यहोवामा आनन्दित हुनुहोस्!
“प्रभुमा सधैं आनन्द गर। म फेरि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४.
आजकल, आनन्दित हुने कारण असाध्यै कम देखिन सक्छ। माटोबाट बनिएका सबै मानिसहरू र साँचो मसीहीहरूले समेत बेरोजगारी, अस्वस्थता, प्रिय जनको मृत्यु, व्यक्तित्व भिन्नताका समस्याहरू अथवा विश्वास भिन्न हुनाले परिवारका सदस्यहरू वा पहिलेका साथीहरूबाट विरोध लगायत दुःखित तुल्याउने परिस्थितिहरू सामना गर्छन्। उसोभए “सधैं आनन्द गर” भन्ने पावलको सल्लाहलाई हामीले कसरी बुझ्ने? हामी प्रत्येकले सामना गर्नुपर्ने अप्रिय र कठिन परिस्थितिहरूलाई ध्यानमा राख्दा के त्यो सम्भव छ र? यी शब्दहरूको प्रसङ्ग छलफल गर्नाले यो विषय स्पष्टसित बुझ्न मदत मिल्नेछ।
आनन्दित होऊ—किन र कसरी?
२ “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।” यी शब्दहरूले झन्डै २४ शताब्दीअघि इस्राएलीहरूलाई सम्बोधन गरिएका शब्दहरू स्मरण गराउन सक्छ: “परमप्रभुको आनन्दनै तिमीहरूको बल हो।” मोफट को अनुवादले यसो भन्छ: “सनातनमा आनन्दित हुनु तिमीहरूको तागत हो।” (नहेम्याह ८:१०) आनन्दले बल प्रदान गर्छ र त्यो सान्त्वना अनि सुरक्षाको गढजस्तै हो। सहने सम्बन्धमा सिद्ध पुरुष येशूलाई समेत आनन्दले निकै मदत गऱ्यो। “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) स्पष्टतः, कठिनाइ आइपर्दा आनन्दित हुन सक्नु मुक्तिको लागि अत्यावश्यक छ।
३ प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “जति असल असल थोक परमप्रभु परमेश्वरले तिमीहरूलाई र तिमीहरूको परिवारलाई दिनुभएको छ तिनका निम्ति तिमीहरू, लेवी र तिमीहरूसित बस्ने परदेशीले आनन्द मनाउनू।” आनन्दित भएर यहोवालाई सेवा गर्न नसक्नुको परिणाम गम्भीर हुनेथियो। “यी सराप तिमीहरूमाथि आइपर्नेछन्। . . . [यदि] तिमीहरूलाई सबै चीज प्रशस्त भएकोले खुशीसँग प्रशन्नचित्तले आफ्ना परमेश्वरको सेवा गरेनौ [भने]।”—व्यवस्था २६:११; २८:४५-४७.
४ तसर्थ, आजका शेष अभिषिक्त जन र तिनीहरूका सहचर “अरू भेडा” आनन्दित हुनु अपरिहार्य छ! (यूहन्ना १०:१६) आफ्नो सल्लाहलाई दोहोऱ्याउँदै “फेरि भन्छु, आनन्द गर” भनेर पावलले आग्रह गर्दा हाम्रो लागि यहोवाले गरिदिनुभएका सबै असल चीजहरूको लागि आनन्दित हुनुपर्ने महत्त्वमाथि जोड दिइरहेका थिए। के हामी आनन्दित हुन्छौं? अथवा हामी आफ्नो दिनचर्यामा व्यस्त भएर आनन्दित हुनुपर्ने कारणहरू कहिलेकाहीं बिर्सन्छौं? समस्याहरूको थुप्रोले के राज्य र त्यसका आशिष्हरू धमिल्याइदिन्छ? के हामी परमेश्वरको व्यवस्थाप्रति अनाज्ञाकारिता, ईश्वरीय सिद्धान्तहरूको इन्कार अथवा मसीही जिम्मेवारीहरूप्रति बेवास्ता जस्ता अन्य कुराहरूले हाम्रो आनन्द हरण हुन दिन्छौं?
५ “तिमीहरूको सहनशीलता [व्यावहारिकता, न्यु व.] सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।” (फिलिप्पी ४:५) अव्यावहारिक मानिस सन्तुलित हुँदैन। आफ्नो शरीरलाई अनावश्यक तनाव र चिन्ताको अधीनमा पारेर उसले आफ्नो स्वास्थ्यमा राम्ररी ध्यान नपुऱ्याइरहेको हुनसक्छ। शायद उसले आफ्ना सीमाहरू स्वीकार्न र त्यसअनुसार जीवन बिताउन सिकेको छैन होला। उसले अति उच्च लक्ष्यहरू राखेर जुनसुकै अवस्थामा त्यो प्राप्त गर्न खोज्न सक्छ। अथवा ढिलासुस्ती गर्न वा अल्छी हुन आफ्ना सीमाहरूलाई बहानाको रूपमा प्रयोग गर्न सक्छ। सन्तुलनको कमी र अव्यावहारिक हुनाले उसलाई आनन्दित हुन गाह्रो हुन्छ।
६ विरोधीहरूले हठधर्मी ठाने तापनि हाम्रा सङ्गी मसीहीहरूले हाम्रो व्यावहारिकता सधैं देख्न सक्नुपर्छ। हामीले आफू र अरूबाट सिद्धता माग गरेनौं भने हामी सन्तुलित छौं भनेर अरूले देख्न सक्छन्। सबैभन्दा मुख्य कुरा, परमेश्वरको वचनले माग गरेभन्दा बढी बोझ अरूलाई बोकाउनदेखि हामी जोगिनुपर्छ। प्रेरित पावलले यसो भने: “तिमीहरूका विश्वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं।” (२ कोरिन्थी १:२४) सहकर्मीहरूले दिने मदतकारी सुझावहरूले हाम्रो आनन्द बढाउँछ भने अख्तियार भएकाहरूले लागू गर्ने कडा नियमहरूले आनन्द खोस्न पनि सक्छ भनी भूतपूर्व फरिसी हुनाकारण पावललाई राम्ररी थाहा थियो। “प्रभु नजिकै हुनुहुन्छ” भन्ने तथ्यले ‘अर्कोको दासलाई दोष नलगाउन र त्यो आफ्नै मालिकको निम्ति खड़ा हुन्छ’ भनेर व्यावहारिक मानिसलाई स्मरण गराउनु पर्ने हो।—रोमी १४:४.
७ “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” (फिलिप्पी ४:६) पावलले वर्णन गरेको “आखिरी दिनमा डरलाग्दो समय” अहिले हामी अनुभव गरिरहेका छौं। (२ तिमोथी ३:१-५) त्यसकारण समस्याहरू आउनेछन् भनी मसीहीहरू तयार हुनुपर्छ। निष्ठावान मसीही कहिलकाहीं खिन्न अथवा निराश हुन सक्ने सम्भाव्यतालाई “सधैं आनन्द गर” भन्ने पावलका शब्दहरूले नकार्न खोजेको होइन। पावलकै सन्दर्भमा व्यावहारिक भएर उनले यो मानी लिए: “हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं। अन्योलमा परेका छौं, तापनि निराश भएका छैनौं। खेदिएका छौं, तापनि त्यागिएका छैनौं। पिटिएका छौं, तापनि नष्ट भएका छैनौं।” (२ कोरिन्थी ४:८, ९) तर, मसीहीको आनन्दले क्षणिक चिन्ता र दुःखलाई कम गर्छ अनि अन्तमा पराजित गर्छ। आनन्दित हुने धेरै कारणहरू मनमा राख्दै यसले अघि बढिरहन चाहिने आवश्यक बल प्रदान गर्छ।
८ जस्तोसुकै समस्याहरू खडा भए तापनि आनन्दित मसीहीले नम्रतासाथ प्रार्थनाद्वारा यहोवासित मदत माग्छ। उसले आफूलाई अचाक्ली चिन्ताको शिकार हुन दिंदैन। व्यावहारिक भएर समस्या सुल्झाउन यथासक्दो गरिसकेपछि उसले यो निमन्त्रणालाई स्वीकार्दै नतिजा यहोवाको हातमा सुम्पिदिन्छ: “तेरो भारी परमप्रभुमा राख, उहाँले तँलाई सम्हाल्नुहुनेछ।” त्यसको साथसाथै उहाँको सारा भलाइको लागि त्यस मसीहीले यहोवालाई निरन्तर धन्यवाद दिइरहन्छ।—भजनसंग्रह ५५:२२; मत्ती ६:२५-३४ पनि हेर्नुहोस्।
९ “परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:७) बाइबलका सच्चाइहरूले मसीहीको मनलाई झूटबाट मुक्त गर्छ र स्वस्थ सोचाइपद्धतिहरू विकास गर्न मदत दिन्छ। (२ तिमोथी १:१३) यसप्रकार उसले अरूसितको सम्बन्ध बिगार्ने गलत अथवा मूर्ख आचरणबाट अलग रहने मदत पाउँछ। अन्याय र दुष्टताको कारण दिक्क हुनुको सट्टा राज्यद्वारा मानवजातिको समस्या समाधान होस् भनेर यहोवामाथि भरोसा राख्छ। त्यस्तो मनको शान्तिले उसको हृदयलाई जोगाउँछ, उसका मनोवृत्तिहरूलाई चोखो राख्छ र धार्मिकताको मार्गमा उसको सोचाइलाई डोऱ्याउँछ। फलस्वरूप, यस भद्रगोल संसारले ल्याउने समस्याहरू र दबाबहरूको बावजूद चोखो मनोवृत्ति र सही सोचाइले आनन्दित हुने थुप्रै कारणहरू प्रदान गर्छ।
१० “अन्त्यमा ए भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) कुनै पनि मसीहीले खराब कुराहरूबारे बोल्न र सोच्न आनन्द महसुस गर्दैन। यसको अर्थ उसले यस संसारले प्रस्तुत गर्ने धेरैजसो मनोरञ्जनलाई स्वतः त्याग्नुपर्ने हुन्छ। आफ्नो मन अनि हृदय झूट, बेमतलबका ठट्टा, अनि अधार्मिक, अनैतिक, दुर्गुण, निन्दनीय र घृणित कुराहरूले भरेर कसैले पनि मसीही आनन्दलाई कायम राख्न सक्दैन। स्पष्टतः आफ्नो मन अनि हृदय फोहोरले भरेर कसैले पनि साँचो आनन्द प्राप्त गर्न सक्दैन। शैतानको भ्रष्ट संसारमा मसीहीहरूले सोच्न र छलफल गर्न सक्ने थुप्रै कुराहरू छन् भनेर थाहा पाउनु कति उत्थानवर्धक कुरा हो!
आनन्दित हुने अनगिन्ती कारणहरू
११ आनन्दित हुने कारणहरूबारे कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय भ्रातृत्वलाई नबिर्सौं। (१ पत्रुस २:१७) संसारका राष्ट्रिय तथा जातीय समूहहरूले एकअर्काप्रति औधी घृणा व्यक्त गर्छन् तर परमेश्वरका जनहरू प्रेममा एकअर्काको नजिक हुन्छन्। तिनीहरूको एकताविशेषगरि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा झल्कन्छ। सन् १९९३ मा युक्रेनको कीभमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबारे संयुक्त राज्यका एक जना प्रतिनिधिले यस्तो लेखे: “हर्षका आँसुहरू, चहकिला नयनहरू, पारिवारिक सदस्यहरूलाई दिइने जस्ता स्नेहपूर्ण अङ्कमालहरूको लहर र रङ्गीचङ्गी छाता तथा रूमालहरू हल्लाएर रङ्गशालाको मैदानको एक छेउबाट अर्को छेउसम्म पठाइरहेका अभिवादनहरूले अवश्य नै ईश्वरतान्त्रिक एकताको प्रमाण दिन्थ्यो। विश्वव्यापी भ्रातृत्वद्वारा यहोवाले उदेकलाग्दो ढङ्गमा सम्पन्न गर्नुभएका कुराहरू हेर्दा हाम्रो हृदय विभोर हुन्छ। यसले म र मेरी पत्नीको हृदय छोएको छ र हाम्रो विश्वासलाई अझ अर्थपूर्ण बनाएको छ।”
१२ आज मसीहीहरूले आफ्नै आँखाअगाडि बाइबलका भविष्यवाणीहरू पूरा भइरहेको देख्न पाउनु साँच्चै नै तिनीहरूको विश्वासलाई सुदृढ पार्ने कुरा हो! उदाहरणको लागि यशैया ६०:२२ का शब्दहरूलाई ध्यान दिनुहोस्: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” सन् १९१४ मा राज्यको जन्म हुँदा थोरै अर्थात् ५,१०० ले मात्र सक्रिय भएर प्रचार गरिरहेका थिए। तर गत पाँच वर्षमा प्रतिहप्ता औसतन ५,६२८ बप्तिस्माप्राप्त नयाँ साक्षीहरूको दरले विश्वव्यापी भ्रातृत्व बढिरहेको छ! सन् १९९३ मा ४७,०९,८८९ सक्रिय प्रचारकहरूको उच्चतम शिखर कायम भयो। यसो कल्पना गर्नुहोस्! यसको अर्थ, सन् १९१४ को “थोरै” चाहिं अक्षरसः “हजार” पुग्न लागेको छ!
१३ सन् १९१४ देखि मसीही राज्य शत्रुहरूको माझमा शासन गर्न अघि बढिरहेको छ। विश्वव्यापी प्रचार-कार्य साथै अन्तर्राष्ट्रिय निर्माण कार्यक्रमलाई अघि बढाउन आफ्नो समय, बल र पैसा दिएर इच्छुक मानव अनुयायीहरूले उहाँको शासनलाई समर्थन गरिरहेका छन्। (भजसंग्रह ११०:२, ३) यहोवाका साक्षीहरूका सभाहरूमा पैसाको उल्लेख विरलै गरिने भए तापनि यी क्रियाकलापहरू सम्पन्न गर्न आर्थिक चन्दाहरू प्राप्त भएकोमा आनन्दित हुन्छन्।a (१ इतिहास २९:९ तुलना गर्नुहोस्।) चन्दा दिनको लागि साँचो मसीहीहरूलाई आग्रह गरिरहनु पर्दैन; आफ्नो परिस्थितिले भ्याएसम्म ‘आफ्नो मनमा अड़कले बमोजिम, नता चित्त दुखाएर, न जरूरत ठानेर’ आफ्नो राजालाई समर्थन गर्न पाउनु तिनीहरू सुअवसर ठान्छन्।—२ कोरिन्थी ९:७.
१४ भविष्यवाणी गरिएअनुसार साँचो उपासनाको पुनर्स्थापनाले गर्दा आध्यात्मिक प्रमोदवन सृष्टि भएको छ। सन् १९१९ देखि प्रगतिशील ढङ्गमा यसले आफ्ना सीमाहरू बढाउँदै लगेको छ। (भजनसंग्रह १४:७; यशैया ५२:९, १०) त्यसको परिणाम? साँचो मसीहीहरूले “आनन्द र हर्ष” अनुभव गर्छन्। (यशैया ५१:११) परिणामस्वरूप प्राप्त असल फलले असिद्ध मानवहरूद्वारा परमेश्वरको पवित्र आत्माले सम्पन्न गर्न सक्ने कुराहरू प्रमाणित गर्छ। त्यसको सम्पूर्ण श्रेय र आदर यहोवालाई जान्छ तर परमेश्वरका सहकर्मीहरू हुन पाउनुभन्दा ठूलो विशेषाधिकार अरू के नै हुन सक्छ र? (१ कोरिन्थी ३:९) आवश्यक परेमा ढुङ्गाहरूलाई सत्य बोल्न लगाउने शक्ति यहोवामा छ। तापनि, उहाँले यस तरिका नअपनाउन उचित ठान्नुभएको छ। बरु, आफ्नो इच्छा पूरा गर्न उहाँले माटोबाट बनिएका इच्छुक प्राणीहरूलाई उत्प्रेरित गर्न रोज्नु भएको छ।—लूका १९:४०.
१५ बाइबलका उल्लेखनीय भविष्यवाणीहरूसित सम्बन्धित विश्व-घटनाहरूलाई परमेश्वरका सेवकहरूले आश्चर्यचकित हुँदै अहिले हेरिरहेका छन्। स्थायी शान्ति प्राप्त गर्न राष्ट्रहरूले निकै प्रयास गरिरहेका छन्—तर सफल भने भएका छैनन्। संसारमा घटिरहेका घटनाहरूले संसारका समस्याग्रस्त क्षेत्रहरूमा संयुक्त राष्ट्र सङ्घलाई बढी मान्यता दिन बाध्य तुल्याइरहेको छ। (प्रकाश १३:१५-१७) यसबीच, दिनानुदिन नजिकिंदै गइरहेको त्यो सबैभन्दा आनन्दमय घटनालाई परमेश्वरका जनहरूले उत्सुकतापूर्वक हेर्न थालिसकेका छन्। “हामी रमाऔं, अत्यन्त खुशी हौं र उहाँलाई महिमा दिऔं। किनभने थुमाको विवाहको दिन आएको छ, र उहाँको दुलही आफै तयार हुँदैछिन्।”—प्रकाश १९:७.
प्रचार गर्नु—बोझ अथवा आनन्द?
१६ “तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गर्यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९) आफूले सिकेका कुराहरू व्यवहारमा उतारेर मसीहीहरूले परमेश्वरको आशिष् प्राप्त गर्ने आशा गर्न सक्छन्। तिनीहरूले सिकेको एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूलाई सुसमाचार सुनाउनु पर्ने आवश्यकता हो। निस्सन्देह, सोझा हृदय भएका व्यक्तिहरूको जीवन नै विथोलित जानकारीबाट मानिसहरूलाई वञ्चित गरेर के कसैले मनमा शान्ति अथवा आनन्द महसुस गर्न सक्ला र?—इजकिएल ३:१७-२१; १ कोरिन्थी ९:१६; १ तिमोथी ४:१६.
१७ यहोवाबारे सिक्न इच्छुक भेडाखालका व्यक्तिहरू भेट्टाउनु कति आनन्दको कुरा हो! निस्सन्देह, सही मनोवृत्तिले सेवा गर्नेहरूलाई राज्य सेवा सदैव आनन्दको स्रोत हुनेछ। किनभने यहोवाको साक्षी हुनुको प्रमुख कारण उहाँको नाउँको प्रशंसा गर्नु र सार्वभौमसत्ताधारी शासकको हैसियतमा उहाँको पदलाई उच्च पार्नु हो। (१ इतिहास १६:३१) मानिसहरूले निबुर्द्धि भएर सुसमाचारलाई इन्कारै गरे तापनि यस तथ्य मानी लिने व्यक्ति आनन्दित हुन सक्छ। अविश्वासीहरूलाई प्रचार गर्ने कार्य एक दिन बन्द हुनेछ भनेर उसलाई थाहा छ; तर यहोवाको नाउँको प्रशंसा गर्ने कार्य सधैंभरि चलिरहनेछ।
१८ यहोवाले माग गर्नुभएका कुराहरू करले नभई स्वेच्छापूर्वक व्यवहारमा उतार्ने व्यक्तिहरूलाई साँचो धर्मले उत्प्रेरित गर्छ। (भजनसंग्रह ४०:८; यूहन्ना ४:३४) यो कुरा बुझ्न धेरैलाई गाह्रो पर्छ। एउटी विवाहिताले आफूकहाँ आउने साक्षीलाई यसो भनिन्: “तपाईंले गरिरहनुभएको काम सराहनीय छ। तर तपाईंले गरिरहनुभएझैं घर-घरमा गएर म आफ्नो धर्मको कहिल्यै प्रचार गर्ने थिइनँ।” हाँस्दै साक्षीले जवाफ दिइन्: “तपाईंले कस्तो महसुस गरिरहनुभएको होला भनी म बुझ्न सक्छु। यहोवाको साक्षी हुनुअघि धर्मबारे मानिसहरूसित कुरा गर्न मलाई पनि अरूले उस्काउन सक्दैनन् थिए। तर अहिले म त्यसो गर्न चाहन्छु।” त्यस स्त्रीले एकछिन विचार गरेर भनिन्: “मेरो धर्मले नदिने कुरा अवश्य तपाईंको धर्ममा हुनुपर्छ। शायद मैले पनि खोजीनिती गर्नुपर्ला कि।”
१९ हाम्रा राज्य भवनहरूमा टड्कारै देखिने गरी राखिएको सन् १९९४ को वार्षिक पदले हामीलाई लगातार यो कुरा स्मरण गराउँछ: “तेरो सारा भरोसा परमेश्वरमा राख्।” (हितोपदेश ३:५) हाम्रा गढ़, यहोवामा भरोसा राख्न सक्नुभन्दा आनन्दित हुने अरू ठूलो कारण के नै हुन सक्छ र? भजनसंग्रह ६४:१० ले यसरी वर्णन गर्छ: “धर्मात्माहरूचाहिं परमप्रभुमा आनन्दित हुनेछन्, र उहाँमाथिनै भरोसा गर्नेछन्।” यो ढलमलाउने अथवा हार मान्ने समय होइन। जसै प्रत्येक महिनाहरू बित्दै जान्छ, हाबिलको समयदेखि यहोवाका जनहरूले उत्सुकतापूर्वक बाटो हेरेको वास्तविकतातर्फ झन् झन् नजिक हुन्छौं। आनन्दित हुने प्रशस्त कारणहरू छन् भनी थाहा पाएर सम्पूर्ण हृदयले यहोवामा भरोसा राख्ने समय अहिले नै हो! (w94 9/1)
[फुटनोट]
a प्राप्त चन्दा तथा खर्चको परिमाण मण्डलीहरूमा महिनाको एक पटक र सम्मेलनहरूमा उल्लेख गर्दै संक्षिप्त विवरण पढेर सुनाइन्छ। ती चन्दाहरू कसरी प्रयोग गरिए भनेर कहिलेकाहीं पत्रहरू पठाइन्छ। यसरी यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको आर्थिक अवस्थाबारे सबैलाई अवगत गराइन्छ।
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
◻ नहेम्याह ८:१० अनुसार हामी किन आनन्दित हुनुपर्छ?
◻ व्यवस्था २६:११ र २८:४५-४७ ले आनन्दित हुनुपर्ने महत्त्व कसरी दर्साउँछ?
◻ फिलिप्पी ४:४-९ ले हामीलाई सदैव आनन्दित हुन कसरी मदत दिन सक्छ?
◻ सन् १९९४ को वार्षिक पदले हामीलाई आनन्दित हुने के कारण दिन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. मसीहीहरू सधैं आनन्दित हुनुपर्छ भनी पावलले भनेकोमा हामी किन छक्क पर्न सक्छौं?
२, ३. येशू र पुरातन इस्राएलीहरूले प्रदर्शन गरेजस्तै आनन्दको महत्त्व के हो?
४. हामी आनन्दित हुन किन असफल हुन सक्छौं?
५. अव्यावहारिक मानिसलाई आनन्दित हुन किन गाह्रो हुन्छ?
६. (क) सङ्गी मसीहीहरूले हामीमा के देख्नुपर्छ र यस्तो कहिले मात्र सम्भव हुन सक्छ? (ख) दोस्रो कोरिन्थी १:२४ र रोमी १४:४ मा उल्लिखित पावलका शब्दहरूले हामीलाई व्यावहारिक हुन कसरी मदत गर्छ?
७, ८. समस्याहरू आउँछन् भनेर मसीहीहरूले किन आशा गर्नुपर्छ, यद्यपि आनन्दित रहिरहन तिनीहरूको निम्ति कसरी सम्भव छ?
९. सत्यको ज्ञानले मनमा शान्ति कसरी ल्याउँछ र यसले मसीहीमाथि कस्तो राम्रो असर गर्छ?
१०. कस्ता कुराहरू बोल्दा र सोच्दा मात्र साँचो आनन्द अनुभव गर्न सकिन्छ?
११. (क) कुन कुरालाई कहिल्यै हल्कासित लिनु हुँदैन र किन? (ख) अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित हुँदा एक जना प्रतिनिधि र उनकी पत्नीमाथि कस्तो असर पऱ्यो?
१२. हाम्रै आँखाअगाडि यशैया ६०:२२ कसरी पूरा भइरहेको छ?
१३. (क) सन् १९१४ देखि के भइरहको छ? (ख) दोस्रो कोरिन्थी ९:७ मा दिइएको पावलका शब्दहरूको सिद्धान्त यहोवाका साक्षीहरूले कसरी पालन गर्छन्?
१४. सन् १९१९ देखि परमेश्वरका जनहरूबीच कस्तो अवस्था स्पष्ट भएको छ र यसले आनन्दित हुने कस्तो कारण प्रदान गर्छ?
१५. (क) आधुनिक समयमा कस्ता घटनाहरू हामी उत्सुकतापूर्वक हेर्छौं? (ख) आनन्दित भएर हामी कुन घटनाको बाटो हेर्छौं?
१६. आफूले सिकेका कुराहरू व्यवहारमा ल्याउन असफल हुँदा एक जना मसीहीको आनन्द कसरी हरण हुन सक्छ, वर्णन गर्नुहोस्।
१७. हाम्रो प्रचार-कार्य किन सदैव आनन्दको स्रोत हुनुपर्छ?
१८. एक जना मसीहीलाई यहोवाको इच्छा गर्न कुन कुराले उत्प्रेरित गर्छ?
१९. पहिलेभन्दा बढी आनन्दित हुने समय अहिले नै किन हो?
[पृष्ठ १६-मा भएको चित्र]
अन्तर्राष्ट्रिय भ्रातृत्वको भाग हुन पाएकोमा रूसी र जर्मन साक्षीहरू आनन्दित छन्
[पृष्ठ १७-मा भएको चित्र]
अरूसित सत्य बाँड्न पाउनु आनन्दको एउटा कारण हो