यहोवाको महान् आध्यात्मिक मन्दिर
“हाम्रा यस्तो प्रधान पूजाहारी हुनुहुन्छ, जो . . . मानिसले खड़ा गरेको होइन, तर प्रभुले खड़ा गर्नुभएको पवित्रस्थान र सच्चा बासस्थानका सेवक भएर बस्नुभयो।”—हिब्रू ८:१, २.
१. परमेश्वरले पापी मानिसजातिको लागि कस्तो मायालु प्रबन्ध गर्नुभयो?
यहोवा परमेश्वरले मानिसजातिलाई महान् प्रेम गर्नुभएकोले संसारका पापहरू उठाइलैजाने बलिदानको प्रबन्ध गर्नुभयो। (यूहन्ना १:२९; ३:१६) त्यसको लागि उहाँले आफ्नो पहिलो पुत्रको जीवनलाई स्वर्गबाट मरियम नाउँकी यहूदी कुमारीको गर्भमा स्थानान्तरण गर्नु आवश्यक थियो। मरियमले गर्भधारण गर्ने बालक “पवित्र, अर्थात् परमेश्वरका पुत्र” कहलाइनुहुनेछ भनेर यहोवाको दूतले स्पष्टसित मरियमलाई बताए। (लूका १:३४, ३५) मरियमसित विवाह गर्न वचनबद्ध भएका यूसुफलाई येशू अद्भुत तरिकाले गर्भमा आउनुभएको कुरा बताइयो र उहाँले नै “आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार” गर्नुहुनेछ भन्ने कुरा तिनले थाह पाए।—मत्ती १:२०, २१.
२. यशूले लगभग ३० वर्षको हुनुहुँदा के गर्नुभयो र किन?
२ येशूले हुर्कंदै जाँदा आफ्नो अद्भुत जन्मबारेका केही तथ्यहरू अवश्य बुझ्नुभएको हुनुपर्छ। स्वर्गमा हुनुहुने आफ्नो पिताले आफूलाई पृथ्वीमा जीवन बचाउने काम गर्न अह्राउनुहुन्छ भनेर उहाँलाई थाह थियो। अतः येशू लगभग ३० वर्षे लक्का जवान भएपछि बप्तिस्मा लिन परमेश्वरका अगमवक्ता यूहन्नाकहाँ जानुभयो र यर्दन नदीमा बप्तिस्मा लिनुभयो।—मर्कूस १:९; लूका ३:२३.
३. (क) येशूले “बलिदान र भेटी तपाईंले चाहनुभएन” भन्नुको अर्थ के थियो? (ख) येशूले उहाँका चेला हुन चाहनेहरूका लागि कस्तो उल्लेखनीय उदाहरण बसाल्नुभयो?
३ येशूले बप्तिस्मा लिनुहुँदा प्रार्थना गरिरहनुभएको थियो। (लूका ३:२१) स्पष्टतया, आफ्नो जीवनको यही मोडदेखि उहाँले भजन ४०:६-८ का शब्दहरू व्यक्तिगत तवरमा लागू गर्नुहुँदै थियो। यस कुरालाई पछि प्रेरित पावलले यसरी संकेत गरे: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो।” (हिब्रू १०:५) तसर्थ, परमेश्वरले यरूशलेमको मन्दिरमा उप्रान्त पशु बलिदानहरू “चाहनुभएन” भनेर आफूले बुझेको कुरा येशूले देखाउनुभयो। त्यसको साटो परमेश्वरले बलिदान चढाउनको लागि उहाँलाई सिद्ध मानव शरीर दिनभएको हो भनेर येशूले थाह पाउनुभयो। त्यसै बलिदानको कारण त्यसउप्रान्त पशु बलिदानहरूको आवश्यकता पर्नेथिएन। परमेश्वरको इच्छा पूर्ण गर्ने आफ्नो हार्दिक चाहनालाई देखाउँदै येशूले यसरी प्रार्थना गरिरहनुभयो: “हेर्नुहोस्, हे परमेश्वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु। (पुस्तकको मुट्ठामा मेरो विषय लेखिएको छ)।” (हिब्रू १०:७) येशूले त्यसबेला आफ्ना भावी चेलाहरूका लागि उत्साह र निःस्वार्थ भक्तिको कस्तो अद्भुत उदाहरण कायम गर्नुभयो!—मर्कूस ८:३४.
४. परमेश्वरले येशूको बलिदानमा कसरी अनुमोदन देखाउनुभयो?
४ येशूले बप्तिस्मा लिनुहुँदा गर्नुभएको प्रार्थनालाई के परमेश्वरले अनुमोदन गर्नुभयो? येशूका छानिएका प्रेरितहरूमध्ये एक यसको यसरी जवाफ दिन्छन्: “येशू बप्तिसमा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुर झैं ओर्लंदैगर्नुभएको औ आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। औ हेर स्वर्गबाट यसो भन्ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्, जोसँग म खुशी छु।’”—मत्ती ३:१६, १७; लूका ३:२१, २२.
५. वास्तविक मन्दिरको वेदीले कुन कुरालाई चित्रित गर्थ्यो?
५ बलिदानको रूपमा चढाइएको येशूको शरीरलाई परमेश्वरले स्वीकार्नुको अर्थ, यरूशलेमको मन्दिरमा भन्दा आध्यात्मिक अर्थमा वेदीले महान् भूमिका निर्वाह गरिसकेको थियो। पशुहरू बलिदान चढाइने वास्तविक वेदीले आध्यात्मिक वेदीको पूर्वसंकेत दिन्थ्यो। परमेश्वरको “इच्छा” वा प्रबन्धअनुसार येशूको मानव जीवनलाई बलिदानको रूपमा स्वीकार्नु नै त्यो आध्यात्मिक वेदी थियो। (हिब्रू १०:१०) त्यसकारण प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो लेख्न सके: “हाम्रो एउटा वेदी छ, जसबाट खानालाई मण्डपको [अथवा मन्दिरको] सेवा गर्नेहरूलाई अधिकार छैन।” (हिब्रू १३:१०) अर्को शब्दमा भन्ने हो भने, अधिकांश यहूदी पूजाहारीहरूले अस्वीकार गरेको उच्चस्तरीय पाप-प्रायश्चितको बलिदानबाट साँचो मसीहीहरूले लाभ उठाउँछन्।
६. (क) येशूको बप्तिस्मा हुँदा कुन कुराको भूमिका महान् भएको थियो? (ख) मसीह वा ख्रीष्ट पदको अर्थ के हो?
६ परमेश्वरले येशूलाई पवित्र आत्माद्वारा अभिषिक्त गर्नुको अर्थ, उहाँले अहिले आफ्नो आध्यात्मिक मन्दिरको पूर्ण प्रबन्ध गरिसक्नुभएको हो। त्यस मन्दिरमा येशूले प्रधानपूजाहारीको हैसियतमा काम गर्नुहुन्छ। (प्रेरित १०:३८; हिब्रू ५:५) त्यो महत्त्वपूर्ण घटना “सिजर टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा” हुन्छ भनेर ठोकेर औंल्याउन चेला लूका उत्प्रेरित भए। (लूका ३.:१-३) मिलान गर्दा त्यो सा.यु. २९ मा पर्छ। त्यो समय राजा आर्टजारसेजले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने आदेश दिएको ४८३ वर्ष अथवा वर्षको ठीक ६९ हप्तापछि पर्छ। (नहेम्याह २:१, ५-८) भविष्यवाणीअनुसार “अभिषेक जन” त्यस तोकिएको समयमा देखा पर्नेथियो। (दानियल ९:२५) थुप्रै यहूदीलाई त्यो कुरा स्पष्टसित थाह थियो। मसीह वा ख्रीष्ट देखापर्नेबारे “मानिसहरू आशा गरिरहेकै थिए” भनेर लूका बताउँछन्। ती मसीह र ख्रीष्ट पदहरू हिब्रू र युनानी शब्दहरूबाट आएका हुन् र दुइटैको साझा अर्थ हो—“अभिषिक्त जन।”—लूका ३:१५.
७. (क) परमेश्वरले “सबैभन्दा पवित्रस्थान[लाई]” कहिले अभिषेक गर्नुभयो र यसले के अर्थ राख्थ्यो? (ख) येशूको बप्तिस्माको समयमा उहाँबारे थप के घटना भयो?
७ येशूले बप्तिस्मा लिनुहुँदा परमेश्वरको स्वर्गीय बासस्थानलाई महान् आध्यात्मिक मन्दिर प्रबन्धमा “सबैभन्दा पवित्रस्थान[को]” रूपमा अभिषिक्त गरियो वा अलग्ग पारियो। (दानियल ९:२४) “मानिसले खड़ा गरेको होइन तर प्रभुले खड़ा गर्नुभएको बासस्थान र सच्चा बासस्थान [वा मन्दिर]” परिचालन भइसकेको थियो। (हिब्रू ८:२) त्यसबाहेक, पानी र पवित्र आत्माद्वारा बप्तिस्मा लिनुभएर मानव येशू ख्रीष्ट परमेश्वरको आत्मिक पुत्रको हैसियतमा पुनः जन्मनुभयो। (यूहन्ना ३:३ तुलना गर्नुहोस्।) त्यसको अर्थ, परमेश्वरले तोकिएको समयमा आफ्नो पुत्रलाई स्वर्गीय जीवनको लागि पुनः बोलाउनु हुनेथियो। त्यहाँ पुत्रले आफ्नो पिताको दाहिने बाहुलीमा रहेर सधैंभरि “मल्कीसेदेकको दर्जाअनुसारको” प्रधानपूजाहारी र राजाको हैसियतमा सेवा गर्नु हुनेथियो।—हिब्रू ६:२०; भजन ११०:१, ४.
स्वर्गको महापवित्रस्थान
८. स्वर्गमा अहिले परमेश्वरको सिंहासनले कुन नयाँ विशेषताहरू लिएको छ?
८ येशूले बप्तिस्मा लिनुभएको दिन परमेश्वरको स्वर्गीय सिंहासनमा नयाँ विशेषताहरू देखा परे। संसारका पापहरूको प्रायश्चितको लागि सिद्ध मानव बलिदानको चिनारीले मानिसको पापी अवस्था विरुद्ध परमेश्वरको पवित्रतालाई जोड दियो। परमेश्वरले अहिले शान्त हुने वा प्रायश्चित गर्ने इच्छा देखाउनुभएर पनि आफ्नो कृपा प्रकट गर्नुभयो। तसर्थ, मन्दिरको सबैभन्दा भित्री भाग परमेश्वरको स्वर्गीय सिंहासनजस्तै भएको थियो, त्यहाँ स्पष्ट ढंगमा प्रधानपूजाहारी पाप प्रायश्चितको लागि पशुको रगत लिएर वर्षको एक पटक प्रवेश गर्थे।
९. (क) पवित्रस्थान र महापवित्रस्थानबीचको पर्दाले कुन कुरालाई चित्रित गर्थ्यो? (ख) कसरी येशू परमेश्वरको आध्यात्मिक मन्दिरको पर्दापछाडिको भागमा प्रवेश गर्नुभयो?
९ पवित्रस्थानलाई महापवित्रस्थानबाट छुट्याउने पर्दाले येशूको शारीरिक शरीरलाई चित्रित गर्थ्यो। (हिब्रू १०:१९, २०) येशू मानिसको रूपमा पृथ्वीमा हुनुहुँदा त्यस पर्खालरूपी शरीरले उहाँलाई पिताकहाँ जान रोकेको थियो। (१ कोरिन्थी १५:५०) येशूको मृत्यु हुँदा “मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुइ भाग भएर च्यातियो।” (मत्ती २७:५१) त्यस सुस्पष्ट घटनाले येशूलाई स्वर्गमा प्रवेश गर्न रोक्ने पर्खाल अब हटाइयो भन्ने कुरालाई संकेत गऱ्यो। त्यसको तीन दिनपछि यहोवाले एक उल्लेखनीय चमत्कार गर्नुभयो। उहाँले येशूलाई मासु र रगतले बनिएको मरणशील मानव होइन तर “सधैंभरि रहिरहनुहुने” महिमामय आत्मिक प्राणीको रूपमा मरेकोबाट बिउँताउनुभयो। (हिब्रू ७:२४) त्यसको चालिस दिनपछि येशू स्वार्गारोहण हुनुभयो र “हाम्रो निम्ति परमेश्वरको सामने प्रकट हुनालाई” वास्तविक तवरमा “सबैभन्दा बासस्थान[मा]” प्रवेश गर्नुभयो।—हिब्रू ९:२४.
१०. (क) येशूले स्वर्गमा हुनुहुने पितालाई आफ्नो बलिदानको मूल्य प्रस्तुत गर्नुभएपछि के भयो? (ख) ख्रीष्टका चेलाहरू पवित्र आत्माले अभिषिक्त हुनुको अर्थ के थियो?
१० येशूले संसारका पापहरूको प्रायश्चितको लागि बगाउनुभएको रगतको मूल्यलाई के परमेश्वरले स्वीकार्नुभयो? निस्सन्देह, उहाँले स्वीकार्नुभयो। यसको प्रमाण येशूको पुनरुत्थान भएको ५० दिनपछि पेन्तिकोसको चाडका दिन देखियो। यरूशलेममा भेला भएका येशूका लगभग १२० चेलाहरूमाथि परमेश्वरको पवित्र आत्मा खनाइयो। (प्रेरित २:१, ४, ३३) तिनीहरूको प्रधानपूजाहारी येशू ख्रीष्टजस्तै तिनीहरूलाई अब “आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको” हैसियतमा अभिषिक्त गरिएका थिए। (१ पत्रुस २:५) त्यसबाहेक, यी अभिषिक्त जनहरूद्वारा नयाँ राष्ट्र अर्थात् परमेश्वरको “पवित्र राष्ट्र” बन्यो। त्यस उप्रान्त यर्मिया ३१:३१ मा उल्लिखित “नयाँ करार[जस्ता]” इस्राएलसम्बन्धी सबै असल भविष्यवाणीहरू ‘परमेश्वरका साँचो इस्राएल’ अर्थात् अभिषिक्त मसीही मण्डलीमा लागू हुनेथियो।—१ पत्रुस २:९; गलाती ६:१६.
परमेश्वरको आध्यात्मिक मन्दिरका अन्य विशेषताहरू
११, १२. (क) येशू र उहाँका अभिषिक्त अनुयायीहरूको सन्दर्भमा पूजाहारीको चोकले कुन कुरालाई चित्रित गर्थ्यो? (ख) पानी राख्ने बाटाले कुन कुरालाई चित्रित गर्छ र त्यो कसरी प्रयोग गरिन्छ?
११ महापवित्रस्थानले परमेश्वर सिंहासनमा विराजमान हुनुभएको “स्वर्ग[लाई]” नै चित्रित गरे तापनि परमेश्वरको आध्यात्मिक मन्दिरको अरू सबै विशेषता पार्थिव कुराहरूसित सम्बन्धित छन्। (हिब्रू ९:२४) यरूशलेमको मन्दिरको भित्रपट्टि पूजाहारीहरूको चोक थियो। त्यहाँ बलिदान चढाउने वेदी र पानी राख्ने ठूलो बाटा थियो। त्यसै बाटाको पानी प्रयोग गरेर पूजाहारीहरूले पवित्र सेवा गर्नअघि आफूलाई सफा गर्थे। ती कुराहरूले परमेश्वरको आध्यात्मिक मन्दिर प्रबन्धमा कुन कुरालाई चित्रित गर्छन्?
१२ येशू ख्रीष्टको सन्दर्भमा, पूजाहारीहरूको भित्री चोकले परमेश्वरको सिद्ध मानव पुत्रको रूपमा उहाँको पापरहित अवस्थालाई चित्रित गऱ्यो। येशूको बलिदानमा विश्वास गरेर ख्रीष्टका अभिषिक्त अनुयायीहरू धार्मिक ठहरिएका छन्। यसर्थ, परमेश्वरले तिनीहरूलाई तिनीहरू पापी नै होइनन् जस्तो गरेर व्यवहार गर्नुहुन्छ। (रोमी ५:१; ८:१, ३३) यसर्थ, त्यस चोकले परमेश्वरसामु पवित्र पूजाहारीत्वको प्रत्येक सदस्यले आनन्द उठाउने, श्रेय दिइएको धार्मिक मानव अवस्थालाई पनि चित्रित गर्छ। तैपनि अभिषिक्त मसीहीहरू अझै असिद्ध र पापको वशमा छन्। प्रधानपूजाहारीले पवित्र पूजाहारीत्वलाई बिस्तारै सफा गर्न प्रयोग गर्ने परमेश्वरको वचनलाई पानी राख्ने बाटाले चित्रित गर्छ। सफा गर्ने त्यस प्रक्रियाप्रति समर्पित भएर अभिषिक्त मसीहीहरूले गौरवमय व्यक्तित्व धारण गरेका छन्। त्यसो गर्दा परमेश्वरको महिमा हुन्छ र उहाँको साँचो उपासनाप्रति अरू मानिसहरू आकृष्ट हुन्छन्।—एफिसी ५:२५, २६; तुलना गर्नुहोस् मलाकी ३:१-३.
पवित्रस्थान
१३, १४. (क) मन्दिरको पवित्रस्थानले येशू र उहाँका अभिषिक्त अनुयायीहरूको सन्दर्भमा कुन कुरालाई चित्रित गर्छ? (ख) सुनको पानसले कुन कुरालाई चित्रित गर्छ?
१३ मन्दिरको पहिलो कोठाले चोकको भन्दा उच्चस्तरीय अवस्थालाई चित्रित गर्छ। सिद्ध मानव येशू ख्रीष्टको सन्दर्भमा यसले उहाँ परमेश्वरको आत्मिक पुत्रको हैसियतमा स्वर्गीय जीवन पुनः प्राप्त गर्न स्वर्ग फर्कनुहुने कुरालाई चित्रित गर्छ। ख्रीष्टको बगेको रगतमा विश्वास गरे वापत धर्मी ठहरिएपछि यी अभिषिक्त अनुयायीहरूले पनि परमेश्वरको पवित्र आत्माद्वारा सम्पन्न हुने यस विशेष कार्यको अनुभव गर्नेछन्। (रोमी ८:१४-१७) तिनीहरू “पानी [त्यो हो, तिनीहरूको बप्तिस्मा] र आत्माले . . . नयाँ गरी [जन्मेका]” छन्। त्यसैले, मृत्युपर्यान्त विश्वासी रहेमा परमेश्वरको आत्मिक पुत्रहरूको हैसियतमा स्वर्गीय जीवन लिएर पुनरुत्थान हुने आशा तिनीहरूसित छ।—यूहन्ना ३:५, ७; प्रकाश २:१०.
१४ पार्थिव मन्दिरको पवित्रस्थानभित्र सेवा गर्ने पूजाहारीहरूलाई मन्दिरबाहिरका उपासकहरूले देख्दैनन्थिए। एवं रीतले अभिषिक्त मसीहीहरूले अनुभव गर्ने आध्यात्मिक अवस्थालाई पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा भएका परमेश्वरका बहुसंख्यक उपासकहरूले अनुभव गर्न पाउँदैनन् वा पूर्णतया बुझ्दैनन्। बासस्थानमा भएको सुनको पानसले अभिषिक्त मसीहीहरूको ज्ञानोदय अवस्थालाई चित्रित गर्छ। दियोहरूमा भएको तेलले झैं परमेश्वरको पवित्र आत्माले बाइबल बुझ्न ज्योति दिन्छ। फलस्वरुप, मसीहीहरू पवित्र आत्माद्वारा प्राप्त गरेको समझलाई आफैभित्र सीमित राख्दैनन्। बरु, तिनीहरू येशूको यो आज्ञा पालन गर्छन्: “तिमीहरू जगत्का ज्योति हौ। . . . तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”—मत्ती ५:१४, १६.
१५. भेटीको रोटीको टेबलमा राखिएको रोटीले कुन कुरालाई चित्रित गर्छ?
१५ त्यस ज्ञानोदय अवस्थामा रहिरहन अभिषिक्त मसीहीहरूले नियमित तवरमा भेटीको रोटीको टेबलमा राखिएको रोटीद्वारा चित्रित खानेकुरा खानैपर्छ। तिनीहरूको आध्यात्मिक आहारको मुख्य स्रोत परमेश्वरको वचन हो। तिनीहरूले यसलाई दिनहुँ पढ्ने र मनन गर्ने प्रयत्न गर्छन्। येशूले पनि “विश्वासी र बुद्धिमान दास” मार्फत “ठीकठीक समयमा खाना” दिनुहुने प्रतिज्ञा गर्नुभएको थियो। (मत्ती २४:४५) “दास” निर्दिष्ट समयावधिभित्रको पार्थिव अभिषिक्त मसीहीहरूको सम्पूर्ण समूह हो। ख्रीष्टले त्यस अभिषिक्त समूहलाई बाइबल भविष्यवाणीहरूको पूर्तिबारे जानकारी प्रकाशित गर्न र वर्तमान दैनिक जीवनको लागि ती सिद्धान्तहरूलाई चलाउनको लागि समयानुकूल निर्देशन दिन प्रयोग गर्नुहुँदैछ। यसर्थ, अभिषिक्त मसीहीहरूले त्यस्ता जम्मै आध्यात्मिक प्रबन्ध मूल्यांकनसहित ग्रहण गर्छन्। तर आफ्नो आध्यात्मिक जीवनलाई पोस्न तिनीहरूले मन र हृदयमा परमेश्वरको ज्ञान लिएर मात्र पुग्दैन। येशूले भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) त्यसैगरि, अभिषिक्त मसीहीहरू परमेश्वरले प्रकट गर्नुभएको उहाँको इच्छाअनुरूप सधैं गरेर सन्तुष्टि महसुस गर्छन्।
१६. धूप बाल्ने वेदीमा सम्पन्न हुने सेवाले कुन कुरालाई चित्रित गर्छ?
१६ प्रधानपूजाहारीले पवित्रस्थानस्थित धूपको वेदीमा बिहान र बेलुकी धूप चढाउँथे। त्यति नै बेला, मन्दिरको बाहिरी चोकहरूमा उभिएर गैरपूजाहारी उपासकहरूले परमेश्वरलाई प्रार्थना गर्थे। (लूका १:८-१०) बाइबल बताउँछ, “धूप, . . . भक्त जनहरूका प्रार्थना हुन्।” (प्रकाश ५:८) “मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै” होस् भनेर भजनरचयिता दाऊदले लेखे। (भजन १४१:२) अभिषिक्त मसीहीहरूले पनि येशू ख्रीष्ट मार्फत प्रार्थना गरेर यहोवाकहाँ पुग्ने आफ्नो सुअवसरलाई मूल्यवान् ठान्छन्। व्यग्र प्रार्थना मीठो सुगन्धित धूपजस्तै आन्तरिक हृदयबाट निस्कन्छ। अभिषिक्त मसीहीहरूले अरूलाई सिकाउन आफ्नो ओठ प्रयोग गरेर अन्य तरिकाहरूमा परमेश्वरको प्रशंसा गर्छन्। कठिनाइ र परीक्षाहरू सामना गर्दा तिनीहरूले देखाएको सहनशीलता र निष्ठाले विशेषगरि परमेश्वरलाई खुशी तुल्याइरहेको छ।—१ पत्रुस २:२०, २१.
१७. प्रायश्चितको दिनमा प्रधानपूजाहारी प्रथम पटक महापवित्र-स्थानमा प्रवेश गर्नुद्वारा चित्रित भविष्यसूचक दृश्यको पूर्तिमा कुन कुरा समावेश छ?
१७ प्रायश्चितको दिन इस्राएलको प्रधानपूजाहारी महापवित्रस्थानमा प्रवेश गर्नुपर्थ्यो र झरिलो कोइला हालेको सुनको धूपौरोमा धूप जलाउनुपर्थ्यो। त्यो तिनले पाप बलिदानको रगत ल्याउनुअघि गर्नुपर्थ्यो। मानिस येशूले हाम्रा पापहरूको खातिर आफ्नो जीवनलाई सदाको लागि बलिदान दिनअघि यहोवाप्रति पूर्ण निष्ठा कायम गर्नु नै त्यस भविष्यसूचक दृश्यको पूर्ति थियो। यसरी, सिद्ध मानिसले शैतानको जस्तोसुकै दबाबको बावजूद परमेश्वरप्रति निष्ठा कायम राख्नसक्छन् भनेर उहाँले प्रदर्शित गर्नुभयो। (हितोपदेश २७:११) परीक्षाको समय येशूले “बेसरी कराई, आँसु बगाएर” प्रार्थना गर्नुभयो र “उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइभयो।” (हिब्रू ५:७) यसप्रकार उहाँले यहोवालाई ब्रह्माण्डको धार्मिक र न्यायी सार्वभौमको रूपमा महिमित पार्नुभयो। परमेश्वरले येशूलाई मरेकोबाट अमरणशील स्वर्गीय जीवनमा पुनरुत्थान गर्नुभएर इनाम दिनुभयो। त्यस उच्चस्तरमा रहेर येशूले पृथ्वीमा आफ्नो आगमन अर्थात् पश्चात्तापी मानव पापीहरूलाई परमेश्वरसित मिलाप गराउने गौण कारणप्रति ध्यान केन्द्रित गर्नुहुन्छ।—हिब्रू ४:१४-१६.
परमेश्वरको आध्यात्मिक मन्दिरको अझ ठूलो महिमा
१८. यहोवाले कसरी आफ्नो आध्यात्मिक मन्दिरको उल्लेखनीय महिमा गर्नुभएको छ?
१८ “यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ” भनी यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (हाग्गै २:९) यहोवाले येशूलाई अमरणशील राजा र प्रधानपूजाहारीको रूपमा पुनरुत्थान गराउनुभएर आफ्नो आध्यात्मिक मन्दिरको उल्लेखनीय महिमा गर्नुभयो। येशू अहिले “सबैका निम्ति . . . अनन्त मुक्ति” ल्याउने स्थितिमा हुनुहुन्छ। (हिब्रू ५:९) प्रथम यस्तो आज्ञाकारिता देखाउनेहरूमा पेन्तिकोस सा.यु. ३३ मा पवित्र आत्मा पाएका १२० चेलाहरू थिए। इस्राएलका यी आत्मिक पुत्रहरूको संख्या अन्ततः १,४४,००० हुनेछ भनेर प्रकाशको पुस्तकमा अगमवाणी गरिएको थियो। (प्रकाश ७:४) तिनीहरूमध्ये थुप्रैले मरेपछि येशू राजकीय शक्तिमा आउने समयलाई पर्खिंदै मानिसजातिको साधारण चिहानमा अचेतन भएर रहनुपर्थे। दानियल ४:१०-१७, २०-२७ दिइएको भविष्यसूचक कालक्रमअनुसार येशूले शत्रुहरूबीच शासन सुरु गर्ने समय सन् १९१४ हो भन्ने संकेत पाइन्छ। (भजन ११०:२) दशकौंअघिदेखि अभिषिक्त मसीहीहरूले उत्सुकतासाथ त्यस वर्षको प्रतीक्षा गरेका थिए। प्रथम विश्वयुद्ध र त्यसपछि मानिसजातिमा व्याप्त दुःखले साँच्चै सन् १९१४ मा येशू राजा हुनुभयो भन्ने साबित गऱ्यो। (मत्ती २४:३, ७, ८) त्यसको तुरुन्तैपछि, “परमेश्वरकै परिवारबाट सुरु भएर इन्साफ हुने” समय आइसकेपछि येशूले मृत्युको गहिरो निद्रामा पर्ने आफ्ना अभिषिक्त चेलाहरूसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहुने थियो: “म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु।”—१ पत्रुस ४:१७; यूहन्ना १४:३.
१९. एक लाख चवालिस हजारका शेष जनहरूले स्वर्गीय महापवित्रस्थानमा कसरी प्रवेश गर्न पाउनेछन्?
१९ पवित्र पूजाहारीत्वको सबै १,४४,००० सदस्यहरूलाई अन्ततः छाप लगाएर तिनीहरूको स्वर्गीय घरमा भेला गराइएको छैन। तिनीहरूमध्ये शेष जनहरू पवित्रस्थानद्वारा चित्रित आध्यात्मिक अवस्थामा यसै पृथ्वीमा बाँचिरहेका छन्। तिनीहरू आफ्नो शारीरिक शरीरको “पर्दा” वा पर्खालद्वारा परमेश्वरको पवित्र उपस्थितिबाट अलग्गिएका छन्। तिनीहरू विश्वासी रहेर मर्नासाथ आँखाको एकै निमेषमा पुनरुत्थान भएर स्वर्गमा पुगिसकेका १,४४,००० का जनहरूसित मिल्छन्।—१ कोरिन्थी १५:५१-५३.
२०. अहिले पवित्र पूजाहारीत्वका शेष जनहरूले कुन महत्त्वपूर्ण काम गरिरहेका छन् र त्यसको परिणाम के भएको छ?
२० स्वर्गमा महान् प्रधानपूजाहारीसित सेवा गर्ने थुप्रै पूजाहारीहरूले गर्दा परमेश्वरको आध्यात्मिक मन्दिरले थप महिमा पाएको छ। त्यसै समय पवित्र पूजाहारीत्वका शेष जनहरूले पृथ्वीमा मूल्यवान्कार्य सम्पन्न गरिरहेका छन्। तिनीहरूले गरेको प्रचार मार्फत परमेश्वरले हाग्गै २:७ मा गर्नुभएको अगमवाणीअनुसार न्याय व्यक्त गर्दै ‘सबै राष्ट्रहरूलाई हल्लाउनुहुँदैछ।’ त्यति नै बेला “सबै जाति जातिका धन-सम्पत्तिहरू” भनेर वर्णन गरिएका लाखौं उपासकहरू यहोवाको मन्दिरको पार्थिव चोकहरूमा ओइरिंदैछन्। कसरी ती जनहरू उपासनाको लागि परमेश्वरको प्रबन्धमा प्रवेश गर्न योग्य हुन्छन् र उहाँको महान् आध्यात्मिक मन्दिरबारे हामी कस्तो भावी प्रत्याशा गर्नसक्छौं? यी प्रश्नहरू अर्को लेखमा छलफल गरिनेछन्।
पुनरावलोकन प्रश्नहरू
◻ येशूले सा.यु. २९ मा कुन उल्लेखनीय उदाहरण बसाल्नुभयो?
◻ सा.यु. २९ मा कुन प्रबन्ध परिचालन भयो?
◻ पवित्रस्थान र महापवित्रस्थानले कुन कुरालाई चित्रित गर्छ?
◻ महान् आध्यात्मिक मन्दिरलाई कसरी गौरवमय पारिएको छ?
[पृष्ठ १७-मा भएको चित्र]
सा.यु. २९ मा येशू पवित्र आत्माद्वारा अभिषिक्त हुनुभएपछि परमेश्वरको महान् आध्यात्मिक मन्दिर परिचालन हुन थाल्यो