-
प्रेरितहरूका समयमा ज्योतिका चमकहरूप्रहरीधरहरा—१९९५ | मे १५
-
-
प्रेरितहरूका समयमा ज्योतिका चमकहरू
“धर्मात्माहरूको निम्ति ज्योति, र हृदयमा सोझा भएकाहरूको निम्ति आनन्द छर्नुभएको छ।”—भजन ९७:११.
१. आज यहोवाका साक्षीहरू कसरी प्रारम्भिक मसीहीहरू जस्तै छन्?
साँचो मसीहीहरूको हैसियतमा हामी भजन ९७:११ का शब्दहरू कति मूल्यांकन गर्छौं! हाम्रो निम्ति बारम्बार ‘ज्योति चम्किएको छ।’ निस्सन्देह, हामीमध्ये केहीले दशकौंदेखि यहोवाको ज्योति चम्किरहेको देखेका छौं। यी सबै कुराले हामीलाई हितोपदेश ४:१८ स्मरण गराउँछ। त्यहाँ यसो भनिएको छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन् झन् चहकिलो हुँदैजान्छ।” परम्पराभन्दा शास्त्रलाई बढी मान्यता दिने भएकोले हामी यहोवाका साक्षीहरू प्रारम्भिक मसीहीहरूजस्तै छौं। तिनीहरूको मनोवृत्ति ईश्वरीय प्रेरणाबाट लेखिएको मसीही युनानी शास्त्रका ऐतिहासिक पुस्तक तथा पत्रहरूद्वारा स्पष्ट देख्न सकिन्छ।
२. येशूका अनुयायीहरूले प्राप्त गरेका ज्योतिका प्रथम चमकहरू के थिए?
२ येशू ख्रीष्टका प्रारम्भिक चेलाहरूले पाएका ज्योतिका प्रथम चमकहरू मसीहसँग सम्बन्धित थियो। अन्द्रियासले आफ्नो भाइ शिमोन पत्रुसलाई यसो भने: “हामीले मसीहलाई भेटाएका छौं।” (यूहन्ना १:४१) स्वर्गमा हुनुहुने पिताले केही समयपश्चात् प्रेरित पत्रुसलाई यो कुराको पुष्टि दिन मदत दिनुभयो। तिनले येशू ख्रीष्टलाई यसो भने: “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।”—मत्ती १६:१६, १७; यूहन्ना ६:६८, ६९.
तिनीहरूको प्रचार गर्ने दायित्वमाथि ज्योति
३, ४. आफ्नो पुनरुत्थानपश्चात् भावी क्रियाकलापबारे येशूले चेलाहरूलाई कस्तो ज्ञान प्रदान गर्नुभयो?
३ येशू ख्रीष्टले आफ्नो पुनरुत्थानपश्चात् सम्पूर्ण चेलाहरूमाथि लागू हुने दायित्वबारे ज्योतिका चमकहरू प्रदान गर्नुभयो। सम्भवतः त्यो गालिलमा भेला भएका ५०० चेलाहरूलाई दिनुभएको यो आज्ञा थियो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०; १ कोरिन्थी १५:६) तत्पश्चात् ख्रीष्टका सबै अनुयायीहरू प्रचारकहरू हुनुपर्नेथियो र तिनीहरूको प्रचार-कार्य “इस्राएलको घरानामा हराएका भेड़ाहरू” सम्म मात्र सीमित हुनेथिएन। (मत्ती १०:६) नता तिनीहरूले पाप पश्चात्ताप भएको क्षमाको चिन्हस्वरूप यूहन्नाले जस्तो बप्तिस्मा दिनेथिए। बरु, तिनीहरूले मानिसहरूलाई “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा दिनेथिए।
४ येशूको स्वर्गारोहण हुनुभन्दा केही समयअघि उहाँका ११ विश्वासी प्रेरितहरूले यसरी सोधे: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” त्यो प्रश्नको जवाफ दिनुको साटो प्रचार-कार्यबारे थप निर्देशनहरू दिंदै येशूले यसो भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्मै मेरा गवाही हुनेछौ।” त्यतिञ्जेल तिनीहरू केवल यहोवाका साक्षीहरू थिए तर अब तिनीहरू ख्रीष्टका पनि साक्षीहरू हुनेथिए।—प्रेरित १:६-८.
५, ६. पेन्तिकोसको दिनमा येशूका चेलाहरूले ज्योतिका कस्ता चमकहरू पाए?
५ त्यसको दश दिनपछि येशूका अनुयायीहरूले साँच्चै नै ज्योतिका चहकिला चमकहरू पाए! सा.यु. ३३ पेन्तिकोसको दिनमा तिनीहरूले प्रथम चोटि योएल २:२८, २९ को उपयोगितालाई पूर्णतया बुझे: “म [यहोवा] मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्, तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका तन्हेरीहरूले दर्शन देख्नेछन्। औ ती दिनमा तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु।” यरूशलेममा भेला भएका १२० पुरुष तथा स्त्रीहरूमाथि पवित्र आत्मा चिरा चिरा परेका आगोका जिब्राहरूको रूपमा टाउकोमा अडेको येशूका चेलाहरूले देखे।—प्रेरित १:१२-१५; २:१-४.
६ पुनरुत्थान भइसक्नुभएको येशूमा भजन १६:१० लागू हुन्छ भनेर पनि पेन्तिकोसकै दिन चेलाहरूले प्रथम पटक बुझे। भजनरचयिताले यसो भनेका थिए: “तपाईंले [यहोवा परमेश्वर] मेरो प्राणलाई पातालमा छोड़नुहुनेछैन। तपाईंले आफ्ना पवित्र जनलाई कुहुनु दिनुहुनेछैन।” यी शब्दहरू राजा दाऊदमाथि लागू हुँदैन भनी चेलाहरूले बुझे किनभने उनको चिहान त्यतिबेलासम्म त्यहीं थियो। यो नयाँ ज्योतिको वर्णन सुन्न पाउँदा त्यहाँ उपस्थितमध्ये ३,००० जना असाध्यै विश्वस्त भएर त्यही दिन बप्तिस्मा लिनु कुनै आश्चर्यको कुरा होइन!—प्रेरित २:१४-४१.
७. रोमी सेनाको कप्तान, कर्नीलियसको घर जाँदा प्रेरित पत्रुसले कस्तो चहकिलो ज्योति पाए?
७ परमेश्वरले तिनीहरूबारे भन्नुभएको कुरालाई धेरै शताब्दीसम्म इस्राएलीहरूले बुझेका थिए: “पृथ्वीका सबै कुलहरूमा मैले केवल तिमीहरूमाथि मन लगाएँ।” (आमोस ३:२) अतः प्रेरित पत्रुस र तिनका साथीहरू रोमी सेनाको कप्तान, कर्नीलियसको घरमा जाँदा खतना नभएका अन्यजातिहरूमा प्रथम चोटि पवित्र आत्मा ओर्लनु निस्सन्देह ज्योति चम्किनाले भएको थियो। साथै उल्लेखनीय कुरा, बप्तिस्माअघि पवित्र आत्मा खन्याइएको यो एक मात्र घटना थियो। तर यस्तै हुनु आवश्यक थियो। अन्यथा यी खतना नभएका अन्यजातिहरू बप्तिस्माका लागि योग्य छन् भनी पत्रुसले थाह पाउने थिएनन्। यस घटनाको महत्त्वलाई बुझ्दै पत्रुसले सोधे: “हामीझैं पवित्र आत्मा पाउने यिनीहरूलाई अन्यजातिहरू बप्तिस्मा हुन नदिन कसले पानी मनाई गर्नसक्छ?” निस्सन्देह, त्यहाँ उपस्थित कसैले औचित्यपूर्वक विरोध जनाउन सक्दैनथे। अतः यी अन्यजातिहरूको बप्तिस्मा भयो।—प्रेरित १०:४४-४८; प्रेरित ८:१४-१७ तुलना गर्नुहोस्।
अब खतना आवश्यक छैन
८. खतनासम्बन्धी व्यवस्था त्याग्न केही प्रारम्भिक मसीहीहरूलाई किन गाह्रो पऱ्यो?
८ खतना गर्ने सम्बन्धमा सत्यको थप ज्योति चम्क्यो। यहोवाले सा.यु.पू. १९१९ मा अब्राहामसित करार बाँध्नुहुँदा खतना गर्ने प्रचलन सुरु भएको थियो। तब परमेश्वरले अब्राहाम र तिनको घरानाका पुरुषहरूको खतना गर्नुपर्ने आज्ञा दिनुभयो। (उत्पत्ति १७:९-१४, २३-२७) अतः खतना, अब्राहामका सन्तानहरूको चिनारी हुन गयो। अनि तिनीहरू त्यस प्रचलनको घमण्ड गर्थे। फलस्वरूप, “खतना नभएकाहरू” भन्ने अभिव्यक्ति तिरस्कृत हुन थाल्यो। (यशैया ५२:१; १ शमूएल १७:२६, २७) अतः केही प्रारम्भिक यहूदी मसीहीहरूले यो चिनारी राख्न चाहनुको कारण सजिलै बुझ्न सकिन्छ। यस विषयमा केहीले पावल र बर्णाबाससित चर्को विवाद गरे। यो विवाद सुल्झाउन पावल र बर्णाबास मसीही परिचालक निकायको परामर्श लिन यरूशलेम गए।—प्रेरित १५:१, २.
९. प्रेरित १५ अध्यायमा लिपिबद्ध गरिएअनुसार तत्कालीन परिचालक निकायले ज्योतिका कस्ता चमकहरू पाए?
९ तर त्यस समयमा यहोवाका सेवकहरूले खतना गर्नु आवश्यक थिएन भनेर प्रारम्भिक मसीहीहरूले कुनै स्पष्ट चमत्कारद्वारा खतनासम्बन्धी ज्योतिको चमक पाएनन्। बरु, तिनीहरूले शास्त्रको जाँच, पवित्र आत्माको डोऱ्याइ अनि खतना नभएका अन्यजातिहरूको सन्दर्भमा पत्रुस र पावलको अनुभवबाट थप ज्योति प्राप्त गरे। (प्रेरित १५:६-२१) पत्र मार्फत त्यो निर्णय सुनाइयो, जसको केही भाग यसप्रकार थियो: “यी जरूरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनामानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्।” (प्रेरित १५:२८, २९) तसर्थ, प्रारम्भिक मसीहीहरू खतना अनि मोशाको व्यवस्थाका अन्य आवश्यकताहरूबाट मुक्त भए। अतः, पावलले गलातीका मसीहीहरूलाई यसो भन्न सके: “स्वतंत्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो।”—गलाती ५:१.
सुसमाचारका पुस्तकहरूमा ज्योति
१०. मत्तीरचित सुसमाचारमा प्रकटित ज्योतिका केही चमकहरू के के थिए?
१० सा.यु. ४१ तिर लेखिएको मत्तीको पुस्तकमा पाठकहरूको लाभको निम्ति ज्योतिका थुप्रै चमकहरू पाइन्छ भन्नुमा कुनै सन्देह छैन। तुलनात्मक ढंगमा भन्ने हो भने, प्रथम शताब्दीका थोरै मसीहीहरूले मात्र येशूकै मुखबाट उहाँका शिक्षाहरू सुनेका थिए। येशूको प्रचारको मूल विषय परमेश्वरको राज्य थियो भनेर विशेषगरि मत्तीरचित सुसमाचारले जोड दियो। अनि सही मनोवृत्तिको आवश्यकतामाथि येशूले निकै जोड दिनुभयो! उहाँको डाँडाको उपदेश, (मत्ती १३ अध्यायमा लिपिबद्धजस्ता) उहाँका उखानहरू र अध्याय २४ तथा २५ मा उहाँका महान् भविष्यवाणीहरूमा ज्योतिका कति धेरै चमकहरू पाइन्छन्! सा.यु. ३३ पेन्तिकोसको लगभग आठ वर्षपछि मात्र लेखिएको मत्तीरचित सुसमाचारका यी सबै कुराहरूतर्फ प्रारम्भिक मसीहीहरूको ध्यानाकर्षण गरियो।
११. लूका र मर्कूसरचित सुसमाचारको पुस्तकको विषयवस्तुबारे के भन्न सकिन्छ?
११ झन्डै १५ वर्षपछि लूकाले सुसमाचारको पुस्तक लेखे। तिनको विवरण प्रायजसो मत्तीको जस्तै भए तापनि यसमा ५९ प्रतिशत थप जानकारीहरू छन्। लूकाले येशूका छवटा चमत्कारहरू लिपिबद्ध गरे र सुसमाचारका अन्य लेखकहरूले उल्लेख नगरेका उहाँका उदाहरणहरू दुइ गुना बढी उल्लेख गरे। सम्भवतः केही वर्षपश्चात् मर्कूसले येशू ख्रीष्टलाई क्रियाशील चमत्कारी मानव भनी जोड दिंदै सुसमाचारको पुस्तक लेखे। मत्ती र लूकाले उल्लेख गरिसकेका प्रायजसो कुराहरू मर्कूसले लेखे। तापनि ती दुवैले उल्लेख नगरेको एउटा उखान तिनले उल्लेख गरे। त्यो उखानमा येशूले परमेश्वरको राज्यलाई एउटा बीउसित तुलना गर्नुभयो, त्यो टुसाउँछ, बढ्छ र त्यसले बिस्तारै फल दिन थाल्छ।a—मर्कूस ४:२६-२९.
१२. यूहन्नाको सुसमाचारको पुस्तकले कुन हदसम्म थप ज्ञान प्रदान गऱ्यो?
१२ त्यसपछि मर्कूसरचित समाचार लेखिएको ३० वर्षभन्दा बढी समयपछि यूहन्नाले सुसमाचारको पुस्तक लेखे। येशूको सेवकाई र विशेषगरि उहाँको मानव पूर्व अस्तित्वमाथि संकेतहरूद्वारा यूहन्नाले निकै ज्योति प्रदान गरे। यूहन्नाले मात्र लाजरसको पुनरुत्थानको विवरण दिन्छन् र येशूले आफ्ना विश्वासी प्रेरितहरूलाई भन्नुभएको असल टिप्पणीहरूका साथै आफूलाई विश्वासघात गरिने अघिल्लो रातमा उहाँको हृदयस्पर्शी प्रार्थना केवल उनले बताएका छन्, जुन अध्याय १३ देखि १७ सम्म लिपिबद्ध गरिएको छ। वास्तवमा, यूहन्नारचित सुसमाचारको ९२ प्रतिशत विशिष्ट छ भनिन्छ।
पावलका पत्रहरूमा ज्योतिका चमकहरू
१३. पावलले रोमीहरूलाई लेखेको पत्रलाई कसै कसैले सुसमाचारको पुस्तकजस्तै किन ठानेका छन्?
१३ प्रेरितहरूका समयमा बाँचिरहेका मसीहीहरूलाई ज्योतिका चमकहरू प्रकट गर्न विशेषगरि प्रेरित पावललाई प्रयोग गरिएको थियो। उदाहरणको लागि, लूकाले सुसमाचारको पुस्तक लेखेको समय अर्थात् लगभग सा.यु. ५६ तिर नै पावलले रोमीहरूलाई पत्र लेखे। यस पत्रमा पावलले परमेश्वरको विशेष अनुग्रह र येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने तथ्य प्रकाश पार्छन्। सुसमाचारको यस पक्षमा पावलले जोड दिएकोले रोमीहरूलाई लेखेको पत्रलाई केहीले सुसमाचारको पाँचौं पुस्तकसरह ठान्छन्।
१४-१६. (क) कोरिन्थका मसीहीहरूलाई लेखेको पहिलो पत्रमा एकताबद्ध हुनुपर्ने आवश्यकतामाथि पावलले कस्तो प्रकाश पारे? (ख) आचरणसम्बन्धी कस्तो थप ज्योति पहिलो कोरिन्थीको पुस्तकमा पाइन्छ?
१४ कोरिन्थका मसीहीहरूलाई पिरोलिरहेको खास विषयबारे पावलले लेखे। तिनले कोरिन्थीहरूलाई लेखेको प्रेरित सल्लाह आज हाम्रो समयका मसीहीहरूलाई समेत लाभदायी भएको छ। प्रथमतः, केही व्यक्तिविशेषमा ध्यानाकर्षण गर्दै भिन्दाभिन्दै गुटहरू बनाउने गल्ती गरिरहेका कोरिन्थीहरूलाई तिनले ज्ञान प्रदान गर्नुपरेको थियो। निडरतापूर्वक यसो भन्दै प्रेरितले तिनीहरूको मनोवृत्ति सच्याए: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०-१५.
१५ कोरिन्थको मसीही मण्डलीले अघोर अनैतिकतालाई सहिरहेको थियो। त्यहाँ एक जना मानिसले आफ्नै बुबाकी पत्नी राखेर ‘अन्यजातिहरूमा पनि नहुने व्यभिचार’ गरेका थिए। पावलले यसप्रकार स्पष्टसित लेखे: “तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरिन्थी ५:१, ११-१३) बहिष्कार गर्नु मसीही मण्डलीको लागि नौलो कुरा थियो। कोरिन्थको मण्डलीलाई ज्ञान चाहिएको अर्को क्षेत्र के थियो भने, त्यहाँका केही सदस्यहरूले उजुरी सुल्झाउन आफ्ना आध्यात्मिक भाइहरूलाई सांसारिक अदालतसम्म पुऱ्याइरहेका थिए। यसो गरेकोमा पावलले तिनीहरूलाई कडासित हप्काए।—१ कोरिन्थी ६:५-८.
१६ कोरिन्थको मण्डलीलाई पीडित तुल्याइरहेको अर्को विषय, यौनसम्बन्ध थियो। यौन अनैतिकताको प्रचुरताले गर्दा हरेक पुरुषको आफ्नै पत्नी र हरेक स्त्रीको आफ्नै पति हुनु बेस हुनेछ भनी पावलले १ कोरिन्थीको ७ अध्यायमा लेखे। अविवाहितहरूले अलमलबिना यहोवाको सेवा बढी गर्नसक्ने भए तापनि सबैले अविवाहित बस्ने वरदान पाएका हुँदैनन् भनेर पनि पावलले देखाए। अनि एउटी स्त्रीको पति मरेको खण्डमा तिनी पुनः विवाह गर्न स्वतन्त्र हुन्थिन् तर “प्रभुमा मात्र।”—१ कोरिन्थी ७:३९.
१७. पुनरुत्थानको शिक्षामा पावलले कस्तो ज्योति प्रकाश पारे?
१७ पुनरुत्थानको विषयमा साँच्चै ज्योतिका अद्भुत चमकहरू प्रकट गर्न प्रभुले पावललाई चलाउनुभयो! कस्तो शरीर लिएर अभिषिक्त मसीहीहरू बिउँताइनेछन्? पावलले यसरी लेखे: “प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउँताइन्छ।” शारीरिक शरीर स्वर्गमा लगिनेछैन किनभने “मासु र रगत स्वर्गको राज्यको हकदार हुनेछैन।” पावलले अझै के थपे भने, सबै अभिषिक्त मसीहीहरू मृत्युमा रहिरहँदैनन् तर येशूको उपस्थितिमा केही अभिषिक्त जनहरू मर्नेबित्तिकै अमर जीवनको लागि बिउँताइनेछन्।—१ कोरिन्थी १५:४३-५३.
१८. पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा भविष्यसम्बन्धी कस्तो ज्योति पाइन्छ?
१८ थिस्सलोनिकीका मसीहीहरूलाई पत्र लेख्दा भविष्यबारे प्रकाश पार्न पावललाई चलाइएको थियो। यहोवाको दिन रातमा चोरजस्तै आउनेथियो। पावलले यसरी पनि वर्णन गरे: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।”—१ थिस्सलोनिकी ५:२, ३.
१९, २०. पावलले हिब्रूहरूलाई लेखेको पत्रमा यरूशलेम र यहूदियाका मसीहीहरूले ज्योतिका कस्ता चमकहरू पाए?
१९ हिब्रूहरूलाई पत्र लेखेर पावलले यरूशलेम र यहूदियाका प्रारम्भिक मसीहीहरूलाई ज्योतिका चमकहरू प्रदान गरे। उपासना गर्ने सम्बन्धमा मोशाको व्यवस्थाभन्दा मसीही व्यवस्था कति श्रेष्ठ छ भनेर तिनले जोडदार ढंगमा देखाए। स्वर्गदूतहरूद्वारा प्रसारित व्यवस्था पछ्याउनुको साटो स्वर्गदूतहरूभन्दा श्रेष्ठ, परमेश्वरको पुत्रले प्रथम पटक बोल्नुभएको मुक्तिमा मसीहीहरूले विश्वास राखेका छन्। (हिब्रू २:२-४) परमेश्वरको घरमा मोशा एक परिचारक मात्र थिए। तथापि, येशू ख्रीष्टले सम्पूर्ण घरानामाथि अध्यक्षता गर्नुहुन्छ। मल्कीसेदेकको दर्जाअनुसार ख्रीष्ट, प्रधान पूजाहारी र हारूनको पूजाहारीत्वभन्दा श्रेष्ठ स्थानमा हुनुहुन्छ। विश्वास र आज्ञाकारिताको कमीले गर्दा इस्राएलीहरू परमेश्वरको विश्राममा प्रवेश गर्न सकेनन् तर आफ्नो विश्वास तथा आज्ञाकारिताले गर्दा मसीहीहरू त्यहाँ प्रवेश गर्छन् भनेर पनि पावलले देखाए।—हिब्रू ३:१–४:११.
२० साथै, व्यवस्थाको करारभन्दा नयाँ करार निकै श्रेष्ठ छ। यर्मिया ३१:३१-३४ मा ६०० वर्षअघि भविष्यवाणी गरिएझैं नयाँ करारमा बाँधिएकाहरूको हृदयमा परमेश्वरको व्यवस्था लेखिएको छ अनि तिनीहरूले पापको साँचो क्षमा पाउँछन्। प्रधान पूजाहारीले आफ्नो र अरू मानिसहरूको पापको निम्ति वर्षेनी बलिदानहरू चढाउनु पर्थ्यो। तर मसीहीहरूसित प्रधान पूजाहारीको हैसियतमा येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ निष्पाप हुनुहुन्छ र उहाँले एकै चोटि सदाको निम्ति पापको लागि बलिदान चढाउनुभयो। आफ्नो बलिदान चढाउन हातले निर्मित पवित्र स्थानमा प्रवेश गर्नुको साटो उहाँ परमेश्वरको सामु उभिन स्वर्गमा प्रवेश गर्नु- भयो। यसबाहेक, मोशाको व्यवस्थाको करारमा पशु बलिहरूद्वारा पूर्णतया पाप क्षमा गर्न सकिंदैनथ्यो अन्यथा त्यो वर्षेनी चढाउनु पर्नेथिएन। तर एकै चोटि सदाको निम्ति चढाइएको ख्रीष्टको बलिदानले सम्पूर्ण पाप क्षमा गर्छ। यी सबैले महान् आध्यात्मिक मन्दिरमाथि ज्योति प्रदान गर्छ, जसको चोकमा आज अभिषिक्त शेष जन र “अरू भेड़ा[ले]” सेवा चढाउँछन्।—यूहन्ना १०:१६; हिब्रू ९:२४-२८.
२१. प्रेरितहरूका समयमा भजन ९७:११ र हितोपदेश ४:१८ को पूर्तिबारे यो छलफलले के देखाएको छ?
२१ प्रेरित पत्रुस, चेला याकूब अनि यहूदाले लेखेका पत्रहरूमा पाइने ज्योतिका चमकहरूजस्ता सबै उदाहरणहरू उल्लेख गर्न यहाँ यथेष्ट ठाउँ छैन। तर भजन ९७:११ र हितोपदेश ४:१८ को उल्लेखनीय पूर्ति प्रेरितहरूका समयमा भयो भनी देखाउन माथि उल्लिखित उदाहरणहरू यथेष्ट हुनुपर्ने हो। सत्य नमुना र छाँयाहरूबाट विकास हुँदै पूर्ति र वास्तविकता हुन थाल्यो।—गलाती ३:२३-२५; ४:२१-२६.
२२. प्रेरितहरूको मृत्युपश्चात् के भयो र यसपछिको लेखले के देखाउनेछ?
२२ येशूका प्रेरितहरूको मृत्यु र भविष्यवाणी गरिएको धर्मत्यागको सुरुआतपछि सत्यको ज्योति साह्रै मधुरो हुन थाल्यो। (२ थिस्सलोनिकी २:१-११) तथापि, येशूको प्रतिज्ञाअनुरूप धेरै शताब्दीपछि मालिक फर्कनुभयो र “विश्वासी र बुद्धिमान दास[ले]” ठीक ठीक समयमा आफ्नो “परिवार[लाई]” खाना दिइरहेको भेटाउनुभयो। परिणामस्वरूप, येशू ख्रीष्टले त्यस दासलाई “आफ्नो सारा सम्पत्तिमाथि नियुक्त” गर्नुभयो। (मत्ती २४:४५-४७) त्यसपछि ज्योतिका कस्ता चमकहरू चम्किए? यसपछिको लेखमा त्यो छलफल गरिनेछ।
[फुटनोट]
a यहाँ उल्लिखित जमीनले वातावरणलाई संकेत गर्छ जहाँ एक मसीहीले व्यक्तित्वसम्बन्धी गुनहरू खेती गर्छ।—द वाचटावर, जून १५, १९८०, पृष्ठ १८-१९ हेर्नुहोस्।
-
-
ज्योतिका चमकहरू—ठूला र साना भाग एकप्रहरीधरहरा—१९९५ | मे १५
-
-
ज्योतिका चमकहरू—ठूला र साना भाग एक
“धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन् झन् चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.
१. सत्य किन क्रमानुसार प्रकट गरिएको छ?
हितोपदेश ४:१८ अनुरूप ज्योतिका चमकहरूद्वारा आध्यात्मिक सत्यहरू क्रमानुसार प्रकट हुनु ईश्वरीय बुद्धिको प्रमाण हो। यो पद प्रेरितहरूका समयमा कसरी पूरा भयो भनी हामीले यसअघिको लेखमा देख्यौं। एकै चोटि सम्पूर्ण आध्यात्मिक सत्य प्रकट भएको भए अँध्यारो गुफाबाट चहकिलो घाममा निस्कँदाजस्तै आँखा तिरमिराउने र गोलमाल हुनेथियो। यसबाहेक, क्रमानुसार प्रकटित सत्यले मसीहीहरूको विश्वासलाई अनवरत रूपले सुदृढ बनाउँछ। यसले तिनीहरूको आशा अझ उज्यालो र तिनीहरू हिंड्नुपर्ने बाटो झनै स्पष्ट बनाउँछ।
“विश्वासी र बुद्धिमान दास”
२. आफ्ना अनुयायीहरूलाई आध्यात्मिक ज्योति दिन कसलाई प्रयोग गर्नेछु भनी येशूले संकेत गर्नुभयो र त्यस माध्यममा को समावेश छन्?
२ प्रेरितहरूका समयमा येशूले आफ्ना अनुयायीहरूलाई अलौकिक माध्यमद्वारा ज्योतिका प्रारम्भिक चमकहरू प्रदान गर्न रोज्नुभयो। हामीसित यसका दुइवटा उदाहरणहरू छन्: ती हुन्, सा.यु. ३३ पेन्तिकोस र कर्नीलियसको धर्मपरिवर्तन भएको साल सा.यु. ३६। त्यसपश्चात् आफूले भविष्यवाणी गर्नुभएअनुसार ख्रीष्टले मानव माध्यमहरू प्रयोग गर्न उपयुक्त ठान्नुभएको छ: “विश्वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ।” (मत्ती २४:४५-४७) यो दास केवल एक व्यक्तिविशेष हुन सक्दैन किनभने पेन्तिकोसको समयदेखि मालिक, येशू ख्रीष्टले लेखा लिन आउनु नभएसम्म उसले मसीही मण्डलीलाई आध्यात्मिक आहार प्रदान गर्नुपर्थ्यो। तोकिएको समयमा यस पृथ्वीका सबै अभिषिक्त मसीहीहरूको समूह मिलेर यस विश्वासी र बुद्धिमान दास बनेको छ भनी तथ्यहरूले देखाउँछन्।
३. दासवर्गका प्रथम सदस्यहरूमा को को समावेश थिए?
३ यस विश्वासी र बुद्धिमान दासका प्रथम सदस्यहरूमा को को समावेश थिए? तिनीहरूमध्ये एक प्रेरित पत्रुस थिए। तिनले “मेरा भेड़ाहरूलाई चराऊ” भन्ने येशूको आज्ञा पालन गरे। (यूहन्ना २१:१७) त्यस दासवर्गको प्रारम्भिक सदस्यहरूमध्ये आफ्नो नाउँमा सुसमाचारको पुस्तक लेख्ने मत्ती र प्रेरित पत्रहरू लेख्ने पावल, याकूब तथा यहूदा थिए। प्रकाशको पुस्तक, सुसमाचारको पुस्तक साथै पत्रहरूका लेखक, प्रेरित यूहन्ना पनि विश्वासी र बुद्धिमान दासको प्रारम्भिक सदस्य थिए। यिनीहरूले येशूको आज्ञाअनुरूप बाइबलका पुस्तकहरू लेखे।
४. “परिवार” को हो?
४ पृथ्वीमा जहाँसुकै भए तापनि सामूहिक तवरमा सबै अभिषिक्त जनहरू दासवर्गका सदस्यहरू हुन् भने “परिवार” को हो त? तिनीहरू व्यक्तिविशेषको आधारमा अभिषिक्त जनहरू नै हुन्। हो, व्यक्तिविशेषको हैसियतमा खाना दिइरहेको वा लिइरहेको आधारमा तिनीहरू “दास” वा “परिवार” हुनेछन्। एउटा उदाहरण हेरौं: २ पत्रुस ३:१५, १६ मा लिपिबद्ध गरिएअनुसार प्रेरित पत्रुसले पावलका पत्रहरूबारे उल्लेख गरेका छन्। ती पत्रहरू पढ्दा दासवर्गको प्रतिनिधित्व गर्ने पावलले प्रदान गरेको आध्यात्मिक भोजन खाइरहेको परिवारमध्ये एक पत्रुस हुन्थे।
५. (क) प्रेरितहरूपश्चात् शताब्दीयौंसम्म दासलाई के भयो? (ख) सन् १९ औं शताब्दीको पछिल्ला दशकहरूतिर के कस्ता विकासहरू हुनथाले?
५ यस सन्दर्भमा गड्स किंगडम अफ अ थाउजन्ड यर्स ह्याज अप्रोच्ड (परमेश्वरको हजार वर्षीय राज्य नजीकै आएको छ) पुस्तकले यसो भन्यो: “मालिक, येशू ख्रीष्टका प्रेरितहरूको मृत्युपश्चात् शताब्दीयौंसम्म ‘विश्वासी र बुद्धिमान दासको’ अस्तित्व कसरी कायम रह्यो र तिनीहरूले कसरी सेवा गरे भन्ने विषयमा हामीसित स्पष्ट ऐतिहासिक अभिलेख छैन। सम्भवतः ‘दास’ वर्गको एक पुस्ताले त्यसपछिका पुस्ताहरूलाई आध्यात्मिक भोजन प्रदान गरे होलान्। (२ तिमोथी २:२) तर उन्नाइसौं शताब्दीका पछिल्ला दशकहरूमा पवित्र बाइबलको आध्यात्मिक भोजन मन पराउने र त्यस्तो आहार खान चाहने ईश्वरभीरु मानिसहरू थिए। . . . बाइबल अध्ययन कक्षाहरू . . . गठन गरिए र पवित्र शास्त्रका आधारभूत सत्यहरू प्रगतिशील ढंगमा बुझ्न थालियो। यी बाइबल स्टुडेन्टस्मध्ये इमान्दार निःस्वार्थ जनहरू आफूसित भएको आध्यात्मिक आहारका यी अपरिहार्य अंशहरू अरूलाई बाँड्न उत्सुक थिए। आफ्नो ‘परिवारलाई’ ‘ठीक ठीक समयमा’ आवश्यक आध्यात्मिक भोजन दिन ‘दासको’ विश्वासी मनोभाव तिनीहरूमा थियो। तिनीहरू यस अर्थमा ‘बुद्धिमान’ थिए किनभने तिनीहरूले भोजन दिने सही र उचित समयको साथसाथै सर्वोत्तम माध्यम चिने। तिनीहरूले त्यो आहार प्रदान गर्न प्रयास गरे।”—पृष्ठ ३४४-५.a
आधुनिक समयमा ज्योतिका प्रारम्भिक चमकहरू
६. क्रमानुसार सत्य प्रकट हुने सम्बन्धमा कुन तथ्यहरू स्पष्ट देखिन्छन्?
६ आध्यात्मिक ज्योति क्रमानुसार बढाउन यहोवाले चलाउनुभएका मानिसहरूमा प्रष्टै देखिने एउटा तथ्य के हो भने, तिनीहरूले जे जति गरे त्यसको कुनै श्रेय लिएनन्। तिनीहरूका सामान्य योग्यताहरू प्रयोग गर्न प्रभु रमाउनुहुन्छ भन्ने मनोवृत्ति वाच टावर सोसाइटीका प्रथम अध्यक्ष, सी. टी. रसलको थियो। तिनका शत्रुहरूले चलाउने उपनामहरूबारे भाइ रसलले कोही “रसलवाद” आफूले कहिल्यै नभेटेको र “रसलवादी” भन्ने कुरा अस्तित्वमै नभएको भनी स्पष्ट पारे। तिनले सम्पूर्ण श्रेय परमेश्वरलाई दिए।
७. आफू साँच्चै विश्वासी र बुद्धिमान दाससित सम्बन्धित छन् भनेर भाइ रसल र उनका सहकर्मीहरूले कस्तो प्रमाण दिए?
७ परिणामहरूलाई हेर्ने हो भने, भाइ रसल र तिनका सहकर्मीहरूका प्रयासहरूलाई यहोवाको पवित्र आत्माले डोऱ्याइरहेको थियो भन्नुमा कुनै शंका छैन। तिनीहरूले आफू विश्वासी र बुद्धिमान दाससित सम्बन्धित भएको प्रमाण दिए। तत्कालीन धेरै पादरीहरूले बाइबल, परमेश्वरको वचन हो र येशू, परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गरेको दाबी गरे तापनि तिनीहरूले त्रिएक, मानव आत्माको अमरता, अनन्त शासनाजस्ता झूटा, बेबिलोनी शिक्षाहरूमा खुल्लमखुल्ला स्वीकृति दिए। येशूको प्रतिज्ञाअनुरूप भाइ रसल र तिनका सहकर्मीहरूको विनम्र प्रयासहरूले गर्दा अपूर्व ढंगमा वर्तमान सत्य चम्कनुको श्रेय साँच्चै पवित्र आत्मालाई जान्छ। (यूहन्ना १६:१३) ती अभिषिक्त बाइबल स्टुडेन्टस्ले आफू साँच्चै विश्वासी र बुद्धिमान दासवर्गको भाग भएको प्रमाण दिए। मालिकको परिवारलाई आध्यात्मिक आहार प्रबन्ध गर्नु तिनीहरूको दायित्व थियो। अभिषिक्त जनहरू जम्मा गर्ने काममा तिनीहरूका प्रयासहरू ठूलो सहायक थियो।
८. यहोवा, बाइबल, येशू ख्रीष्ट र पवित्र आत्मासम्बन्धी कुन आधारभूत तथ्यहरू बाइबल स्टुडेन्टस्ले स्पष्टसित बुझे?
८ प्रारम्भिक बाइबल स्टुडेन्टस्लाई ज्योतिका चमकहरू दिनुभएर पवित्र आत्माद्वारा यहोवाले यति धेरै अनुग्रह प्रदान गर्नु उल्लेखनीय कुरा हो। सर्वप्रथम, सृष्टिकर्ताको अस्तित्व छ र उहाँको अनुपम नाउँ यहोवा हो भनी तिनीहरूले आफ्नो अडान कायम गरे। (भजन ८३:१८; रोमी १:२०) यहोवाका चार आधारभूत गुनहरू—शक्ति, न्याय, बुद्धि र प्रेम हुन् भनेर तिनीहरूले बुझे। (उत्पत्ति १७:१; व्यवस्था ३२:४; रोमी ११:३३; १ यूहन्ना ४:८) बाइबल, परमेश्वरको प्रेरित वचन र सत्य हो भनी ती अभिषिक्त मसीहीहरूले स्पष्टसित बुझे। (यूहन्ना १७:१७; २ तिमोथी ३:१६, १७) यसबाहेक, परमेश्वरको पुत्र, येशू ख्रीष्ट सृजनु भएको थियो र सारा मानवजातिको निम्ति उहाँले आफ्नो जीवन बलिदान चढाउनुभयो भनेर तिनीहरूले विश्वास गरे। (मत्ती २०:२८; कलस्सी १:१५) पवित्र आत्मा, त्रिएकको कुनै भाग नभई परमेश्वरको सक्रिय शक्ति हो भनी तिनीहरूले बुझे।—प्रेरित २:१७.
९. (क) मानिसको स्वभाव र बाइबलमा प्रदान गरिएका आशासम्बन्धी कस्ता सत्यहरू बाइबल स्टुडेन्टस्ले स्पष्टसित बुझे? (ख) यहोवाका सेवकहरूले अन्य कुन सत्यहरू स्पष्टसित बुझे?
९ मानिसमा अमर आत्मा हुँदैन तर ऊ नश्वर प्राणी हो भनी बाइबल स्टुडेन्टस्ले स्पष्टसित बुझे। “पापको ज्याला मृत्यु हो” अनन्त शासना होइन र अग्निमय नरक छैन भनी तिनीहरूले बुझे। (रोमी ५:१२; ६:२३; उत्पत्ति २:७; इजकिएल १८:४) यसका साथै, विकासवादको सिद्धान्त अशास्त्रीय मात्र होइन तर निराधार पनि छ भनी तिनीहरूले छर्लंग देखे। (उत्पत्ति, अध्याय १ र २) बाइबलले दुइटा आशा अर्थात् ख्रीष्टका १,४४,००० अभिषिक्त अनुयायीहरूका लागि स्वर्गीय आशा र अनगिन्ती “अरू भेड़ा[को]” “ठूलो भीड़[का]” निम्ति प्रमोदवनरूपी पृथ्वीको आशा प्रदान गर्छ भनी तिनीहरूले बुझे। (प्रकाश ७:९; १४:१; यूहन्ना १०:१६) पृथ्वी सधैंभरि रहिरहन्छ र थुप्रै धर्महरूले सिकाएझैं यो डढिनेछैन भनी ती प्रारम्भिक बाइबल स्टुडेन्टस्ले बुझे। (उपदेशक १:४; लूका २३:४३) ख्रीष्टको आगमन अदृश्य हुनेछ र पछि उहाँले राष्ट्रहरूमाथि न्यायदण्ड कार्यान्वयन गर्नुभएर पार्थिव प्रमोदवन ल्याउनुहुनेछ भनेर तिनीहरूले सिके।—प्रेरित १०:४३; रोमी ८:१९-२१; १ पत्रुस ३:१८.
१०. बप्तिस्मा, पादरी र जनसाधारणबीचको भिन्नता तथा ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवबारे बाइबल स्टुडेन्टस्ले कस्तो सत्य सिके?
१० शास्त्रीय बप्तिस्मा शिशुहरूलाई पानी छर्कने नभई सिकाइएका विश्वासीहरूलाई मत्ती २८:१९, २० मा येशूको आज्ञाअनुसार निमज्जन गर्नु हो भनी बाइबल स्टुडेन्टस्ले सिके। पादरी र जनसाधारणबीच भिन्नताको कुनै शास्त्रीय आधार नभएको पनि तिनीहरूले बुझे। (मत्ती २३:८-१०) त्यसको विपरीत, सबै मसीहीहरू सुसमाचारको प्रचारक हुनुपर्छ। (प्रेरित १:८) ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव केवल वर्षको एक चोटि नीसान १४ मा मनाउनुपर्छ भनी बाइबल स्टुडेन्टस्ले बुझे। साथै इस्टर, गैरमसीही उत्सव हो भनी तिनीहरूले बुझे। यसबाहेक, आफ्नो काममा परमेश्वरको पूर्ण समर्थन छ भनी बाइबल स्टुडेन्टस् यति निर्धक्क थिए, तिनीहरूले कहिल्यै वित्तीय संकलन गरेनन्। (मत्ती १०:८) बाइबलका सिद्धान्तअनुरूप मसीहीहरूले जीवन बिताउनुपर्छ र त्यसमा परमेश्वरको पवित्र आत्माको फल खेती गर्नु पनि समावेश छ भनी सुरुदेखि नै तिनीहरूले बुझे।—गलाती ५:२२, २३.
ज्योतिका चमकहरूको वृद्धि
११. मसीहीहरूको दायित्व अनि भेडा र बाख्रासम्बन्धी येशूको उदाहरणमाथि कस्तो ज्योति चम्कियो?
११ विशेषगरि १९१९ देखि यहोवाका सेवकहरूले ज्योतिका थप चमकहरूको आशिष् पाएका छन्। यहोवाका सेवकहरूको प्रमुख दायित्व “राजा तथा उहाँको राज्यको विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस् र विज्ञापन गर्नुहोस्!” भनी वाच टावर सोसाइटीका दोस्रो अध्यक्ष, जे. एफ. रदरफोर्डले १९२२ सिडार प्वाइन्ट अधिवेशनमा जोड दिएर भन्दा ज्योतिको चमक साँच्चै नै चम्कियो! त्यसको ठीक एक वर्षपछि भेडा र बाख्राको उदाहरणमा चम्किलो ज्योति चम्क्यो। पहिले सोचेझैं यो भविष्यवाणी भविष्यमा सहस्र वर्षीय राज्यको दौडान नभई अहिले प्रभुको दिनमा पूरा हुनेछ भनेर बुझियो। त्यस सहस्र वर्षीय राज्यको दौडान ख्रीष्टका भाइहरू नता बिरामी हुनेछन् नता तिनीहरू थुनामा पर्नेछन्। यसबाहेक, सहस्र वर्षीय राज्यको अन्तमा येशू ख्रीष्टले नभई यहोवा परमेश्वरले न्याय गर्नुहुनेछ।—मत्ती २५:३१-४६.
१२. आरमागेडोनको विषयमा कस्तो ज्योति चम्कियो?
१२ बाइबल स्टुडेन्टस्ले कुनै समय सोचेझैं आरमागेडोनको युद्ध कुनै सामाजिक क्रान्ति होइन भनी सन् १९२६ मा ज्योतिको चहकिलो चमकले प्रकट गऱ्यो। बरु, यो यहोवा नै परमेश्वर हुनुहुन्छ भनी सारा मानवजाति विश्वस्त हुने ढंगमा उहाँले आफ्नो शक्ति प्रदर्शन गर्नुहुने युद्ध हुनेछ।—प्रकाश १६:१४-१६; १९:१७-२१.
क्रिस्मस—गैरमसीही बिदा
१३. (क) क्रिस्मस उत्सवबारे कुन कुरा प्रकाश पारियो? (ख) किन जन्मोत्सवहरू मनाउन छाडियो? (पादटिप्पणी समावेश गर्नुहोस्।)
१३ त्यसको केही समयभित्रै ज्योतिको चमकले गर्दा बाइबल स्टुडेन्टस्ले क्रिस्मस मनाउन छाडे। त्यसअघि, संसारभरिका बाइबल स्टुडेन्टस्ले क्रिस्मस मनाउँदै आएका थिए र ब्रुक्लिन मुख्यालयमा यो उत्सव हर्षोल्लासको साथ मनाइन्थ्यो। तर डिसेम्बर २५ को उत्सव वास्तवमा गैरमसीही भएको र गैरमसीहीहरूलाई धर्म परिवर्तन गराउन सजिलो पार्नको लागि धर्मत्यागी मसीहीजगतले छानेको उत्सव हो भनेर बुझियो। यसबाहेक, येशू जाडो महिनामा जन्मनुभएको हुनसक्दैन किनभने उहाँ जन्मिनु हुँदा गोठालाहरूले आफ्नो बगाल चराइरहेका थिए र डिसेम्बर महिनाको अन्ततिर राती यसो गर्नु सम्भव थिएन भनी तिनीहरूले बुझे। (लूका २:२) बरु, अक्टोबर १ तिर येशू जन्मनुभएको हुनुपर्छ भनी शास्त्रले संकेत गर्छ। येशूको जन्मको लगभग दुइ वर्षपछि उहाँलाई भेट्न आउने तथाकथित बुद्धिजीवीहरू गैरमसीही ज्योतिषहरू थिए भनेर पनि बाइबल स्टुडेन्टस्ले बुझे।b
एउटा नयाँ नाउँ
१४. बाइबल स्टुडेन्टस् भन्ने नाउँ यहोवाका जनहरूलाई किन उपयुक्त ठहरिएन?
१४ सन् १९३१ मा प्राप्त सत्यको चम्किलो ज्योतिले बाइबल स्टुडेन्टस्लाई उपयुक्त शास्त्रीय नाउँ प्रकट गऱ्यो। रसलवादी, सहस्र वर्षीय शासनका प्रजाहरू, र “नरकको अस्तित्वलाई इन्कार गर्नेहरू” भनी अरूले दिएका कुनै पनि उपनामहरू तिनीहरूले स्वीकार्न सक्दैनन् भनी यहोवाका जनहरूले बुझिसकेका थिए।c तर तिनीहरू आफैले अपनाएको नाउँ अर्थात् इन्टरनेशनल बाइबल स्टुडेन्टस्ले पनि तिनीहरूको पूर्ण प्रतिनिधित्व नगरेको तिनीहरूले बुझ्न थाले। तिनीहरू बाइबल विद्यार्थीहरू मात्रै थिएनन्। यसबाहेक, त्यतिबेला त्यस्ता बाइबलका विद्यार्थीहरू थुप्रै थिए जसको केही पनि कुरा बाइबल स्टुडेन्टस्सित मिल्दैनथियो।
१५. सन् १९३१ मा बाइबल स्टुडेन्टस्ले कुन नाउँ अपनाए र त्यो किन उपयुक्त छ?
१५ बाइबल स्टुडेन्टस्ले यो नयाँ नाउँ कसरी पाए? वर्षौंदेखि द वाच टावर-ले यहोवाको नाउँलाई महत्त्वपूर्ण स्थान दिइँदै आएको थियो। तसर्थ, यशैया ४३:१० मा पाइने नाउँ बाइबल स्टुडेन्टस्ले स्वीकार्नु सबैभन्दा उपयुक्त थियो: “परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। तिमीहरूले मलाई जान्न र विश्वास गर्न सक, र म उही हुँ भनी बुझ्न सक। मेरो अघि कोही परमेश्वर थिएन, नता मेरो पछि कोही हुनेछ।’”
उच्च पार्नु र “ठूलो भीड़”
१६. पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू प्यालेस्टाइन फर्केका शारीरिक यहूदीहरूमाथि किन लागू हुन सक्दैन तर त्यो कसमाथि लागू हुन्छ?
१६ अविश्वास र राजनैतिक उत्प्रेरणा लिएर प्यालेस्टाइन फर्किरहेका शारीरिक यहूदीहरूमा यशैया, यर्मिया, इजकिएल र अन्य अगमवक्ताहरूले लिपिबद्ध गरेका पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू लागू (पहिले सोचेझैं) हुँदैन भनेर सन् १९३२ मा वाच टावर सोसाइटीद्वारा प्रकाशित भिन्डिकेशन-को (उच्च पार्नु) दोस्रो संस्करणमा ज्योतिको चमक प्रकट गरियो। बरु, सा.यु.पू. ५३७ मा बेबिलोनी दासत्वबाट फर्किरहेका यहूदीहरूमाथि यी पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको सानो पूर्ति भयो। तर सन् १९१९ देखि सुरु भएको आत्मिक इस्राएलको छुटकारा र पुनर्स्थापनाका साथै आज यहोवाका साँचो जनहरूले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनको संवृद्धिमा त्यसको महान् पूर्ति हुन्छ।
१७, १८. (क) समय बित्दै जाँदा ज्योतिको चमकद्वारा यहोवाको प्रमुख उद्देश्य कुन थियो भनेर प्रकट भयो? (ख) सन् १९३५ मा प्रकाश ७:९-१७ को सन्दर्भमा कुन ज्योति प्रकट भयो?
१७ यहोवाको प्रमुख उद्देश्य मानिसहरूको मुक्ति होइन तर आफ्नो सार्वभौमिकता उच्च पार्नु हो भनेर समय बित्दै जाँदा ज्योतिका चमकहरूले प्रकट गऱ्यो। बाइबलको सबैभन्दा महत्त्वपूर्ण विषय छुटकाराको बलिदान होइन तर राज्य हो भनेर बुझियो किनभने त्यसले यहोवाको सार्वभौमिकतालाई उच्च पार्नेछ। ज्योतिको कस्तो चमक थियो त्यो! समर्पित मसीहीहरूको एक मात्र चासो स्वर्गमा जानु थिएन।
१८ प्रकाश ७:९-१७ मा उल्लिखित ठूलो भीड स्वर्गमा जाने दोस्रो समूह होइन भनी सन् १९३५ मा चम्किलो ज्योतिको चमकले प्रकट गऱ्यो। ती पदहरूमा उल्लिखित केही अभिषिक्त जनहरू पूर्ण रूपमा विश्वासी नभएकोले येशू ख्रीष्टसित राजा र पूजाहारी भई सिंहासनमा बस्नुको साटो सिंहासनको सामु उभिरहेका छन् भन्ने सोचाइ राखिन्थ्यो। तर आंशिक विश्वासीलोपन भन्ने कुरा वास्तवमा हुँदैन। कुनै पनि व्यक्ति या त विश्वासी हुन्छ नभए अविश्वासी। अतः सारा राष्ट्रहरूबाट जम्मा गरिएको पार्थिव आशा हुने अनगिन्ती ठूलो भीडलाई यो भविष्यवाणीले संकेत गर्छ भनेर प्रष्टियो। तिनीहरू मत्ती २५:३१-४६ को “भेड़ा” र यूहन्ना १०:१६ को “अरू भेड़ा” हुन्।
क्रस—मसीही चिन्ह होइन
१९, २०. क्रस किन साँचो मसीही धर्मको प्रतीक हुन सक्दैन?
१९ धेरै वर्षसम्म बाइबल स्टुडेन्टस्ले क्रसलाई मसीही धर्मको एउटा प्रतीकको रूपमा महत्त्व दिएका थिए। तिनीहरूले “क्रस र राजमुकुट” भएको पिनसमेत लगाउँथे। किंग जेम्स् भर्सन-अनुसार येशूले आफ्ना अनुयायीहरूलाई तिनीहरूका “क्रस” उठाउन आदेश दिनुभयो। त्यसैकारण उहाँ क्रसमा मारिनुभयो भनी धेरैले विश्वास गर्न थाले। (मत्ती १६:२४; २७:३२) दशकौंसम्म यो प्रतीक वाच टावर पत्रिकाको आवरण पृष्ठमा पनि प्रकाशित भयो।
२० येशू क्रसमा होइन तर ठाडो खामा वा काठमा मारिनुभएको थियो भनेर सोसाइटीले सन् १९३६ मा प्रकाशित गरेको रिचेज (धन) पुस्तकले स्पष्ट पाऱ्यो। एक आधिकारिक सूत्रअनुसार किंग जेम्स् भर्सन-मा “क्रस” भनेर अनुवाद गरिएको युनानी शब्दले (स्टाउरोस्) “मुख्यतः ठाडो खम्बा वा काठलाई संकेत गर्छ। [यो] पादरीहरूले प्रयोग गर्ने दुइटा खामा भएको क्रस होइन। . . . पादरीहरूले चलाउने क्रसको सुरुआत पुरातन कल्दीबाट भएको थियो र त्यसलाई तम्मूज देवको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो।” येशूलाई लट्काइएको वस्तुलाई उपासना गर्नुको साटो त्यसलाई साह्रै अप्रिय दृष्टिकोणले हेर्नुपर्ने हो।
२१. यसपछिको लेखमा कुन कुरा छलफल गरिनेछ?
२१ ज्योतिका ठूला र साना मान्न सकिने थप चमकहरू प्रकट भएका अन्य उदाहरणहरू पनि छन्। यिनीहरूको छलफलको लागि कृपया यसपछिको लेख हेर्नुहोस्।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी अफ न्यु योर्क, इंकद्वारा प्रकाशित
b सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको जन्मोत्सव त मनाउनु हुँदैन भने हामीले कसैको पनि जन्मोत्सव मनाउनु हुँदैन भनेर समयमा बुझियो। यसबाहेक, नता इस्राएली न प्रारम्भिक मसीहीहरूले जन्मोत्सव मनाए। बाइबलमा दुइ जनाको जन्मोत्सव मात्र उल्लेख गरिएको छ। त्यो हो, फिरऊन र हेरोद एन्टिपासको। दुवै उत्सवमा मृत्युदण्ड दिइएको थियो। यहोवाका साक्षीहरू जन्मोत्सवहरू मनाउँदैनन् किनभने यी उत्सवहरूको सुरुआत गैरमसीही हुनुको साथै त्यसले जन्मोत्सव मनाउने व्यक्तिलाई अरूभन्दा उच्च पार्न खोज्छ।—उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१-२८.
c यो गल्ती मसीहीजगतका थुप्रै गुटहरूले गरे। मार्टिन लुथरका शत्रुहरूले तिनका अनुयायीहरूलाई दिएको नाउँ लुथरवादी थियो र त्यो नाउँ तिनीहरूले पछि स्वीकारे। त्यस्तैगरि, निमज्जनद्वारा बप्तिस्माको प्रचार गरेकोले गैरबाप्टिस्टहरूले बाप्टिस्टहरूलाई दिएको उपनाम तिनीहरूले स्वीकारे। झन्डै त्यस्तै प्रकारले गैरमेथोडिस्टले दिएको नाउँ मेथोडिस्टहरूले स्वीकारे। सोसाइटी अफ फ्रेन्डस् कसरी क्वेकर्स हुन पुगे भन्ने सम्बन्धमा द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “अंग्रेजी शब्द क्वेकर सुरुमा फक्सको [संस्थापक] अपमान गर्न प्रयोग गरिएको थियो। तिनले एक बेलाइती न्यायाधीशलाई ‘प्रभुको वचनसित थर थर काँप’ भनेका थिए। न्यायाधीशले फक्सलाई ‘क्वेकर’ भनी नामाकरण गरे।”
-