-
कसै-कसैलाई किन परमेश्वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?प्रहरीधरहरा: ईश्वरदेखि टाढा लैजाने झूटहरू
-
-
आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
कसै-कसैलाई किन परमेश्वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?
“‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो।”—येसु ख्रिष्ट, इस्वी संवत् ३३.a
कतिपय मानिसलाई परमेश्वरलाई प्रेम गर्न गाह्रो लाग्छ। तिनीहरूलाई परमेश्वरलाई बुझ्नै सकिँदैन, उहाँ एकदमै टाढा हुनुहुन्छ र क्रूर हुनुहुन्छ जस्तो लाग्छ। परमेश्वरबारे कोही-कोही के भन्छन्?
“मैले परमेश्वरलाई मदतको लागि प्रार्थना त गरेँ तर उहाँ एकदमै टाढा हुनुहुन्छ र उहाँसित नजिक हुनै सकिँदैन जस्तो लाग्थ्यो। म उहाँ भावना नै नभएको अदृश्य व्यक्ति हुनुहुन्छ भन्ठान्थेँ।”—मार्को, इटाली
“हुनत म मनैदेखि परमेश्वरको उपासना गर्न चाहन्थेँ तर उहाँसित कहिल्यै नजिक हुन सकिँदैन जस्तो लाग्थ्यो। उहाँ हामीलाई सजाय दिने कठोर परमेश्वर हुनुहुन्छ भन्ठान्थेँ। उहाँसित कोमल भावना नै छैन भन्ने महसुस हुन्थ्यो।”—रोसा, ग्वाटेमाला
“सानो छँदा म परमेश्वर हाम्रो गल्ती मात्र कोट्याइरहनुहुन्छ अनि गल्ती भेट्टाउनुभयो भने सजाय दिइहाल्नुहुन्छ भन्ने सोच्थेँ। उहाँलाई हामीमा कुनै चासो छैन जस्तो पनि लाग्न थाल्यो। मलाई उहाँ जनतामाथि हैकम चलाउने तर तिनीहरूको वास्ता नगर्ने एक जना प्रधानमन्त्रीजस्तै लाग्थ्यो।”—रेमोना, क्यानाडा
तपाईँलाई चाहिँ कस्तो लाग्छ? के परमेश्वरलाई प्रेम गर्न सकिन्छ? धर्ममा आस्था राख्ने धेरैजसो मानिसले उहिलेदेखि नै यो प्रश्नको जवाफ खोजिरहेका छन्। वास्तवमा इस्वी संवत् ५०० देखि १५०० सम्मका चर्चजगत्का धेरैजसो मानिसले सर्वशक्तिमान् परमेश्वरलाई प्रार्थना पनि गर्दैनथे। किन? किनभने मानिसहरू परमेश्वरदेखि असाध्यै डराउँथे। इतिहासकार विल डुरान्टले यसो भने: “एक जना पापीले हामीबाट टाढा र कठोर परमेश्वरलाई प्रार्थना गर्न आँट कसरी गर्न सक्थ्यो र?”
मानिसहरूले परमेश्वर “टाढा र कठोर” हुनुहुन्छ भन्ठान्नुको कारण के हो? बाइबलले वास्तवमा परमेश्वरबारे के सिकाउँछ? परमेश्वरबारे सत्य कुरा सिक्नुभयो भने के तपाईँ उहाँलाई प्रेम गर्न सक्नुहुनेछ?
-
-
परमेश्वरको नाम छैन भन्ने झूटप्रहरीधरहरा: ईश्वरदेखि टाढा लैजाने झूटहरू
-
-
आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
परमेश्वरको नाम छैन भन्ने झूट
धेरैले के विश्वास गर्छन्?
“परमेश्वरलाई चिनाउने एउटा छुट्टै नाम छ कि छैन भन्ने विषयमा हामी एकमत हुन सकेका छैनौँ। यदि नाम छ नै भने पनि त्यो नाम के होला, हामी भन्न सक्दैनौँ।”—प्राध्यापक डेभिड कनिङघम, धर्मसम्बन्धी अध्ययन।
बाइबलले सिकाउने सत्य के हो?
परमेश्वर भन्नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) यहोवा हिब्रू नाम हो र त्यसको अर्थ हो, “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ।”—उत्पत्ति २:४, फुटनोट।
यहोवा हामीले उहाँको नाम प्रयोग गरेको चाहनुहुन्छ। बाइबल भन्छ: “उहाँको नाम पुकार। जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर। उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।”—यसैया १२:४.
येसुले परमेश्वरको नाम प्रयोग गर्नुभयो। उहाँले यहोवालाई प्रार्थनामा यसो भन्नुभयो: “मैले तिनीहरूलाई [येसुका चेलाहरूलाई] तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।” उहाँले अझ यसो भन्नुभयो: “ताकि तपाईँले [परमेश्वरले] मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून् र म तिनीहरूसित एकतामा हुन सकूँ।”—युहन्ना १७:२६.
यस विषयमा किन चासो राख्नुपर्छ?
धर्मविद् वाल्टर लाओरीले लेखे: “परमेश्वरलाई उहाँको नामले नचिन्ने व्यक्तिले उहाँलाई साँच्चै चिनेको छ भन्न मिल्दैन अनि उहाँलाई एउटा अदृश्य शक्तिको रूपमा मात्र चिनेको छ भने उहाँलाई प्रेम गर्न पनि सक्दैन।”
भिक्टर नाम गरेका पुरुष हरेक हप्ता चर्च जान्थे। तर तिनलाई आफूले परमेश्वरलाई साँच्चै चिनेको छु जस्तो लाग्दैन थियो। तिनी भन्छन्: “पछि मैले परमेश्वरको नाम यहोवा हो भनेर थाह पाएँ। मलाई औपचारिक रूपमै उहाँको परिचय पाएको जस्तो लाग्यो। अब भने पहिल्यैदेखि धेरै कुरा सुन्दै आएको परमेश्वरलाई बल्ल भेटेको महसुस भयो। मलाई उहाँ एक जना वास्तविक व्यक्ति हुनुहुन्छ र उहाँसित मित्रता गाँस्न सकिन्छ जस्तो लाग्यो।”
परमेश्वरको नाम लुकाउँदा वा त्यसको ठाउँमा पदवी राख्दा बाइबलबाट त्यसलाई काटेर निकालेको जस्तै हुन्छ
यहोवा पनि उहाँको नाम प्रयोग गर्ने मानिसहरूको मित्र बन्नुहुन्छ। “उहाँको नामबारे सोच्नेहरूका” विषयमा उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “जसरी बुबाले आफ्नो आज्ञाकारी छोरामाथि टिठाउँछ, त्यसरी नै म तिनीहरूमाथि टिठाउनेछु।” (मलाकि ३:१६, १७) परमेश्वरको नाम पुकार्नेहरूलाई उहाँ इनाम पनि दिनुहुन्छ। बाइबल भन्छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—रोमी १०:१३.
-
-
परमेश्वर रहस्यमय हुनुहुन्छ भन्ने झूटप्रहरीधरहरा: ईश्वरदेखि टाढा लैजाने झूटहरू
-
-
आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
परमेश्वर रहस्यमय हुनुहुन्छ भन्ने झूट
धेरैले के विश्वास गर्छन्?
ख्रिष्टियन धर्मका “तीन वटा मुख्य हाँगा मानिने रोमन क्याथोलिक धर्म, इस्टर्न अर्थोडक्स धर्म र प्रोटेस्टेन्ट धर्मले तीन जना परमेश्वर मिलेर बनेको एउटा परमेश्वरबारे सिकाउँछन्। ती हुन्: पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र शक्ति परमेश्वर। ख्रिष्टियन धर्मको शिक्षाअनुसार यी तीन जना फरक-फरक परमेश्वर होइनन्। बरु एउटै परमेश्वर हुन्।”—द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका।
बाइबलले सिकाउने सत्य के हो?
परमेश्वरका छोरा येसुले बुबा र आफू बराबर हौँ वा एउटै हौँ भनेर कहिल्यै दाबी गर्नुभएन। बरु उहाँले भन्नुभयो: “म बुबाकहाँ जाँदै छु . . . किनकि बुबा मभन्दा महान् हुनुहुन्छ।” (युहन्ना १४:२८) साथै उहाँले एक जना चेलालाई यसो भन्नुभयो: “मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।”—युहन्ना २०:१७.
पवित्र शक्ति परमेश्वर होइन। उदाहरणको लागि, सुरु-सुरुका ख्रिष्टियनहरू “पवित्र शक्तिले भरिपूर्ण भए।” साथै यहोवाले भन्नुभयो: “म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु।” (प्रेषित २:१-४, १७) पवित्र शक्ति त्रिएकको भाग होइन। बरु यो त परमेश्वरको सक्रिय शक्ति हो।
यस विषयमा किन चासो राख्नुपर्छ?
क्याथोलिक धर्मविद् कार्ल रनर र हर्बर्ट भोरग्रिम्लरले बताएअनुसार त्रिएकको शिक्षा “परमेश्वरले प्रकट नगर्नुभएसम्म बुझ्न सकिँदैन अनि प्रकट गरिहाल्नुभयो भने पनि पूरै बुझ्न सकिँदैन।” तपाईँ कसैलाई राम्ररी चिन्न सक्नुहुन्न भने तिनलाई प्रेम गर्न सक्नुहुन्छ र? त्रिएकको शिक्षामा विश्वास गर्दा हामी परमेश्वरलाई चिन्न र प्रेम गर्न सक्दैनौँ।
अघिल्लो लेखमा उल्लेख गरिएका मार्कोले त्रिएकको शिक्षाले गर्दा परमेश्वरलाई चिन्न नसकेको महसुस गरे। तिनी भन्छन्: “मलाई परमेश्वरले आफ्नो परिचय मबाट लुकाउनभएको जस्तो लाग्यो। यसले गर्दा परमेश्वर मबाट झन् टाढा हुनुहुन्छ, रहस्यमय हुनुहुन्छ र उहाँसित नजिक हुनै सक्दिनँ जस्तो लाग्थ्यो।” तर “परमेश्वर गोलमालका परमेश्वर होइन।” (१ कोरिन्थी १४:३३) परमेश्वरले आफूबाट हाम्रो परिचय लुकाउनुभएको छैन। बरु हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। येसुले भन्नुभयो: “हामी जे जान्दछौँ, त्यसको उपासना गर्छौँ।”—युहन्ना ४:२२.
मार्को भन्छन्: “मैले परमेश्वर त्रिएकको भाग हुनुहुन्न भन्ने कुरा बुझेपछि बल्ल उहाँसित व्यक्तिगत सम्बन्ध गाँस्न सकेँ।” हामीले परमेश्वरलाई कुनै अपरिचित र रहस्यमय व्यक्तिको रूपमा नभई चिन्न सकिने व्यक्तिको रूपमा हेऱ्यौँ भने उहाँलाई प्रेम गर्न सजिलो हुन्छ। बाइबल भन्छ: “जसले प्रेम गर्दैन, उसले परमेश्वरलाई चिनेको हुँदैन किनकि परमेश्वर प्रेम हुनुहुन्छ।”—१ युहन्ना ४:८.
-
-
परमेश्वर क्रूर हुनुहुन्छ भन्ने झूटप्रहरीधरहरा: ईश्वरदेखि टाढा लैजाने झूटहरू
-
-
आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
परमेश्वर क्रूर हुनुहुन्छ भन्ने झूट
धेरैले के विश्वास गर्छन्?
“जसले पाप गर्छ, उसलाई सजायस्वरूप नरकमा फ्याँकिन्छ र त्यहाँ ऊ ‘सधैँभरि बलिरहने अग्निकुण्डमा’ तड्पिन्छ।” (क्याथोलिक चर्चको शिक्षा) केही धर्मगुरुको विचारमा नरकमा हुनेहरू परमेश्वरबाट पूर्णतया अलग्गिएको अवस्थामा हुन्छन्।
बाइबलले सिकाउने सत्य के हो?
“जसले पाप गर्छ, त्यही मर्छ।” (इजकिएल १८:४) मरेकाहरूलाई “केही पनि थाह हुँदैन।” (उपदेशक ९:५) यदि मरेको मानिसलाई केही पनि थाह हुँदैन भने ऊ कसरी “सधैँभरि बलिरहने अग्निकुण्डमा” तड्पिन सक्छ र? अथवा उसले कसरी परमेश्वरबाट अलग हुँदाको पीडा महसुस गर्न सक्छ र?
धेरैजसो मानिसलाई हिब्रू शब्द शिओल-ले नरकलाई जनाउँछ जस्तो लाग्छ। तर वास्तवमा यसले मानिसको चिहानलाई बुझाउँछ। उदाहरणको लागि, परमेश्वरको सेवक अय्युबलाई पीडादायी रोग लाग्दा तिनले यसो भनेर प्रार्थना गरे: “हे परमेश्वर, मलाई चिहानमा [शाब्दिक, “शिओलमा”] लुकाउनुहोस्।” (अय्युब १४:१३) अय्युबले दुःखकष्टबाट छुटकारा पाउन “मलाई चिहानमा लुकाउनुहोस्” भनेर बिन्ती गरिरहेका थिए। तिनले मरेकाहरूलाई तड्पाउने ठाउँ अथवा परमेश्वरबाट अलग्गिने अवस्थालाई सङ्केत गरिरहेका थिएनन्।
यस विषयमा किन चासो राख्नुपर्छ?
क्रूर परमेश्वरसित हामी घनिष्ठ हुन चाहँदैनौँ बरु उहाँबाट टाढिन खोज्छौँ। मेक्सिकोमा बस्ने रोसियो भन्छिन्, “सानैदेखि मलाई नरकबारे सिकाइयो। त्यसैले मलाई असाध्यै डर लाग्थ्यो। परमेश्वरमा कुनै असल गुण नै छैन भन्ठान्थेँ। उहाँ असाध्यै रिसाउने र सजाय दिइहाल्ने परमेश्वर हुनुहुन्छ जस्तो लाग्थ्यो।”
परमेश्वरले मानिसलाई नरकमा सजाय दिनुहुन्न भन्नेबारे र मरेकाहरूको अवस्थाबारे बाइबलले सिकाउने सत्य कुरा बुझेपछि परमेश्वरप्रति रोसियोको धारणा परिवर्तन भयो। तिनी भन्छिन्, “बल्ल मलाई हलुका महसुस भयो, मनबाट ठूलो बोझ हटे जस्तो लाग्यो। परमेश्वर हाम्रो हित चाहनुहुन्छ, उहाँ हामीलाई माया गर्नुहुन्छ र म पनि उहाँलाई माया गर्न सक्छु भनेर ढुक्क महसुस हुन थाल्यो। उहाँ एक जना मायालु बुबाजस्तै हुनुहुन्छ, जसले आफ्नो छोराछोरीको हात समाएर डोऱ्याउँछन् र उनीहरूको भलो चाहन्छन्।”—यसैया ४१:१३.
धेरैजसो मानिस नरकमा सास्ती भोग्ने डरले धर्मकर्म गर्न लागिपर्छन्। तर तपाईँले डरले गर्दा मात्र परमेश्वरको उपासना गरेको उहाँ चाहनुहुन्न। बरु येसुले भन्नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई . . . प्रेम गर्नू।” (मर्कुस १२:२९, ३०) साथै परमेश्वरले अहिले अन्यायपूर्ण व्यवहार गर्नुभएको छैन भन्ने कुरामा ढुक्क छौँ भने भविष्यमा पनि उहाँले सही तरिकामा न्याय गर्नुहुनेछ भन्ने कुरामा हामीलाई कुनै शङ्का लाग्नेछैन। अय्युबको साथी एलिहुले जस्तै हामी पनि विश्वस्त भई यसो भन्न सक्छौँ: “साँचो परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न, सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.
-
-
सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछप्रहरीधरहरा: ईश्वरदेखि टाढा लैजाने झूटहरू
-
-
आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ
एकदिनको कुरा हो, येसु यरुसलेममा हुनुहुँदा उहाँले आफ्नो बुबा यहोवाबारे बताउनुभयो र त्यतिबेलाका झूटा धर्मगुरुहरूको पर्दाफास गर्नुभयो। (युहन्ना ८:१२-३०) त्यतिबेला उहाँले सिकाउनुभएको कुरालाई विचार गर्दा आज हाम्रो समयमा परमेश्वरबारे व्याप्त धारणा सही हुन् कि होइनन् भनेर बुझ्न मदत पाउँछौँ। येसुले भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्ना ८:३१, ३२.
“तिमीहरू मेरो वचनमा रहो।” येसुले यहाँ एउटा स्तर तोक्नुभयो, जसले गर्दा हामी धार्मिक शिक्षाहरू “सत्य” हुन् कि होइनन् बनेर छुट्ट्याउन सक्छौँ। परमेश्वरबारे कुनै कुरा सुन्दा आफूलाई यो प्रश्न सोध्नुहोस्: के यो येसुका शब्दहरू र बाइबलमा बताइएका अरू कुराहरूसित मेल खान्छ? ती व्यक्तिहरूले जस्तै गर्नुहोस्, जसले प्रेषित पावलको कुरा सुनेपछि “ती [आफूले सिकिरहेका कुराहरू] सत्य हुन् कि होइनन् भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।”—प्रेषित १७:११.
यस शृङ्खलाको पहिलो लेखमा उल्लेख गरिएका मार्को, रोसा र रेमोनाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर आफूले विश्वास गरेका कुरा सत्य हुन् कि होइनन् भनेर होसियारीसाथ जाँचे। यसरी जाँच्दा तिनीहरूले के थाह पाए?
मार्को: “हाम्रो बाइबल अध्ययन सञ्चालकले मेरी श्रीमती र मैले सोधेका सबै प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो। यसले गर्दा यहोवाप्रतिको हाम्रो प्रेम बढ्दै गयो र हामी श्रीमान्-श्रीमती पनि पहिलेभन्दा अझ घनिष्ठ भयौँ।”
रोसा: “सुरु-सुरुमा मलाई बाइबल मानव दर्शनको किताब मात्र हो जस्तो लाग्थ्यो। त्यसैले यसमा परमेश्वरबारे मानिसहरूका विभिन्न धारणा छन् भन्ठान्थेँ। तर पछि मैले एक-एक गर्दै मेरा प्रश्नहरूको जवाफ बाइबलमा पाएँ। अहिले चाहिँ मलाई यहोवा वास्तविक लाग्छ। म उहाँमा भरोसा गर्न सक्छु।”
रेमोना: “म परमेश्वरबारे सिक्न चाहन्थेँ। त्यसैले मलाई मदत गर्नुहोस् भनेर उहाँलाई प्रार्थना गरेँ। त्यसको केही समय नबित्दै मेरो श्रीमान् र मैले बाइबल अध्ययन गर्न थाल्यौँ। बल्ल हामीले यहोवाबारे सत्य कुरा सिक्यौँ। उहाँ कस्तो परमेश्वर हुनुहुँदो रहेछ भनेर बुझेपछि हामी खुसीले गद्गद भयौँ।”
परमेश्वरबारे फैलाइएका झूटहरूको बाइबलले पर्दाफास गर्छ। त्यति मात्र होइन, यसले उहाँका मनमोहक गुणहरूबारे सत्य पनि प्रकट गर्छ। बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो र यसले “परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन” मदत गर्छ। (१ कोरिन्थी २:१२) परमेश्वर, उहाँको उद्देश्य र हाम्रो भविष्यबारे साधारणतया सोधिने महत्त्वपूर्ण प्रश्नहरूको बाइबलले कस्तो जवाफ दिन्छ, तपाईँ आफैले जाँचेर हेर्नुभए कसो होला? केही प्रश्नको जवाफ पाउन www.jw.org/ne मा “बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ” अन्तर्गत हेर्नुहोस्। साथै बाइबल अध्ययन गर्न तपाईँले त्यही वेबसाइटमा अनलाइन फाराम भर्न वा एक जना यहोवाको साक्षीलाई आग्रह गर्न सक्नुहुन्छ। यसो गर्नुभयो भने परमेश्वरलाई प्रेम गर्न तपाईँलाई निकै सजिलो लाग्नेछ भन्ने कुरामा हामी ढुक्क छौँ।
-