परमेश्वरको राज्यले के हटाउनेछ?
“संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”—१ यूह. २:१७.
१, २. (क) यस संसारको अवस्था कुन अर्थमा मृत्युदण्ड पाउनै लागेको अपराधीको जस्तै छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) यो दुष्ट संसार विनाश गरिएपछि स्वर्ग र पृथ्वीमा भएकाहरूले कस्तो महसुस गर्नेछन्?
यो दृश्य कल्पना गर्नुहोस्। एक जना खुङ्खार अपराधीलाई मृत्युदण्ड दिन कालकोठरीबाट निकालिंदै छ। गार्डहरूले उसलाई मृत्युदण्ड दिने ठाउँमा लग्दै छन्। हुन त त्यो अपराधी हट्टाकट्टा देखिन्छ तर उसको मृत्यु निश्चित छ।
२ एक अर्थमा भन्ने हो भने यस संसारको अवस्था पनि मृत्युदण्ड पाउनै लागेको त्यस अपराधीको जस्तै छ। यस दुष्ट संसारको पनि फैसला भइसकेको छ र चाँडै यसको विनाश हुनेछ। बाइबल भन्छ: “संसार बितेर जाँदैछ।” (१ यूह. २:१७) यस संसारको विनाश निश्चित छ। तर त्यो अपराधीको मृत्यु र यस संसारको विनाशबीच एउटा ठूलो भिन्नता छ। अपराधीलाई मृत्युदण्ड दिइनै लाग्दा कसै-कसैले गलत फैसला सुनाइएको भन्दै त्यो खारेज हुने आशामा विरोध गर्न सक्छन्। तर यस संसारको विनाशको फैसला ब्रह्माण्डकै सार्वभौम शासक अनि निष्पक्ष न्यायाधीशले गर्नुभएको हो। (व्यव. ३२:४) त्यसैले यो फैसला कुनै हालतमा खारेज हुनेछैन न त यो फैसला अन्यायपूर्ण भयो भनेर कसैले शङ्का नै गर्न सक्छ। यो संसार विनाश गरिएपछि स्वर्ग र पृथ्वीमा भएका सबैले यहोवाको न्याय सही अनि निष्पक्ष थियो भनेर महसुस गर्नेछन्। त्यतिबेला सबैले चैनको सास फेर्नेछन्!
३. परमेश्वरको राज्यले हटाउने कुन चार वटा कुराबारे हामी छलफल गर्नेछौं?
३ ‘बितेर जाने यस संसारमा’ के-के समावेश छन्? यसमा ती खराब कुराहरू समावेश छन्, जुन आज मानिसहरूको जीवनको अभिन्न भाग बनिसक्यो। के यो दुःखद समाचार हो? होइन, यो हामीले सुनाउने ‘राज्यको सुसमाचारको’ एउटा महत्त्वपूर्ण पक्ष हो। (मत्ती २४:१४) यस लेखमा हामी परमेश्वरको राज्यले हटाउने यी चार वटा कुराबारे छलफल गर्नेछौं: दुष्ट मानिस, भ्रष्ट सङ्गठन, गलत कामकुरा र खराब अवस्था। यी चार वटा कुराबारे छलफल गर्दा निम्न प्रश्नहरूबारे विचार गर्नेछौं: (१) यसले अहिले हामीलाई कसरी असर गर्छ? (२) यहोवाले के गर्नुहुनेछ? र (३) उहाँले यी खराब कुराहरू हटाएर कस्ता राम्रा कुराहरू ल्याउनुहुनेछ?
दुष्ट मानिसहरू
४. दुष्ट मानिसहरूले अहिले हामीलाई कसरी असर गर्छन्?
४ दुष्ट मानिसहरूले अहिले हामीलाई कसरी असर गर्छन्? प्रेषित पावलले “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनेर भविष्यवाणी गरेपछि यस्तो लेखे: “दुष्ट र जाली मानिसहरू झन्-झन् खराब हुँदै जानेछन्।” (२ तिमो. ३:१-५, १३) के तपाईंले यो भविष्यवाणी पूरा भएको देख्नुभएको छ? डर-धम्की देखाउने, कुटपिट गर्ने, आफ्नो बाहेक अर्को जातीलाई घृणा गर्ने र आपराधिक क्रियाकलापमा संलग्न हुने मानिसहरूले हामीमध्ये धेरैजसोलाई दुःख दिएका छन्। कोही-कोही खुलेआम दुष्ट काम गर्दै हिंड्छन् भने कोहीचाहिं धर्मी भई टोपल्छन् तर भित्रभित्रै जाली काम गर्छन्। हुन त त्यस्ता दुष्ट मानिसहरूले हामीलाई सीधै असर गरेका छैनन् होला। तर तिनीहरूको कामले हामीलाई कुनै न कुनै तरिकामा असर गरिरहेको हुन्छ। तिनीहरूको क्रूरताबारे थाह पाउँदा हाम्रो मन भित्रभित्रै पोल्छ। केटाकेटी, वृद्धहरू अनि निस्सहाय मानिसहरूमाथि गरिएको निर्दयी व्यवहारबारे सुन्दा-देख्दा हाम्रो आङै सिरिङ्ङ हुन्छ। त्यस्ता दुष्ट मानिसहरू अमानवीय, पाशविक र सैतानी मनोभाव देखाउँछन्। (याकू. ३:१५) तर खुसीको कुरा, यस्ता नराम्रा कुराहरू हट्नेछन् र राम्रा कुराहरू आउनेछन् भन्ने आशा यहोवाको वचनले दिन्छ।
५. (क) दुष्ट मानिसहरूको लागि अझै कस्तो मौका छ? (ख) परिवर्तन हुन नचाहने दुष्ट मानिसहरूलाई के हुनेछ?
५ यहोवाले के गर्नुहुनेछ? यहोवाले अहिले दुष्ट मानिसहरूलाई परिवर्तन गर्ने मौका दिंदै हुनुहुन्छ। (यशै. ५५:७) उहाँले प्रत्येक दुष्ट व्यक्तिलाई न्यायदण्ड सुनाइसक्नुभएको छैन। तर यस दुष्ट संसारलाई भने न्यायदण्ड सुनाइसक्नुभएको छ। परिवर्तन हुन नचाहने अनि महासङ्कष्ट सुरु होउन्जेलसम्म पनि यस संसारलाई समर्थन गरिरहनेहरूलाई के हुनेछ? यहोवाले यस पृथ्वीबाट सम्पूर्ण दुष्ट मानिसलाई हटाउने प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:१० पढ्नुहोस्) दुष्ट मानिसहरूलाई यहोवाको त्यो न्यायदण्डबाट बच्नेछु जस्तो लाग्छ होला। थुप्रैले आफ्नो कालो कर्तुत लुकाउने तरिका सिकेका छन् अनि यसो हेर्दा सजाय पाउनदेखि बचेको अनि कुनै दुःख पनि भोग्न नपरेको जस्तो देखिन्छ। (अय्यू. २१:७, ९) तर बाइबलको यो कुरा नबिर्सौं: “[परमेश्वरको] दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिंडेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ। कुनै यस्तो अँध्यारो, घोर अँध्यारो स्थान छैन, जहाँ दुष्टहरू उहाँदेखि लुक्नसक्छन्।” (अय्यू. ३४:२१, २२) यहोवा परमेश्वरबाट लुक्न सक्ने कुनै ठाउँ छैन। जस्तोसुकै जाली मानिसले पनि उहाँलाई झुक्क्याउन सक्दैन। अनि तिनीहरूले गरेको जस्तोसुकै कर्तुत पनि उहाँको नजरबाट लुक्न सक्दैन। त्यसैले आरमागेडोनपछि हामीले दुष्टहरूलाई जहाँसुकै खोजे पनि भेट्टाउनेछैनौं। तिनीहरू सदाका लागि नाश हुनेछन्!—भज. ३७:१२-१५.
६. दुष्ट मानिसहरू हटाइएपछि पृथ्वीमा को बस्नेछन् र यो किन सुसमाचार हो?
६ दुष्ट मानिसहरू हटाइएपछि पृथ्वीमा को बस्नेछन्? यहोवाले यस्तो मन छुने प्रतिज्ञा गर्नुभएको छ: “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्। धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भज. ३७:११, २९) “नम्रहरू” र “धर्मात्माहरू” को हुन्? यहोवाको शिक्षा र डोऱ्याइ स्विकार्नेहरू नम्रहरू हुन्; यहोवाको नजरमा जे सही छ अनि मन पर्ने छ, त्यही गर्नेहरू धर्मात्मा अर्थात् असल मानिसहरू हुन्। आज संसारमा असल मानिसहरूभन्दा दुष्ट मानिसहरू धेरै छन्। तर नयाँ संसारमा दुष्ट मानिसहरू हुनेछैनन्, नम्र र असल मानिसहरू मात्र हुनेछन्। अनि तिनीहरूले नै यस पृथ्वीलाई प्रमोदवन बनाउनेछन्!
भ्रष्ट सङ्गठनहरू
७. भ्रष्ट सङ्गठनहरूले अहिले हामीलाई कसरी असर गर्छन्?
७ भ्रष्ट सङ्गठनहरूले अहिले हामीलाई कसरी असर गर्छन्? यस संसारमा भइरहेका जति पनि दुष्ट कामहरू छन्, ती काम कुनै व्यक्तिको नभई सङ्गठनहरूका हुन्। जस्तै: धार्मिक सङ्गठनहरू मानिसहरूलाई पृथ्वी र मानिसको भविष्यबारे अनि परमेश्वरबारे झूटो कुरा सिकाउँछन्। साथै बाइबल भरपर्दो छैन भनेर मानिसहरूलाई बहकाउँछन्। अनि युद्ध र जातीय हिंसालाई बढावा दिने, गरिब अनि निस्सहायमाथि थिचोमिचो गर्ने, घुस खाने अनि कसैलाई काखा कसैलाई पाखा गर्ने सरकारबारे चाहिं के भन्न सकिन्छ? वातावरण प्रदूषण गर्ने, प्राकृतिक स्रोतसाधन दुरुपयोग गर्ने, सोझा उपभोक्ताहरूलाई ठगेर अकुत सम्पत्ति थुपार्ने कम्पनीहरू नि? यस्तो हरकतले गर्दा थोरै मानिस धनी भएका छन् तर लाखौं भने गरिबीको मारमा परेका छन्। मानिसहरूले भोगिरहनुपरेको धेरैजसो दुःखको लागि भ्रष्ट सङ्गठनहरू जिम्मेवार छन् भन्ने कुरामा कुनै शङ्का छैन।
८. कहिल्यै ढलपल नहुने जस्तो देखिने सङ्गठनहरू के हुनेछन्?
८ यहोवाले के गर्नुहुनेछ? राजनीतिले झूटो धर्मका सबै सङ्गठनमाथि आक्रमण गरेपछि महासङ्कष्ट सुरु हुनेछ। बाइबलमा ती सङ्गठनहरूलाई महान् बेबिलोन अनि वेश्या भनेर चिनाइएको छ। (प्रका. १७:१, २, १६; १८:१-४) ती धार्मिक सङ्गठनहरू पूर्णतया विनाश हुनेछन्। तर अरू भ्रष्ट सङ्गठनहरूचाहिं के हुनेछन्? कहिल्यै ढलपल नहुने जस्तो देखिने त्यस्ता सङ्गठनहरूलाई बाइबलमा पहाड र टापुसित तुलना गरिएको छ। (प्रकाश ६:१४ पढ्नुहोस्) तर ती सरकारहरू र तिनमा भर परेका सङ्गठनहरू हटाइनेछन् भनेर पनि भविष्यवाणी गरिएको छ। परमेश्वरको राज्यविरुद्ध खडा हुने सम्पूर्ण सरकार र त्यसलाई साथ दिने मानिसहरूलाई महासङ्कष्टको अन्तिम चरणमा नाश गरिनेछ। (यर्मि. २५:३१-३३) त्यसपछि भ्रष्ट सङ्गठनहरू एउटा पनि बाँकी रहनेछैनन्!
९. नयाँ पृथ्वी सुव्यवस्थित हुनेछ भनेर किन भन्न सक्छौं?
९ भ्रष्ट सङ्गठनहरू हटाइएपछि के हुनेछ? के आरमागेडोनपछि पृथ्वीमा कुनै सङ्गठन बाँकी रहनेछ? बाइबल भन्छ: “हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।” (२ पत्रु. ३:१३) पुरानो आकाश र पृथ्वी अर्थात् भ्रष्ट सरकारहरू र तिनीहरूको अधीनमा रहेको मानव समाज हटाइनेछ। त्यसको ठाउँमा के आउनेछ? “नयाँ आकाश र नयाँ पृथ्वी।” नयाँ आकाशले स्वर्गको नयाँ सरकारलाई र नयाँ पृथ्वीले त्यस सरकारको अधीनमा बस्ने नयाँ मानव समाजलाई बुझाउँछ। परमेश्वरको राज्यमा येशू ख्रीष्टले व्यवस्थित परमेश्वर यहोवाको व्यक्तित्व पूर्ण रूपमा झल्काउनुहुनेछ। (१ कोरि. १४:३३) त्यसैले “नयाँ पृथ्वी” व्यवस्थित हुनेछ, त्यहाँ कुनै किसिमको गोलमाल हुनेछैन। सबै कामकुरा सम्हाल्न योग्य पुरुषहरू हुनेछन्। (भज. ४५:१६) तिनीहरूलाई ख्रीष्ट र उहाँका १,४४,००० सह-शासकले डोऱ्याउनुहुनेछ। कल्पना गर्नुहोस्, सबै भ्रष्ट सङ्गठन हटाइएपछि पृथ्वीमा एक मात्र सङ्गठन हुनेछ, जुन कहिल्यै भ्रष्ट हुनेछैन!
गलत कामकुरा
१०. तपाईंको इलाकामा कस्ता गलत कामकुरा सामान्य छन्? यसले तपाईं र तपाईंको परिवारलाई कसरी असर गरेको छ?
१० गलत कामकुराले अहिले हामीलाई कसरी असर गर्छ? यो संसार अवैध यौनसम्बन्ध, बेइमानी र हिंसात्मक कामकुराले भरिएको छ। छोराछोरीलाई यस्ता गलत कामकुराको प्रभावदेखि अलग राख्न आमाबाबुले निकै सङ्घर्ष गर्नुपरेको छ। सही र गलतबारे यहोवाको स्तरलाई अवहेलना गरेर विभिन्न प्रकारको गलत कामकुरालाई आकर्षक रूपमा देखाउन मनोरञ्जन जगत् झन्झनै खप्पिस हुँदै छ। (यशै. ५:२०) अहिलेको संसारमा गलत कामकुरा व्याप्त छ अनि अधिकांश मानिस यहोवाको स्तरप्रति आदर देखाउँदैनन्। साँचो ख्रीष्टियनहरू यस्तो मनोभावको प्रतिरोध गर्छन् र आफ्नो सत्यनिष्ठा कायम राख्न सङ्घर्ष गर्छन्।
११. यहोवाले सदोम र गमोरामाथि ल्याउनुभएको न्यायदण्डबाट कस्तो पाठ सिक्न सक्छौं?
११ गलत कामकुरालाई यहोवाले के गर्नुहुनेछ? उहाँले सदोम र गमोरामा भइरहेको गलत कामकुरालाई के गर्नुभयो, विचार गर्नुहोस्। (२ पत्रुस २:६-८ पढ्नुहोस्) लूत परमेश्वरको स्तरबमोजिम चल्थे। त्यसैले आफू र आफ्नो परिवारको वरपर भइरहेको गलत कामकुरा देख्दा अनि सुन्दा तिनलाई औडाहा हुन्थ्यो। यहोवाले त्यस्तो गलत कामकुरा भइरहेको पूरै इलाका विनाश गर्नुभयो। यो विनाशद्वारा उहाँले “भक्तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।” त्यस्तै गरी, भविष्यमा यहोवाले यस वर्तमान संसारमा भइरहेको गलत कामकुरालाई पूरै हटाउनुहुनेछ।
१२. नयाँ संसारमा तपाईं के गर्न चाहनुहुन्छ?
१२ गलत कामकुरा हटाइएपछि के हुनेछ? प्रमोदवनमा हामी थुप्रै रमाइला काम गर्न व्यस्त हुनेछौं। यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्न वा आफ्नो अनि साथीभाइ, आफन्तहरूको घर बनाउन कति रमाइलो होला, कल्पना गर्नुहोस् त। मरिसकेका लाखौं मानिसलाई स्वागत गर्न अनि तिनीहरूलाई यहोवा र उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारबारे सिकाउन कति रमाइलो हुन्छ होला। (यशै. ६५:२१, २२; प्रेषि. २४:१५) त्यतिबेला कामको कुनै अभाव हुनेछैन। त्यस्तो कामले यहोवाको महिमा गर्नेछ र हामी पनि रमाउनेछौं!
खराब अवस्था
१३. सैतान, आदम र हव्वाको विद्रोहले गर्दा आज संसार कस्तो दयनीय अवस्थामा पुगेको छ?
१३ खराब अवस्थाले अहिले हामीलाई कसरी असर गर्छ? दुष्ट मानिसहरू, भ्रष्ट सङ्गठनहरू र गलत कामकुराले गर्दा यस संसारको अवस्था निकै दयनीय भएको छ। हामीमध्ये कोचाहिं युद्ध, गरिबी वा जातीय भेदभावबाट मुक्त छौं र? रोगबिमार अनि मृत्यु नि? यस्ता अवस्थाले हामी सबैलाई असर गरेको छ। सैतान, आदम र हव्वाले यहोवाको विद्रोह गरेकोले अहिले हामी यस्तो खराब अवस्थामा बाँचिरहनुपरेको छ। हामीमध्ये कोही पनि तिनीहरूले पुऱ्याएको असरदेखि अछुतो छैनौं।
१४. खराब अवस्थालाई यहोवाले के गर्नुहुनेछ? एउटा उदाहरण दिनुहोस्।
१४ खराब अवस्थालाई यहोवाले के गर्नुहुनेछ? युद्धलाई विचार गरौं। यहोवाले सदाका लागि युद्ध रोक्ने प्रतिज्ञा गर्नुभएको छ। (भजन ४६:८, ९ पढ्नुहोस्) रोगबिमार के हुनेछ? उहाँले त्यो निर्मूल पार्नुहुनेछ। (यशै. ३३:२४) मृत्यु नि? यहोवाले त्यो सदाको निम्ति निल्नुहुनेछ! (यशै. २५:८) गरिबी पूर्णतया हटाउनुहुनेछ। (भज. ७२:१२-१६) साथै हाम्रो जीवनलाई कष्टकर बनाउने अरू सबै अवस्थालाई यहोवाले त्यसरी नै हटाउनुहुनेछ। उहाँले सैतान र त्यसका दूतहरूले “हावासरि” फैलाएको दुष्ट मनोभावलाई पनि यस संसारबाट पूरै हटाउनुहुनेछ।—एफि. २:२.
१५. आरमागेडोनपछि कस्ता कुराहरू हुनेछैनन्?
१५ युद्ध, रोगबिमार अनि मृत्यु नहुने संसार कस्तो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? सेना, हातहतियार अनि युद्ध स्मारकहरू हुनेछैनन्। अस्पताल, डाक्टर, नर्स, स्वास्थ्य बिमा कम्पनी, शवगृह अनि मसानघाट हुनेछैनन्! कुनै अपराध नहुने भएकोले सुरक्षागार्ड कम्पनी, अर्लाम सिस्टम र प्रहरी पनि हुनेछैनन्। सायद त्यतिबेला ताला र चाबीको आवश्यकता पनि नपर्ला। हामीलाई चिन्तित बनाउने कुनै पनि कुरा नहुँदा जीवन कति रमाइलो होला, कल्पना गर्नुहोस्।
१६, १७. (क) आरमागेडोनबाट बच्नेहरूले कस्तो महसुस गर्नेछन्? एउटा उदाहरण बताउनुहोस्। (ख) यो पुरानो संसार नाश हुँदा बच्नको लागि हामीले के गर्नु आवश्यक छ?
१६ खराब अवस्था हटाइएपछि जीवन कस्तो हुनेछ? त्यतिबेला जीवन कस्तो हुनेछ भनेर अहिले कल्पना गर्न त्यति सजिलो छैन। यस पुरानो संसारको अवस्था लामो समयदेखि खराब रहिरहेकोले यसले हामीलाई कत्ति असर गरिरहेको छ भनेर हामीलाई यादै नहुन सक्छ। जस्तै: व्यस्त रेलवे स्टेसन वरपर बस्ने मानिसहरूलाई त्यहाँको कोलाहल बानी परिसकेको हुन्छ। उनीहरूलाई त्यो कोलाहल खासै याद हुँदैन। अनि फोहोर-मैला फाल्ने ठाउँ वरपर बस्ने मानिसहरूलाई त्यहाँको दुर्गन्ध बानी परिसकेको हुन्छ। त्यसले उनीहरूलाई कुनै फरक पार्दैन। तर ती सबै खराब कुरा हटाइयो भने कत्ति हाइसन्चो होला!
१७ यहोवाले अहिलेको कठिन अवस्थालाई हटाएर कस्तो अवस्था ल्याउनुहुनेछ? भजन ३७:११ यसो भन्छ: “[नम्रहरूले] प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” यी शब्दहरूले के तपाईंको मन छुँदैन र? हामीले यस्तै जीवन पाएको यहोवा चाहनुहुन्छ। त्यसैले यस कठिन समयमा यहोवा परमेश्वर र उहाँको सङ्गठनसित नजिक भइरहन सकेजति गर्नुहोस्। आफूले पाएको आशाको मोल गर्नुहोस्, त्यसमा मनन गर्नुहोस्, यसलाई मन-मस्तिष्कमा ताजा राख्नुहोस् र यसबारे अरूलाई बताउनुहोस्! (१ तिमो. ४:१५, १६; १ पत्रु. ३:१५) यसो गर्नुभयो भने यो पुरानो संसार नाश हुँदा यस सँगसँगै तपाईं पनि नाश हुनुहुनेछैन। बरु आनन्दित हुँदै नयाँ संसारमा सधैंभरि बाँच्नुहुनेछ!