“के आफ्नो मनतनले तिमी मतर्फ छौ?”
“मसँग आऊ र तिमीले परमप्रभुको निम्ति मेरो जोश देख्नेछौ।”—२ राजा १०:१६.
१, २. (क) इस्राएलको धार्मिक अवस्था कसरी झन् झन् खराब हुँदैगयो? (ख) सा.यु.पू. ९०५ मा इस्राएलमा कुन नाटकीय परिवर्तन हुनेवाला थियो?
इस्राएलमा सा.यु.पू. ९०५ तिर ठूलो परिवर्तन हुँदैथियो। झण्डै १०० वर्षअघि सुलेमानको धर्मत्यागको कारण यहोवाले इस्राएल राज्यलाई विभाजित हुन दिनुभएको थियो। (१ राजा ११:९-१३) तत्कालीन दक्षिणी राज्य यहूदामा सुलेमानका छोरा रहबामको शासन थियो भने उत्तरी राज्य इस्राएलमा एप्रैमी राजा यारोबामको शासन थियो। दुःखको कुरा, उत्तरी राज्यको सुरुआत राम्रो भएन। यारोबाम आफ्ना जनता उपासनाका लागि दक्षिणी राज्यमा अवस्थित मन्दिर नजाओस् भन्ने चाहन्थे। किनकि कतै आफ्ना जनताहरूले दाऊदको घरानालाई राज्य फिर्ता गराउने मन गर्ने हुन् कि भन्ने तिनको डर थियो। अतः मानिसहरूलाई आफ्नो मुठीमा राख्न तिनले इस्राएलमा बाछाको उपासना सुरू गरे र यो उपासना उत्तरी राज्यमा निकै वर्षसम्म टिक्यो।—१ राजा १२:२६-३३.
२ ओम्रीको छोरा आहाबले राजपद सँभाल्दा स्थिति झनै बिग्रियो। तिनकी विदेशी पत्नी ईजबेलले बाल उपासना फैलाउनुका साथै यहोवाका अगमवक्ताहरूलाई मारी। अगमवक्ता एलियाले खुलेआम चेताउनी दिंदादिंदै पनि आहाबले आफ्नी पत्नीलाई रोक्न आतुर गरेन। तथापि, सा.यु.पू. ९०५ मा आहाबको मृत्यु भयो र उसको छोरा योरामले राजपाट सँभाले। अब भने पूरै देशलाई शुद्ध पार्ने समय आएको थियो। एलियाका उत्तराधिकारी एलिशाले सेनापति येहूलाई भेटे र तिनलाई इस्राएलको राजा हुन यहोवाले अभिषिक्त गर्नुभएको छ भने। तिनको काम? ईजबेलले बगाएको अगमवक्ताहरूको रगतको बदला लिने आहाबको पापी घराना नाश गर्ने!—२ राजा ९:१-१०.
३, ४. यहोनादाबले कसरी आफू ‘मनतनले येहूतर्फ’ छु भनेर देखाए?
३ परमेश्वरको आज्ञा पालन गर्दै येहूले दुष्ट ईजबेललाई मारे र तत्पश्चात आहाबको घरानालाई नाश गरेर इस्राएललाई शुद्ध पार्न अघि बढे। (२ राजा ९:१५–१०:१४, १७) बाटोमा तिनले समर्थक फेला पारे। “रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्न आइरहेका तिनले देखे। तिनले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैं के आफ्नो मनतनले तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” तब येहूले भने, “यदि तिमी मतर्फ छौ भने मलाई आफ्नो हात देऊ।” उनले तिनलाई आफ्नो हात दिए र येहूले तिनलाई समातेर आफ्नो रथमा राखे। तिनले भने “मसँग आऊ र तिमीले परमप्रभुको निम्ति मेरो जोश देख्नेछौ।”—२ राजा १०:१५, १६.
४ यहोनादाब (वा, योनादाब) इस्राएली थिएनन्। तथापि, तिनी आफ्नो नाउँअनुरूप (जसको अर्थ हो, “यहोवा राजी हुनुहुन्छ,” “यहोवा महान् हुनुहुन्छ,” वा “यहोवा उदार हुनुहुन्छ”) यहोवाका उपासक थिए। (यर्मिया ३५:६) निस्सन्देह, येहूले ‘यहोवाको निम्ति देखाएको जोस’ देखेर तिनी असाध्यै प्रभावित भएका थिए। हामी कसरी भन्नसक्छौं? किनकि यहोनादाबले इस्राएलका अभिषिक्त राजालाई त्यसरी भेट्नु कुनै संयोगको कुरा थिएन। तिनी आफै येहूलाई ‘भेट गर्न गइरहेका थिए।’ र यो पनि त्यस्तो बेला, जब येहूले ईजबेल र आहाबको घरानाका अरू सदस्यहरूलाई मारिसकेका थिए। येहूले आफ्नो रथमा उक्लन आमन्त्रित गर्दा यहोनादाब आफ्नो वरपर भइरहेका घटनाहरूसित अनभिज्ञ थिएनन्। झूटो र साँचो उपासनाको यस द्वन्द्वमा येहू अनि यहोवाको पक्ष लिंदा आफूले के गर्दैछु भनेर यहोनादाबलाई पूरापूर थाह थियो।
आधुनिक समयको येहू तथा यहोनादाब
५. (क) सबै मानवजातिको खातिर चाँडै के-कस्ता परिवर्तनहरू हुनेछन्? (ख) महान् येहू को हुनुहुन्छ र यस पृथ्वीमा कसले उहाँको प्रतिनिधित्व गर्छ?
५ सा.यु.पू. ९०५ मा इस्राएलमा भएजस्तै आज पनि ठूलो परिवर्तन हुनै लागेको छ। झूटो धर्म लगायत शैतानको कुप्रभावका सबै नराम्रा फलहरू हटाएर यस पृथ्वीलाई शुद्ध पार्ने यहोवाको समय आउनै लागेको छ। त्यसोभए, वर्तमान समयको येहू को हुन् त? स्वंय येशू ख्रीष्ट। उहाँलाई भविष्यसूचक ढंगमा यसरी सम्बोधन गरिएको छ: “हे वीर, तिम्रो प्रताप र महामहिमासाथ तिम्रो तरवार आफ्नो कम्मरमा भिर। अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलतासाथ सवारी गर।” (भजन ४५:३, ४) “परमेश्वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” “परमेश्वरका इस्राएल” अर्थात् अभिषिक्त मसीहीहरूले यस पृथ्वीमा येशूको प्रतिनिधित्व गर्छन्। (गलाती ६:१६; प्रकाश १२:१७) येशूका यी अभिषिक्त भाइहरूले १९२२ देखि आउँदै गरेको यहोवाको न्यायदण्डबारे निर्भयताका साथ चेताउनी दिइरहेका छन्।—यशैया ६१:१, २; प्रकाश ८:७–९:२१; १६:२-२१.
६. अभिषिक्त मसीहीहरूलाई समर्थन गर्न जातिजातिबाट को आए र लाक्षणिक तवरमा तिनीहरू कसरी महान् येहूको रथमा उक्लेका छन्?
६ अभिषिक्त जनहरू एक्लै छैनन्। येहूलाई भेट्न यहोनादाब आएजस्तै जातिजातिका थुप्रै मानिसहरू महान् येहू येशूलाई अनि उहाँका पार्थिव प्रतिनिधिहरूले साँचो उपासनाको पक्षमा लिएको अडानलाई समर्थन गर्न ओइरिरहेका छन्। (जकरिया ८:२३) येशूले मेरा “अरू भेड़ा” भन्नुभएका यी जनहरू, वर्तमान युगका यहोनादाब रहेछन् भनेर १९३२ मा चिनिएपछि वर्तमान युगका येहूको ‘रथमा चढ्न’ यिनीहरूलाई आमन्त्रित गरियो। (यूहन्ना १०:१६) तर कसरी? ‘परमेश्वरको आज्ञा पालन गरेर’ अनि अभिषिक्त जनहरूसित मिली ‘येशूको साक्षी दिने काम गरेर।’ आधुनिक समयमा राजा येशूको अधिनमा स्थापित भइसकेको परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु यसमा समावेश छ। (मर्कूस १३:१०) यी “योनादाबहरू” प्रकाश ७:९-१७ मा उल्लिखित “ठूलो भीड़” हुन् भनी १९३५ मा चिनाइयो।
७. आज मसीहीहरूले आफू “मनतनले” येशूतर्फ छन् भनेर कसरी देखाएका छन्?
७ सन् १९३० देखि यता ठूलो भीड र तिनीहरूका अभिषिक्त भाइहरूले नडराई साँचो उपासनाको समर्थन गरेका छन्। पूर्वी तथा पश्चिमी युरोप, सुदूर पूर्व अनि अफ्रिकाका कुनै कुनै मुलुकहरूमा तिनीहरूमध्ये थुप्रैले आफ्नो विश्वासको निम्ति ज्यान दिएका छन्। (लूका ९:२३, २४) अन्यत्र तिनीहरू जेलमा परेका छन्, हूलदंगाको शिकार भएका छन् वा सताइएका छन्। (२ तिमोथी ३:१२) विश्वासको कति राम्रो रेकर्ड! अनि १९९७ सेवा वर्षको रिपोर्ट हेर्दा जेसुकै भइ आइपरे तापनि परमेश्वरको सेवा गर्न तिनीहरू अझै तयार छन् भन्ने कुरा प्रष्ट हुन्छ। तिनीहरू ‘मनतनले अझै पनि’ येशूतर्फ छन्। यो तथ्य सन् १९९७ को दौडान प्रदर्शित भयो। किनकि सो वर्ष ५५,९९,९३१ राज्य प्रकाशकहरूले, जसमध्ये प्रायः सबै “योनादाबहरू” थिए, येशूको साक्षी दिने काममा कुल १,१७,९७,३५,८४१ घण्टा बिताए।
जोसका साथ अझै प्रचार गर्दैछन्
८. यहोवाका साक्षीहरू साँचो उपासनाका लागि आफ्नो जोस कसरी देखाउँछन्?
८ येहू रथ बेतोड कुदाउने व्यक्तिको रूपमा महसुर थिए। आफ्नो काम फत्ते गर्न तिनी कत्तिको जोसिलो थिए भनी यसले देखाउँछ। (२ राजा ९:२०) महान् येहू येशूलाई पनि ‘जोसले खाएको व्यक्तिको’ रूपमा वर्णन गरिएको छ। (भजन ६९:९) अतः स्वाभाविक कुरा हो, साँचो मसीहीहरू पनि आज तिनीहरूको जोसका निम्ति परिचित छन्। मण्डलीभित्र अनि बाहिर दुवै ठाउँमा यिनीहरू रत्तीभर विलम्ब नगरी ‘समय र बेसमय वचन प्रचार गर्छन्।’ (२ तिमोथी ४:२) हाम्रो राज्य सेवकाई-ले यथासम्भव धेरैभन्दा धेरैलाई सहायक अग्रगामीको सेवा गर्ने प्रोत्साहन दिंदा विशेषगरि १९९७ को प्रारम्भतिर तिनीहरूको जोस प्रकट भएको थियो। सबै मुलुकले लक्ष्य निर्धारण गरी यति जना सहायक अग्रगामीहरू चाहियो भनेर घोषणा गरेका थिए। नतिजा? असाध्यै उल्लेखनीय! थुप्रै शाखाहरूले निर्धारित लक्ष्यभन्दा धेरैले सहायक अग्रगामीको काम गरेको रिपोर्ट दिए। चार हजार पुऱ्याउने लक्ष्य राख्ने देश इक्वेडरले मार्चमा ६,९३६ जना सहायक अग्रगामीहरू सेवारत भएको रिपोर्ट दियो। जापानले ती तीन महिनाको दौडान १,०४,२१५ जनाले सहायक अग्रगामीको रिपोर्ट दियो। छ हजार पुऱ्याउने लक्ष्य राख्ने जाम्बियाले मार्चमा ६,४१४; अप्रिलमा ६,५३२ अनि मे महिनामा ७,६९५ जना सहायक अग्रगामीहरू सेवारत भएको रिपोर्ट दियो। गत सेवा वर्ष सारा संसारभरि सहायक र नियमित गरी कुल ११,१०,२५१ अग्रगामीहरू थिए, जुन १९९६ को भन्दा ३४.२ प्रतिशतले बढी छ।—रोमी १०:१०.
९. घर-घरमा प्रचार गर्नुबाहेक यहोवाका साक्षीहरू अरू के के गरेर पनि मानिसहरूलाई सुसमाचार सुनाउँछन्?
९ प्रेरित पावलले एफिससका प्राचीनहरूलाई भनेका थिए: “कसरी तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, . . . म पछि हटिनँ।” (प्रेरित २०:२०, २१) यहोवाका साक्षीहरू आज पावलजस्तै जोसिला भएर घर-घर सुमाचार प्रचार गर्छन्। तथापि, मानिसहरूलाई घरमा भेट्टाउन सजिलो नहुनसक्छ। तसर्थ, “विश्वासी र बुद्धिमान दास” राज्य प्रकाशकहरूलाई व्यापार हुने ठाउँ, सडक, समुद्री किनारा अनि सार्वजनिक पार्कहरूहुँदो मानिसहरूलाई भेट्न प्रोत्साहित गर्छन्। मतलब, जहाँ जहाँ मानिसहरू भेटिन्छन्, त्यहाँ त्यहाँ जाने। (मत्ती २४:४५-४७) यस प्रोत्साहनअनुरूप चलेकोले अति राम्रा नतिजाहरू हासिल भएका छन्।
१०, ११. घरमा प्रायः नभेटिने जिज्ञासुहरूलाई प्रचार गर्न दुई मुलुकका प्रकाशकहरूले कुन राम्रो पाइला चाले?
१० डेनमार्कको कोपनहेगनमा प्रकाशकहरूको सानो समूहले रेल स्टेसनबाहिर सडकमा साक्षी दिन थालेका छन्। जनवरीदेखि जूनसम्ममा तिनीहरूले ४,७३३ वटा पत्रिका वितरण गरे, थुप्रै मानिसहरूसित कुरा गर्नसके र थुप्रै पुनःभेटहरू पनि गरे। डेनमार्कका थुप्रै प्रकाशकहरूले पसल-पसलमा गएर पत्रिका रुट पनि सुरु गर्नसके। एउटा सानो शहरमा हरेक शुक्रबार ठूलो बजार लाग्ने हुँदा हजारौं मानिसहरू आउँछन्। अतः मौकाको फाइदा उठाउन त्यही शहरको मण्डलीले नियमित बजार साक्षीकार्यको प्रबन्ध मिलाएको छ। त्यस्तै एउटा अर्को इलाकामा शिक्षकहरूका लागि उपयुक्त हुने खालका प्रकाशनहरू लिएर प्रकाशकहरू स्कूल-स्कूलमा जान्छन्।
११ हवाइमा पनि घरमा भेट्न नसकिने व्यक्तिहरूलाई कहाँ हुन्छ भेट्ने प्रयत्नहरू गरिएका छन्। सार्वजनिक स्थल (सडक, पार्क, पार्किङ क्षेत्र, बस स्टप), व्यापारिक इलाका, बजार, विमानस्थल, सार्वजनिक सवारी साधन (बसमा प्रचार गर्ने), कलेज क्याम्पसजस्ता ठाउँहरूलगायत टेलिफोन मार्फत साक्षी दिने कामलाई यस मुलुकका मण्डलीहरूले विशेष इलाका बनाएका छन्। हरेक इलाकामा साक्षीहरूको संख्या ठिक्कको होस् भन्नका लागि मण्डलीहरू राम्ररी ध्यान पुऱ्याउँछन्। यसको अतिरिक्त मण्डलीहरू आ-आफ्ना प्रकाशकहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न राम्ररी प्रशिक्षण पनि दिन्छन्। अन्य मुलुकहरूमा पनि यसरी नै सुव्यवस्थित ढंगमा प्रचार गर्ने प्रयत्न गरिएका छन्। फलतः जिज्ञासु व्यक्तिहरू भेटिएका छन्, जसलाई घर-घरको सेवकाईको दौडान सायद कहिल्यै भेटिने थिएन होला।
अटल बस्ने
१२, १३. (क) शैतानले १९९७ मा यहोवाका साक्षीहरूको विरुद्ध के चाल चल्यो? (ख) एउटा मुलुकमा झूटो हल्लाखल्लाको उल्टो के असर पऱ्यो?
१२ यहोवाका साक्षीहरूले १९९७ को दौडान निकै मुलुकहरूमा तिनीहरू विरुद्ध कानुनी कारवाही गर्ने उद्देश्यले प्रचार प्रसार गरिएका झूटो अनि निराधार हल्लाहरूको सामना गर्नुपऱ्यो। तर साक्षीहरू रत्तीभर डगेनन्! (भजन ११२:७, ८) तिनीहरूले भजनरचयिताको यो प्रार्थना सम्झे: “अहंकारीहरूले मेरो विरुद्धमा झूटा कुरा कथेका छन्। मेरो पूरा हृदयले म तपाईंका आदेशहरू पालन गर्नेछु।” (भजन ११९:६९) वास्तवमा त्यस्तो झूटो प्रचार-प्रसार, साँचो मसीहीहरू सताइन्छन् भनी येशूले गर्नुभएको अगमवाणीको प्रमाण हो। (मत्ती २४:९) अनि कहिलेकाहीं यस्तो झूटो हल्लाखल्लाले हानिको साटो फाइदा पनि गरेको छ। उदाहरणका लागि, बेल्जियममा एक जना मानिसले लोकप्रिय दैनिक पत्रिकामा यहोवाका साक्षीहरूको बदनाम गर्न छापिएको लेख पढेछन्। लेखमा निन्दाजनक टिप्पणीहरू गरिएको देखेर तिनी छक्क परे र लगत्तै अर्को आइतबार राज्यभवनमा उपस्थित भए। तिनले साक्षीहरूसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाए र चाँडचाँडो प्रगति गर्न थाले। साक्षीहरूसित अध्ययन गर्नुअघि यो मानिस गिरोहका सदस्य थिए। बाइबल अध्ययन गरेपछि तिनले आफ्नो जीवनशैली सुधार्ने मदत पाए र वरपरका मानिसहरू तिनमा भएको परिवर्तन देखेर छक्क परे। साक्षीहरूको बदनाम गर्न खोज्ने त्यो लेखकले यस्तो नतिजा निस्केला भनेर पक्कै पनि सोचेको थिएन होला!
१३ बेल्जियममा साक्षीहरू विरुद्ध त्यस्तै चालबाजी प्रचार-प्रसार गरिएकोमा केही निष्कपट मानिसहरूले साक्षीहरूको पक्षमा बोलेका छन्। तिनीहरूमध्ये एक भूतपूर्व प्रधानमन्त्री पनि हुन् जसले यहोवाका साक्षीहरूले गरेको कामदेखि आफू प्रभावित भएको मानिलिए। एक जना सांसदले चाहिं यो लेखे: “[यहोवाका साक्षीहरू] विरुद्ध बेलाबेला गरिएका अपमानजनक टिप्पणीहरूजस्तो यिनीहरू मुलुकको लागि खतरा हुन् जस्तो मलाई पटक्कै लाग्दैन। तिनीहरू शान्तिप्रिय, विवेकी अनि अख्तियारवालाहरूको आदर गर्ने नागरिकहरू हुन्।” साँच्चै, प्रेरित पत्रुसका यी शब्दहरू कत्ति उत्तम छन्: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।”—१ पत्रुस २:१२.
उल्लेखनीय स्मरणार्थ उत्सव
१४. सेवा वर्ष १९९७ मा स्मरणार्थ उपस्थितिसित सम्बन्धित केही उत्साहजनक रिपोर्टहरू के के हुन्?
१४ येशूको साक्षी दिने व्यक्तिहरूले उहाँको मृत्युको स्मरणार्थलाई वर्षको सबैभन्दा उल्लेखनीय दिन सम्झनु सुहाउँदो कुरा हो। मार्च २३, १९९७ मा १,४३,२२,२२६ जना स्मरणार्थ उत्सव मनाउन भेला भएका थिए। यो संख्या १९९६ मा भन्दा १४,००,००० ले धेरै थियो! (लूका २२:१४-२०) थुप्रै मुलुकहरूमा राज्य प्रकाशकहरूभन्दा निकै गुना धेरै व्यक्तिहरू स्मरणार्थ उत्सवमा भेला भएका थिए। भविष्यमा वृद्धि हुनसक्ने सम्भावना यसले देखाउँछ। उदाहरणका लागि, हाइटीमा १९९७ को दौडान प्रकाशकहरूको शिखर संख्या १०,६२१ पुग्यो भने ६७,२५९ जना स्मरणार्थ उत्सवमा भेला भए। अरू कति मुलुकहरूमा यस्तैगरि प्रकाशकहरूभन्दा धेरै गुना मानिसहरू स्मरणार्थ उत्सवमा भेला भए, पृष्ठ १८ देखि २१ मा दिइएको वार्षिक रिपोर्ट हेरेर पत्ता लगाउन सक्नुहुन्छ।
१५. केही मुलुकका हाम्रा भाइहरूले स्मारणार्थ उत्सव मनाउन कस्ता ठूला समस्याहरू समेत पार गरे?
१५ गत वर्ष कसै कसैलाई स्मरणार्थ उत्सवमा उपस्थित हुन त्यति सजिलो भएन। जनताहरू सरकार विरुद्ध उठेकाले अल्बेनियामा निकै अशान्ति मच्चिरहेको थियो। फलतः बेलुकी ७ बजेपछि कर्फ्यु लगाइयो। मुलुकभरि छरिएका ११५ वटा स-साना समूहहरूले साँझ पउने छ बजे स्मरणार्थ उत्सव सुरु गरे। साँझ ६:०८ मा घाम डुब्यो र नीसान १४ पनि सुरु भयो। लगभग सवा छ बजे प्रतीकहरू घुमाइयो र प्रायजसो ठाउँहरूमा साढे छ बजे अन्तिम प्रार्थना सिध्याएर कर्फ्यु सुरु हुनु अगावै मानिसहरू घरतिर दौडे। यस्तो परिस्थितिको बावजूद ३,१५४ जना उत्सवमा भेला भए। जबकि यस मुलुकमा प्रकाशकहरू १,०९० मात्र छन्। एउटा अफ्रिकी मुलुकमा त्यस्तै अशान्ति मच्चिएको हुँदा, राज्यभवनमा भेला हुन असम्भव भयो। अतः स-सानो समूहहरूमा उत्सव मनाउने प्रबन्ध मिलाउन दुई जना प्राचीनहरूले अर्को प्राचीनको घरमा भेला हुने निर्णय गरे। यी तेस्रो प्राचीनको घरमा पुग्न ती दुई प्राचीनहरूले ढल पार गर्नुपर्थ्यो। तथापि, त्यस इलाकामा लडाइँ चलिरहेको हुँदा वरपर लुकेर बसेका बन्दुकधारीहरू ढल पार गर्न खोज्ने जो कसैलाई पनि गोली हान्थे। ती दुई प्राचीनहरूमध्ये एक जना त सजिलै उम्के। तर अर्को चाहिं पार गरिरहेको बेला, आचनक गोली हानेको आवाज सुनियो। आवाज सुन्नेबित्तिकै यो प्राचीन भुइँतिर हाम्फाले र टाउको माथिमाथि सुइँइँ गरेर हुइँकिरहेको गोलीहरूबीच घिस्रिंदै ढल पार गरे। तीन जनै प्राचीनहरू भेला हुन सफल भए र मण्डलीको आवश्यकता पूरा गरे।
“हरेक जातिबाटको र सबै कुलको . . . र भाषा भाषाहरूको”
१६. विश्वासी र बुद्धिमान् दासले कसरी सानातिना कुलहरूबीच समेत सुसमाचार फैलाउने प्रबन्ध मिलाएका छन्?
१६ प्रेरित यूहन्नाले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” देखा पर्नेछ भनेका थिए। (प्रकाश ७:९) तसर्थ, परिचालक निकायले दुर्गम इलाकामा बस्ने कुल अनि सानातिना जातिहरूको भाषालगायत धेरैभन्दा धेरै भाषाहरूमा साहित्य उपलब्ध गराउने प्रबन्ध गर्दैछन्। उदाहरणका लागि, मोजाम्बिकमा शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चा थप पाँच भाषाहरूमा विमोचन गरियो। निकारागुवामा पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउनुहोस्! भन्ने पुस्तिका मिसकिटो भाषामा उपलब्ध गराइयो। यो पुस्तिका वाच टावर सोसाइटीले मिसकिटो भाषामा प्रकाशित गरेको पहिलो प्रकाशन हो। मिसकिटोका थुप्रै रैथानेहरू आफ्नै भाषामा पुस्तिका पढ्न पाउँदा असाध्यै रमाए। सोसाइटीले १९९७ को दौडान थप २५ भाषाहरूमा साहित्यहरू प्रकाशित गर्ने अनुमति दिनुका साथै १ अरब भन्दा धेरै पत्रिका छापे।
१७. कोरियामा कुन भाषा बोल्ने समूहलाई मदत दिइयो र यस वर्गमा पर्ने मानिसहरूलाई भिडियो टेपले कसरी ठूलो मदत गरेको छ?
१७ कोरियामा भिन्नै भाषा बोल्ने अर्को एउटा समूहलाई मदत गरियो। गत वर्ष, १९९७ मा कोरियाली सांकेतिक भाषामा पहिलो अधिवेशन सम्पन्न भयो। कोरियामा सांकेतिक भाषा बोल्ने १५ वटा मण्डली अनि ५४३ प्रकाशकहरू छन्। अधिवेशनमा १,१७४ जना उपस्थित भए र २१ जनाले बप्तिस्मा लिए। सजिलै सुन्न र पढ्न नसक्ने बहिराहरूका लागि विभिन्न प्रकाशनहरूको भिडियो टेप १३ भाषाहरूमा तयार पारिंदैछन्। यसप्रकार बहिराहरूले पनि “पढ्न” र सुसमाचार अध्ययन समेत गर्न पाइरहेका छन् र यसको राम्रो नतिजा प्राप्त भइरहेको छ। संयुक्त राज्यमा बहिरो व्यक्तिलाई बप्तिस्मा लिने हदसम्म प्रगति गराउन पाँच वर्ष लाग्थ्यो। तर अहिले अमेरिकी सांकेतिक भाषामा निकै भिडियो प्रकाशनहरू उपलब्ध भएको हुँदा केही बहिराहरूले वर्षदिनभित्रै बप्तिस्मा लिन सम्भव भएको छ।
‘रथमै बसिरहने’
१८. यहोनादाबसँग भेटेपछि येहू के गर्न अघि बढे?
१८ सा.यु.पू. ९०५ मा यहोनादाब रथमा उक्लेपछि येहू झूटो धर्म नाश गर्न अघि बढे। तिनले सबै बाल उपासकहरूलाई यस्तो समाचार पठाए: “बालको निम्ति एउटा पवित्र उत्सव मनाउनुपर्छ।” त्यसपछि एक जनै बाल उपासक नउम्कोस् भन्नका लागि तिनले देशका कुना कुनासम्म समाचार पठाए। झूटो देवताको ठूलो मन्दिरमा भीडका भीड मानिसहरू भेला हुँदा कतै तिनीहरूमाझ यहोवाका उपासक पनि परे कि भनेर तिनले जाँचे। सबैकुरा जाँचेपछि अन्तमा येहू र तिनका सिपाहीहरूले बाल उपासकहरूलाई मारे। “यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।”—२ राजा १०:२०-२८.
१९. मानवजातिले अब चाँडै सामना गर्ने कुरालाई ध्यानमा राख्दा कुन जोस हामीले देखाउनु पर्ने हो र कुन चाहिं काममा हामी मनतनले लागिरहनुपर्ने हो?
१९ आज, सबै झूटा धर्महरूको अन्तिम न्याय हुने दिन नजिकै छ। अतः स्वर्गदूतको निगरानीमा मसीहीहरूले सबै मानवजातिलाई सुसमाचार सुनाएर परमेश्वरको भय मान्न र झूटा धर्मबाट अलग हुन प्रोत्साहित गरिरहेका छन्। (प्रकाश १४:६-८; १८:२, ४) यहोवाका गद्दिनसिन राजा येशू ख्रीष्टको अधीनमा सञ्चालन हुने ईश्वरीय राज्यको अख्तियार स्वीकार्न नम्र जनहरूलाई प्रोत्साहित गरिन्छ। (प्रकाश १२:१०) यस्तो रोमाञ्चकारी समयमा बाँचिरहेको हुँदा हामी जोसिलो भएर साँचो उपासनाको पक्षमा अटल भएर बस्नैपर्छ।
२०. सेवा वर्ष १९९८ को दौडान तपाईं के गर्ने पक्का निर्णय गर्नुहुनेछ?
२० एकपटक ठूलो दबाब आइपर्दा राजा दाऊदले यसरी प्रार्थना गरेका थिए: “मेरो मन दृढ़ छ, हे परमेश्वर, मेरो मन दृढ़ छ। म गाउनेछु, म स्तुति गाउनेछु। हे परमप्रभु, जाति जातिहरूका बीचमा म तपाईंमा धन्यवाद चढ़ाउनेछु। अन्यजातिहरूका बीचमा म तपाईंको स्तुति गाउनेछु।” (भजन ५७:७, ९) हामी पनि तिनीजस्तै अटल रहौं। सेवा वर्ष १९९७ को दौडान विभिन्न कठिनाइहरूको बावजूद चर्को स्वरले यहोवा परमेश्वरको ठूलो प्रशंसा गराइयो। यस सेवा वर्षमा पनि हामी त्यसरी नै, अझ हुन्छ भनेर अझ चर्को स्वरले उहाँको प्रशंसा गाऔं। अनि चाहे शैतानले हामीलाई हतोत्साहित पार्न वा विरोध गर्न जमिन अकास एक किन नगरोस् हामी यहोवाको प्रशंसा गरिरहौं। यसरी हामी मनतनले महान येहू येशू ख्रीष्टतर्फ छौं भनेर देखाउनेछौं र भित्री हृदयदेखि यो प्रेरित आग्रहलाई स्वीकार्नेछौं: “हे धर्मात्मा हो, परमप्रभुमा मग्न होओ र रमाओ। र सोझो हृदय भएका हो, तिमीहरू सबै आनन्दसाथ कराओ।”—भजन ३२:११.
के तपाईं बताउन सक्नुहुन्छ?
◻ सा.यु.पू. ९०५ मा इस्राएलमा के-कस्ता परिवर्तन भए?
◻ आधुनिक समयको येहू को हुनुहुन्छ र “ठूलो भीड़[ले]” कसरी आफू “मनतनले” उहाँतर्फ छु भनेर देखाएका छन्?
◻ वार्षिक रिपोर्टका कुन तथ्यांकहरूले यहोवाका साक्षीहरूले सेवा वर्ष १९९७ मा देखाएको जोस प्रकट गर्छ?
◻ शैतानले हाम्रो विरुद्ध आकाश जमिन एक गर्न खोजे तापनि हामी चाहिं सेवा वर्ष १९९८ मा कुन जोस देखाइरहनेछौं?
[पृष्ठ १८-२१-मा भएको तालिका]
विश्वव्यापी यहोवाका साक्षीहरूको १९९७ सेवा वर्ष रिपोर्ट
(छापिएको प्रकाशन हेर्नुहोस्)
[पृष्ठ १५-मा भएको चित्र]
स्मरणार्थ उत्सवको उल्लेखनीय उपस्थिति संख्याले भविष्यमा अझ वृद्धि हुनसक्ने राम्रो सम्भावना देखाउँछ
[पृष्ठ १६-मा भएको चित्र]
यहोनादाबले येहूलाई समर्थन गरेजस्तै, आज “ठूलो भीड़” महान येहू येशू ख्रीष्ट अनि उहाँका अभिषिक्त भाइहरूलाई समर्थन गर्छन्