परमेश्वर प्रेम हुनुहुन्छ” भनिएको छ। (१ युह. ४:८) उहाँ हरेक कामकुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। परमेश्वरको प्रेम यत्ति गहिरो र सशक्त छ कि उहाँ आफूलाई प्रेम नगर्नेहरूलाई समेत प्रेम गर्नुहुन्छ। (मत्ति ५:४४, ४५) यस लेखमा हामी यहोवा र उहाँको प्रेमलाई अझ नियालेर हेर्नेछौँ। यहोवाबारे हामी जत्ति धेरै सिक्छौँ, उहाँप्रतिको हाम्रो प्रेम पनि त्यत्ति नै प्रगाढ हुनेछ।
यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ
४. यहोवाको कोमल स्नेहबारे थाह पाउँदा कुन कुरामा ढुक्क हुन सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्।)
४ ‘यहोवा कोमल स्नेहले भरिपूर्ण हुनुहुन्छ।’ (याकु. ५:११) बाइबलमा उहाँलाई ममतामयी आमासित तुलना गरिएको छ। (यसै. ६६:१२, १३) आफ्नो बच्चालाई माया गर्ने र राम्ररी स्याहार्ने आमाबारे कल्पना गर्नुहोस्। तिनी बच्चालाई काखमा खेलाउँछिन् र मधुर स्वरमा ऊसित कुरा गर्छिन्। बच्चा रुँदा वा उसलाई गाह्रो हुँदा उसलाई फकाउँछिन् र चाहिएको कुरा दिन्छिन्। हामी पनि पीडामा हुँदा यहोवाबाट प्रेम पाउने कुरामा ढुक्क हुन सक्छौँ। एक भजनरचयिताले यस्तो लेखे: “जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भज. ९४:१९.
५. यहोवाको प्रेम अटल छ भन्नुको अर्थ के हो?
५ यहोवाको प्रेम अटल छ। (भज. १०३:८) त्यसैले हामीबाट गल्ती हुँदा पनि उहाँ हामीलाई प्रेम गर्न छोड्नुहुन्न। इस्राएलीहरूले यहोवालाई पटक-पटक दुःखी तुल्याए। तर तिनीहरूले पश्चात्ताप गर्दा उहाँले अटल प्रेम देखाउँदै यसो भन्नुभयो: “मेरो नजरमा तिमी अनमोल छौ, तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।” (यसै. ४३:४, ५) परमेश्वरको प्रेम परिवर्तन भएको छैन। उहाँको माया पाउने कुरामा हामी ढुक्क हुन सक्छौँ। गम्भीर गल्ती गऱ्यौँ भने पनि यहोवा हामीलाई त्याग्नुहुन्न। पश्चात्ताप गरेर उहाँकहाँ फर्कियौँ भने उहाँले हामीलाई प्रेम गर्न छोड्नुभएको रहेनछ भनेर महसुस गर्नेछौँ। उहाँले हामीलाई “खुला मनले क्षमा” गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसै. ५५:७) यस्तो क्षमा पाउनु भनेको ‘स्वयम् यहोवाबाट स्फूर्ति प्राप्त’ गर्नु हो।—प्रेषि. ३:१९.
६. जकरिया २:८ बाट यहोवाबारे के सिक्न सक्छौँ?
६ जकरिया २:८ पढ्नुहोस्। यहोवा हामीलाई उहाँको आँखाको नानीसित तुलना गर्नुहुन्छ। आँखा हाम्रो शरीरको संवेदनशील र बहुमूल्य अङ्ग हो। त्यसैले एक अर्थमा उहाँले यसो भनिरहनुभएको थियो: ‘जसले मेरा मानिसहरूलाई हानि पुऱ्याउँछ, उसले मैले बहुमूल्य ठानेको कुरालाई हानि पुऱ्याइरहेको हुन्छ।’ यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ हाम्रो भावना तुरुन्तै याद गर्नुहुन्छ र रक्षा गर्न तयार हुनुहुन्छ। हामी दुःखी हुँदा उहाँलाई पनि दुःख लाग्छ। त्यसैले हामी ढुक्क भई यसरी प्रार्थना गर्न सक्छौँ: “आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्।”—भज. १७:८.
७. यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामाथिको विश्वासलाई किन अझै बलियो बनाउनुपर्छ?
७ यहोवा हामी प्रत्येकलाई प्रेम गर्नुहुन्छ। यस कुरामा हामी विश्वस्त भएको उहाँ चाहनुहुन्छ। तर उहाँले यो कुरा बुझ्नुभएको छ: विगतका तीता अनुभवहरू वा अहिले भोगिरहेका परीक्षाहरूले गर्दा हामीलाई उहाँको प्रेममाथि शङ्का लाग्न सक्छ। त्यसोभए उहाँको प्रेममाथिको विश्वासलाई कसरी अझै बलियो बनाउन सक्छौँ? येसु, अभिषिक्त जनलगायत हामी सबैलाई यहोवा कसरी प्रेम देखाउनुहुन्छ भन्ने कुरा बुझेर।
यहोवा आफ्नो प्रेम कसरी व्यक्त गर्नुहुन्छ?
८. बुबाको प्रेम पाउने कुरामा येसु किन विश्वस्त हुनुहुन्थ्यो?
८ यहोवा र उहाँको छोरा येसुबीचको सम्बन्ध यस ब्रह्माण्डको सबैभन्दा पुरानो सम्बन्ध हो। उहाँहरूले अरबौँ वर्ष स्वर्गमा सँगै समय बिताउनुहुँदा उहाँहरूबीचको प्रेम प्रगाढ भयो। मत्ति १७:५ मा यहोवाले येसुप्रतिको गहिरो प्रेम व्यक्त गर्नुभयो। यहोवाले यसो मात्र पनि भन्न सक्नुहुन्थ्यो: ‘यिनलाई मैले स्विकारेको छु।’ तर येसुप्रतिको उहाँको प्रेम कत्तिको गहिरो छ भनेर हामीले थाह पाएको उहाँ चाहनुहुन्थ्यो। त्यसैले उहाँले “मेरो प्यारो छोरा” भन्नुभयो। यहोवा येसुमा गर्व गर्नुहुन्थ्यो किनकि येसु मानिसजातिको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुभयो। (एफि. १:७) येसुलाई पनि बुबाको प्रेममा रत्तीभर शङ्का थिएन। उहाँले आफ्नो बुबाको गहिरो प्रेम महसुस गर्नुभएको थियो। त्यसैले उहाँले विश्वस्त हुँदै बुबा मलाई प्रेम गर्नुहुन्छ भनेर थुप्रै चोटि बताउनुभयो।—युह. ३:३५; १०:१७; १७:२४.
९. यहोवा अभिषिक्त जनलाई प्रेम गर्नुहुन्छ भनेर कुन अभिव्यक्तिले बुझाउँछ, व्याख्या गर्नुहोस्। (रोमी ५:५)
९ यहोवाले अभिषिक्त जनप्रति पनि प्रेम व्यक्त गर्नुभएको छ। रोमी ५:५ मा परमेश्वरको प्रेम तिनीहरूको “हृदयमा भरिएको छ” भनेर बताइएको छ। (पढ्नुहोस्।) एउटा बाइबल शब्दकोशमा परमेश्वरको प्रेमलाई “अविरल बगिरहेको पानीसित” तुलना गरिएको छ। यस तुलनाबाट अभिषिक्त जनप्रति यहोवाको प्रेम कत्ति अथाह छ भनेर देखिन्छ। ती बोलाइएका जनलाई पनि यो कुरा थाह छ र तिनीहरूको हृदय उहाँको प्रेमले भरिएको छ। (यहु. १) तिनीहरूको भावना प्रेषित युहन्नाले लेखेको यस कुराबाट बुझ्न सकिन्छ: “हेर, परमेश्वरका सन्तान कहलाइने सुअवसर दिएर बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ!” (१ युह. ३:१) के यहोवा अभिषिक्त जनलाई मात्र प्रेम गर्नुहुन्छ? होइन, उहाँ हामी सबैलाई प्रेम गर्नुहुन्छ।
१०. यहोवा हामी सबैलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो?
१० यहोवा हामी सबैलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो? फिरौतीको बलिदान। यस्तो प्रेम आजसम्म कसैले देखाएको छैन। (युह. ३:१६; रोमी ५:८) हामीले पापको क्षमा पाउन सकौँ र उहाँको मित्र बन्न सकौँ भनेर यहोवाले आफ्नो प्यारो छोरा सबै मानिसको लागि दिनुभयो। (१ युह. ४:१०) उहाँहरूले चुकाउनुभएको मोलमा हामी जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँहरू हामी प्रत्येकलाई कत्ति माया गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। (गला. २:२०) फिरौतीको बलिदान कानुनी आवश्यकता पूरा गर्न मात्र तिरिएको होइन। बरु यहोवाले प्रेमले उत्प्रेरित भएर दिनुभएको उपहार हो। उहाँले सबैभन्दा प्यारो छोरा दिनुभएर हामीलाई प्रेम देखाउनुभयो। यहोवाले हाम्रो खातिर आफ्नो छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो।
११. यर्मिया ३१:३ बाट हामी के सिक्न सक्छौँ?
११ हामीले सिकेझैँ यहोवा आफ्नो प्रेमलाई मनमा गुम्साएर राख्नुहुन्न बरु त्यसलाई व्यक्त गर्नुहुन्छ। (यर्मिया ३१:३ पढ्नुहोस्।) उहाँले हामीलाई आफूतर्फ खिच्नुभएको छ किनकि उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। (व्यवस्था ७:७, ८ तुलना गर्नुहोस्।) हामीलाई उहाँको प्रेमदेखि कसैले अनि कुनै कुराले अलग पार्न सक्दैन। (रोमी ८:३८, ३९) यस्तो प्रेमबारे थाह पाउँदा तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ? भजन अध्याय २३ पढ्नुहोस् अनि यहोवाको प्रेम पाउँदा दाउद कुन कुरामा ढुक्क हुन सके अनि हामी कुन कुरामा ढुक्क हुन सक्छौँ, याद गर्नुहोस्।
यहोवाको प्रेमबारे थाह पाउँदा तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?
१२. भजन २३ अध्यायको सारांश बताउनुहोस्।
१२ भजन २३:१-६ पढ्नुहोस्। दाउद यहोवा तिनलाई प्रेम गर्नुहुन्छ र तिनको ख्याल राख्नुहुन्छ भन्ने कुरामा विश्वस्त थिए। यही कुरा तिनले भजन अध्याय २३ मा बताएका छन्। तिनले आफू र आफ्नो गोठालो यहोवाबीचको घनिष्ठ सम्बन्धबारे वर्णन गरे। यहोवाको डोऱ्याइ पाउँदा तिनी सुरक्षित महसुस गर्थे र उहाँमा पूर्णतया भर पर्थे। उहाँ हरेक दिन प्रेम देखाउनुहुन्छ भन्ने कुरामा दाउद ढुक्क थिए। किन?
१३. यहोवाले ख्याल राख्नुहुन्छ भनेर दाउद किन ढुक्क थिए?
१३ “मलाई कुनै कुराको कमी हुनेछैन।” यहोवाले राम्ररी ख्याल राख्नुभएको दाउदले महसुस गरे किनकि उहाँले सधैँ तिनका आवश्यकताहरू पूरा गरिदिनुभएको थियो। दाउद यहोवाका मित्र थिए र तिनले उहाँको अनुमोदन पाएका थिए। त्यसैले भविष्यमा जस्तोसुकै अवस्थाको सामना गर्नुपरे पनि उहाँले सबै आवश्यकता पूरा गरिदिनुहुनेछ भन्ने कुरामा तिनी ढुक्क थिए। यहोवा दाउदलाई प्रेम गर्नुहुन्छ र तिनको ख्याल राख्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएकोले तिनी चिन्तित भएनन् बरु आनन्दित र सन्तुष्ट भए।—भज. १६:११.
१४. यहोवा कसरी हाम्रो ख्याल राख्नुहुन्छ?
१४ विशेषगरि जीवनमा दुःखद घटनाहरू घट्दा यहोवाले हाम्रो मायालु ख्याल राख्नुहुन्छ। बीस वर्षभन्दा धेरै बेथेल सेवा गरेकी क्लेयरकोa परिवारले एकपछि अर्को दुःखद घटनाको सामना गर्नुपऱ्यो। तिनको बुबालाई मस्तिष्कघात भयो, एउटी बहिनी बहिष्कार भइन्, तिनको परिवारले आफ्नो सानो व्यवसाय बन्द गर्नुपऱ्यो र बैङ्कले तिनीहरूको घर जफत गऱ्यो। तिनलाई ‘के गरूँ, कसो गरूँ’ भयो। यस्तो बेला यहोवाले कसरी तिनीहरूको ख्याल राख्नुभयो? क्लेयर भन्छिन्: “यहोवाले हरेक दिन हाम्रो आवश्यकता पूरा गरिदिनुभयो। उहाँले थुप्रै पटक हामीलाई चाहिएको भन्दा धेरै कुरा दिनुभयो। म अक्सर यहोवाले हामीलाई कसरी मदत गर्नुभएको छ भनेर सोच्ने गर्छु। म उहाँले देखाउनुभएको प्रेम कहिल्यै बिर्सन सक्दिनँ। त्यस्ता अनुभवहरूले मलाई जीवनमा जस्तोसुकै परीक्षा आइपरे पनि यहोवाको सेवामा आनन्दित भई लागिरहन मदत गरेको छ।”
१५. दाउदले किन स्फूर्ति पाएको महसुस गरे? (चित्र पनि हेर्नुहोस्।)
१५ ‘उहाँ मलाई स्फूर्ति दिनुहुन्छ।’ आफूले भोगिरहेको समस्या र परीक्षाले गर्दा कहिलेकाहीँ दाउद निराश हुन्थे। (भज. १८:४-६) तर यहोवाको न्यानो माया र हेरविचारले तिनलाई स्फूर्ति दिन्थ्यो। यहोवाले निराश भएका आफ्ना ती साथीलाई “हरियो खर्कमा” र “पानीछेउको आराम गर्ने ठाउँमा” डोऱ्याउनुभयो। नतिजास्वरूप दाउदले फेरि बल पाए र उहाँको सेवामा आनन्दित भएर लागिरहन सके।—भज. १८:२८-३२.
१६. यहोवाको प्रेमले तपाईँलाई कसरी स्फूर्ति दिएको छ?
१६ आज पनि परीक्षाहरू आइपर्दा यहोवाको अटल प्रेमले गर्दा नै हामीले सहिरहन सकेका छौँ। (विला. ३:२२; कल. १:११) कोभिड-१९ महामारीको बेला रेचलको पतिले तिनी र यहोवालाई त्यागे; तिनको जीवन भताभुङ्ग भयो। यहोवाले तिनलाई कसरी सम्हाल्नुभयो? तिनी भन्छिन्: “यहोवाले मलाई माया गर्न छोड्नुभएन। उहाँले भाइबहिनीमार्फत मलाई सम्हाल्नुभयो। उहाँहरू मसँग समय बिताउनुहुन्थ्यो, खानेकुरा ल्याइदिनुहुन्थ्यो, बाइबल पदहरू र दयालु शब्दहरू लेखेर पठाउनुहुन्थ्यो, मलाई देख्दा मुस्कुराउनुहुन्थ्यो अनि यहोवा मेरो ख्याल राख्नुहुन्छ भनेर सम्झाइरहनुहुन्थ्यो। यहोवाले मलाई यस्तो ठूलो र मायालु परिवार दिनुभएकोमा उहाँलाई धन्यवाद दिइरहन्छु।”
१७. दाउदलाई किन ‘कुनै कुराको डर थिएन?’
१७ “मलाई कुनै कुराको डर छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ।” दाउदको जीवन थुप्रै चोटि खतरामा परेको थियो किनकि तिनका थुप्रै शत्रु थिए र उनीहरू शक्तिशाली थिए। तर यहोवाको प्रेमले गर्दा तिनले सुरक्षित महसुस गरे। हरेक अवस्थामा यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनले महसुस गरे, जसले गर्दा तिनले ढाडस पाए। त्यसैले तिनले यस्तो भजन गाए: “[यहोवाले] मेरा सबै डर हटाइदिनुभयो।” (भज. ३४:४) हुनत दाउद कहिलेकाहीँ एकदमै डराए तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह भएकोले तिनले आफ्नो डरलाई जित्न सके।
१८. डरलाग्दो अवस्थामा पर्दा यहोवाको प्रेमले तपाईँलाई कसरी बल दिन्छ?
१८ डरलाग्दो अवस्थामा पर्दा यहोवाको प्रेमले हामीलाई कसरी बल दिन्छ? एक अग्रगामी बहिनी सुजीलाई विचार गरौँ। तिनको छोराले आत्महत्या गरेपछि तिनी र तिनको पतिलाई धेरै गाह्रो भयो। तिनले यसो भनिन्: “यस्तो चिताउँदै नचिताएको घटना घटेपछि हामीले निस्सहाय महसुस गऱ्यौँ। तर यहोवाको कोमल स्नेहले गर्दा सुरक्षित महसुस गऱ्यौँ।” अघि उल्लेख गरिएकी रेचल यसो भन्छिन्: “एकदिन राती मलाई असह्य पीडा भयो। निकै चिन्ता अनि डर पनि लाग्यो। त्यतिबेला मैले यहोवालाई व्यग्र प्रार्थना गरेँ; तुरुन्तै मेरो मन शान्त भयो। यहोवाले मलाई आमाले जस्तै न्यानो अङ्गालोमा बाँध्नुभयो। त्यसपछि म भुसुक्कै निदाएछु। म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ।” तासोस भन्ने एल्डरले सेनामा भर्ती हुन इन्कार गरेकोले चार वर्ष जेलमा बिताउनुपऱ्यो। तिनले यहोवाको प्रेम र हेरचाह पाएको कसरी महसुस गरे? तिनी भन्छन्: “यहोवाले मेरो सबै आवश्यकता पूरा गरिदिनुभयो। उहाँले मलाई चाहिएको भन्दा धेरै दिनुभयो। यसले उहाँमाथिको मेरो भरोसालाई अझै बलियो बनायो। जेलको निराशाजनक वातावरणमा समेत यहोवाले पवित्र शक्तिमार्फत मलाई आनन्दित हुन मदत गर्नुभयो। हामी जत्ति धेरै यहोवामाथि भरोसा गर्छौँ, त्यत्ति नै उहाँको प्रेम पाएको महसुस गर्न सक्छौँ भनेर मैले बुझेँ। त्यसैले जेलमा छँदै मैले नियमित अग्रगामी सुरु गरेँ।”
कोमल स्नेहले भरिपूर्ण परमेश्वरसित नजिक हुनुहोस्
१९. (क) यहोवाको प्रेमबारे थाह पाएपछि हामी प्रार्थनामा के भन्न उत्प्रेरित हुन्छौँ? (ख) यहोवाको प्रेमबारे बाइबलमा बताइएको कुन कुरा तपाईँलाई असाध्यै मन पर्छ? (पृष्ठ ३० मा भएको पेटी हेर्नुहोस्।)
१९ यस्ता अनुभवहरूले ‘प्रेमका परमेश्वर’ यहोवा हामीसित हुनुहुन्छ भनेर प्रमाणित गर्छ। (२ कोरि. १३:११) उहाँ हामी प्रत्येकमा चासो राख्नुहुन्छ। हामी “उहाँको अटल प्रेमले घेरिएका” छौँ। (भज. ३२:१०) उहाँको प्रेममा जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँ हामीलाई वास्तविक लाग्नेछ र उहाँसित अझ घनिष्ठ भएको महसुस हुनेछ। हामी उहाँलाई नहिचकिचाईकन प्रार्थना गर्न सक्छौँ र हामीलाई उहाँको प्रेम कत्ति आवश्यक छ भनेर बताउन सक्छौँ। उहाँ हाम्रो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै आफ्नो सबै चिन्ता-फिक्री उहाँमा बिसाउन सक्छौँ।—भज. १४५:१८, १९.
२०. यहोवाको प्रेमले हामीलाई कसरी उहाँतर्फ खिच्छ?
२० मौसम चिसो भएको बेला हामी न्यानो आगोतर्फ खिचिन्छौँ। त्यसैगरि यहोवाको न्यानो मायाले हामीलाई उहाँतर्फ खिच्छ। हुनत यहोवाको प्रेम शक्तिशाली छ तर त्यो कोमल पनि छ। त्यसैले यहोवाले तपाईँलाई आफ्नो न्यानो अङ्गालोमा बाँध्न खोज्नुहुँदा तपाईँ पनि उहाँको अङ्गालोमा बाँधिनुहोस्। अनि उहाँलाई यसो भन्नुहोस्: ‘म तपाईँलाई प्रेम गर्छु’!—भज. ११६:१.
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
यहोवाको प्रेमबारे तपाईँले के सिक्नुभयो?
यहोवा तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरामा तपाईँ किन विश्वस्त हुन सक्नुहुन्छ?
यहोवाको प्रेमबारे थाह पाउँदा तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?
गीत १०८ परमेश्वरको अटल प्रेम
a केही नाम परिवर्तन गरिएका छन्।