खराब कुराको रिपोर्ट किन गर्ने?
“अरूको पोल खोल्ने मानिस शत्रु हो,” भन्ने भनाइ पश्चिम अफ्रिकामा छ। ओलुले आफ्नो दाइलाई बहिनीसित हाडनाताकरणी राखेको दोष लगाउँदा ठीक त्यस्तै भयो। “तँ फटाहा होस्!” दाइ कराए। त्यसपछि तिनले ओलुलाई नराम्रोसित पिटे, घरबाट निकाले र ओलुको लुगाहरू सबै जलाइदिए। गाउँलेहरूले पनि दाइकै पक्ष लिए। गाउँमा बस्नै नसक्ने भएकोले ओलु गाउँ छोड्न बाध्य भए। ओलुकी बहिनी दुइ जीउकी भएजस्तो देखिन थालेपछि मात्रै ओलुले साँचो बोलेको रहेछ भनी मानिसहरूले थाह पाए। दाइले गल्ती स्वीकारे र ओलुलाई फेरि बोलाइयो। यस घटनाले अर्कै मोड पनि लिनसक्थ्यो। ओलु मारिन पनि सक्थे।
स्पष्ट छ, यहोवालाई प्रेम नगर्ने मानिसहरू आफ्नो पोल खोलेको चाहँदैनन्। ताडना दिंदा प्रतिरोध गर्ने र ताडना दिने व्यक्तिप्रति पनि रीस राख्ने पापी मानव झुकाउ मानिसहरूमा हुन्छ। (यूहन्ना ७:७ तुलना गर्नुहोस्।) त्यसैकारण त कोही कोही मानिसहरू सम्बन्धित व्यक्तिहरूसामु अरूको पोल खोल्नुको साटो ढुंगाजस्तै चुप लागेर बस्छन्।
ताडनाको महत्त्वलाई बुझ्ने
तथापि, यहोवाका जनहरूले ताडनालाई अर्कै दृष्टिकोणले हेर्छन्। ईश्वरभीरु पुरुष तथा स्त्रीहरू मसीही मण्डलीभित्र गल्ती गर्नेहरूका निम्ति परमेश्वरले गर्नुभएको प्रबन्धको गहिरो मूल्यांकन गर्छन्। त्यस्तो अनुशासन उहाँको करुणाको अभिव्यक्ति हो भनी तिनीहरूले बुझेका छन्।—हिब्रू १२:६-११.
यसको उदाहरणस्वरूप हामी राजा दाऊदको जीवनको एउटा घटनालाई लिनसक्छौं। युवावस्थादेखि नै तिनी धर्मी भए तापनि तिनले एक समय गम्भीर गल्ती गरे। पहिला त तिनले व्यभिचार गरे। अनि आफ्नो गल्तीलाई ढाकछोप गर्न तिनले त्यस स्त्रीको पतिलाई मार्न लगाए। तर यहोवाले अगमवक्ता नातानलाई दाऊदको पापबारे बताउनुभयो र नातानले साहसपूर्वक दाऊदको पोल खोले। प्रभावकारी उदाहरण चलाएर नातानले दाऊदसित प्रश्न गरे, भेडाबाख्रा धेरै भएको एक धनी मानिसले पाहुना सत्कार गर्न गरिबको मनपर्ने एउटा मात्र पाठोलाई मार्छ भने त्यस धनीलाई के गर्ने। आफू पनि पहिला गोठालो भएको हुँदा दाऊद रीसले चूर भएर यसो भने: “यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!” अनि नातानले त्यस उखान दाऊदमाथि लागू गर्दै यसो भने: “त्यो मानिस तपाईं नै हो!”—२ शमूएल १२:१-७.
दाऊद नातानदेखि रिसाएनन्। तिनले नता आफ्नो प्रतिरक्षा गर्न खोजे न उल्टा आरोप नै लगाए। बरु, नातानको हप्काइले तिनको अन्तस्करणलाई निकै झस्कायो। हृदयदेखि दुःखित भएका दाऊदले यसरी आफ्नो पाप स्वीकारे: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।”—२ शमूएल १२:१३.
नातानले पाप पर्दाफास गरेपछि दाऊदले ईश्वरीय ताडना पाए र त्यसको नतिजा असल भयो। आफ्नो गल्तीको फल भोग्नु परे तापनि दाऊदले पश्चात्ताप गरेर यहोवासित पुनः मिलाप गरे। त्यस्तो ताडनाप्रति दाऊदको कस्तो विचारधारा थियो? तिनले लेखे: “धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दयाझैं हुनेछ, तिनले मलाई चेताउनी दिऊन्, त्यो मेरो शिरमा तेलझैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ।”—भजन १४१:५.
हाम्रो समयमा पनि यहोवाका जनहरू र कहिलेकाहीं वर्षौंदेखि विश्वासी भएर रहेकाहरूसमेत गम्भीर पापहरूमा मुछिनसक्छन्। प्राचीनहरूले मदत गर्नसक्छन् भनी बुझेर धेरैजसो त मदतको लागि तिनीहरूकहाँ जान्छन्। (याकूब ५:१३-१६) तर कहिलेकाहीं राजा दाऊदले जस्तै गल्ती गर्नेहरूले आफ्नो गल्तीलाई ढाकछोप गर्ने कोसिस गर्लान्। मण्डलीमा त्यस्तै कुनै गम्भीर गल्ती भएको थाह भयो भने के गर्ने?
कसको जिम्मेवारी?
गम्भीर गल्तीबारे प्राचीनहरूले थाह पाए भने सम्बन्धित व्यक्तिसित भेटेर तिनीहरूले चाहिएको मदत दिन्छन् र सच्याउँछन्। मण्डलीभित्र त्यस्ता व्यक्तिहरूको न्याय गर्ने जिम्मेवारी प्राचीनहरूकै हो। मसीही मण्डलीको आध्यात्मिक अवस्थालाई होशियारीपूर्वक ध्यान दिंदै मूर्ख वा गलत कदम चाल्नेहरूलाई चाहिएको मदत र सल्लाह प्राचीनहरूले दिन्छन्।—१ कोरिन्थी ५:१२, १३; २ तिमोथी ४:२; १ पत्रुस ५:१, २.
तर तपाईं प्राचीन हुनुहुन्न र अर्को मसीहीले गरेको गम्भीर गल्ती थाह पाउनुभयो भने नि? यहोवाले इस्राएललाई दिनुभएको व्यवस्थामा त्यस विषयसित सम्बन्धित निर्देशनहरू पाइन्छन्। व्यवस्थाअनुसार कोही मानिसले धर्मत्याग, गैरकानुनी आचरण, हत्या वा त्यस्तै केही गम्भीर अपराधबारे थाह पाएमा बताउनुपर्थ्यो। लेवी ५:१ मा यसो भनिएको छ: “यदि कोही मानिसले यस्तो किसिमको पाप गऱ्यो, कि साक्षी भईकन किरिया खुवाएर बकाउँदा पनि आफूले देखेको र जानेको कुरो त्यसले बोल्दैन भने, त्यसले आफ्नो अपराध भोग्नेछ।”—तुलना गर्नुहोस् व्यवस्था १३:६-८; एस्तर ६:२; हितोपदेश २९:२४.
आज हामी मोशालाई दिइएको व्यवस्थाअन्तर्गत त छैनौं तैपनि मसीहीहरूले त्यस व्यवस्थाका सिद्धान्तहरू पालन गर्नसक्छन्। (भजन १९:७, ८) त्यसोभए, सँगी मसीहीले कुनै गम्भीर गल्ती गरेको थाह पाउनुभयो भने तपाईंले के गर्नुपर्छ?
मामिलालाई सँभाल्ने
प्रथमतः, साँच्चै कुनै गम्भीर गल्ती भएको हो भनी विश्वास गर्ने बलियो आधार हुनु अत्यावश्यक छ। एक बुद्धिमान् मानिसले यस्तो उल्लेख गरे: “आफ्नो छिमेकीको विरुद्धमा केही कारणै विना गवाही नदे, अथवा आफ्नो साक्षीमा झूटा बयान नदे।”—हितोपदेश २४:२८.
सोझै प्राचीनहरूकहाँ जाने निर्णय तपाईंले गर्नुहोला र त्यसो गर्नुमा कुनै खराबी छैन। तर अक्सर सबैभन्दा मायालु तरिका चाहिं घटनामा सम्मिलित व्यक्तिकहाँ जानु नै हुनेछ। शायद, कुरा सोचेजस्तो नहुनसक्छ। वा प्राचीनहरूले मामिलालाई सँभालिसकेका हुनसक्छन्। शान्तपूर्वक त्यस व्यक्तिसित छलफल गर्नुहोस्। गम्भीर गल्ती भएको हो भनी विश्वास गर्ने अझै पनि कुनै आधार छ भने, सम्बन्धित व्यक्तिलाई प्राचीनहरूकहाँ मदतको निम्ति जान प्रोत्साहित गर्नुहोस् र त्यसो गर्दा तिनको भलाइ हुन्छ भनेर औंल्याइ दिनुहोस्। यसबारे अन्य व्यक्तिहरूसित कुरा नगर्नुहोस् किनभने त्यसो गर्नु कुरा काटेको बराबर हुनेछ।
केही समयको अन्तरालमा पनि त्यस व्यक्तिले प्राचीनहरूलाई रिपोर्ट गर्दैन भने तपाईंले रिपोर्ट गर्नुपर्छ। अनि एक वा दुइ जना प्राचीनहरूले गल्ती गर्ने व्यक्तिसित छलफल गर्नेछन्। साँच्चै गल्ती गरेको हो या होइन, हेर्न प्राचीनहरूले “सोध-खोज गरेर राम्ररी केरकार” गर्नुपर्छ। गल्ती भएको रहेछ भने तिनीहरूले धर्मशास्त्रीय निर्देशनअनुसार मामिला सँभाल्नेछन्।—व्यवस्था १३:१२-१४.
गल्ती गरेको आरोप लाउन कम्तीमा पनि दुइ जना गवाही चाहिन्छ। (यूहन्ना ८:१७; हिब्रू १०:२८) एक जना मात्र गवाही छ र दोषीले दोष स्वीकार्न इन्कार गर्छ भने, मामिला यहोवाको हातमा छोड्नुपर्छ। (१ तिमोथी ५:१९, २४, २५) किनकि यहोवाको “दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन” र त्यो मानिस दोषी छ भने अन्ततः त्यस मानिसको पाप अवश्य ‘फेला पर्नेछ।’—हिब्रू ४:१३; गन्ती ३२:२३.
तर मानौं, त्यस व्यक्तिले साँच्चै दोष अस्वीकार गऱ्यो र तिनी विरुद्ध तपाईं मात्रै गवाही हुनुहुन्छ। अब के तपाईंमाथि निन्दा गरेको आरोप लाग्नसक्छ? सक्दैन, यदि तपाईंले यस मामिलामा नमुछिएका व्यक्तिहरूसित त्यसबारे कुरा गर्नुभएको छैन भने। मण्डलीलाई नै धक्का पुग्नसक्ने कुराहरूबारे निरीक्षण गर्ने तथा सच्याउने अख्तियार र जिम्मेवारी पाएकाहरूलाई रिपोर्ट गर्नु निन्दा गर्नु होइन। वास्तवमा, त्यसो गर्दा सही काम गर्ने र वफादार रहने हाम्रो इच्छाअनुरूप हुन्छ।—लूका १:७४, ७५ तुलना गर्नुहोस्।
मण्डलीमा पवित्रता कायम राख्ने
गल्तीबारे रिपोर्ट गर्दा मण्डलीलाई स्वच्छ राख्न मदत मिल्छ। यहोवा स्वच्छ, पवित्र परमेश्वर हुनुहुन्छ। उहाँको उपासना गर्ने सबै मानिस आध्यात्मिक र नैतिक तवरमा स्वच्छ भएको उहाँ चाहनुहुन्छ। उहाँको प्रेरित वचनले यस्तो सल्लाह दिन्छ: “आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषाअनुसार नभएर, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’ ” (१ पत्रुस १:१४-१६) अशुद्ध वा गल्ती गर्ने व्यक्तिविशेषले पूरै मण्डलीलाई अशुद्ध बनाउनसक्छ र गल्ती गर्नेहरूलाई नसच्याएसम्म वा नहटाएसम्म यहोवाको अनुग्रह पाउन सकिंदैन।—यहोशू, अध्याय ७ तुलना गर्नुहोस्।
गलत कार्यबारे रिपोर्ट गर्दा परमेश्वरका जनहरूमाझ कसरी स्वच्छता कायम रहन्छ भन्ने कुरा प्रेरित पावलले कोरिन्थ मण्डलीका मसीहीहरूलाई लेखेको पत्रबाट स्पष्ट हुन्छ। प्रथम पत्रमा पावलले यसो लेखे: “तिमीहरूका बीचमा व्यभिचार छ भन्ने स्पष्ट सुनिन्दैछ, औ यस्तो व्यभिचार, जो अन्यजातिहरूमा पनि हुँदैन, कि तिमीहरूमा एक जनाले आफ्नै बाबुको स्वास्नी राखेको छ, अरे।”—१ कोरिन्थी ५:१.
प्रेरित पावलले यो रिपोर्ट कहाँबाट पाए, बाइबलले हामीलाई बताउँदैन। पावलले यो समाचार सम्भवतः स्तिफनस, फोटुनाटस र अखाइकसबाट पाएको हुनसक्छ। किनकि तिनीहरू पावललाई भेट्न कोरिन्थबाट एफिसस आएका थिए। कोरिन्थको मसीही मण्डलीबाट थुप्रै विषयहरूमा सोधिएका प्रश्नहरूले भरिभराउ पत्र पनि पावलले पाएका थिए। खबर जुनसुकै स्रोतबाट पाएको भए तापनि त्यस घटनाबारे भरपर्दो गवाहीहरूले रिपोर्ट गरेपछि तिनले आवश्यक निर्देशनहरू दिनसके। तिनले लेखे: “तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” त्यस मानिसलाई मण्डलीबाट बहिष्कार गरियो।—१ कोरिन्थी ५:१३; १६:१७, १८.
के पावलको निर्देशनले असल नतिजा पायो? अवश्य! स्पष्टतः, गल्ती गर्नेलाई आफ्नो गल्ती महसुस भयो। कोरिन्थको मण्डलीलाई लेखेको दोस्रो पत्रमा पावलले पश्चात्तापीलाई “अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनु” भनी आग्रह गरे। (२ कोरिन्थी २:६-८) अतः, गलत कार्यबारे रिपोर्ट गर्दा मण्डली पुनः स्वच्छ भयो र परमेश्वरसितको सम्बन्ध बिगार्ने मानिसले पनि पुनः परमेश्वरको अनुग्रह पाउनसके।
कोरिन्थको मसीही मण्डलीलाई लेखेको पावलको पहिलो पत्रमा हामी अर्को उदाहरण पनि पाउनसक्छौं। यसपालि रिपोर्ट गर्ने गवाहीहरूका नाउँ प्रेरित पावलले उल्लेख गरेका छन्। तिनले लेखे: “ए मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने तिमीहरूका बारेमा क्लोएका घरानाकाहरूबाट मलाई सूचना मिलेको छ।” (१ कोरिन्थी १:११) यसप्रकार झगडा, साथै केही खास व्यक्तिहरूलाई चाहिंदो भन्दा बढ्ता आदर गर्ने मनोवृत्तिले गुटबन्दीको भाव सृजना गरिरहेको अनि यसले मण्डलीको एकतालाई नै खतरामा पारिरहेको छ भनी पावललाई थाह थियो। तसर्थ, आफ्ना सँगी विश्वासीहरूको आध्यात्मिक हितबारे गहिरो चिन्ता लिंदै पावलले तुरुन्तै मण्डलीलाई सच्याउन पत्र लेखे।
आज, संसारभरि परमेश्वरको मण्डलीमा थुप्रै भाइबहिनीहरू छन् र यिनीहरू सबैले व्यक्तिगत तवरमा परमेश्वरको अनुमोदन प्राप्त गरेर मण्डलीमा आध्यात्मिक स्वच्छता कायम राख्न भरमग्दुर प्रयास गर्छन्। यसो गर्दा कसैले दुःख भोग्छन् भने कसैले आफ्नो निष्ठा कायम राख्न ज्यानसमेत गुमाएका छन्। गल्तीबारे थाह हुँदाहुँदै आँखा चिम्लिनु वा ढाकछोप गर्नु निश्चय नै यस्ता प्रयासहरूलाई हल्कासित लिनु बराबर हुनेछ।
गल्ती गर्नेहरूका लागि मदत
गम्भीर पाप गर्ने कोही कोही मण्डलीका प्राचीनहरूकहाँ जानदेखि किन पछि हट्छन् त? अक्सर तिनीहरूलाई प्राचीनहरूकहाँ जाँदा हुने फाइदाहरूबारे थाहै हुँदैन। कसैको चाहिं यस्तो गलत विचारधारा पनि हुन्छ कि आफ्नो पापबारे बताएमा सम्पूर्ण मण्डलीले थाह पाउनेछ। अरू कोहीले पापको गम्भीरतालाई हल्का सम्झन्छन्। कोहीले प्राचीनहरूको मदतबिना नै सच्याउन सकिन्छ भन्ने विचारधारा राख्छन्।
तर त्यस्ता गल्ती गर्नेहरूलाई मण्डलीका प्राचीनहरूको मायालु मदत चाहिन्छ। याकूबले लेखे: “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्। औ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।”—याकूब ५:१४, १५.
गल्ती गर्नेहरूको आध्यात्मिक अवस्थालाई पुनः सुधार्ने कत्ति राम्रो प्रबन्ध! परमेश्वरको वचनका अत्युत्तम सल्लाहहरू लागू गरेर अनि तिनीहरूका लागि प्रार्थना गरेर आध्यात्मिक बिरामीहरूलाई प्राचीनहरूले मदत गर्नसक्छन्। अतः, पश्चात्ताप गर्नेहरूले मायालु प्राचीनहरूसित भेटेपछि दोषी महसुस हुनुको साटो स्फूर्ति र सान्त्वना पाउँछन्। पश्चिम अफ्रिकाका एक जवान मानिसले व्यभिचार गरेर केही महिनासम्म आफ्नो पापलाई ढाकछोप गरेका थिए। तिनको पोल खोलेपछि तिनले प्राचीनहरूलाई यसो भने: “त्यस केटीसित लागेको बेला कसैले केही प्रश्न गरेको भए कत्ति बेस हुन्थ्यो! सबै कुरा खुलस्त भन्न पाउँदा मलाई कत्ति ढुक्क भएको छ।”—भजन ३२:३-५ तुलना गर्नुहोस्।
सैद्धान्तिक प्रेमको कार्य
परमेश्वरका बप्तिस्माप्राप्त सेवकहरू “मृत्युबाट पार भएर जीवनमा सरिसकेका” छन्। (१ यूहन्ना ३:१४) तर गम्भीर पाप गऱ्यो भने तिनीहरू फेरि मृत्युतिर फर्केका हुन्छन्। तिनीहरूलाई मदत दिएन भने गलत कार्यमै झन् धेरै फस्नसक्छन्। फलस्वरूप, पश्चात्ताप गर्न इच्छुक हुँदैनन् र साँचो परमेश्वरको उपासनाबाट टाढिनसक्छन्।—हिब्रू १०:२६-२९.
गलत कार्यबारे रिपोर्ट गर्नु गल्ती गर्ने व्यक्तिप्रति साँचो चासो देखाउनु हो। याकूबले यसो लेखे: “हे मेरो भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट चुक्छ भने, र अरू कसैले त्यसलाई फिराएर ल्याउँछ भनेता, त्यसले जानोस्, कि जसले त्यस पापीलाई त्यसको कुमार्गबाट फिराएर ल्याउँछ, त्यसले एक आत्मालाई मृत्युबाट बचाउनेछ, र पापको राशलाई ढाक्नेछ।”—याकूब ५:१९, २०.
त्यसोभए, खराब कुराको रिपोर्ट किन गर्नुपर्दो रहेछ त? किनभने त्यसको नतिजा असल हुन्छ। साँच्चै भन्ने हो भने, गलत कार्यबारे रिपोर्ट गर्नु परमेश्वर, मण्डली र गल्ती गर्नेप्रति सिद्धान्तमा आधारित मसीही प्रेम देखाउनु हो। मण्डलीको प्रत्येक सदस्यले वफादारीपूर्वक परमेश्वरका धार्मिक स्तरहरू पछ्याउन प्रयास गर्दा यहोवाले सम्पूर्ण मण्डलीलाई नै प्रचुर मात्रामा आशिष् दिनुहुनेछ। यसबारे प्रेरित पावलले यसो लेखे: “उहाँले [यहोवा] तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निष्कलंक हुनालाई अनन्तसम्म दृढ़ गरी राख्नुहुनेछ।”—१ कोरिन्थी १:८.
[पृष्ठ २६-मा भएको चित्र]
गल्ती गर्ने सँगी यहोवाको साक्षीलाई प्राचीनहरूसित कुरा गर्न प्रोत्साहन दिंदा प्रेम प्रदर्शित हुन्छ
[पृष्ठ २८-मा भएको चित्र]
प्राचीनहरूले गल्ती गर्नेलाई परमेश्वरको अनुग्रह पुनः पाउन सहयोग गर्छन्