सत्यनिष्ठ भई बाइबल स्वीकार्नुहोस्
“यसैकारणले हामी पनि निरन्तर परमेश्वरमा धन्यवाद चढ़ाउछौं। तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात् परमेश्वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्यौ, जुन वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गर्दछ।—१ थिस्सलोनिकी २:१३.
१. बाइबलको कस्तो जानकारीले त्यसलाई साँच्चै नै अतुलनीय पुस्तक बनाउँछ?
पवित्र बाइबल विश्वमा सबैभन्दा विस्तृत तवरमा अनुवादित र वितरित पुस्तक हो। सबैले यसलाई ठूल-ठूला साहित्यिक कृतिहरूमध्ये एक मान्छन्। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलले हरेक जाति, राष्ट्र र विभिन्न पेशा र जीवनस्तरका मानिसहरूलाई अत्यावश्यक निर्देशन प्रदान गर्छ। (प्रकाश १४:६, ७) मन र हृदय दुवैलाई चित्त बुझ्नेगरि बाइबलले निम्न प्रश्नहरूको जवाफ दिन्छ, जस्तै: मानव जीवनको उद्देश्य के हो? (उत्पत्ति १:२८; प्रकाश ४:११) मानव सरकारहरूले किन चिरकालीन शान्ति अनि सुरक्षा ल्याउन सकेका छैनन्? (यर्मिया १०:२३; प्रकाश १३:१, २) मानिसहरू किन मर्छन्? (उत्पत्ति २:१५-१७; ३:१-६; रोमी ५:१२) यस संकष्टमय संसारमाझ जीवनका समस्याहरूसित कसरी सफलतापूर्वक सामना गर्ने? (भजन ११९:१०५; हितोपदेश ३:५, ६) हाम्रो भविष्य कस्तो छ?—दानियल २:४४: प्रकाश २१:३-५.
२. बाइबलले हाम्रा प्रश्नहरूको पूर्णतया भरपर्दो जवाफ किन दिन्छ?
२ बाइबलले त्यस्ता प्रश्नहरूको आधिकारिक जवाफ किन दिन्छ? किनभने त्यो परमेश्वरको वचन हो। उहाँले आफ्नो वचन लेखाउन मानिसहरूलाई चलाउनुभयो तर २ तिमोथी ३:१६ मा स्पष्ट बताइएझैं “सबै शास्त्र परमेश्वरद्वारा प्रेरित छन्।” (न्युव) त्यो मानव घटनाहरूको व्यक्तिगत अर्थ लगाएर तयार पारिएको होइन। “मानिसको इच्छाबाट कुनै अगमवाणी [भविष्यमा हुने घटनाहरूको घोषणा, ईश्वरीय आज्ञा, बाइबलका नैतिक स्तरहरू] आएन[न्], तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२१.
३. (क) विभिन्न मुलुकहरूका मानिसहरूले बाइबललाई कति मूल्यवान ठान्छन् भनी देखाउने केही उदाहरणहरू दिनुहोस्। (ख) केही मानिसहरू शास्त्र पढ्न आफ्नो ज्यानको खतरासमेत मोल्न किन तयार थिए?
३ बाइबलप्रतिको मूल्यांकनले गर्दा त्यसलाई प्राप्त गर्न तथा पढ्न थुप्रै मानिसहरूले कैद अनि मृत्युको खतरासमेत मोलेका छन्। बितेका समय क्याथोलिक स्पेनमा यो कुरा सत्य साबित भयो। मानिसहरूले स्थानीय भाषामा बाइबल पढ्न पाउँदा आफ्नो प्रभाव कमजोर होला भनेर त्यस मुलुकका पादरीहरू डराउँथे। त्यस्तैगरि अनिश्वरवादी सरकारको अधीनमा हुँदा अल्बेनियामा सबै धार्मिक प्रभावहरूलाई अन्त गर्ने कठोर कदम चलाइएको थियो। यद्यपि, ईश्वरभीरु मानिसहरूले शास्त्रलाई सँगालेर राखे, त्यसलाई पढे र पढेका कुरा अरूसित बाँडे। दोस्रो विश्व-युद्धतिर जाक्सेनहाउसेन यातना शिविरमा बडो होशियारीपूर्वक जेलको एउटा कोठादेखि अर्को कोठासम्म बाइबल पास गरिन्थ्यो (यद्यपि यसो गर्नु मनाही थियो) र बाइबल पाउनेहरूले आफूले पढेका कुरा अरूसँग बाँड्न त्यसका केही अंश मुखस्त गर्थे। सन् १९५० दशकको दौडान तत्कालीन साम्यवादी पूर्वी जर्मनीमा आफ्नो विश्वासको कारण कैदमा पर्दा राती पढ्न बाइबलको सानो अंश एक कैदीदेखि अर्को कैदीलाई पास गरेर यहोवाका साक्षीहरूले दीर्घकालीन नजरबन्दको खतरा मोले। तिनीहरूले किन त्यसो गरे? किनभने बाइबल परमेश्वरको वचन हो भनेर तिनीहरूले बुझेका थिए अनि “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ” भनेर तिनीहरूलाई थाह थियो। (व्यवस्था ८:३) बाइबलमा लिपिबद्ध यी अभिव्यक्तिहरूले ती साक्षीहरूलाई असह्य क्रूरताको बावजूद आध्यात्मिक तवरमा जीवित रहन मदत गऱ्यो।
४. हाम्रो जीवनमा बाइबलले कस्तो स्थान पाउनुपर्ने हो?
४ बाइबल, कहिलेकाहीं हेर्न दराजमा राखिने पुस्तक होइन न ता संगी विश्वासीहरू उपासनाका लागि भेला हुँदा मात्र चलाइने पुस्तक हो। हामीले सामना गर्ने परिस्थितिलाई बुझ्न अनि सही मार्ग पहिल्याउन त्यसलाई दिनहुँ प्रयोग गर्नुपर्छ।—भजन २५:४, ५.
पढ्नु अनि बुझ्नुपर्ने पुस्तक
५. (क) यथासम्भव हामी सबैसँग के हुनुपर्ने हो? (ख) शास्त्रमा के छ भनेर पुरातन इस्राएलका मानिसहरूले कसरी थाह पाउँथे? (ग) बाइबलप्रति तपाईंको मनोवृत्तिलाई भजन १९:७-११ ले कसरी असर गर्छ?
५ आजकल अधिकांश मुलुकहरूमा सजिलै बाइबल प्राप्त गर्न सकिन्छ र प्रहरीधरहरा-का प्रत्येक पाठकलाई आफूसित एक प्रति राख्न हामी आग्रह गर्छौं। बाइबल लेखनकालमा कुनै छापाखाना थिएन। साधारण मानिसहरूसित व्यक्तिगत प्रति हुँदैन थियो। तर लेखिएका कुराहरू आफ्ना सेवकहरूलाई सुनाउने प्रबन्ध यहोवाले मिलाउनुभयो। त्यसैकारण यहोवाले दिनुभएको निर्देशन लेखेपछि मोशाले “करारको पुस्तक लिएर मानिसहरूको सामने पढ़े” भनी प्रस्थान २४:७ ले रिपोर्ट गर्छ। सीनै पर्वतमा अलौकिक घटनाहरू देखिसकेको हुँदा मोशाले जे पढे, त्यो परमेश्वरद्वारा आएको हो र ती जान्नु आवश्यक छ भनेर तिनीहरूले बुझे। (प्रस्थान १९:९, १६-१९; २०:२२) परमेश्वरको वचनमा लिपिबद्ध गरिएका कुराहरू हामीले पनि थाह पाउनु आवश्यक छ।—भजन १९:७-११.
६. (क) इस्राएल राष्ट्र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाले के गरे? (ख) हामीले मोशाको उदाहरण कसरी अनुकरण गर्न सक्छौं?
६ इस्राएल राष्ट्रले उजाडस्थानको फिरन्ते जीवन त्यागेर प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न यर्दन नदी तर्ने तयारी गर्दा तिनीहरूले यहोवाको व्यवस्था अनि उहाँले तिनीहरूसित गर्नुभएको व्यवहार पुनरावृत्ति गर्नु उचित थियो। परमेश्वरको आत्माद्वारा उत्प्रेरित भई मोशाले इस्राएलीहरूसित यहोवाको व्यवस्था पुनरावृत्ति गरे। तिनले सविवरण यहोवाको व्यवस्था सम्झाए अनि यहोवा र तिनीहरूबीचको सम्बन्ध- लाई प्रभावित गर्नुपर्ने सिद्धान्त तथा मनोवृत्तिहरूमाथि प्रकाश पारे। (व्यवस्था ४:९, ३५; ७:७, ८; ८:१०-१४; १०:१२, १३) आज कुनै नयाँ जिम्मेवारी स्वीकार्दा वा जीवनमा नयाँ परिस्थितिको सामना गर्नु पर्दा शास्त्रमा दिइएको सल्लाहले हाम्रो काममा कस्तो असर पार्नुपर्ने हो भनेर विचार गर्नु राम्रो कुरा हो।
७. इस्राएलीहरूले यर्दन नदी तरेपछि तिनीहरूको मन अनि हृदयमा यहोवाको व्यवस्थाको प्रभाव पार्न के गरियो?
७ यर्दन नदी तरेको केही समयपश्चात् यहोवाले मोशाद्वारा तिनीहरूलाई भन्नुभएको कुराहरू पुनरावृत्ति गर्न मानिसहरू फेरि भेला भए। यरूशलेमको ५० किलोमिटर उत्तरतर्फ इस्राएल राष्ट्र भेला भएका थिए। आधी कुलहरू एबाल पर्वत र बाँकी आधी गीरिज्जीम पर्वतअगाडि खडा थिए। त्यसपछि यहोशूले “आशिष र सराप विषय व्यवस्थाका वचन जो सबै पढ़ेर सुनाए।” यसप्रकार परदेशीहरूका साथै पुरुष, स्त्री र साना केटा-केटीहरूले आफ्नो जीवनलाई नियन्त्रण गर्ने नियमहरूको सामयिक पुनरावृत्ति सुन्न पाए। तिनीहरूले यहोवाका आज्ञाहरू पालन नगरेमा उहाँको अनुमोदन गुमाउने थिए भने पालन गरे आशिष् पाउनेथिए। (यहोशू ८:३४, ३५) यहोवाको दृष्टिमा के असल अनि के खराब छ, तिनीहरूले राम्ररी बुझ्नुपरेको थियो। यसबाहेक आज हामी प्रत्येकले गरेजस्तै तिनीहरूले पनि आफ्नो हृदयमा असलप्रतिको प्रेम अनि खराबप्रतिको घृणा कुँद्नुपर्थ्यो।—भजन ९७:१०; ११९:१०३, १०४; आमोस ५:१५.
८. इस्राएलमा केही राष्ट्रिय सम्मेलनहरूको दौडान नियमित तवरले परमेश्वरको वचन पढ्दा कस्तो फाइदा हुन्थ्यो?
८ ती ऐतिहासिक अवसरहरूमा व्यवस्था पढ्नुको अलावा नियमित तवरमा परमेश्वरको वचन पढ्नुपर्ने प्रबन्धबारे व्यवस्था ३१:१०-१२ मा उल्लेख गरियो। प्रत्येक सात वर्षमा पूरै राष्ट्र परमेश्वरको वचनको पढाइमा भेला हुनुपर्थ्यो। यसले तिनीहरूका निम्ति आध्यात्मिक आहारको प्रबन्ध गऱ्यो। वंशबारे गरिएका प्रतिज्ञाहरूलाई तिनीहरूको मन अनि हृदयमा ताजा राख्न तथा विश्वासी जनहरूलाई मसीहसम्म डोऱ्याउन मदत गऱ्यो। इस्राएल उजाडस्थानमा हुँदा स्थापना गरिएको आध्यात्मिक भोजनको प्रबन्ध तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि पनि सेलाएन। (१ कोरिन्थी १०:३, ४) बरु, अगमवक्ताहरूले दिएको थप प्रकटीकरणहरूले परमेश्वरको वचनलाई झनै सम्पन्न बनायो।
९. (क) के इस्राएलीहरूले ठूल-ठूला जमघटहरूमा मात्र शास्त्र पढ्थे? वर्णन गर्नुहोस्। (ख) प्रत्येक परिवारमा शास्त्रबाट कसरी निर्देशन दिइन्थ्यो र कुन उद्देश्यले?
९ परमेश्वरको वचनको सल्लाह पुनरावृत्ति गर्ने काम केवल मानिसहरूको ठूलो जमघटसम्म सीमित राख्नु हुँदैन थियो। परमेश्वरको वचनका अंशहरू र त्यसमा गाँसिएका सिद्धान्तहरूलाई दिनहुँ छलफल गर्नुपर्थ्यो। (व्यवस्था ६:४-९) आज अधिकांश ठाउँहरूमा जवानहरूले बाइबलको व्यक्तिगत प्रति सजिलै प्राप्त गर्नसक्छन् र त्यसो गर्नु तिनीहरूको निम्ति लाभकारी छ। तर पुरातन इस्राएलको स्थिति अर्कै थियो। त्यतिबेला आमा-बाबुले परमेश्वरको वचनबाट निर्देशन दिंदा आफूले मुखस्त गरेका कुरा, आफ्नो हृदयमा साँचेर राखेका सच्चाइहरूका साथै आफूले लेखेका व्यवस्थाका छोटा अंशहरूमा भर पर्नुपर्थ्यो। यी कुराहरूलाई बारम्बार दोहोऱ्याएर तिनीहरूले आफ्ना छोरा-छोरीहरूको मनमा यहोवा र उहाँका तौर-तरिकाहरूप्रति प्रेम जगाउने कोसिस गर्थे। तर त्यसको उद्देश्य टाउकोभरि ज्ञान थुपार्नु मात्र थिएन। बरु परिवारको प्रत्येक सदस्यले यहोवा अनि उहाँको वचनप्रति प्रेम झल्काउनसक्ने किसिमले जीवन बिताउन सकोस् भन्ने थियो।—व्यवस्था ११:१८, १९, २२, २३.
सभाघरहरूमा शास्त्र पढाइ
१०, ११. सभाघरहरूमा शास्त्र पढ्ने कस्तो कार्यक्रम थियो र यी अवसरहरूलाई येशूले कुन दृष्टिकोणले हेर्नुहुन्थ्यो?
१० यहूदीहरू बाबेलको निर्वासनमा लगिएको केही समयपश्चात् उपासना थलोको रूपमा सभाघरहरू स्थापित भए। यी भेला हुने ठाउँहरूमा परमेश्वरको वचन पढ्न र छलफल गर्न शास्त्रका अझ धेरै प्रतिहरू तयार पारिए। हिब्रू शास्त्रका लगभग ६,००० प्राचीन हस्तलिखित प्रतिहरू आजसम्म सुरक्षित रहनुको एउटा कारण यो पनि थियो।
११ सभाघरमा हुने उपासनाको एउटा महत्त्वपूर्ण भाग तोरह अर्थात् आधुनिक बाइबलका प्रथम पाँच पुस्तकहरूको पढाइ थियो। प्रथम शताब्दी सा.यु. मा हरेक विश्राम दिन त्यस्तो पढाइ गरिन्थ्यो भनेर प्रेरित १५:२१ ले रिपोर्ट गर्छ र दोस्रो शताब्दीतिर हप्ताको दोस्रो तथा पाँचौं दिनमा पनि तोरहको पढाइ हुन्थ्यो भनेर मिश्नाहले देखाउँछ। पालैपालो विभिन्न व्यक्तिहरूले आफूलाई तोकिएको अंश पढ्थे। बाबेलमा बस्ने यहूदीहरूको एक वर्षमा पूरै तोरह पढ्ने चलन थियो भने प्यालेस्टाइनमा बस्ने यहूदीहरूको तीन वर्षमा पूरै तोरह पढ्ने चलन थियो। अगमवक्ताका लेखहरूको अंश पनि पढिन्थ्यो अनि व्याख्या गरिन्थ्यो। आफू बस्नु भएको शहरमा विश्रामको दिन बाइबल पढाइ कार्यक्रममा उपस्थित हुनु येशूको दस्तुर थियो।—लूका ४:१६-२१.
व्यक्तिगत प्रतिक्रिया तथा प्रयोग
१२. (क) मोशाले मानिसहरूलाई व्यवस्था पढेर सुनाउँदा तिनीहरूले कस्तो लाभ उठाए? (ख) मानिसहरूले कस्तो प्रत्युत्तर दिए?
१२ तर केवल औपचारिकता पूरा गर्ने उद्देश्यले प्रेरित वचन पढिंदैन थियो। त्यो मानिसहरूको जिज्ञासा हटाउन मात्र पढ्ने कुरा थिएन। इस्राएलीहरू सीनै पर्वतअगाडि समतल भूमिमा हुँदा मोशाले “करारको पुस्तक” लिएर मानिसहरूको सामने पढ्नुको कारण थियो। परमेश्वरसमक्ष तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चिनोस् र त्यसलाई पूरा गरोस् भनेर तिनले त्यसो गरेका थिए। तर के तिनीहरूले त्यसो गर्ने थिए त? पढ्नुको अर्थ स्रोताले प्रतिक्रिया पनि देखाउनुपर्थ्यो। ती मानिसहरूले यो आवश्यकतालाई बुझे अनि यसो भन्दै कराए: “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”—प्रस्थान २४:७; प्रस्थान १९:८; २४:३ तुलना गर्नुहोस्।
१३. यहोशूले अनाज्ञाकारिताका सरापहरू पढ्दा मानिसहरूले के गर्नुपर्थ्यो र त्यसको उद्देश्य के थियो?
१३ पछि यहोशूले इस्राएल राष्ट्रसमक्ष प्रतिज्ञा गरिएका आशिष् तथा सराप अथवा विपत्तिहरू पढेर सुनाउँदा सबैलाई प्रत्युत्तर दिन आग्रह गरिएको थियो। प्रत्येक विपत्तिपछि यसो भन्ने निर्देशन दिइएको थियो: “सबै जनाले भनून्, ‘आमेन!’” (व्यवस्था २७:४-२६) यसप्रकार प्रत्येक बुँदा छलफल गरिसकेपछि यहोवाले गलत ठान्नुहुने कुराहरूलाई तिनीहरूले एक-एक गरी मानि लिए। पूरै राष्ट्रले एकै आवाजमा सहमति जनाउंदा साँच्चै त्यो घटना कति प्रभावशाली भयो होला!
१४. नहेम्याहको दिनमा आम-जनतासमक्ष व्यवस्था पढ्दा किन विशेषगरि लाभदायी भयो?
१४ नहेम्याहको दिनमा सबै मानिसहरू यहोवाको व्यवस्था सुन्न यरूशलेममा भेला हुँदा त्यसमा लेखिएका निर्देशनहरू तिनीहरूले पूर्णतया पालन गरेका थिएनन् भनी तिनीहरूले बुझे। त्यस अवसरमा आफूले सिकेका कुरा तिनीहरूले तुरुन्त प्रयोगमा ल्याए। नतिजा के भयो? “त्यहाँ असाध्य ठूलो रमाहट भयो।” (नहेम्याह ८:१३-१७) चाडको दौडान एक हप्ताजति दिनहुँ बाइबल पढेपछि आफूले अझ धेरै कुरा गर्न बाँकी भएको तिनीहरूले महसुस गरे। त्यसपछि अब्राहमको दिनदेखि यहोवाले आफ्ना जनहरूसित गर्नुभएको व्यवहारको इतिहासलाई तिनीहरूले प्रार्थनापूर्वक पुनरावृत्ति गरे। यी सबै कुराहरूले तिनीहरूलाई व्यवस्थाको मागअनुसार चल्ने भाकल गर्न, विदेशीहरूसँग विवाह नगर्न र मन्दिर तथा त्यसका सेवा सम्भार गर्ने जिम्मेवारी पूरा गर्न उत्प्रेरित गऱ्यो।—नहेम्याह, अध्याय ८-१०.
१५. परिवारभित्र औपचारिकता पूरा गर्न मात्र परमेश्वरको वचनबाट निर्देशन दिने काम गर्नु हुँदैन थियो भनेर व्यवस्था ६:६-९ मा दिइएका निर्देशनहरूले कसरी देखाउँछन्?
१५ त्यस्तैगरि परिवारभित्र शास्त्र सिकाउनु केवल औपचारिकता पूरा गर्नु थिएन। हामीले छलफल गरेझैं व्यवस्था ६:६-९ मा प्रतीकात्मक शब्दहरूद्वारा मानिसहरूलाई ‘परमेश्वरको वचन आफ्नो हातमा चिन्हको लागि बाँध्ने’ आज्ञा दिइएको थियो। यसप्रकार तिनीहरूले आफ्नो उदाहरण र कामद्वारा यहोवाका तौर-तरिकाहरूप्रति प्रेम प्रदर्शन गर्नुपर्थ्यो। साथै तिनीहरूले परमेश्वरको वचनलाई ‘निधारमा व्यवस्था-पत्री बनाएर राख्नुपर्थ्यो।’ शास्त्रमा मुछिएका सिद्धान्तहरूलाई तिनीहरूले निरन्तर आफ्नो मनमा राख्नुपर्थ्यो र त्यसकै आधारमा निर्णयहरू गर्नुपर्थ्यो। (प्रस्थान १३:९, १४-१६ मा प्रयोग गरिएको लेखनशैली तुलना गर्नुहोस्।) तिनीहरूले ‘आफ्नो घरको सँघार र मूल-ढोकाहरूमा ती लेख्नुपर्थ्यो।’ अर्थात् तिनीहरूको घर तथा समाजमा परमेश्वरको वचनको आदर अनि पालन गरिन्छ भनेर चिनिनुपर्थ्यो। अर्को शब्दमा भन्ने हो भने, यहोवाका धार्मिक सिद्धान्तहरूलाई तिनीहरू प्रेम अनि पालन गर्छन् भनेर तिनीहरूको जीवनले प्रशस्त प्रमाण दिनुपर्थ्यो। साँच्चै नै यो कति लाभदायी हुनसक्थ्यो! हाम्रो दिनचर्यामा के परमेश्वरको वचनले त्यस्तै प्राथमिकता पाएको छ? दुःखलाग्दो कुरा, शास्त्रपद लेखिएका छालाका साना बट्टाहरूलाई तावीजझैं लगाएर यहूदीहरूले यी सबै कुराहरूलाई रीतिथितिमा परिवर्तन गरे। तिनीहरूको उपासना हृदयदेखि उत्प्रेरित उपासना हुन छाड्यो। फलतः यहोवाले तिनीहरूलाई त्याग्नुभयो।—यशैया २९:१३, १४; मत्ती १५:७-९.
निरीक्षकहरूको जिम्मेवारी
१६. नियमित तवरमा शास्त्र पढ्नु यहोशूको लागि किन महत्त्वपूर्ण थियो?
१६ शास्त्र पढ्ने सम्बन्धमा राष्ट्रका निरीक्षकहरूमाथि विशेष ध्यान दिइएको थियो। यहोवाले यहोशूलाई यसो भन्नुभयो: “तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्।” तिनको यो जिम्मेवारीलाई ध्यानमा राख्दै तिनलाई यसो भनियो: “त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू . . . र मात्र तेरा सबै मार्गहरूमा उन्नती गर्नेछस् र सफलता पाउनेछस्।” (यहोशू १:७, ८) नियमित तवरमा शास्त्र पढ्दा यहोवाले आफ्ना जनहरूलाई दिनुभएको विशेष आज्ञाहरूलाई स्पष्टसँग मनमा राख्ने मदत यहोशूले पाउने थिए। आज जुनसुकै मसीही निरीक्षकहरूमा यो कुरा लागू हुन्छ। यसबाहेक विभिन्न परिस्थितिहरूमा यहोवाले आफ्ना सेवकहरूसित कस्तो व्यवहार गर्नुभयो भनेर पनि यहोशूले बुझ्नुपर्थ्यो। परमेश्वरको उद्देश्य पढ्दा त्यससित सम्बन्धित आफ्नो जिम्मेवारी तिनले मनन गर्नु महत्त्वपूर्ण थियो।
१७. (क) यहोवाले भन्नुभएअनुसार राजाहरूले शास्त्र पढाइबाट लाभ उठाउने हो भने पढ्नुको साथै तिनीहरूले के गर्नु आवश्यक थियो? (ख) नियमित तवरमा बाइबल पढ्नु अनि मनन गर्नु मसीही प्राचीनहरूका लागि किन अति महत्त्वपूर्ण छ?
१७ आफ्ना जनहरूमाथि राजाको हैसियतमा राज्य गर्नेजति सबैलाई आफ्नो शासनकालको पहिलो वर्षमा परमेश्वरको व्यवस्थाको प्रतिलिपि बनाउने निर्देशन यहोवाले दिनुभयो। तिनको त्यो प्रतिलिपि पूजाहारीहरूले राखेको प्रतिअनुसार हुनुपर्थ्यो। त्यसपछि तिनले ‘आफ्नो जीवनभरि त्यो पढ्नुपर्थ्यो।’ तर यसको उद्देश्य व्यवस्थाका कुराहरू मुखस्त गर्नु थिएन। बरु तिनले “परमप्रभु आफ्नो परमेश्वरको डर मान्न सिकोस्” र “आफ्ना दाज्यू-भाइहरूका बीचमा घमण्डले नफूलोस्” भनेर नै तिनलाई त्यसो गर्ने आज्ञा दिइएको थियो। (व्यवस्था १७:१८-२०) यसका लागि आफूले पढेका कुरामा तिनले गहिरो मनन गर्नुपर्थ्यो। तर प्राप्त प्रमाणअनुसार केही राजाहरूले आफूलाई प्रशासकीय जिम्मेवारीहरूमा अति व्यस्त सम्झेर त्यसो गरेनन्। फलतः तिनीहरूको हेलचक्य्राइँले गर्दा पूरै राष्ट्रले दुःख भोग्नुपऱ्यो। मसीही मण्डलीमा प्राचीनहरूको भूमिका कुनै अर्थमा राजासरह छैन। तापनि राजाहरूले जस्तै प्राचीनहरूले पनि परमेश्वरको वचन पढ्नु र मनन गर्नु अत्यावश्यक छ। त्यसो गर्नाले आफ्नो निरीक्षण सुम्पिएकाहरूप्रति सन्तुलित दृष्टिकोण राख्ने मदत तिनीहरूले पाउनेछन्। यसबाहेक शिक्षकको हैसियतमा आफूले पाएको जिम्मेवारीलाई तिनीहरूले साँच्चै नै परमेश्वरको आदर गर्ने अनि संगी मसीहीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउने ढंगमा पूरा गर्न सक्नेछन्।—तितस १:९; यूहन्ना ७:१६-१८ तुलना गर्नुहोस्; १ तिमोथी १:६, ७ दाँज्नुहोस्।
१८. प्रेरित पावलले बसालेको कुन उदाहरण अनुकरण गर्न नियमित बाइबल पढाइ र अध्ययनले हामीलाई मदत गर्नेछ?
१८ प्रेरित शास्त्र राम्ररी जान्नेहरूमध्ये एक प्रथम शताब्दीका मसीही निरीक्षक प्रेरित पावल थिए। पुरातन थिस्सलोनिकाका बासिन्दाहरूलाई प्रचार गर्दा तिनले प्रभावकारी ढंगमा शास्त्रबाट तर्क गर्न अनि अर्थ बुझाउन सके। (प्रेरित १७:१-४) तिनले निष्कपट स्रोताहरूको हृदय छुन सके। त्यसैकारण तिनको कुरा सुन्ने थुप्रै मानिसहरू विश्वासी भए। (१ थिस्सलोनिकी २:१३) आफ्नो बाइबल पढाइ तथा अध्ययन कार्यक्रमले गर्दा के तपाईं शास्त्रबाट प्रभावकारी ढंगमा तर्क गर्नसक्ने हुनुभएको छ? परमेश्वरको वचनलाई आफ्नो बनाउनु तपाईंको निम्ति कति मूल्यवान छ भनेर के तपाईंले बाइबल पढाइलाई दिनुभएको महत्त्व र बाइबल पढ्ने ढंगले देखाउँछ? व्यस्त तालिका हुनेहरूले समेत यी प्रश्नहरूको सकारात्मक जवाफ कसरी दिनसक्छन्, अर्को लेखमा हामी छलफल गर्नेछौं।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ बाइबल पढ्न मानिसहरूले किन आफ्नो ज्यान र स्वतन्त्रताको खतरा मोल्न तयार भएका छन्?
◻ परमेश्वरको वचन सुन्न पुरातन इस्राएलमा गरिएका प्रबन्धहरूको पुनरावृत्ति गर्दा हामी कसरी लाभान्वित हुन्छौं?
◻ बाइबलमा पढेका कुराहरूलाई हामीले के गर्नुपर्ने हो?
◻ बाइबल पढ्नु अनि मनन गर्नु मसीही प्राचीनहरूका लागि किन विशेषगरि महत्त्वपूर्ण छ?
[पृष्ठ ९-मा भएको चित्र]
यहोवाले यहोशूलाई यसो भन्नुभयो: “त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू”