पाठकहरूको प्रश्न
व्यभिचार गर्दा वा छाडापनमा लाग्दा कुनै व्यक्ति खीष्टियान मण्डलीबाट बहिष्कार हुन सक्छ भने के ऊ अशुद्धपनमा मुछिंदा पनि बहिष्कार हुन सक्छ?
व्यभिचार गर्दा होस् या कुनै प्रकारको अशुद्धपनमा मुछिंदा वा छाडापनमा लाग्दा नै किन नहोस्, उसले पश्चात्ताप गर्दैन भने मण्डलीबाट बहिष्कार हुन सक्छ। बहिष्कार हुन सक्ने अन्य कामहरूसितै पावल यी तीन पापलाई समावेश गर्छन्: “शरीरका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्, व्यभिचार, अपवित्रता [अर्थात् अशुद्धता], लुच्याइँ [“छाडापन,” NW ] . . . जसको विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु, . . . जसजसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।”—गलाती ५:१९-२१.
व्यभिचारले (युनानीमा पोरनिया) परमेश्वरलाई स्वीकार्य वैवाहिक सम्बन्धबाहिर राखिने अवैध यौनसम्पर्कलाई बुझाउँछ। यसमा पर-पुरुषगमन, पर-स्त्रीगमन, वेश्यावृत्ति अनि अविवाहित व्यक्तिहरूबीचको यौनसम्बन्ध, मुख-मैथुन र गुदद्वार-मैथुन साथै आफ्नो विवाहित जोडीबाहेक अरूको यौन अंग खेलाउनु समावेश छ। कुनै व्यक्ति पश्चात्ताप नगरी व्यभिचारमा लागिरहन्छ भने उसलाई ख्रीष्टियान मण्डलीबाट हटाइन्छ।
छाडापनले (युनानीमा असेलजिया) “नैतिक नियमको वास्तै नगरी मनपरी चल्ने, लम्पटपन, निर्लज्जपन र कामुकतालाई” बुझाउँछ। एउटा शब्दकोशले (The New Thayer’s Greek-English Lexicon) यो युनानी शब्दलाई यसरी व्याख्या गरेको छ: “अनियन्त्रित कामवासना, . . . मर्यादाहीनता, निर्लज्जपन, हठीपन।” अर्को शब्दकोशअनुसार छाडापन भनेको यस्तो प्रकारको व्यवहार हो जसले “समाजमा स्वीकार्य कुराहरूको सीमा नाघ्छ।”
माथिका परिभाषाहरूअनुसार, “छाडापन”-मा दुइटा कुरा मुछिएका छन्: (१) यो आचरण आफै परमेश्वरको नियमको घोर उल्लंघन हो अनि (२) गल्ती गर्ने व्यक्तिको मनोवृत्ति अनादरपूर्ण र हठी हुन्छ।
तसर्थ “छाडापन” भनेको हल्कासित लिन सकिने खराब आचरण मात्र होइन। यो, परमेश्वरको नियमको घोर उल्लंघन हुने कार्यहरूसित सम्बन्धित छ। यसमा हठीपन वा ‘अरूलाई के मतलब’ भन्ने मनोवृत्ति झल्किन्छ। यस्तो मनोवृत्तिले अख्तियार, नियम-कानुन र स्तरहरूप्रति अनादर देखाउँछ वा त्यसलाई घृणा समेत गर्छ। पावलले भ्रष्टाचार अर्थात् छाडापनलाई अवैध यौनसम्बन्धसित गाँसे। (रोमी १३:१३, १४) गलाती ५:१९-२१ मा छाडापनलाई परमेश्वरको राज्यमा पस्न नपाउने पापपूर्ण कामकुरोको सूचीमा राखिएको छ। त्यसैले छाडापनमा लाग्दा ख्रीष्टियान मण्डलीबाट हप्काइ दिइन्छ र यो, सम्भाव्य बहिष्कारको आधार हो।
अशुद्धपनले (युनानीमा अकाथारसिया) “व्यभिचार,” “अशुद्धपन,” र “छाडापन” भनी अनुवाद गरिएका तीन शब्दहरूमध्ये सबैभन्दा विस्तृत क्षेत्र ढाक्छ। यसमा सबै प्रकारको दूषितपना समावेश छ—यौन, बोली, काम र आध्यात्मिकता सम्बन्धी दूषितपना, सबमा। “अशुद्धपन”-ले गम्भीर पापहरूको विस्तृत क्षेत्र ओगट्छ।
दोस्रो कोरिन्थी १२:२१ मा (NRV ) पावल “अघि पाप गरेका . . . [तर] आफूले गरेका अशुद्धता, व्यभिचार, छाडापनबाट पश्चात्ताप” नगर्नेहरूबारे बताउँछन्। “अशुद्धता”-लाई “व्यभिचार र छाडापन”-कै वर्गमा राखिएकोले कुनै-कुनै प्रकारको अशुद्धपन न्यायिक कारबाही गर्नुपर्ने किसिमका हुन्छन्। तर अशुद्धपनले विस्तृत क्षेत्र ढाक्ने भएकोले कुनै-कुनै चाहिं न्यायिक कारबाही गर्नु नपर्ने किसिमका पनि हुन्छन्। जसरी एउटा घर विभिन्न हदमा, अलिअलि वा पूरै फोहोर हुन सक्छ, त्यसरी नै अशुद्धपन पनि विभिन्न हदमा हुन सक्छ।
एफिसी ४:१९ मा (NW ) पावल भन्छन् कि कोही-कोहीले “सम्पूर्ण नैतिक चेतना गुमाइसकेका” छन् र “हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडापनमा लागेका छन्।” यसरी पावल ‘लालचसहितको अशुद्धपनलाई’ छाडापनको वर्गमा राख्छन्। यदि बप्तिस्माप्राप्त प्रकाशक पश्चात्ताप नगरी ‘लालचसहितको अशुद्धपनमा’ लागिरहन्छ भने ऊ घोर अशुद्धपनको आधारमा मण्डलीबाट बहिष्कार हुन सक्छ।
मानौं, मगनी भइसकेको एक जोडीले थुप्रै अवसरमा यौन इच्छा जगाउने तरिकाले माया देखाउँछ। तिनीहरूले छाडापन जनाउने मनोवृत्ति अर्थात् ‘अरूलाई के मतलब’ भन्ने हठीपन नदेखाए तापनि तिनीहरूको आचरणमा केही हदसम्म लालच मुछिएको प्राचीनहरूले ठहर गर्न सक्छन्। यस मामिलामा घोर अशुद्धपन मुछिएकोले प्राचीनहरूले न्यायिक कदम उठाउन सक्छन्। कसैले बारम्बार फोनबाट यौन अनैतिकताले भरिएको कुराकानी गर्छ भने त्यसलाई पनि घोर अशुद्धपन ठहर गरी न्यायिक कदम उठाउन सकिन्छ—विशेषगरि त्यो व्यक्तिलाई पहिला पनि त्यसबारे सल्लाह दिइसकेको छ भने।
यस्ता मामिलाको छानबिन गरेर निष्कर्षमा पुग्न प्राचीनहरूलाई समझ चाहिन्छ। न्यायिक कदम चाल्नुपर्ने हो/होइन निर्णय गर्नुअघि प्राचीनहरूले गल्ती गर्ने व्यक्तिले के गरेको हो र कुन हदसम्म गरेको हो त्यो होसियारीसाथ छानबिन गर्नै पर्छ। कसैले धर्मशास्त्रीय सल्लाह स्वीकारेन भन्दैमा उसलाई छाडापनको आरोप लगाउन प्राचीनहरू हतारिनु हुँदैन; अथवा यति/उति पटक गल्ती गरेपछि न्यायिक कारबाही गर्ने भनेर तोक्नुहुँदैन। प्राचीनहरूले होसियारीसाथ र प्रार्थनापूर्वक हरेक परिस्थितिलाई केलाउनुपर्छ अनि के भएको थियो/कति पटक भएको थियो, घटनाको प्रकृति र हद अनि गल्ती गर्नेको मनसाय र अभिप्राय सब राम्ररी बुझ्नुपर्छ।
घोर अशुद्धपन यौन अनैतिकतामा मात्र सीमित छैन। जस्तै, बप्तिस्माप्राप्त एक ठिटोले छिनभरमै केही खिल्ली चुरोट तान्छ अनि आमाबाबुलाई आफ्नो गल्ती बताउँछ। उसले अबउसो चुरोट नतान्ने संकल्प गर्छ। उसले चुरोट तान्नु अशुद्धपन हो तर घोर अशुद्धपन अर्थात् ‘लालचसहितको अशुद्धपनको’ हदसम्म पुगेको छैन। यस्तो बेला एक वा दुई जना प्राचीनले आमाबाबुसँगै मिलेर उसलाई धर्मशास्त्रीय सल्लाह दिनु पर्याप्त हुन्छ। तर उक्त ठिटोले लगातार चुरोट तान्छ भने जानाजानी आफ्नो शरीरलाई दूषित पारिरहेको हुन्छ र यो घोर अशुद्धपनको मामिलालाई हेर्न न्यायिक समिति गठन गरिन्छ। (२ कोरिन्थी ७:१) पश्चात्ताप गरेन भने ऊ बहिष्कार हुन्छ।
कोही-कोही ख्रीष्टियानहरूले अश्लील सामग्रीहरू हेरेका छन्। यो, परमेश्वरलाई मन नपर्ने कुरा हो र कुनै सँगी विश्वासीले यसो गरेको थाह पाउँदा प्राचीनहरू स्तब्ध हुन सक्छन्। तर हरेक प्रकारको अश्लील सामग्री हेर्दैमा त्यसलाई न्यायिक कदम चाल्नुपर्छ भन्ने होइन। उदाहरणको लागि, कुनै भाइले यौन मुद्रा वा नग्न पुरुष/स्त्रीका चित्र/दृश्यहरू (अंग्रेजीमा ‘सफ्ट-कोर पोर्नोग्राफी’ वा कम छाडा भनौंदा अश्लील कुराहरू) केही पटक हेर्छन्। त्यसपछि उनी लज्जित हुन्छन् अनि एक जना प्राचीनसामु आफ्नो पाप स्वीकार्छन् र फेरि त्यो पाप नदोहोऱ्याउने संकल्प गर्छन्। यस मामिलामा उक्त प्राचीन यस्तो उचित निर्णयमा पुग्न सक्छन्: ती भाइको आचरण ‘लालचसहितको अशुद्धपनको’ हदसम्म पुगेको छैन, न त छाडापन जनाउने मनोवृत्ति अर्थात् ‘अरूलाई के मतलब’ भन्ने हठीपन नै उनले देखाएका छन्। न्यायिक कारबाही आवश्यक नभए तापनि यस्तो खालको अशुद्धपनमा कडा धर्मशास्त्रीय सल्लाह दिनुपर्छ र त्यसपछि पनि प्राचीनहरूले उनलाई भेटेर मदत दिइरहनुपर्छ।
तर, मानिलिनुहोस् कुनै ख्रीष्टियानले लुकीलुकी अत्यन्तै घृणित खाले अश्लील कुराहरू वर्षौंदेखि हेर्दै आएका छन् र त्यो पाप लुकाउन सक्दो सबै उपाय गरेका छन्। यस्ता अश्लील कुरामा सामूहिक बलात्कार, हात-खुट्टा बाँधेर वा चलहल गर्न नसक्ने गरी समाएर यौन सम्बन्ध राखेको, पाशविक तवरले यौन क्रीडा गरेको, स्त्रीहरूलाई एकदमै सास्ती दिएर यौन सम्बन्ध राखेको वा कलिला केटाकेटीसित यौन सम्बन्ध राखेको चित्र/दृश्यहरू हुन सक्छन्। अरूले उसको त्यो बानी थाह पाएपछि ऊ एकदमै लज्जित हुन्छ। हुन त उसले ‘अरूलाई के मतलब’ भन्ने हठीपन देखाएको छैन। तैपनि, उसले ‘आफूलाई’ त्यस्तो फोहोरी बानीको वशमा ‘पारेको’ छ र ‘लालचसहितको अशुद्धपन’ अर्थात् घोर अशुद्धपनको बानी बसालेको छ भन्ने निर्णयमा प्राचीनहरू पुग्न सक्छन्। यस मामिलामा घोर अशुद्धपन मुछिएकोले न्यायिक समिति गठन गरिन्छ। गल्ती गर्ने व्यक्तिले साँचो पश्चात्ताप गरेन र फेरि त्यस्तो अश्लील सामग्री कहिल्यै हेर्दिनँ भनेर संकल्प गरेन भने ऊ बहिष्कार हुन्छ। तर यदि उसले अश्लील सामग्री हेर्न अरूलाई घरमा बोलाउँछ भने उसले छाडापन जनाउने मनोवृत्ति अर्थात् ‘अरूलाई के मतलब’ भन्ने हठी मनोभाव देखाइरहेको हुन्छ। त्यसरी घरमा बोलाउनु अश्लील कुरालाई बढवा दिनु हो।
बाइबलमा चलाइएको “छाडापन” शब्दमा सधैं गम्भीर पाप मुछिएको हुन्छ, अक्सर यौनसम्बन्धी। प्राचीनहरूले कुनै मामिलामा छाडापन मुछिएको छ/छैन खुट्याउन त्यसमा हठीपन, लम्पटपन, फोहोरीपन, निर्लज्जपन र सर्वसाधारणलाई स्तब्ध पार्ने कुरा छ/छैन हेर्नुपर्छ। अर्कोतर्फ, यहोवाको नियमको घोर उल्लंघन गर्दा कसैले ‘अरूलाई के मतलब’ भन्ने हठीपन नदेखाए तापनि त्यसमा ‘लालचीपन’ मुछिएको हुन सक्छ। के-कस्तो घोर अशुद्धपन मुछिएको छ त्यसको आधारमा यस्ता मामिलाहरू सँभाल्नुपर्छ।
कुनै व्यक्तिले घोर अशुद्धपन वा छाडापनको हदसम्मको गल्ती गरेको छ/छैन निर्णय गर्नु गम्भीर जिम्मेवारी हो। किनभने त्यसमा जीवन मुछिएको छ। यस्ता मामिला हेर्ने प्राचीनहरूले परमेश्वरसित पवित्र आत्मा, बुद्धि र समझ मागेर प्रार्थनापूर्वक छानबिन गर्नुपर्छ। प्राचीनहरूले मण्डली स्वच्छ राखिराख्नुपर्छ र तिनीहरूको निर्णय परमेश्वरको वचन अनि “विश्वासी र बुद्धिमान् दास”-को निर्देशनमा आधारित हुनै पर्छ। (मत्ती १८:१८; २४:४५) यस दुष्ट समयमा प्राचीनहरूले पहिलाभन्दा अझ धेरै यी शब्दहरू मनमा राख्नुपर्छ: “तिमीहरू जे गर्छौ त्यसमा सतर्क होऊ। [किनभने] तिमीहरूले न्यायको फैसला सुनाउँदा मानिसहरूलाई होइन तर . . . परमप्रभु”-को निम्ति गर्दछौ।—२ इतिहास १९:६. (w06 7/15)