अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्!
“परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।”—भजन १०:१६.
१. अनन्तबारे कस्ता प्रश्नहरू खडा हुन्छन्?
अनन्त—तपाईंको विचारमा यसको अर्थ के होला? के तपाईंलाई समय कहिल्यै अन्त हुँदैन जस्तो लाग्छ? निस्सन्देह, अहिलेसम्म कति समय बितिसक्यो त्यसको हिसाब गरेर साध्य छैन। त्यसोभए भविष्य पनि त्यतिकै लामो हुने हो कि? वास्तवमा नयाँ विश्व अनुवाद (अंग्रेजी) बाइबलले परमेश्वरलाई “आदिदेखि अनादिसम्म” हुनुहुने परमेश्वर भनेर प्रशंसा गर्छ। (भजन ४१:१३) यस अभिव्यक्तिको अर्थ के हो? यससँग सम्बन्धित विषय अर्थात् अन्तरिक्षलाई विचार गऱ्यौं भने, शायद त्यसलाई बुझ्ने मदत पाउनसक्छौं।
२, ३. (क) अन्तरिक्षका कुन कुन विशेषताहरूले हामीलाई अनन्तको अर्थ बुझ्न मदत गर्छ? (ख) हामीले किन अनन्तका महाराजाको उपासना गर्न चाहनुपर्ने हो?
२ अन्तरिक्ष कति विस्तृत छ? के यसको कुनै सीमा छ? आजभन्दा ४०० वर्षअघिसम्म मानिसहरू हाम्रो पृथ्वीलाई ब्रह्माण्डको केन्द्र सम्झन्थे। तर ग्यालिलियोले दूरदर्शक यन्त्र आविष्कार गरेपछि अन्तरिक्षलाई निकै विस्तृत रूपले हेर्न सकियो। ग्यालिलियोले अझ थुप्रै ताराहरू देख्नुका साथै पृथ्वी र अन्य ग्रहहरूले पो सूर्यलाई घुम्दा रहेछन् भनेर देख्न सके। धमिलो देखिने आकाशगंगा छर्लंग भयो। वास्तवमा त्यो अरबौं ताराहरूको पुञ्ज पो रहेछ भनेर पुष्टियो। पूरै जीवन लगाए पनि हामी त्यति धेरै ताराहरू कहिल्यै गन्न सक्दैनौं। पछि, खगोलविद्हरूले त्यस्ता अरबौं तारापुञ्जहरू पत्ता लगाउँदै गए। सबैभन्दा शक्तिशाली दूरदर्शक यन्त्रले भ्याउनसक्नेभन्दा विस्तृत क्षेत्रमा ती तारापुञ्जहरू फैलिएका छन्। लाग्छ, अन्तरिक्षको कुनै सीमा छैन। अनन्तको विषयमा पनि त्यस्तै भन्न सकिन्छ। त्यसको कुनै सीमा छैन।
३ हाम्रो सीमित मानव बुद्धिले अनन्तको धारणालाई बुझ्न सक्दैन जस्तो देखिए तापनि त्यसलाई पूर्णतया बुझ्नसक्ने एक जना हुनुहुन्छ। उहाँले अरबौं तारापुञ्जका खरबौं खरब ताराहरूलाई गनेर नाउँ-समेत काढ्न सक्नुहुन्छ! उहाँ यसो भन्नुहुन्छ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन। के तँलाई थाह छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सनातनका परमेश्वर, उहाँ सारा पृथ्वीका सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँ नता दुर्बल, न थकित हुनुहुन्छ। उहाँको समझ अथाह छ।” (यशैया ४०:२६, २८) कति अद्भुत परमेश्वर! निस्सन्देह, हामी यस्तै परमेश्वरको उपासना गर्न चाहन्छौं!
“सदा सर्वदाको निम्ति राजा”
४. (क) दाऊदले अनन्तका महाराजाप्रति कसरी मूल्यांकन व्यक्त गरे? (ख) ब्रह्माण्डको सुरुआतबारे इतिहासका सबैभन्दा महान् वैज्ञानिकहरूमध्ये एकले के भने?
४ सृष्टिकर्ता परमेश्वरबारे भजन १०:१६ मा दाऊद यसो भन्छन्: “परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।” अनि भजन २९:१० मा त्यही कुरालाई यसरी दोहोऱ्याउँछन्: “परमप्रभु सदा सर्वदा महाराजा भएर विराजमान हुनुहुन्छ।” हो, यहोवा नै अनन्तका महाराजा हुनुहुन्छ! हामीले आकाशमा देखे जति सबै कुराको रचनाकार, निर्माता यही महिमित महाराजा हुनुहुन्छ भनेर पुष्टि दिंदै भजन १९:१ मा दाऊद अझ यसो भन्छन्: “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” झन्डै २,७०० वर्षपछि प्रख्यात वैज्ञानिक सर आइजक न्युटनले यसरी दाऊदलाई समर्थन गरे: “अति विद्वान अनि शक्तिशाली व्यक्तिको उद्देश्य तथा सार्वभौमिकताले गर्दा मात्र सूर्य, ग्रह तथा लामपुछ्रे ताराहरू मिलेर बनेको यो अति भव्य प्रणाली उत्पत्ति भएको हुनसक्छ।”
५. बुद्धिको स्रोतबारे यशैया र पावलले के लेखे?
५ विशाल “उच्चभन्दा पनि उच्च स्वर्ग[ले]” थाम्न नसक्ने सार्वभौम प्रभु यहोवा अनन्तसम्म बाँच्नुहुन्छ भनेर थाह पाउँदा साँच्चै हामी कति विनम्र हुनुपर्छ! (१ राजा ८:२७) यशैया ४५:१८ मा यहोवालाई “स्वर्ग सृजने . . . जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो” भनी वर्णन गरिएको छ। उहाँसित नश्वर मानव बुद्धिले नभ्याउने कयौं गुना विशाल बुद्धि छ। यहोवाको वाणीलाई १ कोरिन्थी १:१९ ले यसरी प्रकाश पार्छ: “म ज्ञानीहरूका ज्ञान नाश पार्नेछु, औ बुद्धिमानहरूका बुद्धिलाई रद्दी तुल्याउनेछु।” अझ थप्दै पद २० मा प्रेरित पावलले यसो भने: “ज्ञानी खोइ त? शास्त्री कहाँ? यस युगको बहस गर्ने कहाँ? के परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनुभएन?” हो, अध्याय ३ पद १९ मा पावलले भनेझैं “संसारको ज्ञान परमेश्वरको अगि मूर्खता हो।”
६. “अनन्त[बारे]” उपदेशक ३:११ ले के भन्छ?
६ आकाशीय पिण्डहरू सृष्टिको एउटा अंश मात्र हुन्। त्यसबारे राजा सुलेमानले यसो भने: “सबै काम त्यसको समयानुकुल उहाँले [परमेश्वर] बनाउनुभएको छ। त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको [अनन्त, NW] चेतना दिनुभएको छ, तर शुरूदेखि अन्तसम्म परमेश्वरको कार्य बुझ्ने-शक्ति दिनुभएको छैन।” (उपदेशक ३:११) साँच्चै, मानिसहरूको मनमा “अनन्त[को]” अर्थ बुझ्ने तृष्णा छ। तर के मानिसले त्यस्तो ज्ञान कहिल्यै पाउनसक्छ त?
अद्भुत जीवनको प्रत्याशा
७, ८. (क) मानवजातिका लागि कस्तो अद्भुत प्रत्याशा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ? (ख) ईश्वरीय शिक्षा अनन्तसम्म चल्नेछ भन्ने कुरामा हामी किन रमाउनुपर्ने हो?
७ येशू ख्रीष्टले यहोवालाई यसरी प्रार्थना गर्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हामी कसरी त्यस्तो ज्ञान आर्जन गर्नसक्छौं? त्यसका लागि परमेश्वरको वचन, पवित्र बाइबल अध्ययन गर्नुपर्छ। तब मात्र परमेश्वरले आफ्नो पुत्रद्वारा प्रबन्ध गर्नुभएको पार्थिव प्रमोदवनमा अनन्त जीवनका साथै उहाँका महान् उद्देश्यहरूको सही ज्ञान हामी आर्जन गर्न सक्नेछौं। त्यो जीवन १ तिमोथी ६:१९ ले भनेझैं “साँच्चै[को] जीवन” हुनेछ। अनि एफिसी ३:११ ले वर्णन गरेझैं “सनातनको अभिप्राय अनुसार, [हुनेछ] जो उहाँले [परमेश्वर] हाम्रा प्रभु येशूमा गर्नुभएको थियो।”
८ हो, येशूले दिनुभएको छुटकाराको बलिदानमाथिको विश्वास तथा ईश्वरीय शिक्षाद्वारा हामी पापी मानिसहरूले अनन्त जीवन प्राप्त गर्नसक्छौं। तर यो शिक्षा कतिञ्जेल चल्नेछ? यो अनन्तसम्म चल्नेछ र मानवजातिले हाम्रो सृष्टिकर्ताको बुद्धिअनुरूप क्रमिक रूपले शिक्षा पाइरहनेछ। अनि यहोवाको बुद्धिको कुनै सीमा छैन। यही कुरालाई स्वीकार्दै प्रेरित पावलले यसो भनेर हर्ष प्रकट गरे: “अहा! परमेश्वरको बुद्धि र ज्ञान, दुवैको सम्पत्ति कस्तो गहिरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ!” (रोमी ११:३३) अतः १ तिमोथी १:१७ मा उहाँलाई ‘अनन्तका . . . महाराजा’ भनेर सम्बोधन गर्नु पूर्णतया उचित छ!
यहोवाका सिर्जनशील बुद्धि
९, १०. (क) पृथ्वीलाई मानवजातिको उपहारको रूपमा तयार पार्न यहोवाले के कस्ता महान् कामहरू गर्नुभयो? (ख) कसरी सृष्टिका कुराहरूबाट यहोवाको सर्वोत्तम बुद्धि प्रकट हुन्छ? (पेटी हेर्नुहोस्।)
९ अनन्तका महाराजाले हाम्रो निम्ति प्रबन्ध गर्नुभएको अत्युत्तम सम्पदालाई विचार गर्नुहोस्। भजन ११५:१६ ले हामीलाई यसो भन्छ: “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।” कति अद्भुत दायित्व, होइन त? अनि पृथ्वीलाई हाम्रो घरको रूपमा तयार पार्नुभएर आफ्नो दूरदर्शिता देखाउनुभएकोमा हामी कति मूल्यांकन गर्छौं!—भजन १०७:८.
१० उत्पत्ति अध्याय १ मा उल्लिखित छ सिर्जनशील दिनहरूका दौडान यस पृथ्वीमा अद्भुत परिवर्तनहरू भए। एक “दिन” बराबर हजारौं वर्ष लामो हुने ती दिनहरूमा परमेश्वरले गर्नुभएको सृष्टिले अन्ततः पूरै पृथ्वीलाई हरियालीले टम्म ढाक्ने थियो। शानदार जंगल अनि रंगीबिरंगी फूलहरूले सिंगार्ने थियो। भिन्दाभिन्दै जातका जल प्राणी, सुन्दर पखेटा फडफडाउँदै उड्ने पंक्षी, अनि अनगिन्ती जात जातका पाल्तु तथा जंगली पशुहरूले रजाइँ गर्ने थियो। अनि “आफ्ना आफ्नै किसिमका” सन्तानहरू जन्माएर त्यसलाई भर्ने थियो। अन्तमा पुरुष र स्त्रीको सृष्टिको विवरण दिएपछि उत्पत्ति १:३१ ले यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” साँच्चै ती प्रथम मानवहरूले कति सुन्दर वातावरण पाए! हाम्रो मायालु सृष्टिकर्ताले रच्नुभएका यी सबै कुरामा के हामी उहाँको बुद्धि, दूरदर्शिता र चासो देख्दैनौं र?—यशैया ४५:११, १२, १८.
११. सुलेमानले कसरी यहोवाको सृजनशील बुद्धिको महिमा गरे?
११ अनन्तका महाराजाको बुद्धि देखेर अचम्म मान्नेहरूमध्ये सुलेमान एक थिए। तिनले बारम्बार परमेश्वरको बुद्धिप्रति ध्यानाकर्षण गराए। (हितोपदेश १:१, २; २:१, ६; ३:१३-१८) “पृथ्वी . . . सदा सर्वदै रहिरहन्छ” भनेर सुलेमान हामीलाई आश्वासन दिन्छन्। हाम्रो पृथ्वीलाई भिजाउन आकाशका घना बादलले निर्वाह गर्ने भूमिकालगायत तिनले थुप्रै अद्भुत सृष्टिहरूको मूल्यांकन गरे। तिनले लेखे: “सबै खोलाहरू समुद्रमानै बग्छन्, तापनि समुद्र चाहिं कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन् फेरि बग्नलाई ती त्यतै फर्कन्छन्।” (उपदेशक १:४, ७) र हुन्छ पनि त्यस्तै। आकाशबाट वर्षेको पानी र खोलाहरूले पृथ्वीलाई भिजाइसकेपछि ती पानीहरू फेरि समुद्रबाट बादलमा परिणत हुन्छन्। पानी प्रशोधन हुने यो प्रक्रिया नभएको भए पृथ्वी र हाम्रो के हविगत हुनेथियो होला?
१२, १३. परमेश्वरको सृष्टिप्रति हामी कसरी मूल्यांकन जाहेर गर्नसक्छौं?
१२ तर सृष्टिका यी सन्तुलित प्रक्रियाहरू देखेर हामीले मुखले मात्र होइन कामले पनि मूल्यांकन गर्नुपर्छ। राजा सुलेमानले उपदेशक पुस्तकको अन्तिम शब्दहरूद्वारा त्यही कुरा यसरी प्रकट गरे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन। किनभने हामीले गरेको हरेक काम, असल होस् वा खराब होस् हरेक गुप्त कुराको न्याय परमेश्वरले गर्नुहुनेछ।” (उपदेशक १२:१३, १४) यहोवालाई अप्रसन्न तुल्याउने कुनै पनि काम गर्न हामी डराउनुपर्छ। बरु, उहाँप्रति श्रद्धापूर्ण भय राख्दै उहाँको आज्ञा पालन गर्ने कोसिस गर्नुपर्छ।
१३ अनन्तका महाराजाले गौरवमय सृष्टि गर्नुभएकोमा अवश्य हामीले उहाँको प्रशंसा गर्न चाहनुपर्ने हो। भजन १०४:२४ ले यस्तो घोषणा गर्छ: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” अतः यस भजनका यी अन्तिम शब्दहरूअनुरूप हामी सबै मिलेर यसो भन्दै प्रशंसा गरौं अनि अरूलाई पनि गर्न लगाऔं: “हे प्राण परमप्रभुलाई धन्य भन्। याहको प्रशंसा गर्।”
पार्थिव सृष्टिको चरमोत्कर्ष
१४. परमेश्वरले सृष्टि गर्नुभएको मानव कुन कुन ढंगमा जनावरभन्दा उत्कृष्ट छ?
१४ यहोवाले सबै कुरा कुशलतासाथ र निकै मेहनत लगाएर सृष्टि गर्नुभएको छ। तर हामी मानवजाति चाहिं सबैभन्दा उल्लेखनीय छौं। यहोवाले छैटौं सृजनशील दिनको अन्तमा माछा, पंक्षी र जनावरहरूभन्दा कैयौं गुना उत्कृष्ट आदम र हव्वा सृजनुभयो! पशुपंक्षीहरूसित सहज-ज्ञान मात्र हुन्छ तर मानिससित तर्क शक्ति, सही-गलत छुट्याउनसक्ने अन्तस्करण, भावी योजना बनाउनसक्ने क्षमता र उपासना गर्ने अन्तरनिहित चाहना हुन्छ। यी सबै कसरी भए? मानिस कुनै हिंस्रक जन्तुबाट विकसित हुँदै आएको होइन तर परमेश्वरको स्वरूपमा सृजिएको थियो। त्यसैकारण मानिसले मात्र आफ्नो सृष्टिकर्ताको गुन प्रकट गर्नसक्छ। र उहाँ आफ्नो परिचय यसरी दिनुहुन्छ: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।”—प्रस्थान ३४:६.
१५. हामीले किन विनम्र भई यहोवाको प्रशंसा गर्नुपर्छ?
१५ असाधारण ढंगले हाम्रो शरीर रच्नुभएकोमा हामी यहोवालाई प्रशंसा र कृतज्ञता जाहेर गरौं। हाम्रो जीवन धान्न नभई नहुने रक्त संचार प्रणालीले ६० सेकेण्डभित्र पूरै शरीरमा रगत प्रवाह गर्छ। व्यवस्था १२:२३ ले भनेझैं “रगत चाहिं प्राण” अर्थात् जीवन हो र जीवन परमेश्वरको दृष्टिमा अमूल्य छ। यसबाहेक, हामीसित बलिया हड्डी, लचकदार मांशपेशी, संवेदनशील स्नायु प्रणाली, जनावरको भन्दा उत्कृष्ट मस्तिष्क छ। गगनचुम्बी भवन जत्रो कम्प्युटरले समेत हाम्रो मस्तिष्कलाई माथ गर्न सक्दैन। यी सबै कुरा जानेर के उहाँसामु तपाईंको शिर झुक्दैन? झुक्नुपर्ने हो। (हितोपदेश २२:४) अनि हाम्रो फोक्सो, कण्ठ, जिब्रो, दाँत र मुखको अन्तरक्रियाद्वारा कसरी विभिन्न भाषाहरू प्रस्फुटन हुन्छ, त्यसलाई पनि विचार गर्नुहोस्। यी अद्भुत रचना देखेर नै दाऊदले यसरी यहोवाको प्रशंसा गरे: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) आउनुहोस्, दाऊद सँगसँगै हामी पनि कृतज्ञतापूर्वक हाम्रो अद्भुत रचनाकार तथा परमेश्वर, यहोवाको प्रशंसा गरौं!
१६. एक जना प्रख्यात संगीतकारले यहोवाको प्रशंसा गर्न कस्तो गीत रचे र हामीले कुन जोडदार निमन्त्रणालाई स्वीकार्नुपर्छ?
१६ अठारौं शताब्दीका योसेफ हेडन आफ्नो गीतिनाटकमा कवितामय शैलीमा यहोवाको प्रशंसा गर्छन्: “उहाँलाई धन्यवाद देओ, हे सारा मानिसहरू हो। किनकि उहाँका कामहरू अद्भुत छन्! भजन गाएर उहाँको आदर गर, उहाँको महिमा गाओ, हे मानिसहरू हो, उहाँको नाउँलाई धन्यको भन र महिमा गर! किनकि यहोवाको प्रशंसा सदासर्वदा रहिरहन्छ, आमेन, आमेन!” यद्यपि, भजनसंग्रहमा बारम्बार दोहोऱ्याइका प्रेरित अभिव्यक्तिहरूमा योभन्दा धेरै मीठास पाइन्छ। जस्तै, भजन १०७ मा चार पटक दोहोऱ्याइएको यो निमन्त्रणालाई विचार गर्नुहोस्: “मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्यकामका निम्ति उहाँको प्रशंसा गरून्!” के तपाईं यो प्रशंसाको भजनमा भाग लिनुहुन्छ? तपाईंले भाग लिनुपर्ने हो। किनभने हरेक साँचो सौन्दर्यका प्रतीकहरूको स्रोत अनन्तका महाराजा, यहोवा हुनुहुन्छ।
अझ विशाल कार्यहरू
१७. ‘मोशा र थुमाको भजनले’ कसरी यहोवाको गौरव गाउँछ?
१७ बितेको छ हजार वर्षदेखि अनन्तका महाराजाले अझ शक्तिशाली कामहरू गर्नुभएको छ। बाइबलको अन्तिम पुस्तक, प्रकाश १५:३, ४ मा हामी पैशाचिक शत्रुहरूमाथि विजय हासिल गर्ने स्वर्गीय प्राणीहरूबारे यो लेखिएको पाउँछौं: “तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदारहेछन्, ‘हे परमप्रभु, परमेश्वर सर्वशक्तिमान, तपाईंका काम ठूला र आश्चर्यपूर्ण छन्। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत् गर्नेछन्। किनभने तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्।’” तर यसलाई किन ‘मोशा र थुमाको भजन’ भनिन्छ? आउनुहोस्, छलफल गरौं।
१८. प्रस्थान अध्याय १५ मा कुन शक्तिशाली कार्यको सम्झना गरिएको छ?
१८ आजभन्दा झन्डै ३,५०० वर्षअघि लाल समुद्रमा फिरऊनको शक्तिशाली सेना नष्ट हुँदा इस्राएलीहरूले कृतज्ञतापूर्वक भजन गाउँदै यहोवाको प्रशंसा गरेका थिए। प्रस्थान १५:१, १८ मा हामी यस्तो लेखिएको पाउँछौं: “मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए, ‘म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ, घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभयो। परमप्रभुले सदा सर्वदै राज्य गर्नुहुनेछ।’” उहाँको सार्वभौमिकतालाई चुनौती दिने शत्रुहरूको न्याय गर्नुहुँदा यो अनन्तका महाराजाका धार्मिक निर्णयहरू प्रकट भए।
१९, २०. (क) यहोवाले किन इस्राएल राष्ट्र स्थापना गर्नुभयो? (ख) थुमा र अन्य मानिसहरूले कसरी शैतानको चुनौतीको जवाफ दिएका छन्?
१९ तर यस्तो न्याय गर्न किन आवश्यक पऱ्यो? कुरा के हो भने, अदनको बगैंचामा धूर्त सर्पले हाम्रो प्रथम पुर्खालाई पापमा फसाएको थियो। फलस्वरूप सम्पूर्ण मानवजातिमा पापी असिद्धता सऱ्यो। तथापि, अनन्तका महाराजाले आफ्नो प्रारम्भिक उद्देश्यअनुरूप तुरुन्तै कदम चाल्नुभयो। अतः पार्थिव क्षेत्रबाट उहाँका सबै शत्रुहरू हटाइनेछन् अनि प्रमोदवनरूपी स्थिति पुनर्स्थापित हुनेछ। अनि यो काम कसरी सम्पन्न गर्नुहुनेछ, त्यसको पूर्वचित्रण गर्न अनन्तका महाराजाले इस्राएल राष्ट्र स्थापित गर्नुभयो र आफ्नो व्यवस्था पनि दिनुभयो।—गलाती ३:२४.
२० तर पछि गएर इस्राएल आफै अविश्वासी निस्क्यो। त्यसका धार्मिक नेताहरूले परमेश्वरको एक मात्र पुत्रलाई रोमीहरूको हातमा सुम्पेर निर्मम सतावट भोग्न र मर्न दिंदा तिनीहरूको दुःखलाग्दो अविश्वासले सीमा नाघ्यो। (प्रेरित १०:३९; फिलिप्पी २:८) तथापि, येशूले मृत्युसम्मै निष्ठा कायम गर्नुभयो र “परमेश्वरका थुमा[को]” रूपमा आफूलाई बलि चढाउनुभयो। यसले परमेश्वरको पुरानो शत्रु शैतानको चुनौतीलाई उल्लेखनीय ढंगमा गलत साबित गऱ्यो। किनभने त्यसले पृथ्वीको कुनै पनि मानिस कठोर सतावट आइपर्दा परमेश्वरप्रति विश्वासी रहन सक्दैन भनेर चुनौती दिएको थियो। (यूहन्ना १:२९, ३६; अय्यूब १:९-१२; २७:५) त्यस्तैगरि आदमका असिद्ध सन्तान भए तापनि अरू लाखौं ईश्वरभीरु मानिसहरूले शैतानको आक्रमणको बावजूद आफ्नो निष्ठा कायम राखेर येशूको पदचिन्हमा हिंडेका छन्।—१ पत्रुस १:१८, १९; २:१९, २१.
२१. प्रेरित १७:२९-३१ अनुसार अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?
२१ तर अब ती विश्वासी जनहरूलाई इनाम दिने अनि सत्य र धार्मिकताका सबै शत्रुहरूको न्याय गर्ने यहोवाको समय आएको छ। (प्रेरित १७:२९-३१) यो कसरी पूरा हुनेछ? त्यसको जवाफ अर्को लेखले बताउनेछ।
पुनरावृत्ति पेटी
◻ यहोवालाई ‘अनन्तको महाराजा’ भन्नु किन उपयुक्त छ?
◻ यहोवाले सृष्टि गर्नुभएका कुराहरूमा उहाँको बुद्धि कसरी प्रकट हुन्छ?
◻ कुन कुन ढंगमा मानिस सर्वोत्कृष्ट सृष्टि हो?
◻ ‘मोशा र थुमाको भजनले’ के गर्ने आग्रह गर्छ?
[पृष्ठ १२-मा भएको पेटी]
यहोवाको सर्वोत्कृष्ट बुद्धि
अनन्तका महाराजाले पृथ्वीमा सृष्टि गर्नुभएका कुराहरूबाट थुप्रै ढंगमा उहाँको बुद्धि प्रकट हुन्छ। आगूरका यी शब्दहरूलाई ध्यान दिनुहोस्: “परमेश्वरको हरेक प्रतिज्ञा जाँचमा साँचो ठहरिएको छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।” (हितोपदेश ३०:५) त्यसपछि आगूर परमेश्वरका साना ठूला थुप्रै जीवित प्राणीहरूको उल्लेख गर्छन्। उदाहरणका लागि, पद २४ देखि २८ सम्म तिनले ‘पृथ्वीमा साना भए तापनि सहज-बुद्धि हुने चारवटा कुराहरूबारे’ वर्णन गर्छन्। ती हुन्, कमिला, पहराको न्याउरी मूसो, सलह र छेपारो।
‘सहज-बुद्धि हुने’—हो, जनावरहरू त्यस्तै किसिमले बनिएका हुन्छन्। मानिसहरूजस्तो तिनीहरू तर्क गर्न सक्दैनन्। तिनीहरू आफ्नो अन्तरनिहित बुद्धिमा भर पर्छन्। के तपाईंले कहिल्यै त्यसलाई विचार गर्नुभएको छ? यी प्राणीहरू वास्तवमा असाध्यै व्यवस्थित हुन्छन्! उदाहरणका लागि, कमिलाहरूले रानी, कर्मी र भालेहरूका लागि छुट्टाछुट्टै कोठाहरू बनाएका हुन्छन्। कुनै कुनै जातका कर्मी कमिलाहरूले गुँडमा अलग्गै ठाउँ छुट्याएर स-साना कीराहरूलाई पाल्छन् अनि गाईलाई दुहेजस्तै यी स-साना कीराहरू दुहन्छन्। सिपाही कमिलाहरूले चाहिं बाहिरबाट आउने शत्रुहरूलाई खेदेर भगाउँछन्। कमिलाको यस्तो गुनले गर्दा हितोपदेश ६:६ ले यस्तो सल्लाह दिन्छ: “ए अल्छे! कमिलाकहाँ गएर त्यसको चाल-ढंग हेर्, र ज्ञान सिक्।” के त्यस्ता उदाहरणहरूले हामीलाई “प्रभुको काममा प्रशस्त हुँदै जाने” प्रोत्साहन दिंदैन र?—१ कोरिन्थी १५:५८.
मानिसहरूले विशाल हवाइजहाजहरू निर्माण गरेका छन्। तर ३० ग्रामभन्दा कम वजन हुने हमिंगबर्डजस्ता चराहरूले ती हवाइजहाजहरूभन्दा कयौं गुना धेरै काम गर्नसक्छन्। बोइंग ७४७ हवाइजहाजलाई समुद्रपार यात्रा गर्न १,८०,००० लिटर तेल, प्रशिक्षित चालक दल र जटिल नियन्त्रण प्रणाली चाहिन्छ। तर अति सानो हमिंगबर्ड चरालाई उत्तर अमेरिकादेखि मेक्सिकोको खाडी हुँदै दक्षिण अमेरिका पुग्न शरीरमा एक ग्राम बोसो भए पुग्छ। त्यसलाई न भारीका भारी इन्धन, न नियन्त्रण गर्ने प्रशिक्षण न त जटिल चार्ट वा कम्प्युटरहरू नै आवश्यक पर्छ! के यस्तो क्षमता विकासवादको उपज हुनसक्छ? अहँ, पटक्कै हुनसक्दैन! यो अति सानो चरोसित सहज बुद्धि छ र त्यसको सृष्टिकर्ता यहोवा परमेश्वरले त्यसको बुद्धिमा ती अद्भुत काम गर्ने ज्ञान भर्नुभएको छ।
[पृष्ठ १०-मा भएको चित्र]
‘अनन्तका महाराजाको’ विविध सृष्टिहरूले उहाँको महिमा गाउँछ
[पृष्ठ १५-मा भएको चित्र]
लाल समुद्रको किनारमा मोशा र सबै इस्राएलीहरूले यहोवाको विजयोत्सव मनाएजस्तै आरमागेडोनपश्चात् पनि ठूलो रमाहट हुनेछ