मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ?
१. मृत्यु माथि विजय गर्ने विषयमा सोचेर ल्याउदा, हामीमा के कस्तो विचार उत्पन्न हुन्छ?
मृत्यु माथि विजय! त्यो कस्तो सुखमय घटना होला! सोंचेर बस्दा मात्र पनि हृदय आनन्दले भरेर आउँछ। तर उहिले देखिनै यसको ठीक विपरीत हुँदै आएको छ। मृत्यु पो मानिस माथि विजयी भएको छ। मृत्युले नै राज्य गरेको छ। यसकारण, यो क्रमलाई अब कसरी उल्टाउन सकिन्छ होला? यो काम कसले गर्न सकला हो? मृत्यु माथि विजयी हुन के तपाईको लागि सम्भव होला?
मृत्युको प्रारम्भ
२, ३. ऋग-वेदको लेख अनुसार, मानिस जातिमा मृत्यु कसरी आयो?
२ मृत्यु एउटा वास्तविकता हो। मृत्यु कुनै एउटा कथा होइन। शोक ले छटपटाएका हाम्रा मानव परिवारलाई यो राम्रो सँग थाह छ। मृत्युको प्रारम्भको सिलसिलामा, हिन्दू शास्त्र ऋग वेद अनुसार, प्रथम पुरुषको एउटा अर्को नाम यम पनि हो। यमको जमल्याहा बैनीको नाम यमी हो। यमीनै प्रथम स्त्री पनि हो। ऋग-वेदमा यस प्रकार लेखिएको छ: “पृथ्वी र आउने दिनहरू समझेर, एउटा पुत्रलाई जन्म दे। त्यो पुत्र आफ्नो पिताको सन्तान होस्। हो, अमर देवहरूले तँ एक मात्र मरणशिल प्राणीको सन्तान देख्न चाहन्छन।” (ऋग-वेद १०.१.३)१ यसकारण, ऋगवेदको लेख अनुसार यम नै एक मात्र “मरणशील प्राणी” अर्थात प्रथम पुरुष हो, अनि “पृथ्वी र आउने दिन हरूको निम्ति” सन्तान जन्माउने अनुमति उसलाई स्वर्गबाट प्राप्त थियो।
३ तर मानव परिवारमा मृत्युको प्रारम्भ बारे ऋग वेदले यसो भन्छ: “यमले मृत्यु रोज्यो। यमले मानिसको भलाइको निम्ति अनन्त जीवन रोजेन।” (ऋगवेद १०:१३.४) यमको नामको अर्थ “समाप्ति”२ हो। पृथ्वीमा अनन्त जीवन समाप्त गर्ने व्यक्तिको निम्ति यो भन्दा अझ सुहाउँदो अर्को नाम हुनै सक्तैन।
४. (क) मृत्युको प्रारम्भ बारे बाइबलमा दिइएको वर्णनको झझल्कोहरू ऋगवेदमा किन पाइन्छ? (ख) परमेश्वरले आदमलाई मृत्युको कारण कुन शब्दहरूमा बुझाउनु भयो?
४ यम बारे यो कथा लेखिनु भन्दा धेरै नै अघि, प्रथम पुरूष र स्त्री द्वारा मानव परिवारमा मृत्यु प्रवेश भएको वर्णन बाइबलमा दिइसकेको थियो। बाइबलका यिनै प्राचीन व्याख्याहरूका झल्कोहरू ऋगवेदको ती उद्धरणहरूमा पाइन्छ। उदाहरणका लागि, बाइबलमा दिइएका व्याख्या अनुसार, प्रथम पुरूष र स्त्री दुवै नजिकको साइनु पर्नेहरू थिए। आदमले ता स्वयं आफ्नी स्वास्नीलाई: “यो ता मेरै हाड़को हाड़ र मासुको मासु हो” भनेको पढ़छौं। (उत्पत्ति २:२३) साथै, त्यो प्रथम मानव जोड़ीले “फल्दै, फुल्दै, पृथ्वीलाई” भर्ने आदेश परमेश्वर बाट पाएका थिए। (उत्पत्ति १:२८) तर प्रथम पुरुष आदम जानी-जानी अनाज्ञाकारी भएको हुना कारण, उसले जीवन इन्कार गऱ्यो। उसले मृत्यु रोज्यो। यो रोजाइ मानिसको भलाइको निम्ति अवश्य भएन। परमेश्वरको न्यायोचित् फैसला अनुसार, आदमको जम्मै सन्तानले वंशानुगत् अनन्त जीवन गुमाये। बाइबलमा यी शब्दहरू पाउछौं: “त्यसपछि आदमलाई उहाँले भन्नु भयो: ‘तैले तेरी स्वास्नीको कुरा सुनेर मैंले नखानू भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवन भरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्। औ माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।’”—उत्पत्ति ३:१७, १९.
५. आदमको सन्तान माथि यसको के असर परयो, र किन?
५ प्रथम पुरुषको कार्यले गर्दा उस्को सन्तान माथि परेको असरको व्याख्या बाइबलमा यस प्रकार छ: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पाप बाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” सृष्टिकर्ता परमेश्वरको आज्ञा उलङ्घन गरेको सजाय मृत्यु हो। परमेश्वर तर्फ अनाज्ञाकारी हुनु पाप हो। अनि “पापको ज्याला मृत्यु हो।”—रोमी ५:१२; ६:२३.
६. (क) ऋग-वेदमा पनि पापलाई के मृत्युको ज्याला ठानेको छ र? (ख) ऋग-वेदका लेखकहरूले स्वर्ग प्रति कस्तो वाध्यता अनुभव गरे पनि अनुभव गरेको?
६ ऋगवेदमा पनि इश्वरीय व्यवस्थाको उल्लङ्घन गर्नु पाप हो र यसको सजाय मृत्यु हो। ऋगवेदमा यसो भनिएको पाउँछौं: “हे इश्वर वरूण, हामी मनुष्य हौं। दिनदिनै तपाईको कानून हामी उल्लङ्घन गर्छौं तर बिन्ति, हामीलाई मृत्युको शिकार हुन नदिनुहोस्। तपाईंको क्रोधमा हामी नष्ट नहौं।” (ऋगवेद १. २५. १, २) वैदिक लेखकहरूले पनि पाप अनुभव गरेको देखिन्छ। उहाँहरूले पनि मृत्युलाई पापको सजाय नै ठाने। आफ्नो देवताहरूलाई अन्य प्रार्थना र बलिदानहरू द्वारा प्रसन्न पार्ने कोशिश गरेको देख्छौं। ऋगवेदमा पाप हटाउने उदेश्य भएका अन्य प्रार्थनाहरू पाईन्छ। साथै पापहरूको प्रायश्चित को निम्ति चढ़ाउनु पर्ने बलिदानहरू पनि धेरै छन्। वरूण देवतालाई नैतिक कानूनको पालक मानेका छन्। मानिसले परमेश्वरको सामने कुनै न कुनै कानूनी आवश्यकता पूरा गर्नु परेको छ भनेर ऋगवेदका लेखकहरूले महसूस गरेको हुनु पर्छ।३
मृत्युको डर
७. मृत्यु भन्ना साथै मानव जातिमा के असर पर्छ?
७ हाम्रो मानव परिवार भित्र मृत्यु वास्वतमा एउटा शोकपूर्ण अनुभव हो। बाँच्नेहरूका हृदयमा दुःखजनक क्षति र नैराश्य छाउँछ। साधारणतया मृत्यु तर्फ मानिसजातिको मित्रभाव छैन। संस्कृत भाषामा मृत्युलाई मृत्यु नै भन्छन्। ऋगवेद अनुसार डर अथवा भयको पुत्रको नाम मृत्यु हो। यहाँ मृत्यु र डर, दुवै बीच, नजीकको सम्बन्ध देखिन्छ। र हुनु पनि हो, प्राचीन वैदिक लेखहरूमा मृत्युलाई डरको दृष्टिले हेर्दथे।४
८. मृत्युको डरको स्वीकृति कसरी गरिएको छ?
८ मानिसमा मृत्युले, हो, डर उत्पन्न गराउँछ। यो कुरा हिन्दू लेखक रोहित मेहताले स्वीकारनु भएको छ५ उहाँले हिन्दू शास्त्र उपनिषदको एउटा उपमाको छलफलगर्नु हुँदै यसो भन्नु भयो: “प्रश्नगर्ने त्यो निर्भय जवानलाई, मृत्युले आफ्नो रहस्य किन बताउन चाहेन? किनभने मानिसलाई मृत्युको रहस्य थाहा भयो भने मृत्युको डर कसैले पनि मान्ने छैनन् भनेर यमले ठान्यो होला।”
९. (क) मानिसलाई मृत्युको डरले कसरी दासत्वमा राखेको छ? (ख) यो डर हटाउनमा केले मदद दिन सक्छ?
९ मृत्युको यो डरलेगर्दा मानवजाति हर प्रकारको अन्धविश्वास र जोखाना हरूको दासत्वमा बाँधिएका छन्। बाइबलमा पनि यिनीहरूको चर्चा छ जो “मृत्युको डरले जीवनभरि दासत्वमा फँसेको” छन्। (हिब्रू २:१५) मृत्युकै डरले गर्दा मानिस अन्धविस्वासमा आधारित् असंख्य प्रथाहरूमा बाँधिएको छ? र यी प्रथाहरूले जीवनको स्वतन्त्रता मा बाधा पुऱ्याउछन्। उदाहरणका लागि “साइतहरूको ज्ञान” नामक हिन्दू पुस्तक पूर्णतया ज्योतिष विद्या सँग सम्बन्धित् छ।६ साथै, “छेपारोको व्यवस्था” अर्न्तगत एक मुष्ठ साइतहरू दिइएको छ।७ त्यसमा दिइएको मध्य सबैभन्दा खराब चिन्ह विरालोले बाटो काटनु हो। यसलाई मृत्यु को चिन्ह भन्छन्। यसरी, साइत बेसाइत भन्ने कुराहरू जम्मै मृत्युको डरलेगर्दा उत्पन्न भएका हुन्। हो, मानिसको हर कामकुरोमा मृत्युको डरको ठूलो असर देखिन्छ। तापनि, मृत्यु वास्तवमा के हो भन्ने कुरा बुझ्नु भयो भने, यो डर निकैनै कम हुन सकछ।
प्राण र आत्मा—ती के हुन्?
१०. (क) मृत्यु बारे के प्रश्नहरू उठाइन्छन्? (ख) यी प्रश्नहरूको सत्य उत्तर कसरी पाउन सकिन्छ?
१० मरेकाहरू कहाँ छन्? मृत्यु पश्चात तिनीहरू के अवस्थामा हुन्छन्? आखिर, मृत्यु हो के? “प्राण” र “आत्मा”, यी दुई शब्दको अर्थ नबुझेको हुनाकारण, मरेका मानिसहरूको अवस्था बारे धेरैजना अनिश्चित् छन्। साथै, माथि दिइएका प्रश्नहरूको सत्य उत्तर प्राप्त गर्नका निम्ति, यी दुई शब्दका मूल अर्थ र पछि आउने धर्मका विद्वानहरूले लगाएका अर्थ छुटयाउन आवश्यक छ। यस विषयमा सत्य कुरा थाहा लाउने हो भने, मानव कल्पनामा आधारित् विचारधाराहरूबाट पनि जोगिनु पर्छ। किनभने एउटा धर्मगुरुले लगाएको अर्थ र अर्को धर्मगुरूको शिक्षा दुवै धेरै जसो बेग्ला-बेग्लै हुन्छन्। त्यस्तैगरी, “प्राण” र “आत्माको” मूल अर्थ र पछि-पछि लगाएको अर्थ पनि एउटै हुने छैन।
११, १२. (क) संस्कृतमा आत्मा को अर्थ के हो? (ख) परमेश्वरलाई पनि किन आत्मा भनिन्छ?
११ उदाहरणका लागि, अकसर संस्कृत शब्द आत्माको ठाउँमा “प्राण” शब्द प्रयोग गर्छन्। के यसो गर्नु ठिक हो? कसै-कसैको विचारमा, यो संस्कृत शब्द आत्मा आँ बाट आएको हुनुसकछ भन्छन्। आँ को अर्थ “सास” हो; तर अरूहरूको अनुसन्धान अनुसार “आत्मा” भन्ने शब्द संस्कृतको आत शब्दबाट पनि आएको हुन सक्छ किनभने “आतको” अर्थ “चहल-पहल गर्नु” हो, तर अझै अरूहरूले यो “आत्मा” शब्द वा बाट पनि लिइएको हुन सकछ भन्छन् किनभने “वा”को अर्थ “फुक्नु” हो। तर सबै भन्दा प्राचीन विचार अनुसार आत्माको मूल अर्थ “सास” हो।८ यो चासोको कुरा हो किनभने बाइबलको धेरै जसो भाग हिब्रु र यूनानी भाषाहरूमा लेखिएको थियो र हिब्रु भाषामा “आत्मालाई” (रूआह) र युनानी भाषामा (न्यूमा) भन्छन्। यी दुवै शब्दको अर्थ “सास” र “बतास” हो। साथै अंग्रेजी भाषामा पनि आत्मालाई “स्पिरिट” भन्छन् र यो शब्द ल्याटिन भाषाको स्पिंरिटस बाट लिइएको हो। ल्याटिनमा स्पिरिटसको अर्थ “श्वास लिनु” हो।
१२ हिब्रु, यूनानी र अंग्रेजी भाषाहरूमा “आत्मा” शब्द बेग्ला बेग्लै ढङ्गमा प्रयोग गर्न सकिन्छ। तर जुन सुकै ढङ्गमा प्रयोग गरिएतापनि, आत्माको मूल अर्थ एउटै हो:९ सास या बतास झैं चहल पहल गर्ने अदृश्य शक्ति। यसकारण, संस्कृत शब्द आत्मा को अंग्रेजीमा उचित अनुवाद “स्पिरिट” हो। जसलेगर्दा बाइबलमा “परमेश्वर आत्मा हुनुहुन्छ।” युहन्ना ४:२४ को अर्थ परमेश्वर अदृश्य र शक्तिशाली हुनुहुन्छ भन्नु हो। तर यस्को मतलब परमेश्वर एउटा व्यक्तित्वहीन आत्मिक शक्ति मात्र होइन। परमेश्वर सधैं नै एउटा सम्पूर्ण आत्मिक व्यक्ति हुनुहुनथियो र हुनुहुन्छ!
१३, १४. प्राणको ठाउँमा कुन संस्कृत शब्द प्रयोग गरिएको छ र त्यस्को अर्थ के हो?
१३ बाइबलमा उत्पत्ति २:७ मा मानिस “जीवित प्राणी भयो” भनिएको पाउछौं। यहाँ हिब्रु शब्द नेफेश को ठाउँमा नेपाली शब्द “प्राण” प्रयोग गरिएको छ। यो हिब्रु शब्द नेफेश को मूल अर्थ “स्वास लिनु” हो। तर नेफेश शब्दले एउटा “जीवित व्यक्ति” लाई सङ्केत गर्दछ। उत्पत्ति २:७ लाई संस्कृतमा भन्ने हो भने, वाक्य यस प्रकार हुनेछ: “स सात्माप्राणी बभुव।” सात्मा प्राणी मा तीन शब्द छन्। अर्थात स-आत्मा-प्राणी।१० स को अर्थ “सँग हो;” यस पश्चात् “आत्मा”११ छ। प्राणी को अर्थ हो “जीवन, जोश र श्वास।”१२ संस्कृतमा प्राणीको१३ अर्थ साधारणतया जीवित व्यक्ति वा जीवात हो। हिब्रुमा नेफेश को अर्थ जस्तै।
१४ संस्कृतमा प्राणी को शाब्दिक् अर्थ “सास लिने”१४ चीज वा व्यक्ति पनि हुनु सकछ। हिब्रुमा नेफेश को पनि त्यही अर्थ लाग्छ। जानवरहरू पनि श्वास लिन्छन्। यसैकारण उत्पत्ति २:१९ मा नेफेश शब्द जानवरहरूका लागि पनि प्रयोग हुँदा, संस्कृत बाइबलका अनुवादकहरूले त्यहाँ “प्राणी” शब्दनै राखेका छन्। हो, हिब्रु शब्द नेफेश र युनानी शब्द सायखे को ठाउँमा संस्कृत बाइबलमा प्राण शब्दको प्रयोग भएको, आत्मा होइन।
१५. संस्कृत भाषामा उत्पत्ति २:७ र १ कोरिन्थी १५:४५ को अनुवाद कसरी गरिएको छ?
१५ “मानिस जीवित प्राणी” भयो भन्ने वाक्यलाई संस्कृतमा “स सात्माप्राणी बझुवा” भन्छन्। र अंग्रेजीमा यसको अनुवाद गर्दा, यस प्रकार भन्न सकिन्छ “आत्मा सहितको मानिस प्राणी भयो”। (उत्पत्ति २:७) नेपाली मा यही कुराको अनुवाद गर्दा यस्तो हुन्छ: “मानिस जीवित प्राणी भयो।” उत्पत्तीमा यही कुरालाई पावलले पनि १ कोरिन्थी १५:४५ मा यस प्रकार भन्नु भएको छ: “प्रथम पुरुष जीवित प्राणी भयो।” संस्कृत बाइबलमा १ कोरिन्थी १५:४५ यसरी दिइएको छ: “पुरूष आदम जीवप्राणी बभुवा।” यहाँ जीवित प्राणीलाई१५ जीवन प्राणी भनेको पाउँछौं।
१६. प्राण र आत्माको अर्थ बारे किन गड़बड़ी छ? यो गड़बड़ी किन न हुनु पर्ने?
१६ तर कुनै कुनै पूर्वीय भाषाहरूमा आत्माको ठाउँमा “प्राण” र प्राणको ठाउँमा “आत्मा” प्रयोग गर्छन र यसले गर्दा गड़बड़ी उत्पन्न हुन्छ।१६ साथै अनेक भाषाहरूमा बाइबलको अनुवाद हुँदा, अनुवादकहरूले आफ्नो व्यक्तिगत धार्मिक विचारधारा अनुसार यी शब्दहरू प्रयोग गर्न थाले।१६ तापनि, बाइबलको मूल भाषाहरू र संस्कृत भाषामा “प्राण” (नेफेश) र “आत्मा” (रूआह) बेग्ला बेग्लै अर्थ भएका बेग्ला बेग्लै शब्दहरू हुन्।a
१७. प्राण र आत्मा बारे सत्य कुरा कसरी मात्र बुझ्नु सकिन्छ?
१७ “आत्मा” र “प्राण” बारे सत्य कुरा बुझ्ने हो भने ती दुई शब्दको दुई बेग्ला-बेग्लै अर्थ र बेग्ला-बेग्लै प्रयोग छुटयाउन सकनु पर्छ। बाइबलमा हिब्रु ४:१२ मा दिइएको कुरा अनुसार यी दुई शब्दको एउटै अर्थ हुनै सक्तैन। त्यहाँ यस प्रकार लेखिएको पाउँछौं: “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुई-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई . . . जाँच्न सक्ने हुन्छ।” साथै १ थिस्सलोनिकी ५:२३ मा पनि यी दुई शब्दको आपसी भिन्नता जाहेर हुँदछ।
१८. (क) कुन् प्रश्नले मानिसलाई कैंयौं शताब्दी देखि अलमलाएको छ? (ख) वैदिक जमानामा पनि यस विषयबारे कुन् कुन् विभक्त विचारधाराहरू थिए?
१८ त्यसकारण, यो प्राण भन्ने चीज के हो? के मानिसको मृत्यु हुँदा उस्को प्राण अमर रहन्छ? यो प्रश्नले धेरैलाई कैंयौं शताब्दी देखि अलमलाउदै आएको छ। कथा उपनिषदमा१७ नचिकेता नामक एउटा जवान र मृत्युको देवताको बीचको वार्तालाप दिइएको छ। नचिकेताको अनुरोध यसप्रकार छ: “कोइ भन्छन् मृत्यु पश्चात् प्राण अमर रहन्छ। कोइ भन्छन प्राण अमर रहन्दैन। हजुरले यो प्रश्नको सत्य उत्तर मलाई बताई दिनु होस्। मेरो तेश्रो बिन्ती यही हो।” यो प्रश्न अनुसार, मृत्यु पश्चात प्राण अमर रहनेकुरा उपनिषदमा पनि शङ्कास्पद रहेछ भनी बुझिन्छ। तर अब हेरौं उपनिषदले यो प्रश्नको के उत्तर दिनेछ। “नचिकेता, यो विषय बारे देवताहरूले पनि शङ्का गरे। यो विषय बुझ्नु सजिलो छैन। यो विषय रहस्यपूर्ण छ। अर्कै माँग गरः। म माथि जोर नगर। यो माँग बाट मलाई छुटकारा देउ।”१८ यसप्रकार कुनै-कुनै धार्मिक समुदायहरू यो प्रश्नको जवाब बारे अनिश्चित् छन्।
१९. धार्मिक विचार धारा भएका कुनैकुनै मानिसहरूले मृत्यु पश्चात को जीवन बारे के विचार अपनाएका छन?
१९ तापनि, मृत्यु पश्चात् मानिस बाँचीनै रहन्छ भन्ने शिक्षामा धेरै जसो मानिसको अन्धविश्वास छ।१९ तर आफ्नो दिमाग चलाउने र सोंच विचार गर्ने व्यक्तिहरू अर्काको हो-हो मा लाग्दैनन्। यस प्रकारका व्यक्तिहरू सन्तोषजनक् प्रमाण चाहन्छन्। कत्तिले ता यो जीवनको अल्पकालीन- ताको विरोध गर्छन्। यी व्यक्तिहरूको सोंचाई अनुसार, जीवन अनिश्चित् भएको हुनाकारण धर्मगुरुहरूले सान्त्वनाको निम्ति मृत्यु पश्चात पनि जीवन छ भन्ने शिक्षा आरम्भ गरेका हुन्। कोइ चाँहि भित्री हृदय बाट मृत्यु को विरोध गर्छन२० तर फेरि मृत्युको कारण र समाधान लाई स्वीकार्दैनन्।२१ वास्तवमा मृत्यु हो के?
मृत्यु के हो?
२०. (क) बाइबलमा प्रथम मानव प्राणीको सृष्टिको वर्णन कसरी दिइएको छ? (ख) जीवित मानव प्राणी कुन कुन कुराले बनिएको हो र यस्को एउटा उदाहरण दिनु होस्?
२० बाइबलमा प्राण बारे धेरै स्पष्टीकरण दिइएको छ। यस बाहेक, मरेका व्यक्तिहरूको विषयमा शान्तिदायक ज्ञान र भविष्यको निम्ति आशा पनि दिइएको पाउनु हुनेछ। मानव प्राणको वर्णन बाइबलमा उत्पत्ति २:७ मा यस प्रकार छ, “यहोवा परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी [संस्कृतमा: सात्माप्राणी] भयो।” यहाँ तपाईले याद गर्नु होला, मानिसलाई प्राण दिइएको होइन। मानिसनै प्राणी भएको कुरा पाउँछौं। मानिस स्वयं प्राणी हो। यसकारण, तपाईंमा प्राण छैन तर तपाईंनै एक जना प्राणी हुनु हुन्छ। जीवित प्राणी हुनको निम्ति दुई मुख्य थोक् आवश्यक छ—एउटा त, मासु र रगतको शरीर र अर्को, जीवनको सकृय शक्ति (आत्मा)। शरीरबाट जीवनको सकृय शक्ति अलग पार्नु भयो भने, जीवित प्राणी अस्तित्वहीन हुन्छ। मानिसले स्वास लिन बन्द गरे पछि, मानिस प्राणी हुन छाड़छ। उदाहरणका लागि, पानी दुई प्रकारको ग्यास, अर्थात् हायड्रोजन र अकसीजन मिलेर बनेको हो। यी दुईवटा ग्यासहरू, ठीक ठीक मात्रामा मिलाए पछि, पानी बन्दछ। यी दुई ग्यास मध्ये बाट एकै वटा ग्यास हटाउनु भयो भने पनि, पानीको अस्तित्व हुनेछैन।
२१. (क) मृत्यु पश्चात मानिस शरीर बिनाको प्राण किन हुनु सक्दैन? (ख) मृत्यु पश्चात मानिस शरीर बिना को आत्मा पनि किन हुनु सक्दैन? उदाहरण दिनु होस्।
२१ यसकारण मरिसके पछि मानिस शरीर न भएको प्राण भएर घुमदैन। किनभने शरीर प्राणको एउटा अङ्ग हो। शरीर मर्दा, प्राण पनि मर्छ। प्राण अस्तित्वहीन हुन्छ। मानिस मरिसकेपछि शरीर नभएको आत्मा पनि बन्दैन। किन? किनभने आत्मा शक्ति मात्र हो। आत्माको कुनै व्यक्तित्व छैन। आत्मा त्यो शक्ति हो जसलेगर्दा जीवित प्राणी सोंच्नु सकछ, चलहल गर्छ र बाँच्दछ। कुनै जीवित प्राणी बाट यो जीवन शक्ति अर्थात् आत्मा लोप हुँदा, चीम बाट बिजुली लोप भए जस्तै हुन्छ। ज्योति निभेर जान्छ। तर ज्योति कहाँ जान्छ? त्यो कतै पनि जाँदैन। त्यस्को अस्तित्व खतम हुन्छ। यसैकारण मृत्यु जीवनको विपरीत हो, जीवन दिने सृष्टिकर्ताको आज्ञा उल्लङ्घन गरेको सजाय मृत्यु हो।
२२. (क) मानव प्राण मर्छ भन्ने कुरा को बाइबलमा के पुष्टि पाउँदछौं? (ख) मरेका मानिसहरूको स्थितिवार बाइबलमा कसरी गरिएको छ?
२२ मानव प्राण अमर छैन। त्यो मरणशील छ। मानव प्राण अस्तित्वहीन भएर जान्छ। यही कुराको पुष्टि गर्दै, बाइबल यसो भन्छ: “हेर सबै प्राण मेरै हुन्। बाबुको प्राण र छोराको प्राण पनि मेरै हुन्। जुन प्राणीले (संस्कृतमा, प्राणी) पाप गर्छ, त्यही मर्छ।” (इजकिएल १८:४) हो, मरेका मानिसहरूको अवस्था, धर्मगुरु अर्थात ऋषिहरूले गरेका कल्पना भन्दा धेरैनै भिन्न छ। र परमेश्वरको वचन बाइबलले यसो भन्छ: “राजकुमार हरूमाथि तँ भरोसा नगर, मानिस माथि पनि नगर। तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलीहाल्छ। त्यही दिन त्यसको युक्तिहरू नष्ट भइहाल्छन्।” “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू सबै कुरा विर्सी जान्छन्। तेरो हातमा जे कामछ त्यो आफ्नो पूरा शक्तिले गर, किनभले शिवोलमा, जहाँ त जानै पर्छ, त्यहाँ नता केही गर्ने, न विचार न समझ-शक्ति नै हुन्छ।”—भजनसंग्रह १४६:३, ४; उपदेशक ९:५, १०.
२३. (क) मृत्युबारे के थाहा लगायौं? (ख) मृत्यूबारे के आफ्नो विचारधारा बदलनु सम्भव छ? उदाहरण दिनु होस्।
२३ बाइबलको शिक्षा अनुसार मरेपछि मानिसको चेतना र सोंच विचार जम्मै शेष हुन्छ। मृत्यु पश्चात् मानिसको काम कुरा, सोंच विचार, ज्ञान र बुद्धि सबै समाप्त भएर जान्छ। मृत्यु अस्तित्वहीनता हो। निश्चय, मृत्यु पश्चात जीवन छैन! यो तथ्य सुनेर धेरै जना विचलित होलान्। तर तेसो ता, पृथ्वीको आकार गोल रहेछ भनेर थाहा लाग्दा एक ताका धेरै जना विचलित भएका थिए। तापनि मानव जातिले सच्चाइलाई स्वीकारनै पऱ्यो। यस्तै प्रकार, जापानको सम्राट हिरोहीटोले आफ्नो देव पद इन्कार गर्नु भएर आफ्नो मनुष्यत्व स्वीकार गर्नु हुँदा, लाखौंले आफ्नो सोंच विचार बदलनु पऱ्यो। यती मात्र होइन। विज्ञानवेत्ताहरूले चन्द्रमामा मानिस पठाए पछि पनि विश्व बारे आफ्नो चली आएको धार्मिक विचार-धारामा लाखौंले परिवर्तन ल्याउनु पऱ्यो। ठीक यसरीनै, आजको यो २०वी शताब्दीमा पनि लाखौं ले मानव आत्मा मरणशील छ र मरेका मानिसहरू अचेत हुन्छन् भन्ने बाइबलको शिक्षामा विश्वास गर्दै आफ्नो पुरानो सोंच विचारमा परिवर्तन ल्याएका छन्।
२४. मरेकाहरूको स्थिति बारे का यी जानकारीहरू किन सान्त्वनाप्रद छ?
२४ मरेका मानिसहरूको विषयमा यो शिक्षा मा के सान्त्वना र आशा छ? सर्वप्रथम त, मरिगएका हाम्रा प्रिय जनहरूले कुनै ठाउँमा सङ्कष्ट भोगीरहेका छैनन् भन्ने कुराको ज्ञानले स्वयंलाई ठूलो सान्त्वना दिन्छ। तिनीहरू निर्वाण२२ जस्तै कुनै निर्जीव अवस्थामा छैनन्, न एउटा दयाहीन संसार२३ र जन्म-मरणको चक्रमा फँसेका छन्, नता तिनीहरूको व्यक्तित्व मोक्ष द्वारा२४ व्यक्तिहीन परमात्मामा२५ हराएको छ। किनभने मरेका हरू मरेको अवस्थामा छन्। तिनीहरू एउटा अस्तित्वहीन अवस्थामा छन्। तर कुरा यहाँ शेष हुँदैन। हाम्रो प्रियजनहरू जो आज मरिसकेकाछन, तिनीहरूको निम्ति एउटा उज्यालो आशा पनि छ। यसैकारण मरेकाहरूको विषयमा यहाँ अहिले सम्म पाएको यो ज्ञान धेरै नै आनन्ददायक साथै शान्तिदायक पनि छ। तर अब हामी यो प्रश्नगर्न चाहन्छौं: मरेका व्यक्तिहरू पुनःजीवित हुने के आशा हुनु सकछ र? साथै, हामी जिउदाहरूको निम्ति के आशा छ?
एउटा कानूनी समस्या
२५. हाम्रो सामने एउटा कानूनी समस्या किन खड़ा हुन्छ र त्यो समस्या के हो?
२५ तपाईंलाई याद होला, कसरी परमेश्वरको धार्मिक् आज्ञा अनुसार, हाम्रो मानव परिवार वंशानुगत् पाप र मृत्युको अधीनमा आये। यहाँ अब एउटा समस्या छः परमेश्वर न्यायाधीश हुनुहुन्छ, उहाँले आफ्नो धार्मिक् कानून कायम राख्नु पर्छ, साथै, मानव परिवारलाई पाप र मृत्युबाट छुटकारापनि दिनु परेको छ। तर आफ्नो धार्मिक् कानून अथवा फैसला उल्लङ्घन् नगरिकन मानिसलाई पापको सजाय मृत्युबाट छुटकारा कसरी दिने? ईस्वरीय कानून र धार्मिक्ता अनुसार कानून तोड़नेले मृत्युको सजाय पाउनै पर्छ, अब यो न्याय र कानून को उल्लङ्घन् नगरिकन मानवपरिवारलाई पापको सजाय मृत्युबाट छुटकारा कसरी दिने? परमेश्वर दया र प्रेममा मात्र सिद्ध हुनु हुन्न। उहाँको न्याय पनि निष्खोट छ। उहाँ जथाभाबी गर्नु हुँदैन। आफ्नो वचन, इश्वरत्व र सार्वभौमिक्ता को मर्यादा राख्नको निम्ति, परमेश्वरले आफ्नै अकाटय कानूनको स्वंय उल्लङ्घन गर्न सक्नु हुन्न।
२६. समस्या समाधान गर्न को निम्ति के आवश्यक छ र किन?
२६ परमेश्वर सारा जगतका न्यायाधीश हुनुहुन्छ। साथै उहाँ आफ्नो फैसलाको दाता र कार्यान्वयनकर्ता पनि हुनु हुन्छ। यसकारण उहाँले आफ्नो फैसला कायम राख्नै पर्छ। कानून तोड़नेलाई कुनै कानूनी आधार बिना दया देखाउनु न्यायको दुरुपयोग हो। न्याय सत्य हुने हो भने, पापीहरूले ईंस्वरीय दया पाउनको निम्ति एउटा कानूनी आधार हुनु पर्छ। यसकारण पापीहरूले मृत्युबाट छुटकारा र अनन्त जीवन प्राप्त गर्नु भन्दा अघि, परमेश्वरको सामने एउटा सन्तोषजनक, बराबर मोलको मुक्ति मूल्य प्रस्तुत हुनु पर्छ। (१ तिमोथी २:५, ६) यसो भएमा, परमेश्वर सारा विश्वमा भक्ति र श्रद्धाको योग्य रही रहन सकनु हुन्छ।
२७, २८. (क) हाम्रो प्रथम पुर्खा द्वारा हामीले के गुमायौं? (ख) त्यो चीजलाई पुनःप्राप्त कसरी गर्न सक्छौं? उदाहरण दिनु होस। (ग) भगवान संग मेल गर्न को निम्ति प्राचीन हिन्दूहरूले के गर्थे र किन होला?
२७ हाम्रा प्रथम पुर्खा आदमले आफ्नै सिद्ध मानव जीवन र अनन्त जीवन पाउने अधिकारको ठाउँमा स्वार्थसिद्धि रोज्नु भयो। यसले गर्दा—हामी समेत—उहाँको जम्मै सन्तान, पाप र मृत्युको दासत्वमा बेचियौं। हामीले अनन्त जीवन पाउने मौका पनि—हाम्रो पुर्खाले गर्दा हरायो। उदाहरणका लागि, यो कुनै एउटा परिवार माथि परिस्थितिबस गरीबी आइलाग्दा, त्यो घरको बाबुले परिवारको सुन लगेर कुनै बैंक अथवा साहूको हातमा धितो राखे जस्तै हो। परिवारले जीवन भरिको लागि आफ्नो सुन गुमाँउछ र त्यो सुन तिनीहरूको सन्तानले पनि पाउँन सक्दैनन्। यस्तो भएको खण्डमा परिवारले आफ्नो सुन अर्थात पैतृक सम्पत्ति जीवनभरि पाउन सकदैन, जब सम्म तिनीहरूले कानूनन साहूले तोकेको मूल्य तिरदैंनन्।
२८ यसरीनै, पाप र मृत्युबाट छुटकारा र आफ्नो जन्माधिकार वापस पाउनको निम्ति मानवपरिवारले पनि कानूनको माँग अनुसार तोकिएको मुक्ति मूल्य तिर्नु आवश्यक भयो। बलिदान चढ़ाउने चलनलाई ऋगवेदमा निकै जोर दिइएको पाउँछौं। अवश्य पनि, यो विचार, बलिदान चढ़ाउने एउटा प्राचीन परम्परामा आधारित् हुनु पर्छ। (उत्पत्ति ४:४; ८:२० संग तुलना गर्नु होस) इन्डियन विजडम् नामक पुस्तक अनुसार वैदिक जमानामा घोड़ा, गोरू, भेड़ा र बाख्रा जम्मै बलिदान चढ़ाइनथियो। यो पुस्तकले यसो पनि भन्छ: “ती जम्मै बलिदानहरू पाप को प्रायश्चितका निम्ति हुन्थ्यो।”२६ प्राचीन हिन्दूविश्वास अनुसार, भगवान सँग मेल गर्नको निम्ति रगतको बलिदान आवश्यक थियो।
२९. (क) जानवरहरूको बलिदान द्वारा आवश्यक मोल किन तिर्न सकिन्दैन? (ख) के मानव परिवारले आवश्यक मूल्य तिर्न सकला र?
२९ तर एउटा अर्को प्राचीन स्तोत्रमा भनेझैं: “साँढ़ेहरू र बोकाहरूको रगतले पाप हरणगर्न असम्भव छ।” (हिब्रु १०:४) हाम्रो प्रथम पुर्खा आदमले अनाज्ञाकारी जीवन बिताउनको निम्ति जुन प्रकारको जीवन त्यागनु भयो, त्यही प्रकारको जीवनको मूल्य आवश्यक छ, अर्थात सिद्ध मानव जीवन। यो मुक्ति मूल्य मात्र परमेश्वरको सिद्ध न्याय को सामने ग्रहणयोग्य हुनु सक्छ। तर के हामी मानिसहरूले यो मूल्य तिर्न सक्छौं होला? सत्यकुरा गर्ने हो भने, पाप र मृत्युबाट छुटकारा पाउनका निम्ति हामी यस प्रकारको मुक्ति मूल्य प्रस्तुत गर्न असमर्थ छौं। बाइबलका एक इमान्दार लेखकले यो असमर्थता स्वीकारदै यसो भन्नु भयो: “कसैले पनि कुनै किसिमले आफ्नो भाइलाई मोल तिरेर छुटाउनसक्तैन। परमेश्वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्तैन।”—भजन संग्रह ४९:७.
परमेश्वरको प्रेम द्वारा हाम्रो बचाव!
३०. (क) परमेश्वरले निसहाय मानिसलाई कसरी बचाउनु भयो? (ख) परमेश्वरको एउटा आत्मिक पुत्रले यो मूल्य कसरी तिर्न सक्नु हुने भयो?
३० निसहाय मानिसको उद्धार गर्न परमेश्वरको अपार प्रेम नै प्रयोग हुने भयो। आफ्नो आत्मिक् पुत्रहरूको माध्यभ्बाट परमेश्वरले आवश्यक् मुक्ति मूल्य तैयार गर्नु भयो। यस विषयमा बाइबलले यसो भन्दछ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विस्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (युहन्ना ३:१६) हाम्रो सिद्ध प्रथम पुर्खाको बराबर हुनुका लागि यो आत्मिक् पुत्र मानिस हुनु पऱ्यो। अवतार लिन पनि न मिल्ने, किनभने कुनै अवतार हाम्रो प्रथम मानव पुर्खाको बराबर हुनु सक्तैन। यसकारण परमेश्वरको एकलौता पुत्रले उहाँको आत्मिक् जीवन त्यागनु पऱ्यो। यस पश्चात्, उहाँले हाम्रो मानव परिवारमा जन्म लिनु भएर सम्पूर्णतया हाड़ मासुको शरीर धारण गर्नु भयो। बाइबलले यस विषयमा यसो भन्दछ: “तर जब तेकिएको समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई, व्यवस्थाको अधीनमा पार्नु भएर, व्यवस्थाको अधीनमा परेका- हरूलाई मोल तिरेर छुटाउन र हामीलाई धर्मपुत्रहरूको अधिकार दिन, एउटा स्त्री द्वारा पठाउनु भयो।”—गलाती ४:४, ५.
३१. (क) इतिहासभरिका धर्मगुरूहरूले मृत्यु माथि विजय गर्ने विषय तर्फ किन ध्यान दिएनन? (ख) तर के हामी मानिसहरू मुक्तिदाता बिना छौं? किन?
३१ मुक्ति मूल्य तिर्न अर्थात मानिसलाई पाप र मृत्यु को बन्धनबाट छुटकारा दिनका लागि, सिद्ध मानिसको रूपमा, स्त्री द्वारा जन्म लिनु भएको परमेश्वरको यो आत्मिक् पुत्र को हुनुहुन्छ? इतिहास भरि अनेक सन्त, साधु, स्वामी, गुरु, भगवान कहलाइने जनहरू र धार्मिक क्रान्तिकारीहरू आए गए। तर यी मध्ये कसैले पनि मुक्तिदाता हुने दावा गरेनन्! सायद मुक्तिको यो सिद्धान्त बुझेका थिएनन् जस्तो देखिन्छ। मानिस जातिलाई पाप र मृत्युबाट छुटकारा दिनको लागि आएको हूँ भन्नुहुने इतिहास भरि एकै जना मात्र हुनुहुन्छ। उहाँले नै यी शब्दहरू पनि बोल्नु भयो: “मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।”—मत्ती २०:२८.
३२, ३३. (क) ख्रीष्टको मृत्यु किन कुनै साधारण मृत्यु होइन? (ख) मुक्ति मूल्य को सिद्धान्तबारे उदाहरण दिनुहोस् र एकै जना मानिस द्वारा लाखौं मानिसहरू पाप र मृत्यु बाट कसरी बाँच्न सक्छन् भनेर व्याख्या गर्नु होस्।
३२ परमेश्वरको वचनमा उहाँको परिचय यसप्रकार दिइएको छ: “परमेश्वरको अनुग्रहबाट, उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नुपर्छ भनेर उहाँलाई, अर्थात येशु ख्रीष्टलाई स्वर्गदूतहरू भन्दा केही कम तुल्याउनु भएको थियो। उहाँलाई आज मृत्युको शासनाको कारण महिमा र आदरको शिरपेच पहिऱ्याइदिनु भएको हामी देख्तछौं।” (हिब्रु २:९) यसकारण, येशु ख्रीष्टको मृत्यु एउटा साधारण मृत्यु थिएन—उहाँको मृत्यु एउटा बलिदान थियो। मानव जातिले जीवन माथि अधिकार पुनःपाओस् भनेर येशु ख्रीष्टले आफ्नो सिद्ध पार्थिव मानव जीवन र त्यो जीवन बाट उपभोग गर्न सकिने अन्य व्यक्तिगत् फायदाहरू त्यागनु भयो। उहाँको पार्थिव सेवकाई र बलिदानको कारण, येशु ख्रीष्ट मानिसको मुक्तिदाता बन्नुभयो। यसकारण, बाइबलमा यो कुरा लेखिएको पाउँछौं: “जस्तो अपराध हो, त्यस्तो अनुग्रहको वरदान होइन। किनकि यदि एउटैको अपराधले धेरै मरे भनेता, झन बढ़तागरी परमेश्वरको अनुग्रह र एउटै मानिस, अर्थात येशु ख्रीष्टको अनुग्रहमा भएको वरदान धेरैको निम्ति प्रशस्त भयो। यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई इन्साफ आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै काम द्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई अनुग्रहको वरदान आयो।”—रोमी ५:१५, १८.
३३ जसरी एकै जना रोगी मानिस द्वारा गाउँ भरि हैजा तुरन्तै फैलिनु सक्छ र फेरि एकै जना डाक्टरको उपचार द्वारा त्यही गाउँको धेरै मानिसहरू निको हुनु सक्छन्, त्यस्तैगरी, एकै जना प्रथम पुरूष बाट आएका लाखौं पापी सन्तानको उद्धारको निम्ति परमेश्वरको कानूनले एउटै समान मुक्ति मूल्यको प्रबन्ध गरेको छ।—१ तिमोथी २:५, ६ सँग तुलना गर्नु होस।
३४. (क) परमेश्वरको सामने मानिसको जीवन अधिकार कसरी प्रस्तुत गरियो र किन? (ख) मुक्ति मूल्य को प्रबन्ध ले परमेश्वरको निम्ति के गर्दछ?
३४ इनामको रूपमा परमेश्वरले आफ्नो पुत्रलाई आत्मिक् जीवन प्रदान गर्नु भयो। यसलेगर्दा येशु स्वर्गमा फर्कन सक्नु भयो। त्यहाँ जानुभएर, मानव जातिको निम्ति जीवनको अधिकार फिर्ता किन्नकालागि उहाँले परमेश्वरको सामने आफ्नो बलिदानको मूल्य पेश गर्नु भयो। तब मात्र आदमको सन्तानलाई जीवनको हक फिर्ता दिनको निम्ति परमेश्वरले पनि एउटा कानूनी आधार पाउनु भयो। यस विषयमा बाइबल यसो भन्छ: “हामीलाई परमेश्वर कहाँ ल्याउनलाई ख्रीष्टले पनि शरीरमा मारिएर तर आत्मामा जीवित भएर, अधर्मीहरूका निम्ति धर्मी भएर, पापहरूका निम्ति एकचोटि दुःख भोग्नुभयो।” (१ पत्रुस ३:१८) तर सबै भन्दा बढ़ी, यो महान कार्यद्वारा, परमेश्वरको प्रथम सृजनात्मक उदेश्य, उहाँको वचन र उहाँको धार्मिकतालाई प्रतिपादित गर्दछ।
मृत्यु माथि विजय कसरी गर्न सकिन्छ
३५. ख्रीष्टले मोल तिर्नुभएर किन्नु भएको यो जीवन पाउने अधिकार बाट लाभ उठाउने हो भने, हामीले के गर्नु पर्छ?
३५ के हामीहरू पनि यो जीवनको अधिकार बाट लाभ उठाउन चाहन्छौं? चाहन्छौं भने, के गर्नु पर्छ? आजको विसौं शताब्दीमा एउटा विशाल अन्तर्जातीय भीड़ले गरे झैं, हामीले पनि दुवै परमेश्वर र उहाँको एकलौता पुत्रले दर्साउनु भएको निस्वार्थ प्रेम र अपार दयाको निम्ति कृतज्ञता प्रकट गर्नु पर्छ। बाइबलले यसो गर्ने व्यक्तिहरूको वर्णन यसप्रकार गर्दछ: “यी कुरा पछि, हेर, कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा-भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेको मैंले देखें। र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’” (प्रकाश ७:९, १०) हाम्रो विसौं शताब्दीमा घटेका ऐतिहासिक् घटनाहरूको प्रमाण अनुसार, विशेषगरी १९३५ देखिन् उप्रान्त, यो कृतज्ञ र अन्तजार्तीय भीड़ पृथ्वीको हरभागमा फैलिसकेको छ। तर यो कृतज्ञता हामीले कसरी प्रकट गर्ने?
३६. (क) परमेश्वर प्रति कृतज्ञता हामी कसरी व्यक्त गर्न सक्छौं? (ख) यहोवा कुन प्रकारको परमेश्वर हुनुहुन्छ?
३६ स्वर्गको परमेश्वरलाई चिनेर, उहाँको उपासना गर्न सिक्नु पऱ्यो। ख्रीष्ट पृथ्वीमा जन्मनु भन्दा १,५०० वर्ष अघि, प्राचीन अगमवक्ता मोशाले परमेश्वरलाई हेर्ने अनुचित माँग गर्नु भएको थियो। तब के भयो? हामी स्वयं पढ़ेर हेरौं: “‘बिन्ती छ, मलाई तपाईंको महिमा देखाउनु होस्।’ उहाँले भन्नुभयो: ‘म तेरै सामने मेरो सारा वैभव देखाउनेछु र तेरै सामने “यहोवा” नाउँको घोषणा गर्नेछु’ . . . औ उहाँले भन्नुभयो: ‘तैंले मेरो अनुहार हेर्नसक्तैनस् किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्तैन।’” “अनि यहोवा बादलमा ओर्लनुभयो, र तिनी सँग त्यहाँ खड़ा हुनु भएर यहोवाले आफ्नो नाउँको प्रकाश गर्नु भयो। त्यसपछि यहोवा तिनको सामने बाट गएर यसो भनी घोषणा गर्नु भयो: ‘यहोवानै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजार माथि कृपा देखाउनु हुने, दुष्टता, अपराध र पाप क्षमा गर्नु हुने। दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनु हुने।’”—प्रस्थान ३३:१८-२०; ३४:५-७.
३७. (क) परमेश्वरको उपासना आत्मामा कसरी गर्ने? (ख) पिताको उपासना सत्यतामा गर्नुको अर्थ के हो?
३७ अदृश्य परमेश्वरको यो भन्दा अझ सुन्दर वर्णन के हुन सक्छ होला? हो, हामीले श्रद्धा र उपासना गर्न सक्ने परमेश्वर उहाँनै हुनुहुन्छ। तर यहोवाको उपासना कसरी गर्ने? हामीले आत्मा र सत्यतामा उहाँको उपासना गरेको उहाँ चाहनु हुन्छ। बाइबलमा यी शब्दहरू दिइएको छ: “तर बेला आउँछ र अहिल्यै हो, जब साँचो सँग पुज्ने हरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनु हुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, और उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (युहन्ना ४:२३, २४) पिताको उपासना आत्मामा गर्ने हो भने, भौतिक् स्थानहरू, चीज-बीज, भवनहरू र परमेश्वरको प्रतिनिधित्व गर्न बनाइएका अन्य दृश्य आकारहरूको प्रयोग निषेध छन्। सत्य सबै भन्दा ठूलो हो। पिता यहोवाको सत्यतामा उपासना गर्नको अर्थ हाम्रो धार्मिक विश्वास, कार्य, शिक्षा जम्मै वास्तविक्ता अर्थात परमेश्वरको लिखित बचनमा दिइएको सत्य सँग मिल्नु पर्छ। परमेश्वरको मुख्य वक्ताले पिता सँग प्रार्थना गर्नु हुँदा यसो भन्नु भयो: “तपाईंको वचन सत्य हो।”—युहन्ना १७:१७; प्रेरित १७:२४, २५ पनि हेर्नु होस्।
३८. येशु ख्रीष्टलाई मानिसहरूले किन र कसरी ठीक संग बुझनु सकेका छैनन?
३८ यहोवा सत्य परमेश्वर हुनु हुन्छ भने, येशु ख्रीष्ट को हुनु हुन्छ? यहूदीहरूको निम्ति ख्रीष्ट एउटा ठोक्करको कारण हुनु हुन्थ्यो। बाँकी अन्य जातिहरूको निम्ति ख्रीष्ट मूर्ख हुनु हुन्थ्यो। बाइबलले यस विषयमा यसो भन्छ: “तर हामीचाहिं काठमा टाँगिनु भएको ख्रीष्टको प्रचार गर्दछौं, जो यहूदीहरूको निम्ति बाधा र अन्य जातिहरूका निम्ति त मूर्खता छ।” (१ कोरिन्थी १:२३) यहूदीहरूले ख्रीष्टलाई मुक्तिदाता मान्नु इन्कार गरे किनभने ख्रीष्टको जीवन शैली र मृत्यु तिनीहरूको राष्ट्रिय आकांक्षा अनुसार भएन। फेरि अर्को तर्फ, आफ्नै मानव कल्पना द्वारा परमेश्वर प्राप्त गर्न चाहने अन्य जातिहरूले चाहिं, ख्रीष्टको जीवन र मृत्यु बुझ्नै सकेनन्। तिनीहरूको विचारमा येशुको मृत्यु बेकार—अनावश्यक थियो। यहोवा परमेश्वरले ख्रीष्ट द्वारा प्रकट र सम्पन्न गर्नु भएको इच्छा र उदेश्यलाई तिनीहरूले मूर्खता ठाने। किनभने यो ईश्वरीय इच्छा र उदेश्यले मानव कल्पित् अनुमानलाई उल्टाई दिने भयो।
३९. (क) लाखौं मानिसहरूले येशु ख्रीष्टको विषयमा के विश्वास गर्न सकेका छन्? (ख) तिनीहरूले येशु बारे के स्वीकारेका छन्?
३९ आज पनि लाखौं मानिसहरूको लागि ख्रीष्ट बाधा हुनुहुन्छ। तिनीहरूको दृष्टिमा ख्रीष्टमा विश्वासगर्नु मूर्खता हो। के तपाईलाई पनि यस्तै लाग्छ? ख्रीष्ट बारे धेरैको यस्तो विचार भएतापनि, आज फेरि लाखौं मानिसहरूले येशु ख्रीष्ट सर्वशक्तिमान परमेश्वर हुनु हुन्न, तर यहोवाको पुत्र हुनुहुन्छ भनेर स्वीकारेका छन्। ख्रीष्ट यहोवाको पहिलो सृष्टि हुनुहुन्छ। बाँकी सृष्टिको लागि यहोवाले ख्रीष्टलाई नै आफ्नो वचन अथवा वक्ता नियुक्त गर्नु भयो। यसैकारण बाइबलमा यसो भनिएको छ: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो। औ वचन दैवी थियो। उहाँ आदिमा परमेश्वर सँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा हुनआए, औ हुनआएका कुनै थोक पनि उहाँ बिना हुन आएन।” (युहन्ना १:१-३) यसकारण, मानिस भएर आउनु भन्दा अघि येशु ख्रीष्ट परमेश्वरको “प्रधान कार्य कर्ता” साथै वक्ता हुनुहुन्थ्यो।—हितोपदेश ८:२२, ३०; कलस्सी १:१५, १६ तुलना गर्नु होस।
४०. (क) परमेश्वरको सामने ख्रीष्ट मानिसको तर्फबाट महायाजक कसरी हुन सक्नु भयो? (ख) यहोवाको उपाकहरू को निम्ति येशुले के भूमिका निभाउनु हुन्छ?
४० आफ्नो मानव बलिदान र त्यसको जीवनदायक लाभहरूको हेर-चाह येशुले स्वयँ गर्नुहुनेछ। यसकारण, स्वर्गको परमेश्वर, यहोवाको सामने येशुले मानव परिवारको प्रधान पूजाहारी अर्थात् महायाजकले गर्ने काम गर्नु हुनेछ। यस विषयमा यसरी लेखिएको पाउँछौं: “तर ख्रीष्ट पछि आउने उत्तम कुराको प्रधान पूजाहारी भएर, हातले बनाएको होइन, अर्थात यस सृष्टिमै नभएको, झन ठूलो र सिद्ध मण्डपद्वारा, बोकाहरू र बाछाहरू को रगत होइन, तर आफ्नै रगत द्वारा अनन्त उद्धार प्राप्त गरेर एकै चोटि पवित्रस्थान भित्र पस्नुभयो।” साथै, परमेश्वरले येशुलाई जीवनको प्रधान कर्ता पनि नियुक्त गर्नु भएको छ। यो बाहेक, यहोवाको जम्मै उपासक्हरूको गुरू पनि येशु नै हुनुहुन्छ: “तिमीहरूलाई कसैले गुरु नभनोस्, किनकि तिमीहरू का गुरु एउटै छन् र तिमीहरू चाहिं सबै दाज्यु- भाइ हौ।”—हिब्रू ९:११, १२; मत्ती २३:८; प्रेरित ३:१५ सँग तुलना गर्नुहोस्।
४१. (क) ख्रीष्टले विश्वभरिको धर्म परिवर्तन बारे किन प्रचार गर्नु भएन? (ख) महासङ्कष्टमा के बाँच्नेहरू पनि हुनेछन? (ग) येशु ख्रीष्ट कुन किसिमको व्यक्ति हुनुहुन्छ?
४१ हो, ख्रीष्ट येशु एक जना साधारण धर्म संशोधक हुन हुन्नथियो। यो दुष्ट रीतिरिवाज सुधारिन सक्तैन भन्ने कुरा उहाँलाई राम्रो सँग थाहा थियो। यसैकारण येशुले विश्व धर्म परिवर्तन प्रचारगर्नु भएन। यसको सट्टामा उहाँले आउने “महा संकष्टको” प्रचार गर्नु भयो। उहाँले यसो भन्नु भयो: “किनकि त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगतको शुरुदेखि अहिले सम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएका हरूका निम्ति ती दिन घटाईनेछन।” (मत्ती २४:२१, २२) त्यो “महासंकष्टमा” दुष्टहरूको नाश हुँदा सारा सृष्टिको सामने यहोवाको धार्मिक्ताको विजय हुनेछ। तर येशुको वचन अनुसार, त्यो महासंकष्टमा “बाँच्नेहरू” पनि हुनेछन्। किनभने ख्रीष्टले धर्मीहरूलाई प्रेम गर्नु हुन्छ। यसैकारण ता उहाँ तिनीहरूको निम्ति मर्नु पनि भयो। उहाँको व्यक्तिगत् स्वभाव, हामी यी शब्दहरूबाट बुझन सक्छौं: “अनि येशु सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाधरहरूमा शिक्षा दिदैं, र राज्यको सुसमाचारको प्रचार गर्दै, र हरेक किसिमको रोग र बिमार निको पार्दै हिड़नु भयो। तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्तै हैरान भइ तितर-बितर भएका थिए।”—मत्ती ९:३५, ३६.
४२. आजका पीडित मानिसहरूले यस दुःख बाट चाड़ैनै छुटकारा कसरी पाउँन सक्ने छन्?
४२ हाम्रै २०सौं शताब्दीमा पनि धेरै मानिसहरू “गोठाला नभएका भेड़ाहरू झैं तितर-बितर भएका छन्।” यिनीहरूका निम्ति पनि येशुको हृदयमा निश्चयनै दया हुनुपर्छ। यसैकारण आफ्नो जीवन बलिदान दिने परमेश्वरको पुत्रको हातमा सुम्पिएको इश्वरीय राज्यले “महासंकष्ट” पार गर्ने विश्वासी जनहरू माथि कृपापूर्ण शासनगर्नेछ। परमेश्वरको वचनमा यो भविष्यवाणी पाउछौं: “हेर, राजाले न्यायोचित राज्य गर्ने छ।”—यशैया ३२:१.
४३. (क) परमेश्वरको राज्य के हो? (ख) मानवीय सरकारहरूले आफ्ना प्रजाका सुविधाका निम्ति के कस्तो प्रयास गर्दै आएका छन्? ती प्रयासहरू कहाँ सम्म सफल भएका छन्?
४३ परमेश्वरको राज्य अन्तर्गत्, हर प्रकारको परीक्षामा सफल भएका विश्वासी र भक्त जनहरूको एउटा शासन दल स्वर्गमा हुनेछ। यो दलको प्रमुख येशु हुनु हुन्छ। परमेश्वर को यो स्वर्गीय राज द्वारा पृथ्वी माथि परमेश्वरको सार्वभौमिक्ता कायम रहनेछ। (प्रकाश ५:१०) आज मानिसहरू जागिर, घर र स्वास्थ्य सम्बन्धी अन्य सुविधाहरूका निम्ति मानव सरकारहरूमा भरोसा गर्छन्। धेरै सरकारहरूले आफ्ना प्रजाहरूका लागि यी सुविधाहरू उपलब्ध गराउनका निम्ति पाँच वर्षे योजनाहरू बनाउछन्। तर तिनीहरूले मरेकाहरूका लागि केही आशा दिन सक्तैनन्। र भूतपूर्व सरकारहरूको ऐतिहासिक् अनुभव पनि हामिले देखेकै हुनाकारण, जिउदाहरूका लागि तिनीहरूले बनाएका वर्त्तमान योजनाहरूको सफलता बारे पनि तिनीहरू स्वयं निर्धक्क छैनन्।
४४. (क) परमेश्वरले त्यो हजार वर्षको शासन भित्र के कसो गर्नु हुनेछ? (ख) परमेश्वरले मृत्यु माथि मानिसहरूलाई कसरी विजयी पार्नु हुनेछ?
४४ तर परमेश्वरको राज्यको कुनै पाँच वर्षे योजना होइन, हजार वर्षे योजना छ। यो योजना द्वारा “हामीले मागेको र सम्झेको भन्दा ज्यादै प्रशस्तगरी” सुविधाहरू उपलब्ध हुनेछ। यस विषयमा बाइबलले यसो भन्छ: “अनि मैले सिंहासनहरू र ती माथि बस्नेहरूलाई देखें र तिनीहरूलाई इन्साफ गर्ने अख्तियार दिइयो। तिनीहरू फेरि बाँचे, र ख्रीष्टसँग एक हजार वर्ष सम्म राज्य गरे।” (एफिसी ३:२०; प्रकाश २०:४) त्यो हजार वर्षको शासन मैं परमेश्वरले नियुक्त गर्नुभएको राजा र महायाजकले आफ्नो बलिदान बाट पृथ्वीका आनन्दित् मानिसहरू लाई लाभ उठाउन दिनु हुनेछ। बिस्तारै, बिस्तारै यो मासु र हाड़को शरीर बाट पाप र पापको कुअसर रोग, असिद्धता र बुढ़ेसकाल हटदै जानेछ। हो, परमेश्वरको राज्य द्वारा नै परमेश्वरले मृत्यु माथि मानिस हरूलाई विजयी पार्नु हुनेछ।
४५, ४६. (क) परमेश्वरले पाप, रोग र जीवन सम्बन्धी के प्रतिज्ञा गर्नु भएको छ? (ख) मानिसमा अनन्त जवानी र धार्मिकता पुनः जागृत गराउने विषयमा परमेश्वरले के प्रतिज्ञा गर्नु भएको छ?
४५ यी प्रतिज्ञाहरू निश्चयनै पूरा हुनेछन्। परमेश्वरले आफ्नो वचन दिनु भएको छ। यस विषयमा अब स्वयँ पढौं: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा यहोवाले राख्नु हुन्न र जसको आत्मामा छल छँदै छैन।” “हे मेरो प्राण, यहोवालाई धन्य भन। र उहाँको सबै उपकारहरू नबिर्सी। जसले तेरा सबै अधर्महरू क्षमा गर्नु हुन्छ। जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ। जसले तेरा जीवनलाई सर्वनाशबाट मुक्त गर्नु हुन्छ। जसले तँलाई करूणा र कोमल कृपा को मुकुट लगाइदिनुहुन्छ। जसले तेरो मुखलाई उत्तम कुराहरूले तृप्त गराउनु हुन्छ। यसैले तेरो जवानी गरूडजस्तै नयाँ भइरहन्छ।”—भजन संग्रह ३२:१, २; १०३:२-५.
४६ “‘त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन बलियो हुनेछ। त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।’ त्यस्ले प्रार्थना गर्दा परमेश्वरले त्यसलाई जवाफ दिनु हुनेछ, त्यसले आनन्दसित परमेश्वरको सेवा गर्नेछ। परमेश्वरले त्यस्को निम्ति सबै कुरा ठीक गर्नु हुनेछ।” (अय्यूब ३३:२५, २६) यो मात्र होइन। प्रमाण अनुसार हाम्रो वर्त्तमान जीवन काल शेषहुनुभन्दा अघिनै, ख्रीष्टको १००० वर्षे शासन शुरु हुनेछ!b
४७. (क) चिहानमा गइसकेकाहरूले पनि ख्रीष्टको बलिदानबाट कसरी लाभ उठाउन सक्ने छन? (ख) यहोवाले मरेका मानव प्राणीहरूलाई पनि कसरी जीवित पार्नु हुनेछ? (ग) परमेश्वरको पुत्रले कहिले सम्म राज्य गर्नु हुनेछ?
४७ सारा मानव परिवारले ख्रीष्टको बलिदान बाट लाभ उठाउने हो भने, मरेका मानव प्राणीहरू पनि चिहानबाट पुन जीवित भएर आउनु पर्छ। यसैकारण, परमेश्वरको राज्यमा ख्रीष्टले मरेका अरबौं मानिसहरूको पुनरूत्थान गराउनु हुनेछ। यस विषयमा परमेश्वरको वचनमा यी शब्दहरू पाउछौं: “अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो कामअनुसार इन्साफ भयो।” (प्रकाश २०:१३) तर यो हुने कसरी? सृष्टिकर्त्ताले पृथ्वीको माटोबाट नयाँ मानव शरीरहरू सृष्टि गर्नु हुनेछ। उहाँको सिद्ध स्मरण-शक्तिमा रहेका पुरानो व्यक्तिहरू र तिनका सम्पूर्ण स्वभावका विवरण जम्मै ती नया सृष्टि भएका शरीरहरूमा छाप्नुहुनेछ। अनि ती शरीरहरूका प्रत्येक कोषमा जीवन शक्ति अथवा आत्मा जागृत गराउनुहुनेछ। यी पुर्नजीवित् प्राणीहरू अथवा जीवप्राणी फेरि पृथ्वमा बास गर्नेछन्। यो कस्तो अद्भुत चमत्कार हुनेछ! यहोवा परमेश्वरले मात्र यो महान कार्य उहाँको पुत्रले दिनुभएको मुक्तिमूल्य द्वारा गर्न सक्नु हुन्छ। हो, मरेर गएका हाम्रा प्रिय जनहरूको भावी जीवन कुनै काल्पनिक् अमर आत्मामा होईन तर यहोवा परमेश्वरको अटल प्रेम र स्मरण-शक्तिमा भर गर्दछ। किनभने, “ख्रीष्टले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नै पर्छ। सबै भन्दा पछि नामेट हुने शत्रु मृत्यु हो।” (१ कोरिन्थी १५:२५, २६) परमेश्वरको मानव सृष्टिमा मृत्युले फेरि कहिल्यै पनि राज्यगर्न पाऊने छैन।
४८. (क) मृत्यु माथि विजय गर्न के तपाईको निम्ति सम्भव छ? (ख) भविष्यमा तपाई पनि कुन विजय गीत गाउन सक्नु हुनेछ?
४८ कस्तो महान आशा! कति सन्तोषजनक कुरा हो यो! सोंचेर ल्याउदा मात्र पनि मानिसको हृदय न्यानो भएर आउंछ। अवश्यनै मृत्यु माथि विजय प्राप्त गर्न तपाईंका लागि सम्भव छ। के तपाईं यो आशा अपनाउन चाहनु हुन्छ? परमेश्वरले हाम्रो प्रथम पुर्खाको व्यक्तिगत् फैसलालाई मान्यता दिनु भएझैं, तपाईंको व्यक्तिगत् फैसला अथवा स्वेच्छालाई पनि मान्यता दिनु हुनेछ। यसकारण तपाईंले ठीक फैसला गर्नु आवश्यक छ अनि तपाईंले ठीक फैसला गर्नु हुनेछ भनि हामी आशा राख्दछौं। भविष्यमा तपाईंपनि ती आनन्दित् जनहरू मध्ये हुनुहोस् जसले यो गीत गाउने छन्: “ए मृत्यु तेरो विजय कहाँ? ए मृत्यु तेरो खील कहा?”—१ कोरिन्थी १५:५५.
ग्रंथ-सूची
१. राल्फ टी. एच. ग्रिफिथ, १८९६ को हिम्ज् अफ द ऋगवेद, जे. एल. शास्त्री ले १९७३ मा संशोधन गर्नु भएको। १९७६ मा मोतीलाल बनारसीदास, नया दिल्ली, द्वारा पुनःछपाइएको। (यो पुस्तिका मा ऋगवेदको यही संस्करण प्रयोग गरिएको छ।)
२. मारग्रेट र जोमज् स्टटली द्वारा प्रस्तुत अ डिकस्नरी अफ हिन्दूइजम पाना ३४६। एलाईड पब्लीशरज, १९७७।
३. माथि कै, पाना ३२४।
४. माथि कै, पाना १९४।
५. रोहित मेहताको द जर्नी विथ डेथ, पाना ७। मोतीलाल बनारसी दास, नया दिल्ली, १९७७।
६. अ डिकश्नरी अफ हिन्दूइजम पाना २०९ मा “निमित्ताज्ञान ‘साइतहरूको ज्ञान’” दिइएको छ।
७. हिन्दू रिलीजन, कस्टम एण्ड म्यानर, लेखक पी. थमस। पाना ७६, ७७। “बम्बईको डी.बी. तारपोरेवाला सन्स एण्ड कम्पनी” १९५६ ले यसो भन्नु हुन्छ: “गौली शास्त्र अथवा छेपारोको विज्ञान।”
८. १८९९, अक्सफर्ड युनीभर्सीटी प्रेस, प्रथम संस्करण, पाना १३५, अ संस्कृत-इंगलीश डिक्शनरी, लेखक: सर एम. मोनियर विलियम्स। मोतीलाल बनारसी दास, दिल्ली, १९७६ दोस्त्रों प्रकाशन। अ डिक्शनरी अफ हिन्डूइजम, पाना ३१.
९. एड टु बाइबल अण्डरस्टयाण्डिङ्ग, वाचटावर सोसाइटी, १९७१ पाना १५४२।
१०. अ संस्कृत इंगलिश डिकशनरी, पाना १२००।
११. माथि कै, पाना १३५।
१२. माथि कै, पाना ७०५।
१३. माथि कै, पाना ७०६।
१४. एड टु बाइबल अण्डरस्टयाण्डिङ्ग, पाना १५३३।
१५. अ संस्कृत इंगलिश डिकशनरी, पाना ४२२।
१६. भारतीय भाषाहरूका बाइबलहरूमा “प्राण” र “आत्मा” को प्रयोगमा गड़बड़, निम्न दिइएका उदाहरणहरूमा देख्नुहुनेछ:
पद मूलभाषा संस्कृत हिन्दी बंगाली मराठी गुजराती मलयालम
उत्पत्ति १:२ रुआह आत्मा आत्मा आत्मा आत्मा आत्मा आत्माउ
उत्पत्ति २:७ नेफेश प्राणी प्राणी प्राणी प्राणी प्राणी देही
मत्ती २:२० साइखे प्राणः प्राण प्राण जीव जीव प्राणन
युहन्ना ४:२४ न्यूमा आत्मा आत्मा आत्मा आत्मा आत्मा आत्माउ
१ थिस्स. ५:२३ न्यूमा आत्मान आत्मा आत्मा आत्मा आत्मा आत्माउ
१ थिस्स. ५:२३ साइखे प्राणी प्राण प्राण जीव प्राण प्राणन
हिब्रू ४:१२ साइखे प्राणी जीव प्राण जीव जीव प्राणन
हिब्रू ४:१२ न्यूमा आत्मा आत्मा आत्मा आत्मा आत्मा आत्माउ
तामिल भाषामा साइखे अनुवाद गर्दा तामिल बाइबलले कमसेकम सात बेग्ला बेग्लै शब्दहरू प्रयोग गरेको छ। पाँच शब्दहरू संस्कृतबाट लिएका हुन्। १०२ ठाँउमा साइखे शब्द आँउदा, तामिल बाइबलले ती ठाँउहरूमा यी शब्दहरू प्रयोग गरेका छन:
आत्तुमा (संस्कृत: आत्मा) ३६ पटक
जीवन (संस्कृत: जीवन) ३२ पटक
मणम (संस्कृत: सोंचाइ, मन, हृदय) ९ पटक
मनुषण (संस्कृत: मनुष्य) रोमी १३:१
प्राणन (संस्कृत: प्राण, सास) ५ पटक
उयीर (तामिल: जीवन, अस्तित्व) १० पटक
पेर (तामिल: नाम, मर्यादा, व्यक्ति) ४ पटक
पाँच पटकको प्रयोग यहाँ दिइएको छैन।
जे एम.एस. हूपरले तैयार पार्नु भएको, ग्रीक न्यू टेस्टामेण्ट टर्मज इन इनडियन ल्यांगुएजेज हेर्नु होस। दी बाइबल सोसाइटी अफ इण्डिया। १९५७ पाना १७६, १७७, २४०, २४१।
नेफेश र साइखेको ठाउँमा तामिल बाइबलले संस्कृत प्राण प्रयोग गरेको ठाँउ हरू हुन: उत्पत्ति १९:१९, २०; २५:८; ३५:२९; ४७:२५; १ समुएल १९:५, ११; २२:२३; २३:१५; २४:११; २ समुएल १:९; २३:१७; १ राजा १:१२; २:२३; ३:११; १९:२, ३, १०, १४; ७:७; १ इतिहास ११:१९; २ इतिहास १:११; मत्ती २:२०; प्रेरित १५:२५-२६; २०:१४; रोमी १६:४; फिलिप्पी २:३०; प्रकाश १६:३.—द कनकर्डन्स टु द तामिल बाइबल बाइ डी.ए. थ्रोवर, १९४३। द क्रिस्टीयन लिटरेचर सोसाइटी, मद्रास, १९७६।
मलयालम भाषामा “प्राण” को ठाउँमा अकसर देही शब्द प्रयोग गर्छन। यो शब्द पनि संस्कृत शब्द देया बाट आएको हो जिसको अर्थ “सृष्टि भएको” हो, अथवा देहा signifying “the body,” or dehin “having a body.”
१७. इन्डीयन विजडम बाई सर मोनियर विलियमस १८९३, पाना ४१। कोसमो प्रकाशक, नया दिल्ली, १९७८।
१८. द सेक्रेड राइटीङ्गस अफ द वर्ल्डस ग्रेट रीलिजनस बाइ एस. ई. फ्रस्ट, १९४३, पाना ३३ द न्यु होम लाइब्रेरी, द ब्लेकिस्टन कम्पनी। फिलाडेलफिया १९४७।
१९. द जर्नी विथ डेथ, पाना ११।
२०. हिन्दूइजम बाइ निराद सी चौधरी, पाना ३१२। अक्सफर्ड युनीभर्सीटी प्रेस। न्यू योर्क १९७९।
२१. द जर्नी विथ डेथ, पाना १४।
२२. द वाण्डर देट वज इन्डिया बाइ ए. एल. वेशम, पाना २७१, फनटाना बुक्स र रूपा एनणड कम्पनी, नया दिल्ली, १९८४।
२३. ए डिकशनरी अफ हिन्दूइजम, पाना २६४।
२४. द वाण्डर देत वज इन्डिया, पाना ३२३।
२५. अ डिकशनरी अफ हिन्दूइजम, पाना ३१, २१९।
२६. इन्डियन विजडम, पाना २८।
[फुटनोटहरू]
a कृपया २९ पानामा नम्बर १६ को व्याख्या हेर्नु होस्।
b कुरूक्षेत्र देखि हारमागेदन सम्म—र तपाई को बचाव पुस्तिका हेर्नुहोस। प्रकाशक: वाचटावर बाइबल र ट्रैक्ट सोसाइटी।
[पृष्ठ ५-मा भएका चित्र]
प्रथम मानव जोड़ी द्वारा मानिस जातिमा मृत्यु आयो।
[पृष्ठ ७-मा भएका चित्र]
मृत्यूले क्षति र निसःहायताको भावना उत्पन्न गराँउछ
[पृष्ठ ११-मा भएका चित्र]
तिनी जम्मै प्राणीहरू हुन्
[पृष्ठ १३-मा भएका चित्र]
शरीर + जीवन शक्ति = जीवित प्राणी
[पृष्ठ १८-मा भएका चित्र]
मानिसलाई बचाउनको निम्ति, परमेश्वरले न्यायपूर्ण प्रेम प्रयोग गर्नु भयो
[पृष्ठ २०-मा भएका चित्र]
सिद्ध येशु आदमको बराबरीको हुनु हुन्थ्यो
[पृष्ठ २२-मा भएका चित्र]
परमेश्वरको उपासना गर्नको निम्ति हामीलाई ठूला ठूला भवन अथवा मूर्तिहरू चाहिंदैन
[पृष्ठ २३-मा भएका चित्र]
आदमको पापले गर्दा येशुको बलिदान आवश्यक भयो
[पृष्ठ २७-मा भएका चित्र]
मृत्यु माथि विजयी!