अध्याय १
परमेश्वरको प्रेम सधैँ रहिरहन्छ
“परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्।”—१ युहन्ना ५:३.
१, २. तपाईँ किन यहोवा परमेश्वरलाई प्रेम गर्नुहुन्छ?
के तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ? तपाईँले उहाँलाई प्रेम गरेकोले नै सायद आफूलाई उहाँमा समर्पण गर्नुभयो। उहाँलाई सबैभन्दा मिल्ने साथी बनाउनुभयो। तर तपाईँले उहाँलाई प्रेम गर्नुअघि उहाँले तपाईँलाई प्रेम गर्नुभएको हो। यसबारे बाइबल यसो भन्छ: “हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ युहन्ना ४:१९.
२ यहोवाले हामीलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ, विचार गर्नुहोस्। उहाँले हामीलाई बस्नको लागि यो सुन्दर पृथ्वी दिनुभएको छ। साथै जीवनको आनन्द उठाउन चाहिने सबै कुरा दिनुभएको छ। (मत्ति ५:४३-४८; प्रकाश ४:११) हामीले उहाँसित राम्रो सम्बन्ध गाँसेको उहाँ चाहनुहुन्छ। उहाँले हामीलाई आफूबारे सिक्न मदत गर्नुभएको छ। बाइबल पढ्दा हामीले यहोवाको कुरा सुनिरहेका हुन्छौँ भने प्रार्थना गर्दा उहाँले हाम्रो कुरा सुनिरहनुभएको हुन्छ। (भजन ६५:२) पवित्र शक्तिमार्फत उहाँ हामीलाई डोऱ्याउनुहुन्छ र बलियो बनाउनुहुन्छ। (लुका ११:१३) हामीलाई पाप र मृत्युबाट मुक्त गर्न उहाँले आफ्नो प्यारो छोरा पृथ्वीमा पठाउनुभयो।—युहन्ना ३:१६; रोमी ५:८ पढ्नुहोस्।
३. हामी कसरी यहोवासितको सम्बन्ध बलियो बनाइराख्न सक्छौँ?
३ तपाईँको सुखदुःखमा सधैँ साथ दिने साथीबारे विचार गर्नुहोस्। यस्तो सम्बन्ध राम्रो बनाइराख्न धेरै मेहनत गर्नुपर्छ। यही कुरा यहोवासितको सम्बन्धमा पनि लागू हुन्छ। हामीले उहाँभन्दा घनिष्ठ साथी कतै पाउन सक्दैनौँ। हामीले उहाँसितको सम्बन्ध सधैँ बलियो बनाइराख्न सक्छौँ। त्यसैले बाइबल हामीलाई यसो भन्छ: ‘आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख।’ (यहुदा २१) हामी कसरी यसो गर्न सक्छौँ? बाइबल यसो भन्छ: “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्।”—१ युहन्ना ५:३.
‘परमेश्वरलाई प्रेम गर्नुको’ अर्थ
४, ५. तपाईँले यहोवालाई कसरी प्रेम गर्न थाल्नुभयो?
४ प्रेषित युहन्नाले ‘परमेश्वरलाई प्रेम गर्ने’-बारे लेखे। तपाईँले यहोवालाई कहिलेदेखि प्रेम गर्न थाल्नुभयो, के तपाईँलाई याद छ?
५ तपाईँ नयाँ संसारमा सधैँभरि बाँचेको यहोवा चाहनुहुन्छ भनेर पहिलो चोटि थाह पाउँदा कस्तो लागेको थियो, सम्झनुहोस्। तपाईँले त्यस्तो जीवन पाउन सम्भव होस् भनेर उहाँले के-के गर्नुभएको छ, त्यसबारे सिक्नुभयो। यहोवाले हाम्रो लागि आफ्नो छोरालाई यस पृथ्वीमा पठाउनुभयो। यो साँच्चै कत्ति अनमोल उपहार हो भनेर तपाईँले महसुस गर्नुभयो। (मत्ति २०:२८; युहन्ना ८:२९; रोमी ५:१२, १८) यहोवा तपाईँलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर थाह पाउँदा त्यसले तपाईँको मन छोयो र तपाईँले पनि उहाँलाई प्रेम गर्न थाल्नुभयो।—१ युहन्ना ४:९, १० पढ्नुहोस्।
६. कसैलाई प्रेम गर्नुमा के-के समावेश छ? परमेश्वरप्रतिको प्रेमले तपाईँलाई के गर्न उत्प्रेरित गर्छ?
६ तर यस्तो भावना यहोवाप्रतिको प्रेमको सुरुवात मात्र थियो। जस्तै: हामी कसैलाई प्रेम गर्छौँ भने मुखले मात्र “म तिमीलाई माया गर्छु” भन्दैनौँ बरु कामबाट पनि त्यो देखाउँछौँ। अनि उसलाई खुसी बनाउने कामहरू गर्छौँ। त्यस्तै गरी, यहोवाप्रतिको प्रेमले उहाँलाई खुसी तुल्याउने तरिकामा जीवन बिताउन हामीलाई उत्प्रेरित गर्छ। यहोवाप्रतिको प्रेम बढ्दै जाँदा सायद तपाईँले आफूलाई उहाँमा समर्पण गर्नुभयो अनि बप्तिस्मा गर्नुभयो। यसरी तपाईँले सधैँभरि यहोवाको सेवा गर्ने वाचा गर्नुभयो। (रोमी १४:७, ८ पढ्नुहोस्) हामी कसरी यो वाचा पूरा गर्न सक्छौँ?
‘हामी उहाँका आज्ञाहरू पालन गर्छौँ’
७. हामीले यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ? उहाँले कस्ता आज्ञाहरू दिनुभएको छ?
७ हामी यहोवालाई प्रेम गर्छौँ, त्यसैले ‘उहाँका आज्ञाहरू पालन गर्छौँ।’ हामी उहाँका आज्ञाहरू बाइबलबाट सिक्न सक्छौँ र उहाँको इच्छाअनुसार जीवन बिताउने तरिकाहरू थाह पाउन सक्छौँ। यहोवाले बाइबलमा मात्तिनेगरि पिउनु, चोरी गर्नु, झूटो बोल्नु, अवैध यौनसम्बन्ध राख्नु अनि उहाँबाहेक अरू कसैको वा कुनै वस्तुको उपासना गर्नु गलत हो भनेर बताउनुभएको छ।—१ कोरिन्थी ५:११; ६:१८; १०:१४; एफिसी ४:२८; कलस्सी ३:९.
८, ९. बाइबलले कुनै विषयमा तोकेरै नियम दिएको छैन भने हामी कसरी सही निर्णय गर्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्।
८ तर यहोवालाई खुसी बनाउन उहाँको आज्ञा पालन गरेर मात्र पुग्दैन। उहाँले जीवनमा आइपर्ने हरेक परिस्थितिको लागि एक-एक नियम दिनुभएको छैन। त्यसोभए बाइबलले कुनै विषयमा तोकेरै नियम दिएको छैन भने हामी कसरी सही निर्णय गर्न सक्छौँ? (एफिसी ५:१७) बाइबलमा थुप्रै सिद्धान्त अर्थात् आधारभूत सत्यहरू पाइन्छन्, जसले यहोवाको जस्तै दृष्टिकोण राख्न मदत गर्छ। बाइबल पढ्दा यहोवा कस्तो व्यक्ति हुनुहुन्छ भनेर थाह पाउन सक्छौँ। उहाँको सोच्ने तरिका बुझ्न सक्छौँ अनि उहाँले प्रेम गर्ने वा घृणा गर्ने कुराबारे पनि सिक्न सक्छौँ।—भजन ९७:१० पढ्नुहोस्; हितोपदेश ६:१६-१९; नोट १ हेर्नुहोस्।
९ उदाहरणको लागि, टिभीमा कुन कार्यक्रम हेर्ने अथवा इन्टरनेटमा के हेर्ने भनेर कसरी निर्णय गर्न सक्छौँ? यहोवाले ‘यस्तै गर्नुपर्छ’ भनेर नियम दिनुभएको छैन। तर उहाँले दिनुभएका सिद्धान्तहरूले हामीलाई सही निर्णय गर्न मदत गर्छ। आजकल धेरैजसो मनोरञ्जन हिंसा र यौनले भरिएको हुन्छ। बाइबलमा यहोवा ‘हत्याहिंसा मन पराउनेलाई घृणा गर्नुहुन्छ’ र उहाँले ‘अवैध यौनसम्बन्ध राख्ने मानिसहरूलाई न्याय गर्नुहुनेछ’ भनेर बताइएको छ। (भजन ११:५; हिब्रू १३:४) यी सिद्धान्तहरूले सही निर्णय गर्न कसरी मदत गर्छ? यहोवा कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई अनैतिक ठान्नुहुन्छ, त्यो कुरा बुझेपछि हामी तीबाट अलग रहनुपर्छ।
१०, ११. हामी किन यहोवाको आज्ञा पालन गर्छौँ?
१० हामी किन यहोवाको आज्ञा पालन गर्छौँ? सजाय पाउनदेखि उम्कन वा समस्यादेखि जोगिन मात्र पो हो कि? (गलाती ६:७) पक्कै होइन बरु हामी यहोवालाई प्रेम गर्छौँ, त्यसैले उहाँको आज्ञा पालन गर्छौँ। छोराछोरीले आफ्नो बुबालाई खुसी पार्न चाहेजस्तै हामी पनि स्वर्गमा हुनुहुने बुबालाई खुसी पार्न चाहन्छौँ। यहोवालाई खुसी बनाउँदा हामी जति धेरै आनन्द र सन्तुष्टि पाउँछौँ, त्यति त अरू कुनै कुराले पनि दिन सक्दैन।—भजन ५:१२; हितोपदेश १२:२; नोट २ हेर्नुहोस्।
११ हामी सधैँ यहोवाको आज्ञा पालन गर्छौँ, सजिलो हुँदा वा अरू कुनै उपाय नहुँदा मात्र होइन। हामी ‘म यो आज्ञा पालन गर्छु तर योचाहिँ गर्दिनँ’ भन्दैनौँ। (व्यवस्था १२:३२) बरु भजनरचयिताले जस्तै उहाँका सबै आज्ञा पालन गर्छौँ, जसले यसो भने: “तपाईँका आज्ञाहरू मलाई साह्रै मन पर्छ, हो, म तिनलाई प्रेम गर्छु।” (भजन ११९:४७; रोमी ६:१७) हामी नुहजस्तै हुन चाहन्छौँ। यहोवाले दिनुभएको सबै आज्ञा पालन गरेर नुहले उहाँलाई प्रेम गरेको देखाए। बाइबल भन्छ: “तिनले परमेश्वरको आज्ञाबमोजिम सबै गरे।” (उत्पत्ति ६:२२) हामीबारे पनि यहोवाले त्यसै भन्नुभएको के हामी चाहँदैनौँ र?
१२. हामी कसरी यहोवालाई खुसी बनाउन सक्छौँ?
१२ हामीले यहोवाको आज्ञा पालन गर्दा उहाँलाई कस्तो लाग्छ? हामीले उहाँको “हृदयलाई खुसी” बनाइरहेका हुन्छौँ। (हितोपदेश ११:२०; २७:११) एकछिन सोच्नुहोस्, हामी आज्ञाकारी हुँदा ब्रह्माण्डकै सृष्टिकर्तालाई खुसी बनाइरहेका हुन्छौँ! तर आफ्नो आज्ञा पालन गराउन उहाँ हामीलाई कहिल्यै कर गर्नुहुन्न। उहाँले हामीलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। त्यसैले हामी आफैले सही र गलत छुट्ट्याएर निर्णय गर्न सक्छौँ। यहोवा हामीले सुखी जीवन बिताएको चाहनुहुन्छ। त्यसैले उहाँप्रतिको प्रेमले उत्प्रेरित भएर हामीले सही निर्णय गरेको उहाँ चाहनुहुन्छ।—व्यवस्था ३०:१५, १६, १९, २०; नोट ३ हेर्नुहोस्।
“उहाँका आज्ञाहरू बोझिला छैनन्”
१३, १४. परमेश्वरको आज्ञा पालन गर्नै नसक्ने खालका छैनन् भनेर किन भन्न सक्छौँ? उदाहरण दिनुहोस्।
१३ यदि हामीलाई यहोवाको आज्ञा पालन गर्न असाध्यै गाह्रो लाग्छ वा त्यसले हाम्रो स्वतन्त्रता नै खोसेको जस्तो लाग्छ भने नि? बाइबल यसो भन्छ: “उहाँका आज्ञाहरू बोझिला छैनन्।” (१ युहन्ना ५:३) “बोझिला” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ “गह्रौँ” भन्ने हुन्छ। अरू बाइबलहरूमा यो शब्द अरूलाई दबाउन र चोट पुऱ्याउन खोज्ने व्यक्तिलाई बुझाउन वा अव्यावहारिक नियमहरूलाई बुझाउन प्रयोग गरिएको छ। (मत्ति २३:४; प्रेषित २०:२९, ३०) पवित्र बाइबल—नयाँ संशोधित संस्करण-ले (NRV) भने यसरी अनुवाद गरेको छ: “हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।” ‘यहोवाका आज्ञाहरू बोझिला छैनन्’ भन्नुको अर्थ ती पालन गर्नै नसकिने खालका छैनन् भन्ने हो। उहाँ हामीबाट कहिल्यै अव्यावहारिक माग गर्नुहुन्न।
१४ यो उदाहरण विचार गर्नुहोस्। तपाईँ साथीलाई कोठा सर्न मदत गर्दै हुनुहुन्छ। तिनले सबै मालसामान बाकसहरूमा हालिसकेका छन्। कुनै बाकस हलुको र बोक्न सजिलो छ भने कुनै चाहिँ साह्रै गह्रौँ, एक्लैले बोक्नै नसक्ने खालको छ। साथीले तपाईँलाई गह्रौँ बाकस देखाउँदै ‘योचाहिं तिमी बोक है’ भन्छन् होला र? पक्कै भन्दैनन्! किन? किनभने तिनी तपाईँलाई कुनै चोटपटक लागेको चाहँदैनन्। ती साथीजस्तै यहोवा पनि हामीलाई पालन गर्नै नसकिने आज्ञाहरू दिनुहुन्न। (व्यवस्था ३०:११-१४) यहोवा हाम्रो क्षमता राम्ररी बुझ्नुहुन्छ। किनभने “हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ।”—भजन १०३:१४.
१५. यहोवाका आज्ञाहरू हाम्रै भलाइका लागि हुन् भनेर किन भन्न सक्छौँ?
१५ मोशाले इस्राएल राष्ट्रलाई यहोवाको आज्ञा पालन गर्दा तिनीहरूको “सधैँ भलो” हुन्छ र ती पालन गरेमा तिनीहरू “जीवित रहन” सक्नेछन् भने। (व्यवस्था ५:२८-३३; ६:२४) आज पनि कुरा त्यही हो। यहोवाले चाहनुभएअनुसार जीवन बिताउँदा हामी खुसी हुन सक्छौँ। (यसैया ४८:१७ पढ्नुहोस्) हाम्रो भलाइ केमा छ भनेर हाम्रो बुबा यहोवालाई राम्ररी थाह छ। (रोमी ११:३३) बाइबल भन्छ: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ युहन्ना ४:८) त्यसैले यहोवा जे भन्नु वा गर्नुहुन्छ, ती सबै प्रेममा आधारित छन्।
१६. हामी त्रुटिपूर्ण भए पनि र दुष्ट संसारमा बाँचिरहेको भए पनि कसरी आज्ञाकारी हुन सक्छौँ?
१६ परमेश्वरको आज्ञा पालन गर्न सधैँ सजिलो हुँदैन। हामी सैतानले शासन गरिरहेको दुष्ट संसारमा बाँचिरहेका छौँ। त्यसले मानिसहरूलाई खराब काम गर्न उक्साउँछ। (१ युहन्ना ५:१९) साथै हामीले आफ्नै त्रुटिपूर्ण सोचाइ र झुकावविरुद्ध पनि सङ्घर्ष गर्नुपर्छ, जसले हामीलाई परमेश्वरको आज्ञा उल्लङ्घन गर्न लगाउँछ। (रोमी ७:२१-२५) तर यहोवाप्रतिको हाम्रो प्रेमले हामीलाई जे सही छ, त्यही गर्ने बल दिन्छ। उहाँको आज्ञा पालन गर्न हामीले गरेको प्रयास उहाँ याद गर्नुहुन्छ। साथै उहाँ हामीलाई पवित्र शक्ति दिएर मदत गर्नुहुन्छ, जुन धेरै शक्तिशाली छ। (१ समुएल १५:२२, २३; प्रेषित ५:३२) पवित्र शक्तिले विभिन्न गुण विकास गर्न मदत गर्छ र ती गुणहरूले यहोवाको आज्ञा पालन गर्न सजिलो बनाउँछ।—गलाती ५:२२, २३.
१७, १८. (क) यस किताबमा हामी के सिक्नेछौँ? (ख) अर्को अध्यायमा के छलफल गर्नेछौँ?
१७ यस किताबमा हामी यहोवालाई खुसी तुल्याउने तरिकामा कसरी जीवन बिताउन सक्छौँ, त्यसबारे सिक्नेछौँ। अनि उहाँका सिद्धान्तहरू र नैतिक स्तरहरू आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौँ, त्यो पनि सिक्नेछौँ। यो कुरा नबिर्सनुहोस्, यहोवा हामीलाई उहाँको आज्ञा पालन गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न। हामीले आज्ञाकारी हुने छनौट गऱ्यौँ भने हाम्रो जीवन सुखी हुनेछ र भविष्य सुन्दर हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो आज्ञाकारिताबाट हामी यहोवालाई कत्ति धेरै प्रेम गर्छौँ भन्ने देखिन्छ।—नोट ४ हेर्नुहोस्।
१८ हामीले सही र गलत छुट्ट्याउन सकौँ भनेर यहोवाले हामी प्रत्येकलाई अन्तस्करण दिनुभएको छ। यदि हामीले आफ्नो अन्तस्करणलाई तालिम दियौँ भने यसले हामीलाई “परमेश्वरका आज्ञाहरू पालन” गर्न मदत गर्छ। त्यसोभए, अन्तस्करण भनेको के हो अनि यसलाई कसरी तालिम दिन सक्छौँ? आउनुहोस्, हेरौँ।