बाइबलको दृष्टिकोण
शरीर श्रृंगार—व्यावहारिकताको खाँचो
“व्यर्थता भनेको बौद्धिक क्षमताको पासो हो” भनी फ्रान्सिसी उपन्यासकारले लेखिन्। शताब्दीयौंको दौडान मानिसहरूले गरेका व्यर्थ कामहरूको व्यावहारिकतासित कुनै सरोकार छैन। उदाहरणका लागि, १९ औं शताब्दीका आइमाईहरू सकेसम्म सानो कम्मर बनाउने प्रयासमा सासै फेर्न गाह्रो हुने गरी पेट टुनुक्क कस्थे। कसै कसैले त आफ्नो कम्मर ३२५ मिलिमिटरसम्म भएको दाबी गरेका थिए रे। यसरी टुनुक्क बाँध्दा कोही कोही आइमाईहरूको करङले कलेजोलाई छेडेर मृत्युसमेत हुने गर्थ्यो।
खुसीको कुरा, अहिले त्यस्तो फेसन छैन तर त्यतिबेलाको जस्तै बेकारको फेसन अहिलेका कतिपय कुराहरूमा झल्कन्छ। पुरुष तथा स्त्रीहरू आफ्नो रूप बदल्न कठिन र कहिलेकाहीं त खतरनाक तरिकाहरू अपनाउन पनि पछि पर्दैनन्। उदाहरणका लागि, शरीरमा चित्र कुँद्न र छेड्न कुनै समय समाजका बदनाम मानिसहरू मात्र जाने गर्थे तर अहिले बजार र शहरी इलाकाको छेउछाउमा छ्यासछ्यासती देखा पर्न थालेका छन्। भनौं भने, यो शरीरमा चित्र कुँद्ने व्यवसाय हालै संयुक्त राज्यको बढ्दो व्यापारमा छैठौं स्थान ओगट्न सफल भएको थियो।
विशेष गरी जवान मानिसहरूको समूहमा शरीर श्रृंगारले उग्र रूप लिएको छ। तिनीहरूले शरीरमा जतासुकै छेड्न थालेका छन्, जस्तै, स्तनको मुन्टो, नाक, जिब्रो र जननेन्द्रियमा छेड्नु पनि लोकप्रिय हुँदै गइरहेको छ। कुनै कुनै समूहलाई त्यसरी छेड्नु पनि रोमाञ्चक लाग्न छोडिसक्यो। तिनीहरूले शरीर डाम्ने, काट्नेa र अनेकन् आकार निकाल्नेजस्ता उग्र कार्यहरू गर्न खोजिरहेका छन् र यसो गर्न तिनीहरूले अत्यन्तै भड्किलो प्वाल र खाल्टाखुल्टी बनाउन छालाभित्र नानाथरिका चीजबीज घुसाउने गर्छन्।
पुरातन प्रचलन
शरीर श्रृंगार वा साजसज्जा कुनै नौलो कुरा होइन। अफ्रिकाका कुनै कुनै भागमा, खास परिवार वा जातिलाई चिनाउन परम्परागत रीतिथितिअनुसार शरीरमा दाग बनाउने, चित्र कुँद्ने चलन शताब्दीयौंदेखि चलिआएको छ। चाखलाग्दो कुरा के हो भने, प्रायजसो यी मुलुकहरूमा त्यस्ता चलनहरू मन पराउन छाडिसक्यो र यसको लोकप्रियता घट्दैछ।
बाइबल समयमा पनि शरीरमा चित्र कुँद्ने, छेड्ने र काट्ने चलन थियो। ती प्रायजसो मूर्तिपूजक राष्ट्रहरूले धर्मको नाउँमा गर्ने गर्थे। त्यसैकारण, यहोवाले आफ्ना यहूदी जनहरूलाई ती मूर्तिपूजकहरूको अनुसरण गर्न निषेध गर्नुको कारण बुझ्न सक्छौं। (लेवी १९:२८) यसरी परमेश्वरले “आफ्नो निज प्रजा” हुन छान्नुभएको यहूदीहरूलाई झूटा धार्मिक प्रचलनहरूबाट जोगाउनुभयो।—व्यवस्था १४:२.
मसीही स्वतन्त्रता
मोशालाई दिइएको व्यवस्थाका कुनै कुनै सिद्धान्त मसीही मण्डलीमा पनि लागू हुने भए तापनि मसीहीहरू त्यो व्यवस्थाको अधीनमा छैनन्। (कलस्सी २:१४) सामाजिक र नैतिकताको परिधिभित्र रहेर आफूलाई कुन श्रृंगार उपयुक्त लाग्छ, त्यही रोज्न सकिन्छ। (गलाती ५:१; १ तिमोथी २:९, १०) तथापि, यो स्वतन्त्रताको सीमा छ।—१ पत्रुस २:१६.
पहिलो कोरिन्थी ६:१२ मा पावलले यसप्रकार लेखे: “सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर सबै कुरा फायदाका छैनन्।” पावलले मसीहीको हैसियतमा पाएको यो स्वतन्त्रताले अरूको पर्वाह नै नराखी आफूलाई मन परी गर्ने छुट दिंदैन भनी बुझेका थिए। तिनका कार्यहरू अरूप्रतिको प्रेमले उत्प्रेरित थियो। (गलाती ५:१३) तिनले यस्तो आग्रह गरे, “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) शरीर श्रृंगारबारे सोचिरहेका मसीहीहरूको निम्ति पावलको निःस्वार्थ दृष्टिकोण एउटा अत्युत्तम उदाहरण हो।
विचार गर्नुपर्ने बाइबल सिद्धान्तहरू
मसीहीहरूले पालन गर्नुपर्ने एउटा आज्ञा, सुसमाचार प्रचार गर्नु र सिकाउनु हो। (मत्ती २८:१९, २०; फिलिप्पी २:१५) अतः तिनीहरू सुसमाचार सुन्नदेखि अलमलाउने केही पनि गर्न चाहँदैनन्, चाहे त्यो रूपरंग वा जेसुकै किन नहोस्।—२ कोरिन्थी ४:२.
शरीरमा छेड्ने वा अनेकन् चित्र कुँद्ने चलन लोकप्रिय होला तर प्रत्येक मसीहीले यो प्रश्न सोध्नु उपयुक्त हुनेछ, ‘त्यस्तो श्रृंगार गर्दा मेरो इलाकाका मानिसहरूले कस्तो दृष्टिकोण राख्नेछन्? के मलाई समाजको कुनै उग्र समुदायको भाग ठानिनेछ? मेरो अन्तस्करणलाई कुनै फरक नपारे पनि मैले शरीर छेड्दा वा अनेकन् चित्रहरू कुँद्दा मण्डलीका अरू सदस्यहरूप्रति कस्तो असर पर्नेछ? के तिनीहरूले “संसारको आत्मा” झल्काएको भन्ठान्नेछन्? के मेरो “आत्मसंयम[मा]” पनि शंका उत्पन्न हुनसक्छ?—१ कोरिन्थी २:१२; १०:२९-३२; तीतस २:१२.
शरीरमा गरिने कुनै कुनै कार्यहरूको परिणामस्वरूप गम्भीर स्वास्थ्य खतरा हुनसक्छ। फोहर सियोहरूले शरीरमा चित्र कुँद्दा हेपाटाइटिस र एच आइ भी-जस्ता रोगहरू सरेका छन्। कहिलेकाहीं शरीरमा प्रयोग गरिने रंगले गर्दा छालाको रोग लागेको छ। छेडेको निको हुन महिनौं लाग्नसक्छ र निको होऊञ्जेल पनि असाध्यै दुख्नसक्छ। त्यसले गर्दा रगत विषाक्त हुने, रक्तस्राव, रगत जम्ने, नसामा क्षति अनि घातक संक्रमण हुनसक्छ। साथै, कुनै कुनै प्रक्रिया एक चोटि गरेपछि जिन्दगीभर रहिरहन्छ। उदाहरणका लागि, आकार र रंग हेरेर शरीरमा कुँदेका कुनै कुनै चित्र हटाउन एकदमै खर्चिलो र पीडादायी लेजर विधि निकै चोटि गर्नुपर्ने हुनसक्छ। शरीर छेड्दा जिन्दगीभर खत बस्नसक्छ।
मसीहीहरूले यस्तो खतरा स्वीकार्नु या नस्वीकार्नु, व्यक्तिगत निर्णय हो। तर परमेश्वरलाई खुसी तुल्याउन चाहने व्यक्तिले मसीही हुनु भनेको आफूलाई पूर्णतया परमेश्वरलाई अर्पण गर्नु हो भनेर बुझेको हुन्छ। हामी परमेश्वरको सेवामा आफ्नो शरीरको जिउँदो बलिदान चढाउँछौं। (रोमी १२:१) यसर्थ, परिपक्व मसीहीहरू आफ्नो शरीर मन परी बिगार्ने वा प्रयोग गर्ने निजी सम्पत्ति ठान्दैनन्। विशेष गरी, मण्डलीमा नेतृत्व लिन योग्य हुनेहरू तिनीहरूको राम्रो बानीबेहोरा, आत्मसंयम र व्यावहारिकताको लागि चिनिन्छन्।—१ तिमोथी ३:२, ३.
बाइबल प्रशिक्षित तर्कशक्ति विकास गरेर त्यसलाई प्रयोग गर्दा मसीहीहरूले अचाक्ली, शरीरलाई घात पुऱ्याउने, “परमेश्वरको जीवनबाट बिराना” भएका सांसारिक प्रचलनमा सामेल नहुन मदत पाउनेछन्। (एफिसी ४:१८) यसरी तिनीहरूले आफ्नो व्यावहारिकता सबै मानिसहरूसामु झल्काउन सक्छन्।—फिलिप्पी ४:५.
[फुटनोट]
a चिकित्सा वा सुन्दरताको लागि जवान मानिसहरू र अझ विशेष गरी किशोरीहरूले शरीरमा घाउ बनाउने वा अंगभंग गर्ने कार्यबीच सुस्पष्ट भिन्नता छ। शरीरमा घाउ पारेर अंगभंग गर्नु गम्भीर भावनात्मक तनाउ वा दुर्व्यवहारको संकेत हो र यसलाई पेसेवर मदतको खाँचो पर्नसक्छ।