उद्धार परमप्रभुमा छ
“परमेश्वर ता हाम्रा निम्ति छुटकारा दिने परमेश्वर हुनुहुन्छ।”—भजन ६८:२०.
१, २. (क) यहोवा उद्धारको स्रोत हुनुहुन्छ भनी हामी किन भन्नसक्छौं? (ख) तपाईं हितोपदेश २१:३१ कसरी वर्णन गर्नुहुन्छ?
यहोवा उहाँलाई प्रेम गर्ने मानवहरूका उद्धारक हुनुहुन्छ। (यशैया ४३:११) इस्राएलका ख्यातिप्राप्त राजा दाऊदले यो कुरा आफ्नै व्यक्तिगत अनुभवबाट थाह पाए र भित्री हृदयले यस्तो भजन गाए: “उद्धार परमप्रभुमा छ।” (भजन ३:८) अगमवक्ता योनाले पनि ठूलो माछाको पेटभित्रबाट व्यग्र प्रार्थना गर्दा सोही शब्दहरू प्रयोग गरे।—योना २:९.
२ दाऊदका छोरा सुलेमानलाई पनि यहोवा उद्धारका स्रोत हुनुहुन्छ भनी थाह थियो किनभने तिनले यसो भने: “युद्धको दिनको लागि घोड़ा तयार पार्नसकिन्छ, तर विजय ता परमप्रभुबाटनै हुन्छ।” (हितोपदेश २१:३१) पुरातन मध्यपूर्वमा साँढेले हलो जोत्थ्यो, गधाले भारी बोक्थ्यो, मान्छेहरू खच्चर चढ्थे अनि घोडाहरू चाहिं युद्धको लागि चलाइन्थ्यो। तथापि, इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि परमेश्वरले तिनीहरूका भावी राजाले “आफ्नो लागि असंख्य घोड़ाहरू नथुपारोस्” भनी आज्ञा गर्नुभयो। (व्यवस्था १७:१६) युद्ध घोडाहरूको आवश्यकता पर्नेछैन किनभने यहोवाले आफ्ना जनहरूलाई बचाउनुहुनेछ।
३. कस्ता प्रश्नहरू हामीले छलफल गर्नु योग्यका छन्?
३ सर्वोच्च परमेश्वर यहोवा “छुटकारा दिने परमेश्वर हुनुहुन्छ।” (भजन ६८:२०) कस्तो प्रोत्साहनदायी कुरा! तर यहोवाले कस्ता “छुटकारा[हरू]” गर्नुभएको छ? अनि उहाँले कसलाई बचाउनुभएको छ?
यहोवाले धर्मीहरूलाई बचाउनुहुन्छ
४. यहोवाले ईश्वरभीरु मानिसहरूलाई बचाउनुहुन्छ भनी हामी कसरी थाह पाउनसक्छौं?
४ परमेश्वरको समर्पित सेवकहरूको हैसियतमा धर्मी मार्ग पछ्याइरहेका सबैले प्रेरित पत्रुसका निम्न शब्दहरूबाट सान्त्वना प्राप्त गर्नसक्छन्: “भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्नुहुन्छ।” यो कुरा प्रमाणित गर्दै पत्रुसले अझ भने, परमेश्वरले “प्राचीन संसारलाई बाँकी राख्नुभएका, तर अभक्तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो।”—२ पत्रुस २:५, ९.
५. कस्तो अवस्थामा नूहले “धर्मको प्रचारक[को]” रूपमा सेवा गरे?
५ नूहको समयमा व्याप्त अवस्थामा तपाईं पनि बाँचिरहेको कल्पना गर्नुहोस्। मानिसको रूप धारण गरेका प्रेतहरू पृथ्वीमा छन्। यी अनाज्ञाकारी स्वर्गदूतहरूका सन्तानले मानिसहरूसित क्रूर व्यवहार गर्छन् र “पृथ्वी . . . उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:१-१२) तथापि, नूहलाई यहोवाको सेवा त्याग्न लगाउन धम्क्याएर पनि केही लाग्दैन। बरु उनी “धर्मका प्रचारक” हुन्। उनी र उनका परिवारले जहाज निर्माण गरे र उनीहरूकै जीवनकालमा दुष्टहरू नाश होला कि नहोला भनेर कहिल्यै शंका गरेनन्। नूहको विश्वासले संसारलाई दोषी ठहऱ्यायो। (हिब्रू ११:७) वर्तमान अवस्था नूहको दिनसित मिल्दोजुल्दो छ र यी अवस्थाहरूले यस दुष्ट रीतिरिवाजको आखिरी दिनहरू हुन् भनी चिह्नित गराउँछ। (मत्ती २४:३७-३९; २ तिमोथी ३:१-५) त्यसोभए के नूहजस्तै यहोवाको उद्धारको दिन कुर्दै उहाँका जनहरूसँगसँगै धार्मिकताको प्रचारकको रूपमा तपाईंले आफूलाई विश्वासी प्रमाणित गर्नुहुनेछ?
६. यहोवाले धर्मीहरूलाई बचाउनुहुन्छ भनी २ पत्रुस २:७, ८ ले कसरी प्रमाणित गर्छ?
६ यहोवाले धर्मीहरूलाई बचाउनुहुन्छ भनी पत्रुस अझ थप प्रमाण दिन्छन्। “[परमेश्वरले] दुष्टहरूका कामुक जीवनबाट अति दुःखित भएका धार्मिक लूतलाई बचाउनुभयो, किनभने ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित हुन्थ्यो” भनी प्रेरित पत्रुस भन्छन्। (२ पत्रुस २:७, ८; उत्पत्ति १९:१-२९) यस आखिरी दिनमा लाखौं मानिसहरूको निम्ति यौन अनैतिकता जीवनको एउटा भाग नै भइसक्यो। आज कतिपय मानिसहरूको ‘कामुक जीवन’ देखेर के तपाईं पनि लूतजस्तै ‘दुःखित’ हुनुभएको छ? तपाईं दुःखित हुनुहुन्छ र धर्मी जीवन बिताइरहनुभएको छ भने यस दुष्ट रीतिरिवाजको अन्त हुँदा यहोवाले बचाउनुहुनेहरूमध्ये सायद तपाईं पनि हुनुहुनेछ।
यहोवाले आफ्ना जनहरूलाई अत्याचारीहरूबाट बचाउनुहुन्छ
७. यहोवा आफ्ना जनहरूलाई अत्याचारीहरूबाट बचाउनुहुन्छ भनी इस्राएलीहरू मिश्रमा हुँदा गर्नुभएको व्यवहारबाट कसरी प्रस्ट हुन्छ?
७ यस दुष्ट रीतिरिवाज रहुञ्जेल यहोवाका जनहरूले सतावट र शत्रुहरूबाट अत्याचार भोग्नेछन्। तर यहोवाले उद्धार गर्नुहुनेछ भनी तिनीहरू ढुक्क हुनसक्छन् किनभने विगतमा पनि उहाँले आफ्ना जनहरूलाई अत्याचारीहरूबाट जोगाउनुभएको छ। कल्पना गर्नुहोस्, तपाईं पनि मोशाको समयमा मिश्रहरूको हातबाट अत्याचार भोगिरहनुभएको इस्राएलीहरूमध्ये एक हुनुहुन्छ। (प्रस्थान १:१-१४; ६:८) परमेश्वरले मिश्रमाथि एकपछि अर्को विपत्ति ल्याउनुहुन्छ। (प्रस्थान ८:५–१०:२९) मिश्रीहरूको पहिलो सन्तान सबै मर्ने दसौं मृत्युदायी विपत्ति आउँदा फिरऊनले इस्राएलीहरूलाई जान अनुमति दिन्छन् तर पछि फेरि सेना लगाएर तिनीहरूलाई लखेट्छन्। तथापि, चाँडै तिनी र तिनका मानिसहरू लाल समुद्रमा नाश हुन्छन्। (प्रस्थान १४:२३-२८) मोशालगायत सम्पूर्ण इस्राएलीहरूको साथमा यस्तो भजन गाउनुहुन्छ, “परमप्रभुनै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। फिरऊनका रथहरू र तिनका सेनाहरूलाई समेत उहाँले समुद्रमा फालिदिनुभयो, र तिनका चुनिएका कप्तानहरू लाल समुद्रमा डुबे। गहिरा पानीले तिनीहरूलाई छोपे। तिनीहरू ढुङ्गाझैं गहिरामा डुबे।” (प्रस्थान १५:३-५) यस आखिरी दिनमा परमेश्वरका जनहरूमाथि अत्याचार गर्नेहरूले पनि त्यस्तै विपत्ति भोग्नेछन्।
८, ९. यहोवा आफ्ना जनहरूलाई अत्याचारीहरूबाट उद्धार गर्नुहुन्छ भनी न्यायकर्त्ताको पुस्तकबाट उदाहरण दिनुहोस्।
८ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको वर्षौंपछिसम्म पनि तिनीहरूमाझ न्यायकर्ताहरूले न्याय दिने गर्थे। मानिसहरूले कहिलेकाहीं विदेशी अत्याचारीहरूबाट दुःखकष्ट भोग्थे तर परमेश्वरले तिनीहरूको उद्धार गर्न विश्वासी न्यायकर्ताहरू चलाउनुभयो। त्यस्तैगरि हामी पनि ‘दुर्व्यवहार र अत्याचारमा पर्दा सुस्केरा’ हाल्छौं होला तर यहोवाले हामी उहाँका वफादार सेवकहरूलाई बचाउनुहुनेछ। (न्यायकर्त्ता २:१६-१८; ३:९, १५) साँच्चै भन्ने हो भने, बाइबल पुस्तक न्यायकर्त्ताले हामीलाई यसको साथै परमेश्वरले उहाँको नियुक्त न्यायकर्ता येशू ख्रीष्ट मार्फत अझ ठूलो उद्धार दिनुहुनेछ भनी आश्वासन दिन्छ।
९ अब हामी न्यायकर्ता बाराकको दिनमा फर्कौं। झूटा उपासना र ईश्वरीय अनुमोदन प्राप्त नगरेको कारण इस्राएलीहरूले कनानी राजा याबीनको शासनकालमा क्रूर सास्ती भोगेको २० वर्ष भइसक्यो। सीसरा विशाल कनानी सेनाको सेनापति हो। राष्ट्रको जनसंख्या ४० लाख भए तापनि “इस्राएलका चालीस हजारहरूसित नता ढाल न भाला देखिए।” (न्यायकर्त्ता ५:६-८) इस्राएलीहरूले पछुतो गर्दै यहोवालाई पुकार्छन्। अगमवादिनी दबोरा मार्फत परमेश्वरले निर्देशन दिनुभएअनुसार बाराकले १०,००० मानिसहरू तबोर डाँडामा जम्मा गर्छन् र यहोवाले अग्लो तबोरको खोल्चामा शत्रुहरूलाई ल्याउनुहुन्छ। तब ठूलो आवाजसहित सीसराका सेना तथा ९०० युद्ध रथहरू किशोनको सुक्खा खोलामा आउँछन्। तर ठूलो मुसलधारे पानी परेर किशोनमा बाढी आउन थाल्छ। बाराक र त्यसका मानिसहरू आँधी आइरहेकै बेला तबोर डाँडा तल झर्छन् र यहोवाको क्रोधको कारण कनानीहरूमाथि आइपरेको विनाश देख्छन्। बाराकका मानिसहरूले भयभीत हुँदै भागिरहेका कनानीहरूलाई खेद्छन् र एक जना पनि बाँच्दैन। परमेश्वर विरुद्ध युद्ध लड्न साहस गर्ने अत्याचारीहरूको निम्ति कस्तो भयानक चेताउनी!—न्यायकर्त्ता ४:३-१६; ५:१९-२२.
१०. परमेश्वरले आफ्ना वर्तमान सेवकहरूलाई बचाउनुहुन्छ भनी किन निश्चित हुनसक्छौं?
१० यहोवाले ईश्वरभीरु इस्राएलीहरूलाई समस्याको घडीमा बचाउनुभएजस्तै अहिले पनि आफ्ना वर्तमान सेवकहरूलाई सबै अत्याचारी शत्रुहरूबाट बचाउनुहुनेछ। (यशैया ४३:३; यर्मिया १४:८) परमेश्वरले दाऊदलाई “सबै शत्रुहरू[का] . . . हातबाट छुटाउनुभयो।” (२ शमूएल २२:१-३) अतः हामी यहोवाका जन भएकाले थिचोमिचो वा सतावट भोग्नु परे तापनि हामी साहस नगुमाऔं किनभने उहाँको मसीही राज्यले हामीलाई अत्याचारीहरूबाट स्वतन्त्र तुल्याउनेछ। हो, “दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।” (भजन ७२:१३, १४) साँच्चै त्यस छुटकाराको दिन नजीकै छ।
यहोवाले उहाँमाथि विश्वास गर्नेहरूलाई बचाउनुहुन्छ
११. जवान दाऊदले परमेश्वरमा भर परेको कस्तो उदाहरण देखाए?
११ यहोवाको उद्धार हेर्न हामीले साहस नगुमाई उहाँमाथि विश्वास गर्नुपर्छ। अजंगको गोल्यत भेट्न जाँदा दाऊदले साहसी भई यहोवामा भर परे। बडेमाको पलिश्तीअघि उभिएर जवान दाऊदले यसो भनेको कल्पना गर्नुहोस्: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। म तँलाई मार्नेछु, र तेरो टाउको काटेर तेरो लाश र पलिश्तीहरूका लाश चरो र जानवरहरूलाई ख्वाउनेछु। तब इस्राएलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाह पाउनेछ। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले तरवार, भालाद्वारा बचाउनुहुन्न। लड़ाइँ परमप्रभुकै हो।” गोल्यत चाँडै मर्छन् र पलिश्तीहरूले घोर पराजय भोग्छन्। स्पष्टतः यहोवाले आफ्ना जनहरूलाई बचाउनुभयो।—१ शमूएल १७:४५-५४.
१२. दाऊदका वीर पुरुष एलाजारलाई सम्झनु किन मदतकारी हुनसक्छ?
१२ सतावट दिनेहरूको सामना गर्दा हामीले “साहस बटुल्नु[का]” साथै परमेश्वरमा अझ पूर्णतया भरोसा राख्नुपर्ने हुनसक्छ। (यशैया ४६:८-१३ NW; हितोपदेश ३:५, ६) पास-दम्मीम भन्ने ठाउँमा भएको यो घटना विचार गर्नुहोस्। पलिश्ती सेनाहरू देखेर इस्राएल पछि हटेको थियो। तर दाऊदका वीर पुरुषहरूमध्ये एक एलाजार डराएर पछि हटेनन्। तिनी जौको खेतमा अडिएर एक्लैले पलिश्तीहरूलाई प्रहार गरी नै रहन्छन्। अतः ‘यहोवाले इस्राएललाई ठूलो विजय गराउनुहुन्छ।’ (१ इतिहास ११:१२-१४; २ शमूएल २३:९, १०) हामी एक्लैले सैन्य शक्तिलाई परास्त गरोस् भन्ने कसैले आशा गर्दैन। यद्यपि, कहिलेकाहीं हामी एक्लै हौंला र शत्रुहरूले दबाब दिनसक्छन्। के हामी छुटकारा दिने परमेश्वर यहोवामाथि प्रार्थनापूर्वक भर पर्नेछौं? आफ्ना सँगी विश्वासीहरूलाई धोका नदिन के हामी उहाँको सहायता माग्नेछौं?
यहोवाले निष्ठावान्हरूलाई बचाउनुहुन्छ
१३. इस्राएलको दस कुल राज्यमा परमेश्वरप्रति निष्ठा कायम राख्नु किन कठिन थियो?
१३ यहोवाको उद्धार अनुभव गर्न हामीले कुनै पनि हालतमा निष्ठा कायम राख्नुपर्छ। परमेश्वरका पुरातन जनहरूले विभिन्न परीक्षाहरू सामना गरे। इस्राएलको दस कुल राज्यको समयमा बाँच्नुभएको भए कस्तो हालत हुन्थ्यो होला, कल्पना गर्नुहोस्। रहबामको कठोरताको कारण दस कुलले तिनलाई समर्थन गरेनन् र इस्राएलको उत्तरी राज्य खडा गरे। (२ इतिहास १०:१६, १७; ११:१३, १४) त्यहाँका थुप्रै राजाहरूमध्ये येहू सबैभन्दा असल थिए तर तिनले पनि ‘आफ्नो पूरा मनले होशियारीसँग यहोवाको व्यवस्था पालन गरेनन्।’ (२ राजा १०:३०, ३१) तैपनि दस कुलको राज्यमा निष्ठावान् व्यक्तिहरू थिए। (१ राजा १९:१८) तिनीहरूले यहोवामा विश्वास राखे र उहाँले पनि तिनीहरूको साथ दिनुभयो। तपाईंको विश्वासको जाँचको बावजूद के तपाईंले यहोवाप्रति निष्ठा कायम राख्नुभएको छ?
१४. राजा हिजकियाहको समयमा यहोवाले कस्तो उद्धार कार्य गर्नुभयो र के कारणले बेबिलोनीहरूले यहूदालाई परास्त गरे?
१४ परमेश्वरको व्यवस्थाप्रति अनाज्ञाकारीता व्याप्त भएको कारण इस्राएल राज्यमाथि विपत्ति आइपऱ्यो। सा.यु.पू. ७४० मा अश्शूरीहरूले विजय हासिल गर्दा दस कुलका व्यक्तिहरू निश्चय पनि यहूदाको दुई कुल राज्यमा भागे जहाँ तिनीहरूले यहोवालाई उहाँको मन्दिरमा सेवा गर्न पाउँथे। यहूदामा दाऊदको वंशका १९ राजाहरूमध्ये चार जना आसा, यहोसापत, हिजकियाह र योशियाह परमेश्वरको भक्तिमा उल्लेखनीय थिए। निष्ठावान् हिजकियाहको समयमा अश्शूरीहरू यहूदामा शक्तिशाली सेनासहित आए। हिजकियाहको बिन्तीको जवाफमा परमेश्वरले एकै रातमा एक जना स्वर्गदूतद्वारा १,८५,००० अश्शूरीहरूलाई मार्न लगाउनुभयो र यसरी आफ्ना उपासकहरूको उद्धार गर्नुभयो! (यशैया ३७:३६-३८) मानिसहरूले पछि व्यवस्था पालन गर्न छोड्नुका साथै परमेश्वरका अगमवक्ताहरूको चेताउनी सुन्न छाडेको कारण बेबिलोनीहरूले यहूदालाई परास्त गरे र यसको राजधानी यरूशलेम तथा मन्दिर सा.यु.पू. ६०७ मा तहसनहस भयो।
१५. बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूलाई धीरजको किन आवश्यकता थियो र यहोवाले कसरी अन्ततः छुटकारा दिलाउनुभयो?
१५ यहूदीहरूले बेबिलोनमा कैदीको रूपमा दुःखलाग्दा ७० वर्ष बिताउँदा पनि परमेश्वरप्रति निष्ठा नगुमाउन धीरजको खाँचो थियो। (भजन १३७:१-६) उल्लेखनीय ढंगमा निष्ठा कायम गर्ने एक व्यक्ति अगमवक्ता दानियल थिए। (दानियल १:१-७; ९:१-३) सा.यु.पू. ५३७ मा फारसी राजा कोरसले यहूदीहरू मन्दिर पुनर्निर्माण गर्न जान पाउने आदेश जारी गर्दा तिनी कति हर्षित भए होलान् कल्पना गर्नुहोस्! (एज्रा १:१-४) दानियल तथा अरूले वर्षौं सहिसकेका थिए तर बल्ल तिनीहरूले बेबिलोनको पराजय र यहोवाका जनहरूको उद्धार देखे। यसले हामीलाई झूटो धर्मको विश्व साम्राज्य “महान् बेबिलोन[को]” विनाश पर्खुञ्जेल धैर्य धारण गर्न मदत गर्नुपर्छ।—प्रकाश १८:१-५.
यहोवाले आफ्ना जनहरूलाई सधैं बचाउनुहुन्छ
१६. रानी एस्तरको समयमा परमेश्वरले कस्तो उद्धार गर्नुभयो?
१६ उहाँको नाउँप्रति वफादार हुँदा यहोवाले सधैं आफ्ना जनहरूलाई बचाउनुहुन्छ। (१ शमूएल १२:२२; यशैया ४३:१०-१२) सा.यु.पू. पाँचौं शताब्दीमा रानी एस्तरको समयलाई विचार गर्नुहोस्। राजा आहसूरसले (जर्जस प्रथम) हामानलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्। यहूदी मोर्दकैले तिनलाई दण्डवत् गर्न इन्कार गरेकोले रिसले चूर हुँदै मोर्दकैका साथै फारस सम्राज्यमा भएका सबै यहूदीहरूलाई मार्ने षड्यन्त्र रच्छन्। तिनले यहूदीहरूलाई कानुन पालन भंग गर्नेहरू भन्छन्, तिनीहरूको नाशको निम्ति आर्थिक सहयोग दिने प्रस्ताव राख्छन् तथा तिनीहरूको विनाशको आदेश जारी गरेको कागजातमा राजाको छाप-औंठी प्रयोग गर्न अनुमति प्राप्त गर्छन्। एस्तरले साहसी भएर आफ्नो यहूदी पुर्ख्यौली र हामानको हत्या गर्ने षड्यन्त्रबारे राजालाई बताउँछिन्। हामान चाँडै आफूले बिछ्याएको पासोमा आफै पर्छन्। मोर्दकैलाई प्रधानमन्त्री बनाइन्छ र यहूदीहरूलाई आफ्नो सुरक्षा गर्ने अधिकार दिइन्छ। तिनीहरूले आफ्नो शत्रुको विरुद्ध ठूलो विजय प्राप्त गर्छन्। (एस्तर ३:१–९:१९) यहोवाले आफ्ना वर्तमान समयका आज्ञाकारी सेवकहरूलाई बचाउनुहुन्छ भन्ने विश्वास यस घटनाबाट अझ सुदृढ हुनुपर्छ।
१७. यहूदामा बसोबास गरिरहेका प्रथम शताब्दीका मसीहीहरूको जीवनमा आज्ञाकारिताले कस्तो भूमिका निर्वाह गऱ्यो?
१७ परमेश्वरले आफ्ना जनहरूलाई बचाउनुहुने अर्को कारण तिनीहरूले उहाँ अनि उहाँको पुत्रको आज्ञा पालन गर्छन्। आफूलाई येशूका प्रथम शताब्दीका यहूदी चेलाहरूको ठाउँमा कल्पना गर्नुहोस्। उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्।” (लूका २१:२०-२२) वर्षौं बित्छ र तपाईंलाई यी शब्दहरू कहिले पूरा हुने होला जस्तो लाग्नसक्छ। त्यसपछि सा.यु. ६६ मा यहूदीहरूले विद्रोह गर्छन्। सेस्टियस गालसको नेतृत्वमा रोमी सेनाहरूले यरूशलेमलाई घेरा लाउँछन् र मन्दिरको पर्खालतिर लम्कन्छन्। अचानक, कुनै कारणबिना रोमीहरू फर्कन्छन्। अब यहूदी मसीहीहरूले के गर्छन्? चर्चसम्बन्धी इतिहास-मा (पुस्तक ३, अध्याय ५, ३) (अंग्रेजी) युसिबसले तिनीहरू यरूशलेम र यहूदाबाट भागे भन्छन्। तिनीहरू बचे किनभने तिनीहरूले येशूको भविष्यसूचक चेताउनी सुने। येशूका सबै “घराना[माथि]” नियुक्त गरिएका “विश्वासी . . . भण्डारे” मार्फत उपलब्ध धर्मशास्त्रीय निर्देशनअनुसार के तपाईं हिंड्नुहुन्छ?—लूका १२:४२-४४.
उद्धार र अनन्त जीवन
१८, १९. (क) येशूको मृत्युले कस्तो उद्धार कसको निम्ति सम्भव भएको छ? (ख) प्रेरित पावल के गर्न कटिबद्ध थिए?
१८ येशूको चेताउनी सुन्दा यहूदाका यहूदी मसीहीहरूको जीवन बच्यो। तर येशूको मृत्युले गर्दा “सबै मानिसका” निम्ति अनन्त जीवन सम्भव भएको छ। (१ तिमोथी ४:१०) मानिसजातिको निम्ति छुडौतीको बलिदान तब आवश्यक भयो जब आदमले पाप गरेर आफ्नो जीवन गुमाउनुका साथै आफ्ना सन्तान सबैलाई पाप र मृत्युको दासत्वमा बेचे। (रोमी ५:१२-१९) मोशालाई दिइएको व्यवस्था अन्तर्गत चढाइने पशु बलिहरू प्रायश्चितको प्रतीक मात्र थियो। (हिब्रू १०:१-४) येशूको कुनै मानव पिता नभएकोले र मरियमले गर्भधारण गरेदेखि येशूको जन्म नभएसम्म परमेश्वरको पवित्र आत्माले ‘छायामा’ पारेकोले येशू वंशानुगत पाप वा असिद्धताबाट मुक्त थिए। (लूका १:३५; यूहन्ना १:२९; १ पत्रुस १:१८, १९) येशू सिद्ध निष्ठावान् व्यक्तिको रूपमा मर्नु हुँदा उहाँले आफ्नो सिद्ध शरीर मानिसजातिलाई पुनः किन्न र छुटाउन जीवन अर्पण गर्नुभयो। (हिब्रू २:१४, १५) अतः ख्रीष्टले “सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो।” (१ तिमोथी २:५, ६) सबैले उद्धारको यो प्रबन्ध उपयोग गर्ने छैनन् तर विश्वास गरेर यस्ता लाभहरूको फाइदा उठाउन चाहनेहरूलाई परमेश्वरले अनुमोदन दिनुहुन्छ।
१९ आफ्नो छुडौतीको बलिदानको मोल स्वर्गमा हुनुहुने परमेश्वरलाई तिर्नुभएर ख्रीष्टले आदमका सन्तानलाई पुनः किन्नुभयो। (हिब्रू ९:२४) अतः येशूले १,४४,००० अभिषिक्त जनहरूद्वारा निर्मित दुलही प्राप्त गर्नुभयो। (एफिसी ५:२५-२७; प्रकाश १४:३, ४; २१:९) उहाँको बलिदान स्वीकार्ने र पृथ्वीमा अनन्त जीवन प्राप्त गर्नेहरूको निम्ति उहाँ “सनातनका पिता” पनि हुनुहुन्छ। (यशैया ९:६, ७; १ यूहन्ना २:१, २) कस्तो मायालु प्रबन्ध! यस्तो प्रबन्धका लागि पावलको मूल्यांकन कोरिन्थका मसीहीहरूलाई लेखेको दोस्रो प्रेरित पत्रमा स्पष्ट हुन्छ। वास्तवमा, उद्धारदेखि अनन्त जीवन पाउने यहोवाको अद्भुत प्रबन्धको लाभ उठाउन अरू मानिसहरूलाई पनि मदत दिन पावल कटिबद्ध थिए।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ परमेश्वरले आफ्ना धर्मी जनहरूलाई बचाउनुहुन्छ भन्ने धर्मशास्त्रीय प्रमाण के छ?
◻ यहोवाले उहाँमाथि विश्वास गर्नेहरूका साथै निष्ठा कायम गर्नेहरूलाई बचाउनुहुन्छ भनी कसरी थाह पाउनसक्छौं?
◻ उद्धार र अनन्त जीवनका लागि परमेश्वरले कस्तो प्रबन्ध गर्नुभएको छ?
[पृष्ठ १२-मा भएको चित्र]
दाऊदले “छुटकारा दिने परमेश्वर” यहोवामा विश्वास राखे। तपाईं नि?
[पृष्ठ १४-मा भएको चित्र]
यहोवाले रानी एस्तरको समयमा प्रमाणित गर्नुभएझैं सधैं आफ्ना जनहरूलाई बचाउनुहुन्छ