तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्!
“जब मानिसहरू राजीखुसीले आफूलाई समर्पण गर्छन्—परमप्रभुको प्रशंसा गर।”—न्याय. ५:२, NRV.
१, २. (क) हाम्रो सेवाप्रति परमेश्वरको दृष्टिकोणबारे एलीपज र बिल्ददले के भने? (ख) यहोवा हाम्रो सेवालाई कस्तो ठान्नुहुन्छ?
“के मानिस परमेश्वरको निम्ति केही लाभको हुन्छ र? के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुनसक्छ र? यदि तपाईं धर्मी हुनेभए पनि सर्वशक्तिमानलाई के फाइदा? तपाईंको चालचलन सिद्ध भए पनि त्यसले उहाँलाई के लाभ हुन्छ?” (अय्यू. २२:१-३) के तपाईंले यस्ता प्रश्नहरूको जवाफबारे कहिल्यै सोच्नुभएको छ? अय्यूबलाई सुरुमा प्रश्न गर्ने एलीपज तेमानीको विचारमा परमेश्वरको नजरमा मानिसको कुनै मोल छैन। अय्यूबका साथी बिल्दद शुहीले मानिस परमेश्वरको नजरमा असल ठहरिन असम्भव छ समेत भने।—अय्यूब २५:४ पढ्नुहोस्।
२ जति नै कोसिस गरे पनि यहोवालाई खुसी पार्न सकिंदैन अनि परमेश्वरको नजरमा मानिस सानो पुतली, कीरा अर्थात् औंसाजस्तो मात्र हो भनेर ती साथीहरूले अय्यूबलाई बताए। (अय्यू. ४:१९; २५:६) एलीपज र बिल्ददको कुरा सुन्दा उनीहरू अहङ्कारी नभई नम्र मानिसजस्तो देखिन्थे। (अय्यू. २२:२९) हुन पनि अल्गो पर्वत वा हवाईजहाजबाट तल हेर्दा मानिसलाई देख्न पनि मुस्किल हुन्छ। तर के राज्यसम्बन्धी गतिविधिमा हामीले दिने योगदानलाई पनि यहोवाले माथि स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुँदा त्यस्तै नजरले हेर्नुहुन्छ? झूटो सान्त्वना दिने एलीपज, बिल्दद र सोपरलाई यहोवाले हप्काउनुभयो। तर अय्यूबदेखि उहाँ खुसी हुनुभयो अनि तिनलाई “मेरो दास” भनेर सम्बोधन गर्नुभयो। (अय्यू. ४२:७, ८) त्यसैले ‘मानिस परमेश्वरको निम्ति लाभको हुन्छ।’
“तपाईंले उहाँलाई के दिनुहुन्छ?”
३. यहोवाको सेवा गर्न हामीले गर्ने प्रयासबारे एलीहूले के भने? उनी वास्तवमा के भन्न खोज्दै थिए?
३ एलीहूले अय्यूबलाई यस्तो प्रश्न गरे: “तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्छ र?” (अय्यू. ३५:७, NRV) तर यस्तो प्रश्न गरेकोमा यहोवाले एलीहूलाई सच्याउनुभएन। के उनले यहोवाको सेवा गर्न हामीले गर्ने प्रयास बेकार छ भन्न खोज्दै थिए? थिएनन्। बरु हामीले यहोवाको उपासना गरे पनि नगरे पनि उहाँलाई कुनै फरक पर्दैन भन्न खोज्दै थिए। सबै कुरा उहाँकै हो। त्यसैले कुनै कुरा दिएर हामी उहाँलाई अझ सम्पन्न वा शक्तिशाली बनाउन सक्दैनौं। हामीसँग भएका राम्रा गुणहरू, खुबी अथवा शक्ति परमेश्वरले नै दिनुभएको हो। हामी यो कसरी प्रयोग गर्छौं, त्यसमा उहाँ चासो राख्नुहुन्छ।
४. हामीले अरूलाई दया देखाउँदा यहोवालाई कस्तो लाग्छ?
४ प्रेमले उत्प्रेरित भएर हामीले यहोवाका सेवकहरूलाई मदत गर्दा त्यसलाई उहाँ आफैलाई मदत गरेको सरह ठान्नुहुन्छ। हितोपदेश १९:१७ यसो भन्छ: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” यस पदको अर्थ गरिबलाई गरेको स-सानो मदत पनि यहोवा याद गर्नुहुन्छ भन्ने हो? उहाँ ब्रह्माण्डको सृष्टिकर्ता हुनुभए तापनि हामीजस्तो तुच्छ मानिसले अरूलाई दया देखाएको याद गर्नुहुन्छ। यस्तो दयालु कामलाई उहाँ आफूले सापटी लिएको सरह ठान्नुहुन्छ। मानिसमाथि अनुग्रह देखाएर अनि आशिष् दिएर उहाँ त्यो सापटी तिर्नुहुन्छ। यस कुरालाई उहाँको छोरा येशूले पनि प्रमाणित गर्नुभयो।—लूका १४:१३, १४ पढ्नुहोस्।
५. हामी कुन-कुन प्रश्न विचार गर्नेछौं?
५ यहोवाले भविष्यवक्ता यशैयालाई आफ्नो प्रवक्ता बन्ने निम्तो दिनुभयो। यसबाट उहाँ आफ्नो उद्देश्य पूरा गर्न वफादार मानिसहरू प्रयोग गर्न पाउँदा खुसी हुनुहुन्छ भन्ने देखिन्छ। (यशै. ६:८-१०) यशैयाले खुसीसाथ उहाँको निम्तो स्विकारे। आज पनि हजारौंले यशैयाले जस्तै “म हाजिर छु। मलाई पठाउनुहोस्” भन्ने इच्छुक मनोभाव देखाएका छन् र यहोवाको सेवामा चुनौतीपूर्ण असाइनमेन्टहरू स्विकारेका छन्। तर कसैलाई यस्तो लाग्न सक्छ: ‘इच्छुक मनोभाव देखाउने मौका दिनुभएकोमा म यहोवाप्रति आभारी छु। तर के यसले उहाँलाई कुनै फरक पार्छ र? मैले इच्छुक मनोभाव देखाए पनि नदेखाए पनि उहाँले आफ्नो उद्देश्य पूरा गर्नुहुन्न र?’ दबोरा र बाराकको जीवनमा घटेको घटनाले यी प्रश्नहरूको जवाफ कसरी दिन्छ, विचार गरौं।
पहिला डराएकाहरू पछि साहसी भए
६. याबीनको सेना र इस्राएलीहरूबीच कस्तो भिन्नता थियो?
६ कनानी राजा याबीनले इस्राएलीहरूलाई २० वर्षसम्म “क्रूरतापूर्वक सताए।” मानिसहरू बाटोमा हिंड्न समेत डराउँथे। इस्राएलीहरूसित न शत्रुलाई आक्रमण गर्नको लागि न त शत्रुको आक्रमण रोक्नको लागि कुनै हतियार थियो। तर शत्रुसित भने फलामका ९०० रथ थिए।—न्याय. ४:१-३, १३; ५:६-८.a
७, ८. (क) यहोवाले बाराकलाई सुरुमा कस्तो आदेश दिनुभयो? (ख) इस्राएलीहरूले याबीनको सेनालाई कसरी हराए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
७ तैपनि भविष्यवक्ता दबोरामार्फत यहोवाले बाराकलाई यस्तो स्पष्ट आदेश दिनुभयो: “गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँग ताबोर डाँडामा ल्याऊ, म याबीनका सेनापति सीसरालाई कीशोनका खोल्चामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”—न्याय. ४:४-७.
८ स्वयंसेवक चाहियो भन्ने यो आह्वान चारैतिर फैलियो। युद्धको लागि खुसीसाथ मानिसहरू ताबोर डाँडामा जम्मा भए। बाराकले यहोवाको आदेश पालन गर्न अलिकता पनि ढिलासुस्ती गरेनन्। (न्यायकर्त्ता ४:१४-१६ पढ्नुहोस्) तनाकमा भीषण युद्ध भइरहेको बेला अचानक दर्केको पानीले गर्दा पूरै मैदान दलदल भयो। बाराकले सीसराको सेनालाई २४ किलोमिटर पर हरोशेतसम्म खेदे। धारिला हतियार जडान गरिएका रथहरूको छेउमा जान मानिसहरू डराउँथे तर अब भने सीसराका ती रथहरू काम नलाग्ने भए। त्यसैले सीसरा आफ्नो रथ छोडेर जेआनानीममा भागे। त्यहाँ तिनले केनी हेबेरकी पत्नी याएलको पालमा शरण मागे। याएलले तिनलाई शरण दिइन्। युद्धबाट थाकेर आएकोले तिनी भुसुक्कै निदाए। अब साहसी याएलले कुनै पनि बेला सीसरालाई मार्न सक्थिन्। (न्याय. ४:१७-२१) यहोवाले इस्राएलीहरूलाई शत्रुहरूमाथि विजयी तुल्याउनुभयो!b
स्वयंसेवा गर्नेबारे फरक-फरक मनोभाव
९. सीसरासित भएको युद्धबारे न्यायकर्त्ता ५:२०, २१ मा कस्तो जानकारी पाउँछौं?
९ हामीले न्यायकर्त्ता अध्याय ४ को घटना बुझ्न अध्याय ५ पनि सँगै अध्ययन गर्नुपर्छ किनभने यी अध्यायहरूमा भएको विवरण एकअर्कासित सम्बन्धित छन्। उदाहरणको लागि, न्यायकर्त्ता ५:२०, २१ यसो भन्छ: “ताराहरूले पनि आकाशदेखि लडाइँ गरे, ताराहरूले आफ्ना-आफ्ना चक्रमा सीसरासँग लडाइँ गरे। किशोनको खोलाले तिनलाई बगाएर लग्यो।” के यसले स्वर्गदूतहरूले गरेको मदतलाई बुझाउँछ वा यो कुनै उल्का वर्षा थियो? यसबारे बाइबलले केही बताएको छैन। तर त्यही ठाउँमा अनि त्यत्ति नै खेर त्यस्तो मुसलधारे पानी पर्नु अनि ९०० रथ दलदलमा फस्नुमा यहोवाबाहेक अरू कसको हात हुन सक्छ र? न्यायकर्त्ता ४:१४, १५ मा इस्राएलीहरूको विजयको श्रेय पटक-पटक यहोवालाई दिइएको पाउँछौं। दस हजार इस्राएली स्वयंसेवकमध्ये कसैले पनि त्यो विजयको श्रेय लिन सक्दैनथे।
१०, ११. “मेरोज” के थियो अनि यसलाई किन सराप दिइयो?
१० इस्राएलीहरू चमत्कारपूर्ण तरिकामा विजयी भएपछि दबोरा र बाराकले यहोवाको प्रशंसा-गीत गाए। तिनीहरूले गीतको बीचतिर यसो भने: “मेरोजलाई सराप, परमप्रभुका दूतले भने, सराप, त्यसका बासिन्दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई र युद्ध गर्ने मानिसहरूलाई सहायता दिएनन्।”—न्याय. ५:२३.
११ मेरोजलाई सराप लागेकोले अहिले यसको कुनै नामोनिसान छैन। त्यसैले मेरोज वास्तवमा कुन ठाउँ थियो, यकिनका साथ भन्न मुस्किल छ। यो त्यो सहर पो थियो कि, जसका मानिसहरूले बाराकलाई युद्धमा साथ दिन इच्छुक मनोभाव देखाएनन्? अथवा यो त्यो ठाउँ पो थियो कि, जुन ठाउँ हुँदै सीसरा भाग्दा त्यहाँका मानिसहरूले तिनलाई समात्ने मौका हुँदाहुँदै पनि समातेनन्? स्वयंसेवकहरू चाहियो भन्ने यहोवाको आह्वान के मेरोजका मानिसहरूले सुनेनन् होला र? पक्कै सुने होलान् किनभने तिनीहरूकै इलाकाबाट दस हजार मानिस सीसराको सेनाविरुद्ध लड्न गएका थिए। मेरोजका मानिसहरूको आफ्नै घर-आँगनबाट यी क्रूर योद्धा एक्लै अनि डराउँदै भागिरहेको दृश्य कल्पना गर्नुहोस्। ती मानिसहरूको लागि यहोवाको उद्देश्य पूरा गर्ने र उहाँबाट आशिष् पाउने यो विशेष मौका हुन सक्थ्यो। तर यस्तो बेला आफूले केही गरे पनि नगरे पनि, त्यसले यहोवाको उद्देश्यमा कुनै फरक पार्दैन भन्ने तिनीहरूले सोचे कि? यदि त्यसो हो भने मेरोजका मानिसहरूभन्दा याएल कत्ति भिन्न, जसले साहसी कदम चालिन्!—न्याय. ५:२४-२७.
१२. न्यायकर्त्ता ५:९-११ मा मानिसहरूको कस्तो फरक-फरक मनोभावबारे बताइएको छ? यसले आज हामीलाई कुन कुरा सोच्न लगाउँछ?
१२ न्यायकर्त्ता ५:९-११ (NRV) मा बाराकसँग युद्धमा जानेहरू र नजानेहरूको मनोभावबीच कस्तो भिन्नता थियो भन्नेबारे थप जानकारी पाउँछौं। दबोरा र बाराकले ‘इस्राएलका अगुवाहरूमध्येका इच्छुक स्वयंसेवकहरूको’ प्रशंसा गरे। ती इच्छुक स्वयंसेवकहरू “गधाहरूमाथि सवार हुनेहरू” अर्थात् युद्धमा जान नचाहनेहरूभन्दा कत्ति भिन्न! ती स्वयंसेवकहरू ‘जीनको गलैंचामाथि बस्नेहरू’ अर्थात् ऐसआरामको जीवन मन पराउनेहरूजस्ता थिएनन्। बाराकसित युद्धमा जाने ती स्वयंसेवकहरू ‘पैदल बाटो लाग्नेहरू’ अर्थात् सजिलो बाटो रोज्नेहरूभन्दा कत्ति भिन्न! किनभने ती इच्छुक स्वयंसेवकहरू ताबोरको चट्टाने भीर र कीशोनको दलदले खोल्चामा युद्ध गर्न गए। ती ऐसआराम गर्न मन पराउनेहरूलाई यसो भनियो: “यस कुरालाई राम्ररी विचार गर।” यहोवाको सेवामा इच्छुक मनोभाव नदेखाउँदा कस्तो ठूलो मौका गुमाउनुपऱ्यो भनेर तिनीहरूले गहिरिएर सोच्नुपर्थ्यो। आज यहोवाको सेवामा पुरापुर भाग लिनदेखि पछि हट्नेहरूले पनि यो कुरा राम्ररी विचार गर्नुपर्छ।
१३. रूबेन, दान र आशेर कुलका मानिसहरूको मनोभाव कसरी जबूलून र नप्ताली कुलका मानिसहरूको भन्दा भिन्न थियो?
१३ ती दस हजार स्वयंसेवकले यहोवाले आफ्नो सार्वभौमिकता उच्च पार्नुभएको आफ्नै आँखाले देखे। त्यसैले तिनीहरूले “परमप्रभुले गर्नुभएको विजय”-बारे अरूलाई गर्वसाथ बताउन सक्थे। (न्याय. ५:११) न्यायकर्त्ता ५:१५-१७ मा रूबेन, दान र आशेर कुलका मानिसहरूले यहोवाको कामलाई भन्दा आफ्नो वस्तुभाउ, जहाजहरू र खाडीहरूजस्ता भौतिक कुराहरूमै बढी ध्यान दिए भनेर बताइएको छ। तर जबूलून र नप्ताली कुलका मानिसहरूले दबोरा र बाराकलाई समर्थन गर्न “आफ्नो ज्याननै खतरामा हाले।” (न्याय. ५:१८) स्वयंसेवा गर्ने सन्दर्भमा यस्तो फरक-फरक मनोभावबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।
“परमप्रभुको प्रशंसा गर”
१४. आज हामी कसरी यहोवाको सार्वभौमिकताको समर्थन गर्न सक्छौं?
१४ आज हामीलाई साँच्चैको युद्धमा भाग लिन भनिएको छैन। तर जोसिलो भई प्रचारकार्यमा भाग लिएर साहस देखाउने सुअवसर दिइएको छ। यहोवाको सङ्गठनमा स्वयंसेवकको खाँचो पहिलेभन्दा अझ धेरै बढेको छ। हाम्रा लाखौं दाजुभाइ दिदीबहिनीले अग्रगामी, बेथेल सेवक र राज्यभवन निर्माण स्वयंसेवकको रूपमा पूर्ण-समय सेवा गरिरहेका छन्। अनि थुप्रै युवा तथा वृद्धले सम्मेलन तथा अधिवेशनहरूमा स्वयंसेवकको रूपमा सेवा गरिरहेका छन्। साथै कतिपय एल्डरले अस्पताल सम्पर्क समितिमा सेवा गर्ने र अधिवेशन आयोजना गर्ने जस्ता गहन जिम्मेवारी बहन गरिरहेका छन्। यहोवाले तपाईंको इच्छुक मनोभावको धेरै कदर गर्नुहुन्छ र तपाईंको कामलाई बिर्सनुहुन्न भन्ने कुरामा ढुक्क हुनुहोस्।—हिब्रू ६:१०.
१५. यहोवाको सेवाप्रतिको हाम्रो जोस घटेको छैन भनेर कसरी पक्का गर्न सक्छौं?
१५ हामी प्रत्येकले आफैलाई यस्ता प्रश्नहरू सोध्नु बेस हुन्छ: ‘के म धेरैजसो काम अरूलाई नै गर्न लगाउँछु? के म परमेश्वरको सेवामा अझ धेरै भाग लिने कुरालाई भन्दा भौतिक कुराहरूमै अचाक्ली ध्यान दिन्छु? यहोवाको स्पष्ट आज्ञा पालन गर्न के म पनि बाराक, दबोरा, याएल र १०,००० स्वयंसेवकको जस्तै विश्वास र साहस देखाउँदै छु? के म पैसा कमाउन विदेश जाने विचार गर्दै छु? त्यसो हो भने यसले आफ्नो परिवार र मण्डलीलाई कस्तो प्रभाव पार्ला भनेर प्रार्थनापूर्वक विचार गरेको छु?’c
१६. यहोवासित सबै कुरा भए पनि हामी उहाँलाई के दिन सक्छौं?
१६ यहोवाले आफ्नो सार्वभौमिकतालाई समर्थन गर्ने मौका दिएर हाम्रो सम्मान गर्नुभएको छ। प्रथम मानव दम्पतीको समयदेखि दियाबलले मानिसहरूलाई यहोवाको सार्वभौमिकताको विरोध गर्न उक्साउँदै आएको छ। त्यसैले यहोवाको शासनको समर्थन गऱ्यौं भने हामी कसको पक्षमा छौं भनेर सैतानलाई देखाइरहेका हुन्छौं। हाम्रो विश्वास र वफादारीले यहोवाको सेवामा अझ धेरै गर्न उत्प्रेरित गर्छ र यस्तो इच्छुक मनोभावले यहोवालाई खुसी बनाउँछ। (हितो. २३:१५, १६) हामीले यस्तो मनोभाव देखाउँदा यहोवाले सैतानलाई मुखभरिको जवाफ दिन सक्नुहुन्छ। (हितो. २७:११) हाम्रो आज्ञाकारितालाई यहोवा अनमोल ठान्नुहुन्छ र हामीले उहाँलाई दिन सक्ने कुरा यही हो। यस्तो वफादारी देख्दा उहाँ एकदम खुसी हुनुहुन्छ।
१७. न्यायकर्त्ता ५:३१ मा भविष्यमा हुने कुन कुरा बताइएको छ?
१७ चाँडै यो पृथ्वी यहोवाको शासनको पक्ष लिनेहरूले भरिनेछ। हामी त्यो दिनको उत्सुकतासाथ प्रतीक्षा गर्छौं। हामी पनि दबोरा र बाराकजस्तै महसुस गर्छौं, जसले यसरी गाए: “हे परमप्रभु, यसरीनै तपाईंका सबै शत्रुहरू नाश होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैं होऊन्।” (न्याय. ५:३१) यहोवाले सैतानको संसार नाश गर्नुहुँदा यो गीतमा बताइएको कुरा पूरा हुनेछ। आरमागेडोनको युद्ध सुरु हुँदा शत्रुहरूसित लड्न कुनै मानव स्वयंसेवकको आवश्यकता पर्नेछैन। त्यतिबेला हामी ‘दृढ भएर पर्खिबस्नेछौं’ र ‘परमप्रभुले गर्नुभएको उद्धारको काम देख्नेछौं।’ (२ इति. २०:१७) हामीसित यहोवाको सार्वभौमिकतालाई साहसी अनि जोसिलो भई समर्थन गर्ने मौकाहरू थुप्रै छन्। त्यो उद्धारको दिन नआउन्जेल यस्ता मौकाहरूको पुरापुर सदुपयोग गरौं!
१८. तपाईंको इच्छुक मनोभावले अरूमा कस्तो प्रभाव पार्छ?
१८ “जब मानिसहरू राजीखुसीले आफूलाई समर्पण गर्छन्—परमप्रभुको प्रशंसा गर।” यहाँ दबोरा र बाराकले विजयगीतको सुरुमा कुनै मानिसको होइन, सर्वोच्च परमेश्वर यहोवाको प्रशंसा गरे। (न्याय. ५:१, २, NRV) त्यसैगरि तपाईंको इच्छुक मनोभावले पनि अरूलाई ‘परमप्रभुको प्रशंसा गर्न’ उत्प्रेरित गरोस्!
a यी रथका पाङ्ग्राहरूमा लामा अनि धारिला फलामे हतियार जडान गरिएका हुन्थे। कुनै-कुनै रथमा भने हँसियाजस्तो फलामे हतियार जडान गरिएका हुन्थे। यस्तो खतरनाक रथको छेउमा जाने आँट कसले गर्न सक्थ्यो र?
b यस रोचक घटनाबारे थप जानकारीको लागि नोभेम्बर १५, २००३, प्रहरीधरहरा, पृष्ठ २८-३१ हेर्नुहोस्।
c जनवरी १, २०१२, प्रहरीधरहरा-को “आफ्नो औकातअनुसार जिउने—कसरी?” भन्ने लेख हेर्नुहोस्।