आमाबाबु तथा छोराछोरीहरू हो: परमेश्वरलाई प्राथमिकता दिनुहोस्!
“परमेश्वरको भय राख् र उहाँका आज्ञा पालन गर्।”—उपदेशक १२:१३.
१. आमाबाबु तथा छोराछोरीहरूले कुन भय खेती गर्नुपर्छ र त्यसो गरेमा तिनीहरूले के फल पाउनेछन्?
येशू ख्रीष्टसँग सम्बन्धित एउटा भविष्यवाणीअनुसार “परमप्रभुको भयमानै उहाँको आनन्द हुनेछ।” (यशैया ११:३) उहाँको भय मुख्यतः परमेश्वरप्रतिको अथाह श्रद्धा, विस्मय अर्थात् उहाँलाई अप्रसन्न तुल्याउने भय थियो। किनभने उहाँ परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो। आमाबाबु तथा छोराछोरीहरूले ख्रीष्टले परमेश्वरप्रति राख्नुहुने त्यस्तो भय खेती गर्नु आवश्यक छ। त्यसो गरेमा येशूजस्तै तिनीहरू पनि आनन्दित हुनेछन्। परमेश्वरको आज्ञा पालन गरेर तिनीहरूले आफ्नो जीवनमा परमेश्वरलाई प्राथमिकता दिनुपर्छ। एक जना बाइबल लेखकअनुसार “योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.
२. व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण नियम के थियो र त्यो नियम मुख्यतः कसलाई दिइएको थियो?
२ व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण आज्ञा, वस्तुतः हामीले ‘परमेश्वरलाई आफ्नो सम्पूर्ण मन, प्राण र शक्तिले प्रेम गर्नुपर्छ’ भन्ने आदेश विशेषगरि आमाबाबुहरूलाई दिइएको थियो। यो कुरा व्यवस्थाका निम्न शब्दहरूबाट अझ स्पष्ट हुन्छ: “तिमीहरूले आफ्ना छोराछोरीहरूलाई [यहोवालाई प्रेम गर्न यी शब्दहरू] होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:४-७; मर्कूस १२:२८-३०) यसप्रकार पहिला आफैले परमेश्वरलाई प्रेम गरेर अनि छोराछोरीहरूलाई पनि त्यस्तै गर्न सिकाएर परमेश्वरलाई प्राथमिकता दिनू भनी आमाबाबुहरूलाई आज्ञा दिइएको थियो।
मसीही दायित्व
३. छोराछोरीहरूको ख्याल राख्नु आवश्यक छ भनी येशूले कसरी देखाउनुभयो?
३ येशूले कलिला केटाकेटीहरूलाई समेत ध्यान दिनुपर्ने आवश्यकता देखाउनुभयो। एक पटक येशूको पार्थिव सेवकाईको अन्ततिर मानिसहरूले आफ्ना स-साना छोराछोरीहरूलाई उहाँकहाँ ल्याए। स्पष्टतः येशू अति व्यस्त हुनुहोला भन्ने सोचेर चेलाहरूले मानिसहरूलाई रोक्न खोजे। तर येशूले चेलाहरूलाई हप्काउँदै यसो भन्नुभयो: “साना नानीहरूलाई मकहाँ आउनदेओ, औ तिनीहरूलाई नरोक।” येशूले “तिनीहरूलाई काखमा” समेत लिनुभयो। यसरी मर्मस्पर्शी ढंगमा उहाँले कलिला केटाकेटीहरूलाई ध्यान दिनुपर्ने आवश्यकता देखाउनुभयो।—लूका १८:१५-१७; मर्कूस १०:१३-१६.
४. “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने आज्ञा कसलाई दिइएको थियो र यो आज्ञा पालन गर्न तिनीहरूले के गर्नुपर्थ्यो?
४ चेलाहरूले छोराछोरीहरूका साथै अरूलाई सिकाउने जिम्मेवारी बहन गर्नुपर्छ भनेर पनि येशूले स्पष्ट गर्नुभयो। पुनरुत्थानपश्चात् येशू “एकैपल्ट पाँच सयभन्दा बढ़ता भाइहरूकहाँ देखापर्नुभयो।” जसमध्ये केही आमाबाबुहरू थिए। (१ कोरिन्थी १५:६) सम्भवतः गालीलको पहाडमा यो घटना भएको हुनुपर्छ। जहाँ उहाँका ११ प्रेरितहरू पनि भेला भएका थिए। त्यसपछि येशूले उपस्थित सबैलाई यो आग्रह गर्नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१६-२०) कुनै मसीहीले यो आज्ञा उल्लंघन गरेर आफैलाई सही साबित गर्न सक्दैन! यो आज्ञा पालन गर्न आमाबाबुहरूले आफ्ना छोराछोरीहरूको ख्याल राख्नुका साथै जनप्रचार तथा शैक्षिक कार्यमा भाग लिनुपर्छ।
५. (क) धेरैजसो प्रेरितहरू विवाहित थिए र सम्भवतः तिनीहरूका छोराछोरीहरू पनि थिए भनेर कुन कुराले देखाउँछ? (ख) परिवारको शिरले कुन सल्लाहलाई गम्भीरतापूर्वक पालन गर्नु आवश्यक छ?
५ उल्लेखनीय कुरा, प्रेरितहरूले आफ्ना पारिवारिक जिम्मेवारी अनि प्रचार गर्ने दायित्वका साथै परमेश्वरको बगाल चराउने कामबीच सन्तुलन कायम गर्नुपर्थ्यो। (यूहन्ना २१:१-३, १५-१७; प्रेरित १:८) किनभने तिनीहरूमध्ये धेरैजसो विवाहित थिए। त्यसैकारण प्रेरित पावलले यस्तो वर्णन गरे: “के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि ख्रीष्टियान पत्नी लिएर हिंड़नालाई अधिकार छैन?” (१ कोरिन्थी ९:५; मत्ती ८:१४) अझ कुनै कुनै प्रेरितहरूका छोराछोरीहरू पनि थिए होलान्। युसिबिअसजस्ता प्रारम्भिक इतिहासकारहरूअनुसार पत्रुसका छोराछोरीहरू थिए। अतः सबै प्रारम्भिक मसीही आमाबाबुहरूले यो शास्त्रीय सल्लाह पालन गर्नुपर्थ्यो: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.
प्राथमिक जिम्मेवारी
६. (क) परिवार हुने मसीही प्राचीनहरूले कस्तो चुनौती सामना गर्छन्? (ख) प्राचीनको प्राथमिक जिम्मेवारी के हो?
६ आज परिवार हुने मसीही प्राचीनहरूको स्थिति ती प्रेरितहरूको भन्दा कम छैन। तिनीहरूले आफ्नो परिवारको आध्यात्मिक तथा शारीरिक आवश्यकता, जनप्रचार गर्ने दायित्वका साथै परमेश्वरको बगाल चराउने कामबीच सन्तुलन कायम गर्नुपर्छ। तर यीमध्ये कुन चाहिंले प्राथमिकता पाउनुपर्छ त? यस सम्बन्धमा मार्च १५, १९६४ को द वाचटावर-ले यसो भन्यो: “[बाबुको] पहिलो जिम्मेवारी उसको परिवार हो। यो जिम्मेवारी पूरा नगरेमा उसले मण्डलीको प्राचीन भएर औचित्यका साथ सेवा गर्न सक्दैन।”
७. मसीही बाबुहरूले कसरी परमेश्वरलाई प्रथम स्थानमा राख्छन्?
७ अतः छोराछोरीहरूलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण” गर्ने आज्ञा पालन गरेर बाबुहरूले परमेश्वरलाई प्राथमिकता दिनुपर्छ। (एफिसी ६:४) मसीही मण्डलीका क्रियाकलापहरू निरीक्षण गर्ने जिम्मेवारी पाएको छ नै भने पनि बाबुले यो जिम्मेवारी अरू कसैलाई सुम्पिन सक्दैन। उसोभए, यस्ता बाबुहरूले कसरी आफ्ना जिम्मेवारीहरू पूरा गर्नसक्छन् त? तिनीहरूले कसरी परिवारको शारीरिक, आध्यात्मिक अनि भावनात्मक आवश्यकताहरू पूरा गर्नुका साथै मण्डलीमा निर्देशन तथा निरीक्षण गर्ने काम पूरा गर्नसक्छन्?
आवश्यक मदत दिने
८. प्राचीनकी पत्नीले तिनलाई कसरी मदत गर्नसक्छिन्?
८ स्पष्ट छ, पारिवारिक जिम्मेवारीहरू वहन गर्ने प्रा- चीनहरूले मदत पाएमा सजिलो हुन्छ। यस सम्बन्धमा माथि उद्धृत वाचटावर-ले के भन्यो भने, मसीही पत्नीहरूले आफ्ना पतिहरूलाई मदत दिनसक्छन्। उपरोक्त पत्रिकाअनुसार “तिनले आफ्ना पतिलाई विभिन्न जिम्मेवारीहरूका लागि तयारी गर्न यथासम्भव सजिलो बनाउन सक्छिन्। घरायसी कामहरूको राम्रो तालिका बनाएर, समयमै खाना पस्केर अनि मण्डलीका सभाहरूमा जान समय अगावै तयार भएर तिनले आफ्नो र पतिको अमूल्य समय बचाउन मदत गर्न सक्छिन्। . . . त्यस्तैगरि पतिको अधीनमा रहेर मसीही पत्नीले छोराछोरीहरूलाई प्रशिक्षण दिने काममा निकै सघाउ पुऱ्याउन सक्छिन्। फलतः आफ्ना छोराछोरीहरूले पछि यहोवालाई प्रसन्न तुल्याउन सक्ने गरी तिनीहरूलाई हुर्काउन सक्छिन्।” (हितोपदेश २२:६) हो, एक जना “सहयोगी[को]” हैसियतमा पत्नीलाई सृष्टि गरिएको थियो। अतः पतिले सहर्ष तिनको सहयोग स्वीकार्नेछन्। (उत्पत्ति २:१८) पत्नीको मदत पाउँदा पतिले आफ्नो परिवार अनि मण्डली दुवैका जिम्मेवारीहरूलाई अझ प्रभावकारी ढंगमा पूरा गर्न मदत दिन सक्नेछ।
९. थिस्सलोनिकी मण्डलीका अरू सदस्यहरूलाई मदत गर्नू भनेर कसलाई प्रोत्साहित गरिएको थियो?
९ तथापि, “परमेश्वरको बगालको गोठालो” गर्नुका साथै पारिवारिक जिम्मेवारी वहन गर्नैपर्ने यी निरीक्षकहरूलाई तिनीहरूका पत्नीहरूबाहेक अरूले पनि मदत दिनसक्छन्। (१ पत्रुस ५:२) अरू कसले? प्रेरित पावलले थिस्सलोनिकी भाइहरूलाई “अगुवा हुनेहरू[को]” आदर गर्न आग्रह गरे। यद्यपि, प्रेरित पावलले विशेषगरि अगुवा नलिने भाइहरूलाई यो थप कुरा लेखे: “हे भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं, कि बेकायदासँग चल्नेलाई चेतावनी देओ, हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।”—१ थिस्सलोनिकी ५:१२-१४.
१०. सबै भाइहरूले प्रेमपूर्वक मदत गर्दा मण्डलीमा कस्तो असर पर्छ?
१० हरेस खानेलाई दिलाशा दिने, कमजोरीहरूलाई मदत गर्ने, बेकायदासँग चल्नेलाई चेताउनी दिने अनि सबैसँग सहनशील हुन उत्प्रेरित गर्ने प्रेम मण्डलीका भाइहरूले प्रदर्शन गर्नु साँच्चै कति राम्रो कुरा हो! थिस्सलोनिकी भाइहरूले ठूलो कष्टको बावजूद भर्खरै मात्र बाइबलीय सत्य स्वीकारेको भए तापनि पावलको सल्लाह पालन गरे। (प्रेरित १७:१-९; १ थिस्सलोनिकी १:६; २:१४; ५:११) अब तिनीहरूको मायालु सहयोगले पूरै मण्डलीलाई बलियो अनि ऐक्यबद्ध बनाउन कति राम्रो प्रभाव पाऱ्यो होला आफै सोच्नुहोस्! त्यस्तैगरि, आज भाइहरूले एक आपसलाई सान्त्वना, मदत र सल्लाह दिंदा त्यसले प्राचीनहरूलाई बगालको गोठालो गर्ने जिम्मेवारीहरू पूरा गर्न सजिलो बनाउँछ। किनकि प्रायजसो प्राचीनहरूले मण्डलीका साथै आफ्नो परिवारको जिम्मेवारीहरू पनि वहन गर्नु परिरहेको हुन्छ।
११. (क) “भाइहरू” भन्ने शब्दमा स्त्रीहरू पनि समावेश छन् भन्नु किन तर्कसंगत छ? (ख) आज परिपक्व मसीही बहिनीहरूले युवतीहरूलाई कस्तो मदत दिनसक्छन्?
११ तर के प्रेरित पावलले “भाइहरू” भनी सम्बोधन गर्दा स्त्रीहरूलाई पनि समावेश गरेका थिए त? अवश्य थिए। किनभने त्यतिबेला थुप्रै स्त्रीहरू विश्वासमा आएका थिए। (प्रेरित १७:१, ४; १ पत्रुस २:१७; ५:९) त्यसोभए ती स्त्रीहरूले कस्तो मदत दिनसक्थे त? भनौं भने, त्यतिबेला मण्डलीका युवतीहरूमध्ये कसै-कसैलाई आफ्नो “कामेच्छा” नियन्त्रण गर्न गाह्रो परिरहेको थियो भने कोही चाहिं “निराश” थिए। (१ तिमोथी ५:११-१३, न्युव) आज केही स्त्रीहरूले त्यस्तै समस्याहरूको सामना गरिरहेका छन्। शायद तिनीहरूलाई आफ्नो समस्या बुझिदिने सहानुभूतिशील व्यक्ति चाहिएको होला। त्यस्तो अवस्थामा अरूले भन्दा परिपक्व मसीही स्त्रीले राम्ररी मदत गर्न सक्छिन्। उदाहरणको लागि, मसीही पुरुषले राम्ररी सुल्झाउने नसक्ने व्यक्तिगत समस्याहरू तिनले अर्की स्त्रीलाई बताउन सक्छिन्। अतः यस्तो अमूल्य मदतमाथि प्रकाश पार्दै पावलले यो लेखे: “वृद्धाहरू . . . बढ़िया कुराहरूको शिक्षा दिने होउन्, कि तिनीहरूले तरूणीहरूलाई आफ्ना आफ्ना पतिलाई स्नेह गर्न, आफ्ना बाल-बच्चाहरूलाई माया गर्न सिकाऊन्, आत्मसंयमी, पतिव्रता, घरजाम गर्नसक्ने, दयालु, आफ्ना आफ्ना पतिका अधीनमा रहने बनाऊन्, कि परमेश्वरको वचनको निन्दा हुन नपाओस्।”—तितस २:३-५.
१२. मण्डलीका सबैले कसको निर्देशन पालन गर्नु अत्यावश्यक छ?
१२ आफ्ना पति तथा प्राचीनहरूसित मिलनसार भएर मदत दिने नम्र बहिनीहरू मण्डलीमा हुनु साँच्चै नै आशिष् हो! (१ तिमोथी २:११, १२; हिब्रू १३:१७) सबैले प्रेमको आत्मा प्रदर्शित गर्दै एकअर्कालाई मदत गर्न अघि सरेमा अनि नियुक्त गोठालाहरूको निर्देशनको अधीनमा बसेमा विशेषगरि पारिवारिक जिम्मेवारीहरू हुने प्राचीनहरूलाई निकै सजिलो हुन्छ।—१ पत्रुस ५:१, २.
आमाबाबुहरू हो, तपाईं कसलाई प्राथमिकता दिनुहुन्छ?
१३. अधिकांश बाबुहरूले आफ्नो परिवारका आवश्यकताहरू किन पूरा गर्न सक्दैनन्?
१३ वर्षौंअघि मनोरञ्जन जगतका प्रतिष्ठित व्यक्तिले यसो भने: “म चारैतिर सफल पुरुषहरू देख्छु। तिनीहरूले सयौं कामदारहरू भएको व्यापार राम्ररी चलाइरहेका छन्। के हुँदा के गर्ने, व्यापार जगतमा कसलाई उचाल्ने, कसलाई पछार्ने, त्यसमा तिनीहरू पोख्त छन्। तर सबैभन्दा गम्भीर जिम्मेवारी, आफ्नो परिवारलाई भने चलाउन सकेका छैनन्।” किन? के तिनीहरूले व्यापार र अन्य कुराहरूलाई प्रथम स्थानमा राखेर परमेश्वरको सल्लाहलाई बेवास्ता गरेको भएर नै होइन र? परमेश्वरको वचनले यसो भन्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा . . . आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ।” तिनीहरूले दिनहुँ यो आज्ञा पालन गर्नुपर्थ्यो। किनकि आमाबाबुले उदारतासाथ आफ्नो समय र अझ विशेषगरि आफ्नो प्रेम तथा गहिरो स्नेह दिनु आवश्यक छ।—व्यवस्था ६:६-९.
१४. (क) आमाबाबुहरूले आफ्ना छोराछोरीहरूको कसरी ख्याल गर्नुपर्छ? (ख) छोराछोरीहरूलाई दिइने उचित प्रशिक्षणमा के समावेश छ?
१४ छोराछोरीहरू यहोवाले दिनुभएको सम्पत्ति हुन् भनेर बाइबलले हामीलाई सम्झाउँछ। (भजन १२७:३) त्यसोभए के तपाईं छोराछोरीहरूलाई परमेश्वरको सम्पत्ति, उहाँले दिनुभएको वरदान सम्झेर ख्याल गर्नुहुन्छ? छोराछोरीहरूलाई अँगालो हालेर आफ्नो मायालु चिन्ता र चासो देखाउनुभयो भने अवश्य तिनीहरू प्रफुल्लित हुनेछन्। (मर्कूस १०:१६) तर ‘बालकलाई ठीक बाटोमा’ लगाउन अँगालो हालेर म्वाइँ खाएर मात्र पुग्दैन। जीवनका समस्याहरूसँग बच्ने बुद्धि प्राप्त गर्न बच्चालाई मायालु अनुशासन पनि चाहिन्छ। छोराछोरीहरूलाई ‘बाल्यावस्थादेखिनै अनुशासनमा राख्ने’ आमाबाबुहरूले साँचो प्रेम देखाउँछन्।—हितोपदेश १३:१, २४; २२:६.
१५. आमाबाबुले दिने अनुशासन आवश्यक छ भनेर कुन कुराले देखाउँछ?
१५ आमाबाबुहरूको अनुशासन चाहिन्छ भन्ने कुरा एक जना विद्यालय सल्लाहकारले आफ्नो कार्यालयमा आउने केटाकेटीहरूबारे दिएको निम्न विवरणबाट स्पष्ट हुन्छ: “तिनीहरू दयनीय, निराश र निस्सहाय छन्। तिनीहरू रुँदै आफ्नो व्यथा पोख्छन्। मानिसले सोचेभन्दा धेरै केटाकेटीहरूले आत्महत्या गर्ने कोसिस गरिसकेका छन्। तर खुशीले विह्वल भएर होइन। तिनीहरू दुःखी, अवहेलित र तनाउग्रस्त छन्। किनभने त्यस्तो कलिलै उमेरमा ‘बोक्नै नसक्ने जिम्मेवारीहरू’ तिनीहरूले वहन गर्नुपरेको छ।” तिनी अझै यसो भन्छिन्: “सबै कुरा आफैले सँभाल्नुपर्दा साना केटाकेटीहरूलाई अवश्य डरलाग्दो हुन्छ।” हो, केटाकेटीहरूले अनुशासनलाई बेवास्ता गर्लान् तर आमाबाबुहरूले दिएको निर्देशन र प्रतिबन्धहरूलाई तिनीहरूले साँच्चै नै मूल्याकंन गर्छन्। आमाबाबुहरूले सीमा तोकिदिएर चिन्ता व्यक्त गरेकोमा तिनीहरू खुशी हुन्छन्। त्यस्तै गर्ने आमाबाबु भएका किशोर यसो भन्छन्, “त्यसले मेरो मनको सारा बोझ नै हलुका बनाइदियो।”
१६. (क) मसीही परिवारमा हुर्कने केही छोराछोरीहरूलाई के हुन्छ? (ख) छोराछोरीहरू पथभ्रष्ट भए भन्दैमा आमाबाबुहरूले दिएका प्रशिक्षण असल छैन भनेर किन भन्नु मिल्दैन?
१६ यद्यपि, माया गर्ने र राम्रो प्रशिक्षण दिने आमाबाबु हुँदाहुँदै पनि केही केटाकेटीहरू येशूको उखानको उडाउ पुत्रजस्तै हुन्छन्। तिनीहरू आमाबाबुको निर्देशनलाई इन्कार गर्छन् र दुःख भोग्छन्। (लूका १५:११-१६) तथापि, त्यसो हुँदैमा आमाबाबुले हितोपदेश २२:६ अनुरूप प्रशिक्षण दिने जिम्मेवारी सँभालेनन् भन्ने होइन। किनकि ‘बालकलाई ठीक बाटोमा लगाऊ, र त्यसले त्यो त्याग्दैन’ भन्ने वाक्य एउटा सामान्य नियम मात्र थियो। दुःखको कुरा, उडाउ पुत्रजस्तै केही केटाकेटीहरू ‘आफ्नो आमाबाबुको आज्ञालाई तुच्छ’ ठान्छन्।—हितोपदेश ३०:१७.
१७. छोराछोरीहरू पथभ्रष्ट हुँदा आमाबाबुहरूले कुन कुराबाट सान्त्वना पाउन सक्लान्?
१७ एक जना पथभ्रष्ट छोराको बाबुले यसो भनेर विलाप गरे: “उसको हृदयसम्म पुग्न मैले निरन्तर प्रयत्न गरें। आफूलाई थाह भएजति सबै गरिसकेको हुँदा अब के गर्ने मलाई थाह छैन। जे गर्दा पनि केही सीप लागेन।” हामी आशा गर्छौं, कुनै दिन त्यस्ता पथभ्रष्ट छोराछोरीहरू आफूले पाएको मायालु प्रशिक्षणलाई सम्झेर उडाउ पुत्रजस्तै फर्किनेछन्। यद्यपि, एउटा कुरा भने पक्का छ, कुनै कुनै छोराछोरीहरूले विद्रोह गरेर अनैतिक कामहरू गर्छन् र आमाबाबुहरूको चित्त दुखाउँछन्। शायद आमाबाबुहरूलाई यो कुरा जानेर सान्त्वना मिल्ला, पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् शिक्षकको पुरानो शिष्य यहूदा इस्करयोतीले समेत उहाँलाई धोका दियो। त्यस्तैगरि आफ्नो आत्मिक पुत्रहरूले सल्लाह इन्कार गरेर विद्रोह गर्दा स्वयं यहोवा निस्सन्देह दुःखी हुनुभएको हुनुपर्छ। किनकि उहाँले कुनै गल्ती नगर्दा पनि तिनीहरूले विद्रोह गरेका थिए।—लूका २२:४७, ४८; प्रकाश १२:९.
केटाकेटीहरू हो—तपाईं कसलाई प्रसन्न तुल्याउनुहुन्छ?
१८. केटाकेटीहरूले परमेश्वरलाई प्राथमिकता कसरी दिनसक्छन्?
१८ तपाईं साना केटाकेटीहरूलाई यहोवा यो आग्रह गर्नुहुन्छ: “प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर।” (एफिसी ६:१) केटाकेटीहरूले यो आज्ञा पालन गरेर परमेश्वरलाई प्राथमिकता दिन्छन्। मूर्ख नहुनुहोस्! परमेश्वरको वचनले यसो भन्छ, “मूर्खले आफ्नो बाबुको अर्तीलाई तुच्छ ठान्छ।” न ता हठी भएर तपाईंलाई कुनै अनुशासन चाहिंदैन भनी ठान्नुहोस्। तथ्य कुरा त के हो भने, “एक थरीकाहरू आफ्नो दृष्टिमा आफै शुद्ध हुन्छन्। वास्तवमा तिनीहरू आफ्ना कलंकबाट शुद्ध भएका हुँदैनन्।” (हितोपदेश १५:५; ३०:१२) अतः ईश्वरीय निर्देशन पालन गर्नुहोस्। आमाबाबुको आज्ञा र अनुशासनलाई ‘सुन्नुहोस्,’ ‘हृदयमा लिनुहोस्,’ ‘नभुल्नुहोस्,’ ‘ध्यानसित सुन्नुहोस्,’ ‘पालन गर्नुहोस्,’ अनि ‘इन्कार नगर्नुहोस्।’—हितोपदेश १:८; २:१; ३:१; ४:१; ६:२०.
१९. (क) केटाकेटीहरूले यहोवाको आज्ञा मान्नुपर्ने ठोस कारणहरू के हुन्? (ख) स-साना केटाकेटीहरूले परमेश्वरप्रति आफ्नो कृतज्ञता कसरी जाहेर गर्नसक्छन्?
१९ तपाईंले यहोवाको आज्ञा मान्नुपर्ने ठोस कारणहरू छन्। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। त्यसैकारण तपाईंलाई जोगाउन र सुखी जीवनको आनन्द उठाउने मदत दिन उहाँले नियमहरू तोक्नुभएको छ। जसमध्ये एउटा, छोराछोरीहरूले आमाबाबुहरूको आज्ञा पालन गर्नुपर्ने नियम हो। (यशैया ४८:१७) तपाईंले पाप र मृत्युबाट मुक्ति पाओस् र अनन्त जीवनको आनन्द उठाओस् भनेर उहाँले हाम्रोनिम्ति आफ्नो पुत्रलाई पठाउनुभयो। (यूहन्ना ३:१६) के तपाईं यसका लागि कृतज्ञ हुनुहुन्छ? उहाँले स्वर्गबाट हेरिरहनुभएको छ र तपाईंले साँच्चै नै उहाँलाई प्रेम अनि उहाँले गर्नुभएका प्रबन्धहरूको मूल्यांकन गर्नुहुन्छ वा गर्नुहुन्न भनेर तपाईंको हृदय जाँचिरहनुभएको छ। (भजन १४:२) शैतानले पनि तपाईंलाई हेरिरहेको छ र तपाईंले परमेश्वरको आज्ञा मान्नुहुन्नेछैन भन्ने दाबा गर्दै उहाँको निन्दा गरिरहेको छ। तपाईंले परमेश्वरको आज्ञा मान्नुभएन भने शैतान खुशी हुनेछ तर यहोवा “दुःखी” हुनुहुनेछ। (भजन ७८:४०, ४१) त्यसैकारण यहोवा तपाईंलाई यस्तो बिन्ती गर्नुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) हो, तपाईंले एउटा प्रश्नको सामना गर्नुपरेको छ, र त्यो हो, शैतानलाई खुशी बनाउने या यहोवालाई खुशी बनाउने?
२०. डर महसुस हुँदा पनि एउटी किशोरीले कसरी यहोवाको सेवा गर्ने साहस जुटाइन्?
२० शैतान र त्यसको संसारले तपाईंमाथि ल्याउने दबाबहरूले गर्दा परमेश्वरको इच्छाअनुसार चल्नु सजिलो हुँदैन। डर लाग्नसक्छ। एक जना किशोरीले यसो भनिन्: “डराउनु भनेको जाडो हुनुजस्तै हो। तपाईं त्यसलाई हटाउन केही गर्न सक्नुहुन्छ।” तिनले अझ यसो भनिन्: “तपाईंलाई जाडो लाग्दा स्विटर लगाउनुहुन्छ। अझै जाडो लागिरहेको छ भने, अर्को स्विटर थप्नुहुन्छ। यसरी जबसम्म तपाईंलाई न्यानो लाग्दैन एकमाथि अर्को लुगा थप्दै जानुहुन्छ। त्यस्तैगरि डर लाग्दा यहोवालाई प्रार्थना गर्नु जाडो लाग्दा स्विटर लगाउनुजस्तै हो। पहिलो चोटि प्रार्थना गरेपछि पनि अझै डर लागिरहेको छ भने म दोहोऱ्याइ, तेहऱ्याइ, डर नहटेसम्म प्रार्थना गरिरहन्छु। र त्यसले फाइदा नै गर्छ। त्यसले मलाई समस्यामा फँस्नबाट जोगाउँछ।”
२१. हामीले आफ्नो जीवनमा यहोवालाई प्रथम स्थानमा राख्न साँच्चै नै प्रयत्न गऱ्यौं भने उहाँले कसरी मदत गर्नुहुनेछ?
२१ हामीले आफ्नो जीवनमा साँच्चै नै परमेश्वरलाई प्राथमिकता दिने कोसिस गऱ्यौं भने, यहोवाले मदत गर्नुहुनेछ। उहाँले बल दिनुहुनेछ। र आफ्नो छोरालाई दिनुभएजस्तै, आवश्यक परेमा हामीलाई स्वर्गदूतीय मदत दिनुहुनेछ। (मत्ती १८:१०; लूका २२:४३) त्यसकारण आमाबाबु तथा छोराछोरीहरू हो, साहसी हुनुहोस्। ख्रीष्टको जस्तै भय राख्नुहोस्। त्यसो गर्नुभयो भने तपाईं आनन्दित हुनुहुनेछ। (यशैया ११:३) हो, ‘परमेश्वरको भय राख्नुहोस्, र उहाँका आज्ञा पालन गर्नुहोस्। किनभने योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।’—उपदेशक १२:१३.
के तपाईं जवाफ दिन सक्नुहुन्छ?
◻ येशूका प्रारम्भिक अनुयायीहरूले कुन जिम्मेवारीहरूबीच सन्तुलन कायम गर्नुपर्थ्यो?
◻ मसीही आमाबाबुहरूले कुन जिम्मेवारी पूरा गर्नैपर्छ?
◻ परिवार हुने मसीही प्राचीनहरूले कस्तो मदत पाउनसक्छन्?
◻ मण्डलीमा बहिनीहरूले कस्तो अमूल्य सेवा दिनसक्छन्?
◻ केटाकेटीहरूले कुन सल्लाह तथा निर्देशन पालन गर्नु अत्यावश्यक छ?
[पृष्ठ १५-मा भएको चित्र]
युवतीहरूलाई स्वस्थकर शिक्षा दिएर वृद्धाहरूले मदत गर्नसक्छन्
[पृष्ठ १७-मा भएको चित्र]
छोराछोरीहरू पथभ्रष्ट हुँदा आमाबाबुहरूले शास्त्रबाट कस्तो सान्त्वना पाउनसक्छन्?