आमाबाबु हो, आफ्ना छोराछोरीमा रमाउनुहोस्
“तेरा आमा-बाबु . . . खुशी . . . होस्।”—हितोपदेश २३:२५.
१. कुन कुराले गर्दा आमाबाबु आफ्ना छोराछोरीसित रमाउँछन्?
कलिलो बिरुवा हुर्केर सौन्दर्य र छहारी दिने विशाल रूख भएको हेर्न पाउनु कत्ति आनन्दमय कुरा हो! अझ आफ्नै हातले रोपेर त्यसको रेखदेख गर्नुभएको छ भने त कुरै अर्को हुन्छ! त्यसरी नै आफूले रेखदेख गरेका छोराछोरी परमेश्वरको परिपक्व सेवकहरू हुन हुर्केको देख्न पाउँदा आमाबाबु रमाउँछन्। बाइबलको हितोपदेशले भनेझैं: “असल मानिसको बाबु रमाउनेछन्, बुद्धिमानी छोरादेखि बाबु खुशी हुनेछ। तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्।”—हितोपदेश २३:२४, २५.
२, ३. (क) आमाबाबु कसरी शोक र कटुतादेखि बच्नसक्छन्? (ख) आनन्दको स्रोत हुन कलिलो बिरुवा र छोराछोरी दुवैलाई के चाहिन्छ?
२ यद्यपि, बालक स्वतः “असल” र “बुद्धिमान” बन्दैन। एउटा सानो बिरुवालाई विशाल रूखमा परिणत गर्न परिश्रम गर्नुपरेझैं कलिला केटाकेटीलाई “सराप [“कटुता,” NW]” र “शोकको” स्रोत हुन नदिन निकै प्रयासको खाँचो पर्छ। (हितोपदेश १७:२१, २५) उदाहरणका लागि, थाँक्रोले कलिलो बिरुवालाई ठाडो र बलियो भई हुर्कन प्रशिक्षण दिनसक्छ। नियमित तवरमा पानी दिनु अत्यावश्यक छ र कलिलो बिरुवालाई कीरादेखि पनि सुरक्षित राख्नुपर्ला। अनि अन्तमा यीसँगसँगै यसलाई छाँट्दा एउटा सुन्दर रूख हुन मदत पुग्छ।
३ छोराछोरीलाई ईश्वरीय प्रशिक्षण दिनु, पानीरूपी बाइबलीय सत्यलाई पूर्णतया सोस्न लगाउनु, नैतिक दुर्व्यवहारबाट सुरक्षा दिनु र अप्रिय स्वभावहरूलाई छाँट्न मायालु अनुशासन दिनु आवश्यक छ भनेर परमेश्वरको वचनले प्रकट गर्छ। आफ्नो छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गरेर यी आवश्यकताहरू पूरा गर्न विशेषगरि पिताहरूलाई आग्रह गरिएको छ। (एफिसी ६:४) यसमा के समावेश छ?
यहोवाको वचनमा जोड
४. आफ्ना छोराछोरीप्रति आमाबाबुको कस्तो जिम्मेवारी छ र त्यो पूरा गर्नुअघि तिनीहरूलाई के कुरा चाहिन्छ?
४ “प्रभुको . . . चेताउनीमा पालन-पोषण गर” भन्ने वाक्यको अर्थ हाम्रो सोचाइलाई यहोवाको इच्छाअनुरूप गर्न पालन-पोषण गर्नु हो। अतः आमाबाबुले आफ्ना स-साना केटाकेटीका मनमा यहोवाको विचार हाल्नुपर्छ। अनि अनुकम्पापूर्ण अनुशासन वा सुधारको निम्ति प्रशिक्षण दिने सन्दर्भमा आमाबाबुले परमेश्वरको नमुनालाई अनुकरण गर्नुपर्छ। (भजन १०३:१०, ११; हितोपदेश ३:११, १२) तर आमाबाबु आफैले पनि यहोवाको वचनमा ध्यान नदिएसम्म त्यसो गर्नसक्दैन। यसबारे परमेश्वरको अगमवक्ता मोशाले पुरातन इस्राएलीहरूलाई यस्तो सल्लाह दिए: “मैले तिमीहरूलाई सुनाएको [यहोवाको] आज्ञा आफ्नो मनमा [“हृदयमा,” NW] राख।”—व्यवस्था ६:६.
५. इस्राएली आमाबाबुले कहिले र कुन तरिकामा आफ्ना छोराछोरीलाई निर्देशन दिनुपर्थ्यो र “सिकाओ[को]” अर्थ के हो?
५ नियमित बाइबल अध्ययन, मनन र प्रार्थनाले आमाबाबुलाई मोशाको अर्को आदेश पालन गर्न सुसज्जित गर्नेछ। तिनले यसो भने: “तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ [यहोवाको वचन] सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” “सिकाओ” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “दोहोऱ्याउनु,” “बारम्बार भन्नु” र “गहिरो छाप पार्नु” हो। यहोवाको वचनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई मोशाले अझै कसरी जोड दिए, ध्यान दिनुहोस्: “ती आफ्नो हातमा चिह्नको लागि बाँधिराख। ती तिमीहरूका निधारमा व्यवस्था-पत्री होऊन। ती आफ्नो घरको सँघार र मूल-ढोकाहरूमा लेख।” स्पष्ट छ, आमाबाबुले छोराछोरीलाई नियमित मायालु ध्यान दिएको यहोवा चाहनुहुन्छ!—व्यवस्था ६:७-९.
६. आमाबाबुले आफ्ना छोराछोरीलाई कुन कुराहरू सिकाउनुपर्थ्यो र कस्ता लाभ हुन्थे?
६ आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्ने यहोवाका “ती शब्दहरू” के हुन्? हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू तथा लालच नगर्नू जस्ता आज्ञाहरूलगायत साधारणतया दश आज्ञा भनिने आज्ञाहरू मोशाले भर्खरै दोहोऱ्याएका थिए। त्यस्ता नैतिक आवश्यकताहरू अनि विशेषगरि “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो शक्तिले प्रेम गर” भन्ने आज्ञा इस्राएली आमाबाबुले आफ्ना कलिला छोराछोरीलाई सिकाउनुपर्थ्यो। (व्यवस्था ५:६-२१; ६:१-५) आज छोराछोरीलाई यस्तै शिक्षा चाहिन्छ भनेर के तपाईं सहमत हुनुहुन्न?
७. (क) छोराछोरीलाई बाइबलमा केसित तुलना गरिएको छ? (ख) अब हामी के जाँच्नेछौं?
७ इस्राएली पिताहरूलाई यसो भनिएको थियो: “तेरी स्वास्नी फल दिने दाखजस्तै तेरो घरको भित्रपट्टि हुनेछ। तेरा छोरा-छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरूजस्तै हुनेछन्।” (भजन १२८:३) तर आमाबाबुले आफ्ना “कलिला बिरुवाहरूबाट” शोकको साटो आनन्द महसुस गर्ने हो भने, तिनीहरूले दिनहुँ आफ्ना छोराछोरीमा व्यक्तिगत चासो लिनुपर्छ। (हितोपदेश १०:१; १३:२४; २९:१५, १७) आउनुहोस्, छोराछोरीदेखि आनन्दित हुनसक्न आमाबाबुले कसरी आफ्ना छोराछोरीलाई प्रशिक्षण, आध्यात्मिक पानी, सुरक्षा र मायालु अनुशासन दिनसक्छन्, हामी जाँचौं।
शैशवकालदेखि प्रशिक्षण दिने
८. (क) तिमोथीको लागि थाँक्रोरूपी प्रशिक्षक को भए? (ख) प्रशिक्षण कहिले सुरु भयो र नतिजा कस्तो भयो?
८ उदाहरणका लागि, आफ्नी आमा तथा बज्यैको सहारा पाएका तिमोथीलाई विचार गर्नुहोस्। प्रतीकात्मक अर्थमा भन्ने हो भने, तिनीहरू दुवै जना तिमोथीका लागि मजबुत प्रशिक्षण थाँक्रो सरह थिए। तिमोथीको पिता युनानी र प्रमाणअनुसार भिन्दै विश्वासका भएकोले तिनकी यहूदी आमा युनिस र बज्यै लोइसले त्यस बालकलाई ‘शैशवकालदेखि पवित्र लेखोटहरूबाट’ प्रशिक्षण दिए। (२ तिमोथी १:५; ३:१५; प्रेरित १६:१) तिनीहरूले लगनशील भई तिमोथीलाई बच्चैदेखि “[यहोवाले] गर्नुभएका आश्चर्यकामहरू” सिकाएकोले प्रशस्त इनाम पाए। (भजन ७८:१, ३, ४) तिमोथी सम्भवतः किशोरै छँदा टाढ-टाढाको मुलुकमा मिसनरी भए र प्रारम्भिक मसीही मण्डलीहरूलाई सुदृढ पार्न प्रमुख भूमिका निर्वाह गरे।—प्रेरित १६:२-५; १ कोरिन्थी ४:१७; फिलिप्पी २:१९-२३.
९. भौतिकवादको पासोदेखि बच्न कलिला केटाकेटीले कसरी सिक्नसक्छन्?
९ आमाबाबु हो, तपाईं कस्तो प्रकारको थाँक्रोरूपी प्रशिक्षक हुनुहुन्छ? उदाहरणका लागि, के तपाईं आफ्ना छोराछोरीले भौतिक कुराहरूप्रति सन्तुलित विचारधारा विकास गरोस् भन्ने चाहनुहुन्छ? त्यसोभए तपाईंले सबै नवीनतम उपकरणहरू अर्थात् आफूलाई वास्तवमा आवश्यकै नभएका कुराहरूको पछि नदौडेर सही नमुना बसाल्नुपर्छ। तपाईं भौतिक सुविधाहरूको पछि दौडने छनौट गर्नुहुन्छ भने आफ्ना छोराछोरीले पनि त्यही नक्कल गर्दा छक्क नपर्नुहोस्। (मत्ती ६:२४; १ तिमोथी ६:९, १०) निस्सन्देह, थाँक्रोरूपी प्रशिक्षक नै ठाडो छैन भने त्यो कलिलो बिरुवा कसरी ठाडो हुर्किनसक्छ र?
१०. आमाबाबुले सधैं कसको निर्देशन खोज्नुपर्छ र तिनीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ?
१० आफ्ना छोराछोरीमा रमाउने आमाबाबुले छोराछोरीलाई आध्यात्मिक तवरमा के असल हुन्छ, त्यसको विचार गर्दै प्रशिक्षणको निम्ति निरन्तर ईश्वरीय मदतको खोजी गर्छन्। चार छोराछोरीकी आमाले यसो भनिन्: “हाम्रो छोराछोरी जन्मनुअघि नै हामी असल आमाबाबु हुनसक्न, उहाँको वचनद्वारा डोऱ्याइन र त्यो हाम्रो जीवनमा लागू गर्न मदतको निम्ति नियमित तवरमा यहोवालाई प्रार्थना गर्थ्यौं।” तिनले अझै यसो भनिन्: “‘यहोवालाई प्राथमिकता दिनुपर्छ’ भन्ने कथन एउटा सामान्य पदावली मात्र थिएन तर हामी त्यहीअनुरूप जीवन बिताउँथ्यौं।”—न्यायकर्त्ता १३:८.
नियमित तवरमा “पानी” दिने
११. कलिलो बिरुवा र छोराछोरी दुवैलाई हुर्कन के चाहिन्छ?
११ विशेषगरि कलिलो बिरुवालाई निरन्तर पानी चाहिन्छ। यो कुरा नदी किनारमा हलक्क बढ्ने रूखले प्रमाणित गर्छ। (प्रकाश २२:१, २ तुलना गर्नुहोस्।) बालबच्चालाई पनि नियमित तवरमा बाइबलीय सत्यको पानी खुवायौं भने तिनीहरू आध्यात्मिक तवरमा फस्टाउनेछन्। तर आफ्नो बच्चाले कति लामो समयसम्म ध्यान दिनसक्छ, आमाबाबुले विचार गर्नुपर्छ। आकलझुकल तर धेरै बेरसम्म सिकाउनुभन्दा थोरै तर बारम्बार सिकाउनु नै प्रभावकारी हुनेछ। त्यस्ता छोटो छलफलको महत्त्वलाई हल्का नठान्नुहोस्। आमाबाबु र छोराछोरीबीच आपसी बन्धन सृजन एक साथ समय बिताउनु अत्यावश्यक छ, यस्तो बन्धनबारे धर्मशास्त्रमा बारम्बार प्रोत्साहन दिएको पाइन्छ।—व्यवस्था ६:६-९; ११:१८-२१; हितोपदेश २२:६.
१२. स-साना केटाकेटीसित सँगै बसेर प्रार्थना गर्नुको महत्त्व के हो?
१२ स-साना केटाकेटीसित त्यस्ता छलफलहरूमध्ये एउटा दिनको अन्तमा हुनसक्छ। एक युवती यसरी सम्झन्छिन्: “मेरा आमाबाबु हरेक रात पलङमा खुट्टा राख्नेतिर बस्नुभएर हामीले प्रार्थना गरेको सुन्नुहुन्थ्यो।” यस्तो गर्नुको महत्त्वबारे अर्की स्त्री भन्छिन्: “त्यसले गर्दा हरेक राती सुत्नुअघि यहोवालाई प्रार्थना गर्ने बानी बस्यो।” आमाबाबुले दिनहुँ यहोवाबारे कुरा गरेको तथा उहाँलाई प्रार्थना गरेको सुन्दा छोराछोरीलाई उहाँ वास्तविक व्यक्ति लाग्छ। एक जवान मानिसले यसो भने: “यहोवालाई प्रार्थना गर्न आँखा चिम्लँदा उहाँलाई साँच्चै हजूरबुबाको रूपमा देख्थें। हाम्रो हरेक काम तथा वचनमा यहोवाले भूमिका निर्वाह गर्नुहुन्छ भनेर बुझ्न मेरा आमाबाबुले मलाई मदत दिनुभयो।”
१३. नियमित तवरमा निर्देशन दिंदा के समावेश गर्न सकिन्छ?
१३ स-साना केटाकेटीले बाइबलीय सत्यको पानी सोस्न सकोस् भन्ने हेतुले आमाबाबुले थुप्रै व्यवहारिक कुराहरू पनि नियमित निर्देशन दिने समयमा समावेश गर्नसक्छन्। किशोरावस्थामा पुग्नै लागेका दुइ छोराछोरीका आमाबाबु यसो भन्छन्: “दुवै बच्चाहरूले जन्मेदेखि नै राज्यभवनमा चकचक नगरी बस्न प्रशिक्षण पाउन थाले।” आफ्नो परिवारले गरेको कामकुराबारे एक पिता यसरी बताउँछन्: “हामीले बाइबलका सबै पुस्तकहरू इन्डेक्स कार्डमा सूचीबद्ध गर्थ्यौं अनि त्यसलाई प्रत्येकले पालैपालो क्रमबद्ध रूपमा राख्ने अभ्यास गर्थ्यौं। बच्चाहरू सधैं त्यो समय कहिले आउला भनेर पर्खिरहन्थे।” थुप्रै परिवारहरूले खाना खानुअघि वा पछि केही क्षण निर्देशन दिने गर्छन्। एक पिताले यसो भने: “दैनिक बाइबल पद छलफल गर्ने उत्तम समय चाहिं साँझ खाना खाने बेला भएको छ।”
१४. (क) स-साना केटाकेटीसित आध्यात्मिक तवरमा कस्ता इनामदायी क्रियाकलापहरूमा भाग लिन सकिन्छ? (ख) छोराछोरीको कस्तो सिक्ने क्षमता हुन्छ?
१४ स-साना केटाकेटीहरू बाइबलका कथाहरू भएको मेरो पुस्तक-को जीवन्त बाइबलीय विवरणहरू पनि सुन्न रमाउँछन्।a एक दम्पतीले यस्तो टिप्पणी गऱ्यो: “हाम्रा छोराछोरी साना छँदा हामी तिनीहरूसित बाइबलका कथाहरू पुस्तकबाट एउटा पाठ पढ्थ्यौं अनि त्यसपछि तिनीहरूले नाटकीय वेषभूषा लगाएर सानो नाटकको रूपमा त्यसका भागहरू अभिनय गर्थे। तिनीहरूलाई यो असाध्यै मन पर्थ्यो र अध्ययन गर्दा एउटाभन्दा बढी कथा पढ्न जिद्दी गर्थे।” आफ्नो बच्चाको सिक्ने क्षमतालाई कहिल्यै हल्कासित नलिनुहोस्! चार वर्षकाहरूले बाइबलका कथाहरू पुस्तकको सम्पूर्ण अध्यायहरू कण्ठस्थ गरेका छन् र बाइबलसमेत पढ्न सिकेका छन्! एक युवती आफू साढे तीन वर्षकी हुँदा बारम्बार अंग्रेजी शब्द “जुडिसियल डिसिजन[लाई]” (न्यायिक निर्णय) गलत उच्चारण गर्ने गरेको सम्झन्छिन् तर तिनका पिताले सही उच्चारण गर्न अभ्यास गरिरहने प्रोत्साहन दिन्थे।
१५. छोराछोरीसित छलफल गर्दा कस्ता विषयहरू समावेश गर्न सकिन्छ र त्यस्ता छलफलहरू अर्थपूर्ण हुन्छन् भन्नेबारे के प्रमाण छ?
१५ आफ्ना स-साना केटाकेटीसित छलफल गर्नुहुँदा सभाहरूमा कसरी टिप्पणी दिने जस्ता कुरा समावेश गरेर तिनीहरूलाई अरूसित सत्यको पानी बाँड्न सिकाउन सकिन्छ। (हिब्रू १०:२४, २५) एक युवती सम्झन्छिन्: “अभ्यास गर्ने समयमा मैले आफ्नै शब्दमा टिप्पणी गर्नुपर्थ्यो। नबुझिकन खालि सरसरती पढ्न पाउँदिन थिएँ।” यसबाहेक छोराछोरीलाई क्षेत्र सेवकाईमा अर्थपूर्ण ढंगमा भाग लिन पनि प्रशिक्षण दिन सकिन्छ। ईश्वरभीरु आमाबाबुद्वारा हुर्काइएकी एक स्त्री बताउँछिन्: “आमाबाबुसित प्रचारमा जाँदा हामी उहाँहरूको पछि पछि लाग्ने मात्रै गर्दैन थियौं। घण्टी बजाएर होस् या हातेपर्ची मात्र छाडेर होस्, हामीले पनि भाग लिनैपर्छ भनेर हामीलाई थाह थियो। हामी सप्ताहन्त आउनुअगावै होशियारीपूर्वक पूर्वतयारी गर्थ्यौं। त्यसैकारण हामीलाई के बताउने थाह हुन्थ्यो। शनिबार बिहान सेवकाईमा जाने हो या होइन भनी कहिल्यै सोध्नुपर्दैन थियो। जाने हो भनेर हामीलाई पक्का थाह हुन्थ्यो।”
१६. छोराछोरीसित पारिवारिक अध्ययन सञ्चालन गर्दा नियमित हुनु किन महत्त्वपूर्ण छ?
१६ स-साना केटाकेटीलाई नियमित तवरमा बाइबलीय सत्यको पानी दिने आवश्यकता वर्णन गरी नसक्नु छ। यसको अर्थ हो, साप्ताहिक पारिवारिक बाइबल अध्ययन अत्यावश्यक छ। दुइ छोराछोरीका पिता यस्तो दाबी गर्छन्, “छोराछोरीलाई रीस उठाउने एउटा प्रमुख कारण अनियमितता हो।” (एफिसी ६:४) तिनी भन्छन्: “मेरी पत्नी र मैले दिन तथा समयको छनौट गरेर इमानदारीपूर्वक त्यही तालिकामा पारिवारिक अध्ययन सञ्चालन गऱ्यौं। छोराछोरीलाई त्यो समयमा अध्ययन गर्नुपर्छ भनेर थाह पाउन लामो समय लागेन।” ‘जसरी हाँगा छाट्टिन्छ, उसरी नै रूख बढ्छ’ भन्ने स्वयंसिद्ध कुरालाई ध्यानमा राख्दै शैशवकालदेखि नै त्यस्ता सबै प्रशिक्षणहरू दिनु महत्त्वपूर्ण छ।
१७. स-साना केटाकेटीलाई बाइबलीय सत्य दिनु जत्तिकै महत्त्वपूर्ण अर्को कुरा के हो?
१७ स-साना केटाकेटीलाई बाइबलीय सत्य दिनु महत्त्वपूर्ण छ तर आमाबाबुको उदाहरण पनि त्यतिकै महत्त्वपूर्ण छ। के तपाईंका छोराछोरीले तपाईंले अध्ययन गरिरहेको, नियमित तवरमा सभाहरूमा उपस्थित भएको, क्षेत्र सेवकाईमा भाग लिएको देखेका छन् अर्थात् के तिनीहरूले तपाईं यहोवाको इच्छाअनुसार गर्न प्रसन्न भएको देखेका छन्? (भजन ४०:८) तिनीहरूले त्यसो गरेको देख्नु अत्यावश्यक छ। उल्लेखनीय कुरा, पतिको विरोध बावजूद छ छोराछोरीलाई हुर्काएर विश्वासी साक्षी बनाउने आफ्नी आमाबारे एक छोरी यसो भन्छिन्: “हामीलाई सबैभन्दा छाप पारेको कुरा चाहिं आमाकै उदाहरण थियो। मुखले भन्नुभन्दा कार्यले देखाउनु प्रभावकारी हुन्छ।”
स-साना केटाकेटीलाई सुरक्षा प्रदान गर्ने
१८. (क) आमाबाबुले छोराछोरीलाई आवश्यक सुरक्षा कसरी प्रदान गर्नसक्छन्? (ख) स-साना इस्राएली केटाकेटीले प्रजनन अंगहरूबारे कस्तो निर्देशन पाउँथे?
१८ कलिलो बिरुवालाई अक्सर खतरनाक कीराहरूदेखि सुरक्षा चाहिएझैं यस दुष्ट रीतिरिवाजमा स-साना केटाकेटीलाई पनि “खराब मानिसहरू[बाट]” सुरक्षा चाहिन्छ। (२ तिमोथी ३:१-५, १३) आमाबाबुले यो सुरक्षा कसरी दिनसक्छन्? तिनीहरूलाई ईश्वरीय बुद्धि प्राप्त गर्न मदत गरेर! (उपदेशक ७:१२) यहोवाले “बालक[लगायत]” [“स-साना केटाकेटीहरूलगायत,” NW] सबै इस्राएलीहरूलाई उहाँको व्यवस्था पढेको सुन्ने आदेश दिनुभयो र त्यसमा उचित अनि अनुचित यौन आचरणको जानकारी पनि समावेश थियो। (व्यवस्था ३१:१२; लेवी १८:६-२४) “अण्डकोष” र “जननेन्द्रिय” लगायत शरीरका प्रजनन अंगहरू बारम्बार उल्लेख गरिन्छ। (लेवी १५:१-३, NW, १६; २१:२०; २२:२४; गन्ती २५:८; व्यवस्था २३:१०) वर्तमान संसार अति नै भ्रष्ट भएकोले स-साना केटाकेटीलाई परमेश्वरले “साह्रै राम्रो” भनी भन्नुभएको सृष्टिमा समाविष्ट यस्ता अंगहरूको उचित र अनुचित प्रयोगबारे बताउनुपर्छ।—उत्पत्ति १:३१; १ कोरिन्थी १२:२१-२४.
१९. स-साना केटाकेटीलाई तिनीहरूका गुप्तांगबारे कस्तो निर्देशन दिनु उचित छ?
१९ हुनसक्छ भने, आमाबाबु दुवैले सँगै वा प्रत्येक वयस्क अभिभावकले बच्चालाई तिनको गुप्तांग चिनाउनुपर्छ। अनि ती अंगहरू अरू कसैलाई छुन दिनु हुँदैन भनेर बुझाउनुपर्छ। बाल यौन उत्पीडकहरूले अक्सर चलाखीपूर्ण ढंगमा स-साना केटाकेटीको प्रतिक्रिया जाँच्न खोज्छन्। अतः तिनीहरूको दृढतापूर्वक विरोध गर्न र “तपाईंले त्यस्तो गर्नुभएको म भन्दिन्छु!” भन्न बच्चालाई सिकाउनुपर्छ। डरलाग्दा धम्कीहरू दिए तापनि कसैले यदि आफूलाई असजिलो लाग्ने ढंगमा छुन्छ भने, त्यसबारे सधैं आएर बताउनुपर्छ भनी आफ्ना स-साना केटाकेटीलाई सिकाउनुहोस्।
मायालु अनुशासन दिने
२०. (क) अनुशासन दिनु कसरी छाँट्नुजस्तै हो? (ख) सुरुमा अनुशासनको असर कस्तो हुन्छ तर नतिजा के हुन्छ?
२० रूखलाई छाँट्दा फाइदा भएझैं केटाकेटीले मायालु अनुशासनबाट फाइदा उठाउँछन्। (हितोपदेश १:८, ९; ४:१३; १३:१) काम नलाग्ने हाँगाहरूलाई काट्दा अरू हाँगाहरू राम्ररी हुर्कन सक्छन्। अतः, तपाईंका छोराछोरीले विशेषगरि भौतिक सम्पत्तिमा ध्यानकेन्द्रित गर्न थाले वा खराब संगति वा अस्वास्थ्यकर मनोरञ्जनतर्फ ढल्कन थाले भने यी गलत झुकाउहरूलाई हाँगा छाँटेझैं छाँट्नुपर्छ। ती हटाइए भने तपाईंका छोराछोरीलाई आध्यात्मिक कुरामा बढ्न मदत पुग्नेछ। रूखलाई छाँट्दा केही घाउ भएजस्तै अनुशासन पनि सुरुमा रमाइलो नलाग्ला। तर अनुशासनको असल नतिजा, तपाईंले चाहेको दिशामा तपाईंका छोराछोरी पुनः हुर्कनेछन्।—हिब्रू १२:५-११.
२१, २२. (क) अनुशासन दिनु वा पाउनु दुवै रमाइलो हुँदैन भनेर कुन कुराले संकेत गर्छ? (ख) आमाबाबु किन अनुशासन दिनदेखि पछि हट्नु हुँदैन?
२१ स्पष्ट छ, अनुशासन दिनु वा पाउनु दुवै पक्षलाई रमाइलो लाग्दैन। एक पिता यस्तो टिप्पणी गर्छन्: “प्राचीनहरूले असल संगत होइन भनी चेताउनी दिएको एक जवानसित मेरो छोराले निकै समय बिताइरहेको थियो। मैले पहिल्यै केही गरे हुन्थ्यो। मेरो छोराले प्रत्यक्ष गल्तीहरू नगरे तापनि तिनको सोचाइमा छाँटकाँट गर्न केही समय लाग्यो।” छोरा भन्छन्: “सबैभन्दा मिल्ने साथीसित छुट्नु पर्दा मेरो बेहाल भयो।” तर तिनी अझ यसो भन्छन्: “यो असल निर्णय थियो किनभने त्यसको तुरुन्तैपछि तिनी बहिष्कृत भए।”
२२ “सुधारले जीवनको मार्ग देखाउँछ” भनी परमेश्वरको वचनले बताउँछ। त्यसैले अनुशासन दिनु जस्तै गाह्रो भए तापनि छोराछोरीलाई अनुशासन दिनदेखि पछि नहट्नुहोस्। (हितोपदेश ६:२३; २३:१३; २९:१७) तपाईंले तिनीहरूलाई सच्याउनुभएकोले तिनीहरू समयमा तपाईंप्रति कृतज्ञ हुनेछन्। एक युवक सम्झन्छन्: “आमाबाबुले अनुशासन दिनुहुँदा म कत्ति रीसाउँथे, मलाई याद छ। तर आमाबाबुले मलाई त्यो अनुशासन नदिनुभएको भए अहिले मलाई झन् रीस उठ्थ्यो।”
इनाम प्रयासको योग्य छ
२३. कलिला केटाकेटीलाई मायालु ध्यान दिन लगाएको प्रयास किन इनामको योग्य छ?
२३ निस्सन्देह, दिनहुँ मायालु ध्यान पाएका छोराछोरीमा नै आमाबाबु तथा अरू रमाउँछन्। तथापि, शारीरिक छोराछोरी होऊन् या आध्यात्मिक, तिनीहरूमा लगाएको प्रयास आनन्द उठाउने इनामको योग्य छ। वृद्ध प्रेरित यूहन्नाले यसो लेख्दा उक्त कुरा देखाए: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्ना ४.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
के तपाईंलाई सम्झना छ?
◻ कलिलो बिरुवा र छोराछोरी दुवैलाई सराहनीय हुन के कुरा चाहिन्छ?
◻ आमाबाबुले प्रतीकात्मक रूपमा कसरी प्रभावकारी थाँक्रोरूपी प्रशिक्षणको रूपमा सेवा गर्नसक्छन्?
◻ छोराछोरीलाई निर्देशन दिंदा के पनि समावेश गर्न सकिन्छ र के कुराको विरोध गर्न तिनीहरूलाई सिकाउनुपर्छ?
◻ रूखलाई छाँट्दा फाइदा भएझैं केटाकेटीलाई अनुशासन दिनु कसरी लाभदायी हुन्छ?
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
Courtesy of Green Chimney’s Farm