अय्युब
२७ अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:
२ “मेरो इन्साफ नगर्नुहुने परमेश्वरको नाममा म कसम खाएर भन्छु,+
मेरो जीवन तीतो बनाइदिनुहुने सर्वशक्तिमान्को नाममा म कसम खाएर भन्छु,+
३ जबसम्म ममा सास बाँकी रहन्छ
र परमेश्वरले दिनुभएको सास मेरो नाकमा रहिरहन्छ,+
४ तबसम्म मेरो ओठले गलत कुरा बोल्नेछैन
र मेरो जिब्रोले कपटी कुरा गर्नेछैन।
५ म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ।
म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।+
७ मेरो शत्रुको हालत दुष्टहरूको जस्तो होस्।
मलाई दुर्व्यवहार गर्नेले भ्रष्टहरूले पाउने सजाय पाओस्।
८ किनकि भक्तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्वरले त्यसको जीवन खोसेर लैजानुहुँदा
त्यसको निम्ति के नै आशा हुन्छ र?
९ त्यसमाथि दुःखकष्ट आइपर्दा+
के परमेश्वरले त्यसको पुकारा सुन्नुहुन्छ?
१० अथवा सर्वशक्तिमान्लाई सम्झेर त्यो खुसी हुन्छ र?
त्यसले हर समय परमेश्वरलाई पुकार्छ र?
११ म तपाईँहरूलाई परमेश्वरको शक्तिबारे बताउँछु।*
सर्वशक्तिमान्को विषयमा म तपाईँहरूसित कुनै कुरा लुकाउनेछैनँ।
१२ तपाईँहरूले साँच्चै दर्शन* देख्नुभएको हो भने
तपाईँहरूको कुरा किन यत्तिबिघ्न खोक्रो छ?
१३ दुष्टले परमेश्वरबाट पाउने इनाम
र अत्याचारीहरूले सर्वशक्तिमान्बाट पाउने अंश यही हो:+
१४ त्यसका धेरै छोरा भए पनि तिनीहरू तरबारले काटिनेछन्+
र त्यसका सन्तान भोकभोकै हुनेछन्।
१५ बचेकाहरूचाहिँ महामारीको सिकार हुनेछन्
र तिनीहरूका विधवाहरूले तिनीहरूको निम्ति आँसु बगाउनेछैनन्।
१६ चाहे त्यसले जम्मा गरेको चाँदी धुलोको कणजति नै होस्
र त्यसले थाक लगाएका राम्रा-राम्रा लुगा माटोको थुप्रोजत्तिकै होस्,
१७ चाहे ती सबै त्यसले आफ्नै हातले बटुलेको होस्,
ती सबै धर्मी मानिसले लगाउनेछ।+
अनि निर्दोषहरूले त्यसको चाँदी आपसमा भागबन्डा गर्नेछन्।
१८ त्यसले बनाएको घर पुतलीको कोयोजस्तै कमजोर हुनेछ,
पहरेदारले बनाएको टहरोजस्तै+ कमजोर।
१९ ओछ्यानमा जाउन्जेल त्यो धनी हुन्छ
तर बिहान आँखा खोल्दा त्यो कङ्गाल भइसकेको हुनेछ।
२० त्रासले त्यसलाई अचानक उर्लेको भेलले झैँ छोप्नेछ।
अनि रातमा भयानक आँधीले त्यसलाई उडाएर अन्तै पुऱ्याउनेछ।+
२१ पूर्वीय बतासले त्यसलाई उडाएर लग्नेछ,
त्यसलाई त्यसको ठाउँबाट हुर्ऱ्याएर लैजानेछ
र त्यसको नामोनिसान रहनेछैन।+