ईश्वरीय भयको खेती गर्ने
“परमप्रभुको भय मान्, र दुष्कर्मबाट अलग बस्।”—हितोपदेश ३:७.
१. कसका निम्ति हितोपदेशको पुस्तक लेखियो?
बाइबल पुस्तक हितोपदेश प्रचुर आध्यात्मिक सल्लाहले भरिभराउ छ। प्रारम्भमा आफ्नो प्रतिकात्मक राष्ट्र इस्राएललाई सिकाउन यहोवाले यो निर्देशन पुस्तकको प्रबन्ध गर्नुभयो। तर आजभने, उहाँका सबै पवित्र मसीही राष्ट्रका निम्ति यसले बुद्धिले भरिएको उक्ति प्रदान गर्छ, जसमाथि “पुस्ताहरूको अन्त हुनलागेको छ।”—१ कोरिन्थी १०:११; हितोपदेश १:१-५; १ पत्रुस २:९.
२. हितोपदेश ३:७-को चेतावनी किन आज सबैभन्दा समयानूकुल छ?
२ हितोपदेश ३:७ खोलेर हेऱ्यौं भने हामी यसो लेखेको पाउँछौं: “आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको भय मान्, र दुष्कर्मबाट अलग बस्।” हाम्रो प्रथम मातापिताको समयमा हव्वालाई त्यस सर्पले “असल र खराब ज्ञान”-को लोभ देखाएदेखि मानव बुद्धिले मानवजातिको आवश्यकताहरू पूरा गर्न सकेको छैन। (उत्पत्ति ३:४, ५; १ कोरिन्थी ३:१९, २०) यो कुरा इतिहासको कुनै पनि अवधीमा त्यति स्पष्ट देखिएको छैन जतिको यस २०-वौं शताब्दीमा देखिएको छ। यस “आखिरी दिनमा” मानवजातिले एकातिर नास्तिकवादी र विकासवादी सोचाइको फल खेती गरिरहेका छन् भने अर्कोतिर जातिवाद, हिंसा र हर प्रकारको अनैतिकताले पीडित छन्। (२ तिमोथी ३:१-५, १३; २ पत्रुस ३:३, ४) न संरासं-ले न त विभक्त धर्महरूले नै यस ‘नयाँ विश्व अव्यवस्था’-लाई सुल्झाउन सक्छन्।
३. हाम्रा दिनमा हुने कस्ता कुराहरूको वृद्धिबारे भविष्यवाणी गरियो?
३ पैशाचिक शक्तिहरू “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई आर-मागेडोन भन्ने ठाउँमा एक साथ जम्मा” गर्न गएका छन् भनेर बाइबलको भविष्यवाणीले हामीलाई अवगत गराउँछ। (प्रकाश १६:१४, १६) चाँडैं नै यी राजाहरू वा शासकहरूलाई यहोवाको डरले खानेछ। यहोशू र इस्राएलीहरूले आक्रमण गर्न आउँदा कनानीहरूमाथि छाएको त्रासझैं त्यो हुनेछ। (यहोशू २:९-११) तर आज हाम्रो समयमा यहोशूद्वारा चित्रित “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु”—ख्रीष्ट येशूले “सर्वशक्तिमान परमेश्वरको क्रोधको” अभिव्यक्तिस्वरूप “फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ।”—प्रकाश १९:१५, १६.
४, ५. कसले छुटकारा पाउनेछ र किन?
४ त्यस समयमा कसले छुटकारा पाउने छ? छुटकारा पाउनेहरू डरछेरूवा नभएर यहोवाप्रति श्रद्धापूर्ण डर राख्ने व्यक्तिहरू हुनेछन्। आफैलाई बुद्धिमान सम्झनुको सट्टा तिनीहरू “दुष्कर्मबाट अलग” बस्छन्। आफ्नो सोचाइबाट खराब कुराहरू हटोस् भनेर तिनीहरू नम्रतापूर्वक आफ्नो मनमा असल कुराहरू भर्छन्। तिनीहरू “पृथ्वीका न्यायकर्त्ता” सर्वभौम प्रभु यहोवा परमेश्वरप्रति स्वस्थकर आदरको कदर गर्छन्। जो-जो दुष्टतासँग टाँसिएर रहन्छन्, तिनीहरूलाई उहाँले भ्रष्ट सदोमबासीहरूलाई नाश गर्नुभएझैं दण्ड दिन लाग्नुभएको छ। (उत्पत्ति १८:२५) निस्सन्देह, परमेश्वरको जनहरूका निम्ति “मृत्युको पासोबाट उम्कन . . . परमेश्वरको भय जीवनको मूल हो।”—हितोपदेश १४:२७.
५ यहोवालाई अप्रसन्न तुल्याउने डरका साथ उहाँमा पूर्ण अर्पित हुने सबैले हितोपदेश ३:८-मा प्रतिकात्मक रूपमा दर्शाइएको यथार्थतालाई त्यस ईश्वरीय न्यायको दिनमा महसुस गर्नेछन्: “तँलाई स्वस्थ्य राख्नलाई त्यही [यहोवाको भय] तेरो निम्ति औषधि, तेरा हात-खुट्टाका निम्ति मलहम हो।”
यहोवाको आदर गर्नु
६. हितोपदेश ३:९-को सल्लाह पालन गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?
६ यहोवाप्रति मूल्याङ्कन सहितको डर र साथमा उहाँप्रतिको अगाढ प्रेमले हामीलाई हितोपदेश ३:९-को यस सल्लाह पालन गर्न उत्प्रेरित गराउनु पर्छ: “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर् र तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर्।” यहोवालाई भेटी चढाएर आदर गर्न हामीलाई कुनै करकाप छैन। त्यो स्वेच्छाको कुरा हो। इस्राएलमा दिइने बलिदानको सम्बन्धमा यहि कुरालाई प्रस्थान ३५:२९ देखि व्यवस्था २३:२३-मा झण्डै १२ पटक जति सङ्केत गरिएको छ। उहाँको हातबाट हामीले आनन्द उठाएको भलाइ अनि दयाको कदर स्वरूप यहोवालाई चढाइने पहिलौठो फल यथासम्भव उत्तम हुनुपर्छ। (भजनसंग्रह २३:६) हाम्रो भेटीमा “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी” गर्ने हाम्रो दृढ निश्चय झल्किनुपर्छ। (मत्ती ६:३३) आफ्नो बहुमूल्य वस्तुहरूले यहोवाको आदर गर्दा नतिजा कस्तो हुन्छ त? “तब तेरा ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछन्, र तेरा मसक नयाँ दाखमद्यले भरिभराउ हुनेछन्।”—हितोपदेश ३:१०.
७. यहोवालाई कस्तो पहिलौठो फल चढाउनुपर्छ र त्यसको नतिजा के हुनेछ?
७ यहोवाले हामीलाई आशिष दिनुहुने मुख्य तरिका आध्यात्मिक हो। (मलाकी ३:१०) यसर्थ हामीले उहाँलाई चढाउने पहिलो फल पनि मुख्यतः आध्यात्मिक नै हुनुपर्छ। हामीले उहाँको इच्छा पूरा गर्न हाम्रो समय, शक्ति र जोडदार बल लगाउनु पर्छ। यसो गरेमा ती कार्यहरू येशूको निम्ति शक्तिवर्धक “भोजन” भएझैं त्यसले हामीलाई पोस्ने छ। (यूहन्ना ४:३४) हाम्रो आध्यात्मिक स्रोत बढ्नेछ र नयाँ दाखमद्यद्वारा चित्रित हाम्रो हर्ष प्रशस्त हुनेछ। यसको अलावा पर्याप्त शारीरिक भोजनको लागि पूर्ण भरोसासहित हामीले प्रार्थना गर्दा, विश्वव्यापी राज्यसेवालाई सहयोग गर्न आफ्नो आयबाट उदारचित्तका साथ निरन्तर केही न केही दिनसक्छौं। (मत्ती ६:११) भौतिक सम्पत्ति लगायत हामीसँग भएका सबै कुरा स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले नै दिनुभएको हो। अतः उहाँको प्रशंसा गर्न हामी जति मात्रामा यी अमूल्य कुराहरू चढाउँछौं त्यति नै बढी आशिषहरू उहाँले दिनुहुनेछ।—हितोपदेश ११:४; १ कोरिन्थी ४:७.
प्रेमको ताडना
८, ९. ताडना र अनुशासनलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?
८ हितोपदेश ३ अध्याय पद ११ अनि १२-ले फेरि बाबु-छोराबीचको आनन्दित सम्बन्धबारे भन्छ। यसप्रकारको सम्बन्ध ईश्वरभक्त परिवारका साथै यहोवा र उहाँका प्रिय पार्थिव आध्यात्मिक सन्तानहरूबीच हुन्छ। उपरोक्त पदहरूले यसो भन्छ: “हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, अथवा उहाँको ताड़नादेखि चित्त नदुःखा। किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” यस संसारका मानिसहरू ताडनालाई घृणा गर्छन्। तर यहोवाका जनहरूले भने त्यसको स्वागत गर्नुपर्छ। प्रेरित पावलले हितोपदेशको पुस्तकबाट यी शब्दहरू उद्धृत गरे: “हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हलका नसम्झ, नता उहाँबाटको हप्कीमा हरेस खाऊ, किनभने जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ, . . . सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ।”—हिब्रू १२:५, ६, ११.
९ हो, चाहे आमाबाबुबाट होस् वा मसीही मण्डलीबाट या व्यक्तिगत अध्ययनको दौडान शास्त्रपदहरूमाथि मनन गर्दा नै किन नहोस्, हामीले पाएको ताडना र अनुशासन हामी हरेकको प्रशिक्षणको एउटा आवश्यक भाग हो। अनुशासन पालन गर्नु हितोपदेश ४:१, १३ ले भनेझैं हाम्रो जीवन र मरणको कुरा हो। उपरोक्त पदहरूले यसो भन्छ: “हे मेरा छोरा हो, आफ्नो बाबुको अर्ती ध्यानसित सुन। समझ-शक्ति कसरी प्राप्त गर्नु हो सो ध्यान लगाएर विचार गर। अर्तीलाई समातिराख् र त्यसलाई कहिल्यै नछोड्, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो।”
सबैभन्दा ठूलो आनन्द
१०, ११. हितोपदेश ३:१३-१८ का मीठा मीठा शब्दहरूका केही पक्षहरू के के हुन्?
१० अब छलफल गरिने सुन्दर अभिव्यक्तिहरू साँच्चै नै ‘मीठा मीठा र बिलकुलै सत्य छन्’! (उपदेशक १२:१०) सुलेमानका यी प्रेरित शब्दहरूले वास्तविक आनन्दको वर्णन गर्छ। यी ती शब्दहरू हुन् जसलाई हामीले आफ्नो हृदयमा कुँदेर राख्नुपर्छ। हामी पढ्छौं:
११ “बुद्धि पाउने र समक्ष-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुनभन्दा बढ़ी हुन्छ। त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्तैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र यश हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू उन्नतितिर लान्छन्। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्।”—हितोपदेश ३:१३-१८.
१२. बुद्धि र समझशक्तिले हामीलाई कसरी फाइदा पुऱ्याउनु पर्छ?
१२ बुद्धि—हितोपदेशको पुस्तकमा जम्माजम्मी ४६ पटक उल्लिखित शब्द! “परमप्रभुको [यहोवाको न्यु व०] डर मान्नु बुद्धिको प्रथम खुड़किलो हो।” परमेश्वरको वचनमाथि आधारित यो ईश्वरीय र व्यावहारिक बुद्धि हो। शैतानको संसारको उन्मुक्त डरलाग्दो तुफानमा एउटा सुरक्षित मार्ग पहिल्याउन यहोवाका जनहरूलाई त्यस प्रकारको बुद्धिले मदत गर्छ। (हितोपदेश ९:१०) हितोपदेशको पुस्तकमा १९ पटक उल्लिखित शब्द समझशक्ति, बुद्धिको सहायक हो र यसले हामीलाई शैतानको युक्तिहरूको सामना गर्न मदत गर्छ। धूर्त कार्यहरू प्रतिपादन गर्ने सम्बन्धमा त्यस ठूलो शत्रुसित हजारौं वर्षको अनुभव छ। तर हाम्रो शिक्षकको रूपमा काम गर्ने अनुभवहरूभन्दा पनि बहुमूल्य कुरा हामीसँग छ, त्यो हो असल अनि गलत छुट्टयाउने र ठीक बाटो छान्ने क्षमता अर्थात् ईश्वरीय समझशक्ति।—हितोपदेश २:१०-१३; एफिसी ६:११.
१३. आर्थिक कठिनाइको समयमा कुन कुराले हामीले बचाउन सक्छ र कसरी?
१३ वर्तमान संसारको आर्थिक भद्रगोल इजिकिएल ७:१९-को भविष्यवाणी पूर्तिको पूर्वसङ्केत हो। त्यहाँ यसो भनिएको छ: “तिनीहरूले आफ्ना चाँदी सड़कहरू हुँदो फालिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुको क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउनसक्नेछैनन्।” बुद्धि र समझशक्तिको बचाउन सक्ने शक्ति सामू पृथ्वीका सबै धन-सम्पत्ति तुलना गर्न सकिदैंन। एउटा त्यस्तै अर्को मौकामा बुद्धिमान राजा सुलेमानले यसो भने: “रूपियाँ-पैसाभन्दा बरू बुद्धि प्राप्त गर। बुद्धिलाई चिन्नेले त्यसबाट जीवन पाउँछ, र त्यो त्यसको निम्ति लाभदायक हुन्छ।” (उपदेशक ७:१२) धन्यका हुन् ती व्यक्तिहरू जो यहोवाको असल मार्गमा हिंड्छन् र बुद्धिमानीसाथ “दीघार्यु,” अर्थात् छुटकाराको निम्ति येशूले दिनुभएको बलिदानमाथि विश्वास गर्नेजतिलाई यहोवाले दिनुहुने अनन्त जीवनको वरदानलाई छान्छन्!—हितोपदेश ३:१६; यूहन्ना ३:१६; १७:३.
साँचो बुद्धिको खेती गर्ने
१४. यहोवाले कसरी उदाहरणीय बुद्धि देखाउनुभएको छ?
१४ यहोवाले आफ्नो आश्चर्यपूर्ण सृष्टिको काममा प्रकट गर्नुभएको बुद्धि र समझशक्तिलाई उहाँकै स्वरूपमा रचिएका हामी मानिसहरूले अनुकरण गर्न प्रयत्नरत हुनु उपयुक्त कुरा हो। “बुद्धिलेनै परमप्रभुले पृथ्वीको जग बसाल्नुभयो, र समझ-शक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो।” (हितोपदेश ३:१९, २०) उहाँले विकासवादको रहस्यमय वा अबोधगम्य प्रक्रियाद्वारा नभएर सृष्टिको प्रत्यक्ष कार्यद्वारा एउटा बुद्धिमान उद्देश्यका लागि “जात-जातका” जीवित् जन्तुहरू बनाउनुभयो। (उत्पत्ति १:२५) अन्तमा यी जनावरहरूको भन्दा बढी बुद्धि र क्षमताका साथ मानिसको सृष्टि गरिंदा निश्चय नै स्वर्गमा परमेश्वरको स्वर्गदूतीय पुत्रहरूको करतल-ध्वनी गुञ्जिए होलान्। (अय्यूब ३८:१, ४, ७-सँग तुलना गर्नुहोस्।) यहोवाको समझदारीपूर्ण दूरदर्शिता, उहाँको बुद्धि तथा प्रेम पृथ्वीमा भएका उहाँका सबै सृष्टिहरूमा छर्लङ्ग देखिन्छ।—भजनसंग्रह १०४:२४.
१५. (क) बुद्धिको खेती गर्नु मात्र किन पर्याप्त छैन? (ख) हितोपदेश ३:२५, २६-ले हामीमा कस्तो आश्वासन जगाउनुपर्छ?
१५ यहोवाको गुण, बुद्धि र समझशक्तिलाई हामीले खेती गर्ने मात्र होइन तर त्यसमा लागिरहनु पनि पर्छ र उहाँको वचन अध्ययन गर्ने काममा कहिल्यै सुस्त हुनुहुँदैन। उहाँले हामीलाई यस्तो नसिहत दिनुहुन्छ: “हे मेरो छोरो, आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्, तेरो दृष्टिबाट ती फुत्केन नजाऊन्। ती तेरो आत्माको प्राण र तेरो छातीमा हारझैं हुनेछन्।” (हितोपदेश ३:२१, २२) यसो गऱ्यौं भने शैतानको संसारमा चोर आएझैं आउने अकस्मात् “विनाश”-को समयमा समेत सुरक्षित र मनको शान्तिसित हिंड्न सक्छौं। (१ थिस्सलोनिकी ५:२, ३) महासंकष्टको समयमा पनि “दुष्टहरूमाथि विनाश आइलाग्दा तँ नडरा। किनभने परमप्रभु तेरा छेवैमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोदेखि जोगाउनुहुनेछ।”—हितोपदेश ३:२३-२६.
असल कामको लागि प्रेम
१६. सेवकाईको जोश बाहेक मसीहीहरूले कस्तो काम पनि गर्नुपर्छ?
१६ हाम्रा यी दिनहरू साक्षीको निम्ति सबै जातिहरूलाई राज्यको सुसमाचार प्रचारकार्यमा जोश देखाउने दिनहरू हुन्। तर साक्षी दिने यो कामलाई हितोपदेश ३:२७, २८-मा भनिएझैं अरू मसीही क्रियाकलापहरूले पनि समर्थन गरेको हुनुपर्छ। उक्त पदमा यस्तो वर्णन गरिएको छ: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर्। तँसित छ भने तेरो मित्रलाई, ‘फेरि आऊ, भोलि दिनेछु,’ भनी नभन्।” (याकूब २:१४-१७ सँग तुलना गर्नुहोस्।) संसारको धेरैजसो भाग गरिबी र अनिकालको चपेटामा परेको हुँदा हामीले आफ्ना सह-मानवहरू र विशेषगरि हाम्रा आध्यात्मिक भाइहरूलाई अविलम्ब मदत गर्नुपरेको छ। यहोवाका साक्षीहरूले कस्तो प्रत्युत्तर दिएका छन् त?
१७-१९. (क) सन् १९९३-मा कस्तो अविलम्ब आवश्यकतालाई पूरा गरियो र कस्तो प्रत्युत्तरका साथ? (ख) घेराउमा परेका हाम्रा भाइहरू “विजयी” भएर आए भन्ने कुरा कुन घटनाले प्रदर्शन गर्छ?
१७ यस उदाहरणलाई लिनुहोस्: गत वर्ष पहिलेको युगोस्लाभियाबाट अविलम्ब मदतको गुहार आउँदा छिमेकी मुलुकहरूका भाइहरूले अद्भुत रूपमा त्यसको जवाफ दिए। गत हिउँदको ठण्डा महिनाहरूमा युद्ध ग्रसित क्षेत्रहरूमा केही राहत सामाग्री पठाउन सकियो र आवश्यकताले पीडित मसीहीहरूलाई भर्खरै प्रकाशित पत्रिकाहरू, न्यानो कपडाहरू, खाना र औषधीहरू पुऱ्याउन सकियो। एकपटक भाइहरूले १५ टन राहत सामाग्री लैजाने अनुमतिका लागि अनुरोध गरे। तर पछि अनुमती पाउँदा त्यो १५ टनको नभइ ३० टनको थियो! अस्ट्रियाका यहोवाका साक्षीहरूले तुरुन्तै अरू तीन ट्रक सामान पठाए। सबै मिलाएर २५ टन राहत सामाग्रीहरू आफ्नो गन्तव्य स्थानमा पुगे। यसरी प्रशस्त मात्रामा आध्यात्मिक तथा भौतिक प्रबन्धहरू पाउँदा हाम्रा भाइहरू कति खुशी थिए!
१८ सहायता पाउने यी व्यक्तिहरूले कस्तो प्रतिक्रिया देखाए त? यही वर्षको प्रारम्भतिर एक जना प्राचीनले यस्तो लेखे: “सराइभोका भाइ-बहिनीहरू जीवित र राम्रै अवस्थामा छन् र सबैभन्दा ठूलो कुरा हामी सबैजना युद्धको यस्तो पागलपनालाई सहन आध्यात्मिक रूपमा बलियो नै छौं। खानेकुराको सम्बन्धमा भने परिस्थिति निकै जटिल थियो। हाम्रो निम्ति तपाईंहरूले गर्नुभएको प्रयत्नका लागि यहोवाले आशिष दिऊन्। यहोवाका साक्षीहरूको उदाहरणीय जीवनशैली र अधिकारीहरूप्रतिको आदरको कारण यहोवाका साक्षीहरूलाई अधिकारीहरू विशेष आदर गर्छन्। हाम्रो निम्ति प्रबन्ध गर्नुभएको आत्मिक आहारको लागि पनि हामी अति नै कृतज्ञ छौं।”—भजनसंग्रह १४५:१८-सँग तुलना गर्नुहोस्।
१९ आफ्नो जोशिलो क्षेत्र सेवकाईबाट पनि जोखिममा परेका यी भाइहरूले आफ्नो मूल्याङ्कन देखाएका छन्। थुप्रै छिमेकीहरू तिनीहरूकहाँ गृह बाइबल अध्ययनको लागि आग्रह गर्दै आउँछन्। पाँच टन राहत खाद्य सामाग्री पुऱ्याइएको टुज्ला शहरमा ४० जना प्रकाशकहरूले महिनामा औसतन २५ घण्टा रिपोर्ट गरे। यसले गर्दा तिनीहरूको मण्डलीका नौ जना अग्रगामीहरूका लागि निकै सहयोग पुग्यो। येशूको मृत्यु स्मरणार्थ दिनमा २४३ को उल्लेखनीय उपस्थिति थियो। यी प्रिय भाइहरू साँच्चै नै “हामीलाई प्रेम गर्नुहुनेद्वारा . . . विजयी” भएर आइरहेका छन्।—रोमी ८:३७.
२०. पहिलेको सोभियत संघमा कस्तो “समानता” आएको छ?
२० पहिलेको सोभियत सङ्घमा पठाइएका ठूलो मात्राको राहत खाद्य सामाग्री र न्यानो कपडाहरूद्वारा देखाइएको उदारताका बदलामा त्यहाँका भाइहरूले ठूलो जोश देखाएका छन्। उदाहरणको लागि मास्कोमा यस वर्षको स्मरणार्थ उपस्थिति गत वर्षको ३,५०० तुलनामा ७,५४९ जना थिए। यसै समयमा मण्डलीको संख्या पनि १२ बाट बढेर १६ पुग्यो। (बाल्टिक राज्यहरूलाई छाडेर) सम्पूर्ण पहिलेको सोभियत संघको मण्डली संख्यामा १४ प्रतिशत, राज्य प्रचारकको संख्यामा २५ प्रतिशत र अग्रगामीको संख्यामा ७४ प्रतिशत वृद्धि भयो। कस्तो जोश अनि आत्म-त्यागको भावना! यसले हामीलाई प्रथम शताब्दीमा भएको “समानता”-को सम्झना गराउँछ। आध्यात्मिक तथा भौतिक सम्पत्ति भएका भाइहरूले अभावमा परेका भाइहरूलाई उदारतासाथ उपहारहरू दिन्थे भने यी कष्टमा परेका भाइहरूको जोशले ती दाताहरूलाई आनन्द र प्रोत्साहन दिन्थ्यो।—२ कोरिन्थी ८:१४.
खराबीलाई घृणा गर्नुहोस्!
२१. हितोपदेश तेस्रो अध्यायको अन्तिम शब्दहरूमा बुद्धिमान र मूर्खलाई कसरी तुलना गरिएको छ?
२१ हितोपदेशको तेस्रो अध्यायले त्यसपछि एउटा श्रृङ्खलाबद्ध भिन्नताहरूलाई यस नसिहतका साथ टुङ्ग्याउँछन्: “शंकै नगरेको तेरो छिमेकी, आफ्नो मित्रको विरुद्धमा षड़यन्त्र नरच्। तेरो विरुद्धमा कुनै मानिसले केही खराबी गरेको छैन भने विनाकारण त्यससित झगड़ा नगर्। उपद्रव गर्ने मानिसको अनुसरण नगर्। त्यसकै चालमा चल्ने इच्छा नगर्। किनभने जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र हुन्छन्। दुष्ट काम गर्नेको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष दिनुहुन्छ। अभिमानी मानिससित परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुन्छ, तर नम्रहरूमाथि उहाँले निगाह गर्नुहुन्छ। बुद्धिमानीहरूको भाग आदर हो, तर मूर्खहरूको चाहिं अपमान।”—हितोपदेश ३:२९-३५.
२२. (क) मूर्खहरूको गन्तीमा पर्नदेखि हामी कसरी बच्न सक्छौं? (ख) बुद्धिमानहरूले कुन कुरालाई घृणा गर्छन्, कुन कुराको खेती गर्छन् र कस्तो इनाम तिनीहरूले पाउँछन्?
२२ मूर्खहरूको गन्तीमा नपर्न हामीले के गर्न सक्छौं? हामीले खराबीलाई घीन गर्न सिक्नुपर्छ, हो यहोवाले घृणा गर्नुहुने यस हिंस्रक, रक्तदोषी संसारका सबै छली कुराहरूलाई हामीले घृणा गर्नुपर्छ। (हितोपदेश ६:१६-१९ पनि हेर्नुहोस्।) त्यसको विपरीत हामीले असल कुराहरू—सच्चाइ, धार्मिकता र नम्रताको खेती गर्नुपर्छ ताकि विनम्रता र यहोवाको भयमा “धन, मान र जीवन” पाउन सकियोस्। (हितोपदेश २२:४) यो इनाम विश्वासीपूर्वक यस नसिहतलाई प्रयोगमा ल्याउने हामी सबैका निम्ति हुनेछ: “तेरो सारा भरोसा परमेश्वरमा राख्।” (w93 12/1)
तपाईं कस्तो टिप्पणी दिनुहुन्छ?
▫ यस अध्ययन लेखको मुख्य पद आज कसरी लागू हुन्छ?
▫ कसरी हामी यहोवाको आदर गर्न सक्छौं?
▫ अनुशासनलाई हामीले किन तुच्छ ठान्नु हुँदैन?
▫ सबैभन्दा ठूलो आनन्द कहाँ पाइन्छ?
▫ हामीले कसरी असललाई प्रेम र खराबलाई घृणा गर्नसक्छौं?
[पृष्ठ २४-मा भएको चित्र]
यहोवालाई आफ्नो उत्तम भेटी चढाउनेहरू प्रशस्तगरि आशिषित हुन्छन्