आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्
“यी सबै सराप तिमीहरूका पछि लागेर तिमीहरूलाई भेट्टाउनेछन्। . . . तिमीहरूलाई सबै चीज प्रशस्त भएकोले खुशीसँग प्रसन्नचित्तले [आनन्दको हृदयले, न्युव] आफ्ना परमप्रभु परमेश्वरको सेवा गरेनौ।”—व्यवस्था २८:४५-४७.
१. जहाँसुकै सेवा गरे तापनि यहोवाको सेवा गर्नेहरू आनन्दित हुन्छन् भन्ने के प्रमाण छ?
यहोवाका सेवकहरू आनन्दित छन्, चाहे तिनीहरू स्वर्गमा अथवा पृथ्वीमा उहाँको इच्छा गरिरहेका हुन्। पृथ्वीको जग बसाल्दा स्वर्गीय “ताराहरू” आनन्दसाथ कराए र निस्सन्देह, अरबौं स्वर्गदूतहरू आनन्दसाथ “उहाँको वचन शिरोपर” गर्छन्। (अय्यूब ३८:४-७; भजनसंग्रह १०३:२०) यहोवाको एकमात्र पुत्र स्वर्गमा “प्रमुख कार्यकर्त्ता” हुनुहुन्थ्यो र मानव भएर पृथ्वीमा ईश्वरीय इच्छा गर्न पाउनुहुँदा रमाउनुभयो। यसबाहेक, “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हितोपदेश ८:३०, ३१; हिब्रू १०:५-१०; १२:२.
२. इस्राएलीहरूले आशिष् या सरापहरू पाए भनी कुन कुराले निर्धारण गऱ्यो?
२ परमेश्वरलाई खुशी तुल्याउँदा इस्राएलीहरूले आनन्द अनुभव गरे। तर उहाँप्रति अनाज्ञाकारी हुँदा नि? तिनीहरूलाई यस्तो चेताउनी दिइयो: “तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैंको निम्ति ती [सरापहरू] लक्षण र उदेकका कुरा हुनेछन्। तिमीहरूलाई सबै चीज प्रशस्त भएकोले खुशीसँग प्रशन्नचित्तले आफ्ना परमप्रभु परमेश्वरको सेवा गरेनौ। यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूको विरूद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगरेसम्म तिमीहरूको काँधमाचाहिं फलामको जुवा हालिदिनुहुन्छ।” (व्यवस्था २८:४५-४८) आशिष् तथा सरापहरूले को को यहोवाका सेवकहरू हुन् र को को होइनन् भनेर स्पष्टसित देखायो। परमेश्वरका सिद्धान्त र उद्देश्यहरूलाई अनादरपूर्ण व्यवहार वा अवहेलना गर्न सकिंदैन भनी ती सरापहरूले प्रमाणित गऱ्यो। विनाश र निर्वासनसम्बन्धी यहोवाका चेताउनीहरू पालन गर्न इस्राएलीहरूले इन्कार गरेकोले यरूशलेम “पृथ्वीका सारा जातिहरूका निम्ति एउटा श्रापित ठाउँ” भयो। (यर्मिया २६:६) त्यसकारण हामी परमेश्वरको आज्ञा पालन गरौं र उहाँको अनुग्रहको आनन्द उठाऔं। ईश्वरीय व्यक्तिहरूले पाउने थुप्रै दैवीय आशिष्हरूमध्ये आनन्द पनि एक हो।
“आनन्दको हृदयले” यहोवाको सेवा कसरी गर्ने
३. लाक्षणिक हृदय भनेको के हो?
३ इस्राएलीहरूले “आनन्दको हृदयले” यहोवाको सेवा गर्नुपर्थ्यो। परमेश्वरका आधुनिक समयका सेवकहरूले पनि त्यस्तै गर्नुपर्छ। रमाउनु भनेको “हर्षित हुनु; आनन्दले भरिनु” हो। शास्त्रमा शारीरिक हृदयको उल्लेख भएको भए तापनि त्यसले वास्तवमा सोच्न वा तर्क गर्न सक्दैन। (प्रस्थान २८:३०) यसको मुख्य काम शरीरका कोषहरूलाई भरणपोषण गर्ने रगत प्रसारण गर्नु हो। तर हृदय भनी बाइबलमा अधिकांश प्रयोग गरिंदा त्यसले लाक्षणिक हृदयलाई संकेत गरेको हुन्छ जुन स्नेह, उत्प्रेरणा र बुद्धिको ठाउँ मात्रै होइन। यसले “साधारणतया बीचको भाग, आन्तरिक कुरा र भित्री मानिसको विभिन्न क्रियाकलापहरू, उनको इच्छा, स्नेह, भावना, आवेश, उद्देश्य, उनको विचार, दृष्टिकोण, कल्पना, उनको बुद्धि, ज्ञान, दक्षता, उनको विश्वास तथा तर्क, उनको यादगार र उनको सचेतताको” प्रतिनिधित्व गर्छ। (जर्नल अफ द सोसाइटी अफ बिब्लिकल लिटरेचर एण्ड एक्सजेसिस्, १८८२, पृष्ठ ६७) हाम्रो लाक्षणिक हृदयमा आनन्द लगायत हाम्रा अनुभूति र भावनाहरू समावेश हुन्छ।—यूहन्ना १६:२२.
४. आनन्दको हृदयले यहोवाको सेवा गर्न हामीलाई कुन कुराले मदत पुऱ्याउन सक्छ?
४ आनन्दको हृदयसाथ यहोवाको सेवा गर्न हामीलाई कुन कुराले मदत पुऱ्याउन सक्छ? हाम्रा आशिष्हरू र ईश्वरप्रदत्त विशेषाधिकारहरूप्रति सकारात्मक तथा मूल्याकिंत दृष्टिकोणले मदत पुऱ्याउन सक्छ। उदाहरणको लागि, साँचो परमेश्वरलाई पवित्र “सेवा” चढाउन पाउनुको विशेषाधिकारलाई हामी आनन्दित भएर सोच्न सक्छौं। (लूका १:७४) त्यसको साथै यहोवाका साक्षीहरूको हैसियतमा उहाँको नाउँ वहन गर्ने विशेषाधिकारको आनन्द पनि छ। (यशैया ४३:१०-१२) यसमा हामीले उहाँको वचनअनुसार हिंडेर उहाँलाई खुशी तुल्याइरहेका छौं भन्ने आनन्द पनि थप्न सक्छौं। अनि आध्यात्मिक ज्योति प्रतिबिम्बित गर्ने र थुप्रैलाई अन्धकारबाट निस्केर आउने मदत दिने आनन्द पनि छ!—मत्ती ५:१४-१६; तुलना गर्नुहोस् १ पत्रुस २:९.
५. ईश्वरीय आनन्दको स्रोत के हो?
५ यद्यपि, आनन्दको हृदयले यहोवाको सेवा गर्नुमा सकारात्मक सोचाइ मात्र सीमित छैन। हाम्रो दृष्टिकोणमा सकारात्मक हुनु लाभकारी हुन्छ। तर ईश्वरीय आनन्द आचरणमा उन्नति गरेर प्राप्त हुने कुरा होइन। यो यहोवाको आत्माको फल हो। (गलाती ५:२२, २३) यदि हामीसित त्यस्तो आनन्द छैन भने परमेश्वरको आत्मालाई दुःखी तुल्याउन सक्ने अशास्त्रीय ढंगमा सोच्न वा कार्य गर्नदेखि अलग हुन केही छाँटकाँटहरू गर्नुपर्ने हुन सक्छ। (एफिसी ४:३०) तर यहोवाप्रति समर्पित जनहरूको हैसियतमा कुनै कुनै अवसरमा भित्री हृदयदेखि आनन्दित हुन नसक्नु ईश्वरीय अस्वीकृतिको प्रमाण हो भनेर हामी नडराऔं। हामी असिद्ध हुनाले पीडा, दुःख र कहिलेकाहीं निराशा महसुस गर्छौं तर यहोवाले बुझ्नुहुन्छ। (भजनसंग्रह १०३:१०-१४) त्यसकारण आनन्द भनेको ईश्वर-प्रदत्त गुण हो भनी सम्झँदै उहाँको पवित्र आत्माको लागि प्रार्थना गरौं। हाम्रो मायालु, स्वर्गमा हुनुहुने पिताले त्यस्ता प्रार्थनाहरूको जवाफ दिनुहुन्छ र आनन्दको हृदयले उहाँको सेवा गर्न मदत प्रदान गर्नुहुनेछ। —लूका ११:१३.
जब आनन्द हराइरहेको हुन्छ
६. परमेश्वरको सेवामा आनन्द हराइरहेको छ भने हामीले के गर्नु पर्ने हो?
६ यदि हाम्रो सेवामा आनन्द हराइरहेको छ भने यहोवाको सेवा गर्ने हाम्रो जोश अन्ततः सेलाउन वा उहाँप्रति हामी अविश्वासी समेत हुन सक्छौं। यसर्थ, नम्रता अनि प्रार्थनापूर्वक हाम्रा प्रवृत्तिहरू जाँच्नु र आवश्यक छाँटकाँट गर्नु बेस हुनेछ। ईश्वर-प्रदत्त आनन्द प्राप्त गर्न प्रेमद्वारा प्रेरित भएर सारा हृदय, प्राण र मनले यहोवाको सेवा गर्नुपर्छ। (मत्ती २२:३७) हामीले प्रतिस्पर्धात्मक मनोवृत्तिका साथ सेवा गर्नुहुँदैन किनभने पावलले यस्तो लेखे: “हामी आत्माले जिउँछौं भने आत्माकै अनुसार हिंड़ौं। एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” (गलाती ५:२५, २६) अरूभन्दा माथि हुने अथवा प्रशंसाको लागि सेवा गरिरहेका छौं भने हामीले साँचो आनन्द पाउन सक्नेछैनौं।
७. हृदयको आनन्दलाई हामी कसरी पुनः सल्काउन सक्छौं?
७ यहोवाप्रति हाम्रो समर्पणअनुसार जीवन बिताउँदा हामी आनन्द पाउन सक्छौं। परमेश्वरलाई आफ्नो जीवन भर्खरै समर्पण गर्दा हामीले जोशिलो भएर मसीही जीवनशैली अपनायौं। हामीले शास्त्रवचन अध्ययन गऱ्यौं र सभाहरूमा नियमित उपस्थित भयौं। (हिब्रू १०:२४, २५) सेवकाईमा भाग लिन पाउँदा हामी आनन्दित भयौं। यद्यपि, हाम्रो आनन्द घटेको छ भने नि? बाइबल अध्ययन, सभामा उपस्थिति, सेवकाईमा सहभागिता—निस्सन्देह मसीही धर्मको हरेक पक्षमा पूर्ण सहभागिताले हाम्रो जीवनलाई आध्यात्मिक स्थिरता दिन र हामीसित सुरुमा भएको प्रेम तथा हाम्रो हृदयमा पहिले भएको आनन्दलाई पुनः सल्काउन सक्छ। (प्रकाश २:४) त्यसो गऱ्यौं भने हामी आनन्दहीन र प्रायजसो आध्यात्मिक मदतको आवश्यकता पर्ने व्यक्तिहरूजस्तो हुनेछैनौं। मदत दिन प्राचीनहरू खुशी हुनेछन् तर हामीले व्यक्तिगत तवरमा परमेश्वरप्रति हाम्रो समर्पण पूरा गर्नुपर्छ। हाम्रो लागि यो काम कसैले गरिदिन सक्दैन। यसकारण यहोवाप्रति हाम्रो समर्पण पूरा गर्न र साँचो आनन्द पाउन हामीले सामान्य मसीही तालिका पछ्याउने लक्ष्य बनाउनु पर्छ।
८. आनन्दित हुन सफा अन्तस्करण किन महत्त्वपूर्ण छ?
८ परमेश्वरको आत्माको फल, आनन्द प्राप्त गर्न हाम्रो अन्तस्करण सफा हुनुपर्छ। इस्राएलका राजा दाऊदले आफ्नो पाप लुकाउन खोजुञ्जेल तिनी दुःखी थिए। वास्तवमा भन्ने हो भने, तिनको जीवन निरस भएजस्तो देखिन्थ्यो। अनि तिनी शारीरिक तवरमा असाध्यै बिरामी भएको हुन सक्छ। पश्चात्ताप गरेर आफ्नो पाप स्वीकार्दा उनले कस्तो छुटकारा महसुस गरे होलान्! (भजनसंग्रह ३२:१-५) हामीले कुनै गम्भीर पाप लुकाइरहेका छौं भने हामी आनन्दित हुन सक्दैनौं। त्यसले गर्दा हामीले विचलित जीवन बिताउनु पर्ने हुनसक्छ। निश्चय पनि, आनन्द अनुभव गर्ने तरिका त्यो होइन। तर पाप स्वीकारेर पश्चात्ताप गर्दा छुटकारा पाइन्छ अनि आनन्दित आत्मा पुनःस्थापित हुन्छ।—हितोपदेश २८:१३.
आनन्दसाथ पर्खने
९, १०. (क) अब्राहामले कस्ता प्रतिज्ञा पाए तर उसको विश्वास र आनन्दको परीक्षा कसरी भएको हुन सक्छ? (ख) अब्राहाम, इसहाक र याकूबको उदाहरणहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?
९ सुरुमा ईश्वरीय उद्देश्य थाहा पाउँदा आनन्द प्राप्त गर्नु एउटा कुरा हो, तर समय बित्दै जाँदा आनन्दित रहनु अर्कै कुरा हो। यो विश्वासी अब्राहामको उदाहरणबाट प्रष्ट्याउन सकिन्छ। परमेश्वरको आज्ञाअनुसार आफ्नो छोरालाई बलिदान चढाउन खोजेपछि एक स्वर्गदूतले यो समाचार ल्यायो: “परमप्रभु भन्नुहुन्छ, ‘मैले आफ्नै नाउँमा शपथ खाएको छु, किनकि तैंले यो काम गरिस् औ तेरा छोरो, अर्थात् तेरा एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। औ तेरो सन्तानले आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्नेछ।” (उत्पत्ति २२:१५-१८) निस्सन्देह, यो आशिष्ले गर्दा अब्राहाम हर्ष विभोर भए।
१० प्रतिज्ञात् आशिष्हरू आउने “सन्तान” इसहाक हुनेछ भनी अब्राहामले आशा गरेको हुन सक्छ। तर समय बित्दै जाँदा इसहाक मार्फत कुनै अद्भुत कुरा सम्पन्न नहुँदा अब्राहाम र तिनको परिवारको विश्वास तथा आनन्दको परीक्षा भएको हुन सक्छ। इसहाक र तिनको पुत्र याकूबलाई परमेश्वरले पुनः प्रतिज्ञा दोहोऱ्याउनुहुँदा त्यो सन्तान भविष्यमा आउनेछ भनी तिनीहरूले आश्वासन पाए। यसले तिनीहरूको विश्वास र आनन्द कायम गर्न मदत दियो। तर परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको देख्न नपाउँदै अब्राहाम, इसहाक र याकूब मरे तर तिनीहरू यहोवाका आनन्दहीन सेवकहरू थिएनन्। (हिब्रू ११:१३) उहाँका प्रतिज्ञाहरूको पूर्ति पर्खंदै हामी पनि विश्वास र आनन्दसाथ यहोवाको सेवा गरिरहन सक्छौं।
सतावटको बावजूद आनन्द
११. सतावटको बावजूद हामी किन आनन्दित हुन सक्छौं?
११ यहोवाका सेवकहरू भएकोले सतावटको बावजूद हामी आनन्दको हृदयले यहोवाको सेवा गर्न सक्छौं। आफ्नो खातिर सतावट भोग्नेहरूलाई येशूले धन्यको भन्नुभयो। प्रेरित पत्रुसले यसो भने: “ख्रीष्टका शासनाहरूको सहयोगी भएर रमाओ, र उहाँको महिमा प्रकट हुँदाखेरि तिमीहरू पनि हर्षित र आनन्दित होओ। यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका हौ। किनभने महिमाको आत्मा तिमीहरूमाथि ठहर्छ।” (१ पत्रुस ४:१३, १४; मत्ती ५:११, १२) धार्मिकताको खातिर तपाईंले सतावट र दुःखकष्ट सहिरहनुभएको छ भने तपाईंसित यहोवाको आत्मा र स्वीकृति छ अनि त्यसले निश्चय नै आनन्दलाई बढाउँछ।
१२. (क) विश्वासका परीक्षाहरूलाई हामी किन आनन्दसाथ सामना गर्न सक्छौं? (ख) निर्वासनमा परेको एक लेवीको अवस्थाबाट कुन आधारभूत पाठ सिक्न सकिन्छ?
१२ यहोवा हाम्रो शरणस्थान हुनु भएकोले हामी विश्वासका परीक्षाहरू आनन्दसाथ सामना गर्न सक्छौं। भजनसंग्रह ४२ र ४३ मा यो कुरा प्रष्ट गरिएको छ। केही कारणले गर्दा एक लेवी निर्वासनमा थिए। परमेश्वरको पवित्रस्थानमा उपासना गर्न नपाउँदा तिनी सुखा र निर्जन ठाउँमा पानी खान नपाएर तिर्खाएको मुडुली अथवा पोथी मृगजस्तै भए। तिनी यहोवा र उहाँको पवित्रस्थानमा उपासना गर्ने सुअवसरको निम्ति ‘तिर्खाए’ अथवा तिर्सना गरे। (भजनसंग्रह ४२:१, २) यस निर्वासित लेवीको अनुभवले यहोवाका जनहरूबीच हामीले आनन्द उठाउने संगतिप्रति कृतज्ञ हुन प्रेरित गर्नुपर्छ। सतावटको कारण केही समयको लागि काराबासजस्ता परिस्थितिहरूमा पर्नु पर्दा हामी यहोवाका जनहरूको संगतिमा हुन सकेनौं भने पवित्र सेवामा अतितका आनन्दहरू सम्झौं। अनि “परमेश्वरमा आशा” राख्दै उहाँका उपासकहरू सँगसँगै हामीलाई नियमित क्रियाकलापमा पुनःस्थापित गर्न धीरजको निम्ति प्रार्थना गरौं।—भजनसंग्रह ४२:४, ५, ११; ४३:३-५.
“आनन्दसाथ परमप्रभुको सेवा गर”
१३. परमेश्वरको सेवाको प्रमुख अंश आनन्द हुनुपर्छ भनेर भजनसंग्रह १००:१, २ ले कसरी देखाउँछ?
१३ यहोवाप्रति हाम्रो सेवाको प्रमुख अंश आनन्द हुनुपर्छ। धन्यवाद व्यक्त गर्न भजनरचयिताले गाएको गीतमा यो देखाइएको थियो: “हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ। आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ।” (भजनसंग्रह १००:१, २) यहोवा “आनन्दित परमेश्वर” हुनुहुन्छ र उहाँप्रति समर्पण हुँदा आउने दायित्त्वहरू पूरा गर्न उहाँका जनहरू आनन्दित भएको चाहनुहुन्छ। (१ तिमोथी १:११, न्युव) सारा राष्ट्रका मानिसहरूले यहोवाप्रति उल्लसित हुनुपर्छ। साथै उहाँको प्रशंसाका हाम्रा अभिव्यक्तिहरू विजयी सेनाको ‘जयजयकार[जस्तै]’ बलियो हुनुपर्छ। परमेश्वरको सेवा स्फूर्तिदायी हुनाले ती अभिव्यक्तिहरू हर्षसाथ गर्नुपर्छ। यसर्थ, परमेश्वरको अगाडि “आनन्दसाथ” आउन भजनरचयिताले मानिसहरूलाई आग्रह गरे।
१४, १५. यहोवाको आजका आनन्दित जनहरूमा भजनसंग्रह १००:३-५ कसरी लागू हुन्छ?
१४ भजनरचयिताले अझै भने: “परमप्रभुनै परमेश्वर हुनुहुन्छ भनी जान [बुझ, मानी लिऊ]। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं। हामी उहाँका प्रजा, र उहाँका खर्कका भेड़ाहरू हौं।” (भजनसंग्रह १००:३) यहोवा हाम्रो सृष्टिकर्त्ता हुनुभएकोले एक गोठालाका भेडाझैं हामी उहाँका हौं। परमेश्वरले हाम्रो असाध्यै राम्ररी रेखदेख गर्नुहुने हुनाले हामी कृतज्ञातापूर्वक उहाँको गुनगान गाउँछौं। (भजनसंग्रह २३) यहोवाको सन्दर्भमा भजनरचयिताले यसरी पनि गाए: “धन्यवादसाथ उहाँका, मूल-ढोकाभित्र, र प्रशंसा गर्दै उहाँका चोकभित्र पस। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँको नाउँलाई धन्यको भन। किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैंभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ।”—भजनसंग्रह १००:४, ५.
१५ आज, धन्यवाद र प्रशंसा चढाउन सारा राष्ट्रका आनन्दित मानिसहरू यहोवाको पवित्रस्थानको चोकमा प्रवेश गरिरहेका छन्। यहोवाबारे सधैं असल कुरा गरेर हामी उहाँको नाउँको आनन्दसाथ प्रशंसा गर्छौं र उहाँका महान गुणहरूले उहाँको प्रशंसा गर्न हामीलाई प्रेरित गर्छ। उहाँ पूर्णतया असल हुनुहुन्छ र आफ्नो सेवकहरूप्रति उहाँको करूणा अथवा अनुकम्पापूर्ण चासोमाथि सदा भर पर्न सकिन्छ किनभने त्यो अनन्तसम्म कायम हुन्छ। आफ्नो इच्छा गर्नेहरू तर्फ प्रेम दर्शाउन यहोवा “पुस्तौंसम्म” विश्वासी हुनुहुन्छ। (रोमी ८:३८, ३९) त्यसो भए, “आनन्दसाथ परमप्रभुको सेवा” गर्ने हामीसित निस्सन्देह असल कारण छ।
तपाईंको आशामा आनन्दित हुनुहोस्
१६. कस्ता आशा तथा प्रत्याशाहरूमा मसीहीहरू आनन्दित हुन सक्छन्?
१६ पावलले यसप्रकार लेखे: “आशामा आनन्द गर।” (रोमी १२:१२) आफ्नो पुत्रद्वारा परमेश्वरले खोलिदिनुभएको अमर स्वर्गीय जीवनको बाटोको महान आशामा येशू ख्रीष्टका अभिषिक्त अनुयायीहरू आनन्दित छन्। (रोमी ८:१६, १७; फिलिप्पी ३:२०, २१) पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा भएका मसीहीहरूसित पनि आनन्दित हुने आधार छ। (लूका २३:४३) यहोवाका सम्पूर्ण विश्वासी सेवकहरू राज्य आशामा आनन्दित हुने कारण छ किनभने या त तिनीहरू ज्योतिर्मय सरकारको भाग हुनेछन् या पृथ्वीमा बाँच्नेछन्। कस्तो आनन्ददायी आशिष्!—मत्ती ६:९, १०; रोमी ८:१८-२१.
१७, १८. (क) यशैया २५:६-८ मा के भविष्यवाणी गरिएको थियो? (ख) यशैयाको भविष्यवाणी आज कसरी पूरा भएको छ र भविष्यमा यसको पूर्तिबारे के भन्न सकिन्छ?
१७ आज्ञाकारी मानवजातिको निम्ति यशैयाले पनि आनन्ददायी भविष्यको भविष्यवाणी गरे। उनले लेखे: “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ। उहाँले यही पर्वतमा सारा जातिमाथि परेको घुम्टो हटाइदिनुहुनेछ। उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यही भन्नुभएको छ।”—यशैया २५:६-८.
१८ यहोवाका उपासकहरूको हैसियतमा आज हामीले भाग लिने आध्यात्मिक भोज साँच्चै एउटा आनन्दमय भतेर हो। वास्तवमा, नयाँ संसारका लागि उहाँले प्रतिज्ञा गर्नुभएको शाब्दिक असल कुराहरूको भतेरको प्रतिक्षा गर्दै जोशिलो भएर परमेश्वरको सेवा गर्दा हाम्रो आनन्द भरिभराउ हुन्छ। (२ पत्रुस ३:१३) आदमको पापले गर्दा मानवजातिलाई घेर्ने “जालो[बाट]” यहोवाले येशूको बलिदानको आधारमा हटाउनुहुनेछ। पाप र मृत्यु हटाइएको हेर्न पाउनु कस्तो आनन्दको कुरा हुनेछ! पुनरुत्थान भएका प्रिय जनहरूलाई स्वागत गर्नु, आँसुहरू थामिएको देख्न पाउनु र यहोवाका जनहरूले कुनै निन्दा सहनु नपर्ने प्रमोदवनरूपी पृथ्वीमा बाँच्न पाउनु कस्तो हर्षको कुरा हुनेछ! बरु, यहोवाले महा आलोचकलाई मुखभरिको जवाफ दिनुभएको हुनेछ!—हितोपदेश २७:११.
१९. यहोवाका साक्षीहरूको हैसियतमा उहाँले हामीसमक्ष राखिदिनुभएका प्रत्याशाहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनु पर्ने हो?
१९ यहोवाले आफ्ना सेवकहरूका लागि गर्नुहुने कुराहरू थाहा पाउँदा के तपाईं आनन्द र कृतज्ञताले विभोर हुनुहुन्न र? निस्सन्देह, त्यस्ता महान प्रत्याशाहरूले हाम्रो आनन्दमा योगदान पुऱ्याउँछ! यसबाहेक, आशिषित् आशाले हामीलाई हाम्रो आनन्दित, मायालु, उदार परमेश्वरप्रति यस्ता भावनाहरू व्यक्त गर्न लगाउँछ: “हेर, हाम्रा परमेश्वर, हामीले उहाँको बाटो हेऱ्यौ, र उहाँलेनै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर, हामीले उहाँको बाटो हेऱ्यौ, औ उहाँले दिनुभएको मुक्तिमा हामी खुशी हुनेछौं र रमाउनेछौं।” (यशैया २५:९) हाम्रो मनमा शानदार आशा गहिरिएर बसेको हुँदा आनन्दको हृदयले यहोवाको सेवा गर्न भरमग्दूर प्रयास गरौं।
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
◻ “आनन्दको हृदयले” हामी यहोवाको सेवा कसरी गर्न सक्छौं?
◻ परमेश्वरको सेवामा आनन्द हराइरहेको छ भने हामी के गर्न सक्छौं?
◻ सतावटको बावजूद यहोवाका जनहरू किन आनन्दित हुन सक्छन्?
◻ हाम्रो आशामा आनन्दित हुने कस्ता कारणहरू हामीसित छ?
[पृष्ठ १७-मा भएको चित्र]
मसीही जीवनको हरेक पक्षमा भाग लिनाले हाम्रो आनन्द बढ्नेछ