बाइबलको दृष्टिकोण
के मसीहीहरूले समलिंगीहरूलाई घृणा गर्नु उचित हो?
समलिंगीहरूप्रति निराधार डर वा घृणा भन्ने अर्थ बुझाउन सन् १९६९ मा अंग्रेजी भाषामा एउटा शब्द रचना गरिएको थियो। त्यो शब्द हो, “होमोफोबिया।” थुप्रै भाषाहरूमा यसको अर्थ बुझाउने एउटा अलग्गै शब्द छैन तर हजारौं वर्षअघिदेखि थुप्रै राष्ट्र तथा भाषाका मानिसहरूले समलिंगीहरूलाई मन पराएका छैनन्।
तर अहिले आएर भने समलैंगिकताले यौन अभिव्यक्तिको विकल्पको रूपमा व्यापक समर्थन पाएको छ। “समलैंगिकतालाई त्यसको आफ्नै ठाउँमा राखेर विचार गर्दा यसले सर्वसाधारणको मान्यता तथा सम्मान पाउनुपर्छ भन्ने चर्को आवाज” सुनिंदै आएको इतिहासकार जेरी जी. म्युलरले हालै लेखे। तिनले भने, समलिंगीहरूले “आफ्नो व्यवहार तारिफ गर्न लायकको छ र अरूले पनि तारिफै गरून् भनेर हातेमालो गर्दै आएका छन्।” यो विशेषगरि पश्चिमी मुलुकहरूमा देखिन्छ। तथापि, संसारका अधिकांश भागहरूमा र उदार दृष्टिकोण राख्ने भनी नाउँ कमाएका मुलुकहरूमा समेत धेरैले समलैंगिकताको निन्दा गर्छन् र नाक चेप्राउँछन्।
समलिंगी तथा समलिंगीजस्तो लागेका व्यक्तिहरूलाई छेडपेच गर्ने, हैरान पार्ने र हिंसाको तारो बनाउने गर्छन्। धार्मिक नेताहरूले समेत त्यस्तो घृणा देखाएका छन्। कसै कसैले त समलिंगीहरू विरुद्ध व्यक्तिगत युद्ध नै थालेका छन्। उदाहरणका लागि, हालै ग्रीक राष्ट्रिय रेडियोमा प्रसारित ग्रीक अर्थोडक्स चर्चका पादरीको टिप्पणीलाई लिनुहोस्। तिनले यसो भने: “परमेश्वरले समलिंगीहरूलाई सदाको लागि नरकको अग्निकुन्डमा जलाउनुहुनेछ। तिनीहरूको फोहर मुखको चित्कार अनन्तसम्म गुन्जिरहनेछ। तिनीहरूका कुकर्मी शरीरहरू असह्य पीडाबाट कहिल्यै मुक्त हुनेछैनन्।” के यो साँचो हो? परमेश्वरले समलिंगीहरूप्रति कस्तो धारणा राख्नुहुन्छ?
परमेश्वरको दृष्टिकोण
बाइबलले समलिंगीहरूको समूहलाई अलग्गै छुट्याएर मसीहीहरूद्वारा घृणित व्यक्तिहरू भनेको छैन। यसबाहेक, परमेश्वरले समलिंगीहरू वा आफ्ना कुनै पनि प्राणीलाई नरकको अग्निकुन्डमा सधैंभरि जलाएर सजाय दिनुहुन्छ भनेर पनि सिकाउँदैन।—रोमी ६:२३ तुलना गर्नुहोस्।
तथापि, हाम्रो सृष्टिकर्ताका नैतिक स्तरहरू भने धर्मशास्त्रले अवश्य बताउँछ जुन प्रायजसो वर्तमान समयको नैतिक मनोवृत्तिको ठीक विपरीत हुन्छ। अविवाहित पुरुष र स्त्रीबीच यौनसम्बन्ध वा समलिंगी कार्य र पशुगमनलाई बाइबलले निन्दा गरेको छ। (प्रस्थान २२:१९; एफिसी ५:३-५) त्यस्ता यौन प्रचलनहरूको कारण परमेश्वरले सदोम र गमोरालाई नाश गर्नुभयो।—उत्पत्ति १३:१३; १८:२०; १९:४, ५, २४, २५.
समलैंगिकताबारे परमेश्वरको वचनले सोझै यसो भन्छ: “त्यो घृणित कार्य हो।” (लेवी १८:२२) परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थामा स्पष्टसित यसो भनिएको थियो: “कुनै मान्छेले स्त्रीसँग सहवास गरेझैं पुरुषसित गऱ्यो भने त्यो घृणित काम हो। तिनीहरूलाई मार्नैपर्छ।” (लेवी २०:१३) पशुगमन, हाडनाताकरनी र व्यभिचार गर्नेहरूलाई पनि यस्तै सजाय उल्लेख गरिएको थियो।—लेवी २०:१०-१२, १४-१७.
समलिंगी कार्य “नीच अभिलाषा” र “अस्वाभाविक” हो भनी प्रेरित पावलले प्रेरणाद्वारा लेखे। तिनी यस्तो लेख्छन्: “यसैकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका नीच अभिलाषाको निम्ति छोड़िदिनुभयो, किनभने तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविकमा परिवर्त्तन गरे, र त्यसरीनै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर कामुकतामा एक दोस्रोतिर जलेर पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नो कसूरको उचित दण्ड पाए। तिनीहरूले परमेश्वरलाई चिन्ने इच्छा नगरेका हुनाले यसरी अनुचित काम गरून् भनेर परमेश्वरले तिनीहरूलाई बेकम्मा मनका तुल्याएर छोड़िदिनुभयो।”—रोमी १:२६-२८.
धर्मशास्त्रले यस सन्दर्भमा कुनै बहाना, छुट दिएको वा अस्पष्ट धारणा व्यक्त गरेको छैन। परमेश्वरको नजरमा समलैंगिकता, व्यभिचार, करनी सबै घीनलाग्दो कुराहरू हुन्। त्यसैकारण साँचो मसीहीहरू आधुनिक समाजमा बढी लोकप्रिय वा स्वीकार्य हुन “नीच अभिलाषाहरू[बारे]” बाइबलले लिएको अडानलाई फितलो बनाउँदैनन्। नता समलैंगिकतालाई सामान्य जीवनशैलीको रूपमा बढावा दिने गतिविधिहरूको नै समर्थन गर्छन्।
“खराबीलाई घृणा गर”
बाइबल यस्तो सल्लाह दिन्छ: “हे परमप्रभु[लाई] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजन ९७:१०) यसर्थ, यहोवाका नियमहरू भंग हुने सबै प्रचलनहरूलाई मसीहीहरूले घृणा गर्नु आवश्यक छ। कोही कोही मानिसहरूले अन्य प्रकारका अनैतिकताहरूभन्दा समलैंगिकतालाई अस्वाभाविक यौन विकृति ठानेर बढी घृणा गर्लान्। तथापि, के मसीहीहरूले त्यस्ता कामहरू गर्ने व्यक्तिहरूलाई घृणा गर्नुपर्छ?
यस विषयमा भजनरचयिता भजन १३९:२१, २२ मा यसरी प्रकाश पार्छन्: “हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा नगरूँ? र तपाईंका विरुद्धमा उठ्नेहरूलाई के म तुच्छ न ठानूँ? म तिनीहरूलाई औधी घृणा गर्छु, म तिनीहरूलाई मेरा शत्रुनै ठान्छु।” यहोवा र उहाँका सिद्धान्तहरूप्रतिको हाम्रो निष्ठाले गर्दा जानाजानी यहोवाको विद्रोह गर्ने तथा परमेश्वरका शत्रुहरू हुने व्यक्तिहरू हामीलाई पटक्कै मन नपर्नुपर्ने हो। निस्सन्देह, शैतान र त्यसका दूतहरू परमेश्वरका त्यस्ता शत्रु हुन्। सम्भवतः कोही कोही मानिसहरू पनि त्यो वर्गमा पर्छन्। यद्यपि, मसीहीहरूलाई ती शत्रुहरू चिन्न सजिलो छैन। मानिसहरूको हृदयमा के छ, त्यो हामी जान्दैनौं। (यर्मिया १७:९, १०) कोही व्यक्तिले खराब काम गरिरहेको छ भन्दैमा उ परमेश्वरको शत्रु हो र कुनै हालतमा पनि सुध्रनेछैन भन्ने अनुमान लगाउनु मिल्दैन। खराब काम गर्ने प्रायजसो व्यक्तिहरूलाई परमेश्वरका स्तरहरू के हुन्, त्यो थाहै हुँदैन।
यसर्थ, साधारणतया भन्ने हो भने मसीहीहरू आफ्ना सँगी मानवहरूलाई हतपत घृणा गरिहाल्दैनन्। कुनै जीवनशैली आफूलाई पटक्कै मन पर्दैन भने पनि अरूलाई हानि पुऱ्याउन खोज्दैनन् र तिनीहरूप्रति द्वेष वा इबी राख्दैनन्। बरु, बाइबलले मसीहीहरूलाई “सबै मानिसहरूसँग शान्तिमा रहो” भन्ने सल्लाह दिन्छ।—रोमी १२:९, १७-१९.
“परमेश्वरले . . . पक्षपात गर्नुहुन्न”
जस्तोसुकै प्रकारको अनैतिकतामा संलग्न भइरहेको किन नहोस्, साँचो पश्चात्ताप गरेको खण्डमा यहोवाले त्यस्तो व्यक्तिलाई क्षमा गर्नुहुनेछ। परमेश्वरले एक प्रकारको अनैतिकतालाई अर्कोभन्दा बढी खराब ठान्नुहुन्छ भन्ने कुनै प्रमाण छैन। “परमेश्वरले . . . पक्षपात गर्नुहुन्न।” (प्रेरित १०:३४, ३५) उदाहरणका लागि, प्रथम शताब्दीको कोरिन्थी मण्डलीलाई लिनुहोस्। प्रेरित पावलले तिनीहरूलाई यसप्रकार लेखे: “व्यभिचारीहरू, मूत्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन।” त्यसपछि पावलले करनी, व्यभिचार, समलैंगिकता, चोरी इत्यादि गर्नेहरू कोरिन्थको मसीही मण्डलीमा स्वीकार गरिएको कुरा मानी लिए। तिनले यसो भने: “तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.
निस्सन्देह, यहोवाका सिद्ध नैतिक स्तरहरू जानाजानी भंग गरिरहेको उहाँले सहनुहुनेछैन। अट्टेरी भएर उहाँका सिद्धान्तहरूको अवहेलना गर्नेलाई उहाँ अवश्य घृणा गर्नुहुन्छ। तथापि, उहाँले पुनर्मिलनको ढोका खुला छोड्नुभएको छ। (भजन ८६:५; यशैया ५५:७) यसअनुरूप, मसीहीहरू समलिंगी वा अरू कसैलाई अमित्रैलो व्यवहार, उपहास वा हैरान गर्दैनन्। साँचो मसीहीहरू आफ्ना सँगी मानवहरूलाई ख्रीष्टको सम्भाव्य चेलाहरू ठान्छन् र तिनीहरूसित आदरणीय तथा मर्यादापूर्ण व्यवहार गर्छन्। बाइबल यसो भन्छ: “हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।”— १ तिमोथी २:३, ४.
पश्चात्तापीहरूलाई मसीहीहरू स्वागत गर्छन्
यहोवाले क्षमा गर्नुहुन्छ भनेर बाइबलले बारम्बार बताउँदै आएको छ। उहाँ “क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही, धीरजी र दृढ़ प्रेमले पूर्ण हुनुहुन्छ” भनेर बाइबल वर्णन गर्छ। (नहेम्याह ९:१७; इजकिएल ३३:११; २ पत्रुस ३:९) साथै, बाइबलले उहाँलाई येशूले बताउनुभएको उडन्ता पुत्रको उखानको बुबासित तुलना गरेको छ। त्यस उडन्ता पुत्रले परदेश गएर आफ्नो भएभरको धनसम्पत्ति स्वाहा पारेको थियो। पछि उसको होस फर्क्यो अनि पश्चात्ताप गरेर घर फर्कंदा बुबाले खुला हृदयले स्वागत गरे।—लूका १५:११-२४.
हो, गलत काम गर्ने व्यक्ति पनि सुध्रनसक्छ। यो कुरालाई मानिलिंदै धर्मशास्त्रले पुरानो मानिसलाई त्यागेर ‘मनको आत्मामा नयाँ’ हुने प्रोत्साहन दिन्छ। (एफिसी ४:२२-२४) समलिंगीलगायत अन्य खराब कार्यमा संलग्न व्यक्तिहरूले आफ्नो सोचाइ तथा आचरणमा आमूल परिवर्तन ल्याउनसक्छन् र यसो गर्न थुप्रै सफल पनि भएका छन्।a येशूले यस्ताहरूलाई प्रचार गर्नुभयो र पश्चात्ताप गरेपछि तिनीहरूलाई पनि ग्रहण गर्नुभयो।—मत्ती २१:३१, ३२.
मसीहीहरूले विविध पृष्ठभूमिका पश्चात्तापीहरूलाई स्वागत गर्छन्। पुरानो अनैतिक आचरण जस्तोसुकै किन नहोस् तर ती त्यागिसकेपछि सबैले परमेश्वरबाट क्षमा पाउनसक्छन् किनभने “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्।”—भजन १४५:९.
मसीहीहरू समलिंगी झुकाउसित संघर्ष गरिरहेका व्यक्तिहरूलाई समेत आवश्यक आध्यात्मिक सहयोग दिन इच्छुक छन्। यो परमेश्वरको प्रेमको अभिव्यक्तिअनुरूप छ किनभने बाइबल यसो भन्छ: “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”—रोमी ५:८.
[फुटनोट]
a अप्रिल-जून १९९५ को ब्यूँझनुहोस्!-मा “यी अनुभूतिहरूलाई म कसरी हटाउन सक्छु?” लेख हेर्नुहोस्।
[पृष्ठ १७-मा भएको चित्र]
समलैंगिकताप्रति बाइबलको दृष्टिकोणलाई मसीहीहरू फितलो बनाउँदैनन्
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
Punch