-
तपाईँलाई बाइबल अध्ययन गरिरहन कुन कुराले मदत गर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
पाठ १२
तपाईँलाई बाइबल अध्ययन गरिरहन कुन कुराले मदत गर्छ?
बाइबल अध्ययन गर्नु भनेको एउटा रमाइलो यात्रा गर्नुजस्तै हो। तर यसो गर्न सधैँ सजिलो नहुन सक्छ। कहिलेकाहीँ तपाईँलाई बाइबल अध्ययन गरिरहन सकूँला कि नसकूँला जस्तो लाग्न सक्छ। बाइबल अध्ययन गरिरहन तपाईँले गरेको प्रयास किन खेर जानेछैन? अवरोधहरूको बाबजुद तपाईँलाई बाइबल अध्ययन गरिरहन केले मदत गर्छ?
१. बाइबल अध्ययन गर्नु किन महत्त्वपूर्ण छ?
“परमेश्वरको वचन जीवित र प्रबल . . . छ।” (हिब्रू ४:१२) बाइबल बहुमूल्य किताब हो किनभने यसले तपाईँप्रति परमेश्वरको सोचाइ र भावना प्रकट गर्छ। यसले हामीलाई ज्ञान हासिल गर्न मदत गर्नुका साथै साँचो बुद्धि र आशा पनि दिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलले तपाईँलाई यहोवाको साथी बन्न मदत गर्छ। बाइबल अध्ययन गर्दा यसले तपाईँको जीवनमा राम्रो प्रभाव पार्न सक्छ।
२. हामीले बाइबल सत्यको महत्त्व बुझ्नु किन जरुरी छ?
बाइबलमा पाइने सत्यहरू बहुमूल्य धनजस्तै हो। त्यसैले बाइबलले हामीलाई ‘सत्य किन्न र त्यसलाई कहिल्यै नबेच्न’ प्रोत्साहन दिन्छ। (हितोपदेश २३:२३) बाइबल सत्यको महत्त्व बुझ्यौँ भने अवरोधहरू आइपर्दा पनि हामी अध्ययन गरिरहन कोसिस गर्नेछौँ।—हितोपदेश २:४, ५ पढ्नुहोस्।
३. यहोवाले तपाईँलाई अध्ययन गरिरहन कसरी मदत गर्न सक्नुहुन्छ?
यहोवा सर्वशक्तिमान् सृष्टिकर्ता र तपाईँको साथी हुनुहुन्छ। त्यसैले यहोवा तपाईँलाई उहाँबारे सिक्न मदत गर्न चाहनुहुन्छ। त्यसो गर्न उहाँले तपाईँमा “इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्ति पनि दिनुहुन्छ।” (फिलिप्पी २:१३ पढ्नुहोस्।) त्यसकारण तपाईँलाई अध्ययन गर्न वा आफूले सिकेको कुरा लागू गर्न कहिलेकाहीँ इच्छा नै नभएको जस्तो लाग्यो भने उहाँ तपाईँलाई मदत गर्न सक्नुहुन्छ। तपाईँलाई अवरोध पार गर्न वा विरोधको सामना गर्न थप बल चाहियो भने उहाँ त्यो बल दिन सक्नुहुन्छ। बाइबल अध्ययन गरिरहन नियमित रूपमा यहोवालाई प्रार्थना गरेर मदत माग्नुहोस्।—१ थिस्सलोनिकी ५:१७.
अझ खोतल्नुहोस्
तपाईँ व्यस्त तालिका वा विरोधको बाबजुद कसरी बाइबल अध्ययन गरिरहन सक्नुहुन्छ, बुझ्नुहोस्। साथै यहोवाले तपाईँलाई बाइबल अध्ययन गरिरहन कसरी मदत गर्नुहुनेछ, विचार गर्नुहोस्।
४. बाइबल अध्ययनलाई प्राथमिकता दिनुहोस्
कहिलेकाहीँ आफू असाध्यै व्यस्त भएकोले हामीलाई बाइबल अध्ययन गर्न समय नै छैन जस्तो लाग्न सक्छ। यस्तो अवस्थामा हामी के गर्न सक्छौँ? फिलिप्पी १:१० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
तपाईँलाई जीवनमा “अझ महत्त्वपूर्ण कुराहरू” के हुन् जस्तो लाग्छ?
तपाईँ बाइबल अध्ययनलाई कसरी प्राथमिकता दिन सक्नुहुन्छ?
क. यदि तपाईँले भाँडोमा पहिला बालुवा भर्नुभयो र त्यसपछि ढुङ्गाहरू राख्नुभयो भने सबै ढुङ्गा अटाउँदैनन्
ख. यदि तपाईँले पहिला ढुङ्गाहरू राख्नुभयो भने धेरैजसो बालुवा अटाउँछ। त्यसरी नै तपाईँले जीवनमा “अझ महत्त्वपूर्ण कुराहरू”-लाई पहिलो स्थानमा राख्नुभयो भने ती पूरा गर्न सक्नुहुनेछ अनि अरू कुरा गर्न पनि समय पाउनुहुनेछ
बाइबल अध्ययन गर्दा हाम्रो आध्यात्मिक आवश्यकता पूरा हुन्छ। मतलब, हामी परमेश्वरलाई चिन्न र उहाँको उपासना गर्न सक्छौँ। मत्ति ५:३ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
बाइबल अध्ययनलाई प्राथमिकता दिँदा हामीलाई कस्तो फाइदा हुन्छ?
५. विरोधको बाबजुद अध्ययन गरिरहनुहोस्
कहिलेकाहीँ अरूले तपाईँलाई बाइबल अध्ययन नगर्नू भन्न सक्छन्। फ्रान्सिस्कोको अनुभव विचार गर्नुहोस्। भिडियो हेर्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यस भिडियोमा देखाइएका फ्रान्सिस्कोले आफूले सिकिरहेको कुराबारे परिवार र साथीभाइलाई बताउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
तिनले अध्ययन गरिरहँदा कस्तो आशिष् पाए?
दोस्रो तिमोथि २:२४, २५ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
तपाईँले सिकिरहनुभएको कुरा तपाईँको परिवार र साथीभाइलाई कस्तो लाग्छ?
यी पदहरूअनुसार तपाईँले बाइबल अध्ययन गरिरहनुभएकोमा कोही खुसी छैन भने तपाईँले के गर्नुपर्छ? किन?
६. मदतको लागि यहोवामा भर पर्नुहोस्
यहोवासित नजिक हुँदै जाँदा उहाँलाई खुसी बनाउने हाम्रो चाहना बढ्दै जान्छ। तैपनि उहाँको स्तरअनुसार चल्न आफ्नो जीवनमा कुनै-कुनै छाँटकाँट गर्न गाह्रो हुन सक्छ। तपाईँलाई पनि त्यस्तो लाग्छ भने हार नमान्नुहोस् किनभने यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। भिडियो हेर्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यस भिडियोमा देखाइएका जिमले यहोवालाई खुसी बनाउन कस्ता परिवर्तनहरू गरे?
तपाईँलाई तिनको अनुभवको कुन कुरा मन पऱ्यो?
हिब्रू ११:६ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवाले “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई” अर्थात् उहाँलाई चिन्न र खुसी बनाउन कोसिस गरिरहनेहरूलाई के दिनुहुन्छ?
के तपाईँले बाइबल अध्ययन गर्न कोसिस गरिरहनुभएको देख्दा यहोवा खुसी हुनुहुन्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?
कसै-कसैले सोध्लान्: “तपाईँ किन यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
बाइबल अध्ययन गर्न सधैँ सजिलो नहुन सक्छ। तर यसले तपाईँलाई सधैँभरि जीवनको आनन्द उठाउन मदत गर्छ। यहोवामा सधैँ भर पर्नुहोस् र उहाँले तपाईँलाई इनाम दिनुहुनेछ।
तपाईँले के सिक्नुभयो?
तपाईँलाई बाइबल सत्यहरू किन महत्त्वपूर्ण लाग्छ?
तपाईँ कसरी “अझ महत्त्वपूर्ण कुराहरू . . . पक्का गर्न” सक्नुहुन्छ?
तपाईँले बाइबल अध्ययन गरिरहन किन यहोवासित मदत माग्नुपर्छ?
अझ धेरै जान्नुहोस्
थुप्रैलाई समयको सदुपयोग गर्न मदत गरेको चार वटा तरिका विचार गर्नुहोस्।
एउटी महिलाले यहोवालाई खुसी बनाउन प्रयास गरेको तिनको पतिलाई पटक्कै मन परेन। तर यहोवाले तिनलाई कसरी मदत गर्नुभयो, हेर्नुहोस्।
पत्नीले बाइबल अध्ययन गरिरहेकीले तिनको पतिले कस्तो लाभ उठाए, हेर्नुहोस्।
यहोवाका साक्षीहरूलाई कहिलेकाहीँ परिवार टुक्राउनेहरू भन्ने आरोप लगाइन्छ। तर के त्यो सत्य हो?
यहोवाका साक्षीहरू परिवार टुक्राउँछन् कि बलियो बनाउँछन्?” (jw.org को लेख)
-
-
हामी कसरी सही निर्णय गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
पाठ ३५
हामी कसरी सही निर्णय गर्न सक्छौँ?
हामी सबैले जीवनमा अनेकन् निर्णय गर्नुपर्छ। यीमध्ये थुप्रै निर्णयले हाम्रो जीवनमा र यहोवासितको मित्रतामा ठूलो असर पार्न सक्छ। जस्तै: कहाँ बस्ने, जीविका चलाउन के गर्ने अनि विवाह गर्ने कि नगर्ने। सही निर्णय गर्दा हाम्रो जीवन सुखी हुन्छ र हामी यहोवालाई खुसी बनाउन सक्छौँ।
१. बाइबलले तपाईँलाई सही निर्णय गर्न कसरी मदत गर्न सक्छ?
कुनै निर्णय गर्नुअघि यहोवाको मदतको लागि प्रार्थना गर्नुहोस् अनि त्यस विषयमा उहाँको दृष्टिकोण बुझ्न बाइबल केलाउनुहोस्। (हितोपदेश २:३-६ पढ्नुहोस्।) कुनै-कुनै अवस्थामा यहोवाले तोकेरै आज्ञा दिनुहुन्छ। त्यसो हो भने त्यो आज्ञा पालन गर्नु नै तपाईँले गर्न सक्ने सबैभन्दा उत्तम निर्णय हो।
तर तपाईँले के गर्नुपर्छ भनेर बाइबलमा तोकेरै आज्ञा दिइएको छैन भने नि? यस्तो अवस्थामा समेत यहोवाले ‘तपाईँ हिँड्नुपर्ने बाटोमा तपाईँलाई डोऱ्याउनुहुनेछ।’ (यसैया ४८:१७) कसरी? बाइबलमा पाइने सिद्धान्तहरूले तपाईँलाई डोऱ्याउन सक्छ। यी सिद्धान्तहरू भनेको परमेश्वरको सोचाइ र भावना प्रकट गर्ने आधारभूत सत्यहरू हुन्। परमेश्वर कुनै विषयबारे कस्तो महसुस गर्नुहुन्छ भनेर प्रायजसो हामी बाइबलको विवरण पढेर थाह पाउँछौँ। त्यस विषयमा यहोवाको दृष्टिकोण बुझेपछि हामी उहाँलाई खुसी बनाउने निर्णय गर्न सक्छौँ।
२. कुनै निर्णय गर्नुअघि तपाईँले कस्ता कुरा विचार गर्नुपर्छ?
बाइबलले भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) यसको मतलब कुनै निर्णय गर्नुअघि हामीले के-कस्ता विकल्प छन् भनेर राम्ररी सोच्नुपर्छ, हतार गर्नु हुँदैन। प्रत्येक विकल्प केलाउँदा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यसमा कुन-कुन बाइबल सिद्धान्त लागू हुन्छ? कुनचाहिँ विकल्प रोज्दा मैले मनोशान्ति पाउनेछु? मेरो निर्णयले अरूमा कस्तो असर पार्न सक्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा, के यसले यहोवालाई खुसी बनाउनेछ?’—व्यवस्था ३२:२९.
हाम्रो लागि असल के हो र खराब के हो भनेर बताउने अधिकार यहोवासित छ। हामीले उहाँका नियम र सिद्धान्तहरू राम्ररी बुझेर त्यसैअनुसार चल्ने अठोट गऱ्यौँ भने आफ्नो अन्तस्करणलाई तालिम दिइरहेका हुन्छौँ। अन्तस्करण भनेको सही र गलत छुट्ट्याउन मदत गर्ने हाम्रो भित्री चेतना हो। (रोमी २:१४, १५) राम्ररी तालिम पाएको अन्तस्करणले हामीलाई सही निर्णय गर्न मदत गर्नेछ।
अझ खोतल्नुहोस्
बाइबलका सिद्धान्तहरू र अन्तस्करणले तपाईँलाई सही निर्णय गर्न कसरी मदत गर्छ, अझ राम्ररी बुझ्नुहोस्।
३. बाइबलको डोऱ्याइअनुसार चल्नुहोस्
निर्णयहरू गर्नुपर्दा बाइबलका सिद्धान्तहरूले हामीलाई कसरी डोऱ्याउन सक्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
छनौट गर्ने स्वतन्त्रता भनेको के हो?
यहोवाले हामीलाई किन छनौट गर्ने स्वतन्त्रता दिनुभयो?
छनौट गर्ने स्वतन्त्रता सबैभन्दा उत्तम तरिकामा प्रयोग गर्न यहोवाले हामीलाई के दिनुभएको छ?
बाइबलको एउटा सिद्धान्त विचार गर्न एफिसी ५:१५, १६ पढ्नुहोस्। त्यसपछि निम्न कुराहरूको लागि तपाईँ कसरी “समयको पूर्ण सदुपयोग” गर्न सक्नुहुन्छ, छलफल गर्नुहोस्:
नियमित रूपमा बाइबल पढ्न।
अझ राम्रो पति वा पत्नी, आमा वा बुबा अनि छोरा वा छोरी बन्न।
मण्डलीका सभाहरूमा उपस्थित हुन।
४. सही निर्णय गर्न आफ्नो अन्तस्करणलाई तालिम दिनुहोस्
बाइबलले तोकेरै आज्ञा दिएको विषयमा सही निर्णय गर्न त्यत्ति गाह्रो नहोला। तर त्यसरी आज्ञा दिइएको छैन भने नि? भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएकी बहिनीले अन्तस्करणलाई तालिम दिन र यहोवालाई खुसी बनाउने निर्णय गर्न कस्ता कदम चालिन्?
हामी आफैले गर्नुपर्ने निर्णयहरू किन अरूलाई गरिदिन आग्रह गर्नु हुँदैन? हिब्रू ५:१४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
अरूले हाम्रो लागि निर्णय गरिदियो भने सजिलो हुन्छ जस्तो लागे तापनि हामीले कुन कुरा छुट्ट्याउन सक्नुपर्छ?
आफ्नो अन्तस्करणलाई तालिम दिन र सही निर्णय गर्न तपाईँ कहाँबाट मदत पाउन सक्नुहुन्छ?
५. अरूको अन्तस्करणको कदर गर्नुहोस्
मानिसहरूको निर्णय फरक-फरक हुन सक्छ। हामी अरूको अन्तस्करणको कदर गरेको कसरी देखाउन सक्छौँ? यी दुइटा परिस्थिति विचार गर्नुहोस्:
परिस्थिति १: मेकअप गर्न मन पराउने एउटी बहिनी अर्को मण्डलीमा सर्छिन्। तर त्यस मण्डलीका थुप्रै बहिनीलाई अरूले मेकअप गरेको देख्दा अप्ठ्यारो लाग्छ।
रोमी १५:१ र १ कोरिन्थी १०:२३, २४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती बहिनीले कस्तो निर्णय गर्लिन्? तपाईँको अन्तस्करणले कुनै कुरा गर्न दिन्छ तर तपाईँसँगै भएको व्यक्तिको अन्तस्करणले दिँदैन भने तपाईँ के गर्नुहुनेछ?
परिस्थिति २: एक जना भाइलाई बाइबलले ठिक्क मात्रामा रक्सी पिउन निषेध गरेको छैन भनेर थाह छ। तैपनि तिनी रक्सी पटक्कै नपिउने निर्णय गर्छन्। तिनलाई एउटा जमघटमा बोलाइन्छ र त्यहाँ तिनले अरू भाइहरूले रक्सी पिइरहेको देख्छन्।
उपदेशक ७:१६ र रोमी १४:१, १० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती भाइले कस्तो निर्णय गर्लान्? तपाईँको अन्तस्करणले गर्न नदिने कुरा अर्को व्यक्तिले गरिरहेको देख्दा तपाईँ के गर्नुहुनेछ?
सही निर्णय गर्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ?
१. के गर्ने भनी निर्णय गर्न यहोवासित मदत माग्नुहोस्।—याकुब १:५.
२. कस्ता सिद्धान्त लागू हुन्छन् भनेर थाह पाउन बाइबल र बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। तपाईँ अनुभवी ख्रिष्टियनहरूसित पनि सल्लाह माग्न सक्नुहुन्छ।
३. तपाईँको निर्णयले आफ्नो र अरूको अन्तस्करणमा पार्ने असरबारे सोच्नुहोस्।
कोही-कोही भन्छन्: “म जे चाहन्छु, त्यही गर्छु। यो मेरो अधिकार हो। अरूले जेसुकै सोचून्, मलाई कुनै मतलब छैन।”
हाम्रो निर्णयले परमेश्वरको र अरू मानिसको भावनामा पार्ने असरबारे हामीले किन सोच्नुपर्छ?
सारांश
कुनै विषयबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्यौँ अनि हाम्रो कामले अरूलाई फाइदा पुऱ्याउँछ कि हानि भनेर विचार गऱ्यौँ भने सही निर्णय गर्न सक्छौँ।
तपाईँले के सिक्नुभयो?
तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णय गर्न सक्नुहुन्छ?
तपाईँ कसरी आफ्नो अन्तस्करणलाई तालिम दिन सक्नुहुन्छ?
तपाईँ कसरी अरूको अन्तस्करणको कदर गरेको देखाउन सक्नुहुन्छ?
अझ धेरै जान्नुहोस्
तपाईँ कसरी परमेश्वरसितको मित्रतालाई बलियो बनाउने निर्णयहरू गर्न सक्नुहुन्छ?
“परमेश्वरको आदर हुने निर्णय गर्नुहोस्” (प्रहरीधरहरा, अप्रिल १५, २०११)
यहोवा हामीलाई कसरी सल्लाह दिनुहुन्छ भन्ने विषयमा अझ राम्ररी बुझ्नुहोस्।
एक जना मानिसलाई एउटा गाह्रो निर्णय गर्नुपर्दा कस्ता कुराले मदत गऱ्यो, हेर्नुहोस्।
यहोवाले कुनै विषयमा तोकेरै आज्ञा दिनुभएको छैन भने पनि हामी कसरी उहाँलाई खुसी बनाउन सक्छौँ, बुझ्नुहोस्।
“के तपाईँलाई हरबखत बाइबलका आज्ञाहरू चाहिन्छ? (प्रहरीधरहरा, डिसेम्बर १, २००३)
-