यहोवालाई दोष लाउनु मिल्दैन
“जसरी बाबुले आफ्नो छोरा-छोरीहरूलाई टिठाउँछन्, त्यसरी नै उहाँसङ्ग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।”—भजनसंग्रह १०३:१३, १४.
१, २. अब्राहाम को थिए र तिनको भानिज लूत सदोम जस्तो दुष्ट शहरमा बसोबास गर्न कसरी पुगे?
हाम्रा आफ्नै गल्तीहरूले गर्दा हामीले कठिनाइहरू अनुभव गर्नु परेकोमा यहोवा जिम्मेवार हुनु हुन्न। यस सम्बन्धमा करिब ३,९०० वर्षअघि के भयो, सो विचार गर्नुहोस्। परमेश्वरका मित्र अब्राहाम (अब्राम) र तिनका भानिज लूत अति नै धन-सम्पन्न भएका थिए। (याकूब २:२३) भनौं भने, तिनीहरूका सर-सामान र गाई-वस्तुहरू यति थुप्रै थिए कि ‘तिनीहरू दुवैजना साथसाथै रहनलाई प्रशस्त ठाउँ भएन।’ यस बाहेक, यी दुई मानिसहरूका गोठालाहरू बीच झगडा उत्पन्न भयो। (उत्पत्ति १३:५-७) यसबारे के गर्न सकिन्थ्यो?
२ झगडा टुङ्ग्याउनलाई अब्राहामले छुट्टिने सुझाव प्रस्तुत गरे, र तिनले लूतलाई ठाउँ छान्ने प्रथम मौका दिए। ती दुई जनाबीच अब्राहाम उमेरमा पाको हुनाकारण, तिनलाई पो तिनका भानिजले सबैभन्दा राम्रो ठाउँ छान्ने प्रथम मौका दिनु उचित हुने थियो। तर सबैभन्दा रहरलाग्दो इलाका—अर्थात् प्रशस्त पानी भएको तल्लो यर्दनको जिल्ला—लूतले छाने। तथापि, त्यस ठाउँको बाहिरी रूप भ्रमात्मक थियो। त्यसको नजिकै सदोम र गमोराका अनैतिक र पतित शहरहरू थिए। अन्ततोगत्वाः लूत र तिनको परिवार सदोममै बस्न गए र यसो गर्नु तिनीहरूको आध्यात्मिकताका लागि खतरनाक साबित भयो। यसको अलावा, राजा कदोर्लाओमेर र तिनका सङ्गीहरूले सदोमको शासकलाई पराजित गर्दा, लूत र तिनको परिवार पनि कैदी बनाएर लगिए। तिनीहरूलाई अब्राहाम र तिनका मानिसहरूले छुट्टाएर ल्याउन, त ल्याए तर लूत र तिनको परिवार सदोम नै फर्के।—उत्पत्ति १३:८-१३; १४:४-१६.
३, ४. सदोम अनि गमोरालाई परमेश्वरले नष्ट गर्नु हुँदा, लूत र तिनका परिवारका सदस्यहरूलाई के भयो?
३ सदोम र गमोराको लैङ्गिक भ्रष्टता र नैतिक पतनको कारण, यहोवाले ती शहरहरूलाई नष्ट पारिदिने फैसला गर्नु भयो। उहाँले दयापूर्वक दुई जना स्वर्गदूतहरू पठाउनु भएर, लूत, तिनकी पत्नी, र तिनीहरूका दुइटी छोरीहरूलाई सदोमबाट बाहिर निकाल्नु भयो। तिनीहरूले पछाडि फर्केर हेर्नु थिएन, तर सायद त्यहाँ छोडेर आउनु परेका भौतिक सर-सामानहरू प्रति तृष्णा व्यक्त गर्दै लूतकी पत्नीले चाहिं फर्केर हेरिन्। त्यति नै खेर, तिनी नूनको एउटा खामा भइन्।—उत्पत्ति १९:१-२६.
४ लूत र तिनकी छोरीहरूले कति ठूलो खति सहनु पऱ्यो! जुन मानिसहरू सित तिनीहरूको विवाह हुन लागेको थियो, तिनीहरूलाई ती केटीहरूले छाडेर हिंडनु पऱ्यो। लूतले आफ्नो भौतिक धन मात्र होइन, आफ्नी पत्नी समेत गुमाए। अन्तमा, तिनी आफ्नी छोरीहरू सित एउटा गुफामा बस्न बाध्य भए। (उत्पत्ति १९:३०-३८) तिनको नजरमा त्यति राम्रो देखिएको कुरा त्यसको ठीक विपरीत साबित भयो। प्रत्यक्षतः तिनले केही गम्भीर गल्तीहरू गरे तापनि, पछि तिनलाई “धार्मिक लूत” नै भनेर सम्बोधन गरिएको छ। (२ पत्रुस २:७, ८) र लूतका गल्तीहरूका लागि निश्चय पनि यहोवालाई दोष दिन सकिन्दैन थियो।
“भूलहरू—कसले सम्झनुसक्छ?”
५. गल्तीहरू र अघि-अघि लम्केर मनमानी गर्ने विषयमा दाऊदको विचार के थियो?
५ असिद्ध र पापी भएको हुनाकारण, हामी सबैले नै गल्तीहरू गर्दछौं। (रोमी ५:१२; याकूब ३:२) लूत जस्तै हामी पनि बाहिरी रूप देखेर भ्रममा पर्न सक्छौं र गलत फैसलाहरू गर्न सक्छौं। अतः भजन रचयिता दाऊदले यो बिन्ती गरे: “आफ्ना भूलहरू कसले सम्झनसक्छ? गुप्त दोषहरूबाट मलाई शुद्ध पार्नुहोस्। अहङ्कारको पापबाट आफ्नो दासलाई हटाउनुहोस्। तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्, तब म सिद्ध हुँला, र म ठूलो अपराधबाट निर्दोष हुँला।” (भजनसंग्रह १९:१२, १३) दाऊदलाई थाह थियो कि तिनले अन्जानमा पनि पापहरू गर्न सक्थे। यसैकारण, आफूबाट लुकेर बसेका अपराधहरूका लागि पनि क्षमा पाउँ भनेर तिनले बिन्ती गरे। आफ्नो असिद्ध शरीरको वशमा परेर गम्भीर गल्ती गर्दा, तिनले यहोवाको मद्दतको उत्कट खोजी गरे। अघिअघि लम्केर आफ्नो मनमानी गर्न देखि परमेश्वरले तिनलाई रोकेको तिनी चाहन्थे। अघि-अघि लम्केर मनमानी गर्ने मनोवृत्ति बसाल्न दाऊद चाहदैन थिए। यसको सट्टा तिनले सम्पूर्णतया यहोवा परमेश्वरको भक्ति गर्ने इच्छा गरे।
६. भजनसंग्रह १०३:१०-१४-बाट के सान्त्वना पाउन सकिन्छ?
६ हामी यहोवाका वर्तमान समर्पित सेवकहरू पनि असिद्ध छौं र गल्तीहरू गर्दछौं। लूतले झैं, हामीले पनि आफू बस्नका लागि गलत ठाउँ रोज्न सक्छौं। सायद, अझ बढी मात्रामा परमेश्वरको पवित्र सेवा गर्ने मौकालाई हामीले हातबाट जान दिन्छौं। यहोवाले यस प्रकारका गल्तीहरू देख्नु भए तापनि धार्मिकताप्रति ढल्केको हृदय हुनेहरूलाई उहाँ चिन्नु हुन्छ। हामीबाट गम्भीर पाप भयो भने पनि, हामीले पश्चाताप गर्यौं भने यहोवाले हामीलाई क्षमा गर्नुहुन्छ, सहायता दिनु हुन्छ र हामीलाई ईश्वरभक्त व्यक्ति ठान्न छाडनु हुन्न। “उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नु भएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ,” भनेर दाऊदले घोषणा गरे। “किनकि पृथ्वीबाट स्वर्ग जति अल्गो छ। उहाँसङ्ग डराउनेहरूमाथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्, त्यसरीनै उहाँसङ्ग डराउनेहरूलाई परमप्रभुले टिठाउँनुहुन्छ। किनभने उहाँ हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजनसंग्रह १०३:१०-१४) स्वर्गमा हुनु हुने हाम्रा दयावन्त पिताले हामीलाई हाम्रा गल्तीहरू सुधार्ने मद्दत पनि दिन सक्नु हुन्छ र उहाँको प्रशंसाका लागि हाम्रो पवित्र सेवा बढाउने अझ अर्को मौका हामीलाई प्रदान गर्न सक्नु हुन्छ।
परमेश्वरलाई दोषी ठहराउने गल्ती
७. हामी विपत्तिहरू किन भोग्दछौं?
७ नराम्रा कुराहरू आइपर्दा, त्यसका लागि कसैलाई अथवा कुनै कुरालाई दोष दिनु एउटा मानवीय प्रवृत्ति हो। कसै-कसैले त परमेश्वरलाई समेत दोष दिन्छन्। तर यहोवाले मानिसहरू माथि यस प्रकारका कठिनाइहरू ल्याउनु हुँदैन। उहाँले हानिकारक कार्यहरू होइन, असल कार्यहरू गर्नु हुन्छ। उहाँले “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनु हुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ”! (मत्ती ५:४५) स्वार्थपूर्ण सिद्धान्तहरू अनुसार सञ्चालित र शैतान अथवा दियाबलको वशमा परेको संसारमा हामी बसेका छौं र यो नै हामीले विपत्तिहरू भोग्नु पर्ने एउटा मुख्य कारण हो।—१ यूहन्ना ५:१९.
८. आफ्नो जीवनमा गडबडी मच्दा आदमले के गरे?
८ हाम्रा गल्तीहरूले गर्दा हामीमाथि आइपर्ने कठिनाइहरूका लागि यहोवा परमेश्वरलाई दोष दिनु मूर्खतापूर्ण मात्र होइन, खतरनाक पनि हुन सक्छ। यसो गर्यौं भने हामीले आफ्नो जीवन समेत गुमाउन सक्छौं। आफूले पाएका सबै असल थोकहरूका लागि प्रथम पुरुष आदमले परमेश्वरलाई श्रेय दिनु थियो। हो, जीवनका साथसाथै अदनको बगैंचामा एउटा प्रमोदवन रूपी घरमा आनन्दपूर्वक बस्न पाएकोमा तिनी यहोवा प्रति अति नै कृतज्ञ हुनु पर्ने थियो। (उत्पत्ति २:७-९) तर आदमले यहोवाको आज्ञा उल्लङ्घन गर्दै निषेध गरिएको फल खाएपछि त्यहाँ गडबडी मच्चियो। यस्तो हुँदा आदमले के गरे? आदमले यसप्रकार परमेश्वरसित शिकायत गरे: “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” (उत्पत्ति २:१५-१७; ३:१-१२) निश्चय पनि आदमले झैं हामीले यहोवालाई दोष दिनु हुँदैन।
९. (क) आफ्नै मूर्ख कार्यहरूको कारण कठिनाइहरूको सामना गर्नु पर्दा, हामीले कुन कुराबाट सान्त्वना पाउन सक्तछौं? (ख) हितोपदेश १९:३ अनुसार, कुनै कुनै व्यक्तिहरूले आफैमाथि आपत्विपत् ल्याउने गर्दा के गर्ने गर्छन्?
९ हाम्रै मूर्ख कदमहरूको कारण हामीले कठिनाइहरूको सामना गर्नु पर्दा यहोवाले हाम्रा कमजोरीहरू हामी आफैले भन्दा पनि राम्ररी बुझ्नु हुन्छ र हामीले उहाँलाई सम्पूर्ण भक्ति दिने गर्यौं भने उहाँले हामीलाई हाम्रो सङ्कटकालीन अवस्थाबाट छुटकारा दिनु हुन्छ। यसबाट हामीले सान्त्वना लिन सक्छौं। हामीले पाएको ईश्वरीय सहायताको मूल्याङ्कन गर्नु पर्दछ र आफूमाथि हामी स्वयंले ल्याएको अप्ठ्यारो स्थितिहरू र आपत्विपत्का लागि परमेश्वरलाई कहिले दोष दिनु हुँदैन। यस विषयमा एउटा बुद्धिपूर्ण हितोपदेशले यसो भन्दछ: “मानिसको आफ्नै मूर्खताले आफ्नो जीवन नाश गर्छ, त्यसपछि त्यसले परमप्रभुको विरुद्धमा असन्तोष प्रकट गर्छ।” (हितोपदेश १९:३) यसै कुरालाई एउटा अर्को अनुवादले यसरी प्रस्तुत गरेको छ: “केही मानिसहरू आफ्नै मूर्ख कार्यहरू द्वारा आफूलाई बरबाद गर्छन् र त्यसपछि प्रभुलाई दोष लाउँछन्।” (टुडेज इङ्गलिश भर्सन्) एउटा अर्को अनुवाद भन्छ: “मानिसको अज्ञानताले तिनका गतिविधिहरूमा गडबडी उत्पन्न गर्दछ र त्यस पछि तिनी यहोवाको विरुद्धमा जाइलाग्छन्।”—बायिङ्गटन.
१०. आदमको मूर्खताले ‘तिनको जीवन नाश’ कसरी भयो?
१० यसै सिद्धान्तलाई प्रयोगमा ल्याउँदा, हामी देख्तछौं कि आदमको स्वार्थपूर्ण कार्य र मूर्ख सोचाइले गर्दा ‘तिनको जीवन नाश’ भयो। तिनको हृदय यहोवा परमेश्वरबाट टाढा हटेर गयो, र तिनी आफ्नै स्वार्थी र स्वतन्त्र मार्गमा हिंड्ने गरे। भनौं भने, आदम यहाँसम्म बैगुनी भए कि तिनले आफ्ना सृष्टिकर्तालाई दोष दिए र परमप्रधान कै शत्रु हुन पुगे! आदमको पापले आफैलाई र आफ्नो परिवारलाई बरबादीको मार्गतिर लग्यो। यसमा हामी सबैका लागि एउटा ठूलो चेताउनी छ! नराम्रो परिस्थितिहरूका लागि यहोवालाई दोष लाउनेहरूले आफूलाई यो सोध्नु असल हुने छ: जुन जुन असल कुराहरू बाट मैले आनन्द उठाउँछु, के तिनीहरूका लागि मैले परमेश्वरलाई श्रेय दिने गर्छु? उहाँको एक जना सृष्टिको हैसियतमा मैले जीवन पाएकोमा के म कृतज्ञ छु? सम्भवतः मेरा आफ्नै गल्तीहरूको कारण ममाथि कठिनाइहरू आइपरेका हुन् कि? उहाँको प्रेरित वचन बाइबलमा उल्लिखित उहाँको निर्देशनको अनुसरण गरेको हुनाले के म यहोवाबाट अनुग्रह अथवा सहायता पाउने योग्यको छु?
यहोवाका सेवकहरूका लागि पनि खतरा
११. प्रथम शताब्दीका यहूदी धर्म-गुरुहरू परमेश्वर प्रति कुन कुराका लागि दोषी थिए?
११ सामान्य युग प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूले परमेश्वरको सेवा गर्ने दाबी गर्द थिए तर तिनीहरूले उहाँको सत्य वचनको अवहेलना गर्दै आफ्नै समझमा भरोसा गरे। (मत्ती १५:८, ९) येशू ख्रीष्टले तिनीहरूको गलत सोचाइको पर्दाफास गरी दिनु भएको हुनाकारण, तिनीहरूले उहाँको हत्या गरे। पछि, उहाँका चेलाहरू प्रति पनि तिनीहरूले ठूलो क्रोध व्यक्त गरे। (प्रेरित ७:५४-६०) ती मानिसहरूको सोचाइ यति बाङ्गो थियो कि तिनीहरू वास्तवमा स्वयं यहोवा कै विरुद्धमा क्रोधित भए।—प्रेरित ५:३४, ३८, ३९-सित तुलना गर्नु होस्।
१२. मसीही मण्डलीसित सम्बन्धित कुनै कुनै व्यक्तिहरूले पनि आफूमाथि आइपर्ने आपत्विपत्का लागि यहोवालाई दोषी ठान्छन् भन्ने कुरा कुन कुन उदाहरणहरू बाट देख्न सकिन्छ?
१२ मसीही मण्डली भित्रका केही व्यक्तिहरूले पनि खतरनाक सोचाइको विकास गरेका छन्। आफूले सामना गर्नु परेका आपत्विपत्हरूका लागि तिनीहरूले परमेश्वरलाई दोषी ठहराउने कोशिश गर्छन्। उदाहरणका लागि, कुनै एउटा मण्डलीका नियुक्त प्राचीनहरूले एक जना जवान विवाहित स्त्रीलाई एउटा सांसारिक व्यक्तिसित सङ्गत नगर्नु भनेर दृढताका साथ दयापूर्ण तर शास्त्रमा आधारित सल्लाह दिनु आवश्यक देखे। तर तिनीसङ्गको छलफलको दौडानमा, त्यो लोग्ने मानिससङ्ग लगातार सङ्गत गर्नाले उठेको परीक्षाको मुकाबिला गर्न सक्ने शक्ति नपाएकोमा तिनले परमेश्वरलाई नै दोष लगाइन्। तिनी वास्तवमा परमेश्वरसित नै रिसाएकी छिन् भनी तिनले मुखैले भनिन्! तिनीसित बारम्बार शास्त्रमा आधारित छलफल गर्ने प्रयास सबै व्यर्थ साबित भयो र पछि गएर, तिनको अनैतिक गतिविधिले गर्दा तिनलाई मसीही मण्डलीबाट बहिष्कार गर्नु पऱ्यो।
१३. शिकायत गर्ने मनोवृत्तिबाट किन अलग बस्नु?
१३ शिकायत गरिरहने मनोवृत्ति हुने व्यक्तिले अन्तमा गएर यहोवालाई दोष लगाउन सक्छ। प्रथम शताब्दीको मण्डली भित्र सुटुक्क पसेका केही “अधर्मी मानिसहरूमा” पनि यस्तै खराब मनोवृत्तिका साथसाथै आत्मिक तवर्मा अरू भ्रष्ट सोचाइ पनि थियो। चेला यहूदाले भने झैं, ती मानिसहरूले “हाम्रा परमेश्वरको अनुग्रहलाई लुच्चयाइँमा फिराएर हाम्रा अद्वितीय स्वामी र प्रभु, येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।” यहूदाले यसो पनि भने: “फतफताउनेहरू, आफ्नै भाग्यलाई दोष लाउनेहरू . . . यिनै हुन्।” (यहूदा ३, ४, १६) मूल्याङ्कन गर्न सक्ने मनोवृत्ति आफूमा होस् भनेर यहोवाका वफादार सेवकहरूले बुद्धिमानीका साथ प्रार्थना गर्ने छन्। शिकायत गर्ने मनोवृत्तिको कारण अन्ततोगत्वा तिनीहरूले परमेश्वरमाथि आफ्नो विश्वास गुमाउन र उहाँसितको आफ्नो सम्बन्ध खतरामा पार्न सक्छन्।
१४. एक जना सङ्गी मसीहीले हाम्रो चित्त दुखाएको खण्डमा के प्रतिक्रिया व्यक्त गर्न सकिन्छ, तर यसो गर्नु किन उचित होइन?
१४ यस्तो कुरा तपाईंलाई हुने छैन भनी सायद तपाईं ठान्नु होला। तापनि, हाम्रो आफ्नै अथवा अरूहरूको गल्तीको कारण हुने गडबडीले गर्दा हामी परमेश्वरलाई दोष लाउन सक्छौं। उदाहरणका लागि, विश्वासमा भएका एक जना सङ्गीले भनेको अथवा गरेको कुराले कुनै व्यक्तिको चित्त दुखाएको हुन सक्छ। चित्त दुखेको व्यक्तिले धेरै वर्षदेखिन् यहोवाको सेवा गर्दै आएको भए तापनि तिनले अब यसो भन्न सक्छन्: ‘त्यो व्यक्ति मण्डलीमा रह्यो भने, म सभाहरूमा जाने छैन।’ अथवा कुनै एक जना व्यक्ति यति साह्रो रिसाउलान् कि तिनले हृदयमा यसो भन्न सक्छन्: ‘यहाँ यस्तै हुने हो भने, म मण्डलीमा सम्मिलित हुन चाहन्न।’ तर के एक जना मसीहीमा यस प्रकारको विचार हुनु उचित हो र? परमेश्वरको नजरमा ग्रहणयोग्य भएर वफादारीका साथ सेवा गरिरहेका मानिसहरूको सम्पूर्ण मण्डलीमाथि एक जना असिद्ध मानवसितको रीस किन पोखाउने? यहोवालाई आफ्नो जीवन समर्पण गरेको कुनै पनि मानिसले ईश्वरीय इच्छा गर्न बन्द गर्दै परमेश्वरमाथि आफ्नो रिस किन पोखाउने? एउटा व्यक्ति अथवा केही परिस्थितिहरूको कारण यहोवासितको आफ्नो राम्रो सम्बन्ध बिगार्नु कतिको बुद्धिमानीको कुरा हो? जुनसुकै कारण भए तापनि, यहोवा परमेश्वरको उपासना गर्न बन्द गर्नु पापपूर्ण र मूर्ख कुरा हुने छ।—याकूब ४:१७.
१५, १६. डियोत्रिफस कुन कुराको दोषी थियो, तर गायसले भने कुन प्रकारको व्यवहार कायम राखे?
१५ मायालु मसीही गायस जुन मण्डलीमा थिए, कल्पना गर्नुहोस् तपाईं पनि त्यही मण्डलीमा हुनु हुन्थ्यो। तिनले बाहिरबाट आउने सङ्गी उपासकहरू, वा अपरिचित व्यक्तिहरू प्रति आतिथ्य देखाएर “विश्वास योग्यको काम” गरिरहेका थिए! तर त्यसै मण्डलीमा डियोत्रिफस भन्ने एक जना घमण्डी मान्छे थियो। उसले येशूको एक जना प्रेरित वा यूहन्नाबाट कुनै कुरापनि आदरका साथ स्वीकार गर्दैन थियो। वास्तवमा डियोत्रिफसले यूहन्नाबारे दुष्ट कुराहरू गर्दै हिंडथ्यो। ती प्रेरितले भने: “औ त्यतिले पनि सन्तोष नभएर भाइहरूलाई पनि ग्रहण नगरी, ग्रहण गर्ने इच्छा गर्नेहरूलाई पनि रोकेर मण्डलीबाट निकालिदिन” खोज्दछ।—३ यूहन्ना १, ५-१०.
१६ यूहन्ना त्यस मण्डलीमा आउँदा, डियोत्रिफसले गरेका कुराहरूको सम्झना गराउने तिनले विचार गरे। तर यस बीच, मण्डलीमा अतिथि सत्कार गर्ने गायस र अन्य मसीहीहरूले के कस्तो प्रतिक्रिया व्यक्त गरे? ‘डियोत्रिफस मण्डलीमा होउञ्जेल म त्यहाँ सामेल हुन चाहन्न। मलाई तपाईंले सभाहरूमा अब देख्नु हुने छैन’ भनेर तिनीहरू मध्ये कसैले पनि भनेको सङ्केत हामी शास्त्रमा पाउँदैनौं। निःसन्देह गायस र तिनी जस्तै अरूहरू दृढ् भएर बसे। ईश्वरीय इच्छा गर्नबाट तिनीहरूलाई कुनै कुराले पनि रोक्न सकेन र तिनीहरू यहोवासित पटक्कै रिसाएनन्। तिनीहरूले यहोवाप्रति अविश्वास व्यक्त गर्दै परमेश्वरलाई दोष दिएका भए, शैतान निश्चय नै रमाउने थियो। तर तिनीहरू शैतान अथवा दियाबलका जालमा फस्दै फसेनन्।—एफिसी ६:१०-१८.
यहोवाको विरुद्धमा कहिले क्रोधित नहुनु होस्!
१७. कुनै व्यक्तिले गर्दा अथवा परिस्थितिवश हामी अप्रसन्न अथवा दुःखी भयौं भने कस्तो व्यवहार गर्नु उचित होला?
१७ मण्डलीका कुनै व्यक्तिले गर्दा अथवा परिस्थितिवश, परमेश्वरको एक जना सेवक अप्रसन्न हुन अथवा मन दुखाउन सक्छन्। तर मन दुखेको व्यक्तिले यहोवाका जनहरू सित सङ्गत गर्न छाडे भने, तिनले वास्तवमा गलत मार्ग अपनाएको हुने छ। यसो गर्ने व्यक्तिले आफ्नो समझशक्तिको उचित प्रयोग गरेको हुने छैन। (हिब्रू ५:१४) अतः, आफ्नो सम्पूर्ण निष्ठा कायम राख्ने व्यक्तिको हैसियतमा सबै आपत्तिहरूको सामना गर्ने फैसला गर्नुहोस्। यहोवा परमेश्वर, येशू ख्रीष्ट र मसीही मण्डलीप्रति आफ्नो वफादारी कायम राख्नु होस्। (हिब्रू १०:२४, २५) अनन्त जीवनतर्फ लैजाने सत्य अरू कतै पनि पाउन सकिन्दैन।
१८. ईश्वरले गर्नु हुने सबै कुरा हामीले सधैं बुझ्न नसके तापनि, यहोवाबारे हामी कुन विषयमा निश्चित हुन सक्छौं?
१८ साथै, गलत कुराहरूको प्रयोगद्वारा यहोवाले कसैलाई पनि जाँच गर्नु हुँदैन भन्ने कुरा सम्झी राख्नु होस्। (याकूब १:१३) परमेश्वर प्रेमको साक्षात् प्रतिरूप हुनु हुन्छ। यसकारण उहाँले, विशेषगरी, उहाँलाई प्रेम गर्नेहरूका लागि, असल नै गर्नु हुन्छ। (१ यूहन्ना ४:८) ईश्वरले गर्नु हुने कुराहरूलाई हामीले सधैं बुझ्न नसके तापनि, आफ्ना सेवकहरूका लागि सबैभन्दा उत्तम कुरा के हो, सो गरिदिन यहोवा परमेश्वर कहिले असमर्थ हुनु हुने छैन भनी हामी विश्वस्त हुन सक्छौं। पत्रुसले भने झैं: “यसकारण परमेश्वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नु हुने छ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:६, ७) हो, यहोवाले उहाँका जनहरूको साँच्चै नै वास्ता गर्नुहुन्छ।—भजनसंग्रह ९४:१४.
१९, २०. हाम्रा परीक्षाहरूको कारण हामी कहिलकाहीं निराश भयौं भने पनि, हामीले के गरी नै रहनु पर्दछ?
१९ यसकारण, कुनै व्यक्ति अथवा कुनै चीजलाई तपाईंको निम्ति ठोकरको कारण हुन नदिनु होस्। भजन रचयिताले यति राम्ररी यसो भनेका छन्: “तपाईंको [यहोवा परमेश्वरको] व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भजनसंग्रह ११९:१६५) हामी सबैले नै परीक्षाहरू अनुभव गर्दछौं, र यसले गर्दा हामी कुनै कुनै बेला निराश अथवा निरुत्साहित पनि हुन सक्छौं। तर हृदयमा कहिले पनि, विशेष गरी यहोवाप्रति, रुष्ट नहुनु होस्। (हितोपदेश ४:२३) तपाईंले समाधान गर्न सक्नु हुने समस्याहरूलाई उहाँको सहायता र शास्त्रमा आधारित ढङ्ग प्रयोग गर्दै सुल्झ्याउनु होस्। र हल नहुने समस्याहरू प्रति चाहिं धैर्य धारण गर्नुहोस्।—मत्ती १८:१५-१७; एफिसी ४:२६, २७.
२० आवेशमा आएर मूर्ख प्रतिक्रिया व्यक्त गर्दै कहिले पनि गलत मार्ग तिर नलाग्नु होस्। परमेश्वरको हृदयलाई आनन्दित तुल्याउने ढङ्गमा बोल्ने र व्यवहार गर्ने गर्नुहोस्। (हितोपदेश २७:११) हार्दिक प्रार्थना गर्दै यहोवालाई पुकार्नु होस्। तपाईं उहाँको एक जना सेवक हुनाकारण उहाँले तपाईंको साँच्चै नै वास्ता गर्नु हुन्छ र उहाँका जनहरू सित जीवनको मार्गमा रहनका निम्ति आवश्यक समझ शक्ति उहाँले तपाईंलाई दिनु हुने छ। (हितोपदेश ३:५, ६) तर मुख्य कुरा के हो भने, परमेश्वरको विरुद्धमा क्रोधित नहुनु होस्। आफूले चाहेको जस्तो नहुँदा, यसका लागि यहोवा दोषी हुनु हुन्न भनी सधैं याद राख्नु होस्। (w92 11/15)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ लूतले के गल्ती गरे, तर परमेश्वरको नजरमा तिनी कुन प्रकारका व्यक्ति थिए?
▫ गल्तीहरू र अघि-अघि लम्केर मनमानी गर्ने मनोवृत्तिबारे दाऊदको के विचार थियो?
▫ आफूले चाहे जस्तो नहुँदा, हामीले परमेश्वरलाई किन दोष लगाउनु हुँदैन?
▫ यहोवाको विरुद्धमा क्रोधित हुन नदिन हामीलाई के ले मद्दत दिने छ?
[पृष्ठ २२-मा भएको चित्र]
अब्राहामबाट अलग हुने बेलामा, लूतले आफू बस्नका लागि ठीक ठाउँ छानेनन्