परमेश्वरका मित्र को हुनसक्तछ?
तपाईं परमेश्वरका मित्र हुनसक्नुहुन्छ। केही ४,००० वर्ष अघि, अब्राहाम भन्ने मानिसले यहोवा परमेश्वरमाथि विश्वास गरे। यसले गर्दा तिनी धार्मिक गनिए, र ती कूलपिता “यहोवाका मित्र” कहलिए। (याकूब २:२३) अतः तपाईंको यहोवामाथि विश्वास छ भने, तपाईं पनि परमेश्वरका मित्र हुनसक्नुहुन्छ।
मित्रहरूलाई अतिथिको रूपमा भोजमा बोलाइन सकिन्छ। वास्तवमा, सुपरिचित भजनसंग्रह २३ का केही भागमा, परमेश्वरलाई एक जना कृपालु घरधनीको रूपमा प्रस्तुत गरिएको छ। त्यो भजनसंग्रह भन्छ: “मेरा शत्रुहरूका सामुन्ने तपाईंले [यहोवाले, न्यु.व.] मेरो निम्ति भोज तयार पार्नुहुन्छ . . . मेरो कचौरा भरेर पोखिन्छ।”—भजनसंग्रह २३:५.
अर्को अवसरमा, भजनसंग्रहका तिनै लेखक—पुरातन इस्राएलका राजा दाऊदले—सोधे: “हे परमप्रभु, [यहोवा न्यु. व.] तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँड़ामा को रहनपाउनेछ?” (भजनसंग्रह १५:१) लाक्षणिक रूपमा कुरा गर्दा, यसको अर्थ प्रार्थना र उपासना द्वारा यहोवासँग सम्पर्क राख्न पाउनु हो। एउटा कस्तो महान सौभाग्य! असिद्ध मानवहरू परमेश्वरका मित्र र अतिथि हुने योग्यका कसरी हुन सक्तछन्?
यसको उत्तर १५ वाँ भजनसंग्रहले दिन्छ। परमेश्वरका मित्रहरू र अतिथिहरू हुन चाहनेहरूले पूरा गर्नु पर्ने दसवटा निर्दिष्ट आवश्यकताहरू यहाँ उल्लेख गरिएको छ। दोस्रो पदबाट शुरू गर्दै, यी आवश्यकताहरूलाई एक एक गरी विचार गरौं।
“त्यो, जो सोझो मनले हिंड्छ, र धर्म-कर्म गर्छ”
यहोवाका सामुन्ने अब्राहाम नैतिक दृष्टिले निर्दोष भएर हिंड्न सकेका हुनाले, तिनका सन्तानहरूले धेरैनै उन्नति गर्नसके। (उत्पत्ति १७:१, २) “हिंड्नुको” अर्थ कहिलेकाहीँ, जीवनमा एउटा खास मार्गलाई पछ्याउनु पनि हुनसक्त छ। (भजनसंग्रह १:१; ३ यूहन्ना ३, ४) परमेश्वरका मित्र र अतिथिहरूका लागि, कुनै खास एउटा धर्ममा हुनु, त्यसका बुट्टेदार भवनहरूमा आनन्द मनाउनु र औपचारिक आचारहरूमा भाग लिनु यथेष्ट होइन। “प्रभु, प्रभु” भन्ने, अथवा परमेश्वरलाई हामी चिन्दछौं भनेर घोषणा गर्ने सबैलेनै उहाँका राज्यको आशिषको आनन्द उठाउन पाउने छैनन्। (मत्ती ७:२१-२३; तितस १:१६) यहोवाका मित्रहरू उहाँको नजरमा ‘निर्दोष भएर हिंड्छन्’ र उहाँका सिद्धान्तहरू अनुसार “न्याय गर्दछन्।”—मीका ६:८.
यसको अर्थ, त्यहाँ कुनै प्रकारको बेइमानी, योनिक अनैतिकता, र भ्रष्टाचारको लागि ठाउँ छैन। यसो किन हो भनेर स्वयं परमेश्वरले नै हामीलाई यस प्रकार भन्नुहुन्छ: “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” (१ पत्रुस १:१६) के तपाईंको धर्म परमेश्वरको उच्च सिद्धान्तहरू अनुरूप चल्दछ? उहाँका आवश्यकताहरू अनुसार नचल्नेहरूलाई के बहिष्कार सम्म पनि गरिन्छ? आफ्नो र आफ्ना परिवारको चालचलन शुद्ध हुनु पर्दछ भन्ने कुरामा के तपाईं जोड् दिनुहुन्छ? दिनु हुन्छ भने, परमेश्वरका मित्र र अतिथि हुने अर्को आवश्यकतालाई तपाईंले पूरा गरिरहनु भएको हुनेछ।
“र हृदयले सत्य बोल्दछ”
परमेश्वरको मित्रता चाहन्छौं भने, हामी दोमनको भएर, झूट बोल्न अथवा चिप्लो कुराको सहारा लिने छैनौं। (भजनसंग्रह १२:२) हामीले ओठबाट मात्र होइन, ‘हृदयले सत्य बोल्नु’ पर्दछ। हो, हामी भित्रैबाट इमान्दार हुनुपर्दछ र “निष्कपट विश्वासको” प्रमाण दिनुपर्दछ। (१ तिमोथी १:५) आफ्नो इज्जत बचाउन केही मानिसहरू झूटो वा अर्ध-सत्य बोल्दछन्। अरू केहीचाहिं स्कूलको जाँचमा चोरी गर्दछन् वा झूटा आयकरको हिसाब दिन्छन्। यस प्रकारको काम-कुरोबाट सत्य प्रति प्रेमको अभाव प्रदर्शित हुन्छ। तर सत्यता र धर्मी कार्यहरू, परमेश्वरका मित्रहरूको हृदयबाट नै आउँदछन्। (मत्ती १५:१८-२०) तिनीहरू छली वा कपटी हुँदैनन्।—हितोपदेश ३:३२; ६:१६-१९.
प्रेरित पावलले लेखे: “एउटाले अर्कोलाई नढाँट। पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्याग, र नयाँ चोला धारण गर।” (कलस्सी ३:९, १०) हो, आफ्नो हृदयबाट वास्तवमा सत्य बोल्नेहरूले “नया चोला” धारण गरेका हुन्छन्। के तपाईं हृदयबाट सत्य बोल्नु हुँदै, आफू र अरूहरूसित पूर्णतया इमान्दार हुनुहुन्छ? हुनु हुन्छ भने, अरूहरूको विषयमा तपाईं के भन्नु हुन्छ, त्यस माथि यसको असर पर्नेछ।
“जसले आफ्नो जिब्रोले निन्दा गर्दैन”
परमेश्वरका अतिथिहरू हुनका लागि यो आवश्यकता पनि पूरा गर्ने हो भने, हामीहरूले अरूहरूवारे कहिले पनि द्वेषपूर्ण कुरा गर्नुहुँदैन। (भजनसंग्रह १५:३) “निन्दा गर्नु” भन्ने हिब्रू शब्दको क्रिया “पाइला” शब्दबाट लिइएको हो र त्यसको अर्थ “पाइला चाल्नु” र “तल माथि गर्नु” हो। इस्राएलीहरूलाई यो आज्ञा दिइएको थियो: “मानिसहरूका बीचमा कुरा ओसार्ने भएर तल र माथि नगर। तिमीहरू आफ्नो छिमेकीको रक्तपातको निम्ति खड़ा नहोओ।” (लेवी १९:१६; १ तिमोथी ५:१३) कसैको असल नाउँलाई बदनाम गर्दै हामीहरू कसैको निन्दा गर्दछौं भने, हामी परमेश्वरका मित्र हुनसक्तैनौं।
दाऊदले घोषणा गरे: “जसले सुटुक्क आफ्नो छिमेकीको निन्दा गर्दछ, त्यसको म सत्यानाश पार्ने छु।” (भजनसंग्रह १०१:५) हामीले पनि निन्दा गर्नेहरूको कुरा सुन्न इन्कार गरेर, तिनीहरूलाई चुप पार्न सक्नेछौं। र कसैको मुखको सामुन्ने कुनै कुरा भन्न हामी तयार छैनौं भने, सो कुरा उसको पिठिउँ पछाड़ि कहिले नगर्नु एउटा असल नियम हो। यस प्रकार हामीले आफ्नो जिब्रोलाई वशमा राख्न सकेका छौं भने राम्रो हो। तापनि, हाम्रो क्रियाकलाप पनि वशमा राख्नु कति महत्वपूर्ण कुरा हो!
“आफ्नो मित्रको खराबी गर्दैन”
यहाँ येशूका शब्दहरू उल्लेखनीय छन्: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) परमेश्वरको कृपा पाउने हो भने, खराब कुरा गर्नबाट हामीले आफूलाई रोक्न सक्नु पर्दछ। भजनसंग्रहका लेखकले भनेकाछन्: “हे परमप्रभुलाई [यहोवालाई न्यु. व.] प्रेम गर्ने हो, खराबीलाई घृणा गर। उहाँले आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ।” (भजनसंग्रह ९७:१०) अतः हामी परमेश्वरको मित्रता र मद्दत चाहन्छौं भने, हामीले उहाँका सिद्धान्तहरूलाई स्वीकार गर्नै पर्छ।
खराबीबाट अलग्ग रहनुको अर्थ कसैलाई कुनै व्यापारिक कामकुरो अथवा अरू कुनै किसिमबाट हानी नपुऱ्याउनु हो। वचन र कर्ममा, आफ्ना साथीलाई हानी हुने कुनैपनि कुरा गर्नु हुँदैन, बरू उसलाई राम्रो हुने कुरानै गर्नु पर्दछ। यो कुरा जीवनको प्रत्येक क्षेत्रमा लागुहुनसक्तछ। उदाहरणकालागि, मोटर चलाउँदा, सड़कमा हिंड्नेहरूका लागि शिष्टाचारपूर्वक बाटो छाड़ि दिनसक्तछौं। बूढ़ा-पाकाहरूको मद्दत गर्नसक्तछौं, निराश भएकाहरूलाई प्रोत्साहित पार्नसक्तछौं र शोकाकुलहरूलाई सान्त्वना दिनसक्तछौं। यस विषयमा यहोवालेनै प्रथम उदाहरण कायम गर्नु भएको छ। येशूले भन्नु भए झैं, परमेश्वरले “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४३-४८) अरूहरूका लागि भलो गर्नाका साथै, एउटा अर्को काम पनि भजनसंग्रहका लेखकले प्रस्तुत गरेको छ।
“आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन”
हामी सबैले गलती गर्दछौं, र साथीहरूले ती साना गलतीहरू माथि ध्यान नदिंदा हामी कति कृतज्ञ हुन्छौं! हाम्रा घनिष्ठ मित्रले हाम्रा साना तर लाजलाग्दा किसिमका कमजोरीहरू अरूहरूका सामुन्ने प्रकट गरी दिएमा, हामी दुःखित हुनेछौं। आफ्ना गलतीहरू ढाक-छोप गर्न वा आफूलाई अरूहरू भन्दा उच्च देखाउनका निम्ति कसै कसैले यसो गर्ने गर्दछन्। तर परमेश्वरका मित्र हुन चाहनेहरूलाई यस प्रकारको काम गर्न सुहाउँदैन।
“अर्काको दोष ढाक-छोप गर्नेले त्यसबाट प्रेम-भावको आशा गर्छ, तर अर्काको कुरा घरिघरि दोहऱ्याउनेले मित्रता तोड़छ,” भनेर हितोपदेश १७:९ मा भनिएको छ। निःसन्देह, गम्भीर प्रकारको गलत कामलाई हामीले ढाक-छोप गर्ने प्रयास गर्नु हुँदैन। (लेवी ५:१; हितोपदेश २८:१३) तर हामी परमेश्वरका मित्र हुन चाहन्छौं भने, हामीले चिनेका सोझा मानिसहरूका विरुद्धमा भनिएका निन्दनीय कथाहरूलाई ‘लिने’ वा साँचो ठान्दै ग्रहण गर्ने छैनौं। (१ तिमोथी ५:१९) यहोवाका जनहरूवारे अधर्मी मानिसहरूले भनेका निन्दनीय कथाहरूमा अझ दुष्ट कुराहरू थप्दै फैलाउनुको सट्टा, यहोवाका मित्रहरूले परमेश्वरका जनहरूबारे राम्रा कुराहरू मात्र गर्दछन्। परमेश्वरका मित्र र अतिथिहरू आफ्ना संगतिवारे पनि होशियार रहन्छन्, किनकि दाऊदले चौथो पदमा यसो भनेका छन्:
तिनीहरूको “आँखामा बेकम्मा मानिस तुच्छ हुन्छ”
धनी र प्रतिष्ठित मानिसहरू भ्रष्ट भएता पनि, तिनीहरूसँग नै सङ्गत गर्न कुनै कुनै व्यक्तिहरू आफ्ना स्वार्थका लागि रूचाउँछन्। (यहूदा १६ सङ्ग तुलना गर्नुहोस्) तर दुष्टहरूको सङ्गत गरेर हामी यहोवाका मित्र हुन सक्तैनौं। हामीले दुष्टतालाई यति साह्रो घृणा गर्नु पर्दछ कि त्यस अनुसार जीवन यापन गर्नेहरूसित कुनै प्रकारको सङ्गती समेत गर्न चाहनु हुँदैन। (रोमी १२:९) इस्राएलका राजा योराम यत्ति खराब थिए कि तिनको बारेमा अगमवक्ता एलीसाले तिनलाई यसो भने: “सेनाहरूका परमप्रभु [यहोवा न्यु. व.] जसको सेवा म गर्दछु, उहाँको नाउँको शपथ खाएर म भन्दछु कि यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंहरूलाई एक आँखाले पनि हेर्ने थिइनँ। तपाईंहरूको वास्तै गर्नें थिइनँ।” (२ राजा ३:१४) परमेश्वरका मित्र हुनकालागि पावलको यस चेताउनीलाई हामीले ध्यान दिन जरूरी छ: “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.
परमेश्वरको मित्रताको मूल्य गर्दछौं भने, खराब काम गर्नेहरूसँग सङ्गत गर्न हामी इन्कार गर्नेछौं। तिनीहरूसँग आवश्यक कामकुरा मात्र गर्नेछौं। कसैको सांसारिक प्रतिष्ठाको आधारमा होइन तर परमेश्वरसँग उसको सम्बन्धको आधारमा, हामीहरू आफ्नालागि मित्र छान्ने छौं। हामीमा परमेश्वरको श्रद्धापूर्ण भय छ भने, मित्रहरू छान्ने बेलामा हामी बुद्धिको प्रयोग गर्नेछौं। यस सम्बन्धमा, यहोवाका अतिथिहरूमा हुनु पर्ने सातवाँ आवश्यकतामाथि अब ध्यान दिनुहोस्।
“तर परमप्रभुको [यहोवाको न्यु. व.] भय मान्नेहरूलाई चाहिं त्यसले कदर गर्दछ”
परमेश्वरका मित्रहरू र अतिथिहरू हुनकालागि, हामीले उहाँको भय मान्नु पर्दछ। हितोपदेश १:७ भन्दछ: “परमप्रभुको [यहोवाका न्यु. व.] भय ज्ञानको शुरू हो।” “यहोवाको भय” भनेको के हो? यो, परमेश्वरको निम्ति एउटा श्रद्धापूर्ण डर हो र उहाँ हामीसँग अप्रसन्न हुनु होला भन्ने एउटा हितकारी त्रास हो। यसको परिणाम सत्य ज्ञान, जीवनदायी अनुशासन र निश्चित् रूपमा निर्देशन दिने स्वर्गीय बुद्धि हुन्छ।
अरूहरूले ठट्टा गरेता पनि, यहोवाको भय राख्नेहरू, उहाँका न्याययुक्त सिद्धान्तहरूमा अडिग रहन्छन्। उदाहरणका लागि, परमेश्वरको भय राख्नेहरू परिश्रमी हुँदा, इमान्दारीसाथ आफ्नो काम गर्दा वा अरूहरूलाई आध्यात्मिक मद्दत दिने प्रयास गर्दा, तिनीहरूको धेरैले ठट्टा गर्दछन्। तर एक जना ईश्वर-भक्त व्यक्तिले यस प्रकारका इमान्दार मानिसहरूलाई कुन दृष्टिले हेर्दछन्? ‘यहोवाको भय मान्नेहरूलाई त्यसले कदर गर्दछ’ र आफूमाथि निन्दा आइलागेता पनि तिनीहरूलाई श्रद्धापूर्ण दृष्टिले हेर्नेगर्दछ। परमेश्वरको भय राख्नेहरूलाई के तपाईं पनि त्यस प्रकार आदर गर्नु हुन्छ? ईश्वरीय कृपा पाउनकानिम्ति एउटा अर्को आवश्यकताको चर्चा गर्दै, भजनसंग्रहका लेखक अगाड़ि भन्दछन्:
“जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदलँदैन”
परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नु भए झैं, हामीहरूले पनि आफ्नो वचन पूरा गर्नु पर्ने सिद्धान्त यसमा विथोलित छ। (१ राजा ८:५६; २ कोरिन्थी १:२०) हामीले जुन कुराको प्रतिज्ञा गरेका थियौं, त्यो पूरा गर्न धेरैनै गाह्रो रहेछ भनी पछि गएर थाह लागेता पनि, हामीले आफ्नो विचार बदलेर आफूले दिएको वचनबाट पछि हटनु हुँदैन। यहाँ युनानी सेप्तुवाजिन्ट, सिरियाली पेशित्ता, र ल्याटिन वल्गेट का पदहरूमा “आफ्नो छिमेकीलाई शपथ दिएको” भन्ने शब्द प्रयोग गरिएको छ। हामीले कुनै काम गर्न शपथ खाएका छौं वा एउटा उचित प्रण गरेका छौं भने, त्यसलाई पूरा गर्नै पर्दछ। (उपदेशक ५:४) तथापि, हामीले प्रतिज्ञा गरेको कुरा शास्त्रको विपरीत रहेछ भनी पछि थाह पायौं भने, स्वभाविकतः त्यो हामीले गर्नुहुँदैन।
यहोशूसँग छल गरेर गिबोनीहरूले तिनलाई समझौता गर्न लाएका रहेछन् भनी यहोशूले पछि थाह पाएर पनि, तिनले गिबोनका बासिन्दाहरूसँग गरेको आफ्नो समझौतालाई भङ्ग गरेनन्। (यहोशू ९:१६-१९) अतः हामी आफ्नो वचन पूरा गर्ने किसिमका पुरुष, महिला, र नौजवानहरू हुनुपर्दछ। अरूहरूलाई वचन दीसके पछि, हाम्रा सामुन्ने अरू अझ लोभ लाग्दा मौकाहरू खुल्यो भन्दैमा, हामी आफ्नो मन बदलेर अरूहरूलाई बीचमा धोका दिने नगरौं। येशूले भन्नुभयो: “तिमीहरूको वचन हो भने, हो, होइन भने, होइन होस्।” (मत्ती ५:३७) विशेषगरी यहोवालाई आफ्नो जीवन समर्पण गरेका व्यक्तिहरूले उहाँका साक्षी भएर, अनन्तसम्म उहाँको सेवा गर्ने प्रतिज्ञा पूरा गर्ने दृढ़ संकल्प गरेको हुनु पर्दछ। तर प्रतिज्ञाहरू पूरा गर्नुको अलावा हामीहरू आर्थिक मामलामा पनि विचारवान हुनुपर्दछ भनी दाऊदले १५ वाँ भजनसंग्रहको ५ वाँ पदमा देखाउँदछन्।
“जसले आफ्नो रूपियाँ व्याजमा लाउँदैन”
व्यापार गर्नका लागि कर्जा दिएको रूपियाँलाई व्याज सहित वापस तिर्नु उचित हो। तर यहाँ दाऊदले दरिद्रहरूलाई ‘दिएको रूपियाँ’ वारे कुरा गर्दैछन्। मोशाको व्यवस्थामा, निश्चित रूपले एसो भनिएको थियो: “तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकार जस्तै नहोओ, औ त्यससित व्याज पनि नलेओ।” (प्रस्थान २२:२५; लेवी २५:३५, ३६) नहेम्याहले गरीबहरूलाई साहुकारहरूले दुःख दिएको देख्दा, तिनले त्यसप्रकारको शोषणलाई बन्द गर्न लगाए।—नहेम्याह ५:१-१३.
“व्याज” शब्दका निम्ति दाऊदले यहाँ एउटा अर्को हिब्रू शब्द प्रयोग गरे जसको अर्थ “टोक्नु” हो। यसबाट यो देखिन्छ कि गरीबहरूलाई र तिनीहरूसँग जे जति थियो, त्यो पनि साहुकारहरूले निलिरहेका थिए। यो स्पष्ट छ कि, दरिद्रहरूबाट कुनै प्रकारको फायदाको आशा नगरिकनै तिनीहरूलाई मद्दत गर्नु उचित हो। येशूले यो कुरा यस प्रकार बताउनु भएको छ: “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा . . . गरीब, लूला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, र तिमीले धन्यवाद पाउनेछौ, किनकि तिम्रो क्षतिपूर्ति गर्नालाई तिनीहरूसित केही हुँदैन, तर धर्मीहरूका पुनरुत्थानमा तिम्रो क्षतिपूर्ति हुनेछ।” (लूका १४:१२-१४) परमेश्वरका मित्र र अतिथि हुन चाहने व्यक्तिले कदापि पनि आफ्नो छिमेकीको गरीबीको नाजायज फायदा उठाउने छैन र भजनसंग्रहका लेखकले अगाड़ि उल्लेख गरेका कुरालाई पालन गर्ने छ।
“नता निर्दोषको विरुद्धमा घूस लिन्छ”
घूसको भ्रष्ट असर हुन्छ। इस्राएलीहरूलाई यो आज्ञा दिइएको थियो: “तिमीहरूले . . . धूस नलेऊ, घूसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ, र निर्दोषको मामिला पनि बर्बाद गरिदिन्छ।” (व्यवस्था १६:१९) एक जना “निर्दोष व्यक्तिलाई” हानि पुऱ्याउनु, जस्तो कि अदालतमा प्रस्तुत् हुने प्रमाण बदली दिएको वापत घूस लिनु, धेरै नै दुष्ट काम हो। निर्दोष येशूलाई धोका दिन घूस थाप्दा, यहूदा इस्केरियोती कति घृणास्पद साबित भयो!—मत्ती २६:१४-१६.
यस सम्बन्धमा शायद हामी आफूलाई दोषरहित ठान्छौं होला। तर कहिलेकाहीँ, के हामी, कुनै न कुनै प्रकारको घूस तिरेर, अफ्ठ्यारो परिस्थितिबाट उम्कने परीक्षामा परेका छैनौं र? अगमवक्ता शमूएलले कहिले पनि “कसैको कसूर लुकाउनालाई घूस” लिएनन्। (१ शमूएल १२:३, ४) हामीहरू परमेश्वरका मित्रहरू र अतिथिहरू हुन चाहन्छौं भने हामीहरूले पनि त्यसरीनै व्यवहार गर्न सक्नु पर्दछ।
“यस्ता यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन”
एउटा इमान्दार मानिसमा हुनु पर्ने दसवटा गुणहरूको वर्णन गरिसके पछि, १५ वाँ भजनसंग्रह माथि उल्लेखित् शब्दहरूसाथ समाप्त हुन्छ। ती शब्दहरूबाट हामीले आ-आफ्नो धर्मको विश्लेषण गर्ने प्रेरणा पाउँदछौं। हामीले मान्दै आएको धर्म साँचो धर्म हो भने, त्यसले हामीहरूलाई (१) सोझो भएर हिंड्न र धर्म-कर्म गर्न, (२) हृदयले सत्य बोल्न, (३) अर्काको निन्दा नगर्न, र (४) कुनै प्रकारको खराबी गर्नबाट अलग्ग बस्न सिकाउनु पर्छ। परमेश्वरको नजरमा जुन धर्म ग्रहणयोग्य छ, त्यो धर्मले (५) हामीलाई आफ्ना सोझा छिमेकीहरूको बेइज्जत गर्न देखिन् र (६) तुच्छ मानिसहरूको सङ्गतबाट टाढ़ै राख्ने छ। साँचो धर्मले हामीलाई (७) यहोवाको भय राख्नेको आदर गर्न, (८) आफूले गरेका प्रतिज्ञाहरू उचित छन् भने, ती पूरा गर्न, (९) दरिद्रहरूबाट व्याज नलिने गरी ऋण दिन, र (१०) निर्दोष व्यक्तिको विरुद्धमा कहिले घूस नलिन प्रेरित गर्नेछ।
यी कुराहरू पढ़ने, सुन्ने, र बोल्ने, वा विश्वास समेत गर्नेहरू “कहिल्यै पनि डग्नेछैनन्” भनी दाऊदले भनेका होइनन्। “यी कुराहरू गरिरहने” व्यक्तिले मात्र त्यो अनुभव गर्नेछ। कामविनाको विश्वास मरेको हुन्छ र त्यसबाट ईश्वरीय अनुमोदन प्राप्त हुँदैन। (याकूब २:२६) १५ वाँ भजनसंग्रहमा उल्लेखित् असल कुरा गर्नेहरू डग्नेछैनन्, किनकि यहोवाले तिनीहरूलाई रक्षा गर्नु र सम्हाल्नु हुनेछ।—भजनसंग्रह ५५:२२.
तर शुद्ध उपासनामा, १५ वाँ भजनसंग्रहका यी दसवटा बुँदाहरूबाहेक, अरू कुराहरू पनि सम्मिलित छन्। येशूका अनुयायीहरूले परमेश्वरको उपासना “आत्मा र सत्यतासाथ” गर्ने सम्बन्धमा, अन्य अरू कुराहरू पनि पछि गएर सिके। (यहून्ना ४:२३, २४) यो तपाईंले पनि गर्नसक्नु हुनेछ, किनकि यी कुराहरू गर्ने मानिसहरू आज पनि छन्। यहोवाका साक्षीहरूसँग नियमित रूपमा सङ्गत र बाइबल अध्ययन गर्नाले, एउटा पार्थिव प्रमोदवनमा परमेश्वरका मित्र र अतिथि भएर जीवन बिताउने आशा तपाईंमा दृढ़ पार्नेछ। (w89 9/15)