यसैया
७ योतामका छोरा र उज्जियाहका नाति आहाज+ जो यहुदाका राजा थिए, तिनको शासनकालमा सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह+ यरुसलेमसँग युद्ध लड्न आए। तर तिनीहरूले* यरुसलेमलाई कब्जा गर्न सकेनन्।+ २ तब “सिरियाले एप्रैमलाई युद्ध लड्न सहयोग गर्ने निर्णय गऱ्यो” भन्ने खबर दाउदको घरानालाई दिइयो।
यो खबर सुनेपछि जसरी बतास चल्दा जङ्गलका रूखहरू हल्लिन्छन्, त्यसरी नै आहाज र तिनका सबै मानिसको मुटु थरथर काँप्यो।
३ त्यसपछि यहोवाले यसैयालाई यस्तो आग्रह गर्नुभयो: “आफ्नो छोरा सेर-यासुबलाई*+ लिएर आहाजलाई भेट्न जाऊ। तिमीले उसलाई माथिल्लो कुण्डको नहरनजिकै भेट्नेछौ,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा छ। ४ उसलाई यसो भन्नू, ‘ढुक्क भएर बस। सिरियाका राजा रजिन र रमल्याहका+ छोराको बल्दो रिसदेखि फिटिक्कै नडराऊ, तिनीहरूलाई देखेर हिम्मत नहार किनकि तिनीहरू धुवाँ निस्किरहेको निभ्न लागेको मुढाजस्तै छन्। ५ सिरिया र एप्रैमले अनि रमल्याहका छोराले तिमीविरुद्ध यसो भन्दै षड्यन्त्र रचेका छन्: ६ “आओ, हामी यहुदामाथि आक्रमण गर्न जाऔँ, त्यसलाई टुक्राटुक्रा पारिदेऔँ* र कब्जा गरौँ।* अनि तबेलका छोरालाई त्यहाँको राजा बनाऔँ।”+
७ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“तिनीहरूको षड्यन्त्र सफल हुनेछैन।
त्यो कहिल्यै पूरा हुनेछैन।
८ सिरियाको शिर दमिसक हो
र दमिसकको शिरचाहिँ रजिन हो।
केवल ६५ वर्षभित्र एप्रैम पूरै तहसनहस हुनेछ,
त्यसको नामोनिसान मेटिनेछ।+
तिमीहरूको विश्वास अटल नभएसम्म
तिमीहरूको राज्य स्थिर हुनेछैन।”’”
१० यहोवाले आहाजलाई अझै यसो भन्नुभयो: ११ “यहोवा तिम्रा परमेश्वरसित कुनै चिन्ह माग,+ चाहे त्यो चिन्ह चिहानजत्तिकै* गहिरो होस् या आकाशजत्तिकै उच्च।” १२ तर आहाजले यसो भने: “अहँ! म कुनै चिन्ह माग्दिनँ; म यहोवालाई जाँच्न चाहन्नँ।”
१३ त्यसपछि यसैयाले यसो भने: “हे दाउदको घराना, सुन! के मानिसहरूको धैर्यको परीक्षा लिएर तिमीहरूलाई पुगेन? अब तिमीहरू परमेश्वरको धैर्यको पनि परीक्षा लिन चाहन्छौ?+ १४ त्यसैले यहोवा आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ: हेर! कन्या* गर्भवती हुनेछिन् र एउटा छोरा जन्माउनेछिन्।+ उनले तिनको नाम इम्मानुएल* राख्नेछिन्।+ १५ खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई रोज्न सक्ने हुनुअघि नै तिनले नौनी र मह खाइसकेका हुनेछन्। १६ किनकि बालक खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई छान्न सक्ने हुनुअघि नै जुन दुई राजादेखि तिमीहरू डराउँछौ, तिनीहरूको देश पूर्ण रूपमा उजाड भइसकेको हुनेछ।+ १७ हे आहाज, यहोवाले तिमी, तिम्रा मानिसहरू र तिम्रो बुबाको घरानामाथि असाध्यै कठिन परिस्थिति ल्याउनुहुनेछ। एप्रैम यहुदाबाट अलग भएको दिनदेखि+ आजसम्म त्यस्तो सङ्कट आइपरेको छैन। किनकि उहाँले अस्सेरियाका राजालाई तिमीमाथि जाइलाग्न पठाउनुहुनेछ।+
१८ “त्यस दिन यहोवाले सिटी बजाएर टाढाबाट अर्थात् मिश्रको नाइलका नहरहरूबाट झिँगाहरूलाई र अस्सेरियाबाट मौरीहरूलाई बोलाउनुहुनेछ। १९ ती सब आउनेछन् र भिराला बेँसीहरू,* चट्टानका धाँजाहरू, काँडेदार झाडीहरू र खर्कहरूमा* बस्नेछन्।
२० “त्यस दिन यहोवाले युफ्रेटिस नदी बग्ने इलाकाबाट भाडामा लिइएको छुरामार्फत अर्थात् अस्सेरियाका राजामार्फत+ यहुदाको कपाल र खुट्टाका रौँ अनि दाह्री पनि खौरिदिनुहुनेछ।
२१ “त्यो दिन एउटा मानिससँग एउटा कोरली* र दुई वटा भेडा बाँकी रहनेछ। २२ अनि दूध प्रशस्तै भएकोले उसले नौनी खानेछ। खानलाई अरू केही नभएकोले देशमा बाँकी रहेका सबैले नौनी र मह मात्र खानेछन्।
२३ “त्यो दिन १ हजार चाँदीको टुक्रा मोल पर्ने अङ्गुरका १ हजार बोट भएका ठाउँहरूमा काँडा र झारपात मात्र हुनेछन्। २४ मानिसहरू त्यहाँ धनु र काँड बोकेर जानेछन् किनकि पूरै देशलाई काँडा र झारपातले ढाक्नेछ। २५ अनि जुन डाँडाहरूलाई कोदालोले सफा गरिन्थ्यो, ती डाँडाहरूमा तिमीहरू काँडा र झारपातको डरले जानेछैनौ। ती सब डाँडा गोरुहरू र भेडाहरूका लागि चरन हुनेछन्।”