“नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो”
“परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।”—उत्पत्ति १:२७.
१. मसीही पुरुष तथा स्त्रीहरूका लागि सत्य कसरी आशिष् हो?
यहोवाका मानिसहरूबीच हुन पाउनु र परमेश्वरलाई प्रेम गर्ने अनि उहाँप्रति आज्ञाकारी हुनुलाई नै आफ्नो जीवनको प्राथमिकता ठान्ने पुरुष र स्त्रीलगायत केटाकेटीहरूसित संगत गर्न पाउनु कत्ति मनोहर कुरा हो! यहोवालाई दुःखी पार्ने मनोवृत्ति र आचरणबाट सत्यले हामीलाई स्वतन्त्र पार्छ अनि सत्यले मसीही भएर जिउने तरिका पनि सिकाउँछ। (यूहन्ना ८:३२; कलस्सी ३:८-१०) उदाहरणका लागि, मानिसहरू जहाँसुकै भए तापनि पुरुषले पुरुषत्व र स्त्रीले स्त्रीत्व प्रकट गर्नुपर्ने सन्दर्भमा आफ्नै प्रकारका परम्परा तथा धारणाहरू छन्। के पुरुष र स्त्रीमा जन्मँदै पुरुषत्व र स्त्रीत्व हुन्छ? वा अन्य तत्त्वहरूलाई पनि विचार गर्नुपर्छ?
२. (क) पुरुषत्व र स्त्रीत्वको सम्बन्धमा हाम्रो दृष्टिकोण के मा आधारित हुनुपर्छ? (ख) पुरुष र स्त्रीप्रति मानिसहरूको दृष्टिकोण कस्तो भएको छ?
२ आफूले सिकेका व्यक्तिगत, सांस्कृतिक वा परम्परागत दृष्टिकोणहरू जस्तोसुकै भए तापनि सबै साँचो मसीहीहरू परमेश्वरको वचन, बाइबललाई आधिकारिक स्रोत मान्छन्। (मत्ती १५:१-९) साथै, बाइबलले पुरुषत्व र स्त्रीत्वका विविध पक्षहरूलाई सविवरण प्रस्तुत गर्दैन। बरु, हामीले विभिन्न संस्कृतिमा देखेअनुसार विविधताको मौका प्रदान गर्छ। परमेश्वरले पुरुष र स्त्रीलाई बनाउनुभएको उद्देश्यअनुरूप पुरुषहरूसित पुरुषत्व र स्त्रीहरूसित स्त्रीत्व हुनुपर्छ। किन? किनभने पुरुष र स्त्री शारीरिक तवरमा एकअर्काको पूरक हुनुको अलावा पुरुषत्व र स्त्रीत्वका आधारभूत गुनहरूद्वारा पनि एकअर्काका पूरक हुन बनाइएका थिए। (उत्पत्ति २:१८, २३, २४; मत्ती १९:४, ५) तथापि, आज यौनप्रति टेढो दृष्टिकोण राखिन्छ। धेरै मानिसहरू अरूलाई दबाउनु र नराम्रो व्यवहार गर्नु नै पुरुषत्व ठान्छन्। केही संस्कृतिहरूमा पुरुषले जनसमक्ष वा गुप्तमा समेत आँसु बगाउनु लज्जास्पद ठानिन्छ। यद्यपि, लाजरसको चिहानबाहिर भीडमा हुनुहुँदा “येशू रुनुभयो।” (यूहन्ना ११:३५) त्यसरी रुनु सिद्ध पुरुषत्व भएको व्यक्ति येशूको लागि अनुचित थिएन। त्यस्तैगरि, आज धेरैले स्त्रीत्वप्रति असन्तुलित दृष्टिकोण राख्छन्। तिनीहरू त्यसलाई केवल शारीरिक र यौन आकर्षणको कुरा ठान्छन्।
साँचो पुरुषत्व र स्त्रीत्व
३. पुरुष र स्त्रीबीच के भिन्नता छ?
३ त्यसोभए, साँचो पुरुषत्व के हो? अनि साँचो स्त्रीत्व के हो? द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “अधिकांश पुरुष र स्त्री शारीरिक बनोटमा मात्र होइन तर तिनीहरूका चालचलन र रुचिहरूमा पनि भिन्न हुन्छन्। यीमध्ये केही भिन्नताहरू वंशाणुले निर्धारण गर्छ। . . . तर त्यसबाहेक अन्य थुप्रै भिन्नताहरू व्यक्तिविशेषले आफ्नो समाजमा सिकेका कुराहरूले गर्दा हुन्छ जस्तो देखिन्छ। मानिसहरू जन्मिंदै पुरुष वा स्त्री छुट्टिन्छन् तर पुरुषत्व वा स्त्रीत्व तिनीहरूले पछि सिक्ने कुरा हो।” धेरैजसो कुराहरू हाम्रो वंशानुगत बनोटले निर्धारण गर्ने भए तापनि परमेश्वर हामीबाट के चाहनुहुन्छ, त्यो सिक्नु र हामीले जीवनमा कस्तो लक्ष्य पूरा गर्न चाहन्छौं, त्यसैमा नै उचित पुरुषत्व वा स्त्रीत्वको विकास निर्भर हुन्छ।
४. पुरुष र स्त्रीको भूमिकाबारे बाइबलले के बताउँछ?
४ बाइबल इतिहासले बताएअनुसार आदमले परिवारमा निर्वाह गर्नुपर्ने पुरुषत्व भूमिकामा पत्नी र छोराछोरीको शिरको हैसियतमा नेतृत्व प्रदान गर्नु थियो। साथै, तिनले परमेश्वरको इच्छाअनुरूप पृथ्वीलाई आबाद गरेर सम्पूर्ण पार्थिव सृष्टिलाई अधीनमा राख्नुपर्थ्यो। (उत्पत्ति १:२८) हव्वाले पनि परिवारमा निर्वाह गर्नुपर्ने स्त्रीत्व भूमिकामा आदमको “सहयोगी” र “पूरक” हुनु अनि तिनको शिरत्वको अधीनमा बसेर परमेश्वरको उद्देश्य पूरा गर्न सहयोग गर्नु विथोलित थियो।—उत्पत्ति २:१८; १ कोरिन्थी ११:३.
५. पुरुष र स्त्रीबीचको सम्बन्ध कसरी भताभुंग भयो?
५ तर आदमले आफ्नो जिम्मेवारी पूरा गरेनन् अनि हव्वाले आफ्नो स्त्रीत्वलाई सृष्टिकर्ताको आदर गर्न र पतिको पूरक हुन प्रयोग गर्नुको साटो आदमलाई फुस्लाएर परमेश्वरप्रति अनाज्ञाकारी हुने माध्यमको रूपमा चलाइन्। (उत्पत्ति ३:६) जानाजानी गलत कार्य गरेर आदम साँचो पुरुषत्व देखाउन असफल भए। तिनी आफ्नो पिता तथा सृष्टिकर्ताप्रति आज्ञाकारी हुनुको साटो बहकिएकी पत्नीको कुरा सुन्न लाचार भए। (उत्पत्ति २:१६, १७) यहोवाले अनाज्ञाकारिताको परिणामबारे जस्तो पूर्वानुमान लगाउनुभएको थियो, प्रथम दम्पतीले त्यस्तै भोग्न धेरै बेर लागेन। केही समयअघिसम्म मात्र आफ्नी पत्नीलाई उल्लसित भएर कवितात्मक ढंगमा वर्णन गरेका आदमले अब भावशून्य हुँदै ‘तपाईंले मलाई दिनुभएको स्त्री’ भने। असिद्धताले तिनको पुरुषत्वलाई बिगार्नुको साथै गलत निर्देशन दियो र परिणामस्वरूप तिनले ‘आफ्नी पत्नीलाई दबाउन’ थाले। त्यसको विपरीत सम्भवतः हव्वाले भने अत्यधिक वा असन्तुलित ढंगमा पतिको “इच्छा” गर्नेथिइन्।—उत्पत्ति ३:१२, १६, NW.
६, ७. (क) जलप्रलयअघि कस्तो प्रकारको विकृत पुरुषत्वको विकास भयो? (ख) जलप्रलयअघिको अवस्थाबाट हामी के सिक्नसक्छौं?
६ नूहको समयको जलप्रलयअघि पुरुषत्व र स्त्रीत्वको दुरुपयोग असाध्यै प्रस्टिन थाल्यो। स्वर्गमा आफ्नो मौलिक स्थान त्याग्ने स्वर्गदूतहरूले मानिसका छोरीहरूसित यौनसम्बन्ध राख्न मानव शरीर धारण गरे। (उत्पत्ति ६:१, २) चाखलाग्दो कुरा, त्यस अप्राकृतिक सम्बन्धबाट जन्मेका केटाहरूबारे मात्र उक्त विवरणले उल्लेख गर्छ। अनि तिनीहरूबाट जन्मेका सबै सन्तानहरू ठिमाहाहरू थिए अर्थात् तिनीहरूसित प्रजनन शक्ति थिएन भन्ने विश्वास गरिन्छ। तिनीहरू शूरवीर, नपील अथवा बडे बडे कदमका मानिसहरू वा दैत्यहरू भनी चिनिन थाले किनभने तिनीहरूले अरूको पतन गराउनेथिए। (उत्पत्ति ६:४, पादटिप्पणी) स्पष्टतः, तिनीहरू हिंस्रक, झगडालु, रूखो र अरूप्रति कोमल अनुकम्पा पटक्कै नदेखाउने स्वभावका थिए।
७ उक्त विवरणबाट प्रस्ट हुन्छ, शारीरिक सौन्दर्य, जीउडाल, आकार वा बलले नै स्वीकार्य पुरुषत्व वा स्त्रीत्व प्रकट हुने होइन। मानव रूप धारण गरेका स्वर्गदूतहरू हेर्नमा सुन्दर थिए होलान्। अनि नपीलहरू बडेमाका र हट्टाकट्टा थिए तर तिनीहरूको मनोवृत्ति विकृत थियो। अनाज्ञाकारी स्वर्गदूतहरू तथा तिनीहरूका सन्तानहरूले पृथ्वीलाई यौन अनैतिकता र हिंसाले भरे। यसर्थ, यहोवाले नूहको समयको संसारलाई जलप्रलयद्वारा नाश गर्नुभयो। (उत्पत्ति ६:५-७) तर त्यस जलप्रलयले पैशाचिक प्रभाव वा मानव असिद्धता र आदमको पापका असरहरूलाई हटाएन। जलप्रलयपछि विकृत पुरुषत्व र स्त्रीत्व पुनः देखा पर्न थाल्यो। अनि बाइबलमा त्यस्ता राम्रा नराम्रा थुप्रै उदाहरणहरू छन् र त्यसबाट हामी पाठ सिक्नसक्छौं।
८. यूसुफले कसरी पुरुषत्वको उचित नमुना बसाले?
८ उचित पुरुषत्व र सांसारिक स्त्रीत्वबीच छर्लक्कै देखिने भिन्नता यूसुफ र पोतीफरकी पत्नीले प्रस्तुत गर्छन्। सुन्दर यूसुफसित पोतीफरकी पत्नी मोहित भइन् र उनलाई प्रलोभित गर्न खोजिन्। त्यतिबेला करनी वा व्यभिचारलाई निषेध गर्ने परमेश्वरको कुनै लिखित व्यवस्था थिएन। तथापि, यूसुफ त्यस अनैतिक स्त्रीबाट भागे र आफूलाई परमेश्वरप्रति साँच्चै निष्ठावान् पुरुष साबित गरे।—उत्पत्ति ३९:७-९, १२.
९, १०. (क) रानी वश्तीले कसरी आफ्नो स्त्रीत्वको दुरुपयोग गरिन्? (ख) एस्तरले स्त्रीत्वको कुन असल उदाहरण बसालिन्?
९ एस्तर र रानी वश्तीले स्त्रीहरूबीच भिन्नताको उल्लेखनीय उदाहरण प्रस्तुत गर्छन्। वश्तीले आफू असाध्यै राम्री भएकीले राजा अहासूरसले तिनको जस्तोसुकै इच्छा पनि स्वीकार्नेछन् भन्ठानेकी होलिन्। तर आजकल बिक्री हुने सिंगारपटारका क्रिमहरूजस्तै तिनको सौन्दर्य पनि सतही मात्र थियो। आफ्नो पति र राजाको अधीनमा बस्न नसकेकीले तिनमा विनय र स्त्रीत्वको अभाव थियो। राजाले तिनलाई लत्याइदिए र यहोवाको डर राख्ने साँच्चै स्त्रीत्व भएकी स्त्रीलाई आफ्नो रानी बनाउन रोजे।—एस्तर १:१०-१२; २:१५-१७.
१० एस्तरले मसीही स्त्रीहरूको निम्ति राम्रो उदाहरण बसालिन्। तिनी “राम्री र सुन्दरी” त थिइन् नै, अझ त्यसमाथि “नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस[को]” सजावट प्रकट गर्नु तिनको लागि सर्वमहत्त्वपूर्ण कुरा थियो। (एस्तर २:७; १ पत्रुस ३:४) तिनले देखावटी झकिझकाउलाई प्रमुख कुरा ठानिनन्। एस्तरले कौशलता र आत्मसंयम देखाइन्। आफ्नो तथा आफ्ना मानिसहरूको ज्यान खतरामा पर्दासमेत तिनी आफ्नो पति, अहासूरसको अधीनमा बसिन्। चुप लाग्नुमा नै बुद्धिमानी हुने समयमा तिनी चुप लागिन् तर आवश्यक अनि उचित हुँदा निर्भय र निडरतापूर्वक बोलिन्। (एस्तर २:१०; ७:३-६) तिनले आफ्नो परिपक्व नातेदार दाजु, मोर्दकैको सल्लाह स्वीकारिन्। (एस्तर ४:१२-१६) आफ्ना मानिसहरूको खातिर तिनले प्रेम र वफादारी दर्साइन्।
बाहिरी रूपरंग
११. हाम्रो बाहिरी रूपरंगबारे हामीले कुन कुरा मनमा राख्नुपर्छ?
११ उचित स्त्रीत्वको कुञ्जी के हो? एउटी आमाले यसो भनिन्: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीनै आदरणीय हुन्छिन्।” (हितोपदेश ३१:३०) अतः परमेश्वरप्रतिको श्रद्धेय भय अति आवश्यक छ। शारीरिक सुन्दरताले भन्दा दया, मनोहरता, विनय र नम्रता अनि मीठो बोलीले स्त्रीत्वयुक्त बनाउन निकै योगदान पुऱ्याउँछ।—हितोपदेश ३१:२६.
१२, १३. (क) दुःखलाग्दो कुरा, धेरै मानिसहरूको बोली कस्तो छ? (ख) हितोपदेश ११:२२ ले भन्न खोजेको कुरा के हो?
१२ अफसोचको कुरा, संसारका धेरै पुरुष तथा स्त्रीहरूले बुद्धिमत्तापूर्ण कुरा गर्दैनन् र दयालु ढंगमा जिब्रोको प्रयोग गर्दैनन्। तिनीहरूको बोलीमा प्रायजसो अपशब्द, व्यंग्य, अश्लील र अविवेकी भावनाहरू झल्किन्छ। फोहर बोली प्रयोग गर्नु पुरुषत्वको चिह्न हो भनी केही पुरुषहरूले सोचाइ राख्छन् अनि कुनै कुनै स्त्रीहरू विचारै नगरी त्यसको नक्कल गर्छन्। कुनै स्त्री राम्री तर अविवेकी, झगडालु, व्यंग्यात्मक वा हठी छिन् भने के तिनलाई वास्तवमा राम्री, साँच्चै स्त्रीत्व झल्काउने स्त्री भन्न सकिन्छ र? “विवेक नभएकी सुन्दरी स्त्री सुंगुरको थुतुनामा सुनको नत्थ लाएझैं हो।”—हितोपदेश ११:२२.
१३ सुन्दरी स्त्रीको अशुद्ध बोली, व्यंग्य वा अविवेकीपन तिनले झल्काउने बाह्य स्त्रीत्वसित मेल खाँदैन। वास्तवमा, त्यस्तो अभक्त आचरणले शारीरिक तवरमा आकर्षक व्यक्तिसमेत कुरूप देखिनसक्छ। पुरुष वा स्त्रीको शारीरिक रूप राम्रो हुँदैमा तिनले जथाभावी रीस पोख्ने, चिच्याउने वा अपशब्द बोल्ने छूट पाउँदैनन्। सबै मसीहीहरूले बाइबल आधारित बोली तथा आचरणअनुरूप परमेश्वर अनि सँगी मानवहरूसमक्ष आफूलाई आकर्षक बनाउनसक्छन् र बनाउनुपर्छ।—एफिसी ४:३१.
१४. पहिलो पत्रुस ३:३-५ मा कस्तो प्रकारको सिंगारपटारबारे बयान गरिएको छ, तपाईंलाई त्यहाँ दिइएको सल्लाह कस्तो लाग्छ?
१४ साँचो स्त्रीत्व र पुरुषत्व आध्यात्मिक गुनहरूमा आधारित भए तापनि हाम्रो शारीरिक चालचलन र बाह्य रूपलगायत हाम्रो पहिरन र लुगा लगाउने ढंगले हामीबारे मौन साक्षी दिन्छ। प्रेरित पत्रुसले मसीही स्त्रीहरूलाई यस्तो सल्लाह दिंदा प्रथम शताब्दीमा प्रचलित पहिरन र कोरीबाटीलाई सम्झेको हुनुपर्छ: “तिमीहरूका सिंगार, कपाल बाट्ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार नहोस्, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्, जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। किनकि यही किसिमले अघिअघि, परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि तिनीहरूका पतिहरूका अधीनमा रहेर सिंगार गर्थे।”—१ पत्रुस ३:३-५.
१५. मसीही स्त्रीहरूले आफ्नो पहिरन कस्तो बनाउने कोसिस गर्नुपर्छ?
१५ पहिलो तिमोथी २:९, १० मा स्त्रीहरूको पहिरनबारे पावलको यस्तो टिप्पणी पाउँछौं: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। . . . तर असल कामहरूद्वारा (जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।” त्यहाँ तिनले लज्जालु र सरल हुनुपर्ने खाँचोलाई दोऱ्याए र स्वस्थ मन झल्काउने साधारण पहिरन लगाउन आग्रह गरे।
१६, १७. (क) धेरैजसो स्त्री तथा पुरुषहरूले आज कसरी पहिरनको दुरुपयोग गरेका छन्? (ख) व्यवस्था २२:५ को सल्लाहअनुसार हामी कुन निष्कर्षमा पुग्नुपर्छ?
१६ चाहे पुरुष वा स्त्री, केटा वा केटी होस्, यौन उत्तेजनात्मक व्यवहार गर्दा वा त्यस्तो पोशाक लगाउँदा साँचो पुरुषत्व वा स्त्रीत्वको विकास हुँदैन र त्यसले यहोवा परमेश्वरको पटक्कै आदर गर्दैन। संसारका धेरैजसो मानिसहरू एकातिर पुरुषत्व वा स्त्रीत्वलाई पहिरन अथवा आचरणद्वारा देखाउन अचाक्ली गर्छन् भने अर्कोतिर केहीले पुरुष र स्त्रीबीचको भिन्नता नै अस्पष्ट पार्छन्। बाइबलले हामी मसीहीहरूलाई परमेश्वरको जस्तै सोचाइ दिएकोमा हामी कत्ति कृतज्ञ छौं! यहोवाले पुरातन इस्राएललाई यस्तो घोषणा गर्नुभयो: “पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, औ स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेहरूलाई परमप्रभु परमेश्वरले घृणा गर्नुहुन्छ।”—व्यवस्था २२:५.
१७ यस सन्दर्भमा तपाईंले अगस्त १५, १९८८ को प्रहरीधरहरा (अंग्रेजी) पुनरावलोकन गरेर लाभ उठाउनुहुनेछ होला। पृष्ठ १७ मा यस्तो लेखिएको पाउँछौं: “विवादको विषय, कुनै एउटा पहिरन असाध्यै फेसनदार छ कि छैन भन्ने होइन तर परमेश्वरको सेवक हुँ भनी दाबी गर्ने व्यक्तिलाई उचित छ कि छैन भन्ने हो। (रोमी १२:२; २ कोरिन्थी ६:३) असाध्यै अनौपचारिक वा जीउमा चिपिक्क टाँसिने लुगाहरूले हाम्रो सन्देश सुन्ने व्यक्तिहरूको ध्यान विकर्षण गर्नसक्छ। ठाडै तथा जानाजानी पुरुषहरूलाई स्त्रीजस्तो र स्त्रीहरूलाई पुरुषजस्तो देखाउने फेसन अनुचित हो। (व्यवस्था २२:५ तुलना गर्नुहोस्।) निस्सन्देह, मौसम, रोजगारी र अन्य कारणहरूले गर्दा स्थानीय चलनहरू बेग्लाबेग्लै हुनसक्छन्। त्यसकारण मसीही मण्डलीले विश्वव्यापी भ्रातृत्वमा लागू गर्ने उद्देश्यले छाँटकाँटै गर्न नमिल्ने नियमहरू बनाउँदैन।”
१८. पहिरन र कोरीबाटीको सम्बन्धमा बाइबलका सल्लाहहरू व्यवहारमा उतार्न हामीले के के गर्नुपर्छ?
१८ कस्तो सन्तुलित तथा उपयुक्त सल्लाह! तर दुःखको कुरा, केही मसीहीहरू अर्थात् पुरुष र स्त्री दुवैले संसारको जुनै पनि पहिरन तथा कोरीबाटीको अन्धाधुन्ध नक्कल गर्छन् र त्यसले यहोवा अनि मसीही मण्डलीमा पार्नसक्ने प्रभावबारे कुनै परवाह गर्दैनन्। हामी संसारको सोचाइले प्रभावित भएका छौं कि छैनौं भनी जाँच्न प्रत्येकले आत्मपरीक्षण गर्नु बेस होला। अथवा आफ्नो पहिरनमा केही काँटछाँट गर्नुपर्ने छ कि भनेर कुनै आदरणीय, अनुभवी भाइ वा बहिनीको टिप्पणी लिनसक्छौं र त्यसपछि ती सुझाउहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ।
मसीही पुरुष र स्त्रीहरू —वास्तविक पुरुष र स्त्रीहरू हुन्
१९. हामीले के कस्ता दुष्प्रभावहरूको सामना गर्नुपर्छ?
१९ यस संसारको देव शैतान हो। त्यसले यौनको सन्दर्भमा उत्पन्न गरेको अन्योलबाट त्यसको प्रभाव स्पष्ट हुन्छ अनि त्यो पहिरनमा मात्र सीमित छैन। (२ कोरिन्थी ४:४) धेरै स्त्रीहरूले बाइबल सिद्धान्तहरूलाई पूर्णतया बेवास्ता गरेर पुरुषहरूको शिरत्वसित प्रतिस्पर्धा गर्न खोज्छन्। अर्कोतर्फ, अधिकांश पुरुषहरू शिरत्वका जिम्मेवारीहरू आदमले जस्तै सजिलै त्यागिहाल्छन्। केहीले त पुरुष र स्त्रीको आ-आफ्नो यौन भूमिकासमेत परिवर्तन गर्न खोज्छन्। (रोमी १:२६, २७) बाइबलले परमेश्वरबाट अनुमोदित वैकल्पिक जीवनशैलीहरू स्थापना गर्दैन। अनि मसीही हुनुअघि आफ्नो चिनारी वा यौन रुचिबारे अन्योलमा परेका व्यक्तिहरूले कुन कुरामा भरोसा राख्नसक्छन् भने, पुरुष र स्त्रीको लागि परमेश्वरको वचनमा दिइएको स्तरअनुरूप जीवन बिताउँदा अनन्त लाभ हुनेछ र त्यसलाई मानव सिद्धतामा पुग्ने सबै मानिसहरूले मूल्यांकन गर्नेछन्।
२०. पुरुषत्व र स्त्रीत्वको सम्बन्धमा गलाती ५:२२, २३ ले हाम्रो विचारमा कस्तो असर पार्नुपर्छ?
२० मसीही पुरुष तथा स्त्रीहरूले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता र आत्मसंयमजस्ता परमेश्वरका आत्माका फल फलाउनुपर्छ भनेर धर्मशास्त्रले देखाउँछ। (गलाती ५:२२, २३) परमेश्वरको महान् बुद्धिअनुरूप आत्माको फल खेती गरेर पुरुषहरूले पुरुषत्व र स्त्रीहरूले स्त्रीत्व बढाउनसक्छन्। आत्माको फल प्रकट गर्ने पुरुषलाई आदर गर्न र स्त्रीलाई चाहिं प्रेम गर्न सजिलो हुन्छ।
२१, २२. (क) येशूले कस्तो जीवनशैलीको नमुना छोड्नुभयो? (ख) येशूले आफ्नो पुरुषत्व कसरी देखाउनुभयो?
२१ मसीहीहरूले आजसम्म बाँचेका मानिसहरूमध्ये सबैभन्दा महान् पुरुष येशू ख्रीष्टको अनुकरण गर्नुपर्छ। (१ पत्रुस २:२१-२३) पुरुष र स्त्री दुवै येशूजस्तै परमेश्वरप्रति वफादार र उहाँको वचनप्रति आज्ञाकारी हुनुपर्छ। येशूले प्रेम, कोमलता र दयाजस्ता गजबका गुनहरू प्रदर्शित गर्नुभयो। साँचो मसीहीको हैसियतमा हामी सबैले पनि उहाँको अनुकरण गरेर उहाँको चेलाहरू साबित गरेको आशा गरिन्छ।—यूहन्ना १३:३५.
२२ येशू ख्रीष्ट वास्तविक व्यक्ति हुनुहुन्थ्यो र धर्मशास्त्रमा उल्लेख गरिएअनुसार उहाँको जीवनी अध्ययन गरेर उहाँको पुरुषत्व स्पष्टसित बुझ्नसक्छौं। उहाँले कहिल्यै विवाह गर्नुभएन तर स्त्रीहरूसितको सन्तुलित संगतिबाट आनन्द उठाउनुभयो भनेर बाइबलले देखाउँछ। (लूका १०:३८, ३९) पुरुष र स्त्रीहरूसित उहाँको सम्बन्ध सधैं चोखो र आदरणीय थियो। उहाँ पुरुषत्वको सिद्ध नमुना हुनुहुन्छ। उहाँले कुनै पुरुष, स्त्री वा अनाज्ञाकारी स्वर्गदूतहरूलाई आफ्नो ईश्वरीय पुरुषत्व र यहोवाप्रतिको विश्वासीलोपन खोस्ने मौका दिनुभएन। आफ्ना जिम्मेवारीहरू स्वीकार्न हिचकिचाउनुभएन र गनगन नगरी पूरा गर्नुभयो।—मत्ती २६:३९
२३. पुरुष र स्त्रीको भूमिकाको सम्बन्धमा साँचो मसीहीहरूले कसरी विशेष आशिष् पाएका छन्?
२३ यहोवाका मानिसहरूबीच हुन पाउनु र परमेश्वरलाई प्रेम गर्ने अनि उहाँप्रति आज्ञाकारी हुनु नै आफ्नो जीवनको प्राथमिकता ठान्ने पुरुष र स्त्रीलगायत केटाकेटीहरूसित संगत गर्न पाउनु कत्ति मनोहर कुरा हो! परमेश्वरको वचन पालन गरेर हामी कुनै बन्देजमा पर्दैनौं। बरु, हामी यस संसारबाट अलग हुन्छौं। अनि पुरुष र स्त्रीको सौन्दर्य, उद्देश्य अनि तिनीहरूका विशिष्ट भूमिकाहरूलाई पतित तुल्याउने तौरतरिकाहरूबाट मुक्त हुन्छौं। चाहे हामी पुरुष हौं वा स्त्री, ईश्वरप्रदत्त भूमिका निर्वाह गर्दा प्राप्त हुने साँचो आनन्द अनुभव गर्नसक्छौं। हो, हाम्रो खातिर गर्नुभएका मायालु प्रबन्धहरू अनि हामीलाई पुरुष र स्त्री नै गरी सृष्टि गर्नुभएकोमा हामी यहोवा परमेश्वर, सृष्टिकर्ताप्रति साँच्चै कृतज्ञ छौं!
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ पुरुष र स्त्रीहरूको भूमिकाबारे बाइबलले कुन उपयुक्त कुरा बताएको छ?
◻ जलप्रलयअघि कसरी पुरुषत्वको दुरुपयोग भयो र वर्तमान समयमा स्त्रीत्व कसरी भाँडिएको छ?
◻ बाहिरी रूपरंगको सम्बन्धमा तपाईंलाई व्यवहारमा उतार्न मन परेको बाइबलको सल्लाह कुन हो?
◻ मसीही पुरुष र स्त्रीहरूले कसरी आफूलाई वास्तविक पुरुष र स्त्री साबित गर्नसक्छन्?
[पृष्ठ १७-मा भएको चित्र]
एस्तर सुन्दरी भए तापनि विशेषगरि तिनी नम्र र शान्त मनोभावका लागि चिनिन्छिन्
[पृष्ठ १८-मा भएको चित्र]
बाहिरी पहिरनमा व्यवहारिक ध्यान पुऱ्याउनुहोस् तर भित्री सुन्दरतालाई चाहिं बढी महत्त्व दिनुहोस्