येसुको अनुकरण गर्न . . .
करुणा देखाउनुहोस्
त्रुटिरहित मानिस हुनुभएकोले येसुले अरू मानिसहरूले जस्तो तीनथुप्रो दुःख र चिन्ता सामना गर्नुपरेन। तैपनि उहाँले मानिसहरूको भावना राम्ररी बुझ्नुभयो। उहाँ तिनीहरूलाई मदत गर्न हरदम तयार हुनुहुन्थ्यो, आवश्यकताभन्दा पनि धेरै गर्न अग्रसर हुनुभयो। हो, करुणाले उहाँलाई अरूलाई मदत गर्न उत्प्रेरित गऱ्यो। अध्याय ३२, ३७, ५७, ९९ मा पाइने विवरणहरू विचार गर्नुहोस्।
कुराकानी गर्न सजिलो व्यक्ति बन्नुहोस्
बालक होस् वा वृद्ध, सबै उमेरका मानिसहरू येसुसित कुराकानी गर्न सजिलो मान्थे किनकि उहाँ एकलकाँटे हुनुहुन्नथ्यो अनि उहाँ आफूलाई अरूभन्दा श्रेष्ठ ठान्नुहुन्नथ्यो। येसु मानिसहरूप्रति व्यक्तिगत चासो देखाउनुहुन्थ्यो। त्यसैले येसुकहाँ जान उनीहरूलाई सजिलो लाग्थ्यो। यसबारे थाह पाउन अध्याय २५, २७, ९५ हेर्नुहोस्।
प्रार्थनामा लागिरहनुहोस्
एक्लै हुँदा होस् वा साँचो उपासकहरूसित हुँदा, येसु आफ्नो बुबालाई नियमित रूपमा व्यग्र प्रार्थना गर्नुहुन्थ्यो। उहाँ खाना खाने समयमा मात्र होइन, अरू थुप्रै अवसरमा पनि प्रार्थना गर्नुहुन्थ्यो। उहाँले बुबालाई धन्यवाद दिन, उहाँको प्रशंसा गर्न अनि महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि उहाँको डोऱ्याइ खोज्न प्रार्थना गर्नुभयो। अध्याय २४, ३४, ९१, १२२, १२३ मा पाइने विवरणहरू विचार गर्नुहोस्।
निःस्वार्थी हुनुहोस्
एकछिन आराम गर्न लाग्नुभएको समयमा समेत येसु आफ्नो थकान बिर्सेर अरूको आवश्यकतालाई पहिलो स्थान दिनुहुन्थ्यो। उहाँमा स्वार्थी मनोभाव फिटिक्कै थिएन। यस सन्दर्भमा पनि उहाँले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभयो। अध्याय १९, ४१, ५२ मा यसबारे अध्ययन गर्नुहोस्।
क्षमाशील हुनुहोस्
येसुले क्षमा दिनुपर्ने आवश्यकताबारे सिकाउनु मात्र भएन तर चेलाहरूसित र अरूसित व्यवहार गर्दा क्षमाशील भएको कुरा देखाउनु पनि भयो। अध्याय २६, ४०, ६४, ८५, १३१ मा पाइने विवरणहरू मनन गर्नुहोस्।
जोसिलो हुनुहोस्
प्रायजसो यहुदीले मसीहलाई स्विकार्नेछैनन् र शत्रुहरूले उहाँलाई मार्नेछन् भनेर भविष्यवाणी गरिएको थियो। त्यसैले मानिसहरूलाई मदत गर्ने काममा उहाँको जोस सेलाउन पनि सक्थ्यो। तर उहाँले जोसिलो भई साँचो उपासनालाई समर्थन गर्नुभयो। मानिसहरू भावशून्य भए पनि वा तिनीहरूले विरोध गरे पनि जोसिलो भइरहने सन्दर्भमा उहाँले आफ्ना अनुयायीहरूको लागि राम्रो उदाहरण बसाल्नुभयो। अध्याय १६, ७२, १०३ हेर्नुहोस्।
नम्र हुनुहोस्
येसु ज्ञान, बुद्धिलगायत अन्य थुप्रै क्षेत्रमा त्रुटिपूर्ण मानिसहरूभन्दा कता हो कता श्रेष्ठ हुनुहुन्थ्यो। उहाँ त्रुटिरहित हुनुभएकोले पक्कै पनि उहाँसित अरू कसैसित नभएको शारीरिक र मानसिक क्षमता थियो। तैपनि उहाँले नम्र भई अरूको सेवा गर्नुभयो। अध्याय १०, ६२, ६६, ९४, ११६ मा यसबारे पढ्नुहोस्।
धीरजी हुनुहोस्
प्रेषितहरू र अरूहरू येसुको उदाहरण अनुकरण गर्नदेखि चुक्दा वा तिनीहरूले उहाँले सिकाउनुभएको कुरा लागू नगर्दासमेत उहाँ धीरजी भइरहनुभयो। तिनीहरू यहोवासित घनिष्ठ हुन सकून् भनेर तिनीहरूले सिक्नुपर्ने पाठ येसुले धीरजी भई बारम्बार सिकाउनुभयो। येसुले देखाउनुभएको धीरजबारे अध्याय ७४, ९८, ११८, १३५ मा पढ्नुहोस्।