अध्ययन लेख २८
गीत १२३ ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!
के तपाईँ सत्य र झूटबीचको भिन्नता छुट्ट्याउन सक्नुहुन्छ?
‘सत्यको पेटीले आफ्नो कम्मर कसेर दृढ भई खडा हुनुहोस्।’—एफि. ६:१३, १४.
सिक्न सकिने कुरा
हामीले यहोवाबाट सिकेको सत्य अनि सैतान र हाम्रा विरोधीहरूले फैलाएको झूटबीचको भिन्नता कसरी छुट्ट्याउन सक्छौँ?
१. हामी सत्यलाई प्रेम गरेको कसरी देखाउँछौँ?
यहोवाका जनहरू बाइबलको सत्यलाई प्रेम गर्छन्। हाम्रो विश्वास यही सत्यमा आधारित छ। (रोमी १०:१७) यहोवाले ख्रिष्टियन मण्डलीको सुरुवात गर्नुभयो अनि यसलाई “सत्यको खम्बा अनि जग”-को रूपमा स्थापना गर्नुभयो भनेर हामी विश्वास गर्छौँ। (१ तिमो. ३:१५) अनि हामी “अगुवाइ लिइरहेका”-हरूको अधीनमा बस्छौँ। तिनीहरू हामीलाई बाइबलबाट सत्य सिकाउँछन् र परमेश्वरको इच्छाअनुसार चल्न निर्देशन दिन्छन्।—हिब्रू १३:१७.
२. याकुब ५:१९, २० अनुसार सत्य सिकिसकेपछि पनि कस्तो खतरा हुन सक्छ?
२ हामीले सत्य स्विकारिसकेपछि र परमेश्वरको सङ्गठनले दिने निर्देशन पालन गर्नुपर्छ भनेर बुझिसकेपछि पनि हामी सत्यबाट तर्केर जाने खतरा हुन सक्छ। (याकुब ५:१९, २० पढ्नुहोस्।) सैतान हामीले बाइबलमाथि र परमेश्वरको सङ्गठनले दिने निर्देशनमाथि भरोसा गर्न छोडेको चाहन्छ।—एफि. ४:१४.
३. हामीले किन सत्यलाई पक्रिराख्नुपर्छ? (एफिसी ६:१३-१५)
३ एफिसी ६:१३-१५ पढ्नुहोस्। सैतानले अब चाँडै झूटो हल्ला फैलाएर सम्पूर्ण राष्ट्रलाई यहोवाको विरुद्ध खडा हुन उक्साउनेछ। (प्रका. १६:१३, १४) त्यसले यहोवाका जनहरूलाई बहकाउन पनि कुनै कसर बाँकी राख्नेछैन। (प्रका. १२:९) त्यसैले हामीले सत्य र झूटबीचको भिन्नता छुट्ट्याउन अनि सत्यको वचन पालन गर्न सिक्नै पर्छ। (रोमी ६:१७; १ पत्रु. १:२२) यसो गऱ्यौँ भने मात्र हामीले महासङ्कष्ट पार गर्न सक्नेछौँ।
४. यस लेखमा हामी के छलफल गर्नेछौँ?
४ बाइबलको सत्य स्विकार्न र परमेश्वरको सङ्गठनले दिने निर्देशनअनुसार चल्न हामीसित दुई वटा गुण नभई हुँदैन। ती गुणहरूबारे हामी यस लेखमा छलफल गर्नेछौँ। साथै सत्यलाई पक्रिराख्न हामीले गर्नै पर्ने तीन वटा कुराबारे पनि छलफल गर्नेछौँ।
सत्यलाई स्विकार्न नभई नहुने गुणहरू
५. हामीले किन यहोवाको डर मान्नुपर्छ?
५ यहोवाको डर। यहोवाको डर मान्नुको अर्थ उहाँलाई असाध्यै प्रेम गर्नु हो। यस्तो प्रेम छ भने हामी उहाँलाई अप्रसन्न तुल्याउने कुनै कुरा गर्नेछैनौँ। हामी सही र गलत अनि सत्य र झूटबीचको भिन्नता कसरी छुट्ट्याउने भनेर सिक्न उत्सुक छौँ। यसो गर्दा हामीले यहोवाको अनुमोदन पाउन सक्छौँ। (हितो. २:३-६; हिब्रू ५:१४) हामी यहोवालाई धेरै प्रेम गर्छौँ भने हामी मानिसहरूको डरको पासोमा परेर यहोवालाई भन्दा मानिसहरूलाई खुसी बनाउनतिर लाग्नेछैनौँ।
६. मानिसको डरले गर्दा १० जना जासुसले के गरे?
६ हामीले परमेश्वरको भन्दा मानिसको डर मान्यौँ भने हामी सत्यदेखि तर्किने खतरा हुन सक्छ। बाह्र जना जासुसको उदाहरण विचार गरौँ। तिनीहरू यहोवाले इस्राएलीहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा जासुसी गर्न गएका थिए। तीमध्ये १० जना जासुस कनानीहरूदेखि असाध्यै डराएकोले यहोवाप्रतिको तिनीहरूको प्रेम कमजोर भयो। तिनीहरूले सङ्गी इस्राएलीहरूलाई यसो भने: “हामी तिनीहरूसित लड्न सक्दैनौँ किनभने तिनीहरू हामीभन्दा धेरै बलिया छन्।” (गन्ती १३:२७-३१) मानिसको नजरबाट हेर्ने हो भने कनानीहरू इस्राएलीहरूभन्दा बलिया थिए। हुनत यो कुरा सही थियो तर इस्राएलीहरू आफ्ना शत्रुहरूमाथि विजयी हुन सक्दैनन् भन्नेहरूले यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भन्ने कुरालाई बेवास्ता गरिरहेका थिए। ती १० जना जासुसले यहोवा इस्राएलीहरूले के गरेको चाहनुहुन्छ भन्ने कुरामा ध्यान दिनुपर्थ्यो। अनि केही समयअघि मात्र यहोवाले तिनीहरूको लागि के गरिदिनुभएको थियो भन्ने कुरामा मनन गर्नुपर्थ्यो। यदि तिनीहरूले त्यसो गरेका भए यहोवाको अथाह शक्तिको तुलनामा कनानीहरू केही पनि होइनन् भन्ने कुरा तिनीहरूले बुझ्ने थिए। तर यहोसु र कालेब भने यहोवाको अनुमोदन पाउन चाहन्थे। तिनीहरूले इस्राएलीहरूलाई यसो भने: “यहोवा परमेश्वर हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यो देशसम्म अवश्य पुऱ्याउनुहुनेछ, दूध र मह बग्ने त्यो देश हामीलाई पक्कै दिनुहुनेछ।”—गन्ती १४:६-९.
७. हामी कसरी यहोवाप्रतिको डरलाई कायम राख्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
७ यहोवाप्रतिको डरलाई कायम राख्न हामीले गर्ने हरेक निर्णयले यहोवालाई खुसी बनाउँछ कि बनाउँदैन भनेर सोच्नुपर्छ। (भज. १६:८) बाइबलको कुनै विवरण पढ्दा आफैलाई सोध्नुहोस्: ‘म त्यो अवस्थामा भएको भए कस्तो निर्णय गर्थेँ?’ कल्पना गर्नुहोस्, तपाईँ ती १० जना जासुसले बताइरहेको नकारात्मक रिपोर्ट सुन्दै हुनुहुन्छ। के तपाईँ तिनीहरूको कुरा पत्याएर मानिसको डरको पासोमा पर्नुहुने थियो? अथवा यहोवाप्रतिको प्रेमले गर्दा उहाँलाई खुसी बनाउनतिर लाग्नुहुने थियो? त्यतिबेला सबै इस्राएलीहरूले यहोसु र कालेबले सही कुरा बताउँदै छन् भन्ने कुरामा विश्वास गरेनन्। त्यसैले तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्।—गन्ती १४:१०, २२, २३.
८. हामीले कुन गुण विकास गर्नै पर्छ र किन?
८ नम्रता। यहोवा नम्र मानिसहरूलाई सत्य प्रकट गर्नुहुन्छ। (मत्ति ११:२५) हामीले सत्य सिक्न अरूले दिएको मदत नम्र भई स्विकाऱ्यौँ। (प्रेषि. ८:३०, ३१) तर हामी घमन्डी हुनदेखि होसियार हुनुपर्छ। घमन्डी भयौँ भने हाम्रो व्यक्तिगत विचारधारा बाइबलको सिद्धान्त र यहोवाको सङ्गठनले दिने निर्देशन जत्तिकै सही छ भन्ने सोचाइ हामीमा आउन सक्छ।
९. हामी कसरी नम्र भइरहन सक्छौँ?
९ नम्र भइरहन हामीले यहोवा हामीभन्दा कत्ति महान् हुनुहुन्छ भन्ने कुरा सम्झनुपर्छ। (भज. ८:३, ४) नम्रता विकास गर्न सकूँ र यहोवाबाट सिकिरहन सकूँ भनेर हामी उहाँलाई प्रार्थना पनि गर्न सक्छौँ। यसो गऱ्यौँ भने यहोवाले हामीलाई उहाँको सोचाइ राख्न मदत गर्नुहुनेछ। त्यसको लागि उहाँले आफ्नो वचन र उहाँको सङ्गठनमार्फत हामीलाई सिकाउनुहुन्छ। बाइबलको कुनै विवरण पढ्दा यहोवा नम्रतालाई प्रेम गर्नुहुन्छ र घमन्ड अनि अहङ्कारलाई घृणा गर्नुहुन्छ भनेर देखाउने कस्ता प्रमाणहरू छन्, विचार गर्नुहोस्। तपाईँले कुनै विशेष सुअवसर पाउनुभयो भने नम्र भइरहन अझै होसियार हुनुहोस्। किनकि त्यो सुअवसरसँगै तपाईँले पाउने अख्तियार र मानिसहरूको प्रशंसाले तपाईँलाई घमन्डी बनाउन सक्छ।
हामी कसरी सत्यलाई पक्रिराख्न सक्छौँ?
१०. यहोवाले आफ्ना जनहरूलाई निर्देशन दिन र डोऱ्याउन कसलाई प्रयोग गर्नुभएको छ?
१० यहोवाको सङ्गठनले दिने निर्देशनमा भरोसा गरिरहनुहोस्। यहोवाले विगतमा आफ्ना जनहरूलाई निर्देशन दिन मोसा र यहोसुलाई प्रयोग गर्नुभयो। (यहो. १:१६, १७) तिनीहरूलाई परमेश्वरको प्रतिनिधिको रूपमा स्विकार्दा इस्राएलीहरूले आशिष् पाए। त्यसको सयौँ वर्षपछि पहिलो ख्रिष्टियन मण्डली स्थापना हुँदा यहोवाले निर्देशनहरू दिन १२ जना प्रेषितलाई प्रयोग गर्नुभयो। (प्रेषि. ८:१४, १५) पछि ती प्रेषितहरूको समूहमा यरुसलेमका एल्डरहरू पनि थपिए। ती वफादार पुरुषहरूले दिएको निर्देशन पालन गर्दा “मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गयो।” (प्रेषि. १६:४, ५) आज हामीले पनि यहोवाको सङ्गठनले दिने निर्देशन पालन गर्दा आशिष् पाउँछौँ। तर हामीले नेतृत्व लिन यहोवाले छान्नुभएका पुरुषहरूलाई स्विकारेनौँ भने यहोवालाई कस्तो लाग्ला? यस प्रश्नको जवाफ पाउन इस्राएलीहरू प्रतिज्ञा गरिएको देशतर्फ जाँदै गर्दा के भएको थियो विचार गरौँ।
११. मोसालाई नस्विकार्ने इस्राएलीहरूलाई के भयो? (चित्र पनि हेर्नुहोस्।)
११ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा जाँदै गर्दा केही गण्यमान्य मानिसले मोसालाई र यहोवाले तिनलाई दिनुभएको अख्तियारलाई स्विकारेनन् र तिनको विद्रोह गरे। तिनीहरूले यसो भने: “यो पूरै समुदाय पवित्र छ [मोसा मात्र होइन], यहाँ भएका प्रत्येक व्यक्ति पवित्र छन् अनि यहोवा परमेश्वर तिनीहरूको माझमा हुनुहुन्छ।” (गन्ती १६:१-३) हुनत परमेश्वरको नजरमा “पूरै समुदाय” पवित्र थियो तर यहोवाले आफ्ना जनहरूको नेतृत्व लिन मोसालाई रोज्नुभएको थियो। (गन्ती १६:२८) तिनीहरूले मोसाको आलोचना गर्दा वास्तवमा यहोवाकै आलोचना गरिरहेका थिए। तिनीहरूले यहोवा के चाहनुहुन्छ भन्ने कुरामा होइन बरु आफूले चाहेको कुरामा ध्यान दिए। तिनीहरू अझ धेरै अख्तियार अनि मानसम्मान पाउन चाहन्थे। यहोवाले ती विद्रोहीहरूलाई र तिनीहरूलाई साथ दिने हजारौँ मानिसहरूलाई नाश गर्नुभयो। (गन्ती १६:३०-३५, ४१, ४९) आज पनि यहोवा उहाँको सङ्गठनले दिने निर्देशनअनुसार नचल्ने मानिसहरूलाई स्विकार्नुहुन्न।
१२. हामी यहोवाको सङ्गठनमाथि किन भरोसा गरिरहन सक्छौँ?
१२ हामी यहोवाको सङ्गठनमाथि भरोसा गरिरहन सक्छौँ। बाइबलको कुनै बुझाइमा वा सङ्गठनको विभिन्न कामकुरा सम्हाल्ने तरिकामा छाँटकाँट गर्नुपर्दा नेतृत्व लिने भाइहरू त्यसो गर्न हिचकिचाउँदैनन्। (हितो. ४:१८) किनकि तिनीहरू कुनै मानिसलाई होइन, यहोवा परमेश्वरलाई खुसी बनाउन चाहन्छन्। तिनीहरू परमेश्वरको वचनमा आधारित भएर निर्णय गर्न सक्दो कोसिस गर्छन्। यहोवाका सबै उपासकले गर्नुपर्ने कुरा यही हो।
१३. “साँचो शिक्षाको नमुना”-ले केलाई बुझाउँछ र हामीले यसलाई के गर्नुपर्छ?
१३ ‘साँचो शिक्षाको नमुनालाई पक्रिराख्नुहोस्।’ (२ तिमो. १:१३) “साँचो शिक्षाको नमुना”-ले बाइबलमा पाइने शिक्षाहरूलाई बुझाउँछ। (युह. १७:१७) हामीले विश्वास गर्ने हरेक कुराको आधार यी शिक्षाहरू नै हुन्। यहोवाको सङ्गठनले हामीलाई त्यस नमुनालाई पक्रिराख्न सिकाएको छ। त्यसो गऱ्यौँ भने हामीले आशिष् पाउनेछौँ।
१४. केही ख्रिष्टियन कसरी “साँचो शिक्षाको नमुना”-लाई त्याग्न पुगे?
१४ हामीले “साँचो शिक्षाको नमुना”-लाई त्याग्यौँ भने के हुन सक्छ? एउटा उदाहरण विचार गरौँ। प्रथम शताब्दीमा केही ख्रिष्टियनहरूले यहोवा परमेश्वरको दिन आइसक्यो भन्ने झूटो हल्ला फैलाइरहेका थिए। एउटा पत्रले गर्दा त्यस्तो हल्ला फैलिएको हुन सक्छ। तिनीहरूले त्यो पत्र प्रेषित पावलले नै लेखेका हुन् भन्ठाने। थिस्सलोनिकाका केही ख्रिष्टियनहरूले कुनै सत्यतथ्य नजाँची त्यो हल्ला पत्याए र त्यसलाई फैलाउँदै हिँडे। तिनीहरू सँगै छँदा पावलले भनेका कुराहरू तिनीहरूले सम्झेका भए तिनीहरू त्यसरी बहकिने थिएनन्। (२ थिस्स. २:१-५) पावलले भाइहरूलाई आफूले सुनेको एक-एक कुरामा विश्वास नगर्न सल्लाह दिए। अनि भाइबहिनीहरू भविष्यमा पनि सजग भएको तिनी चाहन्थे। त्यसैले तिनले थिस्सलोनिकीहरूलाई लेखेको दोस्रो पत्र यसरी टुङ्ग्याए: “म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु, जुन मेरा सबै पत्रको चिनारी हो। म यसरी नै लेख्नेगर्छु।”—२ थिस्स. ३:१७.
१५. हामी सत्यजस्तो देखिने झूटहरूबाट कसरी जोगिन सक्छौँ? एउटा अनुभव बताउनुहोस्। (चित्रहरू पनि हेर्नुहोस्।)
१५ पावलले थिस्सलोनिकीहरूलाई दिएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले बाइबलसित मेल नखाने वा सनसनीपूर्ण हल्ला सुन्दा पत्याइहाल्नुको सट्टा आफ्नो सुझबुझ चलाउनुपर्छ। भूतपूर्व सोभियत सङ्घमा हाम्रा शत्रुहरूले भाइहरूलाई एउटा पत्र पठाए। त्यो पत्र मुख्यालयबाटै पठाइएको जस्तो देखिन्थ्यो। त्यस पत्रमा केही भाइहरूलाई छुट्टै सङ्गठन बनाउन प्रोत्साहन दिइएको थियो। झट्ट हेर्दा त्यो पत्र मुख्यालयबाटै आएको जस्तो देखिन्थ्यो तर हाम्रा वफादार भाइहरू बहकिएनन्। तिनीहरूले त्यसमा लेखिएका कुराहरू आफूले सिकेको कुराहरूसित मेल खाँदैन भनेर चाल पाइहाले। आज पनि सत्यका शत्रुहरूले कहिलेकाहीँ हामीमा शङ्का उब्जाउन र फुट गराउन आधुनिक प्रविधिको प्रयोग गर्छन्। तर हामीले ‘झट्टै आफ्नो सुद्धीबुद्धि गुमाइहाल्नु हुँदैन।’ बरु हामीले सुनेको वा पढेको कुरा बाइबल सत्यसित मेल खान्छ कि खाँदैन भनेर जाँच्नुपर्छ। यसो गऱ्यौँ भने हामी बहकिनेछैनौँ।—२ थिस्स. २:२; १ युह. ४:१.
१६. कोही सत्यदेखि तर्कियो भने रोमी १६:१७, १८ अनुसार हामीले के गर्नुपर्छ?
१६ यहोवाप्रति वफादार रहेकाहरूसित एकतामा रहनुहोस्। यहोवा हामीले एकताबद्ध भएर उहाँको उपासना गरेको चाहनुहुन्छ। हामीले सत्यलाई पक्रिराख्यौँ भने मात्र एकतामा रहिरहन सक्नेछौँ। सत्यदेखि तर्किनेहरूले मण्डलीमा फुट उत्पन्न गराउँछन्। त्यसैले परमेश्वरले हामीलाई तिनीहरूबाट “टाढै बस” भन्ने चेतावनी दिनुभएको छ। यस चेतावनीलाई बेवास्ता गऱ्यौँ भने हामी सत्यदेखि तर्किन सक्छौँ।—रोमी १६:१७, १८ पढ्नुहोस्।
१७. हामीले सत्यलाई स्विकार्दा र त्यसलाई बलियोसित पक्रिराख्दा कस्तो लाभ हुन्छ?
१७ हामीले सत्यलाई स्विकाऱ्यौँ र त्यसलाई बलियोसित पक्रिराख्यौँ भने हामी यहोवासित घनिष्ठ भइरहन र आफ्नो विश्वासलाई बलियो बनाइराख्न सक्नेछौँ। (एफि. ४:१५, १६) हामी सैतानको झूटो शिक्षा र अफवाहदेखि बहकिनेछैनौँ। अनि महासङ्कष्टको बेला पनि यहोवामाथिको भरोसालाई बलियो बनाइराख्न सक्नेछौँ। त्यसैले जे सही छ, त्यसलाई बलियोसित पक्रिराख्नुहोस्। त्यसो गर्नुभयो भने ‘शान्तिका परमेश्वर तपाईँको साथमा हुनुहुनेछ।’—फिलि. ४:८, ९.
गीत १२२ स्थिर र अटल बस!
a चित्रको व्याख्या: दशकौँअघि भूतपूर्व सोभियत सङ्घका भाइहरूले हाम्रो मुख्यालयबाटै आएको जस्तो देखिने एउटा पत्र पाएको पुनःअभिनय। तर त्यो पत्र वास्तवमा हाम्रा शत्रुहरूबाट आएको थियो। आज पनि हाम्रा शत्रुहरूले यहोवाको सङ्गठनबारे झूटो हल्ला फैलाउन इन्टरनेटको प्रयोग गर्न सक्छन्।