अध्याय १२
तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
१, २. (क) कुन प्रकारले तपाईं आफ्नो जीवन विताउनु हुन्छ त्यसले वास्तवमा तपाईंकालागि किन महत्व राख्दछ? (ख) यसबाट अरूहरू को पनि प्रभावित हुन्छन् र किन?
तपाईं आफ्नो जीवन कसरी बिताउनु हुन्छ, त्यसको वास्तवमा महत्व छ। त्यसबाट तपाईंले आफ्नो भविष्यलाई सुखमय अथवा दु:खमय बनाउन सक्नु हुनेछ। अन्तत्वगत्वा, तपाईं या त यस संसार सँगसँगै बितेर जानु हुनेछ अथवा यसको अन्त पछि आउने परमेश्वरको नया धार्मिक राज्यमा अनन्त जीवनसाथ बाँच्न सक्नु हुनेछ।—१ यूहन्ना २:१७; २ पत्रुस ३:१३.
२ तर तपाईं आफ्नो जीवन कसरी बिताउनु हुन्छ, त्यसले तपाईंलाई मात्र असर पार्दैन। अरूहरूको जीवन पनि त्यसमा संलग्न छ। तपाईं के गर्नु हुन्छ त्यसले अरूलाई पनि असर पार्दछ। उदाहरणकालागि, तपाईंका आमा-बाबु जिउँदै हुनुहुन्छ भने, तपाईंको काम-कारबाहीले उहाँहरूलाई या त सम्मानित पार्न सक्छ या लज्जित तुल्याउँन सक्छ। बाइबल भन्दछ: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, र मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।” (हितोपदेश १०:१) त्यस भन्दा पनि महत्वपूर्ण कुरा के छ भने, तपाईं आफ्नो जीवन कसरी बिताउने गर्नु हुन्छ, त्यसले यहोवा परमेश्वरलाई पनि प्रभाव पार्दछ। तपाईंको कामले यहोवा परमेश्वरलाई खुशी अथवा दु:खी पार्न सक्दछ। किन? किनभने तपाईं एउटा विवादमा सामेल हुनु भएको छ।
के मानिसहरू परमेश्वर प्रति विश्वासी रहनेछन्?
३. शैतानले यहोवालाई के चुनौती दिएको थियो?
३ यो प्रश्न शैतानले उठाएको थियो। आदम र हव्वालाई अदनको बगैंचामा परमेश्वरको नियम भङ्ग गराउनमा र परमेश्वरसँग विद्रोह गर्ने काममा आफूसँग सम्मिलित गराउँन शैतान सफल भए पछि, उसले यो प्रश्न उठाएको थियो। (उत्पत्ति ३:१-६) त्यसबाट यहोवालाई चुनौती दिने आधार पाएँ भनेर शैतानले ठान्यो। उसले भन्यो: ‘मानिसहरू तपाईंबाट पाउन सक्ने कुराहरूकालागि मात्र तपाईंको सेवा गर्दछन्। मलाई मौका दिनुहोस्, म कसैलाई पनि तपाईंबाट विमुख पारि दिनसक्छु।’ वास्तवमा यी नै शव्दहरू बाइबलमा नपाइएता पनि, शैतानले परमेश्वरसँग यसै प्रकारको कुरा गऱ्यो भनेर बाइबलमा अय्यूबको किताबबाट देखिन्छ।
४, ५. (क) अय्यूब को थिए? (ख) अय्यूबको समयमा स्वर्गमा कुन घटना घटेको थियो?
४ अदनको बगैंचामा भएको विद्रोहको धेरै शताब्दी पछि अय्यूब भन्ने एक जना व्यक्ति थिए। तिनी धर्मी र परमेश्वरको एउटा विश्वासी सेवक थिए। अय्यूब विश्वासी भएकोले, परमेश्वर अथवा शैतानलाई त्यसले के फरक पर्द थियो र? फरक पर्द थियो भनेर बाइबल भन्दछ। एक दिन स्वर्गमा बैठक बस्दा यहोवाको सामुन्ने शैतान पनि त्यहाँ उपस्थित थियो भन्ने कुरा बाइबलमा उल्लेखित छ। उहाँहरूका बीच भएको वार्तालापको विषयलाई ध्यान दिनुहोस्:
५ “एक दिन स्वर्गीय-जनहरू (परमेश्वरका छोराहरू, न्यु.व.) परमप्रभुको (यहोवाको, न्यु.व.) सामने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग थियो। तब परमप्रभुले (यहोवाले, न्यु.व.) शैतानलाई सोध्नुभयो, ‘तँ के गर्दै थिइस्?’ त्यसले भन्यो, ‘पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।’ तब परमप्रभुले (यहोवाले, न्यु.व.) शैतानलाई सोध्नुभयो, ‘के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन बिताउने मानिस तैंले कोही पाउनेछैनस्।’”—अय्यूब १:६-८
६. अय्यूबको समयमा कुन विवाद चलेको थियो भनेर बाइबल देखाउँछ?
६ अय्यूब एउटा निष्ठावान मानिस छ भनेर यहोवाले किन भन्नुभयो? स्पष्टतया, अय्यूब यहोवा प्रति विश्वासी रहन्छ कि रहदैन भन्ने त्यहाँ एउटा विवाद उठेको थियो। परमेश्वरले गर्नु भएको प्रश्न वारे सोंच्नुहोस्, “तँ के गर्दै थिइस्?” र शैतानको प्रत्युत्तर, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” कसैलाई पनि परमेश्वरबाट विमुख गरिदिन सक्ने शैतानको चुनौतीलाई कार्यान्वयन गर्न, यहोवा परमेश्वरले शैतानलाई पूरा मौका दिंदै हुनुहुन्थियो भन्ने कुरा यस प्रश्न र शैतानको प्रत्युत्तरबाट देखिन्छ। अनि, अय्यूबको विश्वासीलोपना वारे यहोवाको प्रश्नको शैतानले के उत्तर दियो?
७, ८. (क) परमेश्वरको सेवागर्ने अय्यूबको के कारण थियो भनेर शैतानले भन्यो? (ख) त्यस विवादको फैसलाकालागि यहोवाले के गर्नु भयो?
७ “शैतानले परमप्रभुलाई (यहोवालाई, न्यु.व.) यसो भनेर जवाफ दियो: ‘परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन? के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नु भएको छैन? तिनका सबै काममा तपाईंले आशिष दिनुभएको छ, औ तिनका गाई-वस्तुहरू अनगन्ती बढेका छन्। तर आफ्नो हात पसारेर तिनका सबै चीज छुनुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्।’”—अय्यूब १:९-११.
८ शैतान आफ्नो उत्तर द्वारा परमेश्वर प्रति अय्यूबको इमान्दारीपनाको कारण जनाउदै थियो। शैतानको भनाइ अनुसार, ‘अय्यूबले तपाईंको सेवा तपाईं प्रति प्रेमको कारण होइन, तपाईंले उसलाई दिनुभएको भौतिक सम्पत्तिको कारणले गर्दछ।’ यहोवा आफ्नो महान शक्तिलाई अनुचित ढङ्गले प्रयोग गर्दै हुनुहुन्छ भन्ने शिकायत पनि शैतानले गऱ्यो। ‘तपाईंले उसलाई सधैंनै रक्षा गर्नु भएकोछ’ भनेर शैतानले भन्यो। त्यसकारण, यस विषयलाई समाधान गर्न, यहोवाले शैतानलाई भन्नुभयो: “हुन्छ त्यस्तै होस्! त्यसकहाँ जे जत्ति छन् सबै तेरै हाथमा भयो। केवल अय्यूबको शरीरलाई चाहिं नछो!”—अय्यूब १:१२.
९. अय्यूबमाथि शैतानले कुन विपत्ति ल्यायो र त्यसको के परिणाम भयो?
९ तुरन्त शैतानले अय्यूबमाथि विपत्तिहरू ल्याउन थाल्यो। उसले अय्यूबका सबैनै गाई-वस्तुहरू मार्न लगाइ दियो वा चोरी गराइ दियो। त्यस पछि अय्यूबका १० जना छोरा-छोरीलाई पनि मार्ने व्यवस्था मिलायो। अय्यूबले सबै थोक गुमाएर पनि यहोवा प्रति विश्वासी रहिनै रहे। उनले परमेश्वरलाई सरापेनन्। (अय्यूब १:२, १३-२२) तर, कुरा त्यत्तिमै टुङ्गिएन।
१०. शैतानले हार मानेन भनेर के ले दर्शाउँछ?
१० शैतान फेरि अरू स्वर्गदूतहरूका साथ यहोवाको सामने उपस्थित भयो। अय्यूबको विश्वासीलोपना वारे यहोवाले फेरि शैतानलाई सोध्नुभयो र भन्नुभयो: “तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन।” शैतानले जवाफ दियो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुऱ्याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्।”—अय्यूब २:१-५.
११. (क) अय्यूब माथि शैतानले अझ अरू कुन परीक्षाहरू ल्यायो? (ख) त्यसको परिणाम के भयो?
११ प्रत्युत्तरमा, अय्यूबमाथि जे गर्न सक्छ, गरे हुन्छ भनेर यहोवाले शैतानलाई अनुमति दिंदै यसो भन्नुभयो: ‘त्यसको ज्यान चाहिं छोड़िदे।’ (अय्यूब २:६) शैतानले अय्यूबलाई भयङ्कर रोगले ग्रस्त पारि दियो। अय्यूबले साह्रै कष्ट पाएको हुनाले, मर्न पाए हुन्थियो भनेर उनले प्रार्थना गरे। (अय्यूब २:७; १४:१३, १४) उनकी स्वास्नी समेतले विरोध गर्दै भनिन्: “परमेश्वरलाई सरापेर मरे असल हुन्छ!” (अय्यूब २:९) तर अय्यूबले त्यसो गर्न इन्कार गरे। उनले भने: “नमरुञ्जेल म निर्दोष छु भन्ने मेरो दाबीलाई म छोड़नेछैनँ!” (अय्यूब २७:५) अय्यूब परमेश्वर प्रति विश्वासी रहिरहे। अय्यूबले परमेश्वरको सेवा प्रेमको कारण नभएर भौतिक कुराहरूको फायदाले गर्दा गरेका थिए भन्ने शैतानको चुनौति यसबाट गलत प्रमाणित भयो। परमेश्वरको सेवाबाट सबैलाईनै विमुख पार्न शैतानले सक्ने छैन भनेर पनि यसबाट प्रदर्शित भयो।
१२. (क) परमेश्वरलाई शैतानले दिएको चुनौतीको उत्तर अय्यूबले कसरी दिए? (ख) परमेश्वर प्रति येशूको वफादारीले के प्रमाणित गऱ्यो?
१२ तपाईंको विचारमा, अय्यूबको विश्वासीलोपनाले गर्दा यहोवालाई कस्तो लाग्यो होला? यसले उहाँलाई धेरैनै आनन्दित तुल्यायो! परमेश्वरको वचनले आग्रह गर्दछ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) यहोवाको आलोचना गरिरहने शैतान हो र अय्यूबले आफ्नो विश्वासीलोपनाद्वारा परमेश्वरको हृदयलाई प्रफुल्लित पारिदिए। मानिसहरू परीक्षा परेको बेलामा परमेश्वरको सेवा गर्ने छैनन् भन्ने शैतानको दावी वा गिल्लालाई, अय्यूबको विश्वासीलोपनाको कारण परमेश्वरले जवाफ दिने मौका पाउनु भयो। धेरै अरूहरूले पनि यस प्रकारको जवाफ परमेश्वरको सामुन्ने प्रस्तुत गरेका छन्। सबैभन्दा ठूलो उदाहरण सिद्ध मानव येशूनै हुनुहुन्थियो। शैतान द्वारा ल्याइएका हर प्रकारका कड़ा परीक्षा हुँदा हुँदै पनि, परमेश्वर प्रतिको आफ्नो वफादारीमा उहाँ अडिग रहनुभयो। आदमले पनि चाहेको भए यसो गर्न सक्थियो र मानिसबाट पूर्ण आज्ञाकारिता चाहनु भएकोमा परमेश्वर अन्यायी हुनुहुँदैन भन्ने कुरा यसबाट प्रमाणित भएको छ।
तपाईंको के स्थिति छ?
१३. (क) यस विवादसँग तपाईंको जीवन पद्धतिको के सम्बन्ध छ? (ख) हामीहरूले परमेश्वरलाई कसरी खुशी या दु:खी पार्न सक्छौं?
१३ तपाईंको जीवनको के स्थिति छ? जसरी जीवन बिताउनु भए तापनि त्यसले केही फरक पार्ने छैन भनेर तपाईं सोंच्नु होला। तर त्यसले जरूर फरक पार्दछ। तपाईंलाई थाह भए पनि नभए पनि, तपाईं परमेश्वरको समर्थक हुनुहुन्छ वा शैतानको भन्ने कुरा तपाईंको कामबाट देखिनेछ। यहोवा तपाईंको वास्ता गर्नु हुन्छ, र तपाईं उहाँको सेवा गरेर पार्थिव प्रमोदबनमा अनन्त जीवन उपभोग गर्नुहोस् भन्ने उहाँ चाहनु हुन्छ। (यूहन्ना ३:१६) इस्राएलीहरूले परमेश्वरको विरुद्ध विद्रोह गर्दा, उहाँ दु:खित् हुनुभयो, उहाँको हृदयलाई चोट पुग्यो। (भजनसंग्रह ७८:४०, ४१) तपाईंको जीवन पद्धति परमेश्वरलाई खुशी पार्ने या दु:खित् पार्ने किसिमको छ? निश्चय, परमेश्वरलाई खुशी पार्ने हो भने उहाँका नियमहरू सिक्नु पर्दछ र तिनीहरूलाई पालन गर्नु पर्दछ।
१४. (क) परमेश्वरलाई खुशी पार्ने हो भने मैथुन सम्बन्धी कुन नियमहरूको पालना हामीहरूले गर्नु पर्छ? (ख) यी नियमहरू तोड़नु किन एउटा अपराध हो?
१४ मानव प्रजनन शक्तिको प्रयोग, र विवाह र परिवार वारेको परमेश्वरका नियमहरूलाई मानिसहरूले भङ्ग गरुन् भन्ने शैतानको एउटा मुख्य उद्देश्य रहेको छ। हाम्रो आनन्द सुरक्षित रहोस् भन्ने उद्देश्य राखेर, परमेश्वरको नियमले अविवाहित मानिसहरूलाई मैथुनिक सम्बन्धमा लिप्त हुन मनाही गर्दछ र विवाहित मानिसहरूलाई आफ्नो विवाहित साथी वाहेक अरू सित मैथुनिक सम्बन्ध राख्ने अनुमति दिंदैन। (१ थिस्सलोनिकी ४:३-८; हिब्रु १३:४) परमेश्वरको नियम भङ्ग गर्दा, अक्सर यस्ता बच्चाहरू जन्मन्छन् जसका आमा-बाबुले नता उनलाई माया गर्छन् र नता उनलाई आफूसँग राख्न चाहन्छन्। यस्ती आमाहरूले गर्भपात गराएर बच्चाहरू जन्मनु भन्दा पहिलेनै मारी दिन्छिन्। यस अतिरिक्त, व्यभिचार गर्नेहरू भयङ्कर यौन रोगहरूका शिकार हुन्छन् जसले गर्दा पेटमा हुने तिनका बच्चाहरूलाई भारी नोकसान पुग्न सक्दछ। आफूसँग विवाह नभएको व्यक्तिसँग मैथुनिक सम्बन्ध राख्नु, परमेश्वरको विरुद्ध एउटा अपराध, र अविश्वासी कार्य हो। अय्यूबले भने: “यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने . . . त्यो ता दुष्ट कर्म हो, न्यायको सामने एउटा अपराध हो।”—अय्यूब ३१:१, ९, ११, द न्यु अमेरिकन बाइबल.
१५. (क) हामीले व्यभिचार गर्दा कसलाई खुशी पारेका हुनेछौं? (ख) परमेश्वरका नियमहरूलाई पालन गर्नु किन बुद्धिमानी हो?
१५ आफूसँग विवाह नभएको व्यक्तिसँग मैथुनिक सम्बन्ध राख्नु उचित र सामान्य कुरा हो भनेर यस शैतानी दुनियाँले हाम्रो मनमा भावना जगाएमा हामीहरूले केही आश्चर्य मान्नु पर्दैन। तर सो गर्दा तपाईंले कसलाई खुशी पार्नु हुनेछ? यहोवालाई होइन, शैतानलाई। परमेश्वरलाई खुशीपार्ने हो भने, “व्यभिचार देखि अलग रहनु” पर्दछ। (१ कोरिन्थी ६:१८) यो साँचो हो, परमेश्वर प्रति विश्वासीलो हुनु सधैं सजिलो हुँदैन। अय्यूबकालागि पनि सजिलो थिएन। तर याद राख्नु होस्, परमेश्वरका नियमहरू पालन गर्नु बुद्धिमानी हो। त्यसो गर्नु भयो भने अहिलेनै तपाईं बढ़ी आनन्दित हुनुहुनेछ। तर, त्यो भन्दा पनि महत्वपूर्ण कुरा, तपाईंले परमेश्वरको पक्षलाई समर्थन गरेको हुनेछ र त्यसले परमेश्वरलाई आनन्दित पार्नेछ। र उहाँले तपाईंलाई पृथ्वीमा आनन्दित र अनन्त जीवनको आशिष दिनु हुनेछ।
१६. (क) आफ्नो विश्वासीलोपनाको कारण अय्यूबले के आशिषहरू पाए? (ख) अय्यूबका १० जना बच्चाहरूलाई मार्न लगाउने जस्ता शैतानले गरेको नोकसानी वारे के भन्न सकिन्छ?
१६ यो सत्य हो, शैतानले अय्यूबलाई कङ्गाल बनाइ दियो र उनका १० जना बच्चाहरूलाई मार्न लगायो। यसबाट अय्यूबको धेरै क्षति भयो भन्ने कुरामा कुनै शङ्का छैन। तर अय्यूब विश्वासीलो साबित भएका हुनाले, शैतानलाई उनको परीक्षा लिने अनुमति दिनु भएको समयमा जत्ति उनको सम्पत्ति थियो, त्यस भन्दा दोब्बर परमेश्वरले उनलाई दिनुभयो। अय्यूब अझ १० अतिरिक्त बच्चाहरूका पिता भए। (अय्यूब ४२:१०-१७) अझ, शैतान द्वारा मारिएका अय्यूबका १० जना बच्चाहरू पुनरुत्थान हुने बेलामा बिउँतिनेछन्। यो सत्य हो, शैतानले अनुमति पाएर गरिरहेको कुनै पनि त्यस्तो हानि या विपत्ति छैन जसलाई हाम्रो प्यारा पिता यहोवाले आफ्नो समयमा हटाउनु हुने छैन।
१७. हाम्रो जीवन बिताउने तरीकाले किन फरक पार्दछ?
१७ त्यसकारण, तपाईं कुन प्रकारको जीवन बिताउनु हुन्छ त्यसले फरक पार्ने छ भनेर सदा आफ्नो मनमा राख्नुहोस्। यसले खासगरी यहोवा र शैतान दुवैकालागि फरक पार्ने छ। किनभने, मानिसहरू परमेश्वर प्रति विश्वासी रहने छन् कि छैनन् भन्ने विवादमा तपाईं पनि सामेल हुनु भएको छ।
[पृष्ठ १०६-मा भएको चित्र]
परीक्षामा पर्दा कोइ पनि परमेश्वर प्रति विश्वासी रहनेछैन भन्ने शैतानको चुनौतीको अय्यूबले मुकाविला गरे
[पृष्ठ ११०-मा भएको चित्र]
आफूसँग विवाह नभएको कुनै व्यक्तिसँग मैथुनिक सम्बन्ध राख्नु परमेश्वरको विरुद्ध एउटा अपराध हो
[पृष्ठ १११-मा भएको चित्र]
यहोवाले अय्यूबको वफादारीकालागि, पहिले उनी सँग भएको भन्दा धेरैनै बढी मात्रामा आशिष दिनुभयो