“शान्तिका परमेश्वर[ले]” दुःखीहरूको हेरचाह गर्नुहुन्छ
पुरातन समयका दाऊदले निकै दुःख भोग्नुपऱ्यो भनी बाइबलले स्पष्ट पार्छ। तिनलाई जसरी भए पनि मार्ने निधो गरिसकेका दुष्ट र हठी राजाको कारण दाऊदले केही वर्ष भगौटे जीवन बिताए। त्यस दुःखको समयमा दाऊद अनकन्टार ठाउँहरूमा लुके। तर तिनले लुक्नुका साथसाथै अरू पनि केही गरे। तिनले आफ्नो दुःख पोख्दै यहोवालाई निष्कपट प्रार्थना गरे। आफ्नो संकष्टबारे पछि तिनले यसो लेखे: “उच्च सोरमा म परमप्रभुलाई पुकार्छु, मेरो उच्च सोरले म परमप्रभुमा अन्तरबिन्ती गर्छु। म मेरो दुःखपुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु।”—भजन १४२:१, २.
दाऊदले परमेश्वरमाथि भरोसा राखेको कुरा सुन्दा आज कसै कसैले खिल्ली उडाउलान्। तिनीहरू प्रार्थना त मनलाई चित्त बुझाउने बाटो मात्र हो र त्यो वास्तवमा समयको फजुल खर्च हो भन्छन्। तथापि, दाऊदको परमेश्वरमाथि भरोसा त्यतिकै खेर गएन किनभने आखिरमा तिनका शत्रुहरू परास्त भए। आफ्नो अतीतको अनुभवलाई सम्झँदै दाऊदले यसो लेखे: “यस दुःखी मानिसले पुकारा गऱ्यो, र परमप्रभुले सुन्नुभयो, र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो।” (भजन ३४:६) दाऊदले पुकारेको साँचो परमेश्वरलाई अन्य ठाउँमा “शान्तिका परमेश्वर” भनिएको छ। (फिलिप्पी ४:९; हिब्रू १३:२०) के उहाँले हाम्रो दुःखहरू हरण गर्नुहुनेछ अनि के हामीले शान्ति पाउनेछौं?
यहोवाले तपाईंको हेरचाह गर्नुहुन्छ
यहोवाले मानिसहरूको दुःखबारे वास्तै नराख्नुभएको चाहिं होइन। (भजन ३४:१५) उहाँले आफ्ना सेवकहरूको हेरचाह सामूहिक रूपमा मात्र गर्नुहुने नभई उहाँको भय मान्ने प्रत्येक व्यक्तिविशेषको पनि गर्नुहुन्छ। प्राचीन यरूशलेममा मन्दिर समर्पण गर्दा सुलेमानले यहोवालाई यस्तो बिन्ती गरे, “आफ्नो दुःख वा कष्टमा पछुतो गरेर यस भवनतिर आफ्नो हात उठायो भने, तपाईंले आफ्नो प्रजा इस्राएलको हरेक मानिसको प्रार्थना र अर्जबिन्ती सुन्नुहोस्।” (२ इतिहास ६:२९) सुलेमानले मानि लिएझैं प्रत्येक व्यक्तिविशेषले सहनुपर्ने दुःखकष्टहरू बेग्लाबेग्लै हुन्छन्। कोही अस्वस्थ होलान्। अर्कोले चाहिं भावनात्मक पीडा भोगिरहेका होलान्। कोही चाहिं प्रियजनको मृत्युले शोकाकुल होलान्। बेरोजगारी, आर्थिक कठिनाइ तथा पारिवारिक समस्याहरू पनि यी संकष्टको समयमा हुने सामान्य पीडाहरू हुन्।
एकछिनको लागि तपाईं ‘आफ्नै दुःख वा कष्टलाई’ नै सम्झनुहोस्। तपाईंले पनि कहिलेकाहीं भजनरचयिता दाऊदले जस्तै महसुस गर्नुभएको होला, उनले यसो लेखे: “कसैले मलाई टिठाउँछ कि भनेर मैले हेरें, तर कोही भएनन्, र सान्त्वना दिनेहरू पनि, तर भेट्टाइनँ।” तैपनि, परमेश्वरले तपाईंको परिस्थितिबारे हेरचाह गर्नुहुन्छ भनी तपाईं ढुक्क हुन सक्नुहुन्छ किनभने सोही भजनमा दाऊदले यसो लेखे: “परमेश्वरले दरिद्रहरूको पुकारा सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्न।”—भजन ६९:२०, ३३.
दाऊदका शब्दहरूलाई विस्तृत रूपमा लागू गर्दा यसो भन्नसक्छौं, मानवजातिका सृष्टिकर्ताले दुःखको कारण प्रतीकात्मक कैदमा परेकाहरूको प्रार्थना सुन्नुहुन्छ भनी हामी ढुक्क हुनसक्छौं। अझ त्योभन्दा पनि बढी उहाँले तिनीहरूको समस्याबारे केही त पक्कै गर्नुहुनेछ। दुःख भोगिरहेकाहरूप्रति यहोवाको दया झल्काउने निम्न कथनहरूलाई ध्यान दिनुहोस्।
“विधवा अथवा टुहुरालाई दुःख नदेओ। यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्चय तिनीहरूको पुकारा सुन्नेछु, र मेरो क्रोध दन्कनेछ।”—प्रस्थान २२:२२-२४.
“के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनु हुन्न र? जसले उहाँलाई रातोदिन पुकार्दछ, र उहाँ तिनीहरूमाथि सहनशील हुनुहुन्छ।”—लूका १८:७.
“दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१२-१४.
“जसले तिमीहरूलाई [परमेश्वरका पार्थिव जनहरूलाई] छुन्छ त्यसले उहाँको आँखाको नानीलाई छुन्छ।”—जकरिया २:८.
यी केही उदाहरणहरूबाट सृष्टिकर्ताले आफ्ना जनहरूप्रति गहिरो चासो राख्नुहुन्छ भनेर प्रमाणित हुन्छ। तसर्थ, प्रेरित पत्रुसको यस सल्लाह पालन गर्नुमा हाम्रै भलाइ छ: “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) तर परमेश्वरले पीडाको समयमा हामीलाई कसरी मदत गर्नुहुनेछ?
परमेश्वरले दुःखीहरूलाई कसरी मदत गर्नुहुन्छ
दाऊदले दुःख महसुस गर्दा परमेश्वरलाई निर्देशनको निम्ति निष्कपटता साथ प्रार्थना गरेको हामीले थाह पाइसक्यौं। त्यति नै बेला दाऊदले आफूलाई मार्न खोज्नेहरूबाट भाग्न आफ्नो चतुऱ्याइँ पनि चलाए। अतः, यहोवामाथि भर पर्नुका साथसाथै आफैले पनि प्रयास गर्दा दाऊदले दुःख खप्न सके। हामी यसबाट के पाठ सिक्नसक्छौं?
हामीलाई पनि दुःख आइपर्दा समस्या समाधान गर्न अग्रसर हुनु पक्कै पनि गलत कदम हुनेछैन। उदाहरणका लागि, कुनै मसीही बेरोजगार भए भने के तिनले जागिर खोज्न प्रयास गर्नेछैनन् र? वा अस्वस्थ भए भने के तिनी स्वास्थ्योपचारको लागि जाँदैनन् र? अवश्य किनभने सबै प्रकारको बिरामी निको गर्न सक्नुहुने येशूले पनि ‘रोगीहरूलाई वैद्यको आवश्यकता हुन्छ’ भनी स्वीकार्नुभयो। (मत्ती ९:१२; तुलना गर्नुहोस् १ तिमोथी ५:२३) हो, कुनै कुनै दुःखहरू त सहनु सिवाय अरू उपाय नै छैन। तर जे होस्, साँचो मसीहीहरू अरू कतिपय मानिसहरू जस्तो दुःख भोग्नु नै राम्रो कुरा ठानी त्यसमा रमाउने गर्दैनन्। (१ राजा १८:२८ तुलना गर्नुहोस्।) बरु, तिनीहरू आफ्नो दुःख हटाउन सकेजति गर्छन्।
तर, यस्तो बेला यहोवालाई आफ्नो दुःख पोखाउनु व्यवहारिक पनि हो। किन? प्रथमतः, हाम्रो सृष्टिकर्तामा लीन हुँदा “बढी महत्त्वपूर्ण कुरा” के हो त्यो थाह पाउनसक्छौं। (फिलिप्पी १:१०) उदाहरणका लागि, जागिर खोज्दा परमेश्वरलाई प्रार्थना गर्दै उहाँमाथि भरोसा राख्यौं भने बाइबल सिद्धान्तसित टक्कर खाने जागिर खानेछैनौं। रुपियाँपैसाको प्रेमले गर्दा “विश्वासबाट कुमार्गमा” फस्नुबाट पनि हामी जोगिन्छौं। (१ तिमोथी ६:१०) जागिर वा जीवनका जस्तोसुकै गम्भीर निर्णयहरू गर्दा हामीले दाऊदको सल्लाह पछ्याउनुपर्छ: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सह्माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.
प्रार्थनाले हाम्रो मनस्थितिलाई पनि सन्तुलनमा राख्न मदत दिन्छ। यसले गर्दा दुःख आइपरे पनि हामी अति नै विचलित हुँदैनौं। प्रेरित पावलले यसो लेखे: “तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” परिणाम कस्तो हुनेछ? “परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, परमेश्वरबाट शान्ति पाउनेछौं। त्यो शान्तिले “सारा समझलाई माथ गर्छ।” अतः त्यसले निराशाजनक भावनाहरूका कारण पीडित हुँदा पनि हाम्रो मनस्थितिलाई ठीक अवस्थामा राख्नसक्छ। यसले हाम्रो ‘हृदय र विचारलाई रक्षा गर्नेछ।’ यसप्रकार दुःखमाथि दुःख नथप्न हतपती मूर्ख कार्य गर्नबाट बच्नेछौं।—उपदेशक ७:७.
प्रार्थनाले त्यति मात्र गर्ने होइन। यसले कुनै परिस्थितिको नतिजा कस्तो हुन्छ त्यसमा पनि फरक पार्नसक्छ। बाइबलमा उल्लिखित उदाहरणलाई लिनुहोस्। प्रेरित पावल रोममा कैदी हुँदा तिनले सँगी विश्वासीहरूलाई आफ्नो लागि प्रार्थना गर्न आग्रह गरे। किन? तिनीहरूलाई पावलले यसो लेखे: “यो गर्नालाई ज्यादै निवेदन गर्दछु, कि मैले तिमीहरूलाई चाँड़ै भेट गर्न पाऊँ भन्ने हाम्रा निम्ति प्रार्थना गर।” (हिब्रू १३:१९) सँगी विश्वासीहरूले निरन्तर प्रार्थना गरेमा तिनी कहिले छुट्ने हो, त्यसमा फरक पर्नसक्छ भनी पावललाई थाह थियो।—फिलेमोन २२.
के प्रार्थनाले तपाईंको दुःखलाई कम गर्नेछ? शायद गर्छ होला। तर हामीले एउटा कुरा भने बुझ्नुपर्छ, यहोवाले सधैं हामीले चाहेको ढंगमा प्रार्थनाको जवाफ दिनुहुन्न। उदाहरणका लागि, पावलले आफ्नो “शरीरमा एक किसिमको छेस्को” अर्थात् आँखासम्बन्धी समस्याबारे बारम्बार प्रार्थना गरे। त्यो दुःख हटाउनुको साटो परमेश्वरले पावललाई यसो भन्नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।”—२ कोरिन्थी १२:७-९.
अतः, कहिलेकाहीं हाम्रा दुःखहरू यथावत् नै रहन्छन्। तर, सृष्टिकर्तामाथि हाम्रो भरोसा प्रमाणित गर्ने मौका पाउनेछौं। (प्रेरित १४:२२) यसबाहेक, यहोवाले हाम्रो दुःख नहटाउनु भए तापनि हामीले “सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ” भनी विश्वस्त हुनसक्छौं। (१ कोरिन्थी १०:१३) हो, यहोवालाई ‘कुनै पनि संकष्टमा हुनेहरूलाई सान्त्वना दिनुहुने सान्त्वनाका परमेश्वर’ भन्नुमा जायज कारणहरू छन्। (२ कोरिन्थी १:३, ४) सहनको लागि उहाँले हामीलाई प्रशस्त उपाय दिनुहुन्छ, जसले गर्दा केही हदसम्म शान्ति पाउनेछौं।
दुःखबिनाको संसार चाँडै!
सृष्टिकर्ताले चाँडै उहाँको राज्य मार्फत मानिसजातिको दुःख हटाउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले यो कसरी गर्नुहुनेछ? दुःखको प्रमुख स्रोत र शान्तिको महा शत्रु शैतान अर्थात् दियाबललाई बाइबलले “यस संसारको देव” भनेको छ र त्यसलाई उहाँले नाश गर्नुहुनेछ। (२ कोरिन्थी ४:४) तर चाँडै संसारमा त्यसको कुनै अधिकार हुनेछैन। त्यसको विनाशपछि परमेश्वरसित डराउनेहरूले अनगिन्ती आशिष्हरू पाउन सक्नेछन्। यहोवाले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका” हुनेछन् भनी बाइबलले प्रतिज्ञा गर्छ।—प्रकाश २१:१-४.
के तपाईंलाई दुःखबिनाको संसार काल्पनिक जस्तो लाग्छ? दुःखको जीवन बिताउन हामीलाई यति बानी परिसकेको छ कि दुःखबिनाको जीवनबारे सोच्न पनि गाह्रो लाग्नसक्छ। तर परमेश्वरले मानिसजातिलाई डर, चिन्ता र फिक्रीबिनाको जीवनको उद्देश्यसहित सृष्टि गर्नुभएको थियो। उहाँको त्यो उद्देश्य अवश्य पूरा हुनेछ।—यशैया ५५:१०, ११.
पहिलो लेखमा उल्लिखित सोनिया, फाबियाना र आनाले पनि यही आशा राखेका छन्। दुइ जना छोरा एड्सको कारण गुमाउनु परेकी सोनियाले बाइबलमा उल्लिखित धर्मी र अधर्मी दुवैको पुनरुत्थान हुने आशाबाट निकै शान्ति पाएकी छिन्। (प्रेरित २४:१५) तिनी भन्छिन्: “एउटा कुरा चाहिं पक्का छ, हाम्रो आशाले जस्तोसुकै दुःखलाई पनि माथ गर्छ।”
अनाथालयमै हुँदा आनाले यहोवाको साक्षीलाई भेटिन्। तिनी भन्छिन्: “तिनले मलाई बाइबलबाट यहोवाको नाउँ देखाइन् र म हर्षले रोएँ। मलाई मदतको अत्यन्त आवश्यकता थियो र हाम्रो चिन्ता गर्ने परमेश्वर पनि हुनुहुँदो रहेछ भनेर थाह पाएँ।” अनाथालयबाट निस्केपछि आनाले बाइबल अध्ययन गरिन् र यहोवाका प्रतिज्ञाहरूबारे अझ धेरै सिकिन्। अनि तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरिन् र बप्तिस्मा लिएर त्यसलाई प्रतीकात्मक रूप दिइन्। “त्यसबेलादेखि म यहोवालाई हर बखत प्रार्थना गरेर उहाँमाथि भरोसा राख्छु र उहाँले मदत दिनुहुन्छ भन्ने आश्वासनबाट निकै सान्त्वना पाएकी छु।”
भविष्यमा पूरा हुने परमेश्वरका प्रतिज्ञाहरूबारे सिकेर फबियानाले पनि सान्त्वना र मनोशान्ति पाएकी छिन्। “बाइबल सत्य सिक्नु भनेको त निस्पट्ट अन्धकार कोठाबाट निक्लेर स्वच्छ, उज्यालो कोठामा जानुजस्तै हो।”—भजन ११८:५ तुलना गर्नुहोस्।
तर कहिले र कसरी संसारभरि साँचो शान्ति आउनेछ? पछिल्ला लेखहरूमा हेरौं।
[पृष्ठ ६-मा भएको पेटी]
विभिन्न प्रकारका दुःखहरू
▪ संसारको झन्डै एक तिहाइ जनसंख्या अति दरिद्र अवस्थामा छन् अनि अझ लाखौं मानिसहरू चाहिं अमानवीय अवस्थामा बस्छन्।
▪ बीस करोडभन्दा बढी बालबालिकाहरू कुपोषणको शिकार भएका छन्।
▪ पखालाले गर्दा पाँच वर्षमुनिका झन्डै तीस लाख बच्चाहरू वर्षेनी मर्छन्।
▪ सन् १९९३ मा मात्रै झन्डै साढे सोह्र लाख मानिसहरू सरुवा रोगको कारण मरे। कुनै कुनै मुलुकहरूले रोगहरूलाई बेग्लै किसिमले वर्गीकरण गर्ने हुँदा वास्तविक आँकडा अझ धेरै हुनसक्छ।
▪ लगभग ५० करोड मानिसहरू कुनै न कुनै प्रकारको मानसिक समस्याबाट ग्रसित छन्।
▪ अरू उमेरका मानिसहरूमा भन्दा पनि युवावर्गमा आत्महत्याको संख्या बढ्दो छ।
▪ दी युनेस्को कुरियर यसो भन्छ: “अनिकाल र बेरोजगारीले संसारलाई कलंकित बनाइसक्यो। विश्वका सात सम्पन्न राष्ट्रहरूमा तीन करोड पचास लाख मानिसहरू बेरोजगार छन्। ब्राजिलमा मात्रै दुइ करोड जना यस्ता कामदारहरू छन् जसले जागिर पाउँदैमा प्रशस्त खाना पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन।”
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरले प्रतिज्ञा गर्नुभएको दुःखबिनाको संसारप्रति ध्यानकेन्द्रित गर्न प्रार्थनाले हामीलाई मदत गर्नसक्छ