पतित शरीरमाथि पापको बन्धनसँग लड्नु
“शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो।”—रोमी ८:६.
“परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) स्वरूप भनेको एउटा वस्तु अथवा स्रोतको प्रतिबिम्ब हो। तसर्थ, मानिसहरू परमेश्वरको महिमा प्रतिबिम्बित गर्न सृजिएका थिए। आफ्ना सबै कामहरूमा प्रेम, भलाइ, न्याय र आध्यात्मिकता जस्ता ईश्वरीय गुणहरू प्रकट गरेर तिनीहरूले सृष्टिकर्त्ताको प्रशंसा र महिमा गर्छन् अनि आफूले पनि आनन्द र सन्तुष्टि प्राप्त गर्छन्।—१ कोरिन्थी ११:७; १ पत्रुस २:१२.
२ सिद्धतामा सृजिएका प्रथम मानव जोडी यो भूमिका निभाउन सुसज्जित थिए। टलक्क टल्काइएको ऐनाजस्तै चमक र कर्तव्यपरायणताका साथ परमेश्वरको महिमा प्रतिबिम्बित गर्न तिनीहरू सक्षम थिए। तर, जानाजानी आफ्ना सृष्टिकर्त्ता र परमेश्वरप्रति अनाज्ञाकारी हुन रोजेर तिनीहरूले त्यस चमकमा दाग लाग्न दिए। (उत्पत्ति ३:६) त्यसपश्चात् तिनीहरूले कहिल्यै परमेश्वरको महिमा पूर्णतया प्रतिबिम्बित गर्न सकेनन्। तिनीहरू परमेश्वरको महिमारहित हुन गए र परमेश्वरकै स्वरूपमा बनाइनुको उद्देश्य बुझ्न असफल भए। अर्को शब्दमा भन्ने हो भने तिनीहरूले पाप गरे।a
३ परमेश्वरको स्वरूप र महिमा मानिसमा प्रतिबिम्बित हुनदेखि वञ्चित गराउने पापको वास्तविक प्रकृति बुझ्न हामीलाई यसले मदत गर्छ। पापले मानिसलाई अपवित्र अर्थात् आध्यात्मिक र नैतिक अर्थमा अशुद्ध र कलङ्कित बनाउँछ। सारा मानवजाति आदम र हव्वाको सन्तान हुनाले त्यस कलङ्कित तथा अशुद्ध अवस्थामा जन्मेका छन्। यसले गर्दा परमेश्वरले आफ्नो सन्तानको हैसियतमा मानवहरूबाट आशा गर्नुभएका कुराहरू तिनीहरूले पूरा गर्न सकेका छैनन्। त्यसको परिणाम? बाइबल वर्णन गर्छ: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।”—रोमी ५:१२; यशैया ६४:६ तुलना गर्नुहोस्।
पतित शरीरमाथि पापको बन्धन
४ आज थुप्रै मानिसहरूले आफूलाई अशुद्ध, कलङ्कित अथवा पापी ठान्दैनन्। वास्तवमा भन्ने हो भने, मानिसहरूको शब्दावलीबाट पाप भन्ने शब्द प्राय हराइसकेको छ। तिनीहरूले त्रुटिहरू, अविवेकी कार्यहरू तथा गलत अनुमानहरूबारे त शायद कुरा गर्लान्। तर पापबारे? भनौं भने कुरै गर्दैनन् भने पनि हुन्छ! परमेश्वरमा अझै पनि विश्वास गर्छु भनी दाबी गर्नेहरूका निम्ति पनि “परमेश्वरका शिक्षाहरू नैतिक सिद्धान्तहरू नभई नैतिक विश्वासहरू हुन् र ती १० आज्ञाहरू केवल ‘१० सुझावहरू’ हुन्” भनी समाजशास्त्रका प्राध्यापक एलन वुल्फ अवलोकन गर्छन्।
५ यस्तो सोचाइको परिणाम कस्तो हुन्छ? पापको वास्तविकतालाई तिनीहरू इन्कार गर्छन् नभए अवहेलना गर्छन्। यसको फलस्वरूप सही र गलतबारे अत्यन्तै विकृत सोचाइ भएका मानिसहरूको पुस्ता पैदा भएको छ। तिनीहरू आचरणसम्बन्धी आफ्नै प्रकारका स्तरहरू बनाउन स्वतन्त्र ठान्छन् र आफूले जे गरेपनि कसैप्रति जवाफदेही महसुस गर्दैनन्। त्यस्ता व्यक्तिहरूका निम्ति आफू दोषी महसुस हुनु वा नहुनु नै उचित र अनुचित कार्य छुट्याउने आधार हो।—हितोपदेश ३०:१२, १३; व्यवस्था ३२:५, २० तुलना गर्नुहोस्।
६ उदाहरणको लागि, टेलिभिजनको एउटा भेटवार्त्तामा तथाकथित सात घातक पापबारे आफ्ना विचारहरू व्यक्त गर्न जवान मानिसहरूलाई निम्त्याइएको थियो।b एक सहभागीले भने, “घमण्ड पाप होइन। आफूप्रति उच्च दृष्टिकोण त सबैले राख्नुपर्छ।” आलस्यपनबारे अर्कीले भनिन्, “कहिलकाहीं त्यस्तो हुनु राम्रै हो। . . . कहिलेकाहीं अल्छी हुनुमा कुनै आपत्ति छैन।” उद्घोषकले समेत छोटकरीमा यस्तो टिप्पणी गरे: “सात घातक पापहरू दुष्ट कार्यहरू होइनन् बरु मानिसहरूलाई पिरोल्ने र अत्यन्तै आनन्द दिने सर्वव्यापी मानव आवेगहरू हुन्।” हो, पापको अवधारणा साथसाथै दोषी हुनुको भाव हराइसकेको छ। आखिरमा, निर्दोष महसुस हुनुको विपरीत नै दोषी भाव हुनु हो।—एफिसी ४:१७-१९.
७ यी कुराहरूको ठीक विपरीत बाइबलले स्पष्टसित यसो भन्छ: “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्।” (रोमी ३:२३) प्रेरित पावलले पनि मानी लिए: “मलाई थाहा छ, कि ममा, अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु।” (रोमी ७:१८, १९) पावलले यहाँ आत्म-दया देखाइरहेका थिएनन्। बरु, मानवजाति परमेश्वरको महिमारहित हुन गएका छन् भनी राम्ररी बुझेकाले पतित शरीरमाथि पापको बन्धनबारे अझ सजग हुनुपर्ने महसुस गरे। उनले भने, “हाय, म कस्तो दुःखी मानिस! मृत्युको शरीरबाट मलाई कसले बचाउला?”—रोमी ७:२४.
८ यस विषयमा तपाईंको दृष्टिकोण कस्तो छ? आदमको सन्तान भएकोले अरूजस्तै तपाईं पनि असिद्ध हुनुहुन्छ भनी मानी लिनु हुन्छ होला। तर त्यस्तो ज्ञानले तपाईंको सोचाइ र जीवनपद्धतिलाई कत्तिको असर गर्छ? के तपाईं यस्तै त हो नि भनेर स्वीकार्दै आफ्नो अन्तर्निहित झुकावअनुसार चल्नुहुन्छ? अथवा आफूले गर्ने प्रत्येक कामकुरामा यथासम्भव चमकका साथ परमेश्वरको महिमा चम्काउन पतित शरीरमाथि पापको बन्धन विरूद्ध लड्न के तपाईं निरन्तर कडा यत्न गर्नुहुन्छ? पावलले भनेको कुरालाई सम्झँदै हामी प्रत्येकले यसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ। तिनले भने: “शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो।”—रोमी ८:५, ६.
शरीरमा मन लगाउनु
९ “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो” भनी उल्लेख गर्दा पावलले के भन्न खोजिरहेका थिए? विद्रोही आदमको सन्तान हुनाकारण ‘पापमा गर्भधारण भएको’ मानिसको असिद्ध अवस्था बुझाउन बाइबलमा प्रायः “शरीर” भन्ने पद प्रयोग भएको छ। (भजनसंग्रह ५१:५; अय्यूब १४:४) तसर्थ, पावलले मसीहीहरूलाई पापी झुकाव, आवेगहरू तथा असिद्ध, पतित शरीरको इच्छाहरूमा मन नलगाउन सल्लाह दिइरहेका थिए। तर किन? अन्य ठाउँहरूमा पावलले शरीरका कामहरू के के हुन् भनी वर्णन गरिसकेपछि निम्न चेताउनी थपे: “जस जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।”—गलाती ५:१९-२१.
१० तर कुनै कुरामा मन लगाउनु र व्यवहारमा ल्याउनुमा के ठूलो फरक छैन र? हो, कुनै कुराबारे सोच्दैमा त्यो गरिन्छ नै भन्ने छैन। तर, मन लगाउनु भनेको क्षणिक सोचाइ मात्र होइन। पावलले यहाँ प्रयोग गरेको युनानी शब्द फ्रोनेमा हो र यसले “सोच्ने ढङ्ग, मनस्थिति, . . . लक्ष्य, आकाङ्क्षा, प्रयास” भन्ने अर्थ बुझाउँछ। तसर्थ “शरीरमा मन लगाउनु” भनेको पतित शरीरका इच्छाहरूद्वारा नियन्त्रित, ग्रस्त, दबाइएको तथा डोऱ्याइएको हुनु हो।—१ यूहन्ना २:१६.
११ कयिनले पछ्याएको मार्गले यस बुँदालाई प्रष्ट्याउँछ। कयिनको हृदयमा डाह र रीस प्रस्फुटन हुँदा यहोवाले यो चेताउनी दिनुभयो: “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? यदि तैंले असल गरेनस् भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।” (उत्पत्ति ४:६, ७) कयिन समक्ष छान्ने मौका थियो। के तिनी आफ्नो मन, लक्ष्य र आकाङ्क्षालाई राम्रो कुरामा लगाएर “असल गर्न” फर्किन्थे? अथवा शरीरमै मन लगाएर आफ्नो हृदयमा खेलिरहेका खराब झुकावहरूमा मन केन्द्रित गर्थे? यहोवाले भन्नुभएझैं कयिनले अनुमति दिएको खण्डमा उनलाई झम्टेर खान पाप “ढोकैमा ढुकिबसेर” कुरिरहेको थियो। आफ्नो शारीरिक इच्छालाई ‘अधीनमा’ पार्नुको सट्टा कयिनले आफूमाथि प्रभुता जमाएर सङ्कटमय अन्त आइपर्न दिए।
१२ आज हामीबारे के भन्न सकिन्छ? प्रथम शताब्दीका केही मसीहीबारे यहूदाले बिलौना गरेझैं हामी निश्चय पनि “कयिनको मार्गमा” हिंड्न चाहँदैनौं। (यहूदा ११) आफ्ना इच्छाहरूलाई अलि छाडा छाड्नु अथवा कहिलेकाहीं नियमहरू भङ्ग गर्नुमा केही नोक्सानी छैन भन्ने तर्क कहिल्यै गर्नुहुँदैन। यसको विपरीत, हाम्रो मन अनि हृदयमा आउन सक्ने जुनसुकै कुकर्म र भ्रष्ट प्रभावलाई चिनेर त्यसले जरा गाड्नुअघि नै उखेल्न सतर्क हुनुपर्छ। पतित शरीरमाथि पापको बन्धन विरूद्ध लड्ने भावना आफू भित्रबाटै आउनुपर्छ।—मर्कूस ७:२१.
१३ उदाहरणको लागि, तपाईंले एउटा लाजमर्दो अथवा बीभत्स दृश्य वा खासगरि लैङ्गिक तवरमा उत्तेजित गर्ने अथवा कामुक चित्र झलक्क देख्नु होला। त्यो कुनै एउटा पुस्तक अथवा पत्रिकाको चित्र, सिनेमा अथवा टेलिभिजनको दृश्य, भित्तामा लगाइएको विज्ञापन अथवा वास्तविक दृश्य हुन सक्छ। त्यो कुनै आत्तिनु पर्ने कुरा होइन किनभने त्यस्तो हुन सक्छ—र हुन्छ पनि। तर, त्यस चित्र अथवा दृश्य छिनभर मात्र देख्नु भएको भए तापनि मनमा रहिरहन सक्छ र समय समयमा सम्झिरहन सक्छ। त्यसो हुँदा तपाईं के गर्नुहुन्छ? त्यस विचार विरूद्ध लड्न अनि आफ्नो मनबाट त्यो निकाल्न के तपाईं तुरुन्तै कदम उठाइहाल्नुहुन्छ? अथवा शायद प्रत्येक पटक त्यो विचार आउँदा त्यस अनुभवलाई ज्वलन्त पार्दै के त्यसलाई तपाईंको मनमा खेलाइरहने मौका दिनुहुन्छ? पछिल्लो उपाय छान्नु याकूबले वर्णन गरेका घटनाक्रम तयार पार्ने खतरा मोल्नु हो। “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढ़ेपछि मृत्यु उत्पन्न गराउँछ।” त्यसकारण त पावलले भने: “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो।”—याकूब १:१४, १५; रोमी ८:६.
१४ खुल्लमखुल्ला र प्रचुर मात्रामा पुस्तक, पत्रिका, सिनेमा, टेलिभिजन कार्यक्रम र लोकप्रिय सङ्गीतहरूमा प्रस्तुत गरिने लैङ्गिक अनैतिकता, हिंसा र भौतिकवादलाई बढावा दिने आजको संसारमा जीवन बिताउँनु पर्दा हामीमाथि दिनहुँ गलत सोचाइ र विचारहरू ओइरिन्छन्। तपाईंको प्रतिक्रिया कस्तो छ? के यी सबै कुराहरूमा तपाईं दङ्ग पर्नु हुन्छ र आनन्द महसुस गर्नुहुन्छ? अथवा के तपाईं धर्मी लूतजस्तै “दुष्टहरूका कामुक जीवनबाट अति दुःखित . . . तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर . . . दुःखित” हुनुहुन्छ? (२ पत्रुस २:७, ८) पतित शरीरमाथि पापको बन्धन विरूद्ध विजयी हुन हामी भजनरचयिताजस्तै सङ्कल्पित हुनुपर्छ। तिनले भने: “मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ। कुमार्गतर्फ लाग्नेहरूको कामलाई म घृणा गर्छु। यस्तो काम मसँग लिप्त हुनेछैन।”—भजनसंग्रह १०१:३.
आत्मामा मन लगाउनु
१५ पतित शरीरमाथि पापको बन्धन विरूद्ध लड्न हामीलाई मदत दिन सक्ने कुराबारे पावलले यसो भने: “आत्मामा मन लगाउनु जीवन र शान्ति हो।” (रोमी ८:६) तसर्थ, शारीरिक कामहरूले प्रभुता जमाउन दिनुभन्दा हामीले आफ्नो मनलाई आत्माको प्रभावमा आउन दिनुपर्छ र आत्माका कामहरूमा फस्टाउनु पर्छ। ती के के हुन्? फिलिप्पी ४:८ मा पावलले एउटा सूची बनाएका छन्: “अन्त्यमा ए भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, [जे कुरा धर्मी छन्, न्यु व.], जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” आउनुहोस्, हामीले निरन्तर विचार गर्नुपर्ने कुराहरूबारे राम्ररी बुझ्न गहिरिएर हेरौं।
१६ सर्वप्रथम, पावलले आठ वटा नैतिक गुणहरू सूचीबद्ध गरे। निस्सन्देह, मसीहीहरूले शास्त्रीय अथवा सैद्धान्तिक विषयहरूमा मात्र सोच्नुपर्छ भनेको होइन भनेर हामीले बुझेका छौं। हामीले आफ्नो मन लगाउन सक्ने विषयवस्तु र सामग्रीहरू थुप्रै छन्। तर महत्त्वपूर्ण कुरा, पावलले उल्लेख गरेका ती नैतिक गुणहरूको स्तरअनुरूप हुनुपर्छ। पावलले उद्धरण गरेका प्रत्येक “कुराहरूमा” हाम्रो ध्यान जानुपर्छ। हामी ती क्रमैसङ्ग विचार गरौं।
१६. कस्ता गुणहरूमा लगातार “विचार गर्न” पावलले प्रोत्साहन दिए र प्रत्येक गुणमा कुन कुरा समावेश छ?
◻ “सच्चा” भनेको सत्य अथवा असत्य हुनु मात्र होइन। यसको अर्थ बाहिरी ढोङ्ग मात्र नभई सत्यवादी, सोझो र भरोसायोग्य हुनु हो।—१ तिमोथी ६:२०.
◻ “आदरणीय” भन्नाले मर्यादित र सम्मानित कुराहरूलाई सङ्केत गर्छ। यसले अश्लील र तुच्छ नभई कुनै उच्च, महान तथा सम्माननीय कुराप्रति श्रद्धा भन्ने अर्थ बुझाउँछ।
◻ “धर्मी’ भन्नाको अर्थ परमेश्वरको स्तरमा पुग्नु हो, मानिसको होइन। सांसारिक मानिसहरू आफ्नो मन अधार्मिक षडयन्त्रहरूले भर्छन् तर हामीले परमेश्वरको नजरमा जे कुरा धर्मी छन्, त्यसबारे सोच्नु र आनन्दित हुनुपर्छ।—तुलना गर्नुहोस् भजनसंग्रह २६:४; आमोस ८:४-६.
◻ “चोखा” को अर्थ आचरण (लैङ्गिक अथवा अन्य कुराहरूमा) मात्र नभई सोचाइ तथा मनोवृत्तिमा शुद्ध र पवित्र हुनु हो। याकूब भन्छन्: “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र” हुन्छ। येशू, जो “पवित्र” हुनुहुन्छ हामीले विचार गर्न सक्ने सिद्ध उदाहरण हो।—याकूब ३:१७; १ यूहन्ना ३:३.
◻ “असल” त्यो हो जसले अरूमा प्रेम जगाउनुको साथै सो गर्न उत्प्रेरित गराउँछ। घृणा, कटुता र दुश्मनीमा हाम्रो मन लगाउनुको सट्टा हामीले “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्काको विचार राख्ने” गर्नुपर्छ।—हिब्रू १०:२४.
◻ “मनपर्दा” भन्नुको अर्थ “ख्यातिप्राप्त” अथवा “राम्रो नाम कमाएको” मात्र नभई क्रियाशील अर्थमा उत्थानदायी र सराहनीय हुनु हो। निर्लज्ज तथा आक्रामक कुराहरूको सट्टा हामी आफ्नो मन स्वस्थकर र उत्थानदायी कुराहरूमा लगाउँछौं।—एफिसी ४:२९.
◻ “सद्गुण” भन्नाले साधारणतया “भलाइ” अथवा “नैतिक श्रेष्ठता” बुझिन्छ तर यसले कुनै पनि प्रकारको श्रेष्ठता बुझाउन सक्छ। तसर्थ, परमेश्वरको स्तरअनुरूप अरूको मूल्यवान गुणहरू, योग्यता र उपलब्धिहरूको मूल्याङ्कन गर्न सक्छौं।
◻ “प्रशंसा” गर्न लायक कुराहरू वास्तवमा ती हुन् जसको प्रशंसा परमेश्वर अथवा उहाँद्वारा मान्यताप्राप्त अख्तियारबाट आउँछ।—१ कोरिन्थी ४:५; १ पत्रुस २:१४.
जीवन र शान्तिको प्रतिज्ञा
१७ पावलको सल्लाह पालन गर्दै “तिनै कुराको विचार” गर्दै रह्यौं भने “आत्मामा मन लगाउन” हामी सफल हुनेछौं। यसको परिणाम जीवनको आशिष अर्थात् प्रतिज्ञा गरिएको नयाँ संसारमा अनन्त जीवन मात्र नभई शान्ति पनि हुन्छ। (रोमी ८:६) किन? किनभने हाम्रो मन शारीरिक कामहरूका प्रभावदेखि सुरक्षित हुन्छ र पावलले वर्णन गरेअनुसार शरीर र आत्माबीचको कष्टप्रद सङ्घर्षले असाध्यै पीडित हुँदैनौं। शरीरको प्रभावको प्रतिरोध गरेर हामी परमेश्वरसित शान्ति पनि प्राप्त गर्छौं “किनकि शरीरतिर लागेको मनचाहिं परमेश्वरतर्फको शत्रुता हो।”—रोमी ७:२१-२४; ८:७.
१८ परमेश्वरको महिमा प्रतिबिम्बित गर्ने हाम्रो स्वरूपमा दाग लगाउन शैतान र त्यसका दूतहरूले भरमग्दूर प्रयास गरिरहेका छन्। तिनीहरू हाम्रो मनमा शारीरिक इच्छाहरू वर्षाएर नियन्त्रणमा राख्न खोज्छन्। किनभने त्यसले अन्तमा परमेश्वरसित शत्रुता र मृत्युतर्फ डोऱ्याउँछ भनेर तिनीहरूलाई थाहा छ। तर यस लडाइँमा हामी विजयी हुन सक्छौं। पावलजस्तै हामी पनि यसरी घोषणा गर्न सक्छौं: पतित शरीरमाथि पापको बन्धन विरूद्ध लड्न हामीलाई उपायहरू दिनुभएको लागि “येशू ख्रीष्ट, हाम्रो प्रभुद्वारा परमेश्वरमा धन्यवाद” छ।—रोमी ७:२५. (w94 6/15)
[फुटनोटहरू]
a “पाप” बुझाउन बाइबलले प्रायजसो हिब्रू शब्द चाटा र युनानी शब्द हार्माटानो प्रयोग गर्छ। यी दुवै शब्दहरूले “चुक्नु” अर्थात् कुनै लक्ष्य, चिह्न, अथवा निशाना गुमाउनु वा प्राप्त गर्न नसक्नु भन्ने अर्थ बुझाउँछ।
b परम्परागत अर्थमा सात घातक पापहरू घमण्ड, लोभ, कामवासना, ईर्ष्या, घिचुवापन, रीस र आलस्यपन हुन्।
के तपाईं बताउन सक्नुहुन्छ?
▫ पाप भनेको के हो र पतित शरीरमा त्यसले कसरी जरा गाड्न सक्छ?
▫ “शरीरमा मन लगाउनु” विरूद्ध हामी कसरी लड्न सक्छौं?
▫ “आत्मामा मन लगाउन” अग्रसर हुन हामी के गर्न सक्छौं?
▫ “आत्मामा मन लगाउँदा” जीवन र शान्ति कसरी पाइन्छ?
१. मानिसहरू कुन उद्देश्यको लागि सृजिएका थिए?
२. प्रथम दम्पती कसरी निशानासम्म पुग्न सकेनन्?
३. पापको वास्तविक प्रकृति के हो?
४-६. (क) पापबारे आज धेरैजसो मानिसको धारणा कस्तो छ? (ख) पापको आधुनिक विचारधाराहरूको परिणाम के भएको छ?
७. बाइबलअनुसार पापबाट मानिसहरू कसरी प्रभावित भएका छन्?
८. हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ? किन?
९. किन “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो”?
१०. “मन लगाउनु” को अर्थ के हो?
११. कयिनले शरीरमा कसरी मन लगाइरहेका थिए र परिणाम कस्तो भयो?
१२. “कयिनको मार्गमा” नहिंड्न हामीले के गर्नुपर्छ?
१३. कुनै पनि व्यक्ति कसरी “आफ्नै तृष्णाबाट खिंचिन” सक्छ?
१४. हामी दिनहुँ कस्ता कुराहरू सामना गर्छौं र हामीले यसप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्छ?
१५. पापको बन्धन विरूद्ध लड्न हामीसित कस्तो मदत उपलब्ध छ?
१७. “आत्मामा मन लगाउँदा” कस्ता आशिषहरू पाइन्छन्?
१८. शैतानले कस्तो लडाइँ लडिरहेको छ र हामी कसरी विजयी हुन सक्छौं?
[पृष्ठ २२-मा भएको चित्र]
कयिनले आफ्नै पतनतर्फ डोऱ्याउने शारीरिक झुकावहरूले प्रभुता जमाउन दिए
[पृष्ठ २३-मा भएको चित्र]
आत्मामा मन लगाउनुको अर्थ जीवन र शान्ति हो