“तपाईंको तर्कशक्तिले पवित्र सेवा चढाउने”
“तिमीहरूको यथोचित [तर्कशक्ति, न्युव] सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।”—रोमी १२:१.
१, २. बाइबलका सिद्धान्तहरू सिक्नु किन नयाँ भाषा सिक्नुजस्तै हो?
केतपाईंले कहिल्यै नयाँ भाषा सिक्ने प्रयास गर्नुभएको छ? छ भने, त्यो गाह्रो काम हो भनी तपाईं अवश्य सहमत हुनुहुन्छ होला। आखिर, नयाँ शब्दहरू मात्र सिकेर पुग्दैन। त्यो भाषामा निपुण हुन त्यसको व्याकरण पनि राम्ररी जान्नुपर्छ। शब्दहरू एकअर्कोसित कसरी सम्बन्धित छन् र सिंगो विचार व्यक्त गर्न ती कसरी संयोजन हुन्छन् भनेर तपाईंले थाह पाउनुपर्छ।
२ परमेश्वरको वचनको ज्ञान लिनु पनि त्यस्तै हो। छानीछानी एक दुइटा शास्त्रपद सिक्नु मात्र पर्याप्त हुँदैन। प्रतीकात्मक भाषामा भन्ने हो भने, हामीले बाइबलको व्याकरण पनि सिक्नुपर्छ। शास्त्रपदहरू एकअर्कासित कसरी सम्बन्धित छन् र ती किन दैनिक जीवनमा प्रयोग गर्न मिल्ने सिद्धान्तहरू हुन् भनेर हामीले बुझ्नुपर्छ। यसो गर्दा हामी “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुन्छौं।—२ तिमोथी ३:१७.
३. परमेश्वरलाई सेवा चढाउने सन्दर्भमा सा.यु. ३३ मा कस्तो परिवर्तन भयो?
३ मोशाको व्यवस्थाको प्रबन्धअन्तर्गत सुपरिभाषित नियमहरू पालन गर्दा निकै हदसम्म विश्वासिलोपना प्रदर्शित गर्न मदत मिल्थ्यो। तथापि, सा.यु. ३३ मा यहोवाले व्यवस्था रद्द गर्नुभयो, भनौं भने त्यसलाई आफ्नो पुत्र मारिएको “क्रूसमा कीला ठोकिदिनुभयो।” (कलस्सी २:१३, १४) त्यसपश्चात् परमेश्वरका जनहरूलाई बलिदान र नियमहरूको विस्तृत सूची दिइएन। बरु, तिनीहरूलाई यसो भनियो: “तिमीहरूको यथोचित [तर्कशक्ति, न्युव] सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) हो, मसीहीहरूले यहोवाको सेवा गर्न आफ्नो सम्पूर्ण हृदय, प्राण, मन र शक्तिले यत्न गर्नुपर्नेथियो। (मर्कूस १२:३०; भजन ११०:३ तुलना गर्नुहोस्।) तर “तर्कशक्तिले पवित्र सेवा” चढाउनुको अर्थ के हो?
४, ५. हाम्रो तर्कशक्तिले यहोवाको सेवा गर्नुमा के समावेश छ?
४ “तर्कशक्ति” भन्ने पद्यांश युनानी शब्द लोगिकोस-बाट अनुवाद गरिएको हो, जसको अर्थ “विवेकी” वा “बुद्धिमान” हो। परमेश्वरका सेवकहरूलाई बाइबल-प्रशिक्षित अन्तस्करण प्रयोग गर्न भनिएको छ। मसीहीहरूले आफ्ना निर्णयहरूलाई अनगिन्ती नियमहरूमा आधारित गर्नुको साटो बाइबल सिद्धान्तहरूलाई राम्ररी केलाउनुपर्छ। तिनीहरूले बाइबलको “व्याकरण” वा यसका विविध सिद्धान्तहरूको एकअर्कासितको सम्बन्ध बुझ्नुपर्छ। यसप्रकार तिनीहरूले तर्कशक्तिद्वारा सन्तुलित निर्णयहरू गर्नसक्छन्।
५ के यसको अर्थ मसीहीहरू व्यवस्थाविहीन छन्? निस्सन्देह, त्यसो होइन। मसीही युनानी शास्त्रले स्पष्टसित मूर्तिपूजा, यौन अनैतिकता, हत्या, झूट, प्रेतवाद, रगतको दुरुपयोग र अन्य विभिन्न पापहरू निषेध गर्छ। (प्रेरित १५:२८, २९; १ कोरिन्थी ६:९, १०; प्रकाश २१:८) यद्यपि, हामीले बाइबल सिद्धान्तहरू सिक्न र त्यसलाई प्रयोगमा ल्याउन इस्राएलीहरूले भन्दा बढी तर्कशक्ति प्रयोग गर्नुपर्छ। यसो गर्न नयाँ भाषा सिक्दाझैं समय र प्रयासको खाँचो हुन्छ। हाम्रो तर्कशक्ति कसरी खेती गर्न सकिन्छ?
तपाईंको तर्कशक्ति खेती गर्ने
६. बाइबल अध्ययन गर्नुमा के समावेश छ?
६ सर्वप्रथम, हामी बाइबलका उत्सुक विद्यार्थीहरू हुनुपर्छ। परमेश्वरको प्रेरित वचन “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) हामीले सधैं एउटै बाइबल पदमा हाम्रो समस्याको सम्पूर्ण समाधान भेटाउने आशा गर्नु हुँदैन। बरु, त्यस्तो खास परिस्थिति वा समस्यामा थप ज्योति प्राप्त गर्न थुप्रै शास्त्रपदहरूमा तर्क गर्नुपर्ने हुनसक्छ। हामीले त्यस विषयमा परमेश्वरको सोचाइ बुझ्न लगनशील खोजीनिती गर्नुपर्नेछ। (हितोपदेश २:३-५) हामीलाई समझ पनि चाहिन्छ किनभने “समझ-शक्ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ।” (हितोपदेश १:५) समझदार मानिसले त्यो खास विषयको बेग्लाबेग्लै तत्त्वहरू छुट्याउन र एकअर्कोसितको सम्बन्ध बुझ्नसक्छ। विभिन्न टुक्राहरूलाई जोडेर एउटा सिंगो चित्र तयार पार्ने खेलमा जस्तै समझदार मानिसले स्पष्ट जानकारी पाउन सबै कुरा बुझ्छ।
७. अनुशासनको सन्दर्भमा आमा-बाबुले बाइबलका सिद्धान्तहरूमा कसरी तर्क गर्नसक्छन्?
७ उदाहरणको लागि, आमा-बाबुको अभिभारालाई विचार गर्नुहोस्। हितोपदेश १३:२४ ले भन्छ, छोरालाई माया गर्ने बाबुले त्यसलाई “अनुशासनमा राख्छ।” त्यो शास्त्रपदलाई मात्र विचार गऱ्यौं भने कठोर, निर्दयी सजाय दिनुपर्छ भन्ने गलत अर्थ लाग्नसक्छ। यद्यपि, कलस्सी ३:२१ ले सन्तुलित सल्लाह यसप्रकार प्रदान गर्छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” आफ्नो तर्कशक्ति प्रयोग गर्ने र यी सिद्धान्तहरू सामञ्जस्यपूर्ण ढंगमा प्रयोग गर्ने आमा-बाबुहरूले “दुर्व्यवहारपूर्ण” अनुशासन दिनेछैनन्। तिनीहरूले आफ्ना छोरा-छोरीहरूसित न्यानो, समझदार र मर्यादापूर्ण व्यवहार गर्नेछन्। (एफिसी ६:४) तसर्थ, आमा-बाबुको अभिभारा वा अन्य विषयहरूमा बाइबल सिद्धान्तहरू मुछिएको होस् या नहोस्, त्यससित सम्बन्धित सबै तत्त्वहरूलाई तौलेर आफ्नो तर्कशक्ति विकास गर्नसक्छौं। यसप्रकार हामी बाइबलको “व्याकरण” परमेश्वरको उद्देश्य र त्यो कसरी पूरा गर्ने भनेर बुझ्नसक्छौं।
८. मनोरञ्जनको क्षेत्रमा कडा, एकोहोरो दृष्टिकोण अपनाउनदेखि हामी कसरी जोगिनसक्छौं?
८ हाम्रो तर्कशक्ति खेती गर्ने दोस्रो तरिका, कडा अनि एकोहोरो दृष्टिकोण नअपनाएर हो। हाम्रो तर्कशक्तिको विकासमा अरट्ठो दृष्टिकोणले अवरोध पुऱ्याउँछ। मनोरञ्जनको विषयलाई नै ध्यान दिनुहोस्। बाइबलले यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) के यसको अर्थ संसारमा निर्मित सबै पुस्तक, चलचित्र वा टेलिभिजन कार्यक्रम भ्रष्ट र शैतानी हुन्छन्? त्यस्तो दृष्टिकोण पक्कै पनि व्यवहारिक हुनेछैन। निस्सन्देह, केही व्यक्तिहरू टेलिभिजन, चलचित्र वा सांसारिक साहित्यहरूदेखि पूर्णतया अलग बस्न चाहलान्। त्यो तिनीहरूको आफ्नो अधिकारको कुरा हो र त्यसो गरेकोमा तिनीहरूको आलोचना गर्नु हुँदैन। तर त्यस्तै कडा अडान लिन तिनीहरूले अरूलाई दबाब दिनु पनि हुँदैन। आराम वा मनोरञ्जन गर्दा हामीलाई बुद्धिमतापूर्ण छनौट गर्न मदत दिने बाइबल सिद्धान्तमा आधारित थुप्रै लेखहरू सोसाइटीले प्रकाशित गरेको छ। यी निर्देशनहरूलाई उल्लंघन गरेर यस संसारको मनोरञ्जनमा व्याप्त अनैतिक सोचाइ, घोर अपराध वा प्रेतवादमा संलग्न हुनु साह्रै मूर्खता हुनेछ। साँच्चै, बुद्धिमानीपूर्वक मनोरञ्जन छान्नुमा परमेश्वर र मानिससमक्ष स्वच्छ अन्तस्करण राख्न सकियोस् भनेर बाइबल सिद्धान्तहरू अपनाउन तर्कशक्ति प्रयोग गर्नु समाविष्ट छ।—१ कोरिन्थी १०:३१-३३.
९. “विवेक[को]” अर्थ के हो?
९ आज संसारको प्रायजसो मनोरञ्जन मसीहीहरूका लागि सुहाउँदैन।a तसर्थ, प्रथम शताब्दीमा “सारा अशुद्ध काम” गर्ने केही मानिसहरूजस्तो नभई “खराबीलाई घृणा” गर्न हामीले हाम्रो हृदयलाई प्रशिक्षित गर्नुपर्छ। (भजन ९७:१०; एफिसी ४:१७-१९) त्यस्ता विषयहरूमा तर्क गर्न हामीलाई “[सही] ज्ञान र विवेक” चाहिन्छ। (फिलिप्पी १:९) “विवेक” भनी अनुवाद गरिएको युनानी शब्दले “संवेदनशील नैतिक समझ[लाई]” बुझाउँछ। यो शब्दले दृष्टिजस्तो मानव ज्ञानेन्द्रियलाई बुझाउँछ। मनोरञ्जन वा व्यक्तिगत निर्णय गर्नुपर्ने जुनसुकै विषयमा हामीले आफ्नो नैतिक ज्ञानलाई राम्ररी चलाउनुपर्छ ताकि सुस्पष्ट छुट्टिने असल र खराब क्षेत्रहरू मात्र नभई अस्पष्ट कुराहरू पनि बुझ्नसक्छौं। साथै, बाइबल सिद्धान्तहरू अव्यवहारिक ढंगमा लागू गर्न र हाम्रा भाइहरूले पनि त्यस्तै गरोस् भनेर जिद्दी गर्नदेखि अलग बस्नुपर्छ।—फिलिप्पी ४:५.
१०. भजन १५ मा देखाएअनुसार हामीले यहोवाको व्यक्तित्व कसरी बुझ्नसक्छौं?
१० हाम्रो तर्कशक्ति खेती गर्ने तेस्रो तरिका, यहोवाको सोचाइबारे सजग भएर त्यसलाई हाम्रो हृदयमा गहिरोसित राख्नु हो। यहोवाले आफ्नो वचनमा उहाँको व्यक्तित्व र स्तरहरू प्रकट गर्नुभएको छ। उदाहरणको लागि, भजन १५ अध्यायमा यहोवाले उहाँको पालमा निमन्त्रणा दिनुहुने पाहुनाको परिचय पाउँछौं। त्यस्तो मानिसले धार्मिकता अभ्यास गर्छ, आफ्नो हृदयमा सत्य बोल्छ, आफ्ना प्रतिज्ञाहरू पूरा गर्छ र अरूबाट नाजायज फाइदा उठाउँदैन। यो भजन पढ्दा आफैलाई सोध्नुहोस्, ‘के यी गुनहरूले मेरो वर्णन गर्छ? यहोवाको पालमा पाहुना हुन के उहाँले मलाई निमन्त्रणा दिनुहुनेछ?’ यहोवाको तौरतरिका र सोचाइअनुरूप चल्यौं भने, हाम्रा ज्ञानेन्द्रिय शक्तिहरू सुदृढ हुन्छन्।—हितोपदेश ३:५, ६; हिब्रू ५:१४.
११. फरिसीहरूले “न्याय र परमेश्वरको प्रेमलाई” कसरी पर सारे?
११ विशेषगरि यो क्षेत्रमा फरिसीहरू साह्रै नराम्रोसँग चुके। फरिसीहरूलाई व्यवस्थाको पारिभाषिक संरचना थाह थियो तर तिनीहरूले त्यसको “व्याकरण” बुझ्न सकेनन्। तिनीहरूले व्यवस्थाका असंख्य विवरणहरू कण्ठ भन्न सक्थे तर व्यवस्थाको ग्रन्थकार, यहोवाको व्यक्तित्वलाई बुझ्न सकेनन्। येशूले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू पुदिना र आरूद र हरेक जडी-बुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमलाई पर सार्दछौ।” (लूका ११:४२) कडा मन र कठोर हृदयले गर्दा फरिसीहरू तर्कशक्ति प्रयोग गर्न असफल भए। येशूका चेलाहरूले विश्रामको दिनमा अन्नका बाला टिपेर खाएकोमा आलोचना गर्दा तिनीहरूको असमान तर्क प्रकट भयो। यद्यपि, पछि त्यसै दिन येशूको हत्या गर्ने षड्यन्त्र रच्दा तिनीहरूको अन्तस्करणलाई चसक्क पनि घोचेन।—मत्ती १२:१, २, १४.
१२. हामीले यहोवालाई व्यक्तिको रूपमा कसरी राम्ररी चिन्नसक्छौं?
१२ हामी फरिसीहरूभन्दा भिन्न हुन चाहन्छौं। परमेश्वरको वचनको ज्ञानले हामीलाई यहोवाको व्यक्तित्वसित अझ राम्ररी परिचित हुन मदत दिनैपर्छ। यो हामी कसरी गर्नसक्छौं? बाइबलको केही अंश वा बाइबल आधारित साहित्य पढेपछि यस्ता प्रश्नहरूमा ध्यान दिंदा केहीले मदत पाएका छन्, ‘यहोवा र उहाँका गुनहरूबारे यो जानकारीले मलाई के सिकाउँछ? अरूसित व्यवहार गर्दा म यहोवाका गुनहरू कसरी प्रकट गर्नसक्छु?’ त्यस्ता प्रश्नहरूमाथि मनन गर्दा हाम्रो तर्कशक्ति विकास हुन्छ र “परमेश्वरका देखा-सिकी गर्नेहरू” हुन मदत दिन्छ।—एफिसी ५:१.
मानिसको होइन तर परमेश्वर र ख्रीष्टका दासहरू
१३. फरिसीहरूले कसरी नैतिक तानाशाहहरूजस्तै व्यवहार गरे?
१३ प्राचीनहरूले आफ्नो हेरचाहमा भएका मानिसहरूलाई तिनीहरूको तर्कशक्ति प्रयोग गर्न दिनुपर्छ। मण्डलीका सदस्यहरू मानिसका दासहरू होइनन्। पावलले यसप्रकार लेखे, “यदि मैले अझै मानिसहरूलाई खुशी पारिरहेको हुँदो हो ता म ख्रीष्टको दास हुनेनै थिइनँ।” (गलाती १:१०; कलस्सी ३:२३, २४) त्यसको विपरीत, परमेश्वरको भन्दा मानिसको अनुमोदन प्राप्त गर्नु बढी महत्त्वपूर्ण छ भनेर मानिसहरूले विश्वास गरेको फरिसीहरू चाहन्थे। (मत्ती २३:२-७; यूहन्ना १२:४२, ४३) आफ्नै नियमहरू बनाएर अनि अरूले ती नियमहरू कतिको पालन गर्छन्, त्यसैको आधारमा न्याय गर्न फरिसीहरूले आफूलाई नैतिक तानाशाहहरू बनाए। फरिसीहरूको अनुसरण गर्नेहरूको बाइबल प्रशिक्षित अन्तस्करण कमजोर भएर तिनीहरू अन्ततः मानिसहरूका दास भए।
१४, १५. (क) प्राचीनहरू बगालका संगी कार्यकर्ताहरू हुन् भनी कसरी देखाउनसक्छन्? (ख) अन्तस्करणसित सम्बन्धित कुराहरूलाई प्राचीनहरूले कसरी सँभाल्नसक्छन्?
१४ आज मसीही प्राचीनहरूलाई बगाल मुख्यतः तिनीहरूप्रति जवाफदेही छैनन् भनेर थाह छ। प्रत्येक मसीहीले आफ्नो भार आफै बोक्नुपर्छ। (रोमी १४:४; २ कोरिन्थी १:२४; गलाती ६:५) हुनुपर्ने पनि यस्तै हो। निस्सन्देह, बगालका सदस्यहरू मानिसहरूका दास हुँदा हुन् त अरूको सामु मात्र आज्ञाकारी हुन्थे तर आफू वरपर कोही नहुँदा नि? फिलिप्पीहरूको खातिर पावलसित आनन्दित हुने कारण थियो: “जसरी तिमीहरूले सधैं आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर अब अरू बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ आफ्नो मुक्तिको काम पूरा गर्दै जाओ।” तिनीहरू साँचो अर्थमा ख्रीष्टका दासहरू थिए, पावलका होइनन्।—फिलिप्पी २:१२.
१५ तसर्थ, अन्तस्करणको सन्दर्भमा आफूले हेरचाह गर्नेहरूको निम्ति प्राचीनहरूले निर्णय गर्दैनन्। तिनीहरूले कुनै खास विषयसित सम्बन्धित बाइबल सिद्धान्तहरू बुझाउँछन् र निर्णय गर्ने जिम्मा सोही व्यक्तिको तर्कशक्तिलाई दिन्छन्। यो गम्भीर जिम्मेवारी हो, यद्यपि प्रत्येक व्यक्तिविशेषले वहन गर्नुपर्ने यो एउटा भार हो।
१६. समस्याहरू सुल्झाउन इस्राएलमा कस्तो प्रणाली थियो?
१६ यहोवाले इस्राएललाई डोऱ्याउन न्यायकर्ताहरू प्रयोग गर्नुभएको समयावधिलाई विचार गर्नुहोस्। बाइबलले हामीलाई यसो भन्छ: “त्यस बेला इस्राएलमा कुनै राजा थिएन, औ हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथियो।” (न्यायकर्त्ता २१:२५) यद्यपि आफ्ना जनहरूले डोऱ्याइ पाओस् भन्ने हेतुले यहोवाले प्रबन्ध गर्नुभएको थियो। प्रश्न तथा समस्याहरूको ठोस मदत प्रदान गर्न हरेक शहरमा बूढा-प्रधानहरू हुन्थे। यसको अलावा, लेवी पूजाहारीहरू मानिसहरूलाई परमेश्वरको व्यवस्था सिकाउने भरपर्दो शक्तिजस्तै थिए। असाध्यै जटिल समस्याहरू खडा हुँदा प्रधान पूजाहारीले ऊरीम र तुम्मीम मार्फत परमेश्वरसित परामर्श लिनसक्थे। इन्साइट अन द स्क्रिप्चर्स (शास्त्रमाथि अन्तरदृष्टि) यस्तो टिप्पणी गर्छ: “यी प्रबन्धहरूको प्रयोग गर्ने, परमेश्वरको व्यवस्थाको ज्ञान लिएर त्यसलाई उपयोग गर्ने व्यक्तिसित अन्तस्करणको भरपर्दो निर्देशक हुन्थ्यो। त्यस्तो अवस्थामा ‘आफ्नो नजरमा सही कुरा गर्दा’ खराब परिणाम हुनेथिएन। यहोवाले आफ्ना जनहरूलाई इच्छुक वा अनिच्छुक मनोवृत्ति तथा मार्ग पछ्याउने अनुमति दिनुभयो।”—खण्ड २, पृष्ठ १६२-३.b
१७. प्राचीनहरूले दिने सल्लाह आफ्नो नभई परमेश्वरको स्तरअनुरूप हो भनेर तिनीहरूले कसरी देखाउनसक्छन्?
१७ इस्राएली न्यायकर्ता र पूजाहारीहरूले जस्तै मण्डलीका प्राचीनहरूले समस्याहरू आइपर्दा राम्रो मदत र मूल्यवान् सल्लाह दिन्छन्। कहिलेकाहीं तिनीहरूले ‘सहनशीलता र शिक्षासाथ दोष देखाउने, हप्काउने, अर्ती दिनेसमेत’ गर्छन्। (२ तिमोथी ४:२) यो तिनीहरूले आफ्नो होइन तर परमेश्वरको स्तरअनुसार गर्छन्। प्राचीनहरू आफैले उदाहरण बसालेर हृदय छुने प्रयत्न गर्दा यो साँच्चै कति प्रभावकारी साबित हुन्छ!
१८. विशेषगरि प्राचीनहरूले हृदय छुनु किन प्रभावकारी हुन्छ?
१८ हाम्रो मसीही क्रियाकलापको इन्जिन, “हृदय” हो। त्यसैकारण बाइबल यसो भन्छ: “त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) प्राचीनहरूले मण्डलीका सदस्यहरूको हृदयलाई छोएका छन् भने यहोवाको सेवामा यथाशक्य गर्न तिनीहरू उत्प्रेरित भएको पाउनेछन्। तिनीहरू स्वप्रेरित हुनेछन् र सधैं अरूले उत्प्रेरणा दिएर तिनीहरूलाई घचघचाइरहनु पर्नेछैन। यहोवाले करबलको आज्ञाकारिता चाहनुहुन्न। उहाँ प्रेमले भरिएको हृदयबाट उत्प्रेरित आज्ञाकारिता चाहनुहुन्छ। प्राचीनहरूले आफ्नो बगालका मानिसहरूलाई तर्कशक्ति खेती गर्न मदत दिएर हृदयदेखि उत्प्रेरित सेवा चढाउन प्रोत्साहित गर्नसक्छन्।
“ख्रीष्टको मन” खेती गर्ने
१९, २०. हामीले ख्रीष्टको मन खेती गर्नु किन महत्त्वपूर्ण छ?
१९ माथि उल्लेख गरिएअनुसार परमेश्वरका व्यवस्थाहरू थाह पाउनु मात्र पर्याप्त छैन। भजनरचयिताले यसप्रकार बिन्ती गरे, “मलाई समझ दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्नेछु। मेरो पूरा हृदयले म त्यो पालन गर्नेछु।” (भजन ११९:३४) यहोवाले आफ्नो वचनमा “ख्रीष्टको मन” प्रकट गर्नुभएको छ। (१ कोरिन्थी २:१६) आफ्नो तर्कशक्ति प्रयोग गरेर येशूले यहोवाको सेवा गर्नुभएकोले हाम्रो निम्ति सिद्ध नमुना छाड्नुभयो। उहाँले परमेश्वरको व्यवस्था तथा सिद्धान्तहरू बुझ्नुभयो अनि त्यसलाई त्रुटिरहित ढंगमा प्रयोग गर्नुभयो। उहाँको उदाहरण अध्ययन गरेर हामीले “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ के रहेछ सो. . . बुझ्नालाई बलिया . . . औ ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई” जान्नसक्नेछौं। (एफिसी ३:१७-१९) हो, हामीले येशूबारे बाइबलमा सिक्ने कुराहरू दिमागी ज्ञान मात्र होइनन्; यहोवा वास्तवमा कस्तो हुनुहुन्छ भनेर यसले हामीलाई स्पष्ट चित्र प्रदान गर्छ।—यूहन्ना १४:९, १०.
२० तसर्थ, हामीले परमेश्वरको वचन पढ्दै जाँदा विभिन्न विषयवस्तुमा यहोवाको सोचाइ बुझ्न र सन्तुलित निर्णय गर्नसक्छौं। यसो गर्न प्रयासको खाँचो हुनेछ। हामी परमेश्वरको वचनका उत्सुक विद्यार्थीहरू भएर यहोवाको व्यक्तित्व र स्तरहरूप्रति संवेदनशील हुनैपर्छ। भनौं भने, हामीले नयाँ व्याकरण सिकिरहेका छौं। यद्यपि, त्यसो गर्ने व्यक्तिहरूले “यथोचित [तर्कशक्ति, न्युव] सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल” भन्ने पावलको सल्लाह पालन गरिरहेका हुनेछन्।—रोमी १२:१.
[फुटनोट]
a यसमा पैशाचिक, अश्लील वा शैतानी विषयवस्तु भएका मनोरञ्जनलगायत मसीहीहरूको निम्ति अस्वीकारयोग्य छाडा वा स्वच्छन्द विचारधारहरू प्रवर्धन गर्ने तथाकथित पारिवारिक मनोरञ्जन समावेश हुँदैन।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इंकद्वारा प्रकाशित।
तपाईंले के सिक्नुभयो?
◻ परमेश्वरलाई सेवा चढाउने सन्दर्भमा सा.यु. ३३ मा कस्तो परिवर्तन भयो?
◻ हामी हाम्रो तर्कशक्ति कसरी खेती गर्नसक्छौं?
◻ परमेश्वर र ख्रीष्टका दासहरू बन्न बगालमा भएकाहरूलाई प्राचीनहरूले कसरी मदत दिनसक्छन्?
◻ हामीले “ख्रीष्टको मन” किन खेती गर्नुपर्छ?
[पृष्ठ २३-मा भएको चित्र]
प्राचीनहरूले अरूलाई तिनीहरूको तर्कशक्ति प्रयोग गर्न मदत दिन्छन्