पाठ ५५
तपाईँको स्थानीय मण्डलीलाई सहयोग गर्नुहोस्
विश्वभरि हजारौँ मण्डलीमा लाखौँ मानिस यहोवाको उपासना गर्दै छन्। तिनीहरू आफूले पाएको डोऱ्याइ र निर्देशनको लागि कृतज्ञ छन् र मण्डलीलाई विभिन्न तरिकामा खुसीसाथ सहयोग गर्छन्। के तपाईँ पनि आफ्नो मण्डलीप्रति यस्तै दृष्टिकोण राख्नुहुन्छ?
१. तपाईँले मण्डलीलाई सहयोग गर्न आफ्नो समय र शक्ति प्रयोग गर्न सक्ने केही तरिका के-के हुन्?
हामी सबैले मण्डलीलाई कुनै न कुनै तरिकामा सघाउन सक्छौँ। उदाहरणको लागि, के तपाईँको मण्डलीमा कोही वृद्ध वा अशक्त छन्? के तपाईँ तिनलाई सभामा उपस्थित हुन मदत गर्न सक्नुहुन्छ? अथवा तपाईँले तिनीहरूलाई अरू व्यावहारिक तरिकामा, जस्तै: किनमेल गरिदिएर वा घरायसी काम गरिदिएर मदत गर्न सक्नुहुन्छ कि? (याकुब १:२७ पढ्नुहोस्।) हामी सभाभवनको सरसफाइ र मर्मतसम्भारमा पनि सघाउन सक्छौँ। हामीलाई यस्ता कामहरू गर्न कसैले कर गर्दैन। हामी परमेश्वर र भाइहरूप्रतिको प्रेमले गर्दा यसो गर्न “राजीखुसीले तयार” हुन्छौँ।—भजन ११०:३.
बप्तिस्मा गरेका ख्रिष्टियनहरूले अरू तरिकामा पनि मण्डलीलाई सहयोग गर्न सक्छन्। आध्यात्मिक योग्यता हासिल गरेका भाइहरूले सहायक सेवकको रूपमा र पछि एल्डरको रूपमा सेवा गर्न सक्छन्। भाइहरू र बहिनीहरू दुवैले अग्रगामी सेवा गरेर सुसमाचार सुनाउने काममा जोडतोडले भाग लिन सक्छन्। केही साक्षीले उपासनास्थल निर्माण गर्ने काममा सघाउन सक्छन् अथवा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेर विभिन्न तरिकामा मदत गर्न सक्छन्।
२. हामी कसरी आफ्नो भौतिक सरसम्पत्ति प्रयोग गरेर मण्डलीलाई सहयोग गर्न सक्छौँ?
हामी ‘आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर्न’ सक्छौँ। (हितोपदेश ३:९) हामी स्थानीय मण्डलीलाई सहयोग गर्न र सुसमाचार सुनाउने विश्वव्यापी कार्यलाई टेवा पुऱ्याउन आफ्नो रुपैयाँ-पैसा र अरू स्रोतसाधन अनुदान दिन पाउनुलाई सुअवसर ठान्छौँ। (२ कोरिन्थी ९:७ पढ्नुहोस्।) हामीले दिएको अनुदान राहतकार्यमा पनि प्रयोग हुन्छ। धेरैले अनुदान दिन नियमित रूपमा ‘केही छुट्ट्याएर राख्छन्।’ (१ कोरिन्थी १६:२ पढ्नुहोस्।) हामी उपासनास्थलमा भएका अनुदान बाकसहरूमा अनुदान खसाल्न सक्छौँ। साथै donate.jw.org मार्फत अनुदान दिन सक्छौँ। यहोवाले हामीलाई आफ्नो भौतिक स्रोतसाधन प्रयोग गरेर उहाँप्रतिको प्रेम देखाउने सुअवसर दिनुभएको छ।
अझ खोतल्नुहोस्
तपाईँले मण्डलीलाई सहयोग गर्न सक्ने केही तरिका विचार गर्नुहोस्।
३. हामी आफ्नो भौतिक स्रोतसाधन प्रयोग गर्न सक्छौँ
यहोवा र येसु खुसीसाथ दिनेलाई प्रेम गर्नुहुन्छ। उदाहरणको लागि, येसुले गरिब विधवा र तिनले अनुदान दिन गरेको प्रयास याद गर्नुभयो। लुका २१:१-४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के हामीले यहोवालाई खुसी पार्न धेरै रुपैयाँ-पैसा अनुदान दिनुपर्छ?
हामीले राजीखुसीले अनुदान दिँदा यहोवा र येसुलाई कस्तो लाग्छ?
हामीले दिएको अनुदान कसरी प्रयोग गरिन्छ भनेर थाह पाउन भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
हामीले दिएको अनुदान कसरी विश्वभरिका मण्डलीलाई टेवा पुऱ्याउन प्रयोग गरिन्छ?
४. हामी स्वयम्सेवा गर्न सक्छौँ
बाइबलकालीन समयमा यहोवाका उपासकहरूले उपासनास्थलहरूको स्याहारसम्भारमा जोसका साथ भाग लिए। तर यसमा रुपैयाँ-पैसा दिनु मात्र समावेश थिएन। दोस्रो इतिहास ३४:९-११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाको भवन अर्थात् उपासनास्थलको मर्मत गर्न हरेक इस्राएलीले कसरी सहयोग गरे?
यहोवाका साक्षीहरूले प्राचीन समयको यस उदाहरणको कसरी अनुकरण गर्छन् भनेर थाह पाउन भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
सभाभवनलाई सफा, चिटिक्क र दुरुस्त राख्नु किन जरुरी छ?
तपाईँ कुन-कुन तरिकामा मदत गर्न सक्नुहुन्छ?
५. भाइहरू थप जिम्मेवारी पाउन अघि बढ्न सक्छन्
बाइबलले ख्रिष्टियन पुरुषहरूलाई अघि बढेर मण्डलीलाई सक्दो सहयोग गर्न प्रोत्साहन दिएको छ। एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका रायन कसरी मण्डलीलाई अझ धेरै सहयोग गर्न अघि बढे?
बाइबलले सहायक सेवक र एल्डरको रूपमा सेवा गर्ने भाइहरूमा हुनुपर्ने योग्यताबारे बताउँछ। पहिलो तिमोथि ३:१-१३ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
कसै-कसैले सोध्लान्: “यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
मण्डलीलाई सहयोग गर्न हामीले आफ्नो समय, शक्ति र भौतिक स्रोतसाधन प्रयोग गर्दा यहोवा त्यसको असाध्यै कदर गर्नुहुन्छ।
तपाईँले के सिक्नुभयो?
हामी मण्डलीलाई सहयोग गर्न कसरी आफ्नो समय र शक्ति प्रयोग गर्न सक्छौँ?
हामी मण्डलीलाई सहयोग गर्न कसरी आफ्नो भौतिक स्रोतसाधन प्रयोग गर्न सक्छौँ?
तपाईँ कुन-कुन तरिकामा मदत गर्न चाहनुहुन्छ?
अझ धेरै जान्नुहोस्
अहिले यहोवा आफ्ना उपासकहरूबाट किन दशांश माग गर्नुहुन्न, पढ्नुहोस्।
बाइबलले बप्तिस्मा गरेका भाइहरूले पूरा गर्नुपर्ने केही जिम्मेवारीबारे बताएको छ। तर ती जिम्मेवारी बप्तिस्मा गरेकी कुनै बहिनीले पूरा गर्नुपऱ्यो भने नि?
सङ्गी उपासकहरूसम्म प्रकाशनहरू पुऱ्याउन निकै मेहनत गर्ने आत्मत्यागी र साहसी भाइहरूलाई भेट्नुहोस्।
हाम्रो सङ्गठनको खर्च बेहोरिने तरिका किन अरू धार्मिक सङ्गठनको भन्दा एकदमै फरक छ, थाह पाउनुहोस्।