के तपाईं यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहुन्छ?
“जाति जातिहरूका बीचमा भन, ‘परमप्रभुले राज्य गर्नुहुन्छ।’ ”—भजन ९६:१०.
१, २. (क) इस्वी संवत् २९ को अक्टोबर महिनातिर कुन महत्त्वपूर्ण घटना भयो? (ख) यो घटनाले येशूलाई कसरी असर गऱ्यो?
इस्वी संवत् २९ को अक्टोबर महिनातिर एउटा अपूर्व अनि महत्त्वपूर्ण घटना भयो। बप्तिस्मा लिएर तुरुन्तै पानीबाट निस्केपछि येशूमाथि परमेश्वरको पवित्र आत्मा ढुकुरझैं आएको बप्तिस्मा दिने यूहन्नाले देखे। अनि मत्तीले लेखेको विवरणअनुसार “स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्, जोसँग म खुशी छु।’ ” यस घटनाबारे मत्तीबाहेक मर्कूस, लूका अनि यूहन्नाले पनि उल्लेख गरेका छन्। चारै जनाले उल्लेख गरेका थोरै घटनामध्ये यो पनि एउटा हो।—मत्ती ३:१६, १७; मर्कूस १:९-११; लूका ३:२१, २२; यूहन्ना १:३२-३४.
२ यसरी प्रस्ट देखिने गरी पवित्र आत्माद्वारा अभिषेक हुनुले अभिषिक्त जन अर्थात् मसीह वा ख्रीष्ट येशू नै हुनुहुन्थ्यो भनेर स्पष्ट प्रमाण दियो। (यूहन्ना १:३३) हो, लामो प्रतीक्षापछि, प्रतिज्ञा गरिएको “सन्तान” आखिर देखा पऱ्यो! बप्तिस्मा दिने यूहन्नासामु अब यस्तो व्यक्ति खडा हुनुहुन्थ्यो, जसको कुर्कुच्चो शैतानले डस्ने थियो र जसले त्यसपछि यहोवा र उहाँको सार्वभौमिकताको प्रमुख शत्रु शैतानको शिर कुच्याउनुहुने थियो। (उत्पत्ति ३:१५) हो, त्यसबेलादेखि येशू सार्वभौमिकता र राज्यसम्बन्धी यहोवाको उद्देश्य पूरा गर्न आफूले निर्वाह गर्नुपर्ने प्रमुख भूमिकाप्रति अझै सजग हुनुभयो।
३. यहोवाको सार्वभौमिकता उच्च पार्न आफूले निर्वाह गर्नुपर्ने भूमिकाको लागि येशूले आफैलाई कसरी तयार पार्नुभयो?
३ आफूले पाएको नयाँ जिम्मेवारी पूरा गर्न येशूले आफूलाई तयार बनाउनु आवश्यक थियो। त्यसैले बप्तिस्मा लिएपछि “येशू पवित्र आत्माले पूर्ण भएर यर्दनबाट फर्किनुभयो, र शैतानबाट परीक्षामा परेर चालीस दिनसम्म आत्माद्वारा वनमा यताउता डोऱ्याइनुभयो।” (लूका ४:१; मर्कूस १:१२) यहोवाको सार्वभौमिकताको विरोध गर्दै शैतानले खडा गरेको विवाद र यहोवाको सार्वभौमिकता उच्च पार्न आफूले पूरा गर्नुपर्ने जिम्माबारे येशूले त्यहाँ बिताएका ४० दिनमा गहिरिएर सोच्ने मौका पाउनुभयो। यस विवादमा स्वर्ग र पृथ्वीका सम्पूर्ण बौद्धिक प्राणी मुछिएका छन्। त्यसैकारण येशूले यहोवाको सार्वभौमिकताप्रति देखाउनुभएको वफादारितालाई हामीले विचार गर्नुपर्छ र उहाँले जस्तै यहोवाको सार्वभौमिकता उच्च पार्न के गर्नुपर्छ, त्यो बुझ्नुपर्छ।—अय्यूब १:६-१२; २:२-६.
यहोवाको सार्वभौमिकतालाई शैतानले खुलेआम चुनौती दियो
४. शैतानले गरेको कुन कामले यहोवाको सार्वभौमिकतामाथि त्यसले उठाएको विवाद छर्लङ्ग भयो?
४ माथि उल्लेख गरिएका सम्पूर्ण कुरा शैतानलाई राम्ररी थाह थियो। त्यसैकारण रत्तिभर समय नगुमाई त्यसले परमेश्वरको “स्त्रीको” प्रमुख ‘सन्तानलाई’ आक्रमण गर्न थाल्यो। (उत्पत्ति ३:१५) शैतानले येशूलाई तीन-तीन पटक परीक्षा गरेर आफ्नो फन्दामा पार्न खोज्यो। पिताको इच्छालाई बेवास्ता गरेर आफ्नो फाइदा हुने कुरा गरे भइहाल्छ नि भन्ने छनक त्यसले येशूलाई दिन खोज्यो। शैतानले विशेषगरि तेस्रो पटक येशूको परीक्षा गरेर उहाँलाई पासोमा पार्न खोज्दा यहोवाको सार्वभौमिकतामाथि त्यसले उठाएको विवाद छर्लङ्गै भयो। येशूलाई “जगत्का सबै राज्य र तिनको गौरव” देखाउँदै त्यसले हाकाहाकी यसो भन्यो: “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” “जगत्का सबै राज्य” साँच्चै शैतानको मुठीमा छ भन्ने कुरा राम्ररी बुझिसक्नुभएको येशूले सार्वभौमिकताको विवादमा आफूले लिएको अडान यसरी प्रस्ट पार्नुभयो: “ए शैतान हटी जा! किनभने यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, औ उहाँको मात्र सेवा गर्नू।’ ”—मत्ती ४:८-१०.
५. येशूले पाएको चुनौतीपूर्ण जिम्मेवारी के थियो?
५ यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु नै आफ्नो जीवनको प्रमुख लक्ष्य हो भनेर येशूले आफ्नो जीवनशैलीद्वारा देखाउनुभयो। भविष्यवाणीअनुसार, सर्पले स्त्रीको ‘सन्तानको’ कुर्कुच्चो डस्नेछ अर्थात् शैतानको हातबाट आफ्नो मृत्यु हुनेछ भनेर येशूलाई थाह थियो। त्यसैले, परमेश्वरको सार्वभौमिकता न्यायोचित छ भनेर प्रमाणित गर्न आफू मृत्युसम्मै वफादार हुनैपर्छ भनेर उहाँले राम्ररी बुझ्नुभएको थियो। (मत्ती १६:२१; १७:१२) यसबाहेक, शैतानको विद्रोह दबाउन, र स्वर्ग अनि पृथ्वीमा शान्ति र सुव्यवस्था पुनःस्थापना गर्न यहोवाले चलाउने माध्यम परमेश्वरको राज्य हो भनेर पनि येशूले साक्षी दिनुपर्थ्यो। (मत्ती ६:९, १०) आफूलाई सुम्पिएको यस्तो चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्न येशूले के गर्नुभयो?
“परमेश्वरको राज्य नजीक आइपुगेको छ”
६. “शैतानका कामहरू नष्ट पार्न” यहोवाले चलाउने माध्यम परमेश्वरको राज्य हो भनेर येशूले कसरी प्रकट गर्नुभयो?
६ सबैभन्दा पहिले ‘परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै येशू गालीलमा जानुभयो र भन्नुभयो: “समय पूरा भएको छ, औ परमेश्वरको राज्य नजीक आइपुगेको छ।” ’ (मर्कूस १:१४, १५) उहाँले अझ यस्तो समेत भन्नुभयो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:१८-२१, ४३) “उहाँ शहर-शहर र गाउँ-गाउँहुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्नुभयो।” (लूका ८:१) येशूले थुप्रै शक्तिशाली काम पनि गर्नुभयो। उहाँले भीडलाई खुवाउनुभयो, डरलाग्दो आँधीबेहरीलाई शान्त पार्नुभयो, बिरामीलाई निको पार्नुभयो र मरेका मानिसलाई ब्यूँताउनुभयो। यस्ता चमत्कारहरू गरेर येशूले एउटा कुरा प्रमाणित गर्नुभयो। त्यो हो—अदनको बगैंचामा भएको विद्रोहका सबै दुष्परिणामलाई हटाएर यहोवाले ‘शैतानका कामहरू नष्ट पार्न सक्नुहुन्छ।’—१ यूहन्ना ३:८.
७. येशूले आफ्ना चेलाहरूलाई के गर्न पठाउनुभयो र त्यसको नतिजा कस्तो भयो?
७ पृथ्वीको चारैतिर राज्यको सुसमाचार प्रचार गर्न येशूले वफादार चेलाहरूको समूह बनाएर तिनीहरूलाई प्रशिक्षण दिनुभयो। सबैभन्दा पहिले उहाँले १२ जना प्रेरितलाई “परमेश्वरको राज्यको प्रचार गर्न . . . पठाउनुभयो।” (लूका ९:१, २) अनि त्यसपछि अरू ७० जनालाई “परमेश्वरको राज्य तिमीहरूको नजीक आइपुगेको छ” भनेर घोषणा गर्न पठाउनुभयो। (लूका १०:१, ८, ९) प्रचार गरेर फर्केपछि यी चेलाहरूले आफूले पाएको सफलता बताउँदा येशूले यसो भन्नुभयो: “मैले शैतानलाई स्वर्गबाट बिजुलीझैं खसिरहेको देखें।”—लूका १०:१७, १८.
८. येशूले आफ्नो जीवनको प्रमुख उद्देश्य के हो भनेर प्रस्ट पार्नुभयो?
८ परमेश्वरको राज्यको साक्षी दिने हरेक मौकाको सदुपयोग गरेर येशूले सकेजति प्रचार गर्नुभयो। परमेश्वरको राज्यको निम्ति उहाँ दिनरात खट्नुभयो र हर किसिमका सुखसुविधा त्याग्न राजी हुनुभयो। उहाँ आफैले यसो भन्नुभयो: “फ्याउराहरूका प्वाल छन्, र आकाशका चरा-चुरुङ्गीहरूका गुँड, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।” (लूका ९:५८; मर्कूस ६:३१; यूहन्ना ४:३१-३४) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले निडर भई पिलातसलाई यसो भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्ना १८:३७) हो, येशू असल शिक्षक हुनुहुन्थ्यो, उहाँले चमत्कारहरू गर्नुभयो र आफ्नो जीवन बलिदान दिएर मानिसहरूको उद्धारसमेत गर्नुभयो। तथापि, त्यसो गर्नु उहाँको जीवनको प्रमुख उद्देश्य थिएन बरु, सार्वभौमसत्ताधारी यहोवाको इच्छालाई समर्थन गर्नु अनि स्वर्गको राज्यमार्फत यहोवाले आफ्नो त्यस्तो इच्छा पूरा गर्न सक्नुहुन्छ भनेर साक्षी दिनु थियो। यो कुरा उहाँको जीवनशैलीबाट प्रस्टै देखियो।—यूहन्ना १४:६.
“अब सिद्धियो”
९. परमेश्वरको स्त्रीको “सन्तानको” कुर्कुच्चो डस्न शैतान कसरी सफल भइछाड्यो?
९ परमेश्वरको राज्यको निम्ति येशूले जे-जत्ति गर्नुभयो, त्यो प्रमुख शत्रु शैतानलाई पटक्कै मन परेन। त्यसले पृथ्वीमा रहेको आफ्नो “सन्तान” अर्थात् राजनैतिक र धार्मिक समूहलाई प्रयोग गरेर परमेश्वरको स्त्रीको ‘सन्तानलाई’ खत्तम पार्न बारम्बार कोसिस गऱ्यो। पृथ्वीमा येशू जन्मेदेखि मृत्यु नभइञ्जेल शैतान र त्यसका फौजले उहाँलाई आफ्नो तारो बनाए। अनि अन्तमा इस्वी संवत् ३३ को वसन्त ऋतुमा शैतानले येशूको कुर्कुच्चो डस्ने समय आइपुग्यो र उहाँ त्यस प्रमुख शत्रुको हातमा सुम्पिइनुभयो। (मत्ती २०:१८, १९; लूका १८:३१-३३) येशूलाई दोषी साबित गरेर अनि असाध्यै सास्ती दिएर काठमा झुन्ड्याएर मार्न शैतानले यहूदा इस्करयोतीलगायत मुख्य पूजाहारीहरू, सदुकीहरू, फरिसीहरू तथा रोमीहरूलाई आफ्नो इसारामा नचायो भनेर सुसमाचारको पुस्तकले स्पष्टसित बताएको छ।—प्रेरित २:२२, २३.
१०. काठमा सास्ती खाँदै प्राण त्यागेर येशूले कस्तो महत्त्वपूर्ण काम सिद्ध्याउनुभयो?
१० काठमा सास्ती खाएर प्राण त्याग्नै लागेका येशूलाई सम्झँदा तपाईंको मनमा कस्ता कुरा आउँछन्? पापी मानिसजातिको लागि उहाँले निःस्वार्थ भई दिएको फिरौतीको बलिदान सम्झनुहुन्छ कि? (मत्ती २०:२८; यूहन्ना १५:१३) वा यस्तो बलिदानको प्रबन्ध गरेर यहोवाले देखाउनुभएको महान् प्रेम सम्झनुहुन्छ कि? (यूहन्ना ३:१६) अथवा येशूको मृत्यु हुँदा “साँच्चिनै यिनी परमेश्वरका पुत्र रहेछन्” भनेर रोमी कप्तानले स्वीकारेजस्तै स्वीकार्नुहुन्छ कि? (मत्ती २७:५४) हो, हामीले यस्तो प्रतिक्रिया देखाउनु उचित छ। तर अन्तिम क्षणमा येशूले भनेका यी शब्दहरूलाई पनि सम्झनुहोस्: “अब सिद्धियो।” (यूहन्ना १९:३०) अब के सिद्धियो? येशूको जीवन र मृत्युले गर्दा थुप्रै काम पूरा भए तापनि उहाँ पृथ्वीमा आउनुको मुख्य कारण यहोवाको सार्वभौमिकताको विवाद समाधान गर्नु नै थियो। यसबाहेक, यहोवाको नाउँमा लागेको दाग मेटाउन उहाँले “सन्तानको” रूपमा शैतानको हातबाट हुनसम्म कष्ट भोग्नुपर्ने थियो भनेर पनि भविष्यवाणी गरिएको थियो। (यशैया ५३:३-७) यी गम्भीर जिम्मेवारीलाई येशूले राम्ररी पूरा गर्नुभयो। हो, येशूले वास्तवमै अत्यन्तै महत्त्वपूर्ण काम सिद्ध्याउनुभयो!
११. अदनमा गरिएको भविष्यवाणी पूर्णतया साकार पार्न येशूले के गर्नुहुनेछ?
११ भरोसायोग्य र वफादार भएकोले येशूको पुनरुत्थान भयो र त्यो पनि मानव शरीरमा होइन, ‘जीवन दिने आत्माको’ रूपमा। (१ कोरिन्थी १५:४५; १ पत्रुस ३:१८) आफ्नो महिमित पुत्रसित यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्नँ।” (भजन ११०:१) यी ‘शत्रुहरूमा’ मुख्य अपराधी शैतानलगायत त्यसका सम्पूर्ण मतियार अर्थात् “सन्तान” पर्छन्। यहोवाको मसीही राज्यको राजा भएकोले येशू ख्रीष्टले स्वर्ग र पृथ्वीमा भएका सम्पूर्ण विरोधीलाई नाश गर्ने काममा नेतृत्व लिनुहुनेछ। (प्रकाश १२:७-९; १९:११-१६; २०:१-३, १०) त्यसपछि, उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणीका साथै येशूले आफ्ना अनुयायीलाई सिकाउनुभएको यो प्रार्थना शतप्रतिशत पूरा हुनेछ: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:१०; फिलिप्पी २:८-११.
येशूले हाम्रो लागि नमुना छोड्नुभयो
१२, १३. (क) राज्यको सुसमाचारप्रति आज मानिसहरूले कस्तो प्रतिक्रिया देखारहेका छन्? (ख) ख्रीष्टको अनुकरण गर्न हामीले आफैलाई कस्ता प्रश्न सोध्नैपर्छ?
१२ येशूले भविष्यवाणी गरेझैं राज्यको सुसमाचार अहिले थुप्रै ठाउँमा प्रचार भइरहेको छ। (मत्ती २४:१४) परिणामस्वरूप, लाखौं मानिसले परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेका छन्। परमेश्वरको राज्य आएपछि मानिसजातिले पाउने आशिष्बारे थाह पाएर हर्षित छन्। यिनीहरू प्रमोदवनमा सधैंभरि शान्त अनि सुरक्षित जीवन बिताउन पाउने समयलाई पनि पर्खेर बसेका छन् र आफ्नो आशाबारे अरूलाई रमाउँदै बताउँछन्। (भजन ३७:११; २ पत्रुस ३:१३) के तपाईं यी राज्य उद्घोषकहरूमध्ये एक हुनुहुन्छ? हुनुहुन्छ भने, तपाईं तारीफ योग्यको हुनुहुन्छ। यद्यपि, हामी सबैले विचार गर्नैपर्ने केही कुरा बाँकी छन्।
१३ प्रेरित पत्रुसले लेखे: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंडनलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) नबिर्सनुहोस्, यस पदमा पत्रुसले येशूले भोगेको दुःखबारे उल्लेख गरेका छन्, सुसमाचार प्रचार गर्न उहाँले देखाएको जोस वा उहाँको सिकाउने दक्षताबारे होइन। यहोवाको सार्वभौमिकताको अधीनमा रहन र शैतान वास्तवमै झूटो हो भनेर साबित गर्न येशू कुन हदसम्म दुःखकष्ट भोग्न तयार हुनुहुन्थ्यो, त्यसको प्रत्यक्षदर्शी भएकोले पत्रुसलाई राम्ररी थाह थियो। त्यसोभए, हामी कुन-कुन तरिकामा येशूको अनुकरण गर्न सक्छौं? हामीले आफैलाई यी प्रश्न सोध्नैपर्छ: ‘यहोवाको सार्वभौमिकतालाई समर्थन अनि आदर गर्न म कुन हदसम्म दुःखकष्ट भोग्न तयार छु? यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु नै मेरो जीवनको मुख्य लक्ष्य हो भनेर के मैले आफ्नो जीवनशैली र जोसिलो भई प्रचार गरेर देखाइरहेको छु?’—कलस्सी ३:१७.
१४, १५. (क) अनुपयुक्त सुझाव वा प्रस्ताव आउँदा येशूले के गर्नुभयो र किन? (ख) हामीले कुन विवादलाई मनमा सधैं ताजा राख्नुपर्छ? (“यहोवाको पक्ष लिनुहोस्” पेटीलाई ध्यानमा राख्दै टिप्पणी दिनुहोस्।)
१४ हामीले दिनहुँ साना-ठूला निर्णय गर्नुपर्छ र थरीथरीका परीक्षा भोग्नुपर्छ। परीक्षाहरू आइपर्दा अनि निर्णयहरू गर्नुपर्दा हामीले कुन कुरालाई ध्यानमा राख्नुपर्छ? उदाहरणको लागि, यहोवासितको हाम्रो सम्बन्धलाई नै खतरामा पार्न सक्ने परीक्षा आइपर्दा हामी के गर्छौं? पत्रुसले येशूलाई ‘प्रभु, आफूप्रति कृपा देखाउनुहोस्’ भन्दा येशूले के गर्नुभयो? येशूले यसरी हकार्नुभयो: “ए शैतान, मेरो सामनेबाट हटिजा! . . . किनभने तँ परमेश्वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।” (मत्ती १६:२१-२३) प्रशस्त पैसा कमाउन सकिने वा ठूलठूला उपलब्धी हासिल गर्न सकिने मौका आउँदा त्यसले हाम्रो मसीही जिम्मेवारी तथा परमेश्वरसितको हाम्रो सम्बन्धलाई नै असर पार्छ भने, के हामी येशूले गरेझैं गर्छौं? आफूले गरेका चमत्कार देखेर मानिसहरूले “राजा बनाउनलाई . . . बलजफत गर्नआँटेका छन्” भन्ने कुरा थाह पाउनेबित्तिकै येशू तिनीहरूबाट टाढा गइहाल्नुभयो।—यूहन्ना ६:१५.
१५ त्यतिबेला र अरूबेला पनि येशूले यस्तो ठाडो प्रतिकार किन गर्नुभयो? किनकि व्यक्तिगत सुरक्षा वा फाइदाभन्दा पनि महत्त्वपूर्ण कुरा अर्कै छ भनेर येशूले राम्ररी बुझ्नुभएको थियो। येशू आफ्नो फाइदा होइन, हरहालतमा पिताको इच्छा पूरा गर्न र उहाँको सार्वभौमिकतालाई समर्थन गर्न चाहनुहुन्थ्यो। (मत्ती २६:५०-५४) यहोवाको सार्वभौमिकतासम्बन्धी विवादलाई येशूले सधैं मनमा ताजा राखेजस्तै राख्न सकेनौं भने सम्झौता गर्ने वा गर्नुपर्ने सही काम नगर्ने सम्भावना बढी हुन्छ। किन र? किनकि खराबलाई असलजस्तै देखाउन धूर्त शैतानले हव्वालाई फसाएझैं हामीलाई पनि सजिलै फसाउन सक्छ।—२ कोरिन्थी ११:१४; १ तिमोथी २:१४.
१६. अरूलाई बाइबलले सिकाउने सत्य कुरा बुझ्न मदत गर्दा हाम्रो मुख्य लक्ष्य भने के हुनुपर्छ?
१६ प्रचारमा जाँदा हामी मानिसहरूसित उनीहरूलाई चिन्ता लागिरहेको विषयमा कुरा गर्ने र त्यसबारे बाइबलको जवाफ देखाउने अथक प्रयास गर्छौं। उनीहरूलाई बाइबल अध्ययन गर्न चासो जगाउने यो प्रभावकारी तरिका हो। तर वास्तवमा हाम्रो मुख्य लक्ष्य मानिसहरूलाई बाइबलले के सिकाउँछ, त्यो बुझ्न वा परमेश्वरको राज्य आएपछि के-कस्ता आशिष् पाइन्छन्, त्यो बुझ्न मात्र मदत गर्नु होइन। हाम्रो मुख्य लक्ष्य उनीहरूलाई यहोवाको सार्वभौमिकताको विवाद राम्ररी बुझ्न मदत गर्नु हो। के तिनीहरू साँचो मसीही बनेर आफ्नो शासनाको खम्बा उठाउन र परमेश्वरको राज्यको खातिर कष्ट भोग्न तयार हुनेछन्? (मर्कूस ८:३४) अनि के तिनीहरू यहोवाको सार्वभौमिकताको समर्थन गर्नेहरूको समूहमा सामेल भएर शैतान झूटो र निन्दक हो भनेर प्रमाणित गर्न तयार छन्? (हितोपदेश २७:११) यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु र अरूलाई पनि त्यसै गर्न मदत गर्नु हाम्रो निम्ति ठूलो सम्मान हो!—१ तिमोथी ४:१६.
जब परमेश्वर “सबैमा सर्वश्रेष्ठ” हुनुहुन्छ
१७, १८. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्छौं भने कस्तो भव्य समय हेर्न पाउनेछौं?
१७ यहोवाको सार्वभौमिकतालाई समर्थन गर्छौं भनेर हामीले अहिले आफ्नो आचरण र प्रचारकार्यबाट देखाउने भरसक कोसिस गऱ्यौं भने, येशू ख्रीष्टले ‘परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिंदा’ हामीले देख्ने आशा गर्न सक्छौं। तर त्यो समय कहिले आउनेछ? “जब उहाँले सारा प्रभुत्व, सारा अख्तियार र शक्ति नामेट” गर्नुहुन्छ भनेर प्रेरित पावल बताउँछन्। “किनकि [परमेश्वरले] सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल [येशूले] राज्य गर्नैपर्छ। . . . तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।”—१ कोरिन्थी १५:२४, २५, २८.
१८ परमेश्वर “सबैमा सर्वश्रेष्ठ” हुने समय कत्ति भव्य हुनेछ! त्यतिखेर, परमेश्वरको राज्यको उद्देश्य पूरा भइसकेको हुनेछ! यहोवाको सार्वभौमिकताको विद्रोह गर्ने सबैको नामोनिसान मेटिनेछ। विश्वब्रह्माण्डमै शान्ति र सुव्यवस्था कायम भइसक्नेछ। भजनरचयिताले भनेझैं सारा सृष्टिले यसो भन्दै गाउनेछन्: “परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा देओ। . . . जाति जातिहरूका बीचमा भन, ‘परमप्रभुले राज्य गर्नुहुन्छ।’ ”—भजन ९६:८, १०.
के तपाईं जवाफ दिन सक्नुहुन्छ?
• यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर येशूले कसरी देखाउनुभयो?
• येशूको प्रचारकार्य र मृत्युले गर्दा कस्तो महत्त्वपूर्ण काम सिद्धियो?
• कुन-कुन तरिकामा येशूको अनुकरण गर्दै हामीले यहोवाको सार्वभौमिकतालाई समर्थन गरेका छौं भनेर देखाउन सक्छौं?
[पृष्ठ ११-मा भएको पेटी/चित्रहरू]
यहोवाको पक्ष लिनुहोस्
कठीन परीक्षाहरू आइपर्दा, ती भोग्नुपर्ने कारण स्पष्टसित बुझ्यो भने सहन सजिलो हुन्छ भनेर कोरियाका र अन्य थुप्रै ठाउँका हाम्रा भाइबहिनीलाई थाह छ।
भूतपूर्व-सोभियत संघमा थुनामा परेका यहोवाका साक्षीहरूमध्ये एक जनाले यसो भने, “अदनको बगैंचामा उठाइएको विवाद अर्थात् शासन गर्ने अधिकार यहोवाको मात्र हो भन्ने विवादलाई राम्ररी बुझेकोले नै हामीले सहन सक्यौं। . . . यहोवाको शासनको पक्ष लिने मौका यही हो भनेर हामीलाई थाह थियो। . . . यसले हामीलाई बलियो बनायो र निष्ठा कायम राख्न मदत गऱ्यो।”
अर्का एक जना साक्षी श्रम शिविरमा आफू र सँगी साक्षीलाई सहन केले मदत गऱ्यो, यसरी बताउँछन्: “यहोवाले हामीलाई सँभाल्नुभयो। अवस्था जतिसुकै गाह्रो भए तापनि हामीले यहोवासितको सम्बन्धलाई कहिल्यै कमजोर हुन दिएनौं। ब्रह्माण्डको सार्वभौमिकताको विवादमा यहोवाको पक्ष लिएका छौं भन्दै हामी सधैं सकारात्मक कुराकानी गरेर एकअर्कालाई प्रोत्साहन दिन्थ्यौं।”
[पृष्ठ ८-मा भएको चित्र]
शैतानले परीक्षामा पार्न खोज्दा येशूले कसरी यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुभयो?
[पृष्ठ १०-मा भएको चित्र]
येशूले “अब सिद्धियो” किन भन्नुभयो?