विश्वासद्वारा बाराकले एउटा शक्तिशाली फौजलाई परास्त गरे
कल्पना गर्नुहोस्, तपाईंको सामने शत्रु पक्षका आक्रोशित सेनाहरूको एउटा बटालियन छ। तिनीहरू अत्याधुनिक हातहतियारले सुसज्जित छन् अनि तपाईंमाथि जाइलाग्नै आँटेका छन्। तिनीहरूका सामु तपाईं अनि तपाईंका साथीहरू लाचार हुनुहुन्छ।
इस्राएलका न्यायकर्ताहरूको समयमा बाराक, दबोरा अनि १०,००० संगी इस्राएलीहरूले यस्तै परिस्थितिको सामना गरे। शत्रु पक्षका फौजहरू सेनापति सीसराको नेतृत्वमा आएका कनानीहरू थिए। तिनीहरूका हातहतियारहरूमा रथहरू थिए जसका पाङ्ग्रा अड्याउने धुराको दुवैपट्टि धारिला अस्त्रहरू जडिएका थिए। रणभूमि चाहिं ताबोर डाँडा र कीशोन खोल्चा थियो। त्यहाँ घटेको घटनाले बाराक एक उदाहरणीय विश्वासी पुरुष थिए भनी चिनाउँछ। यो मुठभेड हुनुअघिका घटनाहरू विचार गर्नुहोस्।
इस्राएलले यहोवालाई पुकार्छन्
न्यायकर्ताको पुस्तकमा इस्राएलले बारम्बार साँचो उपासनालाई त्यागेको कारण तिनीहरूमाथि आइपरेको विनाशकारी परिणामहरूबारे बताइएको छ। हरेक चोटि शुद्ध मनले परमेश्वरलाई गुहार्दा परमेश्वरले रक्षक अर्थात् मुक्तिदाता नियुक्त गर्नुभएर तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो अनि त्यसपछि तिनीहरू फेरि विद्रोह गर्न थाल्थे। यही प्रक्रिया अनुरूप “[मोआबीहरूको अत्याचारबाट तिनीहरूलाई बचाउने एक जना न्यायकर्ता] एहूदको मृत्युपछि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे।” वास्तवमा “[तिनीहरूले] नयाँ नयाँ देवताहरूलाई चुने।” परिणाम? “[यहोवाले] तिनीहरूलाई हासारमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। तिनका सेनापति सीसरा थिए, . . . इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र तिनले इस्राएलीहरूलाई बीस वर्षसम्म क्रूरतापूर्वक सताए।”—न्यायकर्त्ता ४:१-३; ५:८.
धर्मशास्त्रले इस्राएलको त्यतिबेलाको जीवनबारे यसो भन्छ: “[ती दिनहरूमा] यात्रीहरू मूलबाटाहरूमा हिंडेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिंड्न लागे। इस्राएलका गाउँले जीवन समाप्त भयो।” (न्यायकर्त्ता ५:६, ७, नयाँ संशोधित संस्करण) लुटपाट मच्चाउन रथमा यत्रतत्र डुलिरहने लुटेराहरूदेखि मानिसहरू भयभीत थिए। एक जना विद्वान यसो भन्छन्, “इस्राएलको जनजीवनमा आतंकले डेरा जमायो, पूरै समुदाय लत्यालुतुक अनि निस्सहाय देखिन्थ्यो।” त्यसैले मनोबल क्षीण भइसकेका ती इस्राएलीहरूले विगतमाझैं सहायताको लागि यहोवालाई पुकारे।
यहोवाले एक जना नेता नियुक्त गर्नुहुन्छ
कनानीहरूको अत्याचार इस्राएलीहरूका लागि एउटा राष्ट्रिय संकटको घडी बन्न पुग्यो। आफ्नो न्याय अनि निर्देशनहरू सुनाउन परमेश्वरले अगमवादिनी दबोरालाई चलाउनुभयो। यसरी यहोवाले तिनलाई इस्राएलमा एउटी लाक्षणिक आमाको भूमिका निभाउने सुअवसर दिनुभयो।—न्यायकर्त्ता ४:४; ५:७.
दबोराले बाराकलाई बोलाएर यसो भनिन्: “परमप्रभु इस्राएलका परमेश्वरका आज्ञा यिनै हुन्, ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँग ताबोर डाँड़ामा ल्याऊ, म याबीनका सेनापति सीसरालाई कीशोनका खोल्चामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु’। ” (न्यायकर्त्ता ४:६, ७) ‘परमप्रभुका आज्ञा यिनै हुन्’ भनेर दबोराले बाराकमाथि अलिकता पनि आफ्नो प्रभुत्व जमाउन खोजिनन्। तिनले केवल ईश्वरीय आज्ञा सुनाउने एउटा माध्यम बनेर काम गरिन्। बाराकले कस्तो प्रतिक्रिया देखाए?
बाराकले यसो भने, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भने ता म पनि जानेछैनँ।” (न्यायकर्त्ता ४:८) परमेश्वरले दिनुभएको जिम्मेवारी स्वीकार्न बाराक किन हिचकिचाए? के उनी डरछेरुवा थिए? के परमेश्वरका प्रतिज्ञाहरूमाथि उनको भरोसा थिएन? त्यसो होइन। बाराकले न त जिम्मेवारी स्वीकार्न इन्कार गरे न उनी यहोवाप्रति अनाज्ञाकारी नै थिए। बरु, उनको प्रतिक्रियाले उनी एक्लैले परमेश्वरको आज्ञा पालन गर्न अपुग महसुस गरेको कुरालाई संकेत गर्थ्यो। परमेश्वरको प्रतिनिधिको उपस्थितिले ईश्वरीय डोऱ्याइलाई पक्का गर्ने थियो अनि उनीलगायत उनका मानिसहरूलाई आत्मविश्वासले भर्ने थियो। त्यसकारण, बाराकले सृजना गरेको त्यो अवस्था कमजोरीको चिह्न नभएर बलियो विश्वासको संकेत थियो।
बाराकको प्रतिक्रियालाई मोशा, गिदोन अनि यर्मियाको प्रतिक्रियासित तुलना गर्न सकिन्छ। परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्न यी मानिसहरूमा पनि आफ्नो क्षमताप्रति आत्म-विश्वासको कमी थियो। तर यस्तो प्रतिक्रिया देखाएकोमा तिनीहरू कम विश्वासी गनिएनन्। (प्रस्थान ३:११–४:१७; ३३:१२-१७; न्यायकर्त्ता ६:११-२२, ३६-४०; यर्मिया १:४-१०) अनि दबोराको मनोवृत्तिबारे चाहिं के भन्न सकिन्छ? तिनले आफ्नो प्रभुत्व जमाउने प्रयास गरिनन्। बरु, तिनी यहोवाको एउटी सुशील सेविका बनेर रहिन्। तिनले बाराकलाई यसो भनिन्, “निश्चय म तिमीसँग जानेछु।” (न्यायकर्त्ता ४:९) सन्निकट युद्धको लागि बाराकलाई साथ दिन आफ्नो सुरक्षित घर छाड्न तिनी तयार थिइन्। दबोराले पनि विश्वास र साहसको उदाहरण बसाल्छिन्।
विश्वासमा तिनीहरू बाराकको पछि लाग्छन्
ताबोर नामक प्रसिद्ध डाँडा इस्राएली फौजहरू भेला हुने ठाउँ थियो। उक्त ठाउँ रोज्नु उपयुक्त थियो। त्यो नप्ताली र जबूलून कुल सधैंजसो भेला हुने ठाउँ थियो, तिनीहरू त्यो डाँडाको नजिकै बस्थे। त्यसैले, परमेश्वरले आज्ञा गर्नुभए जस्तै दस हजार स्वयम्सेवक अनि दबोरा त्यस डाँडामा बाराकको पछि लागे।
बाराकलाई साथ दिने ती सबै मानिसहरूमा पनि विश्वास हुनु आवश्यक थियो। यहोवाले कनानीहरूमाथि बाराकले विजय हासिल गर्ने प्रतिज्ञा गर्नुभएको थियो तर इस्राएलीहरूसित कस्ता हातहतियारहरू थिए? न्यायकर्ता ५:८ यसो भन्छ: “इस्राएलका चालीस हजारहरूसित नता ढाल न भाला देखिए।” त्यसैले इस्राएलीहरूसित सामान्य हातहतियार मात्र थियो। तथापि, निस्सन्देह धारिला फलामे अस्त्रजडित रथहरू विरुद्ध भाला र ढालको युद्ध असमान टक्कर हुने थियो। बाराक ताबोर डाँडामा उक्लेका छन् भन्ने खबर सुनेर सीसराले तुरुन्तै आफ्ना सारा रथ अनि फौजहरूलाई किशोनको खोल्चामा भेला गराए। (न्यायकर्त्ता ४:१२, १३) तर आफू सर्वशक्तिमान परमेश्वरसित लड्दै छु भन्ने कुरालाई भने सीसराले बुझ्न सकेनन्।
बाराकले सीसराका फौजहरूलाई परास्त गर्छन्
मुठभेडको क्षण आउँदा दबोराले बाराकलाई यसो भनिन्: “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” बाराक अनि तिनका मानिसहरू ताबोरको डाँडाबाट तल खोल्चामा झर्नुपर्थ्यो तर रणकौशलताको हिसाबले हेर्ने हो भने सीसराका रथहरूलाई त्यहाँ युद्ध गर्न सजिलो हुने थियो। यदि तपाईं त्यतिबेला बाराकको फौजमा हुनुभएको भए कस्तो महसुस गर्नुहुने थियो? यसलाई यहोवाको आज्ञा ठान्दै के तपाईं अलिकता पनि आनाकानी नगरी त्यो आज्ञा पालन गर्नुहुने थियो? बाराक अनि उनका दस हजार मानिसहरूले त्यसै गरे। त्यसपछि “परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो।”—न्यायकर्त्ता ४:१४, १५, नयाँ संशोधित संस्करण।
यहोवाको आड पाएर बाराकले सीसराका फौजहरूलाई परास्त गरे। लडाइँको विवरणमा त्यहाँ घटेको एक-एक घटना उल्लेख गरिएको छैन। तथापि, बाराक अनि दबोराको विजय गीतले यसो भन्छ, ‘आकाश अनि बादलले झरी बर्षायो।’ यसरी आँधीबेहरीले गर्दा सीसराका रथहरू हिलोमा अड्किंदा बाराकको हात माथि पऱ्यो। यसरी कनानीहरूका मुख्य घातक हतियार नै पराजयको कारण बन्न पुग्यो। सीसराका मानिसहरूका लासबारे उक्त गीतले यसो भन्छ: “कीशोनको खोलाले तिनलाई बगाएर लग्यो।”—न्यायकर्त्ता ५:४, २१.
के यस घटनालाई विश्वास गर्न सकिने कुनै आधार छ? किशोनको खोल्चा वर्षामासमा मात्र बढ्ने एउटा सानो खोला हो जहाँ अक्सर थोरै पानी बग्छ। आँधीबेहरी अथवा लामो समयसम्म पानी परेपछि यस्ता खोलाहरू अचानक तीव्र गतिमा बग्ने डरलाग्दो भेलमा परिणत हुने सम्भावना धेरै हुन्छ। भनिन्छ, प्रथम विश्वयुद्धको दौडान यसै इलाकाको धेरै माटो भएको ठाउँमा केवल १५ मिनेट पानी पर्दा त्यसले सारा सैन्य सफलताहरू खतरामा पारेको थियो। अप्रिल १६, १७९९ मा ताबोर डाँडामा नेपोलियन अनि तुर्कीबीच भएको युद्धको विवरणले यस्तो रिपोर्ट दिन्छ, “किशोनको बाढीले जलमग्न भएको क्षेत्र पार गरेर भाग्न खोज्दा थुप्रै तुर्कीहरू डुबे।”
यहूदी इतिहासकार फ्लेभियस जोसेफसले दाबी गरेअनुसार सीसरा अनि बाराकका सेनाहरूको मुठभेड हुनै लाग्दा “आकासबाट ठूलो आँधीबेहरी चल्यो, मुसलधारे पानी पऱ्यो अनि धेरै असिना झऱ्यो र बतासले पानीलाई कनानीहरूको मुखैनिर हुत्याइदियो र तिनीहरूले केही पनि देखेनन् र तिनीहरूका धनु अनि झटारोहरूले कुनै काम दिएनन्।”
न्यायकर्ता ५:२० यसो भन्छ, “ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे, ताराहरूले आफ्ना आफ्ना चक्रमा सीसरासँग लड़ाइँ गरे।” ताराहरूले कसरी सीसरा विरुद्ध लडाइँ गरे? कसै-कसैले यस भनाइलाई ईश्वरीय मदतको संकेत ठान्छन्। अन्य कतिपयले चाहिं यस भनाइलाई उल्का वर्षाउन स्वर्गदूतले गरेको मदत अथवा ज्योतिष भविष्यवाणीमाथि सीसराको निर्भरता झूटा प्रमाणित भएको संकेत ठान्छन्। बाइबलले यस लडाइँमा ताराहरूले कसरी युद्ध गरे भन्ने सन्दर्भमा कुनै व्याख्या नगरे तापनि यस भनाइले इस्राएली फौजहरूको खातिर परमेश्वरले गर्नुभएको हस्तक्षेपलाई संकेत गर्छ भन्ने कुरा स्वतः सिद्ध हुन्छ। जे होस्, इस्राएलीहरूले मौकाको पूरापूर फाइदा उठाए। “बाराकले रथहरू र फौजलाई अन्यजातिहरूको हरोशेतसम्मै खेदे, औ सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।” (न्यायकर्त्ता ४:१६) सेनापति सीसराको हालत चाहिं के भयो त?
“एउटा स्त्रीको हात[बाट]” अत्याचारीको पतन हुन्छ
बाइबल यसो भन्छ, “यता सीसरा चाहिं [लडाइँ छोडेर] पैदलै भाग्दै केनी हेबेरकी स्वास्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।” थकाइले चूर भएका सीसरालाई याएलले आफ्नो पालमा निम्त्याइन् अनि तिनलाई दुध पिउन दिइन् र कम्बल ओढाइदिइन्, यसरी तिनी भुसुक्कै निदाए। त्यसपछि याएलले “पालको एउटा कीला र मुँग्रो” हातमा लिइन् जसलाई पालमा बस्नेहरूले सधैंजसो प्रयोग गर्ने गर्थे। “तिनी मस्त निदाएको बेलामा छेउमा गएर [याएलले] तिनको कन्चटमा [कीला] ठोकिदिइन्। तिनको गिदी बाहिर भूइँमा निस्केर छिन्नभिन्न भयो, र छटपटाउँदै तिनी मरे।”—न्यायकर्त्ता ४:१७-२१.
त्यसपछि याएल बाराकलाई भेट्न बाहिर आइन् अनि तिनले बाराकलाई यसो भनिन्: “आउनुहोस्, तपाइँले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” उक्त विवरण अझ यसो भन्छ: “बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्चटमा कीला गाड़िएर मरिरहेका भेटाए।” यो अनुभवले बाराकको विश्वासलाई कत्ति बलियो बनाएको हुनुपर्छ! अगमवक्ता दबोराले पहिले नै तिनलाई भनेकी थिइन्: “यस वीरताको कामबाट तिमीलाई केही गौरव हुनेछैन, परमप्रभुले सीसरालाई एउटा स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।”—न्यायकर्त्ता ४:९, २२.
के याएलको कामलाई विश्वासघात भन्न मिल्छ? यहोवाले त्यो कामलाई यसरी हेर्नुभएन। बाराक अनि दबोराको विजय गीतले यसो भन्यो: “[तिनी] पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आशीषित होऊन्।” त्यस गीतले सीसराको मृत्युलाई सही दृष्टिकोणले हेर्न मदत गर्छ। तिनकी आमा लडाइँबाट सीसरा फर्किने क्षण उत्कटतासाथ प्रतिक्षा गरिरहेको कुरा चित्रण गरिएको छ। उनी सोध्छिन्, “त्यसका रथहरू आउनलाई किन यति ढिलो गरेका?” “तिनका राजकुमारीहरूमध्येका सबैभन्दा ज्ञानी[हरू]ले” उनको डर हटाउने प्रयास गर्दै सीसरा पक्कै पनि लडाइँमा लुटेका सरसामानहरू, सुन्दर बुट्टा कुँदिएका लुगाहरू अनि पुरुषहरूको लागि केटीहरू बाँड्दै होलान् भनी बताउँछन्। ती केटीहरू यसो भन्छन्: “तिनीहरू लूटका मालहरू खोज्दै होलान्, भाग लाउँदै होलान्, हरेक मानिसको निम्ति एउटा केटी, सायद दुइ केटी, सीसराको निम्ति रङ्गाएका थोकहरू, रङ्गाएका थोकहरूको लूट, रङ्गाएको थोक, धर्का धर्का भएको, दुइ हात लामो धर्का भएको थोक—विजयीको गलामा शोभा दिनको निम्ति।”—न्यायकर्त्ता ५:२४, २८-३०.
हाम्रो लागि पाठ
बाराकको विवरणले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउँछ। यहोवालाई आफ्नो जीवनबाट अलग्याउने कुनै पनि व्यक्तिलाई समस्या अनि निराशाहरूले निश्चय नै पिरोल्नेछन्। पश्चाताप गरेर परमेश्वरतर्फ फर्कने अनि यहोवामा विश्वास खेती गर्नेहरूका लागि जस्तोसुकै अत्याचारबाट पनि मुक्ति सम्भव छ। अनि के हामीले आज्ञाकारी मनोभाव पनि खेती गर्नुपर्दैन र? मानव तर्कहरूसित परमेश्वरका आवश्यकताहरू मेल नखाएको जस्तो लाग्दासमेत उहाँका निर्देशनहरू सधैं हाम्रै अनन्त हितका लागि हुन्छन् भनेर हामी पूर्ण विश्वस्त हुन सक्छौं। (यशैया ४८:१७, १८) यहोवामा विश्वास खेती गरेर अनि परमेश्वरका निर्देशनहरू पालन गरेर मात्र बाराकले “विदेशीहरूका फौजलाई भगाए।”—हिब्रू ११:३२-३४.
बाराक अनि दबोराको गीतका मर्मस्पर्शी निष्कर्ष यस्तो छ: “हे परमप्रभु, यसरीनै तपाईंका सबै शत्रुहरू नाश होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैं होऊन्।” (न्यायकर्त्ता ५:३१) शैतानको दुष्ट संसारको अन्त्य गर्नुहुँदा यी शब्दहरू कत्ति सत्य साबित हुनेछन्!
[पृष्ठ २९-मा भएको चित्र]
बाराकलाई बोलाउन यहोवाले दबोरालाई चलाउनुभयो
[पृष्ठ ३१-मा भएको चित्र]
किशोन नदी उर्लेर किनारालाई छोप्यो
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est
[पृष्ठ ३१-मा भएको चित्र]
ताबोर डाँडा