येसुबाट सिक्नुहोस्
“मेरो राज्य यस संसारको होइन”
कुनै पनि मानव सरकारले गर्न नसकेको काम यस राज्यले गर्नेछ भनेर येसुले बताउनुभयो। अहिले हामीले भोगिरहेको सबै समस्याहरू यस राज्यले सदाका लागि हटाउनेछ। येसुको बोली र कामबाट हामी कसरी यो कुरामा पक्का हुन सक्छौँ?
येसुले के भन्नुभयो?
“मेरो राज्य यस संसारको होइन।” (युहन्ना १८:३६) येसुको राज्य मानव राजनैतिक विचारधारा वा अरू सङ्गठनसँग सम्बन्धित छैन। उहाँले शासन गर्ने अख्तियार मानव सरकारहरूबाट पाउनुभएको पनि होइन। बरु उहाँलाई परमेश्वर स्वयम्ले नै शासन गर्ने अख्तियार दिनुहुन्छ।
“हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, . . . तपाईँको राज्य आओस्। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।” (मत्ति ६:९, १०) येसुले नमुना प्रार्थनाद्वारा आफ्ना चेलाहरूलाई संसारमा भइरहेको समस्याहरूको समाधान गर्न मानव सरकारको मुख ताक्नुको सट्टा परमेश्वरको राज्यमा भर पर्न सिकाउनुभयो। परमेश्वरको यस राज्यले सबै मानव सरकारहरूलाई हटाउनेछ र पृथ्वीमा चिरकालीन शान्ति ल्याउनेछ।—दानिएल २:४४.
परमेश्वरको राज्य र यसले गर्ने कामहरूबारे थप कुरा बुझ्न परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
येसुले के गर्नुभयो?
“तिनीहरू आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन् भन्ने थाह पाउनुभएपछि येसु एक्लै फेरि डाँडातिर लाग्नुभयो।” (युहन्ना ६:१५) येसुले राजनीतिमा भाग लिन इन्कार गर्नुभयो र त्यसबाट पूर्णतया अलग रहनुभयो। मानिसहरूले उहाँलाई नेता बनाउन खोज्दा उहाँले इन्कार गर्नुभयो।
राजनीतिप्रति ख्रिष्टियनहरूको दृष्टिकोण कस्तो हुनुपर्छ भनेर येसुको उदाहरणबाट के सिक्न सक्छौं? यसबारे थप कुरा बुझ्न “के धर्म राजनीतिमा मुछिनु उचित हो?” भन्ने लेख पढ्नुहोस्।