चिन्तामा नडुब्नुहोस्
“भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको बुराइ आजको निम्ति यथेष्ट छ।” (मत्ती ६:३४) येशू ख्रीष्टले दिनुभएको त्यो सल्लाह अहिलेको व्यस्त तथा तनाउपूर्ण समाजमा बाँचिरहेका सबैको निम्ति व्यवहारिक छ।
तर साँच्चै व्यवहारिक भएर हेर्दा के हाम्रा समस्या, निर्णय, दायित्व तथा जिम्मेवारीहरूबारे चिन्तित नहुनु सम्भव छ र? करोडौं मानिसहरू निराश, विचलित र बोझले दबिएका छन्। त्यसैकारण त पीडा कम गर्ने ट्रांक्विलाइजरहरूको व्यापारले करोडौं डलर मुनाफा कमाइरहेका छन्।
जायज र नाजायज चिन्ताहरू
हाम्रा दायित्व, कार्यभार, निर्णय र समस्याहरू जरुरी होस् या नहोस् हामीले योजना बनाएर तयारी गर्नुपर्छ। बाइबलले हामीलाई कुनै पनि ठूलो काम थाल्नुअघि “बसेर हिसाब” गर्न प्रोत्साहन दिन्छ। (लूका १४:२८-३०) यसमा उपलब्ध मौकालाई विचार गर्नु, सम्भाव्य परिणाम केलाउनु र त्यस कार्यले के कति समय, शक्ति र पैसा खानेछ भनी हिसाब गर्नु समावेश छ।
परिणाम कस्तो होला भनेर विचार त गर्नैपर्छ तर हरेक कुराको परिणाम यस्तै होला भन्नु सम्भव छैन। उदाहरणका लागि, परिवारको सुरक्षालाई ध्यानमा राख्दै तपाईंले घरमा आगलागी भएको खण्डमा के गर्ने भनी विचार गर्नुभएको छ होला। तपाईंले आगलागी हुने बित्तिकै संकेत दिने र आगो निभाउने उपकरणहरू किनेर घरमा जडान गर्नुहुन्छ होला। घरको कुन कुन ठाउँबाट बाहिर भाग्ने भनेर पूर्वाभ्यास पनि गर्नुहुन्छ होला। तर यस्ता बुद्धिमानी र व्यवहारिक योजनाले कतिखेर अचाक्ली नाजायज चिन्ताको रूप लिनथाल्छ? कपोलकल्पित परिस्थिति सम्झेर औधी चिन्तित हुन थाल्दा त्यो जायज नभई नाजायज हुनजान्छ। सायद हुनसक्छ, त्यो त केवल कल्पनाको उपज हो। मनमा नानाभाँतिका कुराहरू खेल्नसक्छन् र तपाईंले आफ्नो परिवारको सुरक्षाको लागि पर्याप्त प्रबन्ध नगर्नुभएको वा कुनै कुरामा ध्यान दिन बिर्सेको महसुस हुनसक्छ। यसरी आफूले आफूमाथि थोपरेको चिन्ता एकदमै भारी बोझसरह भएर निद्रा गुम्नसक्छ।
फिरऊनसामु हाजिर गराइएका मोशा
यहोवा परमेश्वरले अगमवक्ता मोशालाई एउटा गाह्रो काम गर्न खटाउनुभयो। सर्वप्रथम, मोशा इस्राएलीहरूसामु हाजिर भएर तिनीहरूलाई मिश्रबाट छुटाउन यहोवाले नियुक्त गर्नुभएको व्यक्ति उनी स्वयं हुन् भनी विश्वस्त गराउनुपरेको थियो। त्यसपछि, मोशाले फिरऊनसामु हाजिर भएर इस्राएलीहरूलाई छुटकारा दिने निवेदन गर्नुपरेको थियो। अन्तमा, मोशाले लाखौं मानिसहरूको जमातलाई उजाडस्थान हुँदो अमित्रैलो मानिसहरू बसोबास गर्ने भूमिसम्म डोऱ्याउनुपरेको थियो। (प्रस्थान ३:१-१०) यो कुनै चानचुने काम थिएन तर के मोशा यो जिम्मेवारीलाई सम्झँदै अनावश्यक चिन्तामा डुबे?
स्पष्टतः, मोशा थुप्रै विषयहरूमा चिन्तित थिए। तिनले यहोवालाई सोधे: “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पितापुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो, तब तिनीहरूले “उहाँको नाउँ के हो ता?” भनेर सोधे भने मैंले तिनीहरूलाई के भन्ने?’ ” यहोवाले तिनलाई जवाफ दिनुभयो। (प्रस्थान ३:१३, १४) फिरऊनले तिनको कुरा पत्याएनन् भने के होला भनेर पनि मोशा चिन्तित थिए। फेरि यहोवाले आफूले नियुक्त गर्नुभएको अगमवक्ता मोशालाई जवाफ दिनुभयो। अब एउटा अर्को समस्या थियो—मोशाले आफू “बोल्नमा उस्तो सिपालो” नभएको बताए। अब के गर्ने? मोशाको लागि बोलिदिन यहोवाले हारूनको प्रबन्ध गर्नुभयो।—प्रस्थान ४:१-५, १०-१६.
आफ्ना प्रश्नहरूको जवाफ पाएको र परमेश्वरमाथि विश्वास राख्दै मोशाले यहोवाले अह्राउनु भएबमोजिम गरे। फिरऊनको सामु हाजिर हुँदा के पो हुने होला भनी चिन्तित हुनुको साटो परमेश्वरले जसो भन्नुभएको थियो, मोशाले “त्यसै गरे।” (प्रस्थान ७:६) तिनी चिन्तामा डुबेका भए सायद यो काम पूरा गर्न चाहिने विश्वास र साहस ढलपल हुनेथियो।
मोशाले सन्तुलित ढंगमा यो कार्यभार सँभालेको उदाहरणलाई प्रेरित पावलले “आत्मसंयमको आत्मा” भनेका छन्। (२ तिमोथी १:७; तीतस २:२-६) मोशाले आत्मसंयमको आत्मा नदेखाएका भए तिनी अतालिएर यो काम स्वीकार्ने नै थिएनन् होला।
आफ्नो सोचाइलाई नियन्त्रणमा राख्नुहोस्
आफ्नो दैनिक जीवनमा विश्वासको परीक्षा वा जाँचहरू आइपर्दा तपाईं के गर्नुहुन्छ? के तपाईं आफूले सामना गर्नुपर्ने अवरोध वा चुनौतीहरूबारे सम्झँदा मात्र पनि असाध्यै छट्पटिनुहुन्छ? वा त्यसप्रति सन्तुलित दृष्टिकोण राख्नुहुन्छ? एउटा भनाइ छ, ‘वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ।’ वनमा बाघै छैन कि के थाह! त्यसकारण नहुने कुराको किन पीर गर्नु? बाइबल यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।” (हितोपदेश १२:२५) यसो होला उसो होला भनी अड्कल लगाउञ्जेल जे गर्नुपर्ने हो, त्यो गर्न निकै ढिलो भइसकेको हुनेछ।
नाजायज चिन्ताले पुऱ्याउने आध्यात्मिक हानि सबैभन्दा गम्भीर कुरा हो। धनसम्पत्तिको भ्रम र “यस संसारको फिक्री[ले]” “राज्यको वचन[प्रतिको]” मूल्यांकनलाई निसासिदिनसक्छ भनी येशू ख्रीष्टले संकेत गर्नुभयो। (मत्ती १३:१९, २२) काँडाहरूले बोटका मुनाहरूलाई हुर्केर फल फलाउन बाधा पुऱ्याएझैं अनियन्त्रित चिन्ताले आध्यात्मिक प्रगति गरेर परमेश्वरको प्रशंसा हुने फल फलाउनदेखि रोक्नसक्छ। आफैले आफूमाथि थोपरेको नाजायज चिन्ताले गर्दा कोही कोही यहोवालाई समर्पण गर्नदेखि पन्छिएका छन्। तिनीहरू चिन्ता गर्छन्, ‘मैले समर्पण गरेअनुरूप जीवन बिताउन सकिनँ भने नि?’
आध्यात्मिक युद्धमा हामी “हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्नालाई अधीनमा” पार्ने प्रयास गरिरहेका छौं भनी प्रेरित पावलले बताए। (२ कोरिन्थी १०:५) हाम्रो प्रमुख शत्रु, शैतान अर्थात् दियाबल हाम्रा चिन्ताहरूलाई तारो बनाएर हामीलाई निरुत्साहित पार्न अनि शारीरिक, भावनात्मक र आध्यात्मिक तवरमा कमजोर बनाउनसक्यो भने एकदमै खुसी हुनेछ। होस नपुऱ्याउनेहरूको शंकाको नाजायज फाइदा उठाउनमा त्यो खप्पिस छ। त्यसैकारण पावलले मसीहीहरूलाई “शैतानलाई मौका नदेओ” भनी चेताउनी दिए। (एफिसी ४:२७) “यस संसारको देव” शैतान “अविश्वासीहरूको समझशक्तिलाई अन्धा” तुल्याउन सफल भएको छ। (२ कोरिन्थी ४:४) त्यसले हाम्रो सोचाइलाई कहिल्यै नियन्त्रण गर्न नदेऔं!
मदत उपलब्ध छ
समस्या आइपर्दा निर्देशन र सान्त्वनाको लागि सानो बालक आफ्नो मायालु बुबाकहाँ जान्छ। त्यसरी नै हामी समस्याहरू आइपर्दा स्वर्गमा हुनुहुने मायालु पिता यहोवालाई पुकार्नसक्छौं। भनौं भने, हाम्रो बोझ र चिन्ता उहाँलाई सुम्पनु भनेर यहोवा परमेश्वर आग्रह गर्नुहुन्छ। (भजन ५५:२२) आफ्नो बुबाबाट सान्त्वना पाएपछि निश्चिन्त हुने बालकजस्तै हामीले आफ्नो बोझ उहाँलाई सुम्पने मात्र होइन, उहाँकै जिम्मामा छोड्नुपर्छ।—याकूब १:६.
हामी कसरी यहोवालाई आफ्ना चिन्ताहरू सुम्पनसक्छौं? फिलिप्पी ४:६, ७ यस्तो जवाफ दिन्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” हो, हाम्रो अटुट प्रार्थना तथा अन्तरबिन्ती सुन्नुभएपछि यहोवाले हामीलाई भित्री शान्ति दिनुहुनेछ र फलतः हामी नाजायज चिन्ताहरूले विचलित हुनेछैनौं।—यर्मिया १७:७, ८; मत्ती ६:२५-३४.
हाम्रो प्रार्थनाअनुसारको काम गर्न हामी मानिसहरूबाट अलग्गै बस्ने वा आफ्नै सोचाइमा मात्र निर्भर गर्ने गर्नु हुँदैन। (हितोपदेश १८:१) बरु, हाम्रो समस्यासित मिल्ने बाइबल सिद्धान्त तथा निर्देशनहरू विचार गर्नु बेस हो र यसो गर्दा हामी आफ्नै बुद्धिमा मात्र भर परिरहेका हुँदैनौं। (हितोपदेश ३:५, ६) जवान तथा वृद्ध दुवैले समस्यासित जुझ्न अनि निर्णयहरू गर्न बाइबल र वाच टावर प्रकाशनहरूको विशाल भण्डारमा भर पर्नसक्छन्। साथै, मसीही मण्डलीमा बुद्धिमान् तथा अनुभवी प्राचीन अनि अरू परिपक्व मसीहीहरू छन् र तिनीहरू सधैं हामीसित कुरा गर्न इच्छुक छन्। (हितोपदेश ११:१४; १५:२२) हाम्रो समस्यामा बिथोलित नभएका र कामकुरामा परमेश्वरको दृष्टिकोण राख्ने व्यक्तिहरूले हामीलाई बेग्लै दृष्टिकोणले हेर्न मदत दिनसक्छन्। तिनीहरूले हाम्रोलागि निर्णय गर्नेछैनन् तर तिनीहरू निकै प्रोत्साहन र सहयोगको स्रोत हुनसक्छन्।
“परमेश्वरमा आशा राख्”
हाम्रा दैनिक समस्याहरू नै हामीलाई तनाउग्रस्त बनाउन यथेष्ट छन् भन्ने कुरामा कसैको दुई मत नहोला। यसमाथि कल्पित समस्याहरूको थुप्रो त छँदैछ। के होला भन्ने चिन्ताले हामीलाई त्राहित्राहि अनि असजिलो पार्छ भने यहोवालाई प्रार्थना र अन्तरबिन्ती गरौं। निर्देशन, बुद्धि र आत्मसंयमको आत्माको लागि उहाँको वचन र संगठनको मदत मागौं। तब हामीले सबै प्रकारका परिस्थिति सामना गर्न मदत उपलब्ध रहेछ भन्ने महसुस गर्नेछौं।
मन भारी वा चिढिएको महसुस गर्दै भजनरचयिताले यस्तो भजन गाए: “हे मेरो आत्मा, तँ किन मैभित्र खिन्न हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन ब्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा सहायक र मेरा परमेश्वर हुनुहुन्छ।” (भजन ४२:११) हामी पनि यस्तै भावनाहरू व्यक्त गर्नसकौं।
हो, हुनसक्ने कुराको लागि योजना बनाऔं अनि अप्रत्याशित कुराहरू यहोवाको हातमा सुम्पौं। “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:७.
[पृष्ठ २३-मा भएको चित्र]
दाऊदले जस्तै के तपाईं आफ्नो भार र चिन्ताहरू यहोवालाई सुम्पनुहुन्छ?