अध्याय १०७
राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्
विवाह-भोजको उदाहरण
आफ्नो सेवाको कामको अन्त-अन्ततिर पनि येसु शास्त्री र मुख्य पुजारीहरूको पर्दाफास गर्न उदाहरणहरू चलाउँदै हुनुहुन्छ। त्यसैले तिनीहरू उहाँलाई मार्न चाहन्छन्। (लुका २०:१९) तर येसु तिनीहरूको पर्दाफास गर्न छोड्नुहुन्न। उहाँ अर्को उदाहरण बताउनुहुन्छ:
“स्वर्गको राज्यलाई एउटा राजासित तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे। अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्।” (मत्ति २२:२, ३) येसु यस उदाहरणको सुरुमा “स्वर्गको राज्य”-बारे उल्लेख गर्नुहुन्छ। त्यसैले उदाहरणको “राजा” यहोवा हुनुहुन्छ भन्नु तर्कसङ्गत छ। त्यसोभए राजाको छोरा र विवाह-भोजका निम्तालुहरू को हुन्? राजाको छोरा को हुनुहुन्छ, हामी सजिलै अनुमान लगाउन सक्छौँ। उहाँ यहोवाको छोरा हुनुहुन्छ, जो अहिले यो उदाहरण बताउँदै हुनुहुन्छ। निम्तालुहरूचाहिँ भविष्यमा स्वर्गको राज्यमा छोरासँगै शासन गर्नेहरू हुन् भनेर अनुमान लगाउन पनि गाह्रो छैन।
सबैभन्दा पहिला निम्तो पाउनेहरू को हुन्? तिनीहरू येसु र उहाँका प्रेषितहरूले राज्यबारे प्रचार गरिरहेकाहरू अर्थात् यहुदीहरू नै हुन्। (मत्ति १०:६, ७; १५:२४) यो राष्ट्र ईसापूर्व १५१३ मा व्यवस्थाको करारको अधीनमा बस्न राजी भयो। यसरी तिनीहरू “पुजारीहरूको राज्य”-को भाग बन्नेहरूमध्ये पहिलो भए। (प्रस्थान १९:५-८) तर तिनीहरूलाई “विवाह-भोज”-मा कहिले बोलाइने थियो? निम्तो दिने काम इस्वी संवत् २९ मा येसुले स्वर्गको राज्यबारे प्रचार गर्न थाल्नुभएदेखि सुरु भयो भन्नु तार्किक छ।
धेरैजसो इस्राएलीले त्यो निम्तो पाउँदा कस्तो प्रतिक्रिया देखाए? येसुले भन्नुभएअनुसार “तिनीहरू आउन मानेनन्।” धर्मगुरुहरू र सर्वसाधारणमध्ये धेरैले येसुलाई मसीह र परमेश्वरले चुन्नुभएको राजाको रूपमा स्विकारेनन्।
तर येसुले सङ्केत गर्नुभएझैँ यहुदीहरूलाई अर्को मौका दिइने थियो: “[राजाले] फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर्नुहोस्! मैले दिवा-भोज तयार पारेको छु, मेरा बहर र मोटा-मोटा पशुहरू काट्न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्। विवाह-भोजमा आउनुहोस्।”’ तर तिनीहरूले वास्तै गरेनन्; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिँ व्यापारतिर लाग्यो। बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।” (मत्ति २२:४-६) ख्रिष्टियन मण्डली स्थापना भएपछि अवस्था त्यस्तै हुने थियो। यहुदीहरूले अझै पनि परमेश्वरको राज्यको भाग हुने मौका पाउने थिए। तर धेरैजसोले त्यो निम्तोलाई तिरस्कार गरे र ‘राजाका दासहरूलाई’ दुर्व्यवहारसमेत गरे।—प्रेषित ४:१३-१८; ७:५४, ५८.
इस्राएल राष्ट्रले कस्तो नतिजा भोग्ने थियो? येसु भन्नुहुन्छ: “राजा क्रोधित भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई मारे र तिनीहरूको सहरमा आगो लगाइदिए।” (मत्ति २२:७) इस्वी संवत् ७० मा रोमीहरूले यहुदीहरूको “सहर” यरुसलेम विनाश गर्दा तिनीहरूले यस्तै अनुभव गरे।
तिनीहरूले राजाको निम्तोलाई तिरस्कार गर्नुको मतलब अरू कसैलाई निम्तो दिइनेछैन भन्ने हो? येसुको उदाहरणअनुसार त्यसो होइन। उहाँ अझै यसो भन्नुहुन्छ: “त्यसपछि [राजाले] आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्। त्यसैले सहरका मूलबाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’ त्यसैले ती दासहरू बाटोतिर गए अनि के दुष्ट, के सज्जन, भेटेजति सबैलाई जम्मा गरे र विवाह-घर पाहुनाहरूले भरियो।”—मत्ति २२:८-१०.
पछि प्रेषित पत्रुसले अन्यजातिहरूलाई—जो जन्मजात यहुदी होइनन् वा जो धर्म परिवर्तन गरेर यहुदी बनेका छैनन्, तिनीहरूलाई साँचो ख्रिष्टियन बन्न मदत दिन थाल्दा यस्तै हुने थियो। इस्वी संवत् ३६ मा रोमी सैन्यदलका अफिसर कर्निलियस र तिनको परिवारले परमेश्वरको पवित्र शक्ति पाए र तिनीहरूले येसुले उल्लेख गर्नुभएको स्वर्गको राज्यको भाग हुने मौका पाए।—प्रेषित १०:१, ३४-४८.
विवाह-भोजमा आउनेहरूमध्ये सबै जनालाई “राजा”-ले स्विकार्ने छैनन् भनेर येसु सङ्केत गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्यौ?’ उसले जवाफै दिन सकेन। त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’ किनकि निम्तालुहरू त धेरै छन् तर चुनिएकाहरू भने थोरै हुन्छन्।”—मत्ति २२:११-१४.
येसुको कुरा सुनिरहेका धर्मगुरुहरूले उहाँले भनिरहनुभएको सबै कुराको अर्थ राम्ररी नबुझेका हुन सक्छन्। जेहोस्, तिनीहरू क्रोधित हुन्छन् र आफ्नो अपमान गर्ने येसुलाई मार्न पहिलाभन्दा झनै सुरिन्छन्।