के तपाईंले क्षमा माग्नु साँच्चै खाँचो छ?
‘म कहिल्यै क्षमा माग्दिनँ,’ जर्ज बर्नाड शले लेखे। अरूले भन्लान्, ‘पोखिएको दूधमा रोएर के फाइदा।’
नाक काटिएला भन्ने डरले हामी आफ्नो भूल स्वीकार्न हिचकिचाऔंला। दोष त अर्को व्यक्तिको पो हो भनेर तर्क गरौंला। अथवा माफी माग्ने विचार त गरौंला तर कामकुरा सामसुम होऊञ्जेल पर्खने सुरसार कसौंला।
त्यसोभए के क्षमा माग्नु अत्यावश्यक छ त? के त्यसो गरेर कुनै काम बनिन्छ?
प्रेमले हामीलाई क्षमा माग्न बाध्य बनाउँछ
भ्रातृ प्रेम, येशू ख्रीष्टका साँचो अनुयायीहरूको चिनारी हो। उहाँले यसो भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) धर्मशास्त्रले मसीहीहरूलाई “एउटाले अर्कोलाई हृदयले प्रगाढ़ प्रेम” गर्न आग्रह गर्छ। (१ पत्रुस १:२२) प्रगाढ प्रेमले हामीलाई क्षमा माग्न बाध्य बनाउँछ। किन? किनभने मानव असिद्धताले गर्दा भावनाहरूमा आघात पुग्नु स्वाभाविकै हो र ती सुल्झाइएनन् भने प्रेम हुनै सक्दैन।
उदाहरणका लागि, मसीही मण्डलीमा कसैसित व्यक्तिगत भिन्नताले गर्दा हामी तिनीसित कुरै गर्न नचाहन सक्छौं। हामीले कसैको मन दुखाएका छौं भने मायालु सम्बन्ध कसरी पुनर्स्थापित गर्न सकिन्छ? प्रायजसो माफी मागेपछि न्यानो ढंगमा कुराकानी गर्न प्रयास गरेर। हामीले सँगी विश्वासीहरूलाई तिर्नुपर्ने ऋण प्रेम हो र मन दुखाएकोमा क्षमाप्रार्थी छौं भनेपछि त्यो ऋण केही मात्रामा चुक्ता गर्छौं।—रोमी १३:८.
उदाहरणका लागि: मारी कार्मेन र पाकी नाउँका दुइ मसीहीहरूबीच वर्षौं पुरानो मित्रता थियो। तथापि, मारी कार्मेनले हानिकारक निन्दोचर्चो पत्याएकीले पाकीसित तिनको मित्रता सेलायो। तिनले कुनै स्पष्टीकरणै नदिई पाकीलाई चटक्कै छोडिन्। झन्डै एक वर्षपछि त्यो निन्दोचर्चो गलत रहेछ भनी मारी कार्मेनले थाह पाइन्। तिनको प्रतिक्रिया कस्तो भयो? प्रेमले तिनलाई पाकीकहाँ गएर त्यस्तो नराम्रो व्यवहार गरेकोमा नम्रतापूर्वक गहिरो खेद प्रकट गर्न प्रेरित गऱ्यो। दुवैले भलभलती आँसु बगाए र त्यसउप्रान्त तिनीहरूको मित्रता झनै मजबुत भएको छ।
हामीले कुनै गल्ती गरेको जस्तो महसुस नभए तापनि क्षमा मागेपछि गलतफहमी सुल्झिनसक्छ। मान्वेल यसरी सम्झिन्छन्: “वर्षौंअघि हाम्री आध्यात्मिक बहिनी अस्पतालमा भर्ना हुनुहुँदा म र मेरी पत्नी उहाँको घरमा बसेका थियौं। उहाँ बिरामी हुनुहुँदा उहाँ र उहाँका बालबच्चाहरूलाई मदत गर्न हामीले यथाशक्य गऱ्यौं। तर हामीले घरखर्च राम्ररी नचलाएको गुनासो उहाँले घर फर्कनुभएपछि आफ्नो साथीसित गर्नुभयो।
“त्यसपछि हामी उहाँलाई भेट्न गयौं र हामी जवान भएकोले तथा अनुभवको कमीले गर्दा उहाँले जति राम्ररी कामकाज सँभाल्न सकेनौं होला भनी बतायौं। तर उहाँले तुरुन्तै भनिहाल्नुभयो, उहाँ पो हामीप्रति ऋणी हुनुहुन्छ र हामीले जेजति गऱ्यौं त्यसको लागि साँच्चै कृतज्ञ हुनुहुन्छ। समस्या सुल्झिहाल्यो। त्यस अनुभवले मलाई गलतफहमीहरू हुँदा नम्रतापूर्वक माफी माग्नुपर्ने महत्त्व सिकायो।”
प्रेम देखाएको र ‘शान्त हुने र आपसमा सुधार्ने कुराको पछि लागेकोमा’ यहोवाले उक्त दम्पतीलाई आशिष् दिनुभयो। (रोमी १४:१९) प्रेममा अरूका भाव- नाहरूप्रति सजग हुनु पनि समावेश छ। पत्रुस हामीलाई “सँगीभाव” देखाउन सल्लाह दिन्छन्। (१ पत्रुस ३:८, NW) हामीसित सँगीभाव छ भने हाम्रो अविवेकी शब्द वा कार्यले मनमा चोट पुऱ्यायो होला भन्ने महसुस गर्नेछौं र क्षमा माग्न तम्सिनेछौं।
“नम्रताको व्यवहार गर”
विश्वासी मसीही प्राचीनहरूबीच समेत कहिलेकाहीं चर्को भनाभन हुनसक्छ। (प्रेरित १५:३७-३९ तुलना गर्नुहोस्।) यस्तो घडीमा क्षमा माग्नु लाभकारी हुनेछ। तर क्षमा माग्न गाह्रो महसुस गर्ने कुनै प्राचीन वा मसीहीलाई कुन कुराले मदत गर्नेछ?
यसको कुञ्जी नम्रता हो। प्रेरित पत्रुसले यस्तो सल्लाह दिए: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर।” (१ पत्रुस ५:५) हो, प्रायजसो विवादहरूमा दुवै पक्ष उत्तिकै दोषी भए तापनि नम्र मसीही आफ्ना त्रुटिहरूलाई सम्झेर ती स्वीकार्न इच्छुक हुनेछन्।—हितोपदेश ६:१-५.
जससित क्षमा मागिन्छ तिनले पनि नम्र ढंगमा स्वीकार्नुपर्छ। उदाहरणसहित भन्ने हो भने, मानौं, दुइ जना मानिस दुइटा बेग्लाबेग्लै डाँडाको टुप्पामा उभिरहेका छन् र तिनीहरूलाई एकअर्कासित कुराकानी गर्नुपऱ्यो। एकअर्काबीचको दूरीले गर्दा डाँडाको टुप्पामै बसेर कुरा गर्नु त असम्भवै हुन्छ। तथापि, एक जना बेंसीमा ओर्लेपछि अर्कोले पनि तिनको उदाहरण पछ्याएर तल ओर्ल्यो भने सजिलै कुराकानी गर्न सकिन्छ। त्यसरी नै, दुइ मसीहीहरूबीच मतभेद सुल्झाउनु पऱ्यो भने, दुवै बेंसीमा ओर्लेर नम्र ढंगमा एकअर्कालाई भेटेर सुहाउँदो क्षमायाचना गरोस्।—१ पत्रुस ५:६.
विवाहमा क्षमायाचनाले ठूलो अर्थ राख्छ
दुइ असिद्ध मानिसहरूबीचको विवाहमा धेरै चोटि क्षमायाचना गर्नुपर्ने हुन्छ। अनि पति र पत्नी दुवैसित सँगीभाव छ भने यसले अविवेकी बोली तथा कार्य हुँदा क्षमा माग्न प्रेरित गरिहाल्छ। हितोपदेश १२:१८ ले यसरी औंल्याउँछ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” ‘व्यर्थको गफले’ पुऱ्याएको आघातलाई फिर्ता लिन नसकिएला तर निष्कपट भई क्षमा मागेर त्यसलाई निको पार्न भने सकिन्छ। निस्सन्देह, यसो गर्न निरन्तर सजग हुनुका साथै प्रयासको खाँचो पर्छ।
आफ्नो विवाहबारे सुजनa यसो भन्छिन्, “ज्याक* र मेरो विवाह भएको २४ वर्ष भइसक्यो तर हामीले अझै एकअर्काबारे नयाँ कुराहरू सिक्दैछौं। दुःखको कुरा, केही समयअघि हामी छुट्टियौं र केही हप्ताको लागि अलग्गै बस्यौं। तथापि, हामीले प्राचीनहरूबाट प्राप्त धर्मशास्त्रीय सल्लाह स्वीकाऱ्यौं र हाम्रो पुनर्मिलन भयो। अहिले भने बुझेका छौं, हामी दुवैको व्यक्तित्व असाध्यै भिन्न भएकोले भतभेद त भइरहनेछन्। हामी यसो हुने बित्तिकै क्षमा मागिहाल्छौं र एकअर्काको दृष्टिकोण बुझ्ने निकै कोसिस गर्छौं। आज म खुशीसाथ भन्नसक्छु, हाम्रो वैवाहिक सम्बन्ध निकै सुध्रिएको छ।” ज्याक यसरी कुरा थप्छन्: “हामीले आफू चिढिनसक्ने ती क्षणहरूको ख्याल राख्न पनि सिकेका छौं। त्यतिखेर हामी एकअर्कासित व्यवहार गर्दा झन् बढी होशियार हुन्छौं।”—हितोपदेश १६:२३.
तपाईंको गल्ती नै होइन जस्तो लाग्छ भने के क्षमा माग्नुपर्छ? गहिरा भावनाहरू मुछिएका छन् भने दोष पत्ता लगाउन गाह्रो हुन्छ। तर महत्त्वपूर्ण कुरा, वैवाहिक सम्बन्धलाई शान्तिमय बनाउनु हो। इस्राएली स्त्री, अबिगेललाई विचार गर्नुहोस्। तिनको पतिले दाऊदसित दुर्व्यवहार गरे। आफ्नो पतिको मूर्खताको लागि तिनी दोषी नभए तापनि तिनले क्षमा मागिन्। तिनले यसरी बिन्ती गरिन्: “हे मेरा प्रभो, दोष मैमाथिनै परोस्, . . . हजूरकी . . . दासी।” फलस्वरूप दाऊदले तिनीप्रति विचारशील ढंगमा व्यवहार गरे। तिनको खातिर नहुँदो हो त कति निर्दोष रगत बगाइसकेका हुन्थे भनी दाऊदले स्वीकारे।—१ शमूएल २५:२४-२८, ३२-३५.
त्यसै प्रकारको अर्को उदाहरणलाई विचार गर्नुहोस्, जून नाउँकी मसीही बहिनीले विवाह गरेको ४५ वर्ष भइसक्यो। उनको विचारमा विवाहलाई सफल बनाउने हो भने क्षमा माग्न आफू अग्रसर हुन इच्छुक हुनैपर्छ। उनी यसो भन्छिन्: “मेरा व्यक्तिगत भावनाहरूभन्दा हाम्रो विवाह बढी महत्त्वपूर्ण छ भनेर आफूलाई सम्झाइरहन्छु। अतः क्षमा मागेर मैले वैवाहिक जीवनमा केही न केही योगदान पुऱ्याइरहेकी महसुस गर्छु।” जिम नाउँका एक वृद्धले यसो भने: “म स-साना कुराको लागि समेत आफ्नी श्रीमतीसित क्षमा माग्छु। तिनको निकै ठूलो शल्यक्रिया भएदेखि तिनको चित्त दुख्न कुनै ठूलो कुरा हुनै पर्दैन। अतः म सधैंजसो तिनलाई अँगालो हालेर यसो भन्छु, ‘प्रियतमा, मलाई क्षमा गर। मैले जानाजानी रीस उठाएको होइन।’ प्रशस्त पानी पाएको बिरुवाजस्तै तिनी दंग परिहाल्छिन्।”
आफ्नो सबैभन्दा प्रिय व्यक्तिको चित्त दुखाएका छौं भने तुरुन्तै क्षमा माग्नु असाध्यै प्रभावकारी हुन्छ। मेलाग्रोस हार्दिक सहमति जनाउँदै यसो भन्छिन्: “ममा आत्मविश्वासको कमी छ र मेरो पतिको कडा शब्दले म खिन्न हुन्छु। तर तिनले क्षमा मागेपछि तुरुन्तै ठीक भइहाल्छु।” धर्मशास्त्रले हामीलाई यसो भन्नु सोह्रै आना सही छ: “दयालु वचन तपतप चुहुने महजस्तै हो, जिब्रोलाई मीठो बनाउने र शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।”—हितोपदेश १६:२४.
क्षमा माग्ने कलाको अभ्यास गर्नुहोस्
हामीले खाँचो हुँदा क्षमा माग्ने बानी बसाल्यौं भने सम्भवतः मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाउनेछन्। अनि तिनीहरूले पनि क्षमा माग्लान्। हामीले कसैको चित्त दुखाएको शंका लागेमा गल्ती नस्वीकार्न अनेकन् बहानाहरू बनाउनुको साटो क्षमा माग्ने बानी नै बनाए कसो होला? संसारको दृष्टिकोणमा क्षमा माग्नु कमजोरीको चिह्न होला तर यसले वास्तवमा मसीही परिपक्वताको प्रमाण दिन्छ। निस्सन्देह, हामी गल्ती स्वीकारेर आफ्नो जिम्मेवारीलाई हल्का ठान्ने मानिसहरूजस्तो त हुन चाहँदैनौं। उदाहरणका लागि, के हामी कहिलेकाहीं देखावटी क्षमा माग्छौं? हामी ढिला पुगेकोले कसैसित अचाक्ली क्षमा मागेपछि के हामी अर्को पटक समयनिष्ठ हुन कटिबद्ध हुन्छौं?
अतः, के हामीले क्षमा माग्नु खाँचो छ? छ। यो हामीले आफू स्वयं र अरूप्रति निर्वाह गर्नुपर्ने दायित्व हो। असिद्धताको कारण हुने पीडालाई क्षमायाचनाले कम गर्नसक्छ र यसले कटु सम्बन्धहरूलाई सुल्झाउनसक्छ। हरेक चोटि क्षमा माग्दा हामी नम्रताको पाठ सिक्छौं र यसले हामीलाई अरूका भावनाहरूप्रति बढी होशियार हुन सिकाउँछ। परिणामस्वरूप, सँगी विश्वासीहरू, पति वा पत्नीलगायत अरूले हामीलाई तिनीहरूको स्नेह र भरोसाको योग्य ठान्नेछन्। हामीसित मनोशान्ति हुनुका साथै यहोवाले आशिष् दिनुहुनेछ।
[फुटनोट]
a तिनीहरूको वास्तविक नाउँ होइन।
[पृष्ठ २३-मा भएको चित्र]
निष्कपट भई क्षमा माग्दा मसीही प्रेम बढ्छ