“हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं”
“हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं।”—२ कोरिन्थी ५:७.
१. “विश्वासले हिड्[नुको]” अर्थ के हो?
परमेश्वरको वचनमा दिइएको निर्देशनबमोजिम हरेक चोटि प्रार्थना गर्दा आफूसित अलिकता भए पनि विश्वास छ भनी हामी देखाउँछौं। परमेश्वरको राज्यबारे अरूलाई साक्षी दिंदा पनि आफ्नो विश्वास प्रकट गर्छौं। अनि यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हामी साँच्चै ‘विश्वासले हिंड्न’ चाहन्छौं अर्थात् विश्वासले डोऱ्याइएको जीवन बिताउन चाहन्छौं भनेर प्रमाण दिइरहेका हुन्छौं।—२ कोरिन्थी ५:७; कलस्सी १:९, १०.
२. मण्डलीका क्रियाकलापहरूमा भाग लिंदैमा कसैसित विश्वास छ भन्न किन सकिंदैन?
२ साँच्चै, हामी त्यस्तो जीवन बिताउन चाहन्छौं भने हामीसँग ठोस विश्वास हुनुपर्छ। (हिब्रू ११:१, ६) यहोवाका साक्षीहरूको उच्च नैतिक स्तर तथा तिनीहरूबीचको प्रेमले गर्दा थुप्रै मानिसहरू आकर्षित हुन्छन्। यो राम्रो हो तर त्यस्तो महसुस गर्दैमा ती मानिसहरूसित विश्वास छ भन्न मिल्दैन। अर्कोतिर कसैको पति वा पत्नी अथवा आमाबाबुको बलियो विश्वास होला र ती प्रियजनहरूसित केही क्रियाकलापहरूमा भाग पनि लेलान्। घरमा त्यस्तो वातावरण हुनु ठूलो आशिष्को कुरा हो तर त्यति भएर मात्र पुग्दैन। व्यक्तिगत तवरमा परमेश्वरलाई प्रेम र उहाँमाथि विश्वास पनि गरेको हुनुपर्छ।—लूका १०:२७, २८.
३. (क) हामीसँग दृढ विश्वास हुन बाइबलप्रतिको हाम्रो व्यक्तिगत विश्वास कस्तो हुनुपर्छ? (ख) बाइबल प्रेरित पुस्तक हो भनेर कुनै कुनै व्यक्ति किन अरूभन्दा सहजै विश्वस्त हुन्छन्?
३ साँच्चै विश्वासले हिंड्नेहरू बाइबल परमेश्वरको वचन हो भनेर पक्का विश्वास गर्छन्। साँच्चै भन्ने हो भने धर्मशास्त्र ‘परमेश्वरबाट प्रेरणा भएको’ हो भन्ने प्रशस्त प्रमाणहरू छन्।a (२ तिमोथी ३:१६) कुनै व्यक्ति विश्वस्त हुन कत्तिको प्रमाणहरू केलाउनुपर्छ त? त्यो उसको पृष्ठभूमिमा भर पर्नसक्छ। कुनै व्यक्तिलाई पूरा चित्त बुझाउनसक्ने प्रमाण अर्कोलाई यथेष्ट नलाग्न सक्छ। कुनै कुनै व्यक्तिले प्रशस्त निर्विवाद प्रमाणहरू पाइसकेपछि पनि यथार्थलाई अझै नकार्नसक्छन्। किन? हृदयमा जरो गाडेका झुकाउहरूले गर्दा। (यर्मिया १७:९) तसर्थ, परमेश्वरका उद्देश्यहरूमा चासो छ भनेर दाबी गरे तापनि उसको मनले भने सांसारिक मानिसहरूको स्वीकृतिको लालसा गरिरहेको हुनसक्छ। ऊ बाइबल स्तर विपरीतको जीवनशैली त्याग्न अनिच्छुक भइरहेको हुनसक्छ। तथापि, सत्यको लागि साँच्चै भोको छ, मनको कुरा ढाकछोप गर्दैन र नम्र छ भने समयको दौडान बाइबल साँच्चै परमेश्वरको वचन हो भनेर जुनसुकै व्यक्तिले पनि बुझ्नेछ।
४. विश्वास हासिल गर्न व्यक्तिविशेषलाई कुन कुराको आवश्यकता पर्छ?
४ अक्सर बाइबल अध्ययन गरेको केही महिना नबित्दै मानिसहरूले बाइबल परमेश्वरको वचन हो भन्ने यथेष्ट प्रमाणहरू पाइसकेका हुन्छन्। यस्ता प्रमाणहरू पाएपछि यहोवाबाट सिकाइएको हुने चाह गर्छन् भने तिनीहरूको भित्री विचार, इच्छा तथा उत्प्रेरणाहरूलाई सिकेका कुराहरूले बिस्तारै असर गर्नथाल्छन्। (भजन १४३:१०) रोमी १०:१० अनुसार “हृदयबाट” मानिसले विश्वास गर्छ। उसलाई मनभित्र लागेका कुराहरू उसको विश्वासले झल्काउँछ र उसको जीवनपद्धतिमा पनि त्यो प्रकट हुन्छ।
नूहले दृढ विश्वासअनुसार काम गरे
५, ६. नूहको विश्वासको आधार के थियो?
५ नूहको विश्वास दृढ थियो। (हिब्रू ११:७) नूहसित त्यस्तो विश्वासको के ठोस आधार थियो? नूहसित परमेश्वरको वचन थियो। तर त्यो लिखित नभई मौखिक रूपमा थियो। उत्पत्ति ६:१३ मा यसो भनिएको छ: “परमेश्वरले नूहलाई भन्नुभयो, ‘सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ।’ ” यहोवाले नूहलाई जहाज बनाउने निर्देशनका साथै निर्माणसम्बन्धी विस्तृत जानकारी पनि दिनुभयो। त्यसपछि, परमेश्वरले यसो पनि भन्नुभयो: “जीवनको सास हुने सबै प्राणीलाई म आकाशमनिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।”—उत्पत्ति ६:१४-१७.
६ के यसअघि कहिल्यै पानी परेको थियो? यसबारे बाइबलमा केही उल्लेख गरिएको छैन। उत्पत्ति २:५ यसो भन्छ: “परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्षाउनुभएको थिएन।” तथापि, त्यो, नूहभन्दा धेरैपछि जन्मिएको मोशाले नूहको होइन कि नूह जन्मनुभन्दा धेरै अघिको समय कस्तो थियो भनेर दिन खोजेको विवरण हो। उत्पत्ति ७:४ अनुसार यहोवाले नूहसित कुरा गर्नुहुँदा पानीको उल्लेख गर्नुभयो र स्पष्टतः नूहले त्यो कुरा बुझे। यद्यपि, नूहले देखिने कुराको आधारमा विश्वास राखेका थिएनन्। नूहले “नदेखिएका कुरामा परमेश्वरबाट जनाउ पाए” भनी प्रेरित पावलले लेखे। पृथ्वीमा “जलप्रलय” ल्याउनेछु वा नयाँ विश्व अनुवाद-ले उत्पत्ति ६:१७ को पादटिप्पणीमा बताएअनुसार “स्वर्गको समुद्र” उघार्नेछु भनी परमेश्वरले नूहलाई भन्नुभयो। त्यतिबेलासम्म त्यस्तो घटना पहिले कहिल्यै भएको थिएन। तर नूहले आफूले देखेका सबै कुराबाट परमेश्वरले त्यस्तो विनाशकारी जलप्रलय ल्याउन सक्नुहुन्छ भनेर सुस्पष्ट प्रमाण पाइसकेका थिए। विश्वासैले गर्दा नूहले जहाज बनाए।
७. (क) परमेश्वरले अह्राउनु भएबमोजिम गर्न नूहलाई कुन कुरा आवश्यक थिएन? (ख) नूहको विश्वासलाई विचार गरेर हामी कसरी लाभान्वित हुन्छौं र हाम्रो विश्वास अरूको लागि कसरी आशिष् साबित हुनसक्छ?
७ जलप्रलय कहिले सुरु हुनेछ भनेर परमेश्वरले नूहलाई तारिख तोकेर दिनुभएको थिएन। तर नूहले हेर्दैजाऊँ भन्ने मनोवृत्ति राखेर जहाज बनाउने तथा प्रचार गर्ने कामलाई पन्छाएनन्। जलप्रलय हुनुभन्दा निकैअघि परमेश्वरले नूहलाई जहाजभित्र पस्ने आज्ञा दिनुभयो। त्यतिञ्जेल “नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२) नूह दृष्टिले होइन, विश्वासले हिंडे। तिनले त्यसो गरेकोमा हामी कत्ति कृतज्ञ छौं! तिनकै विश्वासले गर्दा आज हामी जीवित छौं। हाम्रो सन्दर्भमा पनि हामीले देखाउने विश्वासले हाम्रो मात्र होइन तर हाम्रा छोराछोरीको अनि वरपरका मानिसहरूको भविष्यमाथि गहन असर पार्नसक्छ।
अब्राहामको विश्वास
८, ९. (क) अब्राहामको विश्वास कुन कुरामा आधारित थियो? (ख) यहोवाले कसरी अब्राहामलाई ‘दर्शन’ दिनुभयो?
८ अर्को उदाहरणलाई ध्यान दिनुहोस्। त्यो हो, अब्राहाम। (हिब्रू ११:८-१०) अब्राहामको विश्वास कुन कुरामा आधारित थियो? तिनी हुर्केबढेका ठाउँ अर्थात् ऊरका कल्दीहरू मूर्तिपूजक तथा भौतिकवादी थिए। तर यी कुराहरूले नभई अन्य कुराहरूले नै अब्राहामको जीवनमा छाप पारे। तिनले पक्कै पनि नूहका छोरा शेमसँग संगत गर्नसके होलान् जो १५० वर्षसम्म अब्राहामसँगसँगै थिए। “स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वर” यहोवा नै हुनुहुन्छ भनेर अब्राहामलाई पूर्ण विश्वास थियो।—उत्पत्ति १४:२२.
९ अर्को एउटा कुराले पनि अब्राहामलाई गहिरो छाप पाऱ्यो। यहोवाले “अब्राहामलाई उनी हारानमा बस्न अघिनै मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो। औ तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्ना देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ ” (प्रेरित ७:२, ३) यहोवाले कुन ढंगमा अब्राहामलाई ‘दर्शन’ दिनुभयो? अब्राहामले परमेश्वरलाई प्रत्यक्ष त देखेनन्। (प्रस्थान ३३:२०) तथापि, यहोवाले सपनामा आफ्नो महिमाको अलौकिक प्रदर्शन गर्नुभएर या त कुनै स्वर्गदूत अथवा प्रतिनिधिको माध्यमद्वारा अब्राहामलाई दर्शन दिनुभएको हुनसक्छ। (उत्पत्ति १८:१-३; २८:१०-१५; लेवी ९:४, ६, २३, २४ तुलना गर्नुहोस्।) जुनसुकै माध्यमद्वारा यहोवाले दर्शन दिनुभएको होस्, उहाँले तिनलाई एउटा अनमोल सुअवसरको लागि तयार पार्दै हुनुहुन्थ्यो भनी अब्राहाम विश्वस्त थिए। अब्राहाम विश्वासअनुसार हिंडे।
१०. यहोवाले अब्राहामको विश्वास कसरी बलियो बनाउनुभयो?
१० परमेश्वरले जुन देशमा जान अह्राउनुभएको थियो, त्यो ठाउँका विवरणहरूको आधारमा अब्राहामले विश्वास राखेका थिएनन्। त्यो देश तिनलाई कहिले दिइनेछ भन्ने कुरामा पनि तिनको विश्वास आधारित थिएन। तिनीसित विश्वास थियो किनभने यहोवा सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनी तिनलाई थाह थियो। (प्रस्थान ६:३) अब्राहामको सन्तान हुनेछ भनी यहोवाले भन्नुभएको थियो तर त्यो कसरी सम्भव होला भनेर कहिलेकाहीं अब्राहामलाई मनमा लाग्थ्यो। तिनको उमेर ढल्कँदै गइरहेको थियो। (उत्पत्ति १५:३, ४) यहोवाले अब्राहामलाई ताराहरू हेर्न र क्षमताले भ्याउँछ भने गन्न लगाउनुभएर तिनको विश्वास सुदृढ बनाउनुभयो। परमेश्वरले भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” यस कुराले अब्राहाम निकै प्रभावित भए। ती अगम्य ताराहरू बनाउनुहुने सृष्टिकर्ताले आफ्नो प्रतिज्ञा अवश्य पूरा गर्न सक्नुहुन्छ भनी तिनलाई स्पष्ट भयो। अब्राहामले “परमप्रभुमाथि विश्वास गरे।” (उत्पत्ति १५:५, ६) ती कुराहरू कर्णप्रिय भएकोले मात्र अब्राहामले विश्वास गरेका थिएनन्। तिनीसँग दृढ विश्वास थियो।
११. (क) बूढी भइसकेकी साराले छोरो जन्माउनेछिन् भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञाप्रति १०० वर्ष उमेर पुग्नै लागेको अब्राहामले कस्तो प्रतिक्रिया देखाए? (ख) अब्राहामले कस्तो विश्वाससहित आफ्ना छोरोलाई मोरियाहमा लगेर बलिदान चढाउनुपर्ने जाँचको सामना गरे?
११ अब्राहाम १०० वर्ष र तिनकी पत्नी सारा ९० वर्ष पुग्नै लाग्दा साराले छोरा जन्माउनेछिन् र अब्राहामको सन्तान हुनेछ भन्ने आफ्नो प्रतिज्ञा यहोवाले फेरि एक चोटि दोहऱ्याउनुभयो। अब्राहामले व्यवहारिक भएर आफ्नो स्थिति सोचे। “परमेश्वरको प्रतिज्ञाको बारेमा अविश्वासले डग्मगाएनन्, तर परमेश्वरलाई महिमा दिएर विश्वासमा स्थिर भइरहे। औ जे उहाँले प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा पनि गर्नसक्नुहुन्छ भन्ने कुरा उनलाई बिलकुल निश्चय भए।” (रोमी ४:१९-२१) परमेश्वरको प्रतिज्ञा बेकार जानसक्तैन भनी अब्राहामलाई थाह थियो। पछि, परमेश्वरले छोरा इसहाकलाई मोरियाहमा लगेर बलिदान चढाऊ भन्नुहुँदा समेत विश्वासले गर्दा अब्राहाम आज्ञाकारी भए। (उत्पत्ति २२:१-१२) चमत्कारपूर्ण ढंगमा छोरोको जन्म गराउन सक्नुहुने परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्न उसलाई बचाउन पनि सक्नुहुन्छ भनी अब्राहामलाई पूर्ण विश्वास थियो।—हिब्रू ११:१७-१९.
१२. कहिलेसम्म अब्राहाम विश्वासले हिंडे र दृढ विश्वास प्रदर्शन गर्ने तिनी र तिनको परिवारले कस्ता इनाम पाउनेछ?
१२ अब्राहामले कहिलेकाहीं मात्र होइन तर जीवनभर नै विश्वास देखाए। अब्राहामले आफ्नो जीवनकालमा परमेश्वरबाट प्रतिज्ञा गरिएको देशको अलिकता अंश पनि पाएनन्। (प्रेरित ७:५) यद्यपि, तिनी निराश भएर कल्दीहरूको देश ऊर फर्केनन्। आफ्नो मृत्यु नहोउञ्जेलसम्म अर्थात् १०० वर्षसम्मै तिनी परमेश्वरले पठाउनुभएको देशमा पाल टाँगेर बसे। (उत्पत्ति २५:७) तिनी, तिनकी पत्नी सारा, छोरा इसहाक र नाति याकूबबारे हिब्रू ११:१६ यसो भन्छ: “तिनीहरूकै परमेश्वर हुँ भन्नालाई परमेश्वर तिनीहरूसँग शर्माउनुभएन, किनभने उहाँले तिनीहरूका निम्ति एउटा शहर तयार गरिदिनुभयो।” हो, यहोवाले आफ्नो मसीही राज्यको पार्थिव संसारमा तिनीहरूका निम्ति ठाउँ साँचेर राख्नुभएको छ।
१३. यहोवाका जनहरूमध्ये आज कसले अब्राहामको जस्तै विश्वासको प्रमाण दिइरहेका छन्?
१३ आज पनि यहोवाका जनहरूबीच अब्राहामले जस्तै विश्वास देखाउने व्यक्तिहरू छन्। तिनीहरू विश्वासअनुसार हिंडेको वर्षौं भइसक्यो। परमेश्वरबाट बल पाएर तिनीहरूले पहाडरूपी समस्याहरू पार गरेका छन्। (मत्ती १७:२०) परमेश्वरले प्रतिज्ञा गर्नुभएको सम्पत्ति कहिले दिनुहुने हो भनी थाह नभए तापनि तिनीहरूको विश्वास ढलपल भएको छैन। परमेश्वरको वचन टल्नसक्दैन भनी तिनीहरूलाई थाह छ र तिनीहरू उहाँको साक्षी हुन पाउनु अनमोल सुअवसर ठान्छन्। के तपाईंलाई पनि त्यस्तै लाग्छ?
मोशालाई उत्प्रेरित गर्ने विश्वास
१४. मोशाको विश्वासको आधार कसरी तयार पारियो?
१४ विश्वासको अर्को उदाहरण मोशा हुन्। तिनको विश्वासको आधार के थियो? शैशवकालदेखि नै त्यो आधार तयार पारिएको थियो। फिरऊनकी छोरीले मोशालाई नील नदीको किनारामा पपाइरसका टोकरीमा फेला पारेर आफ्नो धर्मपुत्र बनाए तापनि मोशाका आफ्नै यहूदी आमा, योकेबेदले तिनको स्याहारसुसार गरेर लालनपालन गरिन्। स्पष्टतः योकेबेदले तिनलाई यहोवालाई प्रेम गर्न र उहाँले अब्राहामलाई गर्नुभएका प्रतिज्ञाहरूप्रति मूल्यांकन गर्न सिकाइन्। पछि, फिरऊनको परिवारका सदस्यको रूपमा मोशालाई “मिश्रीहरूका सारा विद्यामा निपुण” गराइयो। (प्रेरित ७:२०-२२; प्रस्थान २:१-१०; ६:२०; हिब्रू ११:२३) यद्यपि, आफ्नो विशेष ओहदाको बावजूद मोशा दास तुल्याइएका परमेश्वरका जनहरूको चिन्ता गर्थे।
१५. यहोवाका जनहरूमध्ये एक हुन मोशाले के के गर्नुपर्थ्यो?
१५ एक जना इस्राएलीप्रति कठोर व्यवहार गर्ने मिश्रीलाई मोशाले मारे। यतिबेला तिनी ४० वर्षका थिए। मोशा परमेश्वरका जनहरूलाई कुन दृष्टिले हेर्थे भनेर उक्त घटनाले देखाउँछ। साँच्चै, “विश्वासैबाट मोशा जवान भएपछि फिरऊनकी छोरीको छोरा कहलिनालाई इन्कार गरे।” विश्वासबाट उत्प्रेरित मोशा, मिश्री दरबारमा बसेर “केही समयसम्म पापको सुख भोग्नभन्दा” परमेश्वरका जनहरूसँगसँगै दुर्व्यवहार भोग्न उत्प्रेरित भए।—हिब्रू ११:२४, २५; प्रेरित ७:२३-२५.
१६. (क) यहोवाले मोशालाई कस्तो काम अह्राउनुभयो अनि उहाँले तिनलाई कसरी मदत गर्नुभयो? (ख) आफूलाई अह्राइएको काम गर्दा मोशाले कसरी विश्वास प्रदर्शित गरे?
१६ आफ्ना जनहरूलाई छुटकारा दिन मोशा उत्सुक थिए तर तिनीहरूलाई छुटाउने परमेश्वरको समय आइसकेको थिएन। मोशा मिश्रबाट भाग्नुपऱ्यो। झन्डै ४० वर्ष बितेपछि मात्र यहोवाले मोशालाई मिश्र फर्केर इस्राएलीहरूलाई छुटाउन स्वर्गदूत मार्फत अह्राउनुभयो। (प्रस्थान ३:२-१०) मोशाले के गरे? यहोवाले इस्राएलीहरूलाई छुटाउन सक्नुहुन्न होला भनेर तिनले शंका गरेनन् बरु परमेश्वरले अह्राउनुभएको काम पूरा गर्न आफू योग्य नभएको महसुस गरे। यहोवाले मोशालाई मायालु ढंगमा प्रोत्साहन दिनुभयो। (प्रस्थान ३:११–४:१७) मोशाको विश्वास झन् बलियो भयो। तिनी मिश्र फर्के अनि यहोवाको उपासना गर्न इस्राएललाई मुक्त गरेनन् भने मिश्रमाथि विपत्तिहरू आइपर्नेछन् भनेर फिरऊनसामु खडा भई बारम्बार चेताउनी दिए। आफैले ती विपत्तिहरू ल्याउने शक्ति मोशासित थिएन। तिनी दृष्टिले होइन तर विश्वासले हिंडे। तिनले यहोवा र उहाँको वचनमा विश्वास राखेका थिए। फिरऊनले मोशालाई धम्की दिए। तर मोशा डगेनन्। “विश्वासैबाट राजाको क्रोधसँग नडराएर तिनले मिश्र देश छोड़े। किनकि अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) मोशा सिद्ध थिएनन्। तिनले गल्तीहरू गरे। (गन्ती २०:७-१२) तथापि, परमेश्वरले अह्राउनुभएपछि तिनले आफ्नो सम्पूर्ण जीवन नै विश्वासअनुसार बिताए।
१७. विश्वासले हिंडेको हुनाले नूह, अब्राहाम र मोशाले कस्तो इनाम पाए?
१७ तपाईंको विश्वास पनि नूह, अब्राहाम र मोशाको जस्तै होस्। हो, तिनीहरूले आफ्नो जीवनकालमा परमेश्वरको नयाँ संसार देखेनन्। (हिब्रू ११:३९) परमेश्वरले तोक्नुभएको समय अझै आएको थिएन। उहाँको उद्देश्यका अन्य पक्षहरू पूरा हुन बाँकी नै थियो। तैपनि परमेश्वरको वचनमाथिको तिनीहरूको विश्वास ढलपल भएन। तिनीहरूको नाउँ परमेश्वरको जीवनको पुस्तकमा लेखिएको छ।
१८. स्वर्गीय जीवन बिताउन बोलाइएकाहरू विश्वासले हिंड्न किन अत्यावश्यक छ?
१८ प्रेरित पावल लेख्छन्, “परमेश्वरले हाम्रा विषयमा केही असल कुराको बन्दोबस्त मिलाउनुभएको थियो।” मतलब, प्रेरित पावलजस्तै ख्रीष्टसित स्वर्गीय जीवन बिताउन बोलाइएकाहरूका निम्ति परमेश्वरले केही असल कुराको बन्दोबस्त मिलाउनुभयो। (हिब्रू ११:४०) पावलले २ कोरिन्थी ५:७ लेख्दा विशेषगरि यस्तैहरूलाई सम्झिरहेका थिए: “हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं।” यो कुरा लेखिएको समयमा तिनीहरूमध्ये कसैले पनि स्वर्गीय इनाम पाइसकेका थिएनन्। तिनीहरूको भौतिक आँखाले त्यो इनाम देखेनन् तर त्यसमाथिको तिनीहरूको विश्वास भने अटल थियो। ख्रीष्ट बिउँतनुभइसकेको थियो, स्वर्गीय इनाम पाउनेहरूमध्ये उहाँ नै पहिलो फल हुनुहुन्थ्यो। अनि उहाँको स्वर्गारोहण हुनुअघि लगभग ५०० व्यक्तिहरूले उहाँलाई देखेका थिए। (१ कोरिन्थी १५:३-८) विश्वासअनुसार आफ्नो जीवन चलाउने यथेष्ट कारण तिनीहरूसित थियो। हामीसित पनि विश्वासअनुसार हिंड्ने ठोस कारणहरू छन्।
१९. हिब्रू १:१, २ अनुसार परमेश्वर को मार्फत हामीसँग बोल्नुभएको छ?
१९ आज, बलेको पोथ्राबीच मोशासित स्वर्गदूत मार्फत कुरा गर्नुभएझैं यहोवा आफ्ना जनहरूसित कुरा गर्नुहुन्न। परमेश्वर आफ्ना पुत्र मार्फत बोल्नुभएको छ। (हिब्रू १:१, २) परमेश्वरले यी पुत्र मार्फत भन्नुभएका कुराहरू बाइबलमा लिपिबद्ध गर्नुभएको छ र यसलाई संसारभरिका मानिसहरूले बोल्ने भाषाहरूमा अनुवाद पनि गरिएको छ।
२०. नूह, अब्राहाम र मोशाको भन्दा हाम्रो परिस्थिति कसरी निकै सुगम छ?
२० नूह, अब्राहाम र मोशासित भन्दा हामीसित धेरै प्रमाण छ। हामीसित परमेश्वरको सिंगो वचन छ र त्यसको अधिकांश भाग पूरा भइसकेका पनि छन्। हर प्रकारका परीक्षाहरूसामु यहोवाका विश्वासी साक्षी भएर बस्ने पुरुष तथा स्त्रीहरूबारे बाइबलले बताउने कुराहरूलाई समेटी हिब्रू १२:१ हामीलाई यस्तो आग्रह गर्छ: “हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।” हाम्रो विश्वास हल्कासित लिने कुरा होइन। “सजिलैसित अल्मल्याउने पाप” विश्वासको कमी हो। ‘विश्वासले हिंड्न’ कडा संघर्ष गर्नुपर्छ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्वरको वचन वा मानिसको? (अंग्रेजी) हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ ‘विश्वासले हिंड्नुमा’ कुन कुरा बिथोलित छ?
◻ नूहले देखाएको विश्वासबाट हामी कसरी फाइदा उठाउनसक्छौं?
◻ अब्राहामले गरेको विश्वासले हामीलाई कसरी मदत गर्छ?
◻ मोशा विश्वासको एउटा उदाहरण हुन् भनेर बाइबलले किन औंल्याउँछ?
[पृष्ठ १०-मा भएको चित्र]
अब्राहाम विश्वासले हिंडे
[पृष्ठ १०-मा भएको चित्र]
फिरऊनको सामने मोशा र हारूनले विश्वास प्रदर्शित गरे