“हाम्रा परमेश्वर यहोवा जस्तो को छ?”
“हाम्रा परमेश्वर परमप्रभु जस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ?”—भजनसंग्रह ११३:५ न्यु व०.
१, २. (क) यहोवाका साक्षीहरूले परमेश्वर र बाइबललाई कुन दृष्टिले हेर्दछन्? (ख) कुन प्रश्नहरू हाम्रो विशेष विचारको योग्य छन्?
यहोवाका प्रशंसकहरू वास्तवमा धन्यका हुन्। यो आनन्दित भीडमा सम्मिलित हुन पाउनु कति ठूलो विशेषाधिकार हो! उहाँका साक्षीहरूको हैसियतमा, हामीले परमेश्वरको वचन, बाइबलको उपदेश, नियमहरू, शिक्षाहरू, प्रतिज्ञाहरू र भविष्यवाणीहरू स्वीकार्दछौं। शास्त्रबाट शिक्षा लिनका साथसाथै “परमेश्वरबाट सिकाइएका”-हरू हुन पाउनु हामी खुशी छौं।—यूहन्ना ६:४५.
२ परमेश्वरप्रति गहिरो श्रद्धा भएको हुनाकारण, यहोवाका साक्षीहरूले यो सोध्न सक्छन्: “हाम्रा परमेश्वर परमप्रभु जस्तो को छ?” (भजनसंग्रह ११३:५) भजन रचयिताका यी शब्दहरू विश्वासको एउटा अभिव्यक्ति हो। तर साक्षीहरूले परमेश्वरमाथि यस्तो विश्वास किन राख्छन्? र यहोवाको प्रशंसा गर्ने तिनीहरू सित के के कारणहरू छन्?
विश्वास र प्रशंसा उचित हुन्
३. हल्लेल भजनहरू के हुन् र तिनीहरूलाई किन हल्लेल भनेको?
३ यहोवामाथि विश्वास राख्नु उचित हो किनभने उहाँ नै अनुपम परमेश्वर हुनु हुन्छ। यस कुरालाई छ-वटा हल्लेल भजनहरूको एक भागमा, अथवा ११३, ११४ र ११५-वौं भजनहरूमा जोर दिइएको छ। यहूदी पण्डितहरूको स्कूल अफ हिलेल अनुसार, यहूदीहरूले मान्ने निस्तार भोजको दौडानमा, दुइ कचौरा दाखमद्य टक्राएर त्यस अवसरको महत्त्वको व्याख्या गरी सकेपछि, ११३ र ११४-वौं भजनहरू गाउने गरिन्थ्यो। कचौरामा दाखमद्य चौथो पटक हालीसके पछि चाहिं ११५ देखिन् ११८-सम्मका भजनहरू गाउने गरिन्थ्यो। (मत्ती २६:३०-सङ्ग तुलना गर्नुहोस्।) यी भजनहरूलाई “हल्लेल भजनहरू” भनिन्छ किनभने यिनमा बारम्बार हल्लेलूयाह—“यहोवाको प्रशंसा गर!” भन्ने अभिव्यक्ति प्रयोग गरिन्छ।
४. “हल्लेलूयाह”-को अर्थ के हो र बाइबलमा यो अभिव्यक्ति कति पटक देखा पर्दछ?
४ भजनसंग्रहमा २४ पटक देखा पर्ने एउटा हिब्रू अभिव्यक्तिको अक्षरशः अनुवाद “हल्लेलूयाह!” हो। महान बेबिलोन अथवा झुट्टा धर्मको विश्व-साम्राज्यको विनाशमा मनाइने आनन्द र यहोवा परमेश्वरले राजाको हैसियतमा शासन गर्ने समयमा व्यक्त गरिने हर्षको सिलसिलामा हल्लेलूयाहको युनानी रूप बाइबलका अन्य अरू ठाउँहरूमा चार पटक देखा पर्दछ। (प्रकाश १९:१-६) अब हामी हल्लेल भजनहरू मध्येका तीनवटा भजनहरूको जाँच गर्दै जाँदा, यहोवाको प्रशंसाका यी गीतहरू हामी आफैले गाएको कल्पना गर्न सक्छौं।
याहको प्रशंसा गर!
५. भजन ११३-ले कुन प्रश्नको उत्तर दिन्छ र भजन ११३:१, २-मा पाइने आदेश विशेषगरी कसमाथि प्रयोग हुन्छ?
५ यहोवाको प्रशंसा किन गर्नु? यस प्रश्नको जवाफ भजन ११३-ले दिन्छ। यो गीतको आरम्भ यस आदेशका साथ हुन्छ: “परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका दास हो, प्रशंसा गर। परमप्रभुको नाउँको प्रशंसा गर। परमप्रभुको नाउँ अहिलेदेखि लिएर सधैंभरि धन्यको भइरहोस्।” (भजनसंग्रह ११३:१, २) “हल्लेलूयाह!” हो, “याहको प्रशंसा गर!” उक्त आदेश यस “अन्तको समयमा” विशेष गरी परमेश्वरका जनहरू माथि लागू हुन्छ। (दानियल १२:४) अहिले देखि अनन्तकालसम्म यहोवाको नाउँ पृथ्वीभरि उच्च पारिने छ। यहोवा नै परमेश्वर हुनु हुन्छ, ख्रीष्ट राजा हुनु हुन्छ र स्वर्गमा राज्य स्थापित भइ सकेको छ भनेर उहाँका साक्षीहरूले अहिले घोषणा गर्दछन्। यसप्रकार यहोवाको प्रशंसा गर्ने कार्यलाई शैतान अर्थात् दियाबल र त्यसको सङ्गठनले रोक्न सक्तैन।
६. ‘सूर्योदयदेखि सूर्यास्तसम्म’ यहोवाको प्रशंसा कसरी भइरहेछ?
६ यहोवाले सारा पृथ्वीलाई यस गीतले नभरी दिउञ्जेलसम्म, प्रशंसाको यो गीत झन झन फैलिंदै जाने छ। “सूर्योदयदेखि लिएर सूर्यास्तसम्म परमप्रभुको प्रशंसा हुनुपर्छ।” (भजन ११३:३) यसको अर्थ केही पार्थिव प्राणीहरूले उहाँलाई नित्य उपासना चढाउनु मात्र होइन। सारा पृथ्वीमाथि असर पार्ने गरी, सूर्य पूर्वमा उदाउँछ र पश्चिममा अस्ताउँछ। सूर्यको ज्योति चम्कने हर ठाउँमा, शैतानको सङ्गठन र झुट्टा धर्मको बन्धनबाट मुक्त भएका सबै मानिसहरूले चाँडै यहोवाको नाउँको प्रशंसा गर्ने छन्। वास्तवमा, कहिले समाप्त नहुने यो गीत, आज यहोवाका अभिषिक्त साक्षीहरूले र उहाँले नियुक्त गर्नु भएको राजा, येशू ख्रीष्टका पार्थिव सन्तान हुनेहरूले अहिले गाइ रहेका छन्। यहोवाका प्रशंसाहरू गाउने कस्तो विशेषाधिकार यिनीहरूले पाएका छन्!
यहोवा अतुलनीय हुनु हुन्छ
७. यहोवाको सार्वभौमिकताका कुन दुई पक्षहरूलाई भजनसंग्रह ११३:४-मा ध्यान दिएको छ?
७ भजनरचयिताले अझ यसो भन्छन्: “परमप्रभु सबै जातिहरू देखि उच्च हुनुहुन्छ, र उहाँको महिमा स्वर्गभन्दा उच्च छ।” (भजनसंग्रह ११३:४) यस पद्यमा परमेश्वरका सार्वभौमिकताका दुईवटा पक्षलाई ध्यान दिएको पाइन्छ: (१) सबै “जातिहरूदेखि उच्च” परमप्रधान यहोवाको दृष्टिमा, ती जातिहरू गाग्रोबाट चुहेको थोपो जस्तो र तराजूमा टाँसेको धूलोजस्तै हुन्; (यशैया ४०:१५; दानियल ७:१८) (२) उहाँको महिमा प्राकृतिक स्वर्गभन्दा पनि धेरै नै उच्च छ, किनभने स्वर्गदूतहरूले उहाँको सार्वभौम इच्छा पूरा गर्दछन्।—भजनसंग्रह १९:१, २; १०३:२०, २१.
८. यहोवाले स्वर्ग र पृथ्वीमा भइरहेका कुराहरूलाई ध्यान दिनु, कसरी उहाँको कृपादृष्टि हो?
८ परमेश्वरको उच्च स्थान सम्झेर प्रेरित हुँदै, भजनरचयिताले यसो भने: “हाम्रा परमेश्वर परमप्रभु जस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ। औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनु हुन्छ।” यहोवा यति उच्च हुनु हुन्छ कि स्वर्ग र पृथ्वी सम्बन्धी कुराहरूलाई विचार गर्नका लागि उहाँले कृपादृष्टि गर्नु पर्दछ। यहोवा कसैभन्दा पनि कम अथवा कसैको अधीनमा नहुनु भए तापनि, उहाँले तुच्छ पापीहरूलाई दया र अनुकम्पा देखाउनमा नम्रता व्यक्त गर्नु हुन्छ। अभिषिक्त मसीहीहरू र मानवजातिका संसारका लागि आफ्नो पुत्र, येशू ख्रीष्टलाई एउटा “प्रायश्चित”-को बलिदानको रूपमा उपलब्ध गराउनु नै यहोवाको तर्फबाट नम्रताको एउटा अभिव्यक्ति हो।—१ यूहन्ना २:१, २.
यहोवा अनुकम्पापूर्ण हुनुहुन्छ
९, १०. परमेश्वरले ‘दरिद्रलाई उठाउनु भएर तिनलाई भारदारहरूका साथमा’ कसरी राख्नु हुन्छ?
९ परमेश्वरको अनुकम्पामाथि जोड दिंदै, भजनरचयिता भन्छन् कि यहोवाले “कङ्गालीहरूलाई धूलोबाट उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुर्यानबाट उचाल्नुहुन्छ। त्यसलाई भारदारहरूको साथमा, आफ्नै प्रजाका भारदारहरूका साथमा राख्नालाई। बाँझी आइमाईलाई उहाँले घर गन र सुखी आमा तुल्याउनुहुन्छ। परमप्रभुको प्रशंसा गर।” (भजनसंग्रह ११३:७-९) यहोवाले खाँचोमा परेका धर्मी जनहरूलाई बचाउन सक्नु हुन्छ, तिनीहरूको परिस्थितिमा परिवर्तन ल्याउन सक्नु हुन्छ र तिनीहरूका उचित आवश्यकताहरू र अभिलाषाहरूलाई पूरा गरी दिन सक्नु हुन्छ भनेर उहाँका जनहरूले विश्वास गर्दछन्। ‘उच्च र पवित्र ठाउँमा बस्नु हुनेले नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउनु हुन्छ।’—यशैया ५७:१५.
१० यहोवाले ‘दरिद्रहरूलाई उचाल्नु भएर तिनीहरूलाई भारदारहरूका साथमा’ कसरी राख्नु हुन्छ? परमेश्वरको इच्छा भएमा, आफ्ना सेवकहरूलाई भारदारहरूले पाउने मान प्रदान गर्नु हुन्छ। उहाँले युसूफको सम्बन्धमा यसै गर्नु भयो जो मिस्रका खाद्यान्न प्रशासक भए। (उत्पत्ति ४१:३७-४९) इस्राएलमा, भारदारहरू अथवा यहोवाका जनहरू बीचका अख्तियारयुक्त व्यक्तिहरू सित बस्न पाउनु सबैले रुचाउने विशेषाधिकार थियो। आजका मसीही प्राचीनहरूले झैं, ती मानिसहरूले परमेश्वरको सहायता र आशिष पाएका हुन्थे।
११. भजनसंग्रह ११३:७-९ विशेषगरी आधुनिक समयमा बाँचेका यहोवाका जनहरूलाई प्रयोग हुन्छ भनेर हामी किन भन्न सक्छौं?
११ तर ‘बाँझी आइमाईलाई एउटी आनन्दित आमा’ बनाउने विषयमा के भन्न सकिन्छ? परमेश्वरले बाँझी हन्नालाई एउटा छोरा—अर्थात् शमूएल—दिनु भयो। यस पुत्रलाई हन्नाले परमेश्वरकै सेवाका लागि समर्पित गरी दिइन्। (१ शमूएल १:२०-२८) तर यो भन्दा अझ महत्त्वपूर्ण ढङ्गमा, परमेश्वरको लाक्षणिक स्त्री अथवा स्वर्गीय यरूशलेमले प्रथमतः येशू र उहाँ पछि सा० यु० ३३-को पेन्तीकोसको दिनमा उहाँका चेलाहरू माथि पवित्र-आत्मा खनाएको समयदेखि, आत्मिक सन्तानलाई जन्माउन थालिन्। (यशैया ५४:१-१०, १३; प्रेरित २:१-४) र जसरी बाबेलको निर्वासन पछि, परमेश्वरले यहूदीहरूलाई तिनीहरूको जन्मभूमिमा पुनःस्थापित गरी दिनु भयो, त्यसरी नै १९१९-मा उहाँले “परमेश्वरका इस्राएल”-का शेष अभिषिक्त जनहरूलाई बेबिलोनको दासत्वबाट मुक्त गर्नु भयो। त्यस पछि, उहाँले तिनीहरूलाई आत्मिक तवर्मा यति थुप्रै आशिष दिनु भएको छ कि भजनसंग्रह ११३:७-९ का शब्दहरू तिनीहरूमा लागू हुन्छ। (गलाती ६:१६) यहोवाका वफादार साक्षीहरूको हैसियतमा, आत्मिक इस्राएलका शेष जनहरू र पार्थिव आशा राख्ने तिनीहरूका सङ्गीहरूले भजन ११३-का आखिरी शब्दहरू, अथवा “हे परमप्रभुका जन, परमप्रभुका प्रशंसा गर” भन्ने अभिव्यक्ति प्रति हार्दिक प्रतिक्रिया जनाउदै छन्।
यहोवाको अनुपमताको प्रमाण
१२. भजनसंग्रह ११४-ले यहोवाको अनुपमतालाई कसरी प्रकट गर्दछ?
१२ यहोवाको अनुपमता प्रदर्शित गर्दै, ११४-वौं भजनमा इस्राएलीहरू सित घटेका अनुपम घटनाहरूको चर्चा गरिएको छ। भजनरचयिताले यसो भन्दै गाए: “जब इस्राएल मिश्र देशबाट, अर्थात् याकूबको वंश अन्यभाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए, तब यहूदा परमप्रभुको पवित्रस्थान र इस्राएलचाहिं उहाँको साम्राज्यको प्रजा भइहाले।” (भजनसंग्रह ११४:१, २) बेग्लै भाषा बोल्ने मिश्रका मानिसहरूको दासत्वबाट परमेश्वरले इस्राएललाई छुटकारा दिनु भयो। यहाँ कवितामय समानान्तरको रूपमा यहूदा र इस्राएल भनेर सम्बोधन गरिएका यहोवाका जनहरूको छुटकाराबाट बोध हुँदछ कि आज पनि परमेश्वरले उहाँका सबै सेवकहरूलाई छुटकारा दिन सक्नु हुन्छ।
१३. भजनसंग्रह ११४:३-६-ले यहोवाको सार्वभौमिकतालाई कसरी प्रदर्शित गर्दछ र यो भजन प्राचीन इस्राएलका अनुभवहरूमा कसरी लागू हुन्छ?
१३ सारा सृष्टिमाथि यहोवाको सार्वभौमिकता यी शब्दहरू द्वारा प्रत्यक्ष रूपमा देखिन्छ: “यो देखेर समुद्र भाग्यो। यर्दन नदी उल्टा बग्यो। डाँड़ाहरू भेड़ाहरू झैं उफ्रनलागे, साना साना पहाड़हरू थुमाहरू झैं उफ्रनलागे। हे समुद्र, तँलाई के भयो, र तँ भागिस्? र हे यर्दन, तँ फर्केर गइस्? हे डाँड़ा हो, तिमीहरू भेड़ाहरू झैं। हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैं उफ्रन्छौ?” (भजनसंग्रह ११४:३-६) लाल समुद्र “भाग्यो” जब त्यसको बीचबाट परमेश्वरले आफ्ना जनहरूका लागि बाटो खोल्नु भयो। त्यति खेर, फर्केर आउने पानीहरूमा डुबेर मर्ने मिश्रीहरूको विरुद्धमा यहोवाको महान बाहुबल इस्राएलीहरूले देखे। (प्रस्थान १४:२१-३१) ईश्वरीय शक्तिको यस्तै प्रदर्शनद्वारा, यर्दन नदी पनि “उल्टा” बग्न थाल्यो, जसले गर्दा, इस्राएलीहरू कनानमा प्रवेश गर्न सके। (यहोशू ३:१४-१६) व्यवस्थाको वाचा स्थापित गर्ने बेलामा सीनै पर्वत धूँवै-धूँवा भएर जब थर्कियो, तब ‘डाँडाहरू भेडाहरू झैं उफ्रे’। (प्रस्थान १९:७-१८) आफ्नो गीतको चरम समाप्ति ध्यानमा राख्दै, भजनरचयिताले आफ्नो कुरा प्रश्नको रूपमा प्रस्तुत गर्दछन्। यसबाट समुद्र, नदी, पर्वत, डाँडा-काँडा जस्ता सबै निर्जीव कुराहरू पनि यहोवाका शक्तिका ती प्रर्दशनहरू देखेर चकित भए होलान् भनेर तिनले शायद सङ्केत गर्न चाहेको हुन सक्छ।
१४. मरीबा र कादेशमा यहोवाको शक्तिद्वारा के सम्पन्न भयो र यसले आधुनिक समयमा बाँचेका उहाँका सेवकहरू माथि के असर पार्नु पर्ने हो?
१४ यहोवा कै शक्तिलाई अझ पनि सङ्केत गर्दै, भजनरचयिताले यसप्रकार गाए: “हे पृथ्वी परमप्रभुको सामने, याकूबका परमेश्वरको सामने थरहरी हो। उहाँले चटानलाई पानीको ताल, र दर्शन-ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्त्तन गर्नुहुन्छ।” (भजनसंग्रह ११४:७, ८) यहोवा, सारा पृथ्वीका प्रभु र सार्वभौम शासकप्रति मानिसजातिले भयपूर्ण श्रद्धा व्यक्त गर्नु पर्दछ भनेर यहाँ भजन रचयिताले एउटा लक्ष्णात्मक सङ्केत दिन्छन्। उहाँ जसरी इस्राएलको अथवा “याकूबको परमेश्वर” हुनु हुन्थ्यो, त्यसरी नै उहाँ आत्मिक इस्राएलीहरू र तिनीहरूका पार्थिव सङ्गीहरूका पनि परमेश्वर हुनु हुन्छ। उजाड स्थानमा, मरीबा र कादेश भन्ने ठाउँहरूमा, यहोवाले इस्राएलीहरूका लागि चमत्कारपूर्ण ढङ्गमा पानी उपलब्ध गराउनु भएको थियो अथवा “चटानलाई पानीको ताल र दर्शन-ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन” गर्नु भएर आफ्नो शक्ति प्रकट गर्नु भयो। (प्रस्थान १७:१-७; गन्ती २०:१-११) यहोवाको उदेकलाग्दो शक्ति र कोमल भावका सम्झौटोहरूले उहाँका साक्षीहरूलाई उहाँमाथि पूर्ण विश्वास राख्ने ठोस कारणहरू प्रदान गर्दछ।
मूर्तिमान देवताहरू जस्ता हुनु हुन्न
१५. भजन ११५ कुन ढङ्गमा गाइन्थ्यो होला?
१५ भजनसंग्रह ११५-ले हामीलाई यहोवाको प्रशंसा गर्ने र उहाँमाथि भरोसा राख्ने प्रोत्साहन दिन्छ। यसले उहाँलाई नै आशिष र सहायताको श्रोत मान्दै मूर्तिहरू व्यर्थका हुन् भन्ने प्रमाण प्रस्तुत गर्दछ। यो भजन सम्भवतः जुवारीको रूपमा गाउने गर्थे होलान्। अर्थात्, एक जनाले “हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख” भनेर गाए पछि, मण्डलीले यसरी सामूहिक रूपमा जवाफ दिने गर्थे होलान्: “तिनीहरूका सहायक र ढाल उहाँनै हुनुहुन्छ।”—भजनसंग्रह ११५:११.
१६. अन्यजातिका मूर्तिहरू र यहोवा बीच कुन कुन भिन्नता औंल्याउन सकिन्छ?
१६ महिमा हामीले पाउनु हुँदैन। महिमा त प्रेमपूर्ण करुणा अथवा साँचो प्रेम र सत्यताको परमेश्वर, यहोवाको नाउँले पाउनु पर्दछ। (भजनसंग्रह ११५:१) शत्रुहरूले ठट्टा गर्दै सोध्न सक्छन्: “तिनीहरूको परमेश्वर कहाँ छन्?” तर यहोवाका जनहरूले जवाफ दिन सक्तछन्: ‘हाम्रा परमेश्वर स्वर्गमा हुनु हुन्छ र आफ्नो इच्छा मुताबिक उहाँ गर्नु हुन्छ।’ (पद्य २, ३) तथापि राष्ट्रहरूका मूर्तिहरूले केही गर्न सक्तैनन्, किनभने तिनीहरू मानिसहरूले बनाएका चाँदी र सुनका मूर्तिहरू मात्र हुन्। तिनीहरूको मुख, आँखा र कान छँदा-छँदै पनि तिनीहरू लाटो, अन्धो र बहिरो छन्। तिनीहरूको नाक छ, तर सुँघ्न सक्तैनन्, खुट्टा छ तर हिंड्न सक्तैनन्, तिनीहरूको गला छ तर त्यसबाट केही आवाज निकाल्न सक्तैनन्। शक्तिहीन मूर्ति बनाउनेहरू र ती मूर्तिहरूमा भरोसा गर्नेहरू सबै त्यस्तै गरी निर्जीव हुने छन्।—४-८ पद्यहरू.
१७. मरेकाहरूले यहोवाको प्रशंसा गर्न नसकेको हुनाकारण हामीले के गर्नु पर्दछ र यसो गरेमा हामीले कुन कुराको आशा गर्न सक्ने छौं?
१७ यस पछि, इस्राएलको, पूजाहारी सेवा गर्ने हारुनको घरानाको र परमेश्वरको भय मान्ने सबैको सुरक्षाका ढाल र सहायक यहोवामाथि नै भरोसा राख्ने प्रोत्साहन दिएको पाउँछौं। (भजनसंग्रह ११५:९-११) हामी यहोवाको भय मान्नेहरूले परमेश्वरको गहिरो श्रद्धा गर्दछौं र उहाँलाई कुनै हालतमा पनि अप्रसन्न तुल्याउन चाहन्दैनौं। साथै, “स्वर्ग र पृथ्वी बनाउनु”-हुनेले उहाँका वफादार उपासकहरूलाई आशिष दिनु हुन्छ भनेर पनि हामी विश्वास गर्दछौं। (१२-१५ पद्यहरू) उहाँका सिंहासन स्वर्गमा छ तर परमेश्वरले पृथ्वीलाई वफादार र आज्ञाकारी मानिसहरूको लागि अनन्तकालीन घर होस् भनेर सृजनु भयो। अचेत र चुप भइसकेका मृत जनहरूले यहोवाको प्रशंसा गर्न सक्तैनन्। यसकारण, हामी जिउँदाहरूले चाहिं सो कार्य पूर्ण भक्ति र वफादारीका साथ गर्नु पर्दछ। (उपदेशक ९:५) यहोवाको प्रशंसा गर्नेहरूले मात्र अनन्त जीवनको आनन्द उठाउने छन् र सदाका लागि “याहको प्रशंसा” गर्दै “अहिले देखि लिएर सधैंभरि” उहाँलाई धन्यको भन्न सक्नेछन्। अतः, “परमप्रभुको प्रशंसा गर” भन्ने आग्रह अनुसार गर्नेहरूलाई हामी सबैले वफादारीका साथ समर्थन गरौं।—भजनसंग्रह ११५:१६-१८.
यहोवाका अद्भुत गुणहरू
१८, १९. यहोवाका गुणहरूले गर्दा, उहाँ झुट्टा देवताहरू भन्दा कुन कुन ढङ्गमा बेग्लै हुनु हुन्छ?
१८ निर्जीव मूर्तिहरूको विपरीत, यहोवा जीवित परमेश्वर हुनु हुन्छ र अद्भुत गुणहरू प्रदर्शित गर्नु हुन्छ। उहाँ नै प्रेमको साक्षात प्रतीक हुनु हुन्छ। उहाँ “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६; १ यूहन्ना ४:८) बच्चाहरू बलिदान दिनु पर्ने कनानीहरूको मोलेक देवता भन्दा यहोवा कति बेग्लै हुनु हुन्छ! यस देवताको शरीरको आकार मानिसको जस्तो तर शिर चाहिं साँढको जस्तै थियो भन्छन्। प्राप्त रिपोर्ट अनुसार, यस मूर्तिलाई पहिले रातै भइञ्जेलसम्म तताएर रन्काउने गर्थे। यस पछि त्यसको फैलिएको बाहुली भित्र बच्चाहरूलाई फाली दिन्थे र ती बच्चाहरू मुन्तिरको बल्दो भट्टीमा खस्द थिए। तर यहोवा भने यतिका मायालु र करुणामय हुनु हुन्छ कि यस प्रकार मानिसहरूलाई बली चढाउने कुरा उहाँको “मनमा कहिल्यै उब्जेको” समेत थिएनँ।—यर्मिया ७:३१.
१९ यहोवाका मुख्य गुणहरूमा सिद्ध न्याय, असीमित बुद्धि र सर्वशक्ति पनि समावेश छन्। (व्यवस्थाविवरण ३२:४; अय्यूब १२:१३; यशैया ४०:२६) पौराणिक देवताहरूको विषयमा के भन्न सकिन्छ? न्याय गर्नुको सट्टा, बाबेलका देव-देवीहरू आफै ईर्ष्यालु थिए। मिश्रका देवताहरू बुद्धिको प्रतीक हुनुको सट्टा, मानव कमजोरीहरूले ग्रस्त थिए र यो कुनै छक्कपर्दो कुरा होइन। आखिर ती झुट्टा देवताहरूलाई बुद्धिमान हुने दाबी गर्ने “बेकम्मा” मानिसहरूले नै बनाएका हुन्। (रोमी १:२१-२३) युनानी देवताहरूले आपसमै षडयन्त्र रचेको कुरा बुझिन्छ। उदाहरणका लागि, पौराणिक कथाहरू अनुसार जियस भन्ने देवताले आफ्नै पिता क्रोनसलाई राजसत्ताबाट हटाइ दिएको थियो र क्रोनसले पनि उसको आफ्नै पिता युरेनसलाई राजगद्दीबाट निकाली दिएको थियो। सिद्ध प्रेम, न्याय, बुद्धि र शक्ति प्रदर्शित गर्नु हुने जीवित र सत्य परमेश्वर यहोवाको प्रशंसा र सेवा गर्न पाउनु एउटा कति ठूलो आशिष हो!
यहोवा, अनन्तकालीन प्रशंसाको योग्य
२०. यहोवाको नाउँको प्रशंसा गर्न, दाऊद राजाले के के कारणहरू प्रस्तुत गरे?
२० यहोवा अनन्तकालीन प्रशंसाको योग्य हुनु हुन्छ भन्ने कुरा हल्लेल भजनहरूमा व्यक्त गरिएको छ। यस्तै गरी, दाऊद र तिनका सङ्गी इस्राएलीहरूले मन्दिरका लागि चन्दा चढाउँदा, दाऊदले मण्डलीका सामुन्ने यसो भने: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं सनातनदेखि सनातनसम्म धन्यका होऊन्। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। धन र मान तपाईंबाटनै आउँछन्। तपाईंनै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै हातमा छ। औ अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिंदछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इतिहास २९:१०-१३.
२१. स्वर्गका सेनाहरूले पनि यहोवाको प्रशंसा गरेको के प्रमाण हामी प्रकाश १९:१-६-मा पाउँदछौं?
२१ स्वर्गमा पनि यहोवालाई अनन्तकालसम्म धन्यको घोषित गर्दै उहाँको प्रशंसा गरिनेछ। “स्वर्गमा एउटा ठूलो भीडको यसो भन्ने आवाज” प्रेरित यूहन्नाले सुने: “हल्लेलूयाह, मुक्ति महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्। किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्। किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्याको [महान बेबिलोनको] इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनु भएको छ।” र तिनीहरूले फेरि “हल्लेलूयाह” भने र यही कुरा चौबीसै धर्म-गुरुहरू र ती चार जीवित जीवातहरूले पनि भने। औ सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो: “हे परमेश्वरको डर मान्ने साना ठूला उहाँका सबै दास हो, हाम्रा परमेश्वरको प्रशंसा गर।” तब यूहन्नाले यो कुरा थपे: “औ एउटा ठूलो भीडको सोर र धेरै पानीहरूका आवाज र शक्तिशाली गर्जनको आवाज जस्तो यसो भन्ने सोर मैले सुनें, ‘हल्लेलूयाह, किनकि परमप्रभु हाम्रा परमेश्वर, सर्वशक्तिमानले राज्य गर्नुहुन्छ।’”—प्रकाश १९:१-६.
२२. यहोवाले प्रतिज्ञा गर्नु भएको नयाँ संसारमा उहाँको प्रशंसा कसरी गरिनेछ?
२२ स्वर्गका सेनाहरूले यहोवाको प्रशंसा गाउनु कति उचित कुरा हो! चाँडै, पुनरुत्थान भएर आउने भक्त जनहरूले यस रीतिरिवाजको अन्तमा बाँच्नेहरूलाई याहको प्रशंसा गर्न उहाँको नयाँ संसारमा साथ दिनेछन्। अल्गा-अल्गा पहाडहरूले आ-आफ्नो शिर उँचा पार्दै परमेश्वरको प्रशंसाको गीत गाउने छन्। हरियो डाँडाहरू र फलदायी वृक्षहरूले उहाँको प्रशंसा गाउनेछन्। भनौं भने, श्वास लिने प्रत्येक जीवित प्राणी, त्यो महान सामूहिक हल्लेलूयाहको गानमा भाग लिंदै यहोवाको प्रशंसा गर्नेछन्! (भजनसंग्रह १४८) के तपाईंको आवाज पनि त्यो आनन्दमय भीडमा सुनिनेछ? तपाईंले याहका जनहरू सित मिलेर वफादारीका साथ उहाँको सेवा गर्नु भयो भने, निश्चय नै सुनिनेछ। यसो गर्नु तपाईंको जीवनको उद्देश्य हुनु पर्छ किनकि यहोवा हाम्रा परमेश्वर जस्तो अरू को छ र? (w92 11/15)
तपाईं कसरी जवाफ दिनु हुन्छ?
▫ यहोवा परमेश्वरको प्रशंसा किन गर्नु?
▫ यहोवा कुन कुन ढङ्गमा अतुलनीय हुनु हुन्छ?
▫ यहोवा अनुकम्पापूर्ण हुनु हुन्छ भन्ने प्रमाण के हो?
▫ निर्जीव मूर्तिहरू र झुट्टा देवताहरू भन्दा यहोवा कसरी बेग्लै हुनु हुन्छ?
▫ स्वर्ग र पृथ्वीमा सदाका लागि यहोवाको प्रशंसा हुने छ भनेर हामी किन भन्न सक्छौं?
[पृष्ठ ८-मा भएको चित्र]
निस्तार भोजको दौडानमा हल्लेल भजनहरू गाउने गरिन्थ्यो