नक्षत्र र मानिस—ती दुईबीच के कुनै सम्बन्ध छ?
नक्षत्र हेर्ने प्रचलन कुनै नौलो कुरा होइन। द वर्ल्ड बुक इन्साइक्लोपीडिया अनुसार हजारौं वर्ष पहिले किसानहरूले “कहिले बाली रोप्ने भनी थाहा लगाउन नक्षत्र हेर्ने गर्थे। दिशा पत्ता लगाउन यात्रीहरूले नक्षत्र प्रयोग गर्न सिके।” आज पनि अन्तरिक्ष यात्रा गर्दा पथप्रदर्शकको रूपमा नक्षत्रकै प्रयोग गरिन्छ। नक्षत्रको समूह अथवा तारामण्डलमा आकृतिहरू जस्तो देखिएको महसुस हुँदा मानिसहरू र जनावरहरूबारे पुरातन मानिसहरूले दन्त्यकथाहरू पनि रच्न थाले। नक्षत्रले मानिसको जीवनलाई असर गर्छ भनी मानिसहरूले समय बित्दै जाँदा विश्वास गर्न थाले।
नक्षत्रको व्यापक छनौट
नक्षत्रको सङ्ख्या र परिमाण मात्र विचार गर्दा पनि हामी आश्चर्यचकित हुन्छौं। ब्रह्माण्डमा एक खरब आकाशगङ्गा अथवा नक्षत्रका ठूला समूहहरू छन्। दी इन्टरनेशनल इन्साइक्लोपीडिया अफ एस्ट्रोनोमी ले यसो भन्छ: “त्यो सङ्ख्या एउटा ठूलो चर्च भवनमा जम्मा गर्न सकिने चामलका गेडाहरू जतिकै छ।” हाम्रो सौर्यमण्डल आकाशगङ्गाको भाग हो। त्यसमा पनि त्यति धेरै नक्षत्र पाइन्छन् भनी अनुमान गरिएको छ। हाम्रो पृथ्वीबाट सबैभन्दा नजिकको तारा, (सूर्यबाहेक) एल्फा सेन्टाउरी ४.३ सौर्यवर्ष टाढा छ। सौर्यवर्ष भनेको एक वर्षमा प्रकाशले पार गर्ने दूरी हो। त्यसको अर्थ हो, हामीले माथि त्यस तारालाई हेर्दा हाम्रो आँखामा पर्ने प्रकाश ताराबाट ४.३ सौर्यवर्ष पहिले निस्केर अन्तरिक्षमा २,९९,७९२ किलोमिटर प्रतिसेकेन्डको गतिमा यात्रा गरिरहेको हुन्छ। त्यसमा लागेको दूरी हाम्रो मानसिक क्षमताले कल्पनासम्म पनि गर्न सक्दैन। यद्यपि, त्यो त सबैभन्दा नजिकको तारा मात्रै हो। केही नक्षत्र हाम्रो तारामण्डलबाट अरबौं सौर्यवर्ष टाढा छन्। अतः, परमेश्वरको अगमवक्ताले यसप्रकार घोषणा गर्नुमा छक्क पर्नु पर्ने कुनै कारण छैन: “हेर, उहाँको लेखामा सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र छन्, र तराजूमा टाँसेको धूलोजस्तै गनिएका छन्। हेर, उहाँले टापूहरूलाई धूलोको कणाजस्तै उठाउनुहुन्छ।” (यशैया ४०:१५) धूलोको कणलाई कसले वास्ता गर्छ र?
पृथ्वीबाट सबैभन्दा नजिकको आकाशीय पिण्ड चन्द्रमा हो, जसले हाम्रो पृथ्वीमा विशेष प्रभाव पार्छ। यसको गुरुत्वाकर्षणले गर्दा केही ठाउँहरूमा उच्च ज्चारभाटा र निम्न ज्वारभाटाबीच १५ मीटरभन्दा बढी फरक पर्न जान्छ। तीन फ्रान्सेली वैज्ञानिकहरूअनुसार चन्द्रमाको गुरुत्वाकर्षणले गर्दा पृथ्वीको अक्षले २३ डिग्रीको कोण बनाएको हुन्छ जसले गर्दा ऋतुहरू नियमित तवरमा परिवर्तन हुन्छन्। (नेचर, फेब्रुअरी १८, १९९३) हाम्रो ग्रहमा चन्द्रमाले त्यत्तिको धेरै भौतिक प्रभाव पार्ने हुनाले यो प्रश्न सोध्नु तर्कपूर्ण छ, अरबौं नक्षत्रबारे के भन्न सकिन्छ? तर प्रथमतः, बाइबलजस्ता पुरातन स्रोतले नक्षत्रबारे हामीलाई के भन्छ?
शास्त्रमा नक्षत्र
शाब्दिक तथा लाक्षणिक दुवै अर्थमा नक्षत्रबारे बाइबलले निकै पटक सङ्केत गरेको छ। उदाहरणको लागि, एक जना भजनरचयिताअनुसार सृष्टिकर्त्ताले “रातमा राज्य गर्नलाई चन्द्रमा र ताराहरू” बनाउनुभयो ताकि ताराहरूले पृथ्वीको निम्ति प्रकाश देऊन्। (भजनसंग्रह १३६:९, तनाख) पछि, विश्वासी अब्राहामसित वाचा बाँध्नु हुँदा परमेश्वरले भन्नुभयो: “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्तैनस्, गनिहेर्। उहाँले तिनलाई भन्नुभयो, ‘तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।’” (उत्पत्ति १५:५) नक्षत्र बेग्लाबेग्लै प्रकारका हुन्छन् भनी औंल्याउँदै प्रेरित पावलले यसो भने: “सूर्यको प्रकाश एक किसिमको, चन्द्रको प्रकाश अर्कै, र ताराहरूको प्रकाश अर्कै किसिमको हुन्छ। किनभने प्रकाशमा एउटा तारा अर्को ताराभन्दा विभिन्न हुन्छ।”a (१ कोरिन्थी १५:४१) तर, बहुसङ्ख्यक नक्षत्र र तिनीहरूको महिमा सृष्टिकर्त्ताको परिधि अथवा नियन्त्रणबाहिरको कुरा होइन: “उहाँले ताराहरूका संख्या गन्नसक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ।”—भजनसंग्रह १४७:४.
अर्कोतिर, शास्त्रमा नक्षत्रले मानिसहरू, शासकहरू र स्वर्गदूतहरूलाई सङ्केत गरेको हामी पाउँछौं। याकूबका छोरा, यूसुफले देखेको सपनामा उनका आमाबाबुलाई “सूर्य र चन्द्र” तथा भाइहरूलाई “ताराले” चित्रण गरेको छ। स्वर्गदूतहरूलाई “बिहानका ताराहरू” भनी सङ्केत गरिएको छ। बेबिलोनका राजालाई इस्राएल राष्ट्रको दाऊदवंशीय राजाहरू अर्थात् “परमेश्वरका ताराहरू” भन्दा माथि उक्लन चाहने भनी भनिएको छ। मसीही मण्डलीका अस्थिर मानिसहरूलाई “डुलुवा ताराहरू” सित दाँजिएको छ भने मण्डलीका प्राचीनहरूको विश्वासी समूहलाई ख्रीष्टको दाँया बाहुलीका “ताराहरू” भनी उल्लेख गरिएको छ।—उत्पत्ति ३७:९, १०; अय्यूब ३८:७; यशैया १४:१३; यहूदा १३; प्रकाश १:१६.
इस्राएलको राष्ट्रलाई २० वर्षसम्म दमन गर्ने कनानका राजा याबिनको सेनापति ‘सीसराको विरुद्धमा ताराहरूले पनि आकाशदेखि लड़ाईं गरे’ भनी बाइबलको एउटा विवरणले बताउँछ। इस्राएललाई दासत्वबाट छुटाउन यहोवाले इस्राएलको न्यायकर्त्ता बाराकलाई जिम्मा लगाउनुभयो र सिसराका फलामका नौ सय रथहरू भए तापनि बाराकलाई महान विजय दिनुभयो। विजय गानमा इस्राएलीहरूले यसप्रकार गाए: “ताराहरूले पनि आकाशदेखि लड़ाईं गरे, ताराहरूले आफ्ना आफ्ना चक्रमा सिसरासँग लड़ाईं गरे।” नक्षत्रले वास्तवमा कसरी लडे भनेर कुनै विवरण दिइएको छैन। बरु युद्धमा नक्षत्र प्रत्यक्षतः सहभागी थिए भनी विश्वास गर्नुको सट्टा इस्राएलको खातिर ईश्वरीय हस्तक्षेप भएको थियो भन्ने सङ्केत यस अभिव्यक्तिले गर्छ भनी विश्वास गर्नु तर्कपूर्ण छ।—न्यायकर्त्ता ५:२०.
बेतलहेमको “तारा”
बाइबलमा उल्लिखित नक्षत्रमध्ये शायद सबैभन्दा सुपरिचित बेतलहेमको “तारा” होला। यस ताराले “पूर्वबाट” ज्योतिषीहरूलाई डोऱ्याएर येशू जन्मिएको केही महिनापछि उहाँका आमाबाबुले लगेको घरसम्म पुऱ्याएको थियो। त्यो तारा कुन थियो? त्यो निश्चय पनि साधारण तारा थिएन किनभने त्यसलाई ज्योतिषीहरूले १,६०० किलोमिटरसम्म पछ्याए र त्यो आकाशमा निकै तल्लो उँचाइमा थियो। “ताराले” सर्वप्रथम तिनीहरूलाई यरूशलेम लग्यो। यो सुनेर राजा हेरोदले तिनीहरूलाई केरकार गरेपछि बालक येशूलाई मार्ने निधो गरे। त्यसपछि “ताराले” ज्योतिषीहरूलाई त्यो घरमा लग्यो जहाँ येशू हुनुहुन्थ्यो। कुनै साधारण ताराले अवश्य त्यसो गर्न सक्दैन थियो। के त्यो तारारूपी वस्तु परमेश्वरले पठाउनुभएको थियो? ज्योतिषीहरूको भेट अप्रत्यक्ष रूपमा ‘बेतलेहेम र त्यहाँका सीमानामा भएका दुई वर्ष र त्यसदेखि मनिका सबै बालकहरूको हत्या’ को कारण हुन गयो। त्यसकारण त्यो “तारा” परमेश्वरको पुत्रलाई नाश गर्न परमेश्वरको विरोधी, शैतानको प्रयास हो भन्ने निष्कर्षमा पुग्नु के तर्कपूर्ण छैन र?—मत्ती २:१-११, १६.
हामीले यो कुरा पनि याद गर्नुपर्छ, ती ज्योतिषीहरू पूर्वबाट आएका थिए, शायद बेबिलोनबाट जुन ठाउँ जादुगरी, टुनामुना र ज्योतिषशास्त्रको प्राचीन थलो थियो। थुप्रै आकाशीय पिण्डहरूलाई बेबिलोनका देवहरूको नाउँ दिइएको छ। राजा नबूकदनेसरको समयमा युद्ध हुँदा कुन मार्ग अपनाउने हो, त्यो निश्चित गर्न तिनले भावी बताउने विद्याको मदत लिन्थे।—इजकिएल २१:२०-२२.
बेबिलोनका सल्लाहकारहरूलाई चुनौती दिंदै अगमवक्ता यशैयाले यसो भने: “तँ [बेबिलोन] आफ्ना धेरै युक्तिमा थकित भएकी छस्, अब ज्योतिषीहरू, ग्रह हेर्नेहरू, हरेक औंसीका भविष्य बताउनेहरू खड़ा होऊन्, र तँमाथि आइपर्ने कुराहरू तँलाई बताऊन्। हेर्, तिनीहरू भूसजस्तै हुनेछन्। आगोले तिनीहरूलाई जलाउनेछ। आगोको ज्वालाबाट तिनीहरू आफैलाई बचाउनसक्तैनन्। . . . तँलाई बचाउने कोही हुनेछैन।” यशैयाको भविष्यवाणीअनुरूप सा.यु.पू. ५३९ मा महान कोरसको हातबाट पराक्रमी बेबिलोनको पतन भयो। नक्षत्र मार्फत डोऱ्याइ प्रदान गर्छु भनी दाबी गर्ने बेबिलोनी ज्योतिषीहरूले तिनीहरूसित सम्बन्धित सबैमाथि विनाश ल्यायो।—यशैया ४७:१३-१५.
के यसको अर्थ हामीले नक्षत्रबाट केही पनि सिक्न सक्दैनौं भनेको हो? (g94 7/8)
[फुटनोट]
a आधुनिक खगोलविद्याले पावलका शब्दहरूलाई पुष्टि गर्छ किनभने नक्षत्रको रङ्ग, आकार, प्रकाश उत्पादन हुने परिमाण, तापक्रम र सापेक्षिक घनत्व फरक फरक हुन्छ।
[पृष्ठ १६-मा भएको पेटी]
केही व्यक्तिहरूले के भनेका छन्?
ज्योतिषशास्त्र: “खगोलविद्याको सहायक र मित्र हो।”—जर्मन खगोलशास्त्री योहानेस केप्लर (१५७१-१६३०)
“ज्योतिषशास्त्र एउटा रोग हो, विज्ञान होइन। . . . यो त्यस्तो रूख हो जसको छत्रछाँयामा हरप्रकारका अन्धविश्वासहरू फस्टाइरहेका छन्।”—मोजेज माइमोनिडस (११३५-१२०४), मध्ययुगीन यहूदी शास्त्रज्ञ।
“स्वर्गका ग्रह-नक्षत्रहरूलाई दृष्टिगत गरेर व्यक्तिविशेषको व्यक्तित्व तथा आनीबानी पत्ता लगाउने र भावी घटनाहरू बताउन सक्ने दाबी गर्ने प्रारम्भिक विज्ञान हो। . . . सम्भवतः सा.यु.पू. ६ शताब्दीतिर दक्षिणी इराकका कल्दीहरूले व्यक्तिगत राशिफलको प्रचलन ल्याए होलान् भन्ने अनुमान छ। जन्मिंदाखेरि अति टाढाका ताराहरू साथै सूर्य, चन्द्र र अन्य पाँच ग्रहहरूको प्रभावसित यो सम्बन्धित थियो। . . . ज्योतिषशास्त्रको प्रक्रिया र राशिफलहरूको अर्थ खगोलशास्त्री तथा अन्य वैज्ञानिकहरूको लागि अनौठो अनि अस्वीकार्य छ।”—कोलिन ए. रोनान, कार्यक्रम संयोजक, इस्ट एसियन हिस्ट्री अफ साइन्स ट्रस्ट, केम्ब्रिज, इङ्गल्याण्ड र उक्त उक्ति लिइएको पत्रिका, दी इन्टरनेशन इन्साइक्लोपीडिया अफ एस्ट्रोनोमी का लेखक।
यस अनौठोपनलाई वर्णन गर्न श्री रोनान भन्छन्—पश्चिमी सोचाइमा युद्ध र क्रोधसित रातो मङ्गल ग्रह सम्बन्धित छ तर चिनियाँहरूका लागि रातो, सुन्दर रङ्ग हो र मङ्गल ग्रहले सौम्य प्रभाव पार्छ भन्ने दृष्टिकोण तिनीहरू राख्छन्। यसको विपरीत, पश्चिमी दन्त्यकथामा सेतो र सुन्दरतासित शुक्र ग्रह सम्बन्धित छ। चिनियाँहरूको सोचाइमा, “सेतो रङ्ग . . . मृत्यु, ह्रास र विनाशको प्रतीक हो; त्यसकारण शुक्र ग्रहलाई ‘युद्धको उदास ग्रह’ भनी सङ्केत गरिएको थियो।”
रोनान अझै यसो भन्छन्: “खगोलविद्या प्रारम्भिक विज्ञानको प्रकृतिको भए तापनि खगोलीय अवलोकन प्रवर्धन गर्न र त्यसको लागि पैसा उपलब्ध गराउन यसले लाभकारी भूमिका निभायो।”
उन्नाइस जना नोबेल पुरस्कार विजेताहरूको सहभागितामा अरू वैज्ञानिकहरूले १९७५ मा “खगोलविद्याप्रति विरोध—१९२ प्रमुख वैज्ञानिकहरूको वक्तव्य” शीर्षक भएको एउटा घोषणा-पत्र निकाले। त्यसमा यसप्रकार घोषणा गरिएको थियो:
“पुरातन समयमा . . . पृथ्वीदेखि अन्य ग्रह तथा ताराहरू बीचको लामो दूरीबारे मानिसहरूलाई थाहा थिएन। अब यी दूरीहरू पत्ता लगाउन सकिन्छ र लगाइएको पनि छ। यसले गर्दा हामी टाढाका ग्रहहरू र अझै टाढाका अरू ताराहरूले पार्ने गुरुत्वाकर्षण र अन्य प्रभावहरू कति नगन्य छ भनेर बुझ्न सक्छौं। मानिस जन्मिंदा ताराहरू र ग्रहहरूको प्रभावले उसको भविष्य निश्चित गर्छ भनी कल्पना गर्नु एउटा भूल मात्र हो।”b
[फुटनोट]
b ज्योतिषविद्यासम्बन्धी थप जानकारीको लागि मे ८, १९८६ अवेक! को पृष्ठ ३-९ हेर्नुहोस्।